कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिराय–मिभानको बालसंसार

एडवर्ड सइद भन्छन्– बालक सघन अन्धकारमा हुन्छ । उसका अगाडिको आवाज प्रकाशको रेखी भएर ऊतिर आउँछ र त्यही रेखीलाई पछ्याउँछ । 

काठमाडौँ — तारानाथ शर्मा उर्फ टीएन सरको पातालमा छु म, वासिङ्टन डीसी नजिकको सुन्दर भर्जिनिया प्रदेशमा । यहाँको मौसम र महामहिम प्रेज्डेन्ट डोनाल्ड ट्रम्पको कुनै भर छैन । हिजो बिहान म उठ्दा तापक्रम ५० डिग्री फरेनहाइट थियो, आज बिहान म उठ्दा यो लहडी नाथे स्वाट्टै २५ डिग्री फरेनहाइटमा झरेछ ।

मिराय–मिभानको बालसंसार

अहिले दिउँसोपख बाहिर टन्टलापुर घाम लागेको छ र सँगसँगै पतझडकालीन सिक्रा रूखका हाँगा सुइँसुइँ हल्लाउने गरी हावा चलेको छ । कति राम्रो घाम लागेको छ भनेर घुम्न यसो बाहिर निस्कन खोज्यो, खडेखडे बरफ–जाम भइने खतरा छ । यता लहडी, अनिश्चयी र असंगत मौसमको यो ताल छ, उता महामहिम डोनाल्ड ट्रम्पबाट कुन बेला के आज्ञा हुने हो पूर्वानुमान गर्न सदैव असम्भव छ । गजब छ बा, आफ्नो थातथलोदेखि अति दूर यो पाताल–लोकमा मौसमअनुसारका महामहिम डोनाल्ड ट्रम्प छन्, महामहिम डोनाल्ड ट्रम्पअनुसारको मौसम छ । यिनको यो विछट्टको आपसी सम्बन्धबारे यसो गम खान खोज्दा मेरो गम नै वाङ खान्छ । हेर्नोस् न, यी लडहीद्वयको यो क्या विचित्रको मिल्ती ! यी बेतालका तत्त्वको यो के तालको साइनो ? के मौसमको लहडी प्रकृतिले मानव मनोविज्ञानमा प्रत्यक्ष रूपले प्रभाव पार्छ ? मलाई थाहा छैन । अथवा के शासकको लहडी प्रवृत्तिले मौसममा प्रत्यक्ष रूपले प्रभाव पार्छ ? मलाई यो पनि थाहा छैन । लाग्छ, म अहिले अबोधगम्य उत्तरआधुनिक रहस्यले भरिपूर्ण पातालमा छु, वासिङ्टन डीसी समीपको मनोरम भर्जिनिया प्रदेशमा ।

मेरो सुविचारित एवं सुनियोजित दिनचर्यामा यो अनिश्चियी मौसम र महामहिमको यो अनिश्चयी लहडबाजीले खासै फरक पारेको छैन । न्यानो ठाउँमा इनडोर प्रातः लमक् गर्नलाई नजिकै विशाल मल छ । हुनलाई यो कृत्रिम ठाउँको कृत्रिम लमक् हो, तथापि सुखम्–दुःखम् मेरो काम चलेकै छ । तीनमहिने पाताल बसाइमा गर्न फिनिक्स प्रकाशनले मलाई आफ्ना समग्र रचना दाहोर्‍याउने डंगुर गृहकार्यको भारी बोकाएको छ । त्यसो त गृहकार्यको मेरो अर्को आइटम पनि छ । हुनुसम्म आकर्षक, रुचिकर र मनोहारी आइटम हो यो । यहाँ भर्जिनियामा मेरा छोरा–बुहारीपट्टिका एक नातिनी र एक नाति छन् । नातिनी मिराय तीन वर्ष पुगेर चार वर्ष लागी, नाति मिभान तीन महिना पुगेर चार महिना लाग्यो । जीवनका यी कलिला मुनाको आपसी नाता जति अनुरागपूर्ण छ, त्यति नै द्वन्द्वयुक्त पनि छ । यिनको यो नाताको बालसुलभ अनुरागमा स्वाभाविक डाहा मिसिएको छ । म अहिले यी चिचिलाको यो जटिल नाताको अहोरात्र साक्षी भएको छु । त्यसो त म यो नाताको साक्षी, रेफ्री र द्वन्द्व समनकारी कार्यको सहजकर्ता अभिभावक पनि भएको छु । यी नातिनी–नातिको चञ्चल स्वभाव, यिनको नित्य स्फूर्ति, यिनको हर्दम् क्रियाशीलता, यिनको पलपलको दाबी र घुर्की एवं यिनको क्षणक्षण बदलिँदो मनोभावलाई नजिकबाट नित्य नियाल्नु जीवनको अति रोचक पाठशालाको शिक्षार्थी बन्नु हो । पातालमा मलाई अहिले यस्तो शिक्षार्थी बन्ने विरल सुयोग प्राप्त भएको छ । उसो त म यिनको सेवकको भूमिकामा पनि छु । जस्तो तस्तो सेवक होइन, पलपल ‘हजुरको आज्ञाकारी’ टाइपको निहुरीमुन्टी सेवक । यिनले उठ् भने म उठ्छु, यिनले बस् भने म बस्छु । यिनले बोक् भने म बोक्छु, यिनले चुप् भने म चुप लाग्छु । मैले सप्रेम नतमस्तक भई राजीखुसीले यिनको तानाशाही स्वीकार गरेको छु । अर्को विकल्प

भए पो !

00000

भाइ मिभान जन्मिनुअघि दिदी मिरायको जीवनमा सबै कुरा ठीकठाक थियो । उसलाई नपुग्दो केही थिएन । बा सिंगै उसका बा थिए । आमा सिंगै उसकी आमा थिइन् । ऊ जे माग्थी, त्यो ऊ खुरुक्क पाउँथी । खान्की माग्यो, पलभरमै खान्की हाजिर । खेलौना माग्यो, तत्काल खेलौना ट्याक्क । माया–ममता माग्यो, हर्दम् मामा–ममता सदर । आमा–बा दुवैका काख सिंगै उसका थिए । उसका, उसका र उसका मात्र । म नेपालबाट बिजुली पर्दामा सोध्थेँ, ‘मिरु, आमाको पेटमा के छ ?’ प्रश्न भुइँमा खस्दा नखस्दै ऊ हत्तपत्त ‘भाइ’ भन्थी । त्यो ठूलाले भनेको सुनेर उसले थपक्क नक्कल गरेको यान्त्रिक उत्तर थियो । पछि एक राति मिरायका आमा–बा एकाएक गायब भए । मिरायका आमापट्टिका हजुरबा–हजुरआमाको घर नजिकै छ, तिनले उसलाई त्यहीँ लगे । ऊ रोई, ऊ कराई, ऊ चिच्याई । रुँदै बज्यैलाई उसले सोधी, ‘मेरो पापा खोई ? मेरो माम्मु खोई ?’ बज्यैले भनिन्, ‘ तिम्रा पापा–माम्मु भाइ लिन गा’छन् ।’

‘कहाँ ?’

‘अस्पतालमा ।’

आमाको पुस्टिएको पेटमा भाइ छ भन्थे । त्यही भाइ लिन गएका होलान् भनेर मिरायले पत्याई । समस्याको जटिलता उसको बालसुलभ सरल सोचाइको सीमाभन्दा धेरै परको कुरा थियो ।

एकाध दिनपछि पापा–माम्मु घर फर्के । मिरायले देख्दा माम्मु ओछ्यानमा लमतन्न सुतेकी थिइन् । उनको शृष्क अनुहार डम्म फुलेको थियो । उनका टाउकामा नातो बाँधिएको थियो । उनको छेउमा स्यानो भाइ लुगामा गुटुमुटु भएर मस्त निदाएको थियो । न्यास्रिएकी मिरायले सदाझैँ आफ्नी माम्मुलाई छुन खोजी । र, उसले माम्मुसँग लाडिन र माम्मुको जीउमा टाँसिएर सुत्न रहर गरी । ‘माम्मुलाई ऐय्या भा’छ भन्दै ठूलाले उसको बाटो छेके । ऊ भाइनेर जान खोजी । ‘ए ए, भाइ सानो छ, छुनु हुँदैन’ भन्दै फेरि पनि ठूलाले उसको बाटो छेके । पापाले मिरायलाई बोक्यो, मुसार्‍यो, म्वाई खायो र यसरी गर्नुविधि फकाइ–फुलाइ गर्‍यो । माम्मुको काखको न्यास्रोले हुरुक्क भएकी मिराय मरिगए फकिइन । ऊ रोई, ऊ कराई, ऊ चिच्याई । छोरीको मर्मान्तक चीत्कार सुनेर माम्मुका गहभरि आँसु आए । बेचैन र व्याकुल छोरीले त्यो देखिनँ । उसलाई चाहिएको माम्मुको काख थियो । काख, काख र काख मात्र । तर, माम्मुको काखसम्म जाने उसका सबै बाटा बडो निर्ममता साथ बन्द गरिएका थिए ।

हिजोसम्म माम्मुको सिंगो काख मिरायको थियो, अहिले त्यो सिंगै खोसियो । हिजोसम्म सबै आँखा मिरायमाथि एकाग्र हुन्थे, अहिले ती जम्मै आँखा मिभानमा सरे । एउटा आउँछ, बडो उत्सकता साथ भाइलाई हेर्छ । अर्की आउँछे, ‘अहा कति राम्रो !’ भनेर भाइकै तारिफ गर्छे । मिरुलाई माम्मुको ममतामयी काखले बिर्स्यो । मिरुलाई सेरोफरोका सारा आँखाले बिर्से । मिरुको ममताको संसारमा पहिरो गयो र उसको जीवनमा भयानक संकट सुरु भयो । ऊ त्यसैत्यसै विह्वल, अर्ध–विक्षिप्त र मर्माहत भई । तर त्यो संकट, त्यो वेदना र त्यो औडाहा व्यक्त गर्न पुग्ने भाषा ऊसँग थिएन । अकथनीय कष्टको यो अव्यक्त अवस्थाले उसको संकट, वेदना र औडाहा झनै बढाइदियो ।

माम्मुको काख खोसियो र पापाको काख मिरुको भागमा पर्‍यो, त्यो पनि आधा मात्र । मिरुलाई सकेसम्म माम्मुको काखको अभाव महसुस हुन नदिन उसको पापाले सक्दो यत्न गरे । उनले उसलाई काँधमा बोकेर घुमाए, उनले आफू घोडा घएर उसलाई ढाडमा चढाए, उनले उसलाई मन पर्ने गीत सुनाए, उनले उसलाई आइप्याड खेल्न दिए, उनले उसलाई बालसाइकल किनिदिए, उनले उसलाई चिडियाखानामा लगे, उनले उसलाई पुष्पवाटिका विचरण गराए, उनले उसलाई मलमा केटाकेटी खेल्ने ठाउँमा पुर्‍याए, उनले उसलाई चकलेट, स्याउ, केक टक््रयाए । तर, मिरुले रुँरुँ लाग्ने बोलीमा घरीघरी ‘माम्मु’ भन्न छाडिन । उसको अबोध एवं कोमल बालहृदयमा चस्को परेको थियो । र, त्यो चस्कोको आघातले उसको मूल सातो उडेको थियो ।

00000

एकाध हप्ता त्यत्तिकै बिते । अब भने भाइ मिभानका आँखा राम्रैसँग खुले । माम्मु पनि हल्का तङ्रिइन् । एक दिन भाइ मस्त निदाएको थियो । माम्मुले बसीबसी मिरुलाई अंकमाल गरिन्, उसको कपाल मुसारिन्, उसलाई म्वाई खाइन् । मिरु सबै सञ्चित वेदना आँसुमा पोखेर चित्त दुःखाउँदै हिक्कहिक्क रोई । तर, पलभरमै उसको चञ्चल रोदन कोमल ओठबाट अलप भयो । अनि उसले भाइका गाला मुसारी । ‘भाइका आँखा घोल्चिस् नि’ भन्दै माम्मुले दिदीलाई चनाखो बनाइन् । दिदीले भाइका गालामा म्वाईं खान खोजी । भाइको निद्रा टुट्यो र उसले धमिला आँखा खोल्यो । फुर्किँदै मिरुले ‘मेरो भाइ’ भनी । र, यसरी उसले फुच्ची ददीको नाताले आफ्नो झनै फुच्चे भाइको अभिभावकत्व ग्रहण गरी ।

00000

समयले सबै पीडा र औडाहालाई मत्थर पारिदिन्छ । समयक्रममा मिरुको पीडा र औडाहा पनि तैबिसेक मत्थर भयो । मातृप्रेमको क्षेत्राधिकार हरण भएको कठोर यथार्थसँग आँसुका घुट्का पिउँदै उसले सम्झौता गरी । अथबा भनूँ ‘अब यी हरिपहरूसँग नसकिने भो’ भनेर उसले लत्तो छाडी । आफ्नै सुरले र आफ्नै तजबिजले मायाको अंशबन्डा गर्दै बालसुलभ तोते बोलीमा उसले भनी, ‘नाना र दादा मिभानका, माम्मु र पापा मेरा ।’ मिरुको भाषामा नाना र दादा माने आमापट्टिका बज्यै र बाजे हुन् ।

00000

भाइ मिभान दिदी मिरायको कहालीलाग्दो क्षति, अथाह पीडा र चर्को डाहाप्रति सर्वथा अन्जान छ । हो, मिरायाको मर्का साँच्ची नै भयानक हो, तर यसमा मिभानको रत्तिभर दोष छैन । माम्मुको अँध्यारो गर्भगृह साँघुरो भयो, र फराकिलो ठाउँको खोजीमा उसले बाहिर निस्केर उज्यालो र विराट् धरती स्पर्श गर्‍यो । उसको अस्तित्वको रक्षा गर्नु उसलाई जन्म दिने माम्मुको अनिवार्य कर्तव्य थियो । असलमा यो कर्तव्यभन्दा पनि माम्मुको कत्रा दुःखले गरेको आफ्नो सिर्जनाप्रतिको प्रगाढ मोहद्वारा प्रेरित सांसारिक धर्म थियो । मिभानका अगाडि उसले गर्नु, देख्नु, सुन्नु र भोग्नुपर्ने सिंगो जीवन थियो । त्यसैले विरल संयोगले पाएको एकबारको मूल्यवान् प्राण धान्न ऊ सहज अन्तश्चेतनाबाट प्रेरित भई माम्मुको दूध चुस्न थाल्यो । दूध चुस्दा माम्मुको काख त यसै पनि ओघटिने नै भयो । बस्, मिभानको यही अबोध काख ओगटाइ मिरायको अति प्यारो काखको हरण भइदियो । र, यहीँबाट सुरु भयो मिरायको शब्दातीत दुःखको अल्पकालीन कथा ।

00000

तीन महिनाको मिभान धेरै कुरा बुझ्छ तर ऊ आफूले बुझेका कुरा अरूलाई बुझाउन सक्दैन । ऊ के के, के के भनिरहन्छ । उसले केही भन्यो भन्ने बुझिन्छ, भनेको के हो त्योचाहिँ बुझिँदैन । उसँग लगभग निराकार भाव छ, त्यो भावलाई उनेर बुन्ने साकार शब्द उसँग छैन । माया गरेको र हेँला गरको ऊ प्रस्टै बुझ्छ । आफूलाई प्राप्त हुने स्पर्श ममतायुक्त हो कि तिरष्कारयुक्त, त्यो पनि ऊ राम्रैसँग बुझ्छ । ऊ आफूसँग बोल्ने मानिसको स्वर र मुद्रामा अन्तर्निहित करुणा वा क्रोधको पनि राम्रै छनक पाउँछ । तर फसाद छ, शैशवकालीन जीवनको यो समस्त अनुभूति र बोधलाई अर्थपूर्ण अभिव्यक्ति दिने भाषाको उसलाई दुःख छ ।

मिभानका लागि दुई चीज सर्वाधिक प्रिय छन् । ती हुन्— आवाज र प्रकाश । यी जीवनबोध गर्ने र जीवन–यात्राको बाटो पहिल्याउने उसका दुई जादूगरी अस्त्र हुन् । आफ्नो वरिपरि चाइँचुइँ र गाइँगुइँ आवाज सुनुन्जेल ऊ सुरक्षित र ढुक्क महसुस गर्छ । सके ऊ सोच्दो हो, ‘म एक्लो छैन । प्रियजनहरूले मलाई बिर्सेका छैनन् ।’ दिदी मिरायको जन्म दिन थियो । जन्म दिनको उत्सव मनाउन उसको नजिकका पाँच–सातजना बालसखा–सखीहरू निम्त्याइएका थिए । उत्सवी थलो घण्टौँसम्म गाइँगुइँ र गुनगुनले नित्य गुन्जायमान भयो । र, मिभान करिब तीन घण्टासम्म सु नभनी, काख नभनी, भोक नभनी स्यानो भुइँ कोक्रोमा हात र खुट्टाले हावालाई लगातार गोद्दै चुपचाप सुतिरह्यो । मिभानलाई डरमर्नु हुने गरी मन नपर्ने सन्नाटा हो, सघन सन्नाटा । उसको वरिपरि जब सन्नाटा छाउँछ, सायद ऊ ठान्छ, ‘मलाई सबैले बिर्से । म फगत एक्लो र बेसहारा भएँ ।’ यस्तोमा ऊ तर्सिँदै र अताल्लिँदै आकाशै चिरा पार्ने गरी रुन्छ ।

दृष्टिदायी प्रकाश अचल मिभानलाई कतैतिर डोर्‍याउने चुम्बकीय शक्ति हो । जतातिर तिख्खर प्रकाश छ, ऊ हर्दम् त्यतैतिर हेर्छ । शिरमाथिको बिजुली बत्तीतिर अथवा आँखामाथिको सिलिङतिर । ऊ हेर्छ र ट्वाल्ल परेर एकाग्र चित्तले हेरिरहन्छ, हेरिरहन्छ र हेरी नै रहन्छ । मिभानको हेराइको यो काइदाले मलाई एडवर्ड सइदको कथन स्मरण गराउँछ । ज्ञानी सइद भन्छन्— बालक सघन अन्धकारमा हुन्छ । उसका अगाडिको आवाज प्रकाशको रेखी भएर ऊतिर आउँछ र ऊ त्यही रेखीलाई पछ्याउँछ । बालकले भाषा सिक्ने जुक्ति वा विधि जे भने पनि यही हो, आवाजबाट उत्पन्न प्रकाशको यही रेखीको नित्य अनुसरण ।

स्थिरता वा अचल अवस्था मिभानलाई फिटिक्कै मन पर्दैन । उसलाई छिटो कोल्टो फेर्नु छ, छिटो बामे सर्नु छ, छिटो उभिनु छ, छिटो टुकुटुकु हिँड्नु छ, छिटो जगत्मा केही गर्न कतैतिर फटाफट जानु छ । त्यसैले त ऊ आफूलाई गतिमान् बनाउने उत्कट सपनासाथ पल–प्रतिपल हात र खुट्टाले अकाशलाई झापट दिइरहन्छ । त्यो अगतिविरुद्ध गतितर्फ उसको निरन्तरको चेष्टा हो । नाति मिभानको यो अथाह र अथक प्रहारकारी ऊर्जा जब देख्छ,ु म त्यसैत्यसै चकित र पुलकित हुन्छु ।

00000

माम्मुको मायालु काख खोसियो र दिदी मिरायको जिराहा ‘मेरो’ सुरु भयो । उसमा ‘मेरो’ को रमरम चेत त निश्चय नै त्योभन्दा पहिल्यै हुँदो हो । तर, काख खोसिएपछिको अथाह वेदना र अत्यासले त्यो चेतलाई मानौँ एकाएक तीव्र र उग्र तुल्यायो । अब घरीघरी छटेल मुखियाको थेगोसरी ऊ भन्न थाली, ‘मेरो माम्मु’, ‘मेरो पापा’, ‘मेरो बाजे’, ‘मेरो टोई’, ‘मेरो भाइ’ आदि । स्वामित्वको त्यो चर्को चेत वास्तवमा माम्मुको काख गुमेपछि आहत चित्तमा उत्पन्न डाहा र भयको अभिव्यक्ति हुँदो हो सायद । गुमेको दुर्लभ चीजप्रतिको डाहा र आफूसँग भएका बाँकी चीजहरू पनि गुम्लान् कि भन्ने भय । ‘मेरो’ वा स्वामित्वको यो चेत बढ्दै र छिप्पिँदै जाँदा बन्ने त होला आखिर सम्पत्ति एव लोभ, लाभ र आपसी द्वेषको चेत पनि ।

00000

मिरायले अपहिरत काखको क्षतिपूर्ति गर्न गरेका अनेकओली बालसुलभ चेष्टाहरू खुबै रोचक छन् । जब भाइ मिभान माम्मुको काखमा बोकिन्छ, मिरायको घायल चित्तमा डाहाको आगो बल्छ । ऊ माम्मुको काखको दायाँछेउमा बस्न खोज्थे, त्यहाँ उसको नितम्ब अटाउँदैन । ऊ माम्मुको काखको बायाँ छेउमा बस्न खोज्छे, त्यहाँ पनि उसको नितम्ब अटाउँदैन । अनि बुद्धिले जुक्ति रचेर ऊ माम्मुको काखैमा जोडेर एउटा टुल राख्छे, र कमसेकम माम्मुको न्यानो स्पर्श प्राप्त गर्दै ऊ माम्मुको कोल्टोमा टाँसिएर बस्छे । पापाले भाइ मिभानलाई बोक्दा ऊ पापाको पिँडुलोमा छाँद हालेर असन्तुष्टिको अग्निज्वाला ओकल्छे । ऊ कराउँछे, ऊ चिच्याउँछे, ऊ रुन्छे, ऊ भुइँमा खुट्टो बजार्छे र यसरी ऊ पापालाई क्षणभरमै गलाउँछे । लाचार पापा कि त मिभानलाई भुईँ कोक्रामा सुताउँछन् कि कसैको काखमा सुम्पुवा गर्छन् । अनि पापाको रिक्त काखमा बसेर मिराय मुसुक्क मस्किँदै गायब काखको तिर्सना मेट्छे ।

00000

भाइ मिभानको अस्तित्वरक्षा र सुरक्षाको एक मात्र साधन हो रुनु । जब भोक लाग्छ, ऊ रुन्छ । जब डर लाग्छ, ऊ रुन्छ । जब निद्राले गाँजेर ल्याउँछ, ऊ रुन्छ । जब म एक्लो भएँ भन्ने लाग्छ, ऊ रुन्छ । जब मलाई हेलाँ गरे भन्ने लाग्छ, ऊ रुन्छ । जब कर्कश आवाजले कान खान्छ, ऊ रुन्छ । जब कटिमुनिको वस्त्र आर्द्र हुन्छ, ऊ रुन्छ । जब कोमल देहमा कतै केही मर्का पर्छ, ऊ रुन्छ । बस्, मिभानको अचुक अस्त्र हो रुनु, रुनु र फेरि पनि रुनु । तर, दिदी मिरायका अस्तित्वरक्षा र सुरक्षाका साधन रुनुबाहेक अरू पनि छन् । उसको तोते भाषा छ, उसको स्यानो मुड्की छ, उसको चर्को घुर्की छ, उसका गतिमय गोडा छन्, उसको हल्लाखल्ला छ, उसको नक्कली रोदनको तालतालको अभिनय छ । दिदी मिरायका रुनुबाहेक यी सबै नक्कलजन्य अभ्यासबाट आर्जित साधनहरू हुन् । अस्तित्वरक्षा र सुरक्षाका यी नानाओली साधन आर्जन गर्न भाइ मिभान पलपल साधनारत छ । शून्य आकाशलाई हात र लातले बडो ठाँटका साथ नित्य निरन्तर दनक दिइरहनु मिभानको यही अग्रगामी साधनाको शानदार दसी हो ।

00000

यो दूरवर्ती पाताल जगत्को मौसमको लडहीपनमा सुधारको लेसमात्र पनि संकेत छैन । महामहिम प्रेज्डेन्ट डोनाल्ड ट्रम्पका त झन् कुरै नगरूँ । तर, मेरा स–साना प्रियजनको समाचार भने आज बडो शुभ छ । नाना र दादा, माम्मु र पापा एवं नेपालकी बज्यै सबै कोही कतै केही लहनतहनमा व्यस्त छन्, कोही कतै किनमेल गर्न गएका छन् । घरमा केवल हामी तीन जना छौँ— दिदी मिराय, उसको भाइ मिभान र म यी दुई कलिला चिचिलाको पाहुनो परदेशी बाजे । नाति मिभान उसको सानो भुइँ कोक्रोमा सुतेको छ । कोक्रामा उसका जीवनदायी प्रिय दुई चीज जडिएका छन् । मधुरो संगीत नित्य तरंगित भइरहने ध्वनियन्त्र र हर्दम् धिपधिप–धिपधिप गरिरहने बहुरंगी बत्ती । मिभान त्यही संगीत र तिनै बत्तीमा एकोरिएको छ र ऊ मग्न मुद्रामा तिनैसँग खेलिरहेको छ । नातिनी मिराय मेरो काखमा बसेकी छे । म ममतायुक्त औँलाले सुस्तरी भाइ मिभानको पातलो कपाल मुसार्छु, उसका कोमल गाला मुसार्छु र गालामा च्वाक्क म्वाई खान्छु । बाजेको नक्कल गर्दै दिदी मिराय बालसुलभ मुद्रामा अभिभावकीय अभिनय गर्छे । ऊ जतनले भाइको कपाल मुसार्छे, उसका गाला मुसार्छे र गालामा च्वाक्क म्वाई खाँदै भन्छे, ‘आई लभ यु, मिभान !’

भाइ मिभान मानौँ दिदी मिरायको प्रेमिल वचनको भाव बुझेझैँ गरी फिस्स हाँस्छ । जीवन सुन्दर छ !

प्रकाशित : माघ १८, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?