१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘लोकसंगीतको सफ्टवेयर हाम्रै हो’

किशोर गुरुङ (६०) आधुनिक संगीतका व्याख्याता एवं चिनिएका वाद्यवादक हुन् । क्लासिकल गिटारवादनमा ख्याति राख्ने किशोरले अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट गुरुङ जातिमा रहेको घाटु परम्परामाथिको ‘इथ्नोम्युजिकोलोजी’ लाई आधार बनाएर मास्टर्स गरेका छन् ।

‘लोकसंगीतको सफ्टवेयर हाम्रै हो’

महाराजगन्जस्थित आफ्नै निवासमा स्वेच्छामा आउने संगीतका विद्यार्थीलाई वाद्यवादन सिकाउनमा व्यस्त किशोरको आफ्नो अध्ययन–अनुसन्धानमा आधारित घाटु संगीत परम्पराको पुस्तक ‘घाटु : अ न्यारेटिभ म्युजिक ट्रेडिसन अफ नेपाल’ यसै महिना सार्वजनिक हुँदै छ ।

आधुनिक संगीत, गीतारवादनजस्ता फरक विषयको ज्ञाता भएर पनि घाटु संस्कृति र संगीतको अध्यनमा किन लाग्नुभएको थियो ?
संगीतसँग अनेक पक्ष— आर्थिक, सामाजिक, धार्मिक, राष्ट्रियता, बौद्धिक सम्पत्ति अधिकारको पक्ष र मनोरञ्जन जोडिएको हुन्छ । मैले जब अन्तर्राष्ट्रिय सांगीतिक इतिहास धेरथोर बुझ्न थालें, तब हाम्रो पहिचान (आफ्नोपना) रहेको लोकसंगीत पनि अध्ययन गर्ने इच्छा जाग्यो । त्यसमा पनि सांगीतिक अध्ययन र अनुभवको फाँट बृहत् बनाउने क्रममा मेरो बुबा (अम्बर गुरुङ) ले सिकाउनुभएको ज्ञानको कुरा पनि हो यो ।

घाटु संस्कृति र संगीतकै रोजाइ किन भएको थियो ?
भेडाको बथान लिएर गुरुङहरू लेकमा गएको बेला टुङ्ना बजाएर गीत गाउँछन् भन्ने सुनेको थिएँ । कस्तो गीत होला भन्ने कौतूहल मनमा लाग्थ्यो । पछि घाटु नाचबारे सुनें र त्यो लोकसंस्कृतिको सूक्ष्म पक्षबारे सूक्ष्म अध्यन गर्ने इच्छा बढेर गयो । त्यसबेला यो पनि थाहा भयो— घाटुको यो सूक्ष्म पक्षबारे अहिलेसम्म कहींकतैबाट अध्ययन भएको छैन । युनिभर्सिटी अफ हेलिन्सिकीकी इथ्नोम्युजिकोलोजी प्राध्यापक पिरक्को मोइसल्लाले घाटु नाचको अध्ययन गरेकी छन् तर त्यसमा संगीतको सूक्ष्मपक्ष भने अध्ययनमा आएको रहेनछ । हाम्रो लोकसंगीतको अध्ययन गर्ने अध्येता धेरै भैसके । जस्तो : मोइसल्ला, टिङ्गी, बाके, हेन्डरसन, ग्रिन, कल्लास, ग्रानजिन आदि ।


घाटुको अध्ययन पनि जातीय संगीतमा विद्यमान विविधताको खोजी गर्न गरेको थिएँ । झन्डै ३० वर्षअघि कास्कीको याङ्जाकोट र तनहुँको झारगाउँमा गएर यो अध्ययन गरेको थिएँ । मैले गरेको अध्ययन गुरुङ जातिकेन्द्रित छ । तर, मगर, माझी जातिमा पनि घाटु संस्कृति रहेछ । आश्चर्य लाग्ने कुरा के छ भने गुरुङले बोल्ने तिबेतो–बर्मन भाषा भए पनि घाटु संगीत भने इन्डो–आर्यन आधारित छ । यसको विस्तृत भाषिक अध्ययन हुनै बाँकी छ । यो भाषाको कुरा (इथ्नोम्युजिकोलोजी) भए पनि समाजशास्त्र र मानवशास्त्र आधारमा मात्रै संगीत–संस्कृतिको अध्यन हुने गरेको छ ।

तपाईले जातीय संस्कृति/संगीतमा गरेको अध्ययनको सार के हो ?
नेपाल लोकसंगीतको खानी हो । तराईदेखि हिमालको फेदसम्म र नेपालबाहिर पनि यो संगीत बाँचेको छ । हामीले लोकसंगीतलाई बुझ्दा विभिन्न जातीय (एथ्निक) लगायतका संगीत भनेर बुझ्नुपर्छ । यो ऐतिहासिक तथ्य पनि सही हो कि हामीले उत्तर–दक्षिणका राष्ट्रहरूसँग मिलेका लोकसंगीत र बाजाहरू नेपालमा पनि पाउँछौं । तर, लोकसंगीत परम्पराहरूमा पनि हामीले छुट्टै नेपालीपन पाउँछौं जसको सूक्ष्म अध्ययन नै मेरो संगीत अध्यनको सार हो । उदाहरणका लागि क्यारोल टिङ्गीले गरेको अध्यनमा नौमती बाजाको उत्थान मुगल साम्राज्यको समयमा भएको भनिएको छ तर यो नौमती बाजाको नेपाली समाज–संस्कृतिमा छुट्टै स्थान छ, भिन्न पहिचान छ— विशेषतः यसका भाकाहरूमा । अब ती भाकाहरूको सांगीतिक पक्षको सूक्ष्म अध्ययन हुन बाँकी देखिन्छ । यस कुरालाई यसरी बुझ्दा पनि हुन्छ— ती हार्डवेयर र सफ्टवेयरका बुँदा हुन् भनेर । हाम्रो पहिचानमा सफ्टवेयर (म्युजिक डिटेल, गायन, बादन आदि) को मान्यता बहुमूल्य हुन्छ । यत्ति हो कि स्रोत एउटै भए पनि बाजा बजाउने तरिकाहरू, शैलीगत कुरा भने भिन्न छ । अरूसँग यो हाम्रो शैली मिल्दैन, यो नेपालीपनको कुरा मैले घाटुमा पनि गरेको छु । संगीत स्रोतका कुरामा ‘हार्डवेयर’ मात्रै मिलेको हो, सफ्टवेयर त मिल्दैन नि । यो कुरालाई पनि ख्याल गर्नुपर्‍यो ।

लोकसंगीत (फोक म्युजिक) र जातीय संगीत (इथ्निक) बीचको अन्तर के हुन सक्छ ?
जातीय र लोकसंगीत भन्नु उही हो । तर, लोकसंगीतको चित्तबुझ्दो परिभाषा संसारभरै कसैले गर्न सकिरहेको छैन । यसलाई केवल गाउँघरको स्वतः प्रस्फुटित भनेर मात्रै परिभाषित गर्न मिल्दैन । बरु एउटा सबैलाई मान्य बुँदा के हुन सक्छ भने लोकसंगीतको रचनाकार थाहा हुन्न । अमेरिकामा ‘ब्लू–ग्रास’ भन्ने लोकसंगीत छ, ठेट खालको । यो लोकसंगीतको शब्दमा छ— ‘नाइन्टी माइल्स एन आवर ड्राइभिङ इन द कार ।’ यो गाउँघरको वातावरणभन्दा परको कुराजस्तो लाग्छ । फिजी आइल्यान्ड र अरू प्यासिफिक संस्कृति हेर्ने हो भने त्यहाँ माछा, माछाको रङ, माछा समूहमा तैरिएको जस्ता कुरा लोकसंगीतमा भएको पाउँछौं । हामीले पनि रारा, फेवाताल, माछापुच्छ्रेलाई लोकसंगीतमार्फत सेलेब्रेट गर्दै आएका छौं । झाँक्रीले फलाकेको भाका (ब्लुजजस्तै) हामी लोकसंगीतमा प्रयोग गर्छौं, जबकि पश्चिमाहरू चर्च, धार्मिक स्थलका आवाज (ध्वनि) लाई लोकधुनमा हाल्दैनन् । अहिले आएर ब्रिटिस म्युजियमले लोकसंगीतलाई ‘वर्ल्ड म्युजिक’ भन्न थालेको छ ।

उसो भए जातीय र लोकसंगीतको आधारभूमि एउटै हो त ?
नेपाली संगीत भनेर ३ मुख्य फाँट गाभिएको संगीत भनेर बुझ्नुपर्छ— लोक, शास्त्रीय र आधुनिक । मैले मुख्य ३ फाँट भनेको कारण के हो भने कतिपय धार्मिक आस्थासँग गाँसिएको लोकसंगीत पनि हामीकहाँ छ । जस्तो : खुम्बु क्षेत्रमा प्रचलित मानिरिम्दु, लामोलामो लुगा लगाएर नाचिने बौद्ध नाट्य प्रस्तुति हो । मानिरिम्दु नाटकमा एउटा जोकर क्यारेक्टरले हँसाउने काम गर्छ तर त्यो चरित्र वास्तवमा एउटा चिनियाँ चरित्रको चित्रण रहेछ, जसले वास्तविक रूपमा धार्मिक आस्थाको महत्त्व नबुझेको हुँदोरहेछ । नेवार समुदायमा रहेको चर्या नाचको कुरा गरौं— त्यस्ता प्रस्तुतिमा नेपाली समुदायविशेषको कत्रो अनुभूति र आस्था पाउन सक्छौं । गुरुङहरूको प्रस्तुति घाटु नाचमा नाच्ने घाटुनीहरू देवी चढेर लठ्ठ परेका हुन्छन् । यो दृष्टिकोणबाट हेर्दा वा बुझ्दा, त्यो बुझाइ सीमित हुन सक्छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?