‘माइतीघरमा के छ र मेरो !’

रत्यौलीमा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहार गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ ।
नारायणी देवकोटा

विवाहको दिन बेहुला अन्माएपछि बेहुलाको घरमा महिलाहरूले गर्ने रमाइलो (त्यो पनि विशेषगरी पुरुषहरूका लुगा लगाएर यौन–सम्बन्धका विषयमा व्यक्त गरिने प्रहसन) लाई रत्यौली भनी बुझ्ने गरिएको पाइन्छ । त्यसैले पनि मान्छे (पुरुष) हरूले रत्यौलीका गीत भन्नेबित्तिकै महिला–पुरुषका यौनजन्य क्रियाकलापसँग सम्बन्धित गीत भनेर व्याख्या गरिरहेको भेटिन्छ ।

त्यसैले होला, सञ्चारमाध्यममा लोकगीतका कार्यक्रम सञ्चालन गर्ने पुरुष सञ्चालकले बेलाबेला लोकगीत संकलकलाई ‘रत्यौलीका जस्ता गीत’ संकलन गरेको टिप्पणी पनि गरिरहन्छन् । तर, साँच्चिकै रत्यौलीमा के–कस्ता गीत गाइन्छन् भन्ने धेरै पुरुष (जन्ती जान छुटेका केही पुरुषहरू अल्लि परबाट लुकेर हेर्ने वा किशोरहरू आमाको पछ्यौरा ओढेर सुन्ने चलन हुन्थ्यो) का लागि स्मार्ट फोन हात–हातमा आउनुअघिसम्म जानकारीबाहिरको कुरा थियो ।

त्यसअघिसम्म धेरै पुरुषको जानकारीमा आफ्ना लुगा कुनै महिलाले लगाएर नाचेकोसम्म रहन्थ्यो । किनभने ती लुगा राखिएको ठाउँमा नहुन सक्थे, कहिलेकाहीँ महिलाले जुँगा बनाउँदा प्रयोग गरेको कालो रङको दाग लुगामा लागेको हुन सक्थ्यो वा ठूलो शरीर भएका महिलाले लगाउँदा लुगा च्यातिएको हुन सक्थ्यो वा बेलुका श्रीमतीले ‘फलानीले त... गरेर नाची नि’ भनेर सुनाएको कुरा मात्रै पुरुषलाई जानकारी रहन्थ्यो । तर, रत्यौलीमा महिलाले गाइरहने आमा हुनुका दुःख, आफूबाट टाढाटाढा हुँदै गरेका छोराप्रति आमाका भावना, महिला हुनुकै दुःख, अर्काको घरमा गएकी बुहारीको भावना, बुहारीलाई फकाउने र सम्झाउने गीतहरू पुरुषको जानकारीबाट सधैं टाढा रहे ।

प्रायः घरका रत्यौलीमा सुरुमै प्रहसन हुँदैन । बेहुलालाई आमाले दूध खुवाएर अन्माएपछि महिलाहरू गीत गाउन बस्ने चलन हुन्छ । सुरुका केही गीत प्रायः सोही दिन बेहुलो भएको छोरा जन्माउँदा–हुर्काउँदा आमाले भोगेका दुःखसँग सम्बन्धित गेडाहरूले भरिएका हुन्छन् । ती गीत गाउन प्रायः वृद्ध महिलाले सुरु गर्छन् भने कतै बेहुला भएको युवाका दिदी–बहिनीले घरमा भाउजू भित्रिने खुसियालीमा गीत गाउँछन् । यसरी गाइने गीतमा वृद्धाहरूको भाका प्रायः यस्तो हुन्छ :

‘गयौ बाबु फूलमाला भिरेर दूधको भारा सारी (साडी) ले तिरेर’ यसरी गीत गाउन थाल्दा कतिपय आमा र धाईआमा (बच्चा जन्मने क्रममा सहयोग गरेकी महिला, सुँडेनी वा परिवारकै) ले भर्खरै बेहुलाले ढोग गरेर दिएको साडी घरभित्र लगेका पनि हुँदैनन् । उक्त भाकामा विभिन्न गेडा (टुक्का) हरू बनाएर गाइन्छ । उदाहरणका लागि बेहुलाकी आमाले कैयौं तीर्थ, व्रत, रुद्री, पुराण लगाएपछि वा धेरै बच्चा जन्मँदै–मर्दै गरेपछि वा छोरी–छोरीपछि वा सौतेनी ग्रह काटेपछि बेहुलो भएको पुरुष जन्मिएको, विभिन्न प्रकारका बिरामी वा दुर्घटनामा बाँचेको बारेमा गीतको गेडा निकाल्ने महिलालाई थाहा हुन्छ । युवा महिलाले खुसी भएर गाउने भाका यस्तो हुन्छ :
‘अब त बुहारी आउँछिन्
आमालाई बोकेर डुलाउँछिन्...’

‘आज त नाचौली गाउली, दाजु टाढा हुँदा पो चाल पाउली’ भन्दै अर्की महिलाले दोहोरो भाका निकाल्न सक्छन् । यसरी गाइने दोहोरीमा पहिलोले आउँदै गरेकी बेहुलीको गुनगान गर्छन् । उदाहरणका लागि यस्तो गेडा धेरैतिर गाउने चलन छ :

‘हाम्री भाउजू हिँडेको ठाउँमा
बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’

गाउन सुरु गरेका महिला बिस्तारै उठ्दै गएपछि वृद्ध महिलाले सुस्तरी भाका निकालेर गाउन थाल्छन् । भाका यस्तो हुन्छ :
घुम्दै आयो सासूको पालो
सबैभन्दा यही रैछ अप्ठेरो
यसै त नुगेको डाली
झन् नुग्यो चरीले टेकेर

भन्छु मैले अब त रुन्न
आँसुधारा बगेको थाहा हुन्न
जहाँ टेक्यो उहीँ पैरो जाने
को छ मेरो कटक्कै मन खाने

छोरो गयो बुहारी लिन अब
मलाई दुःख पर्दै छ दिनदिन
रुन्छ मन झ्याल–ढोका उघारी
कुरा लाउँछे छोरालाई बुहारी

बाबु तिमीले ल्याएको झोला मैले खोल्न होला कि नहोला ? यस्ता गेडामा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहारलाई गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ । पहाडका गाउँमा यसरी प्रहसन गर्नुअघि प्रहसन गर्ने महिलाले गाउँमा को–को पुरुष छन् भन्ने अड्कल काट्छन् । र, कुनै अग्लो ठाउँमा गएर ‘तिम्रो बारीमा गाई वा भैंसी पस्यो’ भन्ने जानकारी दिन्छन् । जानकारी दिइएको बारी वा खेत घरबाट कम्तीमा आउँदा–जाँदा टाढा पर्ने रोजिन्छ । यसो गर्नुको उद्देश्य हुन्छ— गाउँमा भएको पुरुषले आफूले गरेको प्रहसन नहेरोस् । प्रहसनमा यौनजन्य क्रियाकलापमा आधारित भएर नाटक गरिन्छ, छाडा भनिने शब्द जोडेर गेडा गाइन्छ र मुख्य प्रहसन गर्ने महिलाले पुरुषका लुगा लगाएर आफूलाई पुरुषजस्तो देखाउने कोसिस गर्छन् ।
प्रहसनपछाडिका भाकाहरू सासू र बुहारी दुवैलाई सम्झाउने गरी गाइन्छन् । र, गाउने महिला पनि घर–परिवारभन्दा अल्लि परका आमा समूहका सदस्य पनि हुने गर्छन्, जसमा राम्रा भाका गाएर पैसा झार्ने उद्देश्य हुन्छ ।

यही हो नानी जुग जाने घर
राम्रो गर सबैको मन पर
माईतीगाउँ कहिलेकाहीँ जाउली
कर्मगाउँ देखेर रमाउली

बुहारी नझार आँसु
आमालाई बिर्साउनेछन् सासू
बाबाको तीनतले घर
छोरीलाई के काम लाउँछ र ?

माइतीघरमा के छ र मेरो
खाइयो पानी छोडियो पँधेरो
बसे छोरी बाउको नाम धानेर
रूखो वचन अमृतै मानेर

यस्तो गाएर बुहारीलाई सम्झाउने कोसिस गरिन्छ भने सासूसाई सम्झाउन यस्तो गाइन्छ ः

छोरीलाई झैं गर्नू है पियार
वृद्ध हुँदा गर्छिन् सियार
धानमा लाउने पुतली मकैमा घुन
कहिल्यै पनि नपार्नू यो छोरीलाई रुन

सानो स्वरले बोले है जहिले नि
चर्को आवाज नगरे कहिल्यै नि
जस्ता गेडा निकालेर गाउने गरिन्छ ।

रत्यौलीका दुई पाटा हुन्छन्— दुःख, सुख, गुनासोका गीत र यौनिक क्रियाकलापलाई लिएर गरिने प्रहसन । गीत गाउने मान्छेबीच चिनजान मात्रै हुँदैन, उनीहरूका दुःख–सुखका पक्ष पनि एकअर्कालाई थाहा हुन्छ । रत्यौलीमा तत्कालै गीत बनाएर गाउने गरिएजस्तो देखिए पनि ती गीतले हाम्रो श्रुति–परम्परा लामो समयदेखि हाम्रो समाजमा विद्यमान थियो भन्ने देखाउँछ । प्रकाशित : माघ ११, २०७६ ०९:४३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दमित ज्वालामुखीहरू

नारायणी देवकोटा

गत हप्ता त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्यालले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘चालीस पुग्न लागेका महिलाहरू दमित ज्वालामुखी हुन्, कुनै पनि बेला विस्फोट हुन सक्छन् ।’ उहाँको पोस्ट पढ्दै गर्दा म समाजशास्त्रको परिकल्पनाको विषयमा विद्यार्थीका नोटहरू हेर्दै थिएँ ।


समाजशास्त्रका बीए र एमएका विद्यार्थीहरूलाई पहिलो कक्षामा आफूमा समाजशास्त्रीय नजर कसरी विकसित गर्ने भनेर पढाउनुपर्ने हुन्छ । र, समाजशास्त्रीय परिकल्पनाको सार हो, ‘हरेक कुरा सामाजिक सम्बन्धहरूका आधारमा निर्मित हुन्छ ।’ विद्यार्थीहरू लेख्छन्- कसैसँग कसैको प्रेम हुनु सामाजिक विषय हो; कोही मान्छे टेडो, घुसघुसे, कुरा काट्ने हुनु सामाजिक कुरा हो; सगरमाथाको हिउँ सामाजिक हो; भगवान् सामाजिक विषय हो; बलात्कार वा मिटु वा डिभोर्स सामाजिक पनि हो । महिलाहरू दमित ज्वालामुखी भइरहेको अहिलेको अवस्था पनि सामाजिक सम्बन्धहरूका आधारमा निर्मित सत्य हो ।

महिलालाई अधिकार धेरै भयो ?
विश्वविद्यालयदेखि चियापसलसम्म, विवाह वा व्रतबन्धदेखि कथित वैचारिक भेलाका चियागफसम्म महिलालाई अधिकार बढी भएको भनेर छटपटी सुनिन्छ । तर महिलाका आँखामा, नेपाली महिला आज पनि चरम विभेदमा बाँचिरहेका छन् । सरकारले नै नागरिकतामा गरेको विभेदले महिलालाई दोस्रो दर्जाको नागरिक बनाएकै छ । पैतृक सम्पत्तिमा कानुनी अधिकारको व्यवस्था भए पनि अपवादबाहेक छोरा र छोरीलाई बराबरको अधिकार न बाआमाले दिन सकेका छन्, न त छोरीहरूले लडेर लिन सकेका छन् । अहिले पनि महिलाले आफ्नै घरभित्र गरिरहेको कामको मूल्यांकन गर्ने कुनै विधि विकास हुन सकेको छैन र घरभित्रको काममा महिलाको स्थान पुरुषले लिन सकेका छैनन् । अहिले पनि महिला शरीरलाई वस्तु बनाउने क्रम घटेको छैन ।

महिलाले के अधिकार पाएका छन् र धेरै भयो भनेर सोध्ने हो भने, ‘अब महिलालाई छुन हुँदैन, छोयो भने फसिन्छ’ भन्दै भर्खरै यौनशोषण र दुर्व्यवहारका कारण आफ्नो शक्तिबाट हटेका केही पुरुषको उदाहरण दिने गरिन्छ । कसै–कसैले ‘फलानाकी श्रीमतीले यसरी कुट्छे’, ‘फलानी श्रीमान्‌को सबै जायजेथा उठाएर हिँडी’ जस्ता उदाहरण दिने गरिन्छ ।

पुरुष बिचरो ?
फलानालाई श्रीमतीले कुटिरहन्छिन् भनी सुनाउने व्यक्तिलाई ‘त्यसो भए प्रहरीमा जाने नि’ भनेर सुझाव दिँदा उनले भने, ‘श्रीमतीले कुटी भनेर प्रहरीलाई भन्न कसरी जाने ? लाज हुन्छ ।’ कुरा गर्दै गएपछि थाहा भयो— उनी आफ्ना साथीले बदलामा श्रीमतीमाथि हात उठाउन नसकेका कारण दुःखी रहेछन् । उनका अनुसार, महिलाले धेरै पाएको अधिकारचाहिँ घरेलु हिंसाको कानुन रहेछ । श्रीमतीले आफूलाई कुट्दा हात फर्काए घरेलु हिंसा गरेको उजुरी हुने, आफैले उजुरी गर्न पितृसत्तात्मक अहम्ले नदिने ! ढाडभरि सुम्ला बोकेर हिँडिरहेको मान्छेले पितृसत्ताले थोपरिदिएको पुरुष अहम्का कारण ‘मलाई दुखेको छ’ भन्न पनि सक्दैन !

पितृसत्तामा महिला वा यौनिक अल्पसंख्यक जति बिचरा हुन्, त्यही मात्रामा नभए पनि पुरुषहरू पनि बिचरा हुन् भन्नेमा कसैको दुईमत छैन । समाजशास्त्रीहरू टिम, रोबेर्ट र केन्ट ‘सोसियलजी फर दी ट्वेन्टी फस्ट सेन्चुरी’ किताबमा लेख्छन्, ‘पितृसत्ताले बनाएको लैंगिक भूमिकाका कारण पुरुषमा आक्रामक, दमनकारी, बलियो, भावुकता नभएको र आर्थिक रूपमा सफल हुनुपर्ने बाध्यता थोपरिएका छन् । यसैका कारण पुरुषको आत्महत्या दर महिलाको भन्दा तीन गुणा बढी छ, ती महिलाभन्दा छ गुणा बढी अल्कोहलिक हुन्छन् र तिनलाई महिलालाई भन्दा धेरै बढी हार्ट अट्याक हुने गर्छ ।’

महिला र यौन अल्पसंख्यकको अधिकारको कुरा पुरुषको विरोध होइन, पितृसत्ताको विरोध हो भनेर धेरै पटक धेरै महिलावादीले भनिसकेका छन् । र, थप भनिरहेका छन्, ‘पितृसत्तात्मक सोचले महिला र यौनिक अल्पसंख्यकलाई मात्रै होइन, पुरुषहरूमाथि पनि हिंसा गरिरहेको छ । पुरुषलाई पनि मान्छे बन्न दिएको छैन ।’ तर, महिलालाई आममान्छे मान्न नसक्ने गरी पितृसत्ताले गाँजेका मानिसहरू (पुरुष, महिला दुवै) ले महिला पनि मान्छे हुन्, महिलाका विषय पनि अन्यझैं आम सरोकारका विषय हुन् भनेर स्वीकार गर्नै सकेका छैनन् । पुरुषले युगौंयुगसम्मको नाता भनेर विवाह गरेकी महिलालाई आफ्नी पार्टनर मान्न सक्दैन । काम गर्ने शारीरिक क्षमता नभए पनि ‘म अब घरमा कमाएर ल्याउन सक्दिनँ, बरु धेरै शारीरिक श्रम नचाहिने काम गर्छु’ भन्न पनि सक्दैन । अनि जब महिलाले आफ्ना बारेमा, आफ्ना अधिकारका बारेमा बोल्न थाल्छन्, धेरैलाई चिडचिडाहट हुन थाल्छ ।

महिलाको विषय नबुझी सुखै छैन
गएको एक वर्षमा काठमाडौंबाट निस्कने दैनिक पत्रिकाहरूका शनिबारे परिशिष्टांकहरूमा महिलाका मुद्दाहरूले पहिलाभन्दा बढी ठाउँ पाउन थालेका छन् । धेरैलाई मन पर्दै आएका त्यस्ता सामग्री केही नियमित पाठकलाई मन परेनछन् । दशकौंदेखि मूलधारको पत्रकारिता गरिरहेका एक पत्रकारले सामाजिक सञ्जालमा लेखे— ‘नेपाली लेखकसँग आफैले भोगेका कुराबाहेक लेख्ने सामग्री छैनन् ?’ उनको पोस्टमा अर्का लेखकले टिप्पणी गरे, ‘संस्मरण सबभन्दा सजिलो र कसैले सितिमिती खोट देखाउन नसक्ने विधा भएकाले यस्तो भएको हो ।’

यसरी समाजमा महिला मुखर भएको लेखन र साहित्यको धरोहर आफूले थामेको सोच्नेहरूलाई पच्दैन । ‘महिलाका विषयमा लेख्ने’ भनेपछि नाक खुम्च्याउनेको कमी छैन । तर महिला मुद्दा महिलाका मात्रै होइनन् । उदाहरणका लागि, भर्खरै त्रिविमा एक प्राध्यापकले महिला सहकर्मीलाई हात हाले र नाम उल्लेख नगरिकन गरिएको सामाजिक सञ्जालको पोस्टलाई लिएर उनले चारैतिर फोन गर्दै फलानीले ‘आरोप लगाएको मैलाई हो’ भन्न भ्याए । उनले ‘मलाई त यस्तो विषयमा थाहा थिएन’ भन्न पनि भ्याए । त्रिविको केन्द्रीय क्याम्पसमा समाज विज्ञान पढाइरहेको मानिसले महिला अधिकारबारे, समाजको वर्तमान ‘फेनोमेना’ बारे जानकारी नै छैन भन्नु कुन हदसम्मको गैरप्राज्ञिक कुरा हो ?

महिलाका विषय फगत महिलाका मात्रै होइनन् भनेर बुझ्न जरुरी छ । हिन्दु धर्मशास्त्रमा पाप र पुण्यबारे एउटा भनाइ छ, ‘आगोले आगो हो भन्ने जान्नेलाई पनि पोल्छ, नजान्नेलाई पनि पोल्छ ।’ मैले महिलाका विषयमा जानेको छैन, फलानीलाई त मैले काखमा हुर्काएको भन्दैमा उनीहरूमाथि जहिल्यै हक जमाउन मिल्दैन । हक जमाउन खोज्दा उनीहरूले कानुनी लडाइँ लड्न सक्छन् भन्ने हेक्का राख्नुपर्छ ।

अन्त्यमा,
नागरिकताको सवालबाहेक कानुन अहिले महिलाका पक्षमा छ । तर, कानुनका काला अक्षर व्यवहारमा रूपान्तरण हुन अझै सकेका छैनन् । महिलाले आफ्नै सामाजिकीकरणका कारण पनि कानुनी लडाइँ लड्न सकिरहेका छैनन् । अर्को कुरा, महिलालाई अब घरको चौघेरो र कार्यक्षेत्र दुवैतिर काम गर्नुपर्ने भएको छ । आफ्नो अधिकार अरूले लिएको पीडा महिलाले आगोजसरी बोकेर हिँडिरहेका छन् । बाहिर हेर्दा मुसुक्क हाँसिरहेका महिलातिर जब पितृसत्तावादी सोचको तीर सोझ्याइन्छ, त्यहाँबाट मुस्कान होइन, ज्वालामुखी निस्कनु स्वाभाविकै हो ।

प्रकाशित : पुस १४, २०७६ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×