१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मुन्दुम : लयको महासागर

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि ।
भोगीराज चाम्लिङ

सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’ हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् ।

मुन्दुम : लयको महासागर

किन किराती समुदाय संगीतमा यसरी अगाडि आइरहेको छ ? संगीत क्षेत्रमा किन उनीहरूको उपस्थिति बाक्लो छ ? यसका थुप्रै कारण होलान् तर एउटा हो— किराती समुदाय मुन्दुम परम्परामा हुर्किएको हुनाले संगीतसँग उनीहरूको जन्मजात लगाब ।
किरात राई मात्र नभएर सिङ्गै किराती समाजमा संस्कार गर्दाका बखत नछुङ (धामी) र रिसिमीहरूले मुन्दुम गायन गर्छन् । हजारौं वर्षदेखि उनीहरूको जीवनको अभिन्न पक्ष भएर अहिलेसम्म निरन्तर छ मुन्दुम गायन । त्यसकारण मुन्दुमको लय सुन्दै हुर्किएका किरातीहरू गीत–संगीतमा आएनन् भनेचाहिँ आश्चर्यको कुरा हुन्छ । उनीहरू साहित्यमा, अभिनयमा, ललितकला इत्यादिमा आएनन् भनेचाहिँ आश्चर्य हुन्छ । उनीहरूले नयाँ सिद्धान्त निर्माणको कुरा गरेनन् भनेचाहिँ आश्चर्य हुन्छ ।

मेरो विचारमा किराती संगीतलाई दुई भागमा विभाजन गर्न सकिन्छ— मुन्दुमी र लोकगीत । मुन्दुम समग्र किरातीहरूमा प्रचलित आदिम संस्कारगीत हो । किराती लोकगीत–संगीतको बीउ मुन्दुम नै हो । यसका थुप्रैमध्ये चार मौलिक विशेषता निम्न बुँदामा समेट्न सकिन्छ : एक, नछुङ (धामी) अथवा संस्कार गर्ने व्यक्ति मात्र मुन्दुमको गायक हुन्छ । आम सर्वसाधारणले मुन्दुम गाउनु हुँदैन, हानि गर्छ भन्ने मान्यता छ । तर, धामीहरू किराती समाजका मुन्दुमी गायक मात्र होइनन्, आदिम समाजले विकास गरेको बौद्धिक पनि हुन् । उनीहरू गायक पनि हुन्, व्याख्याता पनि हुन् ।

दुई, मुन्दुम गायनको लयमा विविधता छ । २०६८ सालदेखि मुन्दुम संकलन र अध्ययन गर्दाको मेरो अनुभवले भन्छ, मुन्दुम गायन गर्ने लयमा विविधता मात्रै होइन, ज्यादै धेरै विविधता छ । जति छन् धामीहरू, त्यतिथरी नै छ लय पनि । त्यसैले गीत–संगीतको आँखाबाट हेर्दा मुन्दुम भनेको लयको महासागर हो । मुन्दुमी लयको विविधता एक धामी र अर्को धामी अथवा एक रिसिमी र अर्को रिसिमीबीच मात्रै छैन, एउटा संस्कार र अर्को संस्कारबीच पनि छ । त्यही धामीले एउटा संस्कार गर्दा एउटा लयमा मुन्दुम गायन गर्छ, त्यही धामीले अर्को संस्कार गर्दा अर्को लयमा मुन्दुम गायन गर्छ । किरात राई समुदायभित्र मात्र चार–पाँच सय हाराहारीमा मुन्दुम गायन गर्ने धामी र रिसिमीहरू होलान् । भन्नुको अर्थ अहिलेसम्म पनि चार–पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन नेपाली समाज र संगीतका लागि ।

अर्को महत्त्वपूर्ण कुरा, धामीहरूले चिन्ता बस्दा सबैभन्दा पहिला एउटा आवाज निकाल्छन्— सुइऽऽऽ । यो अर्थबिनाको ध्वनि मात्र हो । तर, मलाई लागेको चाहिँ के भने यो आदिम ध्वनि हो जुन सिकार खेल्दा अथवा सामूहिक संकेत गर्नुपर्दा प्रयोग हुन्थ्यो । अहिले पनि सिकारी र फिरन्ते जीवनमै रहेका राउटेहरूले सिकार गर्नुपर्दा यस्ता सांकेतिक ध्वनि निकाल्ने गरेको पाइन्छ जो । यसरी हेर्दा मुन्दुम भनेको सिकारी युगका ध्वनिदेखि कृषियुगसम्मका शब्द–संगीतको मौखिक संग्रह हो ।

मान्छेहरूले यसरी गाउन सक्ने भएको कहिलेदेखि होला ? वैज्ञानिकहरूका अनुसार हाम्रो नाक चुच्चो भएर माथि उठेको १५ लाख वर्ष भयो । भन्नुको अर्थ गाउनका लागि चाहिने श्वासप्रश्वास प्रणालीको विकास १५ लाख वर्षपहिले भयो । त्यो बेला हाम्रा पुर्खाहरूले गीत गाए कि गाएनन्, त्यो आफ्नो ठाउँमा छ तर गायनका लागि अनुकूल शारीरिक विकास भने १५ लाख वर्ष पुरानो हो । आवाज र बोलीको विकास गर्नु मानवजातिका लागि धेरै ठूलो उपलब्धि थियो (द ओरिजिन अफ म्युजिक, सम्पादक निल्स डब्ल्यू वालिन, बिजोर्न मर्कर एन्ड स्टेभन ब्राउन) जसको उपज हो अहिलेको मानवजातिको सवर्तोमुखी उच्चत्तम विकास ।

मानवशास्त्रीहरू के अनुमान गर्छन् भने मान्छेले लगभग ४ लाख वर्षपहिले अथवा अझ अगाडि नै प्रारम्भिक स्वरूपको संगीतको विकास गरे । चार–पाँच लाख वर्षपहिले नै मानव पुर्खाहरूको मस्तिष्कको आकार बढिसकेको थियो र त्योसँगै संवेगात्मक क्षमता पनि विकास भएको थियो । सम्भवतः त्यसबखत मान्छेले शारीरिक हाउभाउ मात्र होइन, आफ्नो भावना अभिव्यक्त गर्न आवाजको पनि प्रयोग गर्न थालेको थियो (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । संगीतको विकास लाखौं वर्ष र हजारौं पुस्ताको सिर्जनात्मक देन हो । सामूहिक श्रमको उपज हो । किनभने, आदिम समयमा संगीत मनोरञ्जनभन्दा आवश्यकता थियो ।

कामलाई अझ बढी उत्पादनशील बनाउन पुर्खाहरूले धुनको विकास गरेका थिए (मार्क्सवाद र संगीत, अनुवाद निनु चापागाई, २०६७) । त्यो पछि गएर समाज र संस्कार–संस्कृतिको अभिन्न अंग बन्न पुग्यो जसको प्रत्यक्ष साक्ष्य हो मुन्दुम । तीन, मुन्दुमी संगीत संस्कारसँग अभिन्न रूपमा सम्बद्ध रहेको छ । जन्मदेखि मृत्युसम्म हरेक संस्कार र संस्कृतिमा नछुङ (धामी) हरूले मुन्दुम गाउने गर्छन् । संस्कारसँग नजोडिएको भए सायद मुन्दुमी संगीत बाँकी रहने थिएन । फेरि मुन्दुम नजोडिएको भए संस्कार पनि जीवन्त हुने थिएन ।

चार, मुन्दुम गायन गर्दा एकै खालको मात्र धुन निस्कने बाजा प्रयोग हुन्छ । मुन्दुम गाउँदा प्रयोग हुने बाजा भनेको मूलतः ढोल, थाल, झ्याम्टा र घण्टी हो । जसरी सारंगीको तार रेट्दा थरीथरी धुन पैदा हुन्छ, मुन्दुम गायन गर्दा बजाइने यी बाजाबाट त्यस्तो विविध धुन पैदा हुँदैन । यी बाजाका लयका आधारमा धामी या आम किरातीहरूले नृत्य गर्ने गर्छन् जसलाई सिली टिप्नु, सिली गर्नु भनिन्छ । त्यस्तै गरेर पात बजाउने प्रचलन पनि किरात राई जातिमा ज्यादै धेरै छ । रूखका चिल्लो पात ओठमा च्यापेर निकालिने धुनले किरात राई बस्तीका रनवन घन्किरहेको हुन्छ । सम्भवतः सिकारी जीवनमा छँदाको बखत प्रयोग सुरु भएको आदिम बाजा हुनुपर्छ पात ।

पुरातत्त्वविद्हरू अनुमान गर्छन् कि हातको ताली नै पहिलो बाजा हो । त्यस्तै लाठी जुधाएर आउने आवाज, ढुंगा बजाएर आउने आवाज नै प्रारम्भिक बाजा र संगीतका ध्वनि हुन् । त्यसपछि मानवले प्रयोग गरेको संगीतको साधन भनेको पशुपन्छीहरूको हाड हो । सायद त्यसैको झल्को आजकलका धामीहरूले चलाउने सामग्रीमा देख्न सकिन्छ । उनीहरूले पशुपन्छीका हाड आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने गर्छन् । चिन्ताहरू गर्दा उनीहरूले यस्तो हाड थानमा राख्ने गर्छन् र कतिपय संस्कारमा बजाउने पनि गर्छन् । त्यस्तै अर्नाको सिङ पनि किरात राई धामीहरूले प्रयोग गर्ने अर्को बाजा हो जसले प्राग्ऐतिहासिक समयको झल्को गराउँछ ।

उत्तर अमेरिकाका सिकारी जीवन बिताइरहेका एउटा जातिको अध्ययनले के देखाएको छ भने उनीहरूका बाजाबाट एक प्रकारको मात्र आवाज आउने गर्छ जसमा ठोक्दा बज्ने ढोल, घर्षण गर्दा बज्ने बाजा अनि गोरुको सिङजस्तो बाजाहरू पाइएका छन् । उनीहरूको ढोल छालाले मोहरेर बनाइएको हुन्छ । काठका लठ्ठीहरू जुधाएर आवाज निकालिन्छ । किरातीहरूले अहिले प्रयोग गर्ने बाजाहरू पनि यस्तै छन् । उनीहरू संस्कार गर्दा, सामाजिक नृत्यहरू गर्दा, युद्धका नृत्य गर्दा संगीत बजाउने गर्छन् । उनीहरूका शब्दभन्दा ध्वनि मात्र निकाल्छन् । र, त्यस्तै सांकेतिक नृत्य गर्छन् । जस्तो कि किरात राईहरूको साकेला र लिम्बूहरूको केलाङ नृत्य । समाजका सबैभन्दा जान्ने मान्छेले गीत गाउँछ अथवा जसले गीत गाउँछ उसलाई सबैभन्दा धेरै ज्ञानी मानिन्छ ।

जस्तो कि किराती धामीहरू । उनीहरूले गीतमा आफ्नो अलिखित इतिहास, सामाजिक नियमका कुराहरू गर्छन् । आत्मिक कुरा, आफ्नो थातथलो र प्रकृतिप्रेमका कुराहरू गर्छन् । बिरामी निको पार्ने, रोग हटाउने कुराहरू गर्छन् । जस्तो कि किराती मुन्दुम । यो सानो तुलनाले पनि किरातीहरूको मुन्दुमको लय र बाजाहरूको आदिमता आकलन गर्न सकिन्छ ।

आजसम्म मानवजातिले विकास गरेको संगीतबारे अध्ययन गरेका विद्वान् विलियम एल बेन्जोन समग्र संगीतलाई तीन चरणमा विभाजन गरेर हेर्छन् । उनी के भन्छन् भने प्रथम चरणको संगीतमा ताल या लयमा नियन्त्रण गरेर धुन निकालिन्थ्यो । यो भनेको भाषाको विकास भएको लगभग एक लाख वर्षदेखि लेखनकलाको विकास नभएसम्मको अवधि थियो । सायद यही अवधिको बाजा हो अहिले प्रचलित किराती धामीको ढोल ।

दोस्रो चरण थियो रागमा आधारित संगीतको । यो भनेको लेखनकला र सहरको विकास अनि कृषि गरेर स्थायी बसोबास गरिसकेपछिको अवधिको संगीत हो । यो अवधिमा विकास गरिएका किराती बाजाहरू हुन् थाल, झ्याम्टा र घण्टी । अनि तेस्रो चरणचाहिँ औद्योगिक क्रान्तिपछिको अवधि हो जुन ताल र रागलाई एकताबद्ध गरेर विकास भयो (‘स्टेजेज इन द इभोलुसन अफ म्युजिक’, सन् १९९३) ।

मुन्दुमचाहिँ ताल या लयमा नियन्त्रण गरेर गायन गरिने प्रथम चरणको संस्कारगीत हो । यसमा रागको कुरा हुँदैन । बरु यसमा दस हजार वर्षअघि खेतीपाती सुरु भएको कागुनी प्रजातिका अन्नहरूको सन्दर्भ खुबै आउँछ । आत्मवाद र पितृपूजाको कुरा महत्त्वपूर्ण विषयका रूपमा आउँछ । आदिम मानवहरूले विकास गरेको चिन्तन ‘एनिमिजम’ (जीवात्मवाद) को कुरा एकदमै धेरै आउँछ । जुन कुराका आधारमा मुन्दुम र मुन्दुमको लय आदिम हो भन्न सकिन्छ ।

एनिमिजम अर्थात् जीवात्मवादी अवधारणाले पशुपन्छी र प्रकृतिलाई पनि मानवीकरण गर्छ अर्थात् मानवस्व रूपमा परिकल्पना गर्छ । चराचुरुंगीहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । पशुहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । यसप्रकारका अनेकौं मुन्दुमी मिथक छन् । जस्तो कि सुम्निमा (नाइमा) का लागि केटा खोज्न जाने लमी चरा थियो । सुम्निमा (नाइमा) गर्भवती हुने बखत पानी खोज्न जाने चराहरू नै थिए । किरात राईहरूले खुबै श्रद्धा गर्ने मातृहरू तयामा र खियामा पनि चरा नै थिए । अन्य पशुप्राणीसँग सम्बन्धित यस्ता मिथकहरू पनि थुप्रै पाइन्छन् तर मुन्दुममा संगीतसँग सम्बन्धित मिथक चराको मात्र पाइन्छ ।
मुन्दुमी मिथकअनुसार आदिम समयमा मान्छे होइन चराहरू धामी थिए । त्यो चराधामीलाई अहिले पनि मुन्दुममा ‘मबुमी कुपुमी’ भनेर पुकार गरिन्छ । खस–नेपाली भाषामा यो भनेको काफलपाक्यो चरा हो ।

मुन्दुमअनुसार त्यही मबुमी कुपुमी (काफलपाक्यो) चराबाट सिकेर मानवहरू धामी बनेका हुन् । र, प्रथम मानवधामी हर्कबुङ थियो । किरात राईहरू हर्कबुङका सन्तान मानिन्छन् । चराहरूलाई प्रथम धामी मान्नुको अर्थ हो— चराहरूबाट गायन कला अनुकरण गर्नु । गायन मात्रै होइन, बाजाका तालहरू पनि चराबाट सिकेको कुरा मुन्दुममा आउँछ । धामीले घरपरिवारको शान्तिसुरक्षा अथवा मृतात्मालाई बाटो लगाउने चिन्ता गर्दा ढोलको एउटा ताल बजाइन्छ जसलाई धोबी ताल भनिन्छ । धोबी चरा भुइँमा जसरी उफ्रिन्छ, कुद्छ त्यही चालको अनुकरण गरेर बजाइने ताल हो धोबी ताल । यसरी किराती गायन र वाद्यवादन दुवै चराबाट धेरै हदसम्म प्रभावित भएको मुन्दुमी मिथकबाट थाहा हुन्छ । पुरातात्विक अध्ययनहरूले पनि यो कुरा तथ्ययुक्त रहेको देखाउँछ ।

आजसम्मको अध्ययनको कुरा गर्दा मानवले प्रयोग गरेको सबैभन्दा पुरानो बाजा ४० हजार वर्ष पुरानो बताइएको छ । र, त्यो बाजा बाँसुरी हो । र, त्यो बाँसुरी चराको नलीहाडबाट बनेको छ जुन जर्मनीमा उत्खननका क्रममा प्राप्त भएको हो । ती बाँसुरी गिद्ध र हाँसका हाडबाट बनाइएका हुन् (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । यस्तै चराकै हाडबाट बनाइएको बाँसुरी जर्मनीकै गेइसेनक्लोस्टेर्ल गुफा र फ्रान्सको इस्तुरिज गुफामा पनि फेला परेको छ जुन ३२ हजार वर्ष पुरानो मानिन्छ (रिचार्ड जी क्लेन एन्ड ब्लेक एडगर, द डन अफ् ह्युमन कल्चर, सन् २००२) ।

बाजाहरूमध्ये सबैभन्दा बढी पाइएको चराका हाडहरूकै हो । पुरातत्त्वविद्हरूले चराबाहेक बाह्रसिंगेको अगाडिको खुट्टाको नलीहाडलगायत पशुहरूका हाडबाट बनेका बाजाहरू पनि फेला पारेका छन्, तर तुलानात्मक रूपमा कम । सायद प्वाल पारेर बाँसुरी बनाउने कलाको विकास गर्नुभन्दा पहिले प्वाल नपारिएका हाड बजाइन्थ्यो जुन किराती धामीहरूले अहिले पनि आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गरिरहेका छन् । चराकै हाडबाट बाँसुरी किन ? सायद यो प्रश्नको जवाफ मुन्दुमले केही हदसम्म दिएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?