सोखिन संकलक

पुस्तक संकलन बुझ्नेका लागि वैभव, नबुझ्नेका लागि खाली सिसी पुराना कागज । पारखीले नै बुझेको हुन्छ, पुस्तकको सौन्दर्य । किताबले जीवनको शून्यतालाई भरिदिन्छन् भन्ने सबैलाई थाहा नहुन सक्छ । पुस्तक संकलकको सेखापछि निजी पुस्तकालय के हुन्छ ? त्यो पुस्तकालय कसको हुन्छ ? एक रिपोर्ट :

काठमाडौँ — जावलाखेलको घर छाड्दा अंशभन्दा पहिले पुस्तकको बन्डा मिलाए, इतिहासकार दाजुभाइ महेशराज–दिनेशराज पन्तले । छिनोफानो भयो, पुराना लेखोटजति दाजुले राख्ने, छापा किताबजति भाइले । विक्रम संवत् १७३४ देखि १९४० सम्मको हस्तलिखित पात्रो महेशकहाँ छन् भने त्यसपछिको मुद्रित पात्रो दिनेशकहाँ । 

सोखिन संकलक

लक्ष्मीपति–नयराज संग्रह नामक निजी पुस्तकालयको सरल भागबन्डा थियो त्यो । दैवज्ञशिरोमणि लक्ष्मीपति नयराज पन्तकी आमापट्टिका बाजेका पनि बाजे हुन् भने नयराज महेशराज र दिनेशराजका पिता । नयराजले अनेक स्रोतबाट जोरजाम गरेका ऐतिहासिक सामग्रीका शानदार दुई भँगाला छन्, एउटा महेश निवास डल्लुमा, अर्को दिनेश निवास धुम्बाराहीमा ।


‘पैसाको हिसाबले मकहाँ महँगो पर्‍यो होला, संख्याका हिसाबले भाइकहाँ धेरै पर्‍यो होला,’ महेश १६ वर्ष पुरानो पुस्तक बन्डाको समीक्षा गर्छन्, ‘तर बेग्लाबेग्लै थलोमा भए पनि पिताजीको संग्रहमा दुवैको बराबर स्वामित्व छ ।’


महेशको साढे तीन तलाको निजी पुस्तकालय छ भने दिनेशको दुई तलाको । दाजुकहाँ चार जना त कर्मचारी नै छन् । एक जनाको खर्च संशोधन मण्डलले बेहोर्छ । बाँकी ६५ हजार रुपैयाँ खर्च महेशले गोजीबाटै गर्छन् । ३० दराज किताबको राखनधरन दिनेश एक्लैले गर्दै आएका छन् ।


महेशको १२ कोठे निजी पुस्तकालयमा दुर्लभ र अद्भुत सामग्री प्रशस्तै छन् । जस्तो : राजा गीर्वाणयुद्धविक्रम शाहको ७८ हात १२ अंगुल लामो र १७ अंगुल चौडा रंगीन र कलात्मक चिना । यो चिना उनका बराजु लक्ष्मीपतिका छोरा राजज्योतिषी लीलानाथ पाँडेले लेखेका रहेछन् । भोजपत्र र ताडपत्रमा लेखिएका मल्लकालीन लिखत, शाह राजाहरूले गरिदिएका लालमोहर, १९औं शताब्दीमा तयार पारिएको जुम्लाको नक्सा पनि छन् ।


दिनेशको निजी संकलनमा पनि काठको गाता भएका, बासा अर्थात् विशेष प्रकारको कपडाले मोडिएका र स्टिच नमारिएका किताब देखिन्छन् । उनको संकलनमा दुई सय वर्षअघि मुकुटानन्द बज्राचार्यले सारेका नेपाल भाषामा ज्योतिष दर्पणसमेत छ । ‘बुबा र दाजु सकभर किताब दिनै नचाहने, मचाहिँ लग्नुस् न भनी निहुँ खोजीखोजी दिने,’ दिनेश आफ्नो शैली फर्माउँछन्, ‘फर्काउने विश्वास दिलाउन सके म जति पनि दिन्छु ।’


ललितपुर, बखुन्डोलका तीर्थराज वन्तको घरमा तीनवटा पुस्तकालय छन् । तीन पुस्ताको छुट्टाछुट्टै संकलन । बाजे तीर्थराजको साहित्य, अन्तर्राष्ट्रिय मानवीय कानुन र बौद्ध धर्मसम्बन्धी, अर्को छोरा प्रत्यूषको इतिहास र समाजविज्ञान अनि दुई नातिको बालसंग्रह ।


बुबा गणेशराज वन्तका लागि ठहिँटीको प्रदीप्त पुस्तकालय गएर किताब ल्याइदिने क्रममा तीर्थराजलाई अध्ययन र संकलनको लत बस्यो । किताब पढ्ने क्रममा आउने सन्दर्भ सामग्री पनि नछाड्ने उनको पाठकीय स्वभाव छ । उनको संकलनमा २ हजार ५ सयभन्दा ज्यादा नेपालीका काव्य किताब छन् । नेपालसम्बन्धी किताब संकलनको बिँडो भने पुत्रले थामिरहेका छन् । आफूले पढेका किताबमा धर्का, चिह्न र नोट धेरै हुने भएकाले हतपती अरूलाई दिँदैनन् ।


नयाँ–पुराना पुस्तकको बासनामै आफूलाई भुलाइरहेका हुन्छन्, हरि शर्मा । जिन्दगीमा अनेक पद सम्हालेका यी राजनीतिशास्त्रीलाई पाठकको दर्जाजति प्यारो केही छैन । उनको सुकेधारा, नीलोपुलनजिक धोबीखोला किनारको घरको आँगन, दलान र सिरानसम्म पुस्तकका प्याकेट भेटिन्छन् ।


उनको सम्पत्ति भनेकै पुस्तक हो । साढे एक दशकअघि घर सर्दा उनका चार ट्रक सामानमध्ये दुई ट्रक त पुस्तकै रहेछन् । उनी कस्ता पुस्तकप्रेमी हुन् भने कक्षा ४ र ६ मा प्रथम हुँदा पाएको ‘मुनामदन’ र ‘सुलोचना’ समेत फालेका छैनन् । उनको निजी पुस्तकालयमा बहुविधाका पुस्तक छन् । बोलवाला भने राजनीति, दर्शन, संस्कृति, लोकतन्त्र, दक्षिण एसियासम्बन्धी पुस्तकको ।

हरेक पुस्तकमा उनी समयको विम्ब भेट्छन्, समाजको दर्पण देख्छन् । उनले पुस्तकलाई पैसाका दृष्टिले कहिल्यै हेरेनन् । महँगो र सस्तोको पनि हिसाब–किताब गरेनन् । पुस्तक संसारमा कतिसम्म सम्मोहित छन् भने ‘द गड द्याट फेल्ड’, ‘गान्धी एन्ड हिज अ पोस्टलेस’ अनि ‘हिस्ट्री अफ द वर्ल्ड’ का १२ वटा ठेली काखी च्यापिरहेका छन् । कतिपय पुस्तक दोहोर्‍याएर, तेहर्‍यादएर अर्डर गरिरहन्छन् । पुस्तक पसलका सहयोगीले कम्प्युटर बिलिङका कारण सम्झाइदिन्छन्, ‘यो पुस्तक त सरकहाँ पहिल्यै गइसकेको छ ।’


अद्भुत सोखिन

यहाँनेर भावपूर्ण सम्झना हुन्छ, अनौठा पुस्तक सोखिन शैलेन्द्रकुमार सिंहको । अंग्रेजीका प्राध्यापक सिंहको चाबहिल, मित्रपार्कको पाँचकोठे घरमा ५० भन्दा बढी विषयका २० हजारभन्दा बढी पुस्तक थिए । उनको निजी संकलनमा नोबेल साहित्य पुरस्कार पाएको किताबदेखि इन्साइक्लोपेडिया अफ ब्रिटेनिकासम्मको सजावट थियो ।


उनको जीवनको विषाद के भने पहिले आफ्नै सम्बन्धविच्छेद भयो, त्यसपछि एक्ली छोरीको । किताबको राखनधरन नमिलेर डिभोर्सी छोरीलाई घरमा राख्नसमेत सकेनन् । विशेष दिनमा मात्रै किताब खरिद गर्ने उनलाई आँखाको ज्योति मधुरो हुँदा यशोदा र सविताले किताब पढेर सुनाउँथे । किताब पढिदिएबापत घन्टाको हिसाबले पारिश्रमिक दिन्थे । आफ्ना पुस्तक अरूका लागि कसरी उपयोगी बनाउने ? सीसीटीभी राखेर सबैलाई खुला प्रवेश दिने उनको सोच पूरा हुन पाएन ।


‘शैलेन्द्रकी पूर्वपत्नी एयर होस्टेस थिइन्, विदेशबाट आउँदा प्रायः किताब लिएर आउँथिन् । डिभोर्सपछि उनी एक्ला भए । प्रायः ढोका थुनेर बस्ने भएकाले उनको मृत्यु पनि पाँच–सात दिनपछि मात्रै थाहा भयो,’ पूर्वछिमेकी नगेन्द्रराज शर्मा सिंहको दुःखान्त सुनाउँछन्, ‘टोलछिमेकले प्रहरी लगाएर ढोका फुटाउँदा उनको शव शौचालयको कमोडमा भेटियो ।’


सिंहका भाइहरूमा पनि पुस्तक अनुराग देखिएन । त्यसैले उनको जानेमाने पुस्तकालयको अवस्था अज्ञात छ । ‘हिजोआज म गौरीघाट बस्छु । पुरानो टोलको बाटो हेर्दा शैलेन्द्रको घरतिर यसो चियाउँछु,’ शर्मा खेद मान्छन्, ‘जहिल्यै ढोका थुनेको देख्छु । सायद त्यो घरमा कोही पनि बस्दैन ।’ सिंहको निधनपछि ती किम्मती किताब सुरक्षित भएजस्तो शर्मालाई लाग्दैन ।


पुस्तक संकलनको अनौठो सोख थियो, दिवंगत शिव रेग्मीको । ईश्वर बरालका दुर्लभ सामग्री निश्चित रकम तिरेर लिएका उनलाई पुस्तककै पिरलो भयो । घरमा पुस्तक र पत्रपत्रिका राख्ने ठाउँ नभएर केही सेट मार्टिन चौतारीलाई दिए, केही मदन पुरस्कार पुस्तकालयलाई दिए, केही भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयलाई । उनको सेखापछि एक्ली सन्तान शैलजा र ज्वाइँ प्रमोद भट्टराईले बाँकी किताब प्रज्ञा पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।


सफू छेंदेखि चिताइ तहविल

लिच्छविकालीन अभिलेखले समेत पुस्तक संग्रहको संकेत गर्छन् । पूर्वमध्यकालमा त सफू छें (पुस्तकको घर) को वर्णन नै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजयपछि दरबार, मठमन्दिर र गुम्बामा भएका सामग्री संकलन गरी एकै ठाउँ राख्न लगाए । तिनै सामग्रीलाई विसं १८६९ भदौ १५ गते राजा गीर्वाणयुद्घविक्रम शाहले हनुमानढोका दरबारको पूजाकोठामा राखी पुस्तक चिताइ (रेखदेख) तहविल (ढुकुटी) भनी लालमोहर लगाए । त्यसै दिनको सम्झनामा २०६५ यता पुस्तकालय दिवस मनाउने गरिएको इतिहासकार दिनेशराज पन्तको भनाइ छ ।


हनुमानढोकामा रहेका तिनै पुस्तकलाई जंगबहादुर राणाले विसं १९०४ मा थापाथली दरबारको जैसीकोठामा सारे । वीरशमशेरले १९५३ मा दरबार स्कुलमा सारेपछि दरबार लाइब्रेरी भन्न थालियो र १९५७ मा घण्टाघरमा सारी वीर पुस्तकालय भनियो । देवशमशेरले गोरखापत्रमार्फत त्यो सर्वसाधारणका लागि खुला गरिदिए । तिनै सामग्री राखेर २०२४ मा राष्ट्रिय अभिलेखालय बन्यो ।


राणाकालीन दुई सेलेब्रिटी

राणाकालमा पुस्तक संग्रहको रुचिका कारण दुई नेपाली सेलेब्रिटीजस्ता थिए । विदेशीहरू नेपाल आउँदा केशरशमशेर र हेमराज शर्मा पाण्डेलाई नभेटीकन फर्किंदैनथे । अझ रोचक प्रसंग विक्रम संवत् १९९१ को हिउँदमा आउँदा दुवैको प्राचीन संग्रहबाट फाइदा उठाएको राहुल सांकृत्यायनले ‘मेरी तिब्बत यात्रा’ मा उल्लेख गरेका छन् ।


इतिहासकार महेशराज पन्तका अनुसार, राजगुरु हेमराजको निजी संग्रह विभिन्न व्यक्ति र स्रोतबाट हत्याएका संस्कृतविद्याका लागि महत्त्वपूर्ण थियो । राजा त्रिभुवनकी आमाले डिल्लीरमणका बाबुबाट छोरी किनेर हेमराजलाई कन्यादान दिएकी थिइन् । उनको निजी संग्रह उनका श्रीमती र छोराहरूले तीन लाख भारुमा बेचे हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयलाई ।


दिनेशका शब्दमा हेमराजका अनुसन्धानका पुस्तक साला डिल्लीरमणले र कर्मकाण्डका पुस्तक सहयोगी सोमनाथ सिग्द्यालले उडाएका कारण पुस्तकको संख्या नपुगेकाले परिवारले ३३–३५ हजारजति भारु पाउन सकेनन् । भलै डिल्लीरमणको निजी संकलनबाट समेत लाजिम्पाटमा डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय बनेको छ भने सिग्द्यालको निजी पुस्तकबाट वाल्मीकि क्याम्पसमा पुस्तकालय बनाउन भरथेग भयो ।


चन्द्रशमशेरका साहिँला छोरा केसरशमशेर १३ वर्षको उमेरमै मेजर जर्नेल भइसकेका थिए । लाठसाहेब केशरशमशेरको संग्रहमा पाश्चात्य विद्याको वर्चस्व भए पनि संस्कृतका पुस्तक पनि कम थिएनन् । ताडपत्र र कागतमा लेखिएका ६ सय थानभन्दा बढी पुस्तक र कतै नभेटिने ग्रन्थरत्न पनि रहेको महेशले लेखेका छन् ।


उसो त केशरशमशेर ‘कलेक्टर’ मात्र थिएनन्, ‘स्कलर’ पनि हुन् । आफूले जोडेका पुस्तकमध्ये धेरैजसो केशरशमशेरले पढेका थिए । २०२५ मा उनको परिवारले झन्डै २८ हजार पुस्तकको संग्र्रह, पत्रपत्रिका, अखबारका कटिङ, तैलचित्र, फोटोग्राफ, मूर्ति, नक्सा र शिकार खेलिएका वन्यजन्तुको अवशेष पनि राखिएको महल एवं त्यसले चर्चेको ३४ रोपनी जमिन सरकारलाई विधिवत् समर्पण गर्‍यो । र, त्यो केसर पुस्तकालयका रुपमा छ ।


रोचक त के भने, आफूलाई मानार्थ डिग्री दिने भएपछि केशरका पिता चन्द्रशमशेरले बनारसका एक जनाको तीन हजारभन्दा बढी किताबको निजी पुस्तकालय नै किनेर बेलायतको अक्सफोर्ड युनिभर्सिटी पठाएछन् । उनले पठाएका सामग्री थपिएपछि अक्सफोर्डको पुस्तकालय युरोपमै संस्कृतका पुस्तकहरूको सबैभन्दा ठूलो संग्रहालय बनेको दाबी इतिहासकार शंकर थापाको छ ।


निजी संकलनबाटै सार्वजनिक

भक्तपुरको मध्यपुर थिमि–८, बोडे लाछीटोलका सजिव श्रेष्ठले निजी संकलनका १० हजार पुस्तक राखेर आफ्नै घरको मटानमा जन्मभूमि बोडे पुस्तकालय खोलेको वर्षदिन भयो । ६३ वर्षीय अवकाशप्राप्त शिक्षक श्रेष्ठले २०३५ देखि नै पुस्तक संकलन गर्न थालेका रहेछन् । ‘सुरुमा साहित्य, इतिहास, उद्योग, कृषि हुँदै मेरो रुचि योगदेखि आयुर्वेदसम्म छरिएछ,’ उनी सम्झिन्छन्, ‘पछि मैले के बुझें भने आफूले मात्र पढेर हुन्न, समाजलाई पनि पढाउनु जरुरी छ ।’ उनी बुधबारबाहेक दिउँसो २ बजेदेखि ५ बजेसम्म आफैं पुस्तकालय खोलेर बस्छन् । इन्टरनेटका कारण पुस्तकमा चाख कम हुँदै गएको उनको अनुभव छ ।


निजी संकलनबाट सार्वजनिक पुस्तकालय बनेका अनेक उदाहरण छन् । सूर्यविक्रम ज्ञवालीका निजी संकलन खरिदेर प्रज्ञा पुस्तकालय बन्यो भने दीक्षित परिवारबाट मदन पुरस्कार पुस्तकालय । यादव खरेल, माधवप्रसाद पोखरेल, आरडी प्रभास चटौतलगायतले पनि मदन पुरस्कार पुस्तकालयलाई नै सुम्पिएका छन् ।


सरदार राममणि आचार्य दीक्षितको संकलनबाट शान्ति निकेतन पुस्तकालय बन्यो । हुतराम वैद्यले कृषि किताब कृषि इन्जिनियरहरूलार्ई बाँडे । कमलप्रकाश मल्लले मार्टिन चौतारी र आशासफू गुठीलाई दिए । महेशचन्द्र रेग्मीको निजी संकलनको आंशिक लाभ सोसल साइन्स बहाः लाई मिल्यो ।


साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेले निजी संकलनका पुस्तक बटुलेर स्रष्टा जगदीश घिमिरेका नाममा रामेछापमा पुस्तकालय खोलेका छन् । अध्येता शरदचन्द्र शर्मा भट्टराईको रातोपुलस्थित घरेलु पुस्तकालय उनकी वृद्ध पत्नी कमलाले एक्लै सम्हालिरहेकी छन् ।त्यसो त सानो–ठूलो संकलन लेखपढको काम गर्नेसित हुन्छ । त्यसको उचित व्यवस्थापन गर्न सक्दा पुस्तकप्रेमीहरूले त्यसको लाभ उठाउन पाउँछन् । कतिपय परिवार आफ्नो निजी संकलनको उचित संरक्षण गरिदिने पुस्तकालयको खोजीमा छन् । तर, एकाधबाहेक भरपर्दा पुस्तकालय नभेटिएको उनीहरूको दुखेसो छ ।


मुलुकमा करिब हजार सार्वजनिक पुस्तकालय छन् । तीमध्ये पाँच दर्जन त काठमाडौंमै छन् । नेपाल राष्ट्रिय पुस्तकालयकै भवनमा रातो स्टिकर टाँसिएको वर्षौं भयो । किताब बोरामा कोचिएका छन् । अरू शैक्षिक, सामुदायिक र विशिष्ट पुस्तकालय पनि भूकम्पले घाइते छन् । पुस्तकालयसित डिजिटलाइज्ड ब्याक अप छैन ।


पुस्तकपारखीहरू अझै चर्चा गर्छन्, जनकलाल शर्मा, शिवराज आचार्य, साम्बराज आचार्य, नूतन थपलिया आदिको पुस्तकालयको । उनीहरूको जिज्ञासा छ, पन्त दाजुभाइ, काशीनाथ तमोट, अच्युतरमण अधिकारी, हिरण्यलाल श्रेष्ठ, पुष्कर लोहनी प्रभृतिको संकलन के हुन्छ ? पुस्तक संकलन बुझ्नेका लागि वैभव हो, नबुझ्नेका लागि खाली सिसी पुराना कागज । पारखीले नै बुझेको हुन्छ, पुस्तकको सौन्दर्य । किताबले जीवनको शून्यतालाई भरिदिन्छन् भन्ने सबैलाई थाहा नहुन सक्छ ।


सेखापछि कसको ?

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक समेत रहेका तीर्थराज वन्तलाई आफ्नो संकलनको उस्तो चिन्ता लाग्दैन । ‘जीवनकालमा जे पढियो, त्यही राखियो, छोरालाई उपयोग हुने उसैले राख्ला, नभए लाजिम्पाटको हिमालयन बुद्धिस्ट लाइब्रेरी एन्ड कल्चरल सेन्टर वा नेपाल रेडक्रसमा दिनुपर्ला,’ उनी भन्छन्, ‘मलाई सबैभन्दा चिन्ता त वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नसकेकोमा छ । खोजेका बेला पाइँदैन, पाइए पनि निकै समय लाग्छ ।’


२०७२ को भूकम्पमा मर्मतसम्भारमा अढाई लाख खर्चेका महेशको निजी संकलनमा १५ हजार किताब छन् । तीमध्ये १० हजारभन्दा बढी किताब नेपालसम्बन्धी छन् । भाषाशास्त्र, पुराण, मन्त्र, इतिहास, संस्कृत साहित्य, पुरातत्त्व, संस्कृतिलगायत आठ–दस विषयमा रुचि भएकाले वार्षिक अन्धाधुन्ध खर्च गर्दै आएका छन् । ‘आज पैसा छैन भन्दा पनि पसलेले खातामा लेखे भइहाल्छ नि भन्छन्,’ उनी सुनाउँछन्, ‘मसित एउटै किताबका पनि दसथरी संस्करण छन् ।’


आफ्नो पुस्तकालय नभए एक पाइला पनि हिँड्न नसकिने अनुभव छ महेशराज पन्तको । ‘सार्वजनिक पुस्तकालय गतिलो नभएकाले निजी संग्रह गर्नुपरेको हो । राम्रो पुस्तकालय भएको भए म यो बोझ उठाउँदैनथें,’ उनी भन्छन्, ‘म नभए के होला भन्ने मलाई पीर लाग्दैन । मकहाँ भएका किताब कुहिएर गए पनि फरक पर्दैन । ज्यामीको ज्यावलजस्तै पुस्तक मेरो औजार हो । किताबभन्दा पनि मेरो दिमागकै उपयोग भएन ।’


पन्त दाजुभाइकै कुरा गर्ने हो भने पनि अध्ययन, अनुसन्धानका उत्तराधिकारी छैनन् । महेशका एक्ला छोरा मेधावी विदेशमा छन् । दिनेशका तीन छोराहरू पनि आफ्नै पेसा– व्यवसायमा रमाइरहेका छन् । दाइ महेशलाई कसैले भन्यो रे– तपाईंले त बेच्नुहुन्न, दिनेशजीको चाहिँ विश्वास छैन । दिनेश–संग्रह के हुन्छ भनिरहने इष्टमित्रलाई उनी जवाफ दिन्छन्, ‘यो सकंलन आफ्नै लागि चाहिएको हो । आफ्नो शेषपछि मलाई कुनै द्रव्य नलिईकन दिनुपर्छ कि भन्ने सोच आएको छ ।’


निजी संकलनको संरक्षण सरकारले गर्नुपर्छ भन्ने महेशको कुनै आग्रह छैन । यद्यपि उनको संकलनमा अभिलेखालयको आँखा लाग्न सक्छ । ‘यो नितान्त निजी मामिला हो । सरकारले राष्ट्रिय पुस्तकालय नै संरक्षण गर्न सकेको छैन, हाम्रो घरको किताबलाई के गर्छ ?’ उनी भन्छन्, ‘यत्ति हो, बेचे पनि, दान दिए पनि सत्पात्रको घरमा जाओस् ।’

प्रकाशित : माघ १८, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?