सामूहिक धुन

नेपाल खाल्डोमा मनाइने नेवाः जातिका जात्रापर्व वर्षमा ३६५ भन्दा बढी नै होलान् । ती सबै संगीतबिना पूर्ण हुँदैनन् ।
सुरेश किरण

संगीतलाई निकालिदिने हो भने नेवाः समुदायको जीवनको सुरसमेत खलबलिने खतरा हुन्छ । संगीतलाई यसरी जीवनसँगै जोडेर अनुष्ठान गर्ने जाति नेपालमा मात्र होइन, संसारमै विरलै होलान् ।

सामूहिक धुन

नेवाः संगीतलाई दुई विधामा विभक्त गरी विश्लेषण गर्न सकिन्छ– लोकगीत, दाफा भजन । लोकगीत गाउने समय र प्रहर तोकिएकै हुन्छ । नेवाः लोकगीतहरू ऋतुअनुसार, पर्व, संस्कृति संस्कारअनुसार गाउने गरिन्छ । नेपाल खाल्डोमा नेवाः जातिका अनगन्ती जात्रापर्वहरू छन् । वर्षमा जम्मा ३६५ दिन हुन्छन् । तर यहाँ मनाइने जात्रापर्व गणना गर्ने हो भने ३६५ भन्दा बढी नै होलान् । ती सबै जात्रा पर्वहरू संगीतबिना पूर्ण हुन सक्दैनन् ।

नेवाः समाजमा व्यक्तिगत रूपमा मनाइने संस्कारहरूसमेत बाजागाजासहित सम्पन्न गर्ने परम्परा रहिआएको छ । नेवाः संगीतका ज्ञाता एवं जनगायक रामकृष्ण दुवालका अनुसार नेवाः समाजमा कुनै महिला गर्भवती भइन् भने त्यसको समेत बाजा बजाई संस्कार गर्नुपर्ने चलन छ । त्यसपछि जन्मिएको बच्चाको किशोरावस्थामा कय्तापूजा, युवावस्थामा विवाह र वृद्धावस्थामा जंक्व (भीमरथारोहण) गर्दा मात्र बाजा बजाउने होइन मृत्यु हुँदा शवयात्रासमेत बाजा बजाएरै चलाउनुपर्ने चलन विद्यमान छ ।

यी अवसरहरूमा बजाइने बाजाले नै त्यहाँ कुन संस्कार सम्पन्न हुँदै छ भन्ने जानकारी दिन्छ । दुवाल भन्छन्, “जंगबहादुर बेलायत भ्रमणमा जाँदा उनलाई सलामी अर्पण गर्न ‘राजमति कुमति...’ लाई राष्ट्रिय गानको रूपमा प्रस्तुत गरिएको थियो ।” ‘राजमति..’ नेपालभाषाको अत्यन्त लोकप्रिय लोकगीत हो । यो गीत कति शक्तिशाली थियो भन्ने कुरा जंगबहादुरको यो प्रसंगले पनि बताउँछ । त्यस्तै अर्को लोकगीत ‘जि वया ला लछि मदुनि....’ बाट प्रभावित भएरै महाकवि लक्ष्मीप्रसाद देवकाटाले ‘मुनामदन’ लेखेका थिए । दुवालले नै २०४२ सालतिर ‘सिरसाःया ह्यकु...’ भन्ने अति पुरानो लोकगीत सार्वजनिक गरेका थिए । यो पनि कति शक्तिशाली छ त भन्दा ४०० वर्ष पुरानो यो गीत बज्दा आज पनि साना नानीहरू समेत कम्मर मर्काउन सुरु गरिहाल्छन् ।

नेवाः संगीतभित्र पर्व र अवसरमा मात्र होइन, एकै दिनमा विभिन्न प्रहरमा फरक–फरक गीत गाउने परम्परा छ । नेपाल खाल्डोका नेवार जातिमा अधिकांश कृषक रहेका कारण कृषि कार्यको विभिन्न चरणमा विभिन्न गीत गाउने चलन छ । खासगरी जेठमा मनाइने सिथि नखःदेखि साउनमा मनाइने गठेमंगल पर्वसम्म बाजा बजाउने वा सिकाउने काम गर्नु हुँदैन भन्ने मान्यता छ । यो भनेको विशुद्ध धान रोप्ने समय हो ।

नेवाः संगीतको अर्को मौलिकता हो– दाफा भजन । देवीदेवी–स्तुतीमा गाइने भजन नेवाः समाजमा दाफा नामले बुझिन्छ । प्रामाणिक इतिहासअनुसार, पनि ४५० वर्षअघि नै नेवाः समाजमा दाफा भजन गाउने चलन सुरु भइसकेको देखिन्छ । तत्कालीन राजा महिन्द्र मल्लले रचना गरेको एउटा भजन प्राप्त भएको छ जसको बोल हो, ‘कपटिया मायान केन्य हे रामा’ (कपटीको मायामा परेँ हे राम) । यो गीत विभाष राग र प्रताल तालमा गाउने भनेर गीतको माथि नै उल्लेख गरिएको छ । यो भजनलाई नै नेपालभाषाको पहिलो काव्यको रूपमा लिइएको छ । र, यसैको आधारमा महिन्द्र मल्ललाई नेपालभाषाको पहिलो आदिकवि मान्नुपर्छ भन्ने तर्क पनि गरिन्छ । यति पुरानो यो भजन पनि केही वर्षअघिसम्म गाउने चलन रहेको दुवाल बताउँछन् । उनी भन्छन्, ‘तीन–चार शताब्दी पुरानो कुनै पनि गीत आजको मितिसम्म यसरी गाएरै सुरक्षित गरिएको दुनियाँमा कहीं छैन, नेवाः समाजमा मात्रै छ ।’

सयौँ वर्ष पुरानो गीत यसरी आजसम्म जीवित रहनुको कारण अनौठो छ । यी दाफा भजनहरू एक पुस्ताले गाएको सुनेरै अर्को पुस्ताले सिक्ने हो । समूहमा गाउँदै–सिक्दै नै यो गीत–संगीत आजसम्म जीवित छ । समूहमा बसेर मौखिक रूपमै गीत सिकाउनु र सिक्नु पनि दाफा भजनको खास विशेषता हो भने यो नै यसको कमजोरी पनि हो । काठमाडौं चस्वाँद्वँ टोलका दाफा गुरु त्रिरत्न मानन्धरका अनुसार, दाफा भजनमा गीत र संगीत त छ तर त्यो सिक्ने–सिकाउने कुनै व्याकरण छैन, जसले गर्दा दाफा भजन विस्तार हुन पाएन । यो भजन सिकाउने कुनै सांगीतिक विधि, नोटेसन छैन । यो विभिन्न ताल र रागमा गाउनुपर्ने हुन्छ । तर, गायकहरूलाई त्यो ताल र रागको कुनै ज्ञान भने हुँदैन । त्यसैले यसमा सुधार नभएको मानन्धर बताउँछन् ।

दाफा भजन सुरु हुँदा नेपालमा हार्मोनियम, बाँसुरीजस्ता सुरवाद्यको चलनै थिएन । यो विशेषगरी खिं र ताः नामक परम्परागत वाद्यवादन मात्रै बजाएर गाउने गरिन्छ । ‘सुरवाद्य नभएको कारण गीत गाउँदा गाउँदै अब यसपछि कुन सुरमा जाने भनेर थाहा पाउन गाह्रो हुन्छ । त्यो समस्या हटाउन गीतको बीचबीचमा ‘हाँदे’ भन्ने एउटा शब्द प्रयोग गरिएको हुन्छ । समूह–नाइकेले ‘हाँदे’ शब्दलाई जुन सुरमा गाउँछ बाँकीले पनि त्यही सुरमा गाउँछन्,’ मानन्धर भन्छन् । दाफा देवीदेवताको गुणगान गरिएको रचना हो । तर, यो केवल भक्तिभाव र मनोरञ्जनका लागि मात्र गाइने गीत होइन ।

काठमाडौं खिचापोखरीस्थित पुखुद्यां टोलका गुरु शेषनारायण महर्जनका अनुसार, काठमाडौंमा ज्यापू समुदायको परम्परागत ३२ टोल छन् । हरेक टोलले १२ वर्षमा एकपटक सबै पुरुष ज्यापूहरूलाई विशेष तालिम दिने गर्छ, जसलाई ‘ओलाः छ्वयेगु’ भनिन्छ । यो संस्कार सम्पन्न गरेपछि मात्रै त्यस व्यक्तिलाई सम्बन्धित ज्यापू टोलको सदस्यका रूपमा स्वीकारिन्छ । त्यतिबेला उसले सिक्नैपर्ने विभिन्न कलामध्ये संगीत एक हो । दाफा र धिमे नसिकी उनीहरू ‘असली ज्यापू’ बन्नै सक्दैनन् ।

महर्जन अनुसार, ज्यापू टोल भन्नाले त्यहाँ एउटा सांगठनिक संरचना हुन्छ । टोलमा नायो, कजी र गुरु एक–एक जना अनिवार्य हुन्छ । नायोको काम हो– टोलको प्रशासनिक कार्य हेर्नु । कजीले व्यवस्थापन हेर्छ । गुरुको कामचाहिँ टोलका जम्मै ज्यापू सदस्यलाई बाजा सिकाउनु र बाजासम्बन्धी सम्पूर्ण कार्य सम्पादन गर्नु हुन्छ । उनै गुरुको मातहत धिमे, धाः, खिं, बाँसुरी आदि बाजाका लागि छुट्टाछुट्टै गुरुको व्यवस्था गरिएको हुन्छ ।

दाफा केवल बाजा होइन । यो एउटा संगठन हो । ज्यापू महागुथि नेपाःका केन्द्रीय अध्यक्ष राजभाइ जकःमिका अनुसार, दाफाको लागि एउटा संस्था अनिवार्य छ । लोकगीतका लागि संस्था अनिवार्य छैन । त्यो चाडपर्व, कृषिकार्य, ऋतु आदिका बेला जसले जहाँसुकै गाउन सक्छ । तर, दाफा त्यसरी गाइँदैन । यो डबली, पाटी, सत्तल वा मन्दिरअगाडि मात्रै गाइन्छ । उपत्यकाका नेवार समुदाय पछिल्लो समय विभिन्न कारणले रैथाने टोल छोडेर टाढा बसोबास गर्न पुगेका छन् । यसको असर उक्त टोलमा आयोजना हुने सामूहिक सांस्कृतिक पर्वहरूमा पर्न थालेको छ ।

ज्यापूलगायत अन्य समुदायमा दाफा, धिमे रहेजस्तै वज्राचार्य समुदायमा रहेको चचा गीत नेवाः संगीतको अर्को महत्त्वपूर्ण सम्पदा हो । खासगरी वज्रयानी परम्परामा प्रचलित चचा गीतमा गीत मात्र हुँदैन, यो नृत्यसँग पनि जोडिएको हुन्छ । यो गीत गाउँदा वाद्यवादनका रूपमा एउटै मात्र बाजा बजाइन्छ, त्यो हो– ताः (एक खालको सानो बाक्लो झ्याम्टो) । चचा गीत र नृत्य वज्रयानी बौद्ध परम्परामा प्रचलित गोप्य धार्मिक अनुष्ठान हो । तथापि अहिले यसका धेरै पाटा सार्वजनिक भइसकेका छन् भने अझ धेरै गोप्य नै छन् । काठमाडौंमा प्राचीनकालमै वज्रयानी अभ्यास सुरु भइसकेकाले चचा गीतलाई पनि १५०० वर्षभन्दा पुरानो मानिन्छ । यो गीतमा नेपालभाषाका भन्दा पनि संस्कृतलगायत पुरानो हिन्दी, बंगाली, उडिया र मैथिली शब्दहरू रहेकाले यसबारे बेग्लै अनुसन्धान चाहिन्छ ।

नेपालभाषाका लोकगीत हुन् वा दाफा अथवा चचा, यी सबै गीत–संगीत समूहमा बसेर सुनेरै मात्र सिक्नुपर्ने भएकाले यसलाई संगीतसम्बन्धी कुनै पनि शिक्षण संस्थाले स्थान दिएको पाइँदैन । नेपालमै पनि संगीत सिकाउँदा उत्तर भारतीय संगीत सिकाइन्छ, नेपालकै मौलिक संगीत सिकाइँदैन । चस्वाँद्वँ टोलका गुरु त्रिरत्न मानन्धर नेवाः संगीतलाई नेपालको संगीत शिक्षामा समावेश गर्नुपर्ने विचार राख्छन् । यसका लागि नेवाः संगीतलाई पुरानो श्रवण परम्पराबाट माथि उठाई प्राज्ञिक तहमा पुर्‍याउन उनी सुझाउँछन् ।

प्रकाशित : माघ ११, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?