कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नायक, प्रतिनायक, नायकदेशीय

राणाशासन गएपछि नायकको रूपमा उठाइएका पृथ्वीनारायण शाहलाई गणतन्त्र आएपछि खलनायकको रूपमा चित्रण गर्न थालियो । 
डा. महेशराज पन्त

काठमाडौँ — पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१) लाई मेरै जिन्दगीमा सरकारले कहिले नायक, कहिले प्रतिनायक त कहिले नायकदेशीय बनाएकोले विषयप्रवेश गर्नुभन्दा अगाडि यी तीन शब्दबारे केही लेख्नुपरेको छ । हाम्रो संस्कारअनुसार, राम नायक हुन् भने रावण प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायक । अब स्पष्ट पार्नुपर्ने शब्द छ नायकदेशीय ।

नायक, प्रतिनायक, नायकदेशीय

यस समस्तपदमा पूर्वपद अर्थात् नायकको विषयमा त केही लेख्नुपरेन, उत्तरपद अर्थात् देशीयको विषयमा केही लेखौँ । ‘नभइसकेको तर हुन हुन लागेको’, ‘नपुगिसकेको तर पुग्न पुग्न आँटेको’ भन्ने अर्थमा मूल शब्दमा ‘कल्प’, ‘देश्य’ वा ‘देशीय’ शब्द जोडिन्छ । विद्वान् त भइसकेको छैन, हुन हुन लागेको छ भन्नुपर्दा ‘विद्वत्कल्प’, ६ वर्ष त पुगिसकेको छैन, चाँडै नै पुग्छ भन्ने अर्थमा ‘षड्वर्षदेश्य’, बोधिसत्त्व त भइसकेका छैनन्, अब चाँडै हुन्छन् भन्ने अर्थमा ‘बोधिसत्त्वदेशीय’ शब्दको प्रयोग भएको देखिएको छ । यसैले सरकारले ‘प्रतिनायक’ मा लतारिसकेका पृथ्वीनारायणलाई उसले नै फेरि उकासे पनि पहिलेको स्थितिमा अझै नपुर्‍याएकोले मैले यहाँ ‘नायकदेशीय’ शब्दको प्रयोग गरेको हुँ ।


राणाशासन गएपछि अर्थात् प्रजातन्त्रोत्तरकालमा सरकारले पृथ्वीनारायणलाई नायकत्वमा बिस्तारै प्रतिष्ठापित गर्‍यो । राजा हटाई देशलाई गणतन्त्रात्मक बनाएपछि सरकारले उनलाई प्रतिनायकको रूपमा हेर्न थाल्यो र उनको जन्मदिनको दिन दिँदै आएको बिदा पनि उसले कटौती गर्‍यो । त्यो कटौती अझै गरिए पनि पृथ्वीनारायणतर्फ गणतान्त्रिक सरकार केही समयदेखि नरम हुँदै आएको छ । चन्द्रागिरिमा ठड्याइएको पृथ्वीनारायणको सालिक वि.सं. २०७४ मा राष्ट्रपतिले उद्घाटन गर्नु, त्यही साल पृथ्वीजयन्तीलाई फेरि राष्ट्रिय एकतादिवस मानी बिदा दिनु, सिंहदरबारअगाडि ठड्याइएको पृथ्वीनारायणको सालिकमा पृथ्वीजयन्तीको दिन फूलको गुच्छा चढाउन पोहर राष्ट्रपति जानु, तर अघिल्लो वर्ष दिएको बिदा फेरि काट्नु, यसपालि पोहरको जस्तै पृथ्वीजयन्तीमा राष्ट्रपति र प्रधानमन्त्रीको वक्तव्य आउनु, तर पृथ्वीनारायणको सालिकमा फूलको गुच्छा चढाउन राष्ट्रपति नजानु र बिदा पनि नदिनु यसका केही दृष्टान्त हुन् । यसको अर्को थप उदाहरण ‘अहिले सरकारले पनि पृथ्वीजयन्ती मनाउने दायित्व प्रज्ञा प्रतिष्ठानलाई दिएको छ’ (‘उपनिवेश बन्नबाट जोगाए’, ‘नयाँ पत्रिका’, २०७६।९।२६।७, क पृ.) भनी नेपाल प्रज्ञा–प्रतिष्ठानका बहालवाला उपकुलपतिले बोलेकाले पृथ्वीजयन्ती मान्ने काम प्रज्ञा–प्रतिष्ठानले स्वविवेकले नगरी सरकारले आफ्ना कर्मकर अर्थात् तलबी कामदारद्वारा गराएको देखिएको छ ।

00000

पृथ्वीनारायणले विजययात्रा गर्दा हिँडेको बाटो पहिल्याएर त्यस बाटोको नाउँ ‘एकीकरण पदमार्ग’ भन्ने राखी त्यही बाटो पछ्याउँदै नेपाली सेनाको एक टुकडीले गएको पूस १८ गते गोरखाको हनूमान् भञ्ज्याङबाट पैदल यात्रा शुरू गरी त्यो टुकडी पूस २७ गते काठमाडौँ आइपुग्यो । पर्यटन विकासका लागि सेनाले अघि सारेको पदमार्ग बनाउने अवधारणाको समर्थनमा भाषण गरी त्यस पदमार्गसम्बन्धी तीन–दिने सम्मेलनको समापन त्यही दिन रक्षामन्त्रीबाट भयो । यस्तो पदमार्गको घोषणा भएपछि नेवारहरूमा छाएको आक्रोश र त्रास अखबारमा पनि प्रतिविम्बित भयो (अस्मीत मल्ल, ‘पुस २७ निसें पुस २७ तक’, ‘नेपालभाषा टाइम्स’, २०७६।१०।६।२, २ पृ.) । हुन पनि हो, पृथ्वीनारायणले तीन नेवारराज्य मात्र जितेका होइनन्, त्यत्तिकै संख्यामा सेनराज्य पनि जितेका हुन् । काठमाडौँ–विजय गोरखा–राज्यविस्तारको समापन नभई दिग्विजयको एउटा कडी मात्र त्यो भएकोले किन काठमाडौँ जितेकोलाई मात्र ठूलो ठानेर पदमार्ग बनाउनुपर्‍यो ?


यस प्रसङ्गमा आधा शताब्दीभन्दा अगाडिको एउटा घटनाको सम्झना आयो । त्यो के भने, काठमाडौँ–विजयको दुइ–सयौँ वार्षिकोत्सव राष्ट्रिय एकता–दिवसको नाउँ दिई वि.सं. २०२५ मा धूमधामसँग मनाइएको थियो । त्यस अवसरमा विद्वत्सभा गरियो, रेडियोबाट विशेष कार्यक्रमको प्रसारण भयो र विशेष प्रकाशन पनि गरियो । त्यस बेला पनि नेवारहरूले यस उत्सवलाई राम्रो मानेका थिएनन् । मैले पनि काठमाडौँविजय न नेपाल–एकीकरणको आदि हो, न अन्त्य नै हो, यसलाई यति ज्यादै महत्त्व दिनु जरूरी छैन भन्ने भावले तत्कालैजसो एउटा लेख तयार पारेको थिएँ, छापिन भने केही वर्षपछि मात्र छापियो (‘डिड् वी सेलेब्रेट् द रीयल् यूनिफिकेशन् डे ?’, ‘रसायन’ ३ वर्ष १ अङ्क, २०२९, १९–२३ पृ.) । अहिले बनाउने भनिएको एकीकरण पदमार्गबाट पनि २५० वर्षभन्दा अगाडि घाउ लागी जमिसकेको पाप्रो फेरि कोट्ट्याइएको ठानिने हुनाले यस्तो बाटो जरूरी छैन भनी भन्न मन लाग्छ ।

00000

राजाको नाउँमा आफ्ना कृति दर्ता गरी लेखक–कविहरू धन–मान कमाउने उद्योग गर्थे भन्ने कुरा गम्भीर पाठकहरूको लागि नयाँ होइन । नेपालकै कुरा गर्ने हो भने पनि त्यस्ता कृति छ्यासछ्यासती पाइन्छन् । नेवार मल्ल राजाहरूका र गोरखाली शाह राजाहरूका कृति भनी कहलिएका ग्रन्थ पनि त्यस्तै हुन् । यस विषयमा भिन्नै लेख रच्न सकिने भएकोले अहिले म त्यतातिर जान्नँ । यस प्रसङ्गमा नभनी नहुने एउटा कुरा भने भनिहाल्छु । त्यो के भने, ‘पुरश्चर्यार्णव’ भन्ने नाउँले प्रसिद्ध तान्त्रिक ग्रन्थ पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह (वि.सं. १८०६–१८३४, राज्यकाल वि.सं. १८३१–१८३४) ले लेखेको भनी प्रख्यात छ । तर, त्यो ग्रन्थ उनले लेखेको नभई विद्याकर सूरिनाउँका एक जना पण्डितले लेखेको हो भन्ने पत्ता लागिसकेको छ (नयराज पन्त, ‘प्रताप मल्ल र प्रतापसिंह शाह’, ‘पूर्णिमा’ १०४ पूर्णाङ्क, २०६०, ४६ पृ.) ।


सल्ल्यानकोटकी देवीको स्थानमा गई आफूले पाठ गरेको कुरा आफ्नो उपदेशमा पृथ्वीनारायणले बोलेकाले उनी धार्मिक ग्रन्थ पाठ गर्न सक्ने योग्यता राख्थे भन्ने देखिन्छ । यसो भए पनि उनका हस्ताक्षरलगायत केही पनि अहिलेसम्म नभेट्टिएकाले विद्यामा उनको ल्याकत कति थियो भनी भन्न गाह्रो छ । लिपिबद्ध पुस्तकको ज्ञान त्यति नभए पनि राजकुमारहरूलाई इतिहास–पुराणहरू सुनाइन्थे र त्यताबाट उनीहरू धर्मनीति र राजनीतिको केही ज्ञान लिन्थे । ‘हाम्रा मुमाहरू तीन हुन्, हामी तीन खोपीका पाँच पाण्डवका अवतार भएका थियौँ’ भनी उनले आफ्नो उपदेशमा बोलेकाले पौराणिक साहित्यबाट उनी वाकिफ थिए भन्ने देखिन्छ । उनी युवराज छँदै उनको १५ वर्षको उमेरमा गोरखा राज्यका धर्माधिकार मोक्षेश्वर अर्ज्यालले उनको आज्ञाले वि.सं. १७९४ मा महाभारत उद्योगपर्वका २ उपपर्व अर्थात् नीतिको कुरा परेका ‘प्रजागर’ र ‘सनत्सुजातीय’ सारेकाले उनलाई सुनाउन वा पढाउन ती उपपर्व सारिएका देखिन्छन् (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ ३ भाग, काठमाडौँ, २०४५, ७९३–७९४ पृ.) । राजकाज गर्न सजिलो हुन्छ भनी पण्डितहरूले पृथ्वीनारायणलाई सुझाएकाले उनले ‘याज्ञवल्क्यस्मृति’ को व्यवहाराध्याय पण्डितको मुखबाट सुनेको कुरा इतिवृत्तमा आएको छ (बुद्धिसागर पराजुलीद्वारा सम्पादित ‘नेपालराजकीयवीरपुस्तकालयको ऐतिहासिक पुस्तक श्री ५ बडामहाराज पृथ्वीनारायणशाहको जीवनी’, वीरपुस्तकालय, काठमाडौँ, २०२०, २९–३० पृ.) । यताबाट पनि उनी प्राचीन ग्रन्थको श्रवण गर्थे भन्ने थाहा हुन्छ ।


दरबार रिझाउनुमा नै बुद्धि खर्चेर आएका, राष्ट्रिय अभिलेखालयका चाटुकार हाकिमले ‘श्रीश्रीमन्महाराजाधिराज श्रीश्रीश्रीमत्पृथ्वीनारायणोद्दिष्टव्रतरत्नमाला’ भनी त्यस पुस्तकमा लेखिएको आधारमा कुनै प्रकारको पूर्वापर विचार नगरी ‘व्रतरत्नमाला’ पृथ्वीनारायणले लेखेको हो भनी माने पनि (बुद्धिसागर पराजुलीद्वारा सम्पादित ‘नेपालसम्राट्श्री५महाराजाधिराजपृथ्वीनारायणशाहदेवविरचिता व्रतरत्न–माला’, नेपाल राष्ट्रिय अभिलेखालय, काठमाडौँ, २०३१) ‘व्रतरत्नमाला’ मा पौडेल राजगुरु महामहोपाध्याय जयमङ्गल सूरिका शिष्य लक्ष्मण भट्टाचार्यको टीका भएकोले गुरुले मूल र शिष्यले टीका लेखी त्यो पुस्तक पृथ्वीनारायणलाई चढाएको हुनु धेरै सम्भव छ । त्यसमाथि, ‘कृत’, ‘प्रणीत’ र ‘रचित’ जस्ता शब्दको प्रयोग नगरी ‘उद्दिष्ट’ शब्दको प्रयोग त्यहाँ भएकोले यस सन्दर्भमा ‘उद्दिष्ट’ को अर्थ अनुसन्धेय छ । यस कारण यत्तिकैमा ‘व्रतरत्नमाला’ जस्तो पद्यात्मक शास्त्रीय संस्कृत ग्रन्थलाई पृथ्वीनारायणको रचना मान्न सकिँदैन । यो त उनीभन्दा ९ पुस्ताअगाडिका द्रव्य शाहको नाउँमा दर्ता भएको ‘राज्याभिषेकविधान’ जस्तै हो (बुद्धिसागर पराजुलीद्वारा सम्पादित ‘श्री ५ द्रव्यशाहकृतराज्याभिषेकविधानम्’, नेपाल राष्ट्रिय अभिलेखालय, काठमाडौँ, २०३१) ।


पृथ्वीनारायणको विषयमा अन्वेषण गरी ग्रन्थ लेख्ने कामको थालनी वि.सं. १९९२ मा सूर्यविक्रम ज्ञवाली (वि.सं. १९५५–२०४२) को ‘पृथ्वीनारायण शाह’ (नेपाली साहित्यसम्मेलन, दार्जीलिङ) छापिएपछि भएको हो । त्यसपछि लामो कालसम्म त्यस्तो पुस्तक निस्किएन । यसको ३० वर्ष नाघिसकेपछि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९) को ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह संक्षिप्त जीवनी १–४ भाग’ (श्री ५ महाराजाधिराजका प्रेससचिवालय, काठमाडौँ, २०२४–२०२६) प्रकाशमा आयो । यसको लगत्तैजसो नयराज पन्त (वि.सं. १९७०–२०५९) र उनका शिष्यहरूले तयार गरेको ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ (जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, २०२८) प्रकाशित भयो । यसपछि पुस्तकको झण्डै सयकडा चालीस खण्ड ओगटेको, लुड्विग स्टिलर (वि.सं. १९८५–२०६५) को ‘द राइज् अफ् द हाउस् अफ् गोर्खा’ (मञ्जुश्री पब्लिशिङ हाउस, नयाँ दिल्ली, ई.सं. १९७३) छापियो । साँच्चै भन्ने हो भने, पृथ्वीनारायणको विषयमा अहिलेसम्म जे जति प्रकाशमा आएका छन्, तिनको अधिकांश भाग यिनै पुस्तक पिष्टपेषण गरेर अर्थात् अघिबाटै पिँधिसकेको कुरा फेरि पिँधेर वा चर्वितचर्वण अर्थात् चपाइसकेको कुरा नै फेरि चपाएर तयार पारिएका हुन् भनी भन्दा त्यति बढ्ता बोलेको ठहरोइन ।


यसपालि पृथ्वीजयन्तीको तीन दिनअगाडि प्रधानसेनापतिबाट लोकार्पित, उनैको वक्तव्य सबभन्दा अगाडि राखिएको ‘अनेकौँका दृष्टिमा पृथ्वीनारायण शाह’ भन्ने १४०० पृष्ठको महाकाय ग्रन्थ (हरिप्रसाद सोडारीको प्रधान–सम्पादकत्वमा उनैद्वारा प्रकाशित) पनि चर्वितचर्वणकै कडीमा तयार गरिएको ग्रन्थ हो । ३४० वटा लेखको सँगालो भएको यो पुस्तक २०० वर्षभन्दा अगाडिदेखि छापिएका पुस्तकबाट आफूलाई अनुकूल पर्ने अंशको र पत्रपत्रिकामा छापिइसकेका लेखको उतार तथा आलाकाँचा लेखको अपरिष्कृत सम्पादन मात्र हो । त्यस पुस्तकमा सबभन्दा खट्कने कुरा त के छ भने, ‘व्रतरत्नमाला’ लाई पृथ्वीनारायणले लेखेको भनी गाभ्नु ।

00000

पृथ्वीजयन्तीको अवसरमा पत्रपत्रिका, रेडियो, टेलिभिजनमा यस पाला पनि पृथ्वीनारायण छाए । ठूला ठूला बुद्धिजीवी, मसीजीवी र ऐतिहासिकले अर्थात् आजभोलिको भाषामा इतिहासकारले उनको विषयमा निकै कुरा गरे । उनलाई सरकारले प्रतिनायकबाट नायकदेशीयतर्फ उकासे पनि गैरसरकारी तप्कामा भने एक थरीले ऊनलाई राष्ट्रनिर्माताको हैसियतले र अर्का थरीले त्रूर विजेताको रूपमा सम्झे । शब्दान्तरमा भन्दा उनलाई नायक बनाउने र प्रतिनायक बनाउने पुरानो कोशिश बरकरारै रह्यो ।

पृथ्वीजयन्तीको अवसरमा पत्रपत्रिकामा छापिएका ती सबै लेखको विषयमा त म अहिले जान्नँ, आफूलाई ज्यादै खट्केको एउटा लेखको मात्र चर्चा यहाँ गर्छु । त्यो लेख हो, मल्ल के. सुन्दर (वि.सं. २००५ मा जन्म) को ‘पृथ्वीनारायण शाह– चर्चा नगरिएका पक्ष’ (‘नयाँ पत्रिका’, २०७६।९।२६।७, ग पृ.) । कीर्तिपुरविजयपछि पृथ्वीनारायणले त्यहाँका बासिन्दाको नाककान काटेको विषयलाई त्यस लेखमा पृथ्वीनारायणको कामको चर्चा नगरिएको पक्ष भनी लेखिए पनि यस विषयमा निकै चर्चा भइसकेको छ । उदाहरणको लागि, ५ वर्ष ५ महीनाभन्दा अगाडि नै यस विषयमा मैले सप्रमाण खुलाएर लेखेको निबन्ध अघि सार्न सकिन्छ (‘पृथ्वीनारायण शाहको कीर्तिमा धब्बा’, ‘राजधानी’, २०७०।५।२।१, ७ पृ.) । पृथ्वीनारायणले नाककान काटेको सिद्ध गर्न मल्लजीले दिएका प्रमाणमध्ये कुनै नयाँ छैनन् र ती बारम्बार चर्चामा आइसकेका हुन् । त्यस लेखमा पृथ्वीनारायणका दरबारिया कवि ललितावल्लभको ‘पृथ्वीन्द्रवर्णोदय’ बाट एउटा श्लोक पनि सारिएको छ । तर, संस्कृतमा लेखिएको त्यो श्लोक उद्धरण गरिँदा त्यहाँ एक दर्जनभन्दा बढी गल्ती भएको छ र ‘पृथ्वीन्द्रवर्णोदय’ पनि ‘पृथ्वीचन्द्रवर्णनोदय’ हुन गएको छ ।


सनसनी फैलाउने खालको कुरा छाप्न माहिर जर्मन साप्ताहिक ‘स्टर्न्’ का पत्रकार हान्स–गेओर्ग बेहर (वि.सं. १९९४–२०६७) को ‘नेपाल् : गेशेङ्क् देर् गोय्तर्’ अर्थात् ‘नेपाल— देवताहरूको कोसेली’ (एकोन फेर्लाग, भियना र द्युस्सेलदोर्फ, ई.सं. १९७६) मा पृथ्वीनारायणले

अङ्ग्रेजबाट हातहतियार र पैसा पाई नेवारराज्यमा हमला गरेको भनी विनाप्रमाण लेखिएको कुरालाई नै आधार मानी पृथ्वीनारायणलाई नीचा देखाउने प्रसङ्गमा मल्लजीले लेखेका छन् । बेहरको पुस्तकमा पृथ्वीनारायणको विषयमा लेखिएका कुराको उल्था अङ्ग्रेजी, नेवारी र नेपाली भाषामा मुद्रित रूपमा र इन्टर्नेटमा छ्यासछ्यासती पाइन्छ र खास गरी त्यसकै आधारमा नेवारीमा एउटा उपन्यास पनि प्रकाशित छ । यसकारण बेहरको पुस्तकमा पृथ्वीनारायणको विषयमा लेखिएको कुरा चर्चा नगरिएको पक्ष कसरी भयो ? पृथ्वीनारायणको विषयमा बेहरले लेखेको कुरालाई लिई मैले अन्त अन्त पनि चर्चा गरिसकेकोले त्यही कुरा यहाँ दोहर्‍याउनुको कुनै तुक छैन (‘पृथ्वीनारायण शाह, अनि उनी र भारत’, ‘राजधानी’, २०६९।९।१५।१, ७ पृ. र ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘राजधानी’, २०७२।११।१५।७, ३ पृ.) । मल्लजीको लेखमा हान्स–गेओर्ग बेहरलाई ‘अस्ट्रियाको राजधानी भियनास्थित विश्वविद्यालयमा पढाउँदै आएका इतिहासका प्राध्यापक हान्स गर्ग वेर’ भनी चिनाइएकोले र उनको पुस्तकको नाउँ ‘नेपाल गेस्चेक द गुटर’ भनी दिइएकोले ग्रन्थकारको नाउँ, ओहदा र पुस्तकको नाउँ पनि गलत भएको कुरा यहाँनिर भन्नुपर्छ ।

प्रकाशित : माघ १८, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?