जुना तामाङको प्रेमकथा- कोसेली - कान्तिपुर समाचार

जुना तामाङको प्रेमकथा

हरि अधिकारी

अँगेनाको छेउमै भुसुक्क निदाएका दुइटै नानीहरूलाई माथि कोठामा लगी सुताइदिएर फर्केकी जुना तामाङले पकाएका, खाएका जुठा भाँडाकुँडा जम्मा पारी, तिनलाई प्लास्टिकको एउटा ठूलो बाटामा हाली र बाख्राको खोरनेर लगेर राखिदिई  । ती जुठा भाँडाकुँडा अहिल्यै माझूँ कि भोलि बिहानका लागि राखूँ ? एक छिन उसलाई दोमन भयो  ।

एउटा मनले भन्यो ‘अहिल्यै माझ् जुने, अहिले नै माझ्, टन्टै खलास गर्, खान साँची अरूलाई काम साँची आफूलाई भन्ने उखान त सुनेकिछेस् नि ?’


यो कुरोलाई जायज ठानेर त्यसै गर्न आँटेकी मात्र के थिई उसको अर्को मनले तुरुन्तै भन्यो, ‘आ..केको हतार, भोलि बिहान पनि सिकारको बन्दोबस्तीमा खटिएको पिपाको सिपाहीले जस्तो कुन राजाको पाल टाँग्नु छ र तँलाई, आजै, अहिले नै सबै काम सक्न ?’
उसलाई लाग्यो कुरो त यो पनि ठीक हो ।


आफ्नो मनले दिएको अघिल्लोभन्दा पछिल्लो सल्लाह मन पर्‍यो उसलाई त्यतिबेला । हुन पनि हो, दुई नानीहरू र आफूसमेत् ३ जनाको छोटो र छरितो भात भान्साका भाँडाकुँडा सफा गर्न कति नै समय चाहिने हो र ? अहिले गरे पनि भोलि गरे पनि, बढीमा उही आधा घण्टा लाग्ने न हो ।


त्यसपछि जुठा भाँडा थुपारेको बाटालाई खोरको छेउमा त्यसै छोडेर अँगेनाको डिलनेर आई र त्यहाँ राखिएको परालको चकटीमा थचक्क बसी । थचक्क बस्ने क्रममा ज्यान त्यति स्थिर र संयत नभएको देखेर उसले आफ्नो पेट र पुट्ठामा अलि बढी नै बोसो लागेको जस्तो अनुभव गरी । थोरै खिन्न भई ।


अधबैँसे उमेरको जस्केलामा पुग्न लागेको आफ्नो ढाडले आड खोजेजस्तो लाग्यो उसलाई । पलेटीमुनिको चकटीलाई सारेर नजिकको थामसम्म लगी र त्यसमा अडेस लागेर बसी । थामको अडेसा लागेर आँखा चिम्म गरी बस्दा शरीरलाई अलिकति सुबिस्ता भएजस्तो त भयो । तर, त्यसपछि पनि तत्कालका लागि गर्ने कुनै काम नभएको मानिसको जस्तो अन्यमनस्क मुद्रामा देखिई ।


त्यति नै बेला अचानक उसलाई केही बेर पहिले दुई–चार सर्को मात्र तानी निभाएर चौबन्दी चोलोको भित्री पत्रको सानो बगलीमा जतनसाथ राखेको चुरोटको ठुटोको सम्झना भयो । चुरोटको त्यस ठुटोलाई सम्झिएपछि अनुहारमा हल्का खुसीको तरंग फैलिएझैँ देखिएकी उसले त्यसलाई बगलीबाट झिकी र अँगेनामा भएको आगोको फिलिंगोमा झोसेर सल्काई ।


त्यसपछि चिम्सा आँखा, गोरो मुहार र थाम्मरथुम्मर बाक्लो ज्यान भएकी यस कथाकी एक्ली नायिका जुना तामाङ, नेपालका अधिकांश गरिब अम्मलीहरूको पहिलो रोजाइमा पर्ने पाइलट मार्का सस्तो र खरो चुरोट धित मर्नेगरी तानिरहेकी देखिई । पहिलो सर्कोमा तानेको चुरोटको धूवाँलाई तुरुन्तै बाहिर ननिकालेर घाँटीतिरै कतै अल्मल्याई र एक छिनपछि नाकका दुवै पोराबाट फुरुरु पारेर फ्याँकिदिई । सिंगो र ठुटो गरी उसले त्यस दिन खान लागेको चुरोटको त्यो आठौँ खिल्ली थियो ।


दिनेश सरले धेरैपटक भनेका थिए, ‘आफ्ना सुलुत्त परेका, मसिना चोरी र माझी औँलाका बीच च्यापेको चुरोटको खिल्लीलाई पातला ओठसम्म पुर्‍याई त्यसको लामो सर्को तानेका बेलामा तिमी गज्जबकी सेक्सी देखिन्छ्यौ ।’ सरले भनेको यो कुरा अहिले सम्झँदा उसको मुटु एकपटक ढक्क भयो । अनायाश नै फिस्स हाँसी र यसरी चुरोट तान्दा के म साँच्चिकै सेक्सी देखिन्छु त ? मनमा उठ्न खोजेको त्यो प्रश्नलाई बीचैमा टुक््रयाइदिई र टोलाएझैँ भई ।


चुरोटजस्तो नाथे पदार्थसँग उसको जीवनको सबैभन्दा मीठो स्मृति गाँसिएको कुरा कस्तो–कस्तो अमिल्दा र अनौठोजस्तो लाग्छ उसलाई, अहिले पनि । तर, त्यो थियो उसको जीवनमा आएको एउटा अद्भुत क्षण, जतिबेला उसले आफ्नो जीवनमा आएको पहिलो पुरुषप्रति पैदा भएको अति नै घनीभूत रतिरागात्मक आकर्षणको त्यस्तो तीव्र अनुभूति गरेकी थिई, जसलाई शब्दमा ठीकसँग उतारेर वर्णन गर्न सम्भव लाग्दैन उसलाई ।


उसले आफ्नो हृदयको अन्तस्तलमा बडो जतनका साथ लुकाएर राखेको पहिलो प्रेमको स्मृति–तरंग फेरि एकपल्ट सजीवझैँ भएर चेतनामा फैलिन थालेपछि उसका पातला कमनीय ओठमा अनायास मुस्कानको सानो धर्सो देखा पर्थ्यो हरेक पटक । त्यतिबेला पनि भयो त्यस्तै । उसले एकपटक लामो सास फेरी र आफ्नो स्मृतिको कोषागारबाट आफ्नो जीवनको त्यो सबैभन्दा महत्त्वपूर्ण क्षणलाई बाहिर निकाली, त्यससँग एक छिन खेल्ने चेष्टा गरी र त्यसले दिने आनन्दको सरोबरमा आफूलाई चुर्लुम्म डुबाई ।


जुना तामाङको सम्झनाको ढुकुटीमा दुःख, विरह र वेदनाका अप्रिय कुराहरू नै धेरै छन् । तर, दिनेशहरि सरसँग भएको पहिलो भेट र चुरोटको प्रसंगलाई भने उसले आफ्नो सम्झनाको एल्बममा भएको सबैभन्दा सुन्दर तस्बिरको रूपमा हृदयमा सजाएर राखेकी छे । जुनालाई लाग्छ, उसको हृदयको भित्री तहमा कोरिएको त्यस तस्बिरको रङ ऊ नमरुन्जेल फिक्का हुनेछैन ।


खिरिलो ज्यान भएका, सामान्यभन्दा अलि अग्ला, अधबैंसेजस्ता देखिने इँटेबेंसीको गौरेश्वर हाइस्कुलका अंग्रेजी शिक्षक दिनेशहरि नेपाली सरसँग जुनाको देखाभेट अचानक नै भएको थियो । ती दुवैको जीवनको मार्गचित्रलाई नै पूरै फेरिदिने त्यो अद्भुत क्षणको सम्झना मात्रले पनि जुनाको हृदयमा रोमाञ्चको तरंग उठ्छ अहिले पनि ।


रोसी खोलाको उद्गमतिरको एउटा सानो गाउँबाट पहिलोपल्ट पनौती बजारको इन्द्रेश्वर मन्दिरमा माघे संक्रान्तिका दिन लाग्ने मेला भर्न भाउजू अनिता ब्लोन तामाङको साथ लागेर आएकी थिई १९ वर्षीया चञ्चल चपल किशोरी जुना ब्लोन तामाङ । मंसिर महिनाको खुला फाँटमा आफ्ना स–साना पखेटाहरू फिर्फिर गर्दै निर्धक्क उडिरहेको गाइने कीरोजस्तै पनौती बजारमा आँखाअगाडि आउने सबै वस्तु र तिनले बनाउने दृश्यलाई आँखाले चुम्दै, अडिँदै अडिँदै हिँडिरहेकी थिई ऊ ।


अचानक उसका आँखा इन्द्रेश्वर मन्दिरतिर लाग्ने मोडनेरको डबलीमा हालिएका प्लास्टिकका कुर्सीहरूमध्ये एउटामा बडो निस्फिक्रीसँग खुट्टा फैलाएर बसेका र सार्‍है भाँती पारेर अत्यन्तै स्वाद लाग्नेगरी चुरोट तानिरहेका दिनेशहरि सरमा गएर ठोक्किएका थिए । त्यसो त त्यस दृश्यमा त्यस्तो अनौठो केही पनि थिएन तर जुनालाई त्यसले मन्त्रबिद्धझैँ बेसुध पारेको थियो । देख्दैखेरी बेकारको जस्तो लाग्ने, सुर्ती बेरेको कागजको एउटा टुक्रोलाई ओठमा च्यापेर तान्दै मुख र नाकबाट पीरो धूवाँको मुस्लो निकालिरहेका ती ख्याउटे अधबैंसे त्यस दिन, त्यस खास क्षणमा उसलाई किन त्यति धेरै आकर्षक लागेका थिए, त्यसको रहस्य भने उसले अहिलेसम्म पनि पत्ता लगाउन सकेकी छैन ।


दिनेशहरि सर बसेको बाहेक अरू तीन–चार कुर्सी पनि थिए त्यहाँ । तिनमा अरू मानिस बसेका थिए । ती सरका साथी वा विद्यार्थीहरू हुँदा हुन् । तर, जुनाले भने त्यस क्षणमा पनौती बजारको त्यो मुख्य चोकमा अंग्रेजी सर दिनेशहरि नेपालीबाहेक अरू कसैलाई पनि देखिन । देख्दैमा गम्भीर र नीरस लाग्ने ती भद्रपुरुषले तत्काल त्यही क्षणमा उसको दिल र दिमाग दुवैलाई बलियोसँग आफ्नो पकडमा लिएको कुरामा भने कुनै सन्देह थिएन ।


आफूले कहिल्यै नदेखेकी, खाँट्टी गाउँले तामाङ्नीजस्ती देखिने एउटी किशोरीले त्यसरी गहिरो दृष्टिले आफ्नो अनुहारमा हेरेको थाहा भएपछि दिनेशहरि माड्साहेबले अलिक असजिलो माने । आङ तानेर संयत हुने प्रयत्न गरे र त्यसपछि बसेको कुर्सीबाट उठेर जुनाको ठीक अगाडि आएर उभिए । जुना खङ्ग्रङ्ग भई । धेरै संकोच र डर थोरै भरोसाको मनस्थितिमा टाउको निहुर्‍याएर उभिइरही ।
के गरूँ, कसो गरूँ भएका दिनेशहरि सरले कमिजको माथिपट्टिको बगलीमा भएको याक मार्का चुरोटको बट्टाबाट झटपट एउटा चुरोट झिकेर जुनातिर तेर्स्याउँदै थोरै संकोचका साथ सोधे, ‘खान्छ्यौ ?’


‘छ्या खान्छौँ कि क्या हो हामी त्यस्तो जाबो चुरोट ?’ जुनाले अलि भन्केको तिखो स्वरमा जवाफ दिई । त्यतिबेलासम्म ऊ चुरोट खान्नथी, उसलाई सुर्तीको गन्ध नै मन पर्दैनथ्यो ।


‘ओहो, गल्ती भो सरी है’ दिनेशहरि माड्साहेबले यति भने र जुनाका दुवै हत्केलालाई एकै ठाउँमा राखी चपक्क समाएर थुम्थुम्याए । उनको त्यो कमनीय स्पर्ष र उनले मधुरो स्वरमा मागेको माफीको जुनाको हृदयमा यति बलियो प्रभाव पर्‍यो ऊ भावावेशमा आएर थर्थर् कााम्न थाली । उसलाई सरको अगाडि उभिइरहन सकस भयो । सरको हातबाट आफ्ना दुवै हत्केलालाई बिस्तारै छुटाएर ऊ नजिकै रहेको कुर्सी तानेर बस्न पुगी ।


जुनालाई त्यसपछि घरमा के भयो ? आमा बाले के भने, मलेसियामा भएको दाजुले के लेखेर पठायो, भाउजूले सहयोग गरिन् कि गरिनन्जस्ता कुराहरूको विस्तृत विवरण दिन मन लाग्दैन । ऊ आफ्नो र दिनेशहरि नेपाली सरको सम्बन्धलाई लिएर आफूले गरेको त्यो अहम् निर्णयलाई मात्र सम्झन्छे, जसले उसलाई आजको स्थितिमा ल्याइपुर्‍याएको थियो ।


जुनाले सम्झी, त्यस दिन भाउजू र सर स्वयम्को करबलले इन्द्रेश्वरको मेलाबाट गह्रुँगो मन लिएर घर फर्केकी जुना त्यसको एक महिना पनि पूरा नबित्दै एउटा रुकस्याकमा दुई जोडी कपडा, दाँत माझ्ने मञ्जन र बुरुस, एउटा काइँयो र मुट्ठीभित्र अटाउने खालको एउटा सानो ऐनाजस्ता खिच्रिमिच्री सामान हालेर सरासर दिनेशहरि सर ले पढाउने गरेको स्कुल भएको ठाउँ इँटेबेंसी
पुगेकी थिई ।


त्यसरी घर छोडेर हिँडेकी उसको मनमा ठूलो धुकचुक थियो । अनेक प्रकारका अशुभ आशंकाहरूबाट दपेटिएकी उसका पाइलाहरूसमेत ऊ हिँडिरहेको बाटोको ठीक ठाउँमा परिरहेका थिएनन् । तर, उसको मनको भित्री कुनामा भने दिनेशहरि सरप्रति उसले गरेको भरोसाको दियो मन्दमन्द आँचमा भए पनि पूरै दृढताका साथ बलिरहेको थियो ।


सोधखोज गरेर सर बसेको घर पत्ता लगाई त्यसको पिँडीमा बसेर उनलाई पर्खिरहेकी जुनाले अपराह्न साढे ४ बजेतिर सर् आएपछि बडो सुस्थिर र संयत स्वरमा ‘सर् म त आएँ नि’ भनेकी थिई ।


ऊ आउनेछे भन्ने कुरामा ढुक्क भएर बसेझैँ दिनेशहरि नेपाली सरले पनि उसलाई असीम अनुरागका साथ अँगालोमा बेर्दै भनेका थिए, ‘स्वागत छ जुना प्यारीलाई । म एक प्रकारले तिमीलाई नै पर्खिरहेको थिएँ ।’


जुनाको प्रेमले प्रेमीको अँगालो पाएको थियो, उसको देहले सन्तुष्टि । उसले छिट्टै नै एउटी स्त्रीको जीवनका लागि सर्वाधिक महत्त्वको मानिने मातृत्वको सुख पनि पाएकी थिई । तीन वर्षभित्र २ सन्तानकी आमा भएकी थिई ऊ । त्यसपछि दुवैको सल्लाहले दिनेश सरले परिवार नियोजनको स्थायी उपाय अवलम्बन गरेका थिए ।


अतीतका तीता–मीठा सम्झनाहरूको तलाउमा डुब्दै–उत्रँदै गरेकी जुनाले फेरि अर्को चुरोट सल्काई । तल्लो ओठको एउटा पत्रमा तिखो आँच पुग्ने गरी एउटा लामो सर्को तानी र मुख गोलो पार्दै त्यसबाट धूवाँको स–सानो नीलो रङको मुस्लो फ्याँकी । किन हो उसको मन थोरै शान्त भयो ! अनि उसले आफ्नो जीवनमा घटित त्यो सबैभन्दा भयानक घटनाले हृदयमा पारेको कहिल्यै खाटा नबस्ने घाउलाई सुम्सुम्याउन थाली ।


एउटा घुर्मैलो दिनको कुरो हो यो । स्कुलबाट निकै ढिलो गरी आएका दिनेश सरले त्यस दिन स्कुल जाँदा लगाएर गएको कपडासम्म पनि नफेरी उसलाई सुत्ने कोठामा बोलाएका थिए र एकदम धीमा स्वरमा अडिई अडिई भनेका थिए, ‘मलाई माफ गरिदेऊ प्रिय जुना, मैले मेरो जिन्दगीको सबैभन्दा ठूलो रहस्य तिमीसँग लुकाएर राखेको थिएँ । म माओवादी दलको कार्यकर्ता हुँ, एउटा तहको नेता भने पनि हुन्छ । तिमीसँग सम्बन्ध बढाउने र सँगै बस्ने बेलामा मैले पार्टीलाई जानकारी गराएर अनुमति पनि लिएको थिएँ । तर, अहिले पार्टी नेतृत्वको आन्तरिक द्वन्द्वका कारण परिस्थिति फेरिएको छ र ममाथि कारबाही हुनुपर्छ भन्ने कमरेडहरू निर्णायक तहमा पुग्नुभएको छ । उहाँहरूले ममाथि यौन विचलन र सुविधाभोगी निम्न पुँजीवादी व्यवहार गरेको आरोप लगाउनुभई मलाई आचरण शुद्धीकरण र आत्मालोचनाका लागि पश्चिमको जलजला क्षेत्रको श्रम शिविरमा पठाउने निर्णय गर्नुभएको छ । भोलि नै हिँड्नु भन्ने आदेश छ ।’


सरको कुरा सुनेर जुनाको त आफू उभिएको जमिन नै भास्सिएको झैँ भएको थियो । एकदम नै हतप्रभ भएकी उसले बिस्तारै सोधेकी थिई, ‘पार्टीको यो आदेश नमाने के हुन्छ ?’


‘मलाई मारेर यतै कतै फालिदिन्छन् ।’


‘मेरो के हुन्छ त अब ?’ अधमरो स्वरमा जुनाले अर्को प्रश्न सोधेकी थिई ।


‘हाम्रा दुइटा नानीहरूका लागि तिमीले सर्भाइभ गर्नुपर्छ । मैले ब्राइट फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल राघव सरसँग कुरा गरेको छु । उहाँले तिमीलाई केही न केही काम दिनुहुन्छ । हाम्रो प्रेमको निसानी यी दुई बालखलाई बचाउने प्रण गर्छ्यौ नि ?’
त्यसपछि दुवै जनाका लागि आपसमा भन्ने–सुन्ने कुरा केही पनि बाँकी रहन गएको थिएन ।


त्यसको भोलिपल्ट बिहान सबेरै दुई जना पुरुष र दुई जना स्त्री कमरेडहरूले राप्ती अञ्चलको पहाडी भेगतिर पुर्‍याउने भनी लिएर गएको जुनाको प्राणप्रिय, गौरेश्वर हाइस्कुल इँटेबेंसी काभ्रेका अंग्रेजी शिक्षक दिनेशहरि नेपालीको यतिका वर्ष बितिसक्दा पनि कुनै खुट्पत्तो छैन । यता दिनेश सरकी प्रेयसी जुना तामाङ भने गाउँकै एउटा प्राइभेट स्कुलमा पियनको काम गरेर आफ्नो र दिनेश सरको प्रेमका निसानीहरूलाई जसोतसो बचाउने प्रयत्न गरिरहेकी छे ।

प्रकाशित : माघ २५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

तीन प्रेम कविता

रवीन्द्र मिश्र

रवीन्द्र मिश्रका तीन प्रेम कविता :

तिमी र म

तिमी र म

धेरै टाढा हिउाको सिरकमा

अलिपर पहाडको पछ्यौरीमा

बगानमा बहकिएको हरियाली अनि

बीचबीचमा मात्तिएर, उर्लिएर

सु‌स्ताएको नदीमाकहाँ छैनौं हामी ? तिमी र म...


तिमी र म

क्षितिजका बान्की–बान्कीमा

फुर्किएका पँधेरी, ओत र ओडारमा

झरेका चियाका पात

अनि नदीछेउ

पानी–पानी भएर बहेको पानीमा

कहाँ छैनौं हामी ? तिमी र म...

तिमी र म

सेताम्यमा रंगिएको सासमा

पहाडमा लजाएको परेलीमा

बुटानमा अल्झिएको तुना

अनि

नदीमा उघ्रिएको वेगमा

कहाँ छैनौं हामी ? तिमी र म...

तिमी र म

हेर्दाहेर्दै बन्द भएका आँखामा

मुस्कुराउँदै मन्द भएका ओठमा

हाम्रो स्पर्श, आभा

भावना र आवेगमा

कहाँ छैनौं हामी ? तिमी र म...

मेरा कवितामा

अनन्ततामा, निरन्ततामा

ब्रह्म, विष्णु र महेश्वर––मा

कहाँ छैनौं हामी ? तिमी र म...


तिमीलाई, मलाई के होला ?

यदि मैले तिमीलाई थाहै नदिई

कुनै साँझ तिम्रो न्यानो, गहिरो

श्वास–प्रश्वासको सुवास

अनुभूत गरिदिएँ भने के होला ?

तिमीलाई पत्तै नदिई

तिम्रो अनुपात मिलेर उठेका ओठमा

हलुकासँग स्पर्श गरिदिएँ

या, तिमीलाई थाहै नदिईमेरा दुई हातमा तिमीलाई

सलर्क्कै बेरिदिएँ भने के होला ?

तिम्रो काऽऽऽलो, लामो, रेसादार कपाल

मेरा विनम्र औँलाहरुले कोरिदिएँ

र, त्यो कोरेको कपाललाई हलुकासँग बाटेर

तिम्रो छातीमा सरक्क बिछ्याइदिएँ भने के होला ?

तिमीलाई थाहै नदिई तिम्रो निधारमा

ठूलो, रातो, टीका टपक्क टाँसिदिएँ

या तिमी सपक्क ओछ्यानमा

पल्टिएकी बेला

छेउमै बसेर लोलाइदिएँ भने के होला ?

त्यति नै बेला तिमी निद्राबाट बिउँझियौ

र, म सपनाबाट बिउँझिएँ

अनि

छेउमै शान्त बलिरहेको दियो

आफैँ भर्भराएर दन्कियो भने के

होला ?

न भुल्न सक्छु, न गन्न सक्छु

मेरा उच्छवासका सुवास
कहाँ–कहाँ बतासिए
र, उनका मयूरी उच्छवासले
मलाई कहाँ–कहाँ स्पर्श गरे,
यति धेरै बसेछन् मायाका डोबहरु
न म भुल्न सक्छु, न गन्न सक्छु

यी हातले बेस्कन पक्डिएका धुकधुकीहरू
यी ओठले बिस्तारै बोलेका बातहरु
वसन्तमा बेरिएका सर्पजस्तै
एकाकार भएका आवेगहरु
कहाँ थिए ती, कहाँ गए
न म भुल्न सक्छु, न गन्न सक्छु

कतै बालुवामा हिँडेछु
मेटिएका पाइला मात्र बाँकी छन्
कतै काँडामा जेलिएछु
खाटा बसेका डोब प्रस्टै छन्
कतै आगोले पोलेका खतहरु
अहिले पनि चर्चराउँछन्
जे भए, त्यस्तै, त्यस्तै भए
न म भुल्न सक्छु, न गन्न सक्छु

कतै थपक्क बिछ्याइएका मुटुमाथि
सपक्क पल्टिएछु
कतै हत्केलामा सुम्पिएका आँखामा
सलक्क पौडिएछु
अहिले पनि गहिरो सास लिँदा
फरक–फरक सुवास आउँछ
रंगिन यात्रा हिँडिएछ जिन्दगीमा
न म भुल्न सक्छु, न गन्न सक्छु ।

प्रकाशित : माघ १९, २०७६ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×