२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भाका सधैं परिवर्तनशील

राज्यले लोक–साहित्यलाई संरक्षण र प्रवर्द्धन गरेन । सधैं बेवास्ता ग‍र्‍यो । संगीतकै खातिर जुनी अर्पण गर्ने गन्धर्व, कुश्लेलाई छुवाछूत ग‍र्‍यो । परेको बखत बिसे नगर्चीदेखि रुविन गन्धर्वसम्मलाई उपयोग गर्‍यो ।
आभास

संगीत छुट्टै भाषा हो । यो आफ्नै पद्धतिबाट सञ्चालित हुँदै आएको छ । त्यसैले संगीतको चर्चा गर्दा यसको वैज्ञानिकतालाई मध्यविन्दुमा राख्नुपर्ने हुन्छ । यो गणित पनि हो र यसका तरंगहरू आफ्नै हिसाबले सञ्चालित भएका हुन्छन् ।

भाका सधैं परिवर्तनशील

साथसाथै संगीत मानव सभ्यताको यस्तो अद्भुत जीवित कला हो, जो भावनासँग जोडिएर बाँच्दै आएको छ । ध्वनिको उत्पत्तिदेखि अहिलेको परिष्कृत सुरसम्म आइपुग्न यसका मूर्च्छनाले अकल्पनीय लामो यात्रा तय गरेका छन् । त्यसमा विश्वभरकै लोकसभ्यताको योगदान छ । विश्व लोकसभ्यताका हामी पनि सहयात्री हौं ।

विश्वमा संगीतका विविध पक्षमाथि अनेकौं अनुसन्धान र विश्लेषण भएका छन् । चर्चा–परिचर्चा भएका छन् । वादविवाद भएका छन् । तर, नेपालका हामी मौनतामा अल्झन विवश पुस्ता हौं । विगतका राज्यले हामीलाई मौन राख्ने अभ्यास गरे । त्यसैले होला हाम्रो समाज केही हदसम्म खुला भएपछि अहिलेका हामी विचार, विमर्श र संवाद गर्दा अलिक चर्को पनि हुने गर्छौं । पश्चिमी संगीत क्षेत्रका सर्जकले यस्तैखाले चर्का मनवीय स्वभावलाई समेत समेटेर अनेक विधा निर्माण गरेका छन् । ‘हेब्बी मेटल’, ‘डेथमेटल’ लाई त्यस्ता उदाहरणका रूपमा लिन सकिन्छ ।

यसपालि हामी बाहिरी संसारबाट भित्रिएका अरू खाले संगीतको चर्चा गर्दै छैनौं । बरु आफ्नै भूगोल र लोकजीवनका भाका–भंगिमाको चर्चा गर्दैछौं । यसअन्तर्गत ‘कोसेली’ ले रैथाने संगीतमाथि विविध विधाका मूर्धन्य व्यक्तित्वका विचार–विश्लेषण समेट्ने जमर्को गरेको छ । संगीतमा यस्तो विमर्शको चर्चा निरन्तर खट्किँदै आएको विषय हो ।

म संगीतको सामान्य विद्यार्थी हुँ । संगीतबारे विमर्श गर्नु उति सहज विषय होइन । खासमा संगीतको चर्चा गर्दा हामी प्रायः भाषाको फेरो मात्रै समात्छौं । भाषा महत्त्वपूर्ण हुँदाहुँदै पनि कहिलेकाहीं भाषालाई अलग्याएर धुनको मात्र विश्लेषण गर्ने परिपाटी पनि आरम्भ गर्नुपर्छ । त्यसले हामीलाई मौलिकताको परिचय आर्जन गर्नतिर आकर्षित गर्छ । कविता वा भाषाबिना उभिएको धुनको स्वभाव मौलिकताको पहिलो अंग हो । धुनको त्यही मौलिकताभित्र लोकजीवन, तिनको सांकृतिक परम्परा लुकेको हुन्छ । कण्ठशिल्पको अलंकार र स्वभाव झल्केको हुन्छ । त्यसमै बाजाको बनोट समेटिएको हुन्छ । बाजाले अंगीकार गरेको भूगोल पनि हुन्छ । वनस्पति हुन्छ । लोकजीवन हुन्छ र ती सबैको मन्थनबीच लोकसंगीत अथवा ‘एथ्नोम्युजिक’ टिकेको हुन्छ ।

विश्वभरको लोकसंगीतमा केही समानता छन् । यी प्रायः पाँचवटा अथवा ‘पेन्टाटोनिक’ सुरमा बाँधिएका हुन्छन् र पनि भिन्दै सुनिन्छन् । यही भिन्नता नै लोकसंगीतको विशेषता हो । त्यसैले संसारभरका लोकसंगीत विश्व मानवजगत्का विशेष सम्पदा हुन् । त्यति हुँदाहुँदै यी आ–आफ्ना पहिचानका निम्ति आ–आफैँले जोगाउनुपर्ने विषय पनि हुन् । हाम्रोमा आजसम्म जे–जति लोकपरम्परा बाँचेका छ, त्यो राज्यको कारण होइन । लोकजगत्को आफ्नै प्रयत्नले बाँचेको हो । आफ्नै प्रयत्नले आफ्ना संगीत र संस्कृति जोगाउनुपर्छ भनिरहँदा मलाई दुई दशक पहिलेको एउटा सांगीतिक भ्रमणको सम्झना आयो ।

सन् २००० को सेप्टेम्बरमा एउटा सांगीतिक परिचर्चामा सम्मिलित हुन म डेनमार्क पुगेको थिएँ । त्यहाँ युरोप, एसिया, अफ्रिकाका हामी केही संगीतकर्मीको जमघट भएको थियो, जसमा इरानका डाफवादक संगीतकार पनि थिए । हामी एकअर्काका देशका परम्परागत र लोकसंगीत सुन्दै तिनको स्वरूपमाथि चर्चा गरिरहेका थियौं । इरानको संगीत सुनेपछि मैले इरानी संगीतकार मित्रतिर फर्कंदै सोधेँ, ‘मिस्टर अली ! तिम्रो देशको संगीत अरू संगीतभन्दा किन यसरी एकदमै पृथक् सुनियो ?’ उनी मेरै उमेरका थिए । तर, युद्धको भुमरीले मभन्दा निकै पाका देखिन्थे । अलीले मतिर हेर्दै मेरो जिज्ञासा सम्बोधन गरे, ‘मिस्टर आभास ! सत्ताको दबाब र युद्धको चपेटामा धेरै कुरा छरपस्ट हुँदा रहेछन् ।

तर, त्यसभित्र लुकेका केही राम्रा कुरालाई समयले फेरि बाहिरी धरातलमा ल्याउने दिन पनि आउने रहेछ । हाम्रो देशको राज्य र त्यसको कट्टरताले एक दशकभन्दा बढी अवधि संगीतमाथि प्रतिबन्ध लगायो । धुन सुन्न र सुनाउन नपाइने भयो । सांगीतिक संसारबाट बिल्कुल अलग रहन विवश कलाकारहरूको जुनुनले भने अर्कै बाटो लियो । उनीहरू भूमिगत रूपमा अति गोप्य तरिकाले आफ्नो सांगीतिक साधनामा दिन–रात लागिरहे । जब संगीतमाथिको प्रतिबन्ध फुकुवा भयो तिनै भूमिगत, सयौं संगीत साधकहरू आफ्नो सांगीतिक सीप र क्षमता लिएर बाहिर निस्के । हाम्रो संगीत विशेष, मौलिक अथवा पृथक् सुनिनुमा त्यही एक दशक लामो प्रतिबन्धको केही योगदान छ ।’ गलामा माला भिरिरहेका सुफी साधक अलीको कुरा सुनेर म छक्कै परेको थिएँ ।

युद्धको कारण परिवार र देश छोडेर युरोपमा एक्लै बसेका, गाँजाका सोखिन सेवक अलीको सम्यक् भावले मलाई गहिरोसँग गाँजेको थियो । कस्तो अचम्म, प्रतिबन्धले पनि परिष्कृत हुने मौका दिँदो रहेछ ! तर, यसका निम्ति कलाप्रतिको मोह र जुनुन भने कायम हुनुपर्ने रहेछ ।

यता हाम्रोमा राज्यले लोक–साहित्यलाई संरक्षण र प्रवर्द्धन गरेन । सधैं बेवास्ता ग‍र्‍यो । संगीतकै खातिर जुनी अर्पने गन्धर्व, कुश्ले आदिलाई छुवाछूत ग‍र्‍यो । परेको बखत बिसे नगर्चीदेखि रुविन गन्धर्वसम्मलाई उपयोग गर्‍यो । तर, यति हँदाहुँदै पनि हाम्रोमा राज्यले लोकसंगीत र भाकालाई सुन्न–सुनाउनै नपाउने गरी प्रतिबन्धित ग‍र्‍यो भन्ने ठाउँ छैन ।
विगतको सत्ताले एउटा भाषा र एउटै संस्कृतिलाई प्रवर्द्धन गर्‍यो भन्ने विद्वान्हरूको मतसँग मेरो विमति छैन । त्यही भएर त हाम्रो पुस्ताले भेदभावी सत्तालाई सिंहासनबाट उतारेर पाखा लगायो । अब तिनलाई सरापेर बस्नु मात्रै हाम्रो काम होइन । इतिहास पढ्ने–बुझ्ने हो । त्यसको परिणामले ल्याएको अवस्थाबाट सिक्ने पनि हो । हामीले गलत पढेका रहेछौं भने विषयगत विद्वान्को ज्ञानको शरणमा जाने हो । पढेका सबै कुरा निमेषभरमै मेटिन्नन् । मेट्नु पनि हुन्न । पृथ्वीनारायणको दिव्य–उपदेश पढ्न उपलब्ध भयो । पढियो, ‘आफ्ना स्वष–सयेललाई ता सास्त्रबमोजिम्‍को तिनै सहर नेपालको नेवारहरूको नाच झिकाइ हे‍र्या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।’ (दिव्य–उपदेश तृतीय संस्करण पृष्ठ ६१, सम्पादक : बाबुराम आचार्य र योगी नरहरिनाथ)

अहिले विद्वान्हरू दिव्य–उपदेशको मूल ग्रन्थकै प्रामाणिकतामाथि बहस गरिरहेका छन् । यस्तो बेला पढेका कुरा यसरी उल्लेख गर्नु पनि ‘पोलिटिकल्ली इन्करेक्ट’ हुने हो कि भन्ने डर छ । किनभने इतिहास आफ्नो विषय होइन । ठोकुवा गर्न सकिने कुरै भएन । तर यो के हो कसको भन्ने परिधिबाट पन्छिएर सोच्ने हो भने पनि त्यसबेलाको दरबारिया परिवेशमा नेवारी संस्कृति र कलाकारिताको महत्त्वबारे चर्चा भएको त पक्कै रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । दिव्य–उपदेशको उपरोक्त भनाइले राजनीतिमा संगीत र संस्कृतिको भूमिकालाई प्रस्ट्याउँछ । तर, पृथ्वीनारायण शाहपछिका तिनका सन्तान तथा राणाले त्यो महत्त्वलाई ध्यान दिएनन् । तिनले हाम्रा भित्री सांगीतिक परम्परालाई कम र दरबारी तामझामलाई प्राथमिकतामा राखे । त्यसको चपेटामा हाम्रा अनेकौं ऐतिहासिक र परम्परागत कला च्यापिए र टाक्सिए । कति त लोप नै भए । कलात्मक समाजले राज्यलाई सम्पन्न बनाउँछ भन्ने सत्य अनुभूत नहुँदा हामीले धेरै पक्ष गुमायौं । हुन त दरबारिया संगीत र जनसंगीतको आधार फरक नै हो, हुन्छ नै । अहिलेको युग विगतको जस्तो प्रविधिविहीन अवस्थामा छैन । अब त संगीतको प्रचारक कलाकार मात्र होइन, प्रविधि पनि भएको छ । यसको क्षेत्र पनि विशाल रूपमा फैलिएको छ । हिजो घर–आँगनमा आएका गन्धर्वले आफ्नै वरपरका कर्खा र घटना सुनाउँथे । अहिलेको हाम्रो सामाजिक चरित्रमा ठूलो अन्तर आइसकेको छ ।

विविध समाज सम्मिलित राष्ट्रलाई बलियो सूत्रमा बाँध्ने डोरी मौलिक कला हो । त्यसमा पनि संगीत–कला अझै महत्त्वपूर्ण मानिन्छ । कलामा वैयक्तिक भावनासँगै सामूहिक भावना पनि उपस्थित हुन्छ । कुनै जातिको परम्परागत सांस्कृतिक वा सांगीतिक पर्वलाई अर्को जातिले सामान्य रमिता अथवा जात्रा मात्रै ठान्न सक्छ । तर, सम्बन्धित जातिका निम्ति आफ्ना परम्परागत चालचलनहरू रमिता मात्रै हुँदैनन् । ती चालचलन त निश्चित समुदाय या समाजको भावनात्मक विषयसँग जोडिएका विषय हुन् । अभौतिकभाव शृंखला हो । आफ्नो पहिचानको जरो पनि हो । भावनासँग जोडिएको यो महत्त्वपूर्ण पक्षलाई राज्यले झन् संवेदनशील भएर हेर्नुपर्थ्यो । विगतमा त्यसरी हेरिएन । त्यसको परिणाम हाम्रा समाजहरूको अन्तरसम्बन्ध बलिया डोरीमा बाँधिएनन् । हाम्रा सामाजिक पोयाहरू खुकुला भए र नेपाल भावनात्मक रूपमा कसिलो हुनै सकेन । खुकुलो बार भएको बारीको बाली सुरक्षित राख्न सजिलो हुँदैनथ्यो, भएन । बाहिरी, भित्री अनेक खेलाडीहरूलाई हाम्रो कमजोर खलियान नै क्रीडास्थल भयो ।

गणतन्त्रसम्म आइपुग्दासमेत विगतका सत्ताहरूको उस्तै स्वभाव वर्तमान सत्तामा सरेझैँ देखिन्छ । भन्नलाई वर्तमान सत्ताले आफूलाई प्रगतिशील सोचको संवाहक हुँ भन्छ । तर, संस्कृतिलाई हेर्ने सोचमा यो सत्ताले पनि प्रगतिशीलता अपनाएको देखिन्न । पुराना सबै कुरा भताभुंग गर्नु नै क्रान्तिकारिता हो भन्ने सोच पनि प्रगतिशील होइन । यस्तो सोचले राष्ट्रको भवनालाई जोड्ने होइन, तोड्ने काम गर्छ । हामीले विगतका सत्ता र तिनको चरित्रले गर्दा हाम्रो लोकसंगीत उँभो लागेन भनेर रोइलो मात्रै गरेर हुन्न, आत्ममूल्यांकन गर्नुपर्छ । यसो लेखिरहँदा मलाई फेरि अर्को एउटा यात्राको सम्झना आयो ।

माओवादी विद्रोहताका लमजुङतिर यात्रा गर्ने संजोग जुरेको थियो, गुरुङहरूको घाटुमाथि अध्ययन गर्ने चाहनाले । माओवादी विद्रोहअघि प्रायः गुरुङ र मगर गाउँहरूमा घाटु–नाच निरन्तर चल्दै आएको थियो । नेपालका कम्युनिस्टले सबै पुराना र परम्परागत चालचलनलाई सामन्तवादको अवशेष ठान्न थालेको उहिलेदेखि छँदै थियो । माओवादी त झन् ठूलो क्रान्तिमा उत्रेको थियो । उसको दबाबले धेरै गाउँमा घाटु बन्द गरिए । यसरी घाटु रोकिँदा गुरुङ–मगर समाजको लोकपरम्परा र संगीत प्रभावित भयो कि भएन ? उनीहरूले लामो समयदेखि सञ्चालन गर्दै आएको परम्परा ठप्प हुँदा तिनको भावनात्मक पक्ष सबल भयो कि कमजोर ? यसरी भावनात्मक रूपले कमजोर समाज विद्रोहका निम्ति सधैं अनुकूल हुन्छ । झन् तिनमा आर्थिक–सामाजिक असमानताले निरन्तरता पाएपछि समाज हरदम विद्रोह–उन्मुख भइरहन्छ । हुन त सामाजिक विद्रोह समाज विकासक्रमको वैज्ञानिक प्रक्रिया हो । तर, हरेक विद्रोहपछि समाजको अवस्था पहिलेभन्दा उन्नत हुनुपर्छ, न कि खस्केको !

म काठमाडौं उपत्यकाकै बासिन्दा हुँ, साथै नेवारी खानपान र संगीतको अनुरागी पनि । किशोर छँदा काठमाडौंका चोक–चोकमा रहेका अनेकौं पाटी–पौवामा दाफा भजन र गीत सुनेर हुर्केको हुँ । त्यस बेला र अहिलेको परिवेशमा आकाश–पातालको भिन्नता आइसक्यो । अब त्यो सांगीतिक माहोल फेरि फर्कन्छ भन्ने पनि लाग्दैन । किनभने समय र जीवनशैलीको उतार–चढावमा धेरै कुरामा बदलाव आउँछन् । संगीत पनि सधैँ उही रूपमा रहिरहँदैन । किनभने भाका स्थिर हुन्न, बरु परिवर्तनशील हुन्छ । पहिले श्रुति परम्परामा टिक्दै आएको लोक र परम्परागत संगीतको बाहुल्य रह्यो । त्यसपछि व्याकरण आयो, शास्त्रीय संगीतमा ध्रुपद, धमार, खयाल, गजल आयो । त्यसले पनि पुगेन, फरकपनको खोजी भयो र आधुनिक संगीत आयो । फिल्मी संगीत आयो । तिनमा शास्त्रिय र पश्चिमासँगै लोकसंगीतको प्रभाव पनि प्रचुर छ ! नेपालका अधिकांश आधुनिक संगीतकारहरू लोकसंगीतसँग कुनै न कुनै रूपमा प्रभावित भएकै छन् । तिनको प्रभाव बुझ्न हामीले धुनको प्रकृति केलाउन सक्ने हुनु जरुरी छ ।

लोकसंगीत भन्नासाथ सबै अद्भुत हुन्छन्, महान् हुन्छन् भन्ने पनि होइन । तिनको पनि सिर्जनात्मक स्तर त हुन्छ नै । लोकसंगीत सामूहिक सिर्जनाको प्रतिफल हो । तर, कहिलेकाहीं लोकको नाममा व्यक्ति हावी भएको हुन सक्छ । त्यस्तो बेला व्यक्तिले आफ्नो स्तर त देखाउँछ नै । रेडियो नेपालको जमानामा भाका चैँ लोकको र शब्द व्यक्तिको राखेर लोकगीत भनी प्रसारण भएका हल्का गीतबाट हामी झुक्किएका पनि छौं । लोकसंगीत साँच्चै लोकले रचेको हो कि होइन ? त्यतातिर हामीले त्यति ध्यान दिएका छैनौं । ध्यान दिन थाल्यौं, विश्लेषण गर्न थाल्यौं भने लोकगीत र कोठे लोकगीतको भिन्नता सजिलै छुट्याउन सक्छौं ।

यो प्रविधिको सञ्जालमा जेलिएको संसार हो । संसारभरको संगीत विभिन्न प्रविधिमार्फत प्रसारित भई नै रहेको छ । यो श्रुति परम्परामै टिक्ने कला हो । त्यसैले यो वरपरको परिवेशबाट प्रभावित भइरहन्छ । हाम्रो संगीत भारतको जस्तो सुनिन्छ अथवा टिबेटको जस्तो सुनिन्छ भनेर हीनता बोक्नु जरुरी छैन । बरु फरक बन्न प्रयत्न गर्नु जरुरी छ ।

‘अर्केस्ट्रा’ को निर्माणपछि संगीतमा आफ्नोपन झल्काउन सकिन्छ भन्यो भने ‘अर्केस्ट्रा’ पश्चिमाहरूको शैली हो भन्ने धारणा राख्ने पनि छन् । वाद्यवादक समूह अथवा ‘अर्केस्ट्रा’ र तिनले बजाउने संगीतमा भिन्नता छुट्याउन नसक्नेले यसो भन्छन् । अबको अवस्थामा त लोकजगत् पनि प्रभावमुक्त भएर सिर्जना गर्ने अवस्थामा छझैँ लाग्दैन । यस्तोमा मौलिकताको प्रवर्द्धन सम्भव छ त ? पक्कै छ । तर, अरूको सांगीतिक शैली नसुनियोस् भनेर कान थुनेर मौलिक बन्ने प्रतिबन्धित तरिका हाम्रो लोकतान्त्रिक समाजको पद्धतिसँग मेल खाने शैली होइन । हामीले संसारभरिका सुन्दर लोकसिर्जना र हाम्रा लोकसिर्जनालाई एकसाथ सुनेर तिनका सबल र निर्बल पक्षलाई केलाउँदै प्रशिक्षित हुने बाटो अपनाउनु ठीक हुन्छ । यसका निम्ति राज्यले लोकसंगीतलाई शिक्षा नीतिमै संलग्न गराएर संरक्षण र प्रवर्द्धन गर्ने बाटो अँगाल्यो भने सम्पूर्ण देशको भावनात्मक एकतालाई बल पुग्छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?