१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खतरनाक खलनायक 

खलनायक–प्रधान उपन्यास नेपाली साहित्यमा विरलै छन् । तर, ॅशिरीषको फूल’ को सुयोगवीर यस्तो बहुआयामिक पात्र हो जसले मिथकीयता, विषाक्त, सिपालु कथावाचक, झूटो, इमानदारीजस्ता गुण–अवगुण बोकेको छ । यस्ता पात्रको निर्माण नेपाली नाटक अथवा सिनेमामा नदेखिँदा अपूर्णता बोध हुन्छ ।
अरुण गुप्तो

काठमाडौँ — उसको नामजस्तो पटक्कै छैन ऊ । न योग्य छ न त वीर । बरु भद्रताको खोल ओढेर थुप्रै युवतीको बलात्कार गरेको छ । तिनको 
जीवन हरेको छ । उसको उपस्थिति मात्रै पनि कसैका लागि दुर्योग बनेको छ । तर, ऊ हो सुयोगवीर, पारिजातको ‘शिरीषको फूल’ को पात्र । एउटा खतरनाक, रहस्यमय अनि मिथकीय चरित्र । ‘शिरीषको फूल’ मात्र किन ? यो त नेपाली साहित्यकै प्रबल खतरनाक खलनायक हो । 

खतरनाक खलनायक 

बडो भद्र–पुरुषजस्तो भेदिन्–दृष्टि लिएर विचरी बरीको शान्त जीवनमा पस्छ ऊ । इन्द्रजालको अनुष्ठान गर्छ । त्यही जालोमा निसास्सिएर बरीको प्राण सकिन्छ । प्रेतरूपी मन्त्रोच्चारणले स्मृतिहरूको आह्वान गर्नु उसको खुबी हो । स्मृतिको यस्तो जंगल, जहाँ उसले थुप्रै युवतीको अस्मिता लुटेको छ, हत्या गरेको छ । ऊ भूतकालबाट विष काढ्छ अनि वर्तमानमा सर्पझैं दंश गर्छ । त्यो विष–स्मृति हो सुयोगवीरको, खलनायकीय अचेतन उसको अँध्यारो अरण्य ।

हाम्रो समाजमा व्याप्त महिलामाथिको अत्याचार स्मृति–विषको ऐन्द्रजालिक अनुष्ठान नै त हो । पुरुष–शक्तिको बौलाहापन सुयोगवीरको मानसिक जंगल । र, हामी त्यो जंगलका असहाय दर्शक मात्र हौं, बिल्कुलै मूकदर्शक । हामीसँग सुषुप्त रूपमा सुयोगवीरको चरित्र नियाल्ने स्थिर–दृष्टि छ तर त्यो असाध्यै पुरातन मानसिकताले ग्रस्त छ, जुन अति सामान्य हेराइ मात्रैले पनि उदांगो हुन्छ । मेरै साथीले मोटरमा सँगै हुँदा भनेका थिए, ‘केटीहरू यस्तो कपडा लगाएर हिँड्छन्, केटाहरूलाई के दोष दिने !’ हाम्रो भाषा अचम्मको छ, तत्काल विकृतिको प्वाँख हालेर सुयोगवीरको छेउ पुगिहाल्छ । मानौं, हामी उसबाट थप दीक्षित हुन उसको जंगलबाहिर लाम लागिरहेका छौं ।


सुयोगवीर पहिले बरीको दाइ शिवराजको साथी बन्छ । त्यसपछि जसै घरमा आवतजावत हुन थाल्छ, ऊ बरीप्रति आसक्त हुन्छ । बरीको बौद्धिक तर्कसामु सुयोग कमजोर छ तैपनि एउटी बुद्धिमती केटीको कसरी अप्रत्याशित अन्त्य हुन्छ ? सुयोगवीरको कथालाई पत्याउँदा बरीको मृत्यु भएको हो । तर, कथाको विडम्बना ! पाठकले एउटा भयानक वाचकमाथि विश्वास गर्नुबाहेक अरू उपाय हुँदैन । हामीसँग सुयोगले दिने सूचनाबाहेक बरीलाई पढ्ने अर्को बाटो छैन । उफ ! यो खलनायकले पाठकलाई पनि आफ्नो कथा–जालमा असहाय पारिदिन्छ ।


उपन्यासमा सुयोग मृत्यु–दूत हो, जो हाम्रा लागि कथावाचकका रूपमा बरीको घरभित्र पस्छ, अतिथिको भेषमा । पाठकसँग केही लुकाउँदैन, आफ्नो पापको कथा हुबहु बयान गर्छ । तर, यही गुणले उसलाई रहस्यमय र भयानक बनाउँछ । ऊ ध्यानदृष्टिले हेर्छ र हत्या गर्छ । उसको त्यही ध्यानदृष्टिले पिशाच जगाएर बरीको सेतो काँधमा दंश गर्छ ।


भूतकाल सुयोगका लागि मन्त्रशक्ति हो, किनभने उपन्यासका तीन अध्यायले ऐन्द्रजालिक महत्त्व बोकेका छन् । उपन्यासको फ्ल्यासब्याक शैलीमा तन्त्ररूपी सान्दर्भिकता छ । भूतकालमा नफर्कीकन, तन्त्रको स्मृति–अनुष्ठान नगरीकन सुयोगले बरीलाई मार्नै सक्दैनथ्यो । अनुष्ठानस्थल जंगल हो, जुन सुयोग स्वयं हो । बलात्कारको साहस जुटाउनुअघि ऊ विगतका पापकर्महरूबाट आफूलाई प्रेरित गर्छ । उसका सबै सिकार महिला हुन् ।


यहाँ पारिजातले एउटा चरित्रलाई साहित्यिक अवचेतनका रूपमा निर्माण गरेकी छन् । किनभने त्यो चरित्रको शक्ति उसको स्मृतिमा छ । लेखकको प्रबल कला यही अवचेतनको निर्माणमा स्थिर छ । सुयोग कथा भन्दै जान्छ र पाठक असहाय हुँदै सुन्दै जान्छ । यो चरित्रको अर्को भयानक गुण, उसको इच्छा र प्राप्तिमा सम्पूर्ण समानता छ ।


साहित्यिक रूपकहरू सामाजिक तथ्य हुन् । यस्ता चारित्रिक प्रतीकहरूको राजनीतिक सान्दर्भिकता पनि हुन्छ । संसारकै सशक्त राजनीतिक क्रियाकलाप बुझ्ने हो भने ती छद्म रूपमा हुन्छन् । जुन देखिन्छ त्यो असल हुँदैन । हामी मायाजालमा, माया–रावणको पाशमा बाँधिएका हुन्छौं । अर्थ र धर्मको पाश सुयोगवीरको कथाजस्तै छ । यो सुयोगवीरको कुनै दार्शनिक व्याख्या होइन । पारिजातले हाम्रो सामाजिक असहायतालाई दुइटा पात्रको सन्दर्भमा बयान गरेकी हुन् । हामी त बरीजस्तै बुद्धिमान छौं तर हाम्रो तर्क, बुद्धि केही काम लाग्दैन ।


सुयोग दुरात्मा हो, जो जंगलबाट सहर पस्छ । उसले प्रकृतिको अँध्यारो पक्ष बोकेको छ । शिवराज पनि पारिवारिक पुरुष होइन । कथामा उसको भूमिका धेरै छोटो छ । यहाँ परिवार नै कमजोर छ, जसमा आक्रमणकारीले सजिलै घात गर्न सक्छ । घरमा कोही छैन । बस त्यहाँ छ त पुरुषको कमजोरी, अन्य महिलाको अनुपस्थिति अनि एक्ली केटी । जंगलको अँध्यारोबाट घरको विपन्नतामा पुगेको सुयोगलाई अरू के चहियो, बरीलाई नष्ट गर्न ? सबै अवस्था अनुकूल छ ।


सेक्सपियरका दुःखान्त नाटकहरूमा पनि मातृ–नारी प्रायः हुँदैनन् । यो लेखकीय उद्देश्यजस्तो लाग्छ । पारिजातले पनि त्यस्तै गरेजस्तो देखिन्छ । यो अनुपस्थिति डरलाग्दो पारिवारिक अपूर्णता हो । सुयोगहरू यस्तै अवसर रुचाउँछन् । सेक्सपियरकै नाटक ‘ओथेलो’ को चर्चा गरौं । यहाँ मुख्य पात्र ओथेलो अर्को पात्र इआगोको पासोमा निःसहाय बन्छ र निर्दोष देस्दिमोनाको हत्या गर्छ । इआगोले ओथेलोको शंका अझ सुदृढ पारिदिन्छ ।


‘प्रेम रगतको हवस र इच्छाशक्तिको अनुमति हो,’ इआगोजस्तै सुयोग पनि आफ्ना बीभत्स विचारहरूलाई सत्य मान्छ ।

शिवराज सुयोगलाई घर लगेकोमा पश्चात्ताप गर्छ, विकाररूपी पश्चात्ताप । यस्तो आतिथ्यको सामाजिक विश्वास विघटित हुनुको मूल्य बरीले चुकाउनुपर्छ । यो परिणतिले अतिथि–सत्कारको मूल्यलाई नै धराशायी पारिदिन्छ । आगन्तुकको हेराइ, पृष्ठभूमिले कथाको दिशाबोध गराउँछ । सुयोगको स्थिरदृष्टि नारी–अंगमा हुन्छ । साँच्चै यो स्थिरदृष्टि नारीहरूमाथिको गिद्धेदृष्टि पनि हो, जहाँ मात्र यौनता, शरीरको आसक्तिसिवाय केही छैन । यही दृष्टिमा सुयोगको शक्ति प्रयोग लुकेको छ । यहाँ पुरुषको रुढीवादी मन बरीलाई निर्जीव रूपमा हेर्ने मनस्थितिबाटै प्रस्टिन्छ । यही सुयोगको खलनायिकी हो । उसको आगमन र फर्काइमा समानता छ । ऊ आउँछ, फर्की–फर्की आउँछ र विनाश गर्छ ।


सुयोग सुनियोजित छ । सुयोगको पर्यायवाची शब्द सुनियोजन पनि हो । एक अर्थमा उसले भनेको कथामा केही अचम्मलाग्दो नियोजन छ । चारवटा सेक्सको वर्णन, चारवटी केटीको हत्या, चार फ्ल्यासब्याक दृश्य । सुयोग आठचोटि बरीलाई भेट्छ । आठैचोटि बरीसँग सम्पर्क वा कुराकानी हुँदैन । अथवा ऊ बोल्न सक्दैन । यी घटना लेखनका सुनियोजित उद्देश्य नहुन पनि सक्छन् तर यिनको व्यवस्थापनले मलाई अचम्म पार्छ । सुयोग बरीलाई सर्प, विधवा, कुमारी, पुष्प, बच्चाजस्तो देख्छ । फेरि रुमाल, चट्टान, फोटोजस्तो जीवनहीन रूपमा प्रस्तुत गर्छ । बरीलाई महत्त्वहीन रूपमा हेर्नु सुयोगको चरित्रहीन सुनियोजन हो ।


केटीहरूमा मात्रै स्थिर–दृष्टि पर्नु र भूतकालको सम्झना गरिनु, कथामा नियोजित विशेषता देखिन्छ । विनियोजन त्यही बेला देखिन्छ, जब बुद्धिमती बरीको सजिलै अन्त्य हुन्छ । सायद सुयोगको यौन–दृष्टि बुझ्ने क्षमता थिएन उनमा । तर्कमा, कुराकानीमा सुयोग चुप नै हुन्थ्यो, हार्थ्यो । यही शक्तिले पनि बरीलाई बचाउन सकेन । को आगन्तुक हो, को आक्रमणकारी ? यसको निर्क्योल गर्न नसक्नु घातक साबित हुन पुग्यो ।


खलनायक–प्रधान उपन्यास नेपाली साहित्यमा विरलै छन् । तर, सुयोग यस्तो बहुआयामिक पात्र हो जसले मिथकीयता, विषाक्त, सिपालु कथावाचक, झूटो, इमानदारीजस्ता गुण–अवगुण बोकेको छ । यस्ता पात्रको निर्माण नेपाली नाटक अथवा सिनेमामा नदेखिँदा अपूर्णता बोध हुन्छ ।


‘शिरीषको फूल’ को कथा मैले एक बंगलादेशी साथीलाई सुनाएको थिएँ । उनले भनेका थिए, ‘यस्तो चरित्र खेल्न पाए हुन्थ्यो !’ अतृप्त आँखा, विषालु मन बोकेको धीरचित्त कथावाचक, सुयोगको व्यक्तित्वका विरोधाभास हुन् । यही पक्ष देखेर ती साथीले मलाई बिन्ती गरे, ‘यसलाई उल्था गर्दिनुस्, म अंग्रेजीमा खेल्छु !’ मैले पनि उनलाई इआगोको कुनै डाइलग सुनाउने भनें । उनले तीन दिन समय मागेका थिए । फेरि ढाका जाँदा सुनाउँछन् । उत्साही कलाकारले शक्तिशाली खलनायकको भूमिका खेल्न मन गर्छन् । असल पात्रको अभिनय एकोहोरो हुन जाने भएर पो हो कि ?


पारिजात सन् १९५० मा दार्जिलिङबाट नेपाल आएकी थिइन् । शारीरिक विकलांगता भए पनि उनी धेरै प्रभावशाली साहित्यिक व्यक्तित्व हुन् । पात्रहरूको रचना, उनीहरूको उपस्थिति, परिस्थितिको संरचना शिल्पकारिताका प्रबल पक्ष हुन् । सुयोगवीरजस्तो पात्र रचना गर्नु समाजको विसंगति बुझ्नु हो । यो उपन्यासले एउटा खलनायकी मात्र होइन, नारीप्रतिको हीन विचारधाराको पनि चित्रण गर्छ । त्यो पात्र वासनाको रोगीभन्दा पनि विकृत विचारधाराको प्रतिनिधि हो । रोगी भन्नु उसलाई क्षमा गर्नु हो ।


‘यो उपन्यास पढ्दा मलाई डर लागेको थियो,’ केही वर्षपहिले स्नातककी विद्यार्थीसँग सोध्दा भनेकी थिइन् । तत्कालै अर्को पुरुष विद्यार्थीले उनलाई जिस्क्याउँदै भन्यो, ‘केटी मान्छे यस्तै हुन्छन् ।’ डर भनेको संवेदनशीलताको रूपक हो । अंग्रेज कवि कोलरिजको ‘क्रिस्ताबेल’ पढ्दा जोन किट्ससमेत डराएको उल्लेख छ । त्यो विद्यार्थी अचम्म मान्दै मतिर फर्कियो, जब मेरो जवाफ सुन्यो, ‘शिरीषको फूल पढ्दा डर त मलाई पनि निकै लागेको हो !’

प्रकाशित : माघ १८, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?