१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

क्रूर मौन

राजव

अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो  ।

क्रूर मौन

राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने हो भने यसलाई निकै पावरफुल कथा मानिएको थियो । तर, यो कथाबारे पाठकको जिज्ञासा सकिएको थिएन । विशेषगरी हरिसिंह कार्कीबारे उनीहरू निकै कौतूहलमा थिए । हरिसिंह कार्की कथाको नायक थियो । पाठक, दर्शकहरूको सहानुभूति नायकतिर नै हुन्छ । खलनायकतिर के हुनु ?

कोहीकोही पाठक खलनायकको पक्षमा पनि ढल्कन सक्छन् । यो कुरो पाठकको विचार, संस्कार, आर्थिक स्थिति, शिक्षा र रुचिमा भरपर्छ । यस मामलामा पाठकहरू स्वतन्त्र हुन्छन् ।


‘ऊ कुन चीज हो ?’ कथाका खलनायक राता पुलिसहरू थिए । कथामा काला पुलिस पनि थिए । दुवै, नायक हरिसिंह कार्कीका लागि खलनायक थिए । राता पुलिस र काला पुलिस एकअर्काका अत्यन्त दुस्मन थिए । काला पुलिस सरकार पक्षका थिए, राता युद्धरत पक्षका । भर्खर संसदीय व्यवस्था उदित भएको महाकविको सानो सुन्दर नेपालमा दुवै घमासान लडेका थिए । युद्धभन्दा प्रचार र आतंक धेरै थियो । यो इतिहासको कुरो थियो । कथा हरिसिंह कार्कीको बारेमा केन्द्रित थियो । कथा अगाडि बढ्दै गएपछि राता पुलिसले हरिसिंह कार्कीको अपहरण गरेको होस उड्ने बयान आउँछ ।


कुरो संगीन थियो । माम्लो अपरहणको । अपहरणकारी माओवादी । टुंग्याउनका लागि कथा टुंग्याएजस्तो भयो । कथा अगाडि बढिरहनुपर्थ्यो । अपहरणपछि हरिसिंह कार्कीलाई राता पुलिसले कहाँ लगे ? मारे कि ? काटे कि ? छाडे कि ? के गरे ? कथाबारे पाठकका यस्तै कौतूहलपूर्ण प्रश्नले मलाई लखेटिरहेका थिए । कति लखेटिनु ? त्यसकारण जवाफमा म यो पूरक कथा लेख्दै छु । पूरक कथा प्रारम्भ गर्नुपूर्व ‘ऊ कुन चीज हो ?’ कथाको उपरोक्त अन्तिम वाक्यभन्दा अगाडिको प्रसंग के थियो त्यसको केही अंश उद्धृत गर्न जरुरी हुन्छ । तलका वाक्यहरू त्यसै प्रसंगका हुबहु उतार हुन् ।


ऊ फेरि चुप छ । आतंकित छ । रातमा चारैतिर स्यालहरूको हुइयाँ चर्किरहेछ । नजिकै राता पुलिसले आगो बालेका छन् ।

त्यसकारण उसको शरीरको एक छेउमा न्यानो राप परिरहेछ । माघको महिना भएको हुनाले वातावरणमा चिसो झन्झन् फैलिरहेछ । फेरि त्यही स्वरले सोध्यो, ‘साला तँ कुन चीज होस् ? कुन जिनिस् होस् ? हामीले जान्न चाहेको यै हो ...तँ मन्डले होस् कि, सुन्डले होस्, कांग्रेस कि सीआईडी होस् ? कुन चीज होस् ...?’


‘मैले भनिहालें केही समयअगाडिसम्म म विद्यार्थी थिएँ ...अब जागिर खोज्न थालेको बेकारी भएको छु ...।’

‘योबाहेक तँ अरू के होस् ? तेरो बाउ कांग्रेस, तँ के होस् ?’


‘म गाउँमा हुर्के–बढेको साधारण किसानको छोरा हुँ । एउटा जागिर पाए म सन्तुष्ट हुने थिएँ । मेरो अरू कुनै सोख छैन, म आफ्नै स्वतन्त्रतामा रमाउने मान्छे हुँ ।’


‘के रे ...आफ्नै स्वतन्त्रता ? आफ्नै स्वतन्त्रताको कुरा बुर्जुवाहरू मात्र गर्छन्, थाहा छ तँलाई ?’
‘... ’


यसपछि उनीहरूले खासखुस सुरु गरे । खासखुसमा उनीहरूले यस्तो मान्छे शंकास्पद र खतरनाक हुन्छ भन्ने छलफल गरे । र, फेरि ऊतिर खतरनाक तरिकाले फर्के ।


रात वयस्क भइसकेको छ । अलिअलि जाडो र डरले उसको शरीर भित्रभित्र कामिरहेको छ । उसको आँखामा रातो पट्टी यथावत् कडासँग कस्सिएकै छ । अपरहणपछि उसलाई तीन मोटरसाइकलसहित ढुकेर बसेका अर्का राता पुलिसले बीचको मोटरसाइकल पछाडि बसाएका थिए । चालक रातो पुलिस थियो, ऊ पछाडि कोच्चिएर अर्को रातो पुलिस बस्यो । बीचमा पाउरोटीमा दलेको ब्ल्याक बेरी जामझैं ऊ बसेको थियो । त्यसपछि उसको अगाडि–पछाडि गरेर तीन मोटरसाइकल सक्दो रफ्तारमा बीस मिनेट हुइँकिएका थिए ।


अब पूरक कथा प्रारम्भ हुन्छ—


नकटुवा गाउँमा पुगेपछि तीनवटै मोटरसाइकलको ब्रेक लाग्यो । राता पुलिसले उसलाई हरदेव लालको खलिहानमा ओराले । नकटुवा गाउँको धनीमानी किसान हरदेव लाललाई माओवादीहरू एक नम्बरको गरिबमारा चुसाहा मान्थे । यो यथार्थ थियो । माओवादीहरूले उसको सब खेतका पाकेका धानबाली लुटेका थिए । खलिहान कब्जा गरेका थिए । हरदेव लालको त्यही खलिहानमा दस–आठ अरू राता पुलिस उनीहरूलाई कुरिरहेका थिए । मोटरसाइकलबाट ओरालेपछि राता पुलिसहरूले उसलाई भुइँमा थचारे । दुई राता पुलिस मिलेर उसको दुवै हात सन्ठीको डोरीले बाँध्न उसको नाडी समाउँदै थिए । उसको आँखामा रातो पट्टी यथावत् कस्सिएकै थियो । ऊ चर्को त्रासमा थियो । र, पिसाबले उस्तै च्यापेको थियो । अपहरणको आतंकमाथि पिसाबको तोडले ऊ थप यातनामा देखिन्थ्यो । यसबाट उम्कन कुन बेला कट्टु खोल्न पाउँलाको जपमा रहेको उसले हात बाँध्न खोजिरहेका राता पुलिसलाई त्रसित स्वरमा भन्यो, ‘मैदान जाए के बा ।’


‘लम्हर कि छोट्का रे चुतिया ?’


‘छोट्का ।’


निर्दयी हाँस्दै तिनले उसलाई भनेका थिए, ‘कट्टुमै फेर ।’


अर्को कुनै सिनियरले तिनलाई हप्काउँदै अह्रायो, ‘अबे बेवकुफ स लबरतिनु काहे ? फेरवा के ल्याव स जल्दी ।’


अर्डरमुताविक तुरुन्त तीमध्ये दुई राता पुलिसले उसको पाखुरा समाउँदै भनेका थिए, ‘चल चुतिया ।’


तिनले उसलाई घचेड्दै छेउको खेततिर लगे । र, ऊ पछाडि उभ्भिँदै भने, ‘चल, होक ।’


यो आदेश पाएर उसले फस्नर खोलेको थियो । केही बेरमा ऊ हल्का भयो । त्यसपछि तिनले उसलाई खलिहान फिर्ता ल्याए । डोरी लिएर उसलाई कुरिरहेका अर्का तीन राता पुलिस मिलेर उसका दुवै हात बाँधे । र, भने, ‘बैठ भेडी चो... ।’


सुन्नासाथ ऊ चिसो भुइँमा थचक्क बसेको थियो । खलिहानको बीचमा ठूलो दायराको घुर बालिएको थियो । त्यसको राप उसको भागमा पनि अलिअलि आइपुगेको थियो । त्यहाँ भएका राता पुलिस कमरेड लालबहादुर कुर्मीको प्रतीक्षामा थिए । ऊ वीरगन्जबाट मोटरसाइकलमा आउंदै थियो । कमरेड लालबहादुर त्यताका योद्धाहरूको कमान्डर थियो । ऊ र केही कमरेड फिरौती र चन्दाको रकम असुल्न वीरगन्ज गएका थिए । असुलीको त्यही रकम कोचेको ब्याकप्याक अँठ्याएर ऊ फर्कंदै थियो । ऊ कमरेड हितनारायण कोइरीले हाँकेको मोटरसाइकलमा थियो । सुरक्षाका लागि खटेका अरू चार मोटरसाइकल उसको अगाडिपछाडि गति मिलाएर कुदिरहेका थिए । तिनैको प्रतीक्षामा थिए, खलिहानमा घुर तापिरहेका कमरेडहरू । ती कमरेडमध्ये एउटाले बाँकी कमरेडलाई आदेश दिएको थियो, ‘चल गाव स ।’


यो लाल अर्डर सुन्नासाथ जनवादी ढोलकियाले ढोलक ठटाउन थाल्यो । त्यसको तालमा अर्कोले खैंजडी बजायो । यी दुवै बाजाको सम्मिश्रित तालमा बाँकी गर्जंदै गाउन थाले– जनता के चलाव पलटनियाँ हो चलाव पलटनियाँ हिलाव जिमिंदरवारवा हिलाव सिंहदरबारवा जनताके चलाव पलटनियाँ हिलाव कठमंडु हिलाव दुस्मनवाँ हिलाव मन्त्री हिलाव सन्त्री जनता के चलाव पलटनियाँ हो चलाव पलटनियाँ मौन कामिरहेको ऊ तिनको लालगान लीला सुनिरहेको थियो । तीमध्येको एउटालाई उसको मौन असह्य भएछ । कड्कियो, ‘अरे ओ सकार के चुतर हम्नी के गीत तोहरा के भात नै खे का ?’


‘एकरा के छौंडी के गीत न सुनाद, मजा ली !’


यो कुरोमा सब गलल हाँसे । तिनले उसलाई आदेश दिए, ‘चल हम्नी सँगे गा, चल बोल ।’


भारतीय कम्युनिस्ट पार्टीको जनसंगठनले गाउने गीतलाई तिनले आफ्नो सन्दर्भमा ढालेर गाउने गरेका थिए । हरिसिंह कार्कीलाई यसको ओरिजनल गीत पनि आउँथ्यो । ऊ तीसँगै त्यसको प्यारोडी गाउन थाल्यो– हिलाव दुस्मनवाँ हो हिलाव दुस्मनवाँ जनता के चलाव पलटनियाँ हिलाव दुस्मनवाँ तिनको गानबीच टाढाबाट मोटरसाइकलको घर्रघर्र, ढटढटको कर्कश आवाज आउन थाल्यो । गाना रोकेर एउटाले भन्यो, ‘बुझा ता कमरेड स ।’


अर्कोले कान थाप्दै भन्यो, ‘वैसने बुझाता ।’


तिनको अन्दाज सार्थक पार्दै एक छिनमा गडगडाएर चार व्रायल इनफिल्ड मोटरसाइकल खलिहानछेउ आएर रोक्किए । कमरेडहरू फुर्तीका साथ त्यसबाट फटाफट ओर्लिए । खलिहानका भुरा कमरेडहरू सब उठे । ऊ पनि उठ्यो । सब एकसाथ गर्जिए, ‘लाल सलाम कमरेड ।’


‘लाल सलाम, लाल सलाम ।’


कमरेड लालबहादुरले उसको अनुहारमा टर्च बाल्दै सोध्यो, ‘इए ह रघुनाथपुर गाँव के कंग्रेसिया के डाउटफुल बेटवा ?’


‘जी कमरेड ।’


उसको हात, मुख घुर्दै लालबहादुरले आदेश दियो, ‘यसको आँखाको पट्टी, हात खोल्दे, अब यो भाग्छ काँ, भागे मर्छ ।’ लालबहादुरले वीरगन्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलको एक भुच्चढ पुलिससँग किनेको पिस्तोल देखाउँदै भन्यो ।


सँगैको कमरेड आदेश पालन हेतु उसको आँखाको पट्टी, हातको डोरी फुकाउन अघि सर्‍यो । लालबहादुरले आफ्नो क्यामोफ्ल्याग पाइन्टको खल्तीभित्र पेस्तोल घुसार्‍यो । आदेश पालन गर्नेले उसको आँखाको पट्टी, हातको डोरी फुकायो । र, पर घुरमा हुर्‍यायो । डोरीबाट मुक्त भएपछि उसका हात निकै हल्का भए । उसका आँखाले रातको धर्ती देख्न पाए । कहाँ छु भन्ने बुझ्न पाए । बन्धनका उसका हात चिसोले निकै कठ्यांग्रिएका थिए । र, शून्य हुन थालेका थिए । तिनलाई तताएर ज्यान फुक्न उसले दुवै हात माड्न थाल्यो । बेथनापुर हाइस्कुलको शिक्षक मारिएझैँ मारिने हुँ कि ? वा अर्को कुनै यातना दिएर यिनले सताउने हुन् कि ? त्रस्त ऊ यस्तै, यस्तै सोच्दै थियो । उसको मुन्टो भुइँतिर झुकेको थियो । रात उक्लिरहेको थियो र चिसो निकै बढेको थियो । उसको जीउमा सुइटर, मफलर पनि थियो । तर, त्यसले उसलाई पुगिरहेको थिएन । डर, चिसो, जाडोले ऊभित्र कम्प चलिरहेको थियो । बतासको थप्पड खाँदै भर्खर मोटरसाइकलबाट ओर्लिएको लालबहादुरका, नाक कान, हात पनि चिसै थिए । घुरको ज्वाला हेर्दै लालबहादुरले उसलाई भन्यो, ‘चल घुर लगे ।’ लालबहादुर हात माड्दै घुरतिर लाग्यो । तर, ऊ यथास्थानमा पूर्ववत् विवश उभ्भिइरहेको थियो । लालबहादुरले ‘चल घुर लगे’ कसलाई भनेको हो उसले बुझिरहेको थिएन । उसलाई पहारा दिइरहेको एक कमरेड कड्क्यो, ‘अरे कुत्ता के दुम सुनत नैख का कमरेड का कह ताडेन ?’


यसपछि ऊ घुरतिर गयो । लालबहादुरले उसलाई आफूसँगै बस्न अह्रायो । घुरको न्यानो पाएर उसको शरीर बिस्तारै फुक्न थाल्यो । लालबहादुरले केरकारको पहिलो प्रश्न सोध्यो, ‘रघुनाथपुर किन आएको रे ?’


‘म घरमा आएको हुँ, मेरो गाउँ हो ।’


‘कसको छोरा ?’


‘रामसिंह कार्की ।’


‘ए ! त्यै कांग्रेसीको छोरा पो, अच्छा । कत्ति दिन भयो गाउँ आएको ?’

‘दस दिन ।’

‘के उद्देश्यले आएको ?’

‘म आफ्नू घर आएको हुँ ।’

‘यो दस दिनसम्म बस्नुको मतलब ?’

‘आफ्नो घर हो, जहाँ पूरै जीवन बिताइन्छ ।’

‘त्यो त हो, तर दस दिनमा कांग्रेसी गतिविधि पनि खुब गरियो होला नि ?’

‘म कांग्रेसी हैन ।’

‘बाउ कांग्रेस, छोरो के त ?’

‘मान्नुस्, मेरो संलग्नता कुनै पार्टी वार्टीसँग छैन ।’


‘हाम्रो सुराकीमा खटिएर आएको त हैन ?’


‘यो सुन्दा पनि मलाई घृणा लाग्छ ।’


‘अनि काठमान्डुमा के गरिन्थ्यो ?’


‘पढ्थेँ ।’


‘के ?’


‘एम ए ।’


‘कुन विषय पढेको ?’


‘अंग्रेजी साहित्य ।’


‘सेक्सपियर मात्र पढ्या छ कि मार्क्स पनि पढ्या छ ?’


‘दुवै पढ्या छु ।’


‘एंगेल्स को हो थाहा छ ?’


‘छ ।’


‘कम्युनिस्ट मेनिफेस्टोबारे जानकारी छ ?’


‘छ ।’


‘विश्व सर्वहाराका नेता, महान योद्धाहरू लेनिन, स्टालिन, माओ, चे, चुतेह, क्यास्ट्रोबारे जानकारी छ ?’


‘छ ।’


‘बोल्सेविक पार्टीबारे ज्ञान छ ।’


‘छ ।’


‘मेनसेविक र बोल्सेविक पार्टीबीचको भिन्नता थाहा छ ?’
‘छ ।’


‘अक्टोबर क्रान्तिको बारेमा जानकारी छ ?’


‘छ ।’


‘चिनी क्रान्तिबारे अध्ययन छ ?’


‘छ ।’


‘महान् क्रान्तिपुरुष माओलाई पढेको छ ?’


‘छ ।’


‘होची मिन्ह, चाउ एनलाई को हुन् थाहा छ ?’
‘छ ।’


‘यत्ति अध्ययन भएको मान्छे, कम्युनिस्ट नभएर मूर्ख किन भएको ?’


अब यो प्रश्नमा के भन्नु ? यसमा ‘छ’ मात्र चल्नेवाला थिएन । त्यसकारण ऊ पूर्ववत् ओठबन्दीमा लाग्यो । लालबहादुर कड्क्यो, ‘यत्ति धेरै अध्ययन हाम्रो सुराकी गर्न त गरेको हैन ?’


‘मैले भनिसकें म यो कर्मलाई घृणा गर्छु ?’


‘त्यसो हो भने कम्युनिस्ट किन नभएको ?’


‘मलाई स्वतन्त्र हुन मन पर्छ ।’


‘देशमा यस्तो अन्याय, अत्याचार, शोषण, गरिबी छ । तिमी यत्ति पढेको मान्छे स्वतन्त्र बस्न मिल्छ ?’


‘हेर्नुस्, मलाई यहाँ ल्याउने तपाईंका कार्यकर्तालाई पनि भनिसकेको छु म केही हैन जागिर खोजिरहेको बेकार हुँ ।’


‘आफू मात्र जागिर खोज्ने कि लाखौँ बेरोजगारलाई काम दिने व्यवस्था स्थापनामा लाग्ने ?’


यस्तो महान् विचार नकार्ने उसको के सामर्थ्य ? लज्जित मुद्रामा ऊ मौन भयो ।


एक छिन कमरेड लालबहादुर पनि मौन भयो । वरिपरि छरिएका, घुरमा हात–ढाड सेकिरहेका राता पुलिसहरू, कमरेडहरू सब अदब मुद्रामा मौन थिए । गाउँका फटिचर कुकुरहरू मात्र भुकिरहेका थिए । उखुबारीभित्र पसेका स्यालहरूको हुइँया पनि रोक्किएको धेरै भइसकेको थियो । यत्तिकैमा साम्यवाद अहिल्यै खस्छ कि भनेझैँ गरेर एकाएक लालबहादुरले आकाश हेर्न मुन्टो ढाडपछाडि ढल्कायो । फेरि सीधा पार्‍यो । एकाएक केही सम्झेझैं गरेर भन्यो, ‘अँ यत्ति धेरै पढेको तिमी हाम्रा कार्यकर्ताहरूलाई पढाउन सक्छौ ?’


त्रस्त सोचमा डुबेको ऊ अलि हल्का भएको थियो । अरू कमरेडको कान अब यसले के भन्ला भन्ने सुन्न ठाड्ठाडा भएका थिए । उसले बिस्तारै भन्यो, ‘सकुँला ।’


लालबहादुर फेरि कड्क्यो, ‘सकुँला कि सक्छौ ?’
‘सक्छु ।’


‘तिनलाई तिमीले सैद्धान्तिक प्रशिक्षण दिनुपर्छ ।’


‘हस् ।’


यो उसको ज्यान जोगाउने जवाफ थियो । ऊ निकै कम्पकम्पीमा थियो ।


‘त्यसो हो भने ल सुन, तिमीले चार महिना यिनलाई, मार्क्स, माओ, लेनिन, चे, क्यास्ट्रोलगायत कम्युनिज्मको सब बेसिक सिद्धान्त पढाउनुपर्छ । तिमीले चाहने हो भने हामी तिमीलाई संगठनात्मक तालिम दिन्छौं । तर, कर गर्दैनौं । हाम्रा कमरेडलाई प्रशिक्षण दिँदादिँदै के ठेगान तिमी आफैं कम्युनिस्ट भयौ भने खुसीको कुरा हुनेछ, नत्र केही छैन, त्यसपछि हामी तिमीलाई सुरक्षित मुक्त गर्नेछौं, हुन्छ ?’


हुन्न भन्ने उसको के सामर्थ्य । उसले लुत्रुकिएर भनेको थियो, ‘हस् ।’


‘तिमी तोकेको चौहद्दी छोडेर कहीँ जान पाउँदैनौ, तिम्रो खानेबस्ने सुरक्षित व्यवस्था हुनेछ । त्यतिन्जेल तिम्रो हालचाल, तिम्रो परिवारलगायत कसैले पनि पत्तो पाउनेछैन ।’


‘हस् ।’


लालबहादुर कमरेडले उसको भविष्यको यस्तो निर्धारण गरेपछि कार्यकर्ताहरूले उसलाई गाउँकै कुनै कमरेडको घरमा लगेका थिए । घरको ओसारामा भेला हुने जुझारु कमरेडहरूलाई ऊ कम्युनिस्ट मेनिफेस्टोदेखि विश्व कम्युनिस्ट आन्दोलनको सब अवयव र त्यसका सैद्धान्तिक पक्ष सरल ढंगमा पढाउन थाल्यो । प्रशिक्षण रातिराति लालटिनको उज्यालोमा हुन्थ्यो । दिउँसो कार्यकर्ता कहाँ जान्थे, के गर्थे उसलाई थाहा हुँदैनथ्यो । यो उसको वास्ताको कुरो पनि थिएन । ऊ बिल्कुल बन्दी प्रशिक्षक भूमिकामा थियो । कसले, कसरी निगरानी गरिरहेछ भन्ने उसलाई पत्तो हुँदैनथ्यो । भाग्ने कोसिस नगर्नू भन्दै उसलाई यसको हिदायत दिइएको थियो । ऊ दिनरात सशंकित र त्रस्त भइरहन्थ्यो । पहिलो ब्याचका पच्चीस जनालाई उसले प्रशिक्षित गरिसकेको थियो । दोसो ब्याचकालाई पढाउने काम चलिरहेको थियो ।


यस ब्याचकालाई प्रशिक्षण दिन थालेको चौथो रातको कुरो थियो । त्यस रात यो ब्याच, लगभग डेढ सय पुलिस र सैनिकको भयानक संयुक्त रेडमा परेको थियो । यो रेड अमेरिकी नेभिसिलले गरेको रेडझैं सब साटसुट, पाटपुटमा भएको थियो । कोही उम्कन पाएनन् । एकाएक सब जालमा परेको पोठिया माछा भएका थिए । घरका परिवारसमेत क्याप्चरमा थिए । एकएकलाई ट्रक र भ्यानमा हालेर दस कोस परको सैनिक ब्यारेक लगिएको थियो । त्यसपछि तिनको के हाल भयो अहिलेसम्मको पत्तोमा छैन । तिनलाई बेपत्ता मानिएको छ । माओवादीहरूले तयार गरेको आफ्ना कार्यकर्ताको बेपत्ता लिस्टमा ती सबको नाम छ । तर, त्यहाँ हरिसिंह कार्कीको नाम छैन । यो कथामा बाहेक हरिसिंह कार्कीको नाम कतै उल्लेख छैन । लिस्टबाट पनि बेपत्ता छ, हरिसिंह कार्की । पत्तो हुने लालबहादुर अहिले सरकारमा छ । तर, मौन छ ।


प्रशिक्षण दिँदादिँदै हरिसिंह कार्की आफैँ चेजस्तो क्रान्तिकारी हुने निर्क्यौलमा पुगिसकेको थियो । यो कुरो उसको भविष्यवाणी गर्ने लालबहादुरलाई पत्तो भएन । प्रशिक्षार्थीहरूले बिस्तारै कमरेड हरिसिंह कार्कीलाई बुझ्दै थिए ।

प्रकाशित : माघ २५, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?