‘माइतीघरमा के छ र मेरो !’

रत्यौलीमा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहार गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ ।
नारायणी देवकोटा

विवाहको दिन बेहुला अन्माएपछि बेहुलाको घरमा महिलाहरूले गर्ने रमाइलो (त्यो पनि विशेषगरी पुरुषहरूका लुगा लगाएर यौन–सम्बन्धका विषयमा व्यक्त गरिने प्रहसन) लाई रत्यौली भनी बुझ्ने गरिएको पाइन्छ । त्यसैले पनि मान्छे (पुरुष) हरूले रत्यौलीका गीत भन्नेबित्तिकै महिला–पुरुषका यौनजन्य क्रियाकलापसँग सम्बन्धित गीत भनेर व्याख्या गरिरहेको भेटिन्छ ।

‘माइतीघरमा के छ र मेरो !’

त्यसैले होला, सञ्चारमाध्यममा लोकगीतका कार्यक्रम सञ्चालन गर्ने पुरुष सञ्चालकले बेलाबेला लोकगीत संकलकलाई ‘रत्यौलीका जस्ता गीत’ संकलन गरेको टिप्पणी पनि गरिरहन्छन् । तर, साँच्चिकै रत्यौलीमा के–कस्ता गीत गाइन्छन् भन्ने धेरै पुरुष (जन्ती जान छुटेका केही पुरुषहरू अल्लि परबाट लुकेर हेर्ने वा किशोरहरू आमाको पछ्यौरा ओढेर सुन्ने चलन हुन्थ्यो) का लागि स्मार्ट फोन हात–हातमा आउनुअघिसम्म जानकारीबाहिरको कुरा थियो ।

त्यसअघिसम्म धेरै पुरुषको जानकारीमा आफ्ना लुगा कुनै महिलाले लगाएर नाचेकोसम्म रहन्थ्यो । किनभने ती लुगा राखिएको ठाउँमा नहुन सक्थे, कहिलेकाहीँ महिलाले जुँगा बनाउँदा प्रयोग गरेको कालो रङको दाग लुगामा लागेको हुन सक्थ्यो वा ठूलो शरीर भएका महिलाले लगाउँदा लुगा च्यातिएको हुन सक्थ्यो वा बेलुका श्रीमतीले ‘फलानीले त... गरेर नाची नि’ भनेर सुनाएको कुरा मात्रै पुरुषलाई जानकारी रहन्थ्यो । तर, रत्यौलीमा महिलाले गाइरहने आमा हुनुका दुःख, आफूबाट टाढाटाढा हुँदै गरेका छोराप्रति आमाका भावना, महिला हुनुकै दुःख, अर्काको घरमा गएकी बुहारीको भावना, बुहारीलाई फकाउने र सम्झाउने गीतहरू पुरुषको जानकारीबाट सधैं टाढा रहे ।

प्रायः घरका रत्यौलीमा सुरुमै प्रहसन हुँदैन । बेहुलालाई आमाले दूध खुवाएर अन्माएपछि महिलाहरू गीत गाउन बस्ने चलन हुन्छ । सुरुका केही गीत प्रायः सोही दिन बेहुलो भएको छोरा जन्माउँदा–हुर्काउँदा आमाले भोगेका दुःखसँग सम्बन्धित गेडाहरूले भरिएका हुन्छन् । ती गीत गाउन प्रायः वृद्ध महिलाले सुरु गर्छन् भने कतै बेहुला भएको युवाका दिदी–बहिनीले घरमा भाउजू भित्रिने खुसियालीमा गीत गाउँछन् । यसरी गाइने गीतमा वृद्धाहरूको भाका प्रायः यस्तो हुन्छ :

‘गयौ बाबु फूलमाला भिरेर दूधको भारा सारी (साडी) ले तिरेर’ यसरी गीत गाउन थाल्दा कतिपय आमा र धाईआमा (बच्चा जन्मने क्रममा सहयोग गरेकी महिला, सुँडेनी वा परिवारकै) ले भर्खरै बेहुलाले ढोग गरेर दिएको साडी घरभित्र लगेका पनि हुँदैनन् । उक्त भाकामा विभिन्न गेडा (टुक्का) हरू बनाएर गाइन्छ । उदाहरणका लागि बेहुलाकी आमाले कैयौं तीर्थ, व्रत, रुद्री, पुराण लगाएपछि वा धेरै बच्चा जन्मँदै–मर्दै गरेपछि वा छोरी–छोरीपछि वा सौतेनी ग्रह काटेपछि बेहुलो भएको पुरुष जन्मिएको, विभिन्न प्रकारका बिरामी वा दुर्घटनामा बाँचेको बारेमा गीतको गेडा निकाल्ने महिलालाई थाहा हुन्छ । युवा महिलाले खुसी भएर गाउने भाका यस्तो हुन्छ :
‘अब त बुहारी आउँछिन्
आमालाई बोकेर डुलाउँछिन्...’

‘आज त नाचौली गाउली, दाजु टाढा हुँदा पो चाल पाउली’ भन्दै अर्की महिलाले दोहोरो भाका निकाल्न सक्छन् । यसरी गाइने दोहोरीमा पहिलोले आउँदै गरेकी बेहुलीको गुनगान गर्छन् । उदाहरणका लागि यस्तो गेडा धेरैतिर गाउने चलन छ :

‘हाम्री भाउजू हिँडेको ठाउँमा
बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’

गाउन सुरु गरेका महिला बिस्तारै उठ्दै गएपछि वृद्ध महिलाले सुस्तरी भाका निकालेर गाउन थाल्छन् । भाका यस्तो हुन्छ :
घुम्दै आयो सासूको पालो
सबैभन्दा यही रैछ अप्ठेरो
यसै त नुगेको डाली
झन् नुग्यो चरीले टेकेर

भन्छु मैले अब त रुन्न
आँसुधारा बगेको थाहा हुन्न
जहाँ टेक्यो उहीँ पैरो जाने
को छ मेरो कटक्कै मन खाने

छोरो गयो बुहारी लिन अब
मलाई दुःख पर्दै छ दिनदिन
रुन्छ मन झ्याल–ढोका उघारी
कुरा लाउँछे छोरालाई बुहारी

बाबु तिमीले ल्याएको झोला मैले खोल्न होला कि नहोला ? यस्ता गेडामा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहारलाई गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ । पहाडका गाउँमा यसरी प्रहसन गर्नुअघि प्रहसन गर्ने महिलाले गाउँमा को–को पुरुष छन् भन्ने अड्कल काट्छन् । र, कुनै अग्लो ठाउँमा गएर ‘तिम्रो बारीमा गाई वा भैंसी पस्यो’ भन्ने जानकारी दिन्छन् । जानकारी दिइएको बारी वा खेत घरबाट कम्तीमा आउँदा–जाँदा टाढा पर्ने रोजिन्छ । यसो गर्नुको उद्देश्य हुन्छ— गाउँमा भएको पुरुषले आफूले गरेको प्रहसन नहेरोस् । प्रहसनमा यौनजन्य क्रियाकलापमा आधारित भएर नाटक गरिन्छ, छाडा भनिने शब्द जोडेर गेडा गाइन्छ र मुख्य प्रहसन गर्ने महिलाले पुरुषका लुगा लगाएर आफूलाई पुरुषजस्तो देखाउने कोसिस गर्छन् ।
प्रहसनपछाडिका भाकाहरू सासू र बुहारी दुवैलाई सम्झाउने गरी गाइन्छन् । र, गाउने महिला पनि घर–परिवारभन्दा अल्लि परका आमा समूहका सदस्य पनि हुने गर्छन्, जसमा राम्रा भाका गाएर पैसा झार्ने उद्देश्य हुन्छ ।

यही हो नानी जुग जाने घर
राम्रो गर सबैको मन पर
माईतीगाउँ कहिलेकाहीँ जाउली
कर्मगाउँ देखेर रमाउली

बुहारी नझार आँसु
आमालाई बिर्साउनेछन् सासू
बाबाको तीनतले घर
छोरीलाई के काम लाउँछ र ?

माइतीघरमा के छ र मेरो
खाइयो पानी छोडियो पँधेरो
बसे छोरी बाउको नाम धानेर
रूखो वचन अमृतै मानेर

यस्तो गाएर बुहारीलाई सम्झाउने कोसिस गरिन्छ भने सासूसाई सम्झाउन यस्तो गाइन्छ ः

छोरीलाई झैं गर्नू है पियार
वृद्ध हुँदा गर्छिन् सियार
धानमा लाउने पुतली मकैमा घुन
कहिल्यै पनि नपार्नू यो छोरीलाई रुन

सानो स्वरले बोले है जहिले नि
चर्को आवाज नगरे कहिल्यै नि
जस्ता गेडा निकालेर गाउने गरिन्छ ।

रत्यौलीका दुई पाटा हुन्छन्— दुःख, सुख, गुनासोका गीत र यौनिक क्रियाकलापलाई लिएर गरिने प्रहसन । गीत गाउने मान्छेबीच चिनजान मात्रै हुँदैन, उनीहरूका दुःख–सुखका पक्ष पनि एकअर्कालाई थाहा हुन्छ । रत्यौलीमा तत्कालै गीत बनाएर गाउने गरिएजस्तो देखिए पनि ती गीतले हाम्रो श्रुति–परम्परा लामो समयदेखि हाम्रो समाजमा विद्यमान थियो भन्ने देखाउँछ ।

प्रकाशित : माघ ११, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?