२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेलो हिँडेको बाटो

डम्फुको तालमा गाउने गीतलाई सेलो कसरी भनियो ? तामाङ समुदायमा केही मत छन् । एउटा मतअनुसार ‘स्याउ र लु’ बाट अपभ्रंस भएको हो । तामाङ भाषामा ‘स्याउ लु’ को अर्थ ‘नाचौं न’ हुन्छ । यही शब्द पछि सेलो बन्यो ।
फूलमान वल

उनी हुन् ताम्बा । पङ्खे तामाङ । मधुरो नै सही, अझै पनि गाउँघरतिर उनको स्वर सुरिलो नै सुनिन्छ । उनको स्वरसँग धूवाँले खाएको निख्खर कालो रङको डम्फुको ताल पनि जोडिएर बग्छ । पेङ दोर्जेको कथा जीवित हुन खोज्छ । सिंगो तामाङ सेलोको गीति परम्परा तंग्रिने प्रयास गर्छ ।

सेलो हिँडेको बाटो

गत मंसिर अन्तिम साता उनीसित भेट भयो गाउँमै । बहिनीको बिहेको रौनक चलिरहेको थियो । आँगनमा केही हूल तन्नेरी ‘गङ्नाम स्टाइल’ नाचिरहेका थिए । चोटामास्तिरबाट बिस्तारै झरे उनै पङ्खे आस्याङ । आँगनमा निस्केपछि उनले दायाँबायाँ हेरे, एकातिर बेहुला–बेहुली सजिएर बसेका थिए, अर्कोछेउ ‘गङ्नाम स्टाइल’ जारी थियो । ‘तिगा ताजी ताजी...’ (के भयो भयो), दलानमा लस्करै सजाइएको प्लास्टिकको कुर्सीमा थचक्क बसेपछि उनले लामो निःस्वास ताने ।

तामाङ संस्कृतिअनुसार यो विवाह समारोहका लागि उनी बेहुलीपट्टिको ताम्बा चुनिएका थिए । बेहुलाको पक्षबाट गाउँकै अर्का ताम्बा थिए— वीरबहादुर वाइबा । उनले पुलुक्क पङ्खे आस्याङलाई हेरे । मुखामुख गरे । दुवै जनाको अनुहारमा सन्नाटा छायो ।
खासमा यहाँ, यी दुई ताम्बाबीच जुहारी चल्नुपर्ने थियो । रिमठिम गीत घन्काउनुपर्ने थियो । दुवैले बेहुला–बेहुलीलाई कसम खुवाएर ‘चारदाम’ को रीत फुकाउनुपर्ने थियो— तर दुवैले आ–आफ्नो डम्फु झिक्नै सकेनन् । ‘गङ्नाम स्टाइल’ को भोल्युमले माहौललाई छोपिदियो ।

मयुङ (केटीको दाइ) भएको नाताले रीतबमोजिम सगुन मैले समातें । पङ्खे आस्याङले केटीको पक्षबाट र वीरबहादुरले केटाको पक्षबाट काइतेन (व्याख्यान) सुनाउन थाले । बेहुला–बेहुलीले रीतपूर्वक कसम खाए । जुनीभर सँगै जिउने वचन दिए । तर, यसपछि लगत्तै बज्नुपर्ने डम्फु भने बजेन । मैले पङ्खे आस्याङको अनुहार पुलुक्क नियालें । छटपटीले नै हुनुपर्छ, उनले एक गिलास आइराक (रक्सी) स्वाट्ट पारे । अनि मेरो कानैमा आएर फुस्फुसाए, ‘अब डम्फु सेलो हराउने भयो । गीत रेकर्ड गर्ने भए मात्रै म गाउँछु ।’
मैले सहमतिको टाउको हल्लाएँ । कोटको खल्तीबाट मोबाइल झिकें । पङ्खे आस्याङले बल्ल सुर समात्न थाले । वीरबहादुर आस्याङ पनि त तम्सिनै पर्‍यो—
आमैले होई आमैले
आमैले होई आमैले
ठिन्गी ङाप्ता आहिन ङा
दोन्गी दोप्ता आहिन ङा
दुवैले मातृ वन्दना गरेपछि मात्रै गीत पकडे । यसरी गाइने ताम्बा गीत तामाङ सेलोको मूल मानिन्छ । यही मुहानबाट बग्दै गएको लयले सेलोका थुप्रै भाका र विधा तय गरेको छ । सांस्कृतिक ज्ञान र दर्शनमा पोख्त भए पनि आफूलाई सानै ठानेर ‘ठिन्गी ङाप्ता आहिन ङा’ (साधनाले सिद्ध तान्त्रिक र विद्वान् हैन म), ‘दोन्गी दोप्ता आहिन ङा’ (पूरा ताम्बा पनि हैन म) भन्दै गाउन थाल्ने ताम्बा गीतको परम्परालाई पङ्खे र वीरबहादुर आस्याङले समात्न थालेपछि बल्ल हाम्रो आँगनको रौनक फेरियो ।

ताम्बाको पछिल्लो मनोविज्ञान झल्किने यो सन्दर्भ यहाँ उल्लेख गर्नुको खास कारण छन्— तामाङ समुदायको रैथाने संगीत परम्परा र यसमा जोडिएको ताम्बाको महत्त्व । ताम्बा अर्थात् ‘ताम (कुरा) गर्ने मान्छे ।’ इतिहास, संस्कृति र परम्पराको कथा भन्ने संस्कृतिविद् । कथावाचक । तामाङ समाजले दिएको सांस्कृतिक पदवी । रोचक के भने ताम्बाहरूले आख्यानको सोझो व्याख्यान मात्रै हैन, गीतबाटै कथा पनि सुनाउँछन् । बाजामार्फत इतिहास भन्छन् ।

ब्रह्माण्ड, पृथ्वी, मानव सभ्यता उत्पत्तिदेखि वंशावली र प्रेम प्रणयका सांस्कृतिक र दार्शनिक जरो खोतल्छन्, गीतबाटै । नाच्दै कथा भन्छन्, कथा भन्दै नाच्छन् । आजको तामाङ सेलोको मुख्य सांस्कृतिक आधार हुन् ताम्बा । तामाङ समुदायको बिहे, व्रतबन्ध र मृत्यु संस्कारमा ताम्बाले गर्ने थुप्रै अनिवार्य विधिहरू छन् ।

एउटा आदिम कथा
तामाङ सेलो भन्नेबित्तिकै डम्फु आइहाल्छ । डम्फु र तामाङ सेलोबिच नङ–मासुको सम्बन्ध छ । डम्फुले ताल सिर्जना नगरी सेलोको पहिचान नै हुँदैन । यस्तो हुन सक्छ— सम्भवतः पहिले ताल सिर्जना भयो । त्यसपछि लय । ताम्बाहरूले सुनाउँदै आएको एउटा आदिम कथाले यही भन्छ ।

कथाअनुसार, पेङ दोर्जे एक आदिमानव थिए । सिकार खेल्दै जाँदा उनले एक दिन घोरल मारेर घर लिएर आए । तर, मरेको घोरल देखेपछि पेङ दोर्जेको प्रेमिका निकै दुःखी भइन् । प्रेमिका दुःखी भएपछि पेङ दोर्जे खुसी हुने कुरै भएन । उनी पनि दुःखी भई वनजंगल चहार्न थाले । एक दिन झोक्रिरहेको बेला भाले डाँफेले आफ्नी पोथीलाई नाच्दै फकाइरहेको देखे । पेङदोर्जेको मस्तिष्कमा बत्ती बल्यो । उनी घर फर्के । घोरलको छाला घाममा सुकाए । कोइरालाको हाँगो र बाँस काटिल्याए । कोइरालाको काठबाट गोलो घेरो बनाए, त्यसैमा घोरलको छाला मोरेर बाँसको काँटी वरिपरि ठोके । डम्फु तयार भयो । पेङ दोर्जेले डम्फुमा तीनपटक हातले हिर्कार्एर हेरे । गजबको आवाजसहित ताल सिर्जना भयो । यसपछि गीत गाएर प्रेमिका फकाउन थाले । डम्फु बजाउँदै पेङदोर्जे फुरफुर नाचेको देखेपछि प्रेमिकाको मुखबाट हाँसो फुत्कियो । उनीहरूको प्रेम नवीकरण भयो ।

विवाह र व्रतबन्धको बेला ताम्बाहरूले डम्फु उत्पत्तिको यही कथा सुनाउँछन् गीतमै । यस हिसाबले पेङ दोर्जे डम्फुको सिर्जनाकर्ता मात्रै थिएनन्, कुनै अमुक समयको आदिगायक पनि थिए । सेलो संगीत सभ्यताको सुरुआतकर्ता थिए । आज उनी कतै पेमा दोर्जे त कतै ब्योन दोर्जेको नामबाट समेत चिनिन्छन् । जहाँ जस्तोसुकै रूपमा चिनिए पनि पेङदोर्जे अस्तित्वमा नआएको भए आजको यो डम्फु यही रूपमा हुने थिएन, सेलो यो लयमा गाइने थिएन । तामाङ संस्कारिक कार्यमा ताम्बाहरूले डम्फुको यो उत्पत्ति कथासँगै बह्माण्ड, पृथ्वी, सुमेरु पर्वत, मानव सभ्यता, चार दिशा चार कोण उत्पत्तिको कथा पनि सुनाउँछन् ।

सेलोका हाँगा
डम्फुको तालमा गाउने गीतलाई सेलो कसरी भनियो ? तामाङ समुदायमा केही मत छन् । एउटा मतअनुसार सेलो ‘स्याउ र लु’ बाट अपभ्रंस भएको हो । तामाङ भाषामा ‘स्याउ लु’ को अर्थ ‘नाचौं न’ हुन्छ । तामाङ विद्वान्हरूका अनुसार यही शब्द पछि सेलो बन्न गयो । खासमा तामाङहरू गीतलाई ‘व्हाई’ भन्छन् । पछिल्लो समयचाहिँ ‘व्हाई’ र ‘सेलो’ उस्तै उस्तै बन्न पुगेका छन् । यद्यपि पश्चिमी तामाङ सभ्यता (काठमाडौंदेखि पश्चिम भेक) मा ‘म्हेन्दोमाया’, ‘साइकोले’ जस्ता भिन्नै गीति परम्परा अस्तित्वमा छन् ।
सेलो आधारित थुप्रै मौलिक रैथाने व्हाई भेटिन्छन् तामाङ समुदायमा । विवाह, व्रतबन्ध, मृत्युसंस्कार र कृषिकर्म गर्दा गाउने गीतहरू फरक–फरक छन् । मृत्यु संस्कारको बेला गाउने प्रचलन पनि छ तामाङ समुदायमा । थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्छ । यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ ।

मूलतः सेलोका दुई धार छन्— ताम्बा व्हाई र फापरे । ताम्बा व्हाई संस्कारिक गीत हो भने फापरे प्रणयपरक । फापरे सेलोका पनि अनेक रैथाने संस्करण छन् । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, रामेछाप, काभ्रेदेखि सिन्धुली र मकवानपुरसम्मका तामाङ समुदायमा भिन्नाभिन्नै लयका फापरे गीतहरू छन् । मुख्यतः ताम्बा व्हाई र फापरे यी दुई धारको प्रभाव ग्रहण गरेर आजको आधुनिक सेलो जन्मिएको हो ।

तीन पेङदोर्जे
तामाङ समुदायभित्र प्रचलनमा रहे पनि सेलोलाई बाहिर ल्याउन विभिन्न कालखण्डमा विभिन्न साधकले योगदान गरेका छन् । यसमा सबैभन्दा पहिलो नाम आउँछ झ्याम्याङ लामा । विसं १९७६ मा काभ्रेको दाप्चामा जन्मिएका यिनले २०१३ तिरै रेडियो नेपालमा तामाङ सेलो गाएका थिए । पहिलोपटक मिडियामा तामाङ सेलो गाउने नयाँ समयका यी पेङ दोर्जेले विसं २०२२ मा ‘तामाङ डम्फाला काइतेन व्हाई’, २०३८ मा ‘रुइछेन च्याप्के ताम्बा काइतेन’ गीति पुस्तक र दुई दर्जनभन्दा बढी तामाङ रैथान गीत संकलन गरेका थिए ।

यसपछि रेडियो नेपालबाट अर्को पेङ दोर्जे जन्मिए— चन्द्रकुमार मोक्तान । तीसको दशकमा काभ्रे महाभारत क्षेत्रको भीमखोरीबाट भागेर काठमाडौं आइपुगेका यिनी रेडियो नेपालको ‘फूलबारी’ कार्यक्रममा तामाङ सेलो गायक भएर निस्किए । दर्जनौं गीत गाए, थुप्रै एल्बम निकाले । उनका क्यासेट चक्काहरूले चालीस र पचास दशकमा तामाङ समुदायमा ठूलो प्रभाव पार्‍यो । त्यतिबेलाका प्रायः उनका गीत ताम्बा काइतेनबाटै प्रभावित थिए ।

सेलोका आधुनिक पेङ दोर्जे हुन्— चन्द्रकुमार दोङ । काभ्रे तेमाल मेच्छेका यिनलाई तामाङ सेलो आधुनिकरणका सेतु मानिन्छन् । अहिले बजारमा नाम चलेका धेरै जना सेलो गायक यिनकै धारलाई पछ्याइरहेका छन् । उनलाई पछ्याउने क्रममा रैथाने संगीतको मर्म र विश्व संगीतको ट्रेन्डलाई सही तरिकाले नबुझेका केही गायकले यो धारलाई विकृत बनाउने कोसिस पनि गरिरहेका छन् । अहिले तामाङ समुदायमा यही आधुनिक धारको हालीमुहाली छ ।

मैंच्याङ होई मैंच्याङ
नेपाली सांगीतिक मूलधारमा सबैभन्दा बढी प्रभाव छोड्ने रैथाने संगीतको स्वाद विश्लेषण गर्ने हो भने तामाङ सेलो पहिलो पंक्तिमा आउनेछ । अहिले नेपाली सुगम, पप, रकदेखि रिमिक्ससम्मको विधामा सेलोको प्रभाव देखिन्छ । नारायण गोपालको ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ...’, गोपाल योञ्जनको ‘सानोमा सानो भन्दैमा...’, ‘मैंच्याङ होई मैंच्याङ...’ जयनन्द लामाको ‘कलकत्ते काइँयो...’ देखि नेपथ्यको ‘भेंडाको उनजस्तो...’, ‘मै मरि जाउँला, सिरानमा फोटो छ...’, संगीतकार आभास फुँयालको ‘हिउँ खोलाको पानी...’, आभासकै शब्द रहेको रामेशको ‘लेकका हामी केटाकेटी...’ सम्म सेलो आधारित हुन् । युट्युब मात्रै सर्च गर्ने हो भने पनि अहिले सयौं नेपाली सेलो गीत भेटिन्छन् ।

यो प्रभाव अहिले होइन, बीसको मध्यदशकबाटै सुरु भएको मानिन्छ । तीसको दशकमा यो प्रभाव बढी नै विस्तार भयो । गोपाल योञ्जन र जयनन्द लामा त तामाङ समुदायकै थिए, कुमार बस्नेत, नारायणगोपालदेखि शम्भुजित बाँस्कोटासम्मले यही समय सेलोको प्रभाव ग्रहण गरे । कुमार बस्नेत बढी ठेट लोक सेलोतिर ढल्किए, तीनताक उनले गाएको ‘आमैली आमैली ज्यान खैलाला...’ लगायतका सेलो गीत युनेस्को आरकाइभमा समेत सूचीकृत छन् । यसरी प्रभाव ग्रहण गर्ने नेपाली भाषाको सेलोमा अहिले ठेट र आधुनिक सेलो गरेर दुईवटा धार देखापरेका छन् । आधुनिकभित्र अरू उपधार पनि छन् ।

फैलिएको आयाम
यो आलेख तयार पारिरहेका बेला गायक रोज मोक्तान, रोशन फ्युबा र गायिका वैशाली लामा कोरियाका लागि आकाशमा उडिरहेका थिए । एक दिनअघि मात्रै अर्का सेलो गायक संजीव वाइबा, गायिका अञ्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा कतार अवतरण गरिसकेका छन् । तीन दिनअघि नै अस्ट्रेलियाको सिड्नी ओर्लिसकेका हुन्, गायिका निर्मला घिसिङ र गायक विश्व दोङ । रैथाने संगीतको धार समातेर आफ्नो समुदायमा स्थापित भएका यीलगायतका गायक/गायिका अबका तीन महिना व्यस्त हुनेछन्, ल्होछार कन्सर्टका लागि ।

मुलुकभित्र र बाहिर हुने कन्सर्टहरूले सेलोको आयामलाई फराकिलो पारिरहेको मान्न सकिन्छ । झन्डै डेढ देशकअघिदेखि यो परम्परा सुरु भएको हो, अहिले झ्यांगिएको छ । तामाङ कलाकार संघमा २ सयभन्दा बढी गायक/गायिकाको नाम सूचीकृत छ । वर्षमा १ सय ५० भन्दा बढी त नयाँ गीत रेकर्ड भइरहेका छन् । केहीबाहेक प्रायः सबैले आधुनिक धार समातिरहेका छन् ।

अब घरतिरै फर्कौं
ताम्बा पङ्खे आस्याङ त्यसै न्याउरिएका होइनन् । गाउँमा न्यु मिडिया र बजार एकैपटक पसेका छन् । रैथाने गीत र लय हराएका छन् । के–पप ‘गङनाम स्टाइल...’ को म्युजिक भिडियोमा घोडाको लगाम खिचेजस्तै उपभोक्तावादले सबैतिर लगाम खिचिरहेको छ । यसको ठूलो प्रभाव देखिन्छ सेलो संगीतमा । युट्युबमा पछिल्लोपटक अपलोड गरिएका गीतलाई आधार मान्ने हो भने अब तामाङ सेलोबाट डम्फु र टुङ्ना लगभग हराइसके । सबै जना सजिलोका लागि किबोर्डको सहयतामा लुप म्युजिक चलाइरहेका छन् । अध्ययन–अनुसन्धान र गहिरो ज्ञानका आधारमा भन्दा पनि ‘चर्चित हुन’ गायक–गायिका बन्ने होडबाजी चलिरहेको छ, जसले गर्दा सेलो भनिएका गीतहरू आफ्नो संगीत सभ्यताको घर त्याग्दै परदेश हिँडिरहेका छन् ।

हुन त, रैथाने वाद्ययन्त्रको प्रयोगबिना पनि सेलो हुन सक्छ, लय र तालको आधारमा । पश्चिमी र बाहिरिया अन्य वाद्ययन्त्रबाटै पनि डम्फु–टुङ्नाको ताल र धुन निकाल्न सकिन्छ । यो सुझबुझपूर्ण तरिकाले गरिने एउटा भिन्नै प्रयोग हो । रोचक के भने तामाङ समुदायमा पछिल्लोपटक ठाडो काँठे भाकाको प्रभाव पनि भित्रिएको छ, जसलाई एकथरी संगीतकर्मीले सेलो नै भनिरहेका छन् । तामाङ भाषाको काँठे दोहोरी गाउने परम्परा डेढ दशकअघि चन्द्रकुमार दोङले नै ‘चलन चल्तिरी...’ बाट सुरु गरेका थिए । अहिले यो धारका थुप्रै गीत भेटिन्छन् । यो धार समाउने पछिल्ला गायक हुन्, अशोक तामाङ । उनको ‘बोर्ला ङाई याम्बुरी... (लैजान्छु काठमाडौंमा) अहिले युट्युबमा चर्चित छ ।

तीन साताअघि गायिका निर्मला घिसिङ र सुसन लामाको नयाँ गीत ‘च्याङबाको दरबन्दी...’ रिलिज हुँदै गर्दा तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा गम्भीर देखिए । ‘तामाङ रैथाने संगीतमा अब बहस जरुरी छ’, उनले भने । मैलेचाहिँ पङ्खे आस्याङको अनुहार सम्झें । सायद सेलोले पनि अब घर फर्किनुपर्छ । चर्चित अंग्रेजी रक ब्यान्ड बिटल्सले उहिल्यै गाएकै हो, ‘गेट ब्याक जोजो, व्होयर यु वान्स बिलोङ्ग्ड... ।’

प्रकाशित : माघ ११, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?