अनि म मन्दिर गएँ !

सधैँ धर्मै गरेको मात्रै सम्झिएँ । आमाको पछि लागेर पीपलमा जल चढाएको, मन्दिर गएर एकचित्तले भगवानको पूजा गरेको । यहाँ पाप त कहीँ थिएन । धर्मै धर्म थियो । तर पनि, म कुन पापले महिनावारी भएँ, बुझ्न सकिनँ ।
सविता आचार्य

काठमाडौँ — महिनावारी हुनुपरेकोमा दोस्रोपटक एकदमै दुःख लाग्यो । त्यो घटना–वर्णनभन्दा अघि केही थान फ्ल्यासब्याक । अनि अन्त्यमा वर्तमानको एउटा धारिलो परिवर्तनको प्लट ।

अनि म मन्दिर गएँ !

फ्ल्यासब्याक – १

पहिलोपटक महिनावारी हुँदा लुकेर सान्दाइको अनुहार हेर्न मन लाग्यो । अनि, उसले मलाई अब के भन्ला, गाली गर्ला कि, मसँग खेल्न आइन्दा नमानिदेला कि भन्ने सन्तापले रोएँ । दाइ, दिदी, बाआमालाई मेरोबारे के भन्ला ? यो पीर मनमा रहिरह्यो । र, आफूलाई सम्हाल्न सकिनँ । उसको अनुहारको भाव पढ्न सक्थेँ । त्यसैले उसलाई लुकेर हेर्न मन लागेको थियो । तर, अहँ मैले सुरुको दिन उसलाई देख्नै पाइनँ । कोसिस यत्तिकै खेर गयो । अनि आफूलाई आफैँभित्र दबाएर राखेँ ।

सबैले भन्थे, ‘महिनावारी भनेको पापको प्रायश्चित्त हो । भगवान्ले दिएको सजाय ।’ तर, मैले कहिल्यै कुनै पाप गरेको छु कि, सम्झन खोजेँ । सम्झन खुब बल गरेँ । सकिनँ । सधैँ धर्मै गरेको मात्रै सम्झिएँ । आमाको पछि लागेर पीपलमा जल चढाएको, मन्दिर गएर एकचित्तले भगवानको पूजा गरेको । मलाई परीक्षामा पास गराइदिन सोर्स लाएको र पास भएको । इत्यादि । यहाँ पाप त कहीँ थिएन । धर्मैधर्म थियो ।

म कुन पापले महिनावारी भएँ बुझ्न सकिनँ । बालाई सोध्दा ‘नकरा । यताउति नछो, पाप लाग्छ । दाइलाई नछो’ पनि भन्नुहुन्थ्यो । फेरि, अर्को पापको भारी सम्हाल्नुपर्छ, दाइलाई केही हुन्छ कि भन्ने कुराले जिरिंग हुन्थ्यो । यो थियो पहिलोपटक महिनावारी हुँदाको डर–भाव । १०–१२ वर्षे फुच्चीले अब १८–१९ वर्ष भएपछि महिनावारीको सम्बन्ध पाप र धर्मसँग होइन, बालिकाको शारीरिक विकास र प्रजननसँग जोडिएको कुरा बुझी ।

यति बुझे पनि कतिपटक महिनावारी हुँदा अलक्कै परै बसेर खाना खाएकी छ त्यो फुच्चीले । घरमा पानी दिने मान्छे नहुँदा दिनभरि पानी पनि नपिई बसेकी छ । किनकि त्यो फुच्ची त्यही समाजको हिस्सा हो, जसले महिनावारीलाई पाप र धर्मसँग जोडेर परम्परादेखि नै एउटा नमीठो भ्रम छरिरहेको छ । एक दिन त्यही अलि बुझकी फुच्चीलाई साँच्चै नै के रहेछ त भनेर एक्सपेरिमेन्ट गर्न मन लाग्यो र सुरु गरी एक्सपेरिमेन्ट शृंखला । यहीँ भनूँ, त्यो फुच्ची मै हुँ !

त्यो दिन ठूलीआमाको घरमा सैयाँ दिदी र म जाने निधो गर्‍यौँ । त्योबेला हामी दुवै महिनावारी भएका थियौँ । दिदीलाई भनेँ, ‘सैयाँ, हामी मिन्स भएका छौँ भनेर कसैलाई नभनौँ, कसैले आफैँ थाहा पाउँछ कि पाउँदैन हेरौँ न । थाहा पाए के हुन्छ, भगवान्ले के सजाय दिने रैछन्, एक्सपेरिमन्ट गरौँ न त ।’ सैयाँको अनुहार डरले रात्तियो । किनकि मैलेभन्दा धेरै महिनावारीसम्बन्धी ‘भ्रम’ को बारेमा उनले सुनेकी थिइन् । त्यसैले उनी त्यो प्रयोग गर्न तयार भइनन् । म अघि बढेँ ।

सैयाँ मलाई फकाउन खोज्दै थिइन्, ‘त्यसो नगर नानी, कसैले थाहा पाइहाल्यो भने झन् नराम्रो हुन्छ, हामी त यहाँ पहिलोपटक आएका छौँ, पछि नराम्रो हुन सक्छ । दुवै जनालाई महिनावारी भएको छ भनौँ, आखिर भएको पनि त्यही नै त हो ।’ मैले भनेँ, ‘नाइँ । तिमी जेसुकै गर तर म महिनावारी भएको कुरा त्यहाँ नखुलाइदेऊ ।’ म आफ्नो अडानबाट पछि हट्दै हटिनँ । मलाई थाहा पाउनु थियो, साँच्चै नै मलाई पाप लाग्छ कि लाग्दैन ? लाग्छ नै भने कस्तो पाप लाग्छ ? के हुन्छ ?

हाम्रो यो खुसुर–फुसुरमाझ ठूलीआमा कराउनुभयो, ‘नानी जा तो एक अम्खोरा जल ल्याइदे नल पेलेर । चोखो जल चाइयो अरे ठूलोबुबालाई पूजा थानाँ ।’ सैयाँतिर हेरेँ, निमेषमै आँखा झिम्क्याएँ र खुरुर्र कुदेँ । नल्का चलाएर ‘जल’ भरेँ । फर्किंदा दिदीसँग छुस्स छोइयो । ठूलीआमाले ठ्याक्कै देख्नुभो । ‘लौ हेर् यसले त दिदीलाई पो छ्वाई, जा फेरि अम्खोरा पखालेर जल भरेर ले,’ सैयाँले आफ्नो कुरा भनिसकिछन् । मैले टाउको हल्लाएँ । र, नयाँ ‘जल’ भरेर अम्खोरा बोकेर पूजा कोठामा गएँ । ठूलोबुबा बर्बराउनुभयो, ‘छोरी आएर कति सजिलो भयो ।’ ठूलोबुबालाई सजिलो भएको थाहा पाउँदा मन फुरंग भयो ।

‘जल’ ल्याउने कामबाहेक म ठूलीआमासँगै भान्सामा यता र उता पनि गरिरहेकी छु । कुलदेवता राखेको ठाउँमा पुगेर प्रसाद निकालेर आएकी छु, टिकासँगै ठूलीआमाको आशीर्वाद पनि पाएकै छु । खै केही हुँदैन त ! दिदीचाहिँ अलक्कै बसिरहेकी छन् । घरीघरी डरले यत्रा–यत्रा भएका आँखाले हेरिरहेकी पनि छन् । मचाहिँ उही तालमा उनलाई सुटुक्क आँखा झिम्क्याउँदै फुरुकफुरुक गरिरहेकै छु ।

ठूलोबुबाहरूको कुलदेउता देखेर पनि गजब लाग्यो । म महिनावारी भएको अरूले थाहा नपाए पनि भगवान्ले त थाहा पाउलान् ! मलाई तत्कालै केही सजाय देलान् । अहँ केही सजाय पाइरहेकी थिइनँ मैले । झन् खुसी पो भएकी थिएँ । सैयाँचाहिँ एउटा कुनामा लुपुक्क परेर बसेकी छन्, भगवान्ले बडो नाइन्साफी गर्दा रैछन् । लाग्यो, भगवान्को पनि यो कस्तो अचम्मको पक्षपात हो ?

पाँचौँ दिनबाट दिदी पनि भान्सा र पूजाकोठामा जान थालिन् । मलाईचैँ अझै अब के हुन्छ भनेर जान्न मन थियो नै । पूजाकोठामा ‘जल’ पु‍र्‍याउँदा, भान्सामा बसेर ठूलोबुबासँगै खाँदा अनि ठूलीआमासँगै उहाँहरूको कोठामा सुत्दा र ‘गर्न नहुने’ काम इत्यादि गर्दा पनि ममा कुनै त्यस्तो अनौठो परिवर्तन अझै देखिएन बा ! पछि पो देखिन्छ कि ? मेरो डरमा सैयाँले घरीघरी घ्यू थप्थिन् ।

म ‘साथीसँग मनका कुरा’ नामक रेडियो कार्यक्रममा काम गर्न थालेँ । त्यतिन्जेलसम्म ठूलीआमाकोमा गएर गरेको त्यो एक्सपेरिमन्टको केही सजाय पाएकी थिइनँ ।

कार्यक्रम उत्पादनकै सिलसिलामा देशका विभिन्न जिल्लामा जानुपर्ने हुन्थ्यो । जान्थेँ । एकपटक त्यसरी नै जिल्लामा गएको बेला त्यहाँका स्थानीय सञ्चारकर्मी साथीले ‘फलानो मन्दिर यहाँको एकदमै प्रसिद्ध मन्दिर हो, आएको बेला घुम्न जाऊँ न त’ भन्नुभयो । अनि मसँगै गएको साथीले ‘लौ जाऊँ त नि’ भने । म त्योबेला पनि महिनावारी भएकी थिएँ ।

हामी मन्दिर गयौँ । बाटोमा सँगै गएका स्थानीय सञ्चारकर्मी साथीले सुनाउन थाल्नुभयो, ‘त्यो प्रसिद्ध मन्दिरमा महिनावारी भएको मान्छे गयो भने, माताले ठाउँको ठाउँ नराम्रो गर्नुहुन्छ । मान्छे मर्न पनि सक्छ ।’

मन चसक्क भयो । पहिलो परीक्षण सफल त भइसकेकाले अलि ढुक्क पनि भयो । यो त अरूकै ठाउँ, अरूकै आस्थाको केन्द्रविन्दु हो । कतै म मन्दिरभित्र पस्दा मलाई मात्रै नभएर अरू कसैलाई केही हुने त होइन ?

हाम्रो समाजमा महिनावारी हुँदा मन्दिरमा पस्नु भनेको पाप हो भनेर सिकाइएको थियो । मैले जति नै परीक्षण गर्न खोजे पनि मनको कुनामा मेरो परिवारले सिकाएको कुरा लुकेर बसेको थियो ।

म एकदम दोधार भएँ । जाऊँ भने कसैलाई केही भइहाल्छ कि ? या मलाई नै केही भइहाल्छ कि भन्ने डर, नजाऊँ भने अर्कोपटक यो मौका नआउन पनि सक्छ । अहिले पनि दुई मनबीच एकदमै चर्काचर्की हुन थाल्यो । एउटाले भन्छ जा, अर्कोले भन्छ किन जाने ? कसैको आस्थालाई ठेस किन पुर्‍याउने ? मेरो मनको एउटा कुनाको बोली नै मलाई उपयुक्त लाग्यो र म गएँ । म दोस्रो एक्सपेरिमन्ट गर्न तम्सिएँ । अनि म मन्दिर गएँ ।

दिनहरू बिते । महिनावारी भएको बेला मन्दिर गएका कारण मलाई केही भएन । किनकि महिनावारी हुनु पाप थिएन । कोही मन्दिर जाँदा पनि कसरी पाप होला ?!

म आफैँलाई यो कुरा बुझ्न आफू महिनावारी भएको दशकै लाग्यो । त्यसपछि महिनावारी बार्न छोडेँ । मैले पो बार्न छोडेँ । मेरो परिवार त त्यही समाजमा बस्छ र म पनि परिवारसँगै त्यही समाजमै बस्छु ।


फल्यासब्याक–२

बिहे भएको केही दिनपछि मेरो महिनावारी भयो ।

यही बेला हो, मलाई दोस्रोपटक रुन मन लागेको ।

रुन मन लाग्यो तर रोइहाल्न सकिनँ । बिहेपछि मेरो लागि सबै परिवेश नयाँ थियो । ठाउँ नयाँ थियो, मान्छे नयाँ थिए । परिवार नयाँ थियो । परिवारले मान्ने चालचलन पनि नयाँ थियो । यस्तो अवस्थामा कसलाई भन्नु आफ्नो मनको कुरा !

सुत्ने कोठा उही । महिनावारी भएकाले सुत्ने ठाउँ र बिस्तारा फरक । पलङभन्दा थोरै छेउमा सानो खटिया राखेको । खटियामाथि कम्बल, चस्स बिझाउने खालको । त्यसको माथिबाट सबैतिर नपुग्ने तन्ना । महिनावारी भएकाले त्यसरी अलक्कै रहनुपर्ने थियो । देख्नेबित्तिकै आँखा भरिए । सम्झेँ, आफ्नो घरमा हुँदा आमा–बुवालाई घुर्की लाई–लाई सुतेको । ठूलीआमाकोमा जाँदाको त्यो विद्रोहात्मक प्रयोग ।

त्योबेला भन्न सक्ने केही थिएन । ठूलो परिवार थिएन । कुरा सेयर गर्न सक्ने श्रीमान् मात्र थिए । भनेको भए मानिहाल्थे । मन हलुका हुन्थ्यो । बूढा बा–आमाको मन गह्रुंगो बनाएर आफू हलुंंगिन सकिनँ । नयाँ परिवारको आस्थामाथि चोट पुर्‍याउनुभन्दा पछि बिस्तारै चलन फेर्ने अनि सबैलाई कन्भिन्स गर्ने अठोट गरेँ ।


घटना एक – धेरै जान्नी नहो !

बिहे भएको झन्डै एक वर्षपछि (सासू) ममी काठमाडौँ आउनुभयो । महिनावारी बार्ने, नबार्ने, नबारे के हुनेबारे कुरा हुन थाल्यो । श्रीमान्ले (सासू) ममीलाई सोधे, ‘ममी महिनावारी हुँदा किन पूजा गर्न, खाना बनाउन, राम्रो बिस्तारामा सुत्नु हुन्न ?’ जुन कुरा मैले केही समयपहिले आमालाई सोध्ने गर्थें, नजानेझैँ गरी त्यही कुरा उनले ममीलाई सोधिरहेका थिए । पुरानो पुस्तालाई परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो सल्लाहअनुसार गरिएको बातचित थियो । आमाको जस्तै सासूममीको पनि जवाफ आयो, ‘धेरै जान्नी नहो !’ ठान्यौँ, पहिलो प्रयास असफल भयो । फेरि, प्रयास गर्नुपर्ला । आखिर मान्छेले गरिआएको चलन त्यति चाँडै त्यति सजिलै कहाँ परिवर्तन हुन्छ !


घटना दुई – संसार यिनैको हो दिदी...

अलि दिनमा घर जान पाएँ । यतिन्जेल ममीसँग घुलमिल भइसकेकी थिएँ । उहाँ ‘साथीसँग मनका कुरा’ को जबर्जस्त फ्यान हुने यात्रामा हुनुहुन्थ्यो । यही विषयमा थुप्रै कार्यक्रम बनिसकेका थिए । ममीले कार्यक्रम लगातार सुनेको मलाई बताइरहनुहुन्थ्यो । महिनावारीको कुरा पहिले गर्दा सीधै सुन्न नखोज्ने उहाँको अनुहार अब त्यही विषयमा कुरा गर्दा उज्यालिन थालेको थियो ।

त्यो दिन म भान्सामा एकसुरले केही काम गर्दै थिएँ । जाँतोमा दाल पिसिरहनुभएकी ममी र टोलकै एक जना आमा गफ गरिरहनुभएको थियो । छिमेकीलाई उहाँका छोरा–बुहारीले तीर्थ लैजाँदै रैछन् । बुहारी महिनावारी भएकाले बुहारीबाहेक अरू जाने भएछन् । ममीले भनेको सुनेँ, ‘लैजानुस् बुहारीलाई । केही हुन्न लएर ।’

‘फुटेकीलाई के लानु मन्दिर ? कसरी लानी ? भगवान्ले के भन्चन् ?’ छिमेकी आमा हल्का झोक्किनुभयो ।

ममीले उहाँलाई फकाउने प्रयास गरेको म आश्चर्यचकित भएर सुनेँ, ‘केको डर दिदी ? भगवान्लाई पनि त महिनावारी हुन्छ । त्यही महिनावारी हुने भगवान्लाई हामी विभिन्न नामले पुज्छौँ तर आफैँ भने पापको रूपमा लिन्छौँ । हाम्रो सविता त मन्दिर जान्छिन्... ।’

यत्ति सुनेपछि छिमेकी आमा अवाक् भइन्, विस्मयको भाव खुब झल्केको देखिन्थ्यो अनुहारमा ।

ममी फेरि बोल्नुभयो, ‘महिनावारी हुनु नराम्रो हैन भनेर अरूलाई सिकाउने मान्छे आफैँले बार्न त भएन नि !

अबको जमानामा पनि यस्तो कुरा गरेर हुन्छ ? जानुस् सबै परिवार भएर । बिचरी बुहारीलाई लैजानुस् । म भए त लान्थेँ...हऽऽऽ स्वादै... ।’ ममीले ढोकामा उभिएकी मतिर पुलुक्क हेरेर हाँस्नुभयो ।

छिमेकी आमा एकनासले सुन्दै थिइन् ममीलाई, ‘हामीले यो कुरालाई पाप–धर्मसँग जोड्यौँ दिदी । भगवान् त केलाई पक्षपाती हुँदा हुन् र । यो त प्राकृतिक कुरा रैछ । आऽऽऽ हामीपछिका यी केटकेटीलाई जिम्मा लाइदिम् दिदी । संसार अब यिनकै हो... ।’

सुनेर म अवाक् भएँ, केही समयपहिलेकी मेरी सासू–ममी र अहिले कि उहाँलाई देखेर ! बिहेपछि पहिलोपटक महिनावारी हुँदा छुट्टै बिस्तारा लगाइदिने उहाँ र ती बूढी आमासँग गफ गरिरहनुभएकी उहाँलाई देखेर अचम्म लाग्यो । ढुक्क भएँ, परिवर्तन एकैपटक नआउने रहेछ ।

आखिर कसरी उहाँमा यति छिटो परिवर्तन आयो ? सायद बुझ्नुभयो होला कि महिनावारी पाप र धर्मसँग होइन महिलाको शारीरिक विकास र प्रजनन स्वास्थ्यसँग जोडिएको कुरा हो भनेर ।

उहाँ मेरो कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ । सायद कार्यक्रमको प्रभाव पनि हुन सक्छ । या आफैँले बुझ्नुभएको हुन सक्छ । उहाँको कुराले मेरो मन प्रफुल्ल भयो । मैले महिनावारीका बेला गरेका प्रयोग उहाँले गर्नुभएको छैन पक्कै । मेरा ती प्रयोगलाई सही साबित गरिदिनुभयो । हामीले नकारात्मक कुरालाई मात्रै प्राथमिकता दियौँ, महिनावारी हुँदा छाउगोठमा भएका नराम्रा घटनाबारे धेरै समाचार सुन्यौँ । तर, मेरी सासूममीजस्ता हजारौँ आमामा आएका यस्ता परिवर्तन सुनेनौँ । पाप र धर्मभन्दा पर केही चीज छ, त्यो हो जीवन ! असल र खराब कामको बक्ररेखामा एक चीज दौडन्छ, त्यो हो जीवन !

@ACSabita

प्रकाशित : माघ १८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?