कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो

नारायण ढकाल

काठमाडौँ — १.
सारा संसार रोएजस्तो गरी पानी दर्किरहेको थियो । मीनपचास उत्कर्षमा पुग्दा यसै पनि जाडो ज्यानमारा भएको थियो, त्यसमाथि धारिलो तरबारजस्तो झरी थपियो । यसबाहेक अर्को नमीठो खबर आएको थियो— उत्तरका हिमाली शृंखला तथा मुन्तिरका गाउँहरू हिउँको बोझले पुरिँदै थिए र दक्षिणतर्फको मधेस झन् अँध्यारो भएको थियो ।

दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो

त्यस बिहान म खुसी थिइनँ तर मेरी पत्नीको कुरा भने अर्कै थियो । उनी घरबाहिरको शीत आतंकमा तुलसीको मोठमा पूजा गर्न निस्केकी थिइन्, फर्किंदा खुसीले चुलिएकी देखिइन् ।

‘आज भने ठिक्क स्वाद चाखेछ मुर्दाले,’ फर्किंदा उनले मुस्काउँदै भनिन् ।

‘कुन मुर्दाले स्वाद चाखेछ ?

कसलाई भनेकी ?’

‘कुन मुर्दाले भन्नु नि ! भो तिम्रो त के कुरा गर्नु ? मैले भनेको त सबै बतास लगाएर उडाउँछौ ।’

‘अनि ठिक्क स्वाद चाख्ने मुर्दा र मैले लाइदिने बतासको कुरा कसरी आयो यो

सबेरै सबेरै ?’

‘कुन्नि कसरी आयो ? बाहिर काठ–गोदाममा आफैँ गएर हेर्नू नि !’ उनले

आँखा तरिन् ।


त्यसपछि पत्नीलाई बेकार प्रश्न गरेछु भने पछुतोबोध भयो । यस्तो उत्कट र सकसपूर्ण जाडोमा घरबाहिरबाट उनले कमाएर ल्याएको खुसी मेरै प्रश्नको कारणले धेरैबेर टिकेन, त्यसै खेर गयो र तत्कालै खलनायक माघेझरीमा मिसियो । उनी हातको पूजाथालीसहित अँध्यारो मुख लिएर भान्साकोठातिर पसिन् ।

केटाकेटीहरू अझै ओछ्यानमै थिए ।


म उठें र बाहिर गएँ । बाहिर झन् चिसो थियो । आधा अँध्यारो । आकाशबाट एकनास पानी खसिरहेको थियो । उही दुःखीको आँसु । मटमैलो उज्यालोमा मैले पिँढीबाटै आँगनभन्दा पारि रहेको काठ–गोदामतिर आँखा फालेँ । यो गोदाम ७२ को भुइँचालोले भत्काएको हाम्रो पुरानो घरका दलिन, निधाल, चिर्पट, झ्याल, ढोका र चौकोस थुपारेपछि स्थापना भएको थियो । पानी छेक्न भनेर त्यही भूतपूर्व घरका थोत्रा जस्तापाता काठको थुप्रोमाथि जथाभावि राखिएका थिए । यो रंग न ढंगको स्थापत्य अहिले मुसाहरूको आश्रयस्थल बनेको थियो ।


नभन्दै काठ–गोदामको ओडारमा ढाडेमुसो देखियो, जसलाई मेरी पत्नीले मुर्दा भनेकी थिइन् । त्यो एकनास हाम्रो घरतिर हेरिरहेको थियो । ऊ लगलग कामिरहेको थियो र उसका आँखा दयनीय देखिन्थे । उसका कान र जुँगा पनि थरथर हल्लिरहेका थिए । उसको पुच्छर निरीह रूपमा बटारिएको थियो ।


ऊ काठ वा दुलोभित्र न्यानोमा नबसेर किन जाडो खान निस्केको होला ?

कि भोकले गर्दा हो ?

उसको विजोग देखेर केही बेरअघि मेरी पत्नी जति खुसी भएकी थिइन् म त्यसको विपरीत निराश भएँ । मलाई लाग्यो, त्यो ढाडेमुसो कुनै मुसो नभएर मेरो आत्माको प्रवक्ता हो । मानौं मेरा इतिहासका

समस्त भोक र दुःखहरू उसको आँखामा झल्केका छन् ।

अब ऊ लगातार मलाई हेरिरहेको थियो ।


निकै समयअघिदेखि त्यो ढाडेमुसो काठ–गोदामको स्थायी बासिन्दा भएको थियो । त्यहाँ अरू मुसाहरू पनि थिए तर हाम्रो परिवारले त्यसलाई मात्र राम्ररी चिन्थे । त्यसका पछाडि धेरै कारण थिए । विशेषगरी पोहोर सालको जाडो महिनामा त्यसले एक्लै हाम्रो करेसाबारीको सबै बन्दाकोभी खायो । बन्दाको अलिअलि पात बढ्न नपाउँदै त्यसले आक्रमण गर्‍यो र दुई सातामै सबै सफाचट पार्‍यो । त्यसपछि गएको साउनमा मकैको घोगा लाग्न थालेपछि अर्को उद्यम नै नभएझैं गरी मकैबारीमा राजकाज गर्‍यो । मकै एक गेडा पनि भित्र्याउन पाइएन । अनि यो हिउँद लाग्दानलाग्दै त्यसले काउलीका मुनाहरू सबै निमठ्यो । त्यही रनाहामा पत्नीले भनेकी थिइन्, ‘ए बुबा, श्यामपुलिसको पसलमा र्‍याट किल्स भन्ने औषधि पाइन्छ, लेराएर काठ–गोदाममा राख्देऊ ! यो शत्रुले हामीलाई गरेर खान नदिने भो ।’


(श्यामपुलिस हाम्रो टोलमा कृषि सामग्री पसलेको नाम हो ।) ‘ढाडेमुसालाई बिख हालेर मार्ने र ?’ मैले सोधेको थिएँ ।

‘बिख नहाल्ने भए कसरी मार्छौ त ?’ उनी झर्किएकी थिइन् ।

‘मार्नै किन पर्‍यो र ? यसलाई मारेपछि फेरि त्यसको ठाउँमा अर्को ढाडेमुसो आएर बसिहाल्छ । यो टोलभरि सयौंको संख्यामा यस्ता मुसा छन् ।’

‘टोलभरिका अरू मुसाको के मतलब ? यसले पो हाम्लाई दुःख दिइरहेको छ ।’

‘फेरि उसको जीवन पनि हाम्रैजस्तै हो नि । उसले पनि त बाँच्नु छ नि,’ मुसाको पक्ष लिएर मैले भनेको थिएँ ।

यो विषयले हामी बेकारमा जोईपोइबीच सम्बन्ध बिग्रन थालेको थियो ।

‘हेरिराख न एक दिन यो मुसोले तिम्रो सत्यानास पार्छ । अनि चेतौला !’ उनले

भनेकी थिइन् ।


२.

झरी पूरापूर २४ घण्टा दर्किएर थामियो । आकाश खुल्यो र उपत्यकामा पारिलो घाम लाग्यो । चारैतिरका पहाड सफा देखिए । म बिहानको नियमित भ्रमण जानुअघि आँगनमा उभिएँ । त्यसबेला पनि काठ–गोदामको छेउबाट उही ढाडेमुसो हाम्रो घरतिर एकनास हेरिरहेको थियो । यसपल्ट उसको हाउभाउ र भंगिमा देख्दा यस्तो लाग्यो, ऊ कुनै पेसेवर चोर हो, जो चोर्नका निम्ति हाम्रो घरको निरीक्षण गरिरेको छ, योजना बनाइरहेको छ । जस्तो कि, मूलढोका कतापट्टि छ ? घरभित्र कुनकुन कोठामा बहुमूल्य सम्पत्ति राखेका छन् ? भित्र पस्ने उपयुक्त मौका कति बेला आउला ?


हिजोको तुलनामा आज ढाडेमुसो केही ताजा देखिन्थ्यो तर पनि उसको आँखामा टल्केको भोक यथावत् थियो । अब काठ–गोदाम अगाडिको करेसाबारीमा उसका लागि खानेकुरा केही थिएन । काउली सकिएको थियो र रायोको साग पनि छिप्पेर डुकु भइसकेको थियो । अब उसले के खाने ? हुन सक्छ, उसको अनुहारमा त्रासको यही भाव झल्केको थियो । उसको चोरजस्तो मुद्राले भनिरहेको थियो— बुभुक्षु किं न करोति पापम् ? सायद अब उसको अगाडि यही एउटै आर्यसत्य मात्र बाँकी थियो ।

म बिहानको भ्रमणमा हिँडे ।


त्यसदिन बिहानको खाना खाने बेलामा मैले पत्नीसँग बिग्रेको सम्बन्ध सुधार्ने हेतुले भनें, ‘ए आमा ! सुन त ! ढाडेमुसोसँग अझै तिम्रो रीस मरेको छैन ? अचेल त्यसले बिगार्ने के चीज बाँकी छ र हाम्रो बारीमा ?’

‘किन रिस मर्छ ? त्यसै मर्छ ? आखिर त्यसकै कारणले मैले करेसाबारीमा केही रोपिनँ । अब कहिल्यै केही रोप्दिनँ पनि । यो घरमा मैले मात्र किन दुःख बोकिरहनु ? के यो घरमा मैले मात्र खानुपर्छ ? अरूचाहिँ निराहार समाधिमा बसेका सन्त हुन् ? तिमीहरू कसैलाई खान पर्दैन ?’


पत्नी ताम्रलेखझैं आफ्नो पुरानो अडानमा थिइन् । उनले अझ भएभरका रिस एकै ठाममा भेला पारेर भनिन्, ‘यो घरमा सबभन्दा काम नलाग्ने भनेको तिमी हौ, बुझ्यौ । पञ्चायतको समयमा जुन बेला राजनीति गर्न गाह्रो थियो, त्यसबेला हामीलाई दुःखको हिलोमा डुबाएर पूर्णकालीन राजनीति गर्‍यौ । अब राजनीतिबाट कमाउने दिन आए त्यसपछि राजनीति छोड्यौ । साहित्यमा लाग्यौ तर एकेडेमी नजाने, सरकारी कवि वा बुद्धिजीवी नबन्ने रे ! कुनै पदमा नजानेले किन परिवारमा बस्नु ? जोगी भएर हिँडे भो नि ! तिमी नभए पनि हामी हाम्रो व्यवहार चलाउन सक्छौं, बुझ्यौ ।’


मैले जवाफ दिइनँ तर उनको लघुप्रवचन जारी रह्यो ।

‘अरू त अरू, यौटा जाबो मुसोलाई मारौँ भन्दा पनि उसको ज्यान पनि हाम्रैजस्तो रे । कहीँ मान्छे र मुसो एउटै हुन्छ ? भो अब तिमी मसित कुरा नगर ! तर मैले भन्दिया छु, हेर्दै गर एक दिन यो मुसोले तिम्रो

टाउको खान्छ ।’


३.

सायद सोमबार थियो । मेरो निम्ति बारको महत्त्व र अर्थ नरहने भएकाले ‘सायद’ भनेको हुँ मैले । बिहान बाक्लो तुसारो पर्‍यो तर दिउँसो कडा घाम लाग्यो । सदाझैं म खाना खाएर कौसीमा गएँ घाम ताप्न । पत्नी पनि थिइन् । अचेल दिउँसोको समय हामी दुई जना पतिपत्नी मात्र घरमा रहन्छौं । छोरा र बुहारी बिहानैबाट आ–आफ्नो काममा गइसकेका हुन्छन् । नाति र नातिनी पनि स्कुल गइसकेका हुन्छन् । घर सयौं वर्षको एकान्तजस्तो शून्यशून्य हुन्छ ।


जाडोले गर्दा धेरै दिनसम्म लेखपढ गर्न सकेको थिइनँ । पढेको सबभन्दा पछिल्लो किताब थियो— अरुन्धती रोयको उपन्यास ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस ।’ त्यो किताब एउटा अजंगको पहाडजस्तै रह्यो मेरा लागि । त्यसले मलाई अझैसम्म थिचिरहेको छ । कथा, इतिहास र राजनीतिलाई जोडेर आत्मविश्वासका साथ भन्न सक्ने त्यस्तो अद्भुत क्षमता ममा छैन । गद्य झन् बेजोड छ । यो कश्मीर, दिल्ली, दण्यकारण्य र गुजरातमा भइरहेको अन्याय र त्यसविरुद्ध उठिरहेको प्रतिरोधको समवेत पटकथा हो । तर, यो चलनचल्तीको भाष्यमा छैन । मानवीय संवेग र आत्मीयताको भाष्यमा कुँदिएको छ यो । संक्षेपमा भन्दा यो कृतिलाई इतिहासको मूलप्रवाह भएर पनि मानवद्वेषी प्रणालीको कारण मूलप्रवाह बन्न नसकेको संकटग्रस्त भारतीय मानवताको भूचित्र भन्छु म । यो हाम्रो समयको उत्कृष्ट गद्य महाकाव्य हो ।


घाममा बस्दाबस्दै मैले अरुन्धती रोयसँगै हाम्रो पारिवारिक पात्र ढाडेमुसोलाई सम्झिएँ । बिरालोको अगाडि पो ढाडे विशेषण सुहाउँछ तर मुसोको अगाडि किन ढाडे विशेषण भन्ने प्रश्न पनि आउन सक्छ यहाँ । तर, त्यो मुसोको ज्यानै त्यस्तै थियो । त्यसको रूपाकृति यति ठूलो थियो, बिरालोले कतिपटक त्यसलाई देखेर पनि नदेखेझैं गरेको छ । खासगरी हाम्रो घर वरिपरि दुइटा बिराला कहिलेकाहीँ पाहुनाझैं देखापर्छन् । एउटा सेतो र अर्को कालो । ती चोरझैं सुटुक्क आउँछन् र सिकार गरेर फर्किन्छन् । सेतो बिरालोचाहिँ कालोभन्दा बढी हिंस्रक देखिन्छ । उसका आँखाहरू सधैं रिसाहा बाघका झैं राता र टल्किरहेका हुन्छन् ।


एक दिनको कुरा हो, सेतो बिरालो र ढाडेमुसो आमनेसामने भए । यो केही महिनाअघिको घटना थियो । दुवैले एकअर्कालाई घुरे, मानौं ती हाम्रो टोलका नामूद दुई गुन्डा हुन् । आँखा जुधाउन थालेको केही बेरमै सेतो बिरालो टिक्न सकेन । उसले आँखा हटायो र लुरुक्क आफ्नो बाटो लाग्यो । त्यसपछि हाम्रो ढाडेमुसो पनि शान्त देखियो । मुसो र बिरालोबीच दृष्टि–द्वन्द्वको यस्तो दृश्य देखेर मैले मानव इतिहासको एउटा कुरूप अध्याय शीतयुद्धलाई सम्झिएँ ।


त्यसबखतका हाम्रा महाप्रभुहरू पनि यसरी नै एकापसमा आँखा तर्थे, तनाव सिर्जना गर्थे र पछि आ–आफ्नो बाटो लाग्थे । लगभग चार दशकको कालअवधि त्यस्तै रह्यो । म शीतयुद्धको गर्भमा जन्मेको र त्यसैको अश्लील पर्यावरणमा हुर्केको एक दुःखी लेखक हुँ । मेरो मगजमा त्यस समयखण्डका छिर्काहरू अझै बाँकी छन् । सोभियत संघ भत्केपछि त्यो परिदृश्य फेरियो र त्यसको ठाउँमा विश्वको अर्को कुरूप अनुहार बन्यो ।


म ढाडेमुसोलाई हेर्न कौसीको छेउमा गएँ । आश्चर्य ! अहिले ऊ अर्को अवतारमा पो देखियो । ऊ काठ–गोदामको छेउमा बसेर एउटा किताबलाई चिथोरिरहेको थियो । आफ्ना तिखा दाँत–दाह्राले कागजलाई धूलोपिठो पारिरहेको थियो । उसको लगन, तन्मय र जोस हेर्दा ऊ हुबहु पुरानो जमानाको क्रान्तिकारीझैं देखिन्थ्यो । रिसाहा । आवेगी । उन्मादी । मूर्ख । र, ऊर्जाशील । संसारमा प्रायः धेरै क्रान्ति विसर्जन र प्रतिगमनतिर गइरहेको योबेला कुन जनप्रेरणाले ऊ यस्तो गरिरहेको थियो ?

सुरुमा मैले खुब रमाएर त्यो दृश्यलाई हेरें, मानौँ त्यो मेरो आदर्श र अनुकरणीय व्यक्तित्व हो । तर, एकै छिनपछि मनमा शंका पलायो— आखिर त्यो किताब उसले कहाँबाट ल्यायो ? कहीँकतै उसले मेरो पुस्तकालयबाट चोरेर

त ल्याएन ?

मेरो मन हल्लियो । म आत्तिएँ ।

‘ए आमा ! ढाडेमुसो त किताबसित लड्दै छ ।’ मैले मनमै राख्न खोजेको यो वाक्य हावामा ध्वनित भयो । वास्तवमा म त्यो हरामीको विषयमा पत्नीसित केही पनि भन्न चाहन्नथेँ । म उनीसित वादविवाद बढाउने मनस्थितिमा थिइनँ । तर, यो लवज मेरो नियन्त्रणभन्दा बाहिर गएर फुस्कियो ।

‘हो, लौ हेर अब, मैले तिमीलाई भन्या कुरा ढुंगाका अक्षर भएनन् ?’ उनी खुच्चिङ भावमा कराइन् ।

म केही बोलिनँ र कौसीबाट तल झरेर काठ–गोदामतिर लागें ।


४.

काठ–गोदाम पुग्दा किताब छियाछिया भइसकेको थियो । जताततै कागजका सानासाना टुक्राहरू छरिएका थिए । तीनको माझमा बसेर ढाडेमुसोले पुलुक्क मलाई हेर्‍यो । म उसको नजिकै के पुगेको थिएँ— ऊ निरंकुश शासनको प्रहरीले लखेटेको आन्दोलनकारीझैं भाग्यो र काठ–गोदामभित्रको आफ्नो साम्राज्यमा अलप भयो ।उसले चिथोरेर ध्वस्त पारेका कागजका टुक्रा हेरेपछि म अलमलिएँ । त्यो किताबको शीर्षक के थियो भनेर ठम्याउने प्रयास गरें । एउटा टुक्रामा ‘एरोस्लाभ साइफर्त (१९०१—१९८६)’ भन्ने शब्दहरूमा मेरा आँखा गडे । यी चेकोस्लाभाकियाली कविलाई म थोरबहुत जान्दछु । केही वर्षपहिले मैले उनका केही कविताहरू पढेको थिएँ । एडवाल्ड आसर्सले अंग्रेजीमा अनुवाद गरेका ती कविताहरूको स्वाद बेग्लै र जैविक किसिमका थिए । ‘दर्शनशास्त्र’ शीर्षकको एउटा छोटो कविता म अझै सम्झिरहेको छु, ‘सम्झना छ नि ए बुद्धिमान दार्शनिक ! जीवन हुन्थ्यो फगत एक पल जति, र फेरि पनि हामी प्रतीक्षा गर्थ्यौं मायालुहरूको, त्यो हुन्थ्यो अनन्त अनन्त ।’


साइफर्तले आफ्नो जीवनकालमा धेरै राजनीतिक उथलपुथल देखे, भोगे तर उनका कवितामा स्पष्ट राजनीतिक स्वर छैन । उनका कवितामा आफ्नो सहर प्राग, त्यहाँका मानिस र त्यहाँको प्रकृतिप्रति प्रेम पाइन्छ । यस्तो स्वभाव म केही मात्रामा नेरुदामा देख्छु तर पूरै होइन । नेरुदा मूलतः प्रेम, प्रकृति र इतिहासबोध भएका कवि हुन् । अनि साइफर्तको भाषाचाहिँ एकदमै साधारण हुन्छ तर त्यहाँ गहिरो अर्थ लुकेको हुन्छ ।


१९२१ मा उनको पहिलो काव्यकृति छापियो । उनी १९३० अगाडि चेकोस्लोभाकियाको कम्युनिस्ट पार्टीको सदस्य थिए । १९३० मा स्टालिनको प्रभावमा पार्टी जान थालेपछि उनी खुलेर विरोधमा लागे, यसको नतिजा उनी पार्टीबाट निष्कासित भए । उनीसँगै अरू छ जना लेखक पनि पार्टीबाट निकालिए ।


साइफर्तले १९२० देखि १०५० सम्म समय–समयमा पत्रकारिता गरे । १९५० मा राजनीतिक कारणले पत्रकारिताबाट अलग भए । उनलाई १९३६, ५५ र ६८ मा राजकीय सम्मान गरिएको थियो । उनी १९६८ देखि १९७० सम्म चेक लेखक संघको अध्यक्ष पनि भए । १९८४ मा साइफर्तलाई नोबेल पुरस्कार दिइयो । उनी यो पुरस्कार प्राप्त गर्ने पहिलो चेक साहित्यकार थिए ।

उनको विषयमा विश्वविख्यात चेक उपन्यासकार मिलान कुन्देराले एक ठाउँमा भनेका छन् : ‘१९६९ मा जव हाम्रो देश रुसी आतंकविरुद्ध लडिरहेको थियो र हारिरहेको थियो, हाम्रो अस्तित्वसम्मलाई न्यायोचित ठहर गर्न तर्कको आवश्यकता थियो । त्यसबेला सबभन्दा बलियो तर्क हाम्रो सामुन्ने थियो— राष्ट्रकवि एरोस्लाव साइफर्त । आफ्नो देशको महाप्रतिभाको अभिव्यक्ति दिइरहेका एउटा होनहार व्यक्तित्व थिए उनी ।’

ढाडेमुसाले च्यातेको यो कुन किताब थियो, जसमा यी महान् चेक कविको नाम छापिएको थियो ? म यो प्रश्नले रन्थनिएको बेला घरको तीन तलामाथिको कौसीको घाममा उभिएकी धर्मपत्नीले सोधिन्, ‘ए बुबा ! कुन किताब लगेर खाएछ मुर्दाले ?’ उनको अनुहार र स्वरमा विषाद झल्किन्थ्यो । तर, यसपल्ट मप्रति थोरै सहानुभूतिको भाव पनि थियो ।

‘खोइ मैले त अनुमानै लगाउन सकिनँ । म हेर्दै छु ।’

‘हिजो राति त्यो मुर्दा हाम्रो पुस्तकालयमा पसेको जस्तो मान्छु म । रातभरि पुस्तकालयबाट कट्याककुटुक आवाज

आएको थियो ।’

‘तिमीले मलाई भन्नु पर्थेन ?’

‘तिम्लाई कसरी भन्नु ? तिमी उसको विपक्षमा कुनै कुरा सुन्न तयार थिएनौ ।’

म फेरि जवाफहीन भएँ ।


ढाडेमुसोले धुल्याएको किताबका टुक्राहरू भत्केका शब्द र अक्षरहरूको ‘डम्पिङ साइट’ जस्तो देखिन्थ्यो । त्यसै बेला ‘पोइट लरेट’ अर्थात राष्ट्रकविलाई भर्त्सना गरेको एउटा टुक्रामाथि मेरो आँखा पर्‍यो । निबन्धकार तथा आलोचक विलियम हेज्लिटले राष्ट्रकविहरूलाई बेलाइती महारानीको चम्चा भनेर लेखेका रहेछन् । यो आरोप कसलाई लगाएका हुन्, पूरा पन्ना सग्लो नभएकाले म किटानीसाथ भन्न सक्दिनँ । जोन ड्राइडन, लर्ड टेनिसन वा विलियम वर्डस्वर्थ कसलाई भनेका हुन् ? लर्ड अल्फ्रेड टेनिसनलाई मैले कक्षा १० को ‘नेपाल पोयट्री सिलेक्सन’ मा पढेको थिएँ– ‘द चार्ज अफ द लाइट ब्रिगेड ।’ क्रिमियाको युद्धमा बेलाइतले रुसी साम्राज्यलाई हराएको थियो । युद्ध जित्ने अंग्रेज सिपाहीहरूको वीरताको प्रशस्ति थियो त्यो कविता, ‘तिनीहरूको दाहिनेतिर तोप, तिनीहरूको देब्रेतिर तोप, तिनीहरूको अगाडितिर तोप, अल इन द भ्याली अफ देथ ।’ (के महारानी भिक्टोरियाको देशभक्तिमा आफ्नो देश संदीग्ध भएका ती सिपाहीहरू मारिएका थिए ?)


वर्डस्वर्थ त हेज्लिटसँग सधैंजसो साँझ भट्टीमा साथ दिने अन्तरंग लंगौटिया मित्र थिए । स्वच्छन्दतावादी विचारमा उनीहरू सन्निकट पनि थिए । तर, पनि एकचोटि हेज्लिटले छद्म नाममा कविता लेखेर वर्डस्वर्थको धज्जी उडाएका थिए । सायद वर्डस्वर्थले सरकारी नियुक्ति खाएको कुरा हेज्लिटलाई चित्त बुझेको थिएन । उनले वर्डस्वर्थलाई भ्रष्टाचारको रोटी खाने भनेका थिए । त्यो कविता निकै चर्चित भयो ।


अझ पछि गएर वर्डस्वर्थ राष्ट्रकविसमेत भए तर हेज्लिटले आजीवन स्वच्छन्दतावादको धर्म पालन गरे । उनी मर्दा विकराल गरिबीमा मरे तर सत्ताको कलौ खान गएनन् । बेलाइती इतिहासमा स्वच्छन्दतावाद निरंकुशताविरुद्ध प्रजातन्त्र स्थापनाको वैचारिक आन्दोलन थियो । यही आन्दोलनको प्रेरणास्वरूप जोन मिल्टन, अलेकजेन्डर पोप, लर्ड बाइरन र वाल्टर स्कटहरूले राष्ट्रकवि बन्न अस्वीकार गरेका थिए । बेलाइतको साहित्यिक इतिहासका बिभिन्न कालसमयमा राष्ट्रकविको पद नलिनेमा थोमस ग्रे, स्यामुअल रोजर्स, फिलिप लार्किन र सिमस हिनी पनि हुन् ।


धुजाधुजा भएको किताब देखेर मेरो मन विचलित भइरहेको थियो । त्यसैबेला आधा च्यातिएको दुइटा आलेखमा मेरा आँखा परे ।

पहिलो यस्तो थियो : ‘राष्ट्रका समस्त जनताको मानवीय स्वतन्त्रता र राजनीतिक उन्मुक्तिको चाहनाको सदैव विरोधी रहेका... (नाम हुनुपर्ने तर मुसाले प्वाल पारेको ठाउँ) राष्ट्रकवि उपाधिका लागि योग्य छैनन् ।’

हेज्लिटसित यो सन्दर्भ पटक्कै मिल्दैन र साइफर्तसित त झन् मिल्दैन । तर, यो वाक्य नेपालीमै कतै पढेको जस्तो लाग्यो मलाई । सायद कवि तथा आख्यानकार हरि अधिकारीको भनाइ हुनुपर्छ । कान्तिपुर कोसेली, शनिबार, साउन २०७६ हो कि ? तर, म स्पष्ट छैन ।


दोस्रो आलेख :

– ‘२०५९ सालपछि... (प्वाल परेको भाग, सायद त्यो ज्ञानेन्द्र शाहको नाम होला) को सक्रिय शासन रहेको बेला उनलाई राष्ट्रकवि पद दिएर अभिनन्दन गरिएको थियो ।’

– ‘मधेस आन्दोलन र नाकाबन्दीको बेला खड्गप्रसाद ओली र उनले माइतीघरमा संयुक्त रूपमा झन्डा गाडेका थिए ।’

– ‘संविधान निर्माणपछिको पहिलो आमसभामा प्रचण्डले उनकै गीतलाई बजाएका थिए ।’

यी भनाइहरू पनि विलियम हेज्लिटको सन्दर्भसित मिल्दैनन् । बरु यी प्रसंग कवि तथा चिन्तक संगीतश्रोताको कान्तिपुर, फागुन १९, २०७४ मा प्रकाशित लेखसित ठ्याक्कै मिल्छन् । अनि यो धूलिसात् भएको किताबमा साइफर्त एवम् विलियम हेज्लिटसित कान्तिपुर, हरि अधिकारी र संगीतश्रोता कसरी मिसिन आइपुगे ? आखिर ढाडेमुसाले च्यातेको यो किताबको नाम के हो ? अब

म भ्रमित भएको छु, के यस्तो किताब मेरो पुस्तकालयमा थियो ?

अझ त्यो ‘डम्पिङ साइट’ को रासमा एउटा बुँदागत लेखोटका केही अपूर्ण अंश देखेपछि त मेरो भ्रमलाई सयका सय सत्य सावित गरिदिएको छ, निश्चित रूपमा यो मेरो पुस्तकालयको किताब होइन ।


लेखोट भन्छ :

क) यो ज्यादै विवादास्पद विषय हो । साहित्य संसारमा उनलाई राष्ट्रकवि मान्ने विचार न नैतिक छ न साहित्यिक । विशेषगरी तानाशाही व्यवस्थाको समयमा निरंकुश शाहीतन्त्रप्रतिको उनको उग्र अनुरागले उनी एक उम्दा अवसरवादी हुन् भन्ने प्रमाणित हुन्छ ।

ख) कुनै पनि स्रष्टा इतिहासको गति र त्यसका चालक शक्तिप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने कुराले उसको परिचय र विशेषता बन्छ । फ्रान्सेली उपन्यासकार अनोरे द बाल्जाक व्यक्तिगत विश्वासमा कडा राजतन्त्रवादी भएर पनि इतिहासबोधमा प्रखर, कलाचेतमा उत्कृष्ट र जीवनमा इमानदार भएकाले आजसम्म सम्मानित छन् । यहाँका यी कविमा यस्तो कुनै लक्षण छैन ।


ग) यी कविको रचनात्मक संसारको विषयमा पनि धेरै मत–मतान्तर रहेका छन् । कतिपय समालोचकले उनलाई राष्ट्रवादका गायक भनेका छन् भने कतिपयले कस्को राष्ट्रवादका गायक भनेर सवाल पनि उठाएका छन् । जस्तै एउटा प्रश्न छ : उनको राष्ट्रवाद राजा–महाराजाहरूको या जनताको ? किनकि राष्ट्रवादको हिजोको परिभाषाले सिंगो देश र जनताको राष्ट्रवादलाई बोक्न नसकेको मात्र होइन त्यो कति जनविरोधी पनि रहेछ भन्ने सत्य इतिहासले प्रमाणित गरिसकेको छ ।


घ) म उनको काव्यकारिताबाट कहिल्यै प्रभावित भइनँ । उनको सर्वाधिक चर्चित शोककाव्यले पनि मलाई कहिल्यै छोएन । त्यो शोककाव्यलाई मैले जम्मा एक पटक मात्र किनेको थिएँ । उनको महाकाव्यकारिताबाट पनि म कहिल्यै उत्साहित बन्न सकिनँ । लेखनाथ पौड्यालको ‘तरुणतपसी’ पछि शास्त्रीय छन्दमा त्यस्तो ल्याकतको अर्को महाकाव्य मैले नेपाली भाषामा पढ्न पाएको छैन ।


ङ) तानाशाही सत्ताले उनलाई जति सम्मान दियो, लोकतन्त्रको सत्ताले झन् बढी खातिरदारी गरेको छ । यो हाम्रो इतिहासको गम्भीर प्रहसन हो । यी विचार कसका हुन्, प्राप्त भएको पानामा कतै स्पष्ट छैन । तर, यसमा लेखिएका कतिपय विचार जस्ताको तस्तै मेरा विचारसित मिल्छन् ।


उदाहरणको निम्ति मेरो हालै प्रकाशित (तर सरकारको किताबविरोधी नीतिका कारण सीमा भन्सारमा अड्केर बजारमा आउन ढिलो भएको) कथासंग्रह ‘तमस’ को पृष्ठ १४९ को अन्तिम हरफ ‘लेखनाथको तरुणतपसीपछि नेपाली साहित्यमा छन्दकाव्यको अवसान सुरु भएको छ’ र यहाँको बुँदा नम्बर ‘घ’ को अन्तिम वाक्यको निहितार्थ ठ्याक्कै मिल्छ । यसपछि त म झन् रन्थनिएँ ।


५.

फेरि मौसम बिग्रियो । किनकि पश्चिमको भूमध्यसागरबाट आएको बादल फेरि बर्सिन थाल्यो । किनकि ढाडेमुसाले मेरो दिमाग बेस्सरी चाटेको थियो । किनकि । किनकि । किनकि । तर, यो घटनापछि मेरी पत्नी धेरै शालीन र मायालु भएकी थिइन् । मैले धन नकमाए पनि मैले कमाएका किताबप्रति उनको अगाध प्रेम थियो । त्यो प्रेमलाई ढाडेमुसोले धज्जी उडाएको थियो– धुजाधुजा च्यातेर । ‘भयो पिर नगर बुबा ! त्यो कुन किताब थियो, फेरि किने भैगो,’ उनले अपूर्व सान्त्वनाको भाका हालेर भनिन् ।

‘म त्यो किताबको कारण पिरिएको होइन,’ मैले भनें ।

‘केको कारण पिरिएको त ?’

‘यो ढाडेमुसोले गर्दा फेरि केही आत्मा मसित

चिढिने भए ।’

‘कसका आत्माहरू ?’


‘सधैं भाट बन्न तम्तयार ‘पोइट लरेट’ हरूका आत्माहरू । तिनका बकमफुसे किताबलाई बाउन्नपल्ट किन्ने स्तरहीन पाठकहरूका आत्माहरू । अनि कविहरूलाई भाट बनाउन पल्केका महाराजा, महारानी र प्रधानमन्त्रीहरूका आत्माहरू । यस्तै यस्तैहरू ।’

भन्दाभन्दै विषादले मेरो अनुहार कालो भयो । मेरो कुरा सुनेपछि पत्नी चुप भइन् तर यसबखत उनको अनुहारमा मप्रति प्रेम, अनुराग र करुणाको बाक्लो रङ पोतिएको थियो ।

प्रकाशित : माघ १८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?