सारंगी विरह

सांगीतिक गतिविधिमा छिरिसकेको सारंगी अब गन्धर्वको मात्रै रहेन । त्यहाँ अरू नै जातिका मानिसको बाहुल्य छ । आफ्नो जातिको सीप, कला र अधिकार ठान्ने गन्धर्वहरू भने सारंगीबाट टाढिँदै गएका छन् ।
दुर्गालाल केसी

त्यतिबेला गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही थिएनन् । मनोरञ्जन र सञ्चारका कुनै पनि साधन नभएको बेला भरपर्दो आधार गन्धर्वहरू नै थिए ।

सारंगी विरह

एक ठाउँको खबर अर्को ठाउँ पुर्‍याउन गन्धर्वलाई नै कुर्नपर्थ्यो । गाउँदागाउँदै देशका विभिन्न भागमा पुग्ने भएकाले मानिसहरू आफन्तलाई खबर पठाउँदा गन्धर्वकै सहारा लिन्थे । छोराछोरीको विवाह गराउँदा दुवैतिर कुरा पुर्‍याइदिएर लमीको काम पनि गन्धर्वले नै गर्थे । यस्तो महत्त्वपूर्ण काम गर्ने गन्धर्वहरूको सारंगीले अहिले महत्त्व पाउन छाडेको छ । सांगीतिक गतिविधिमा नभई नहुने सारंगी अब गन्धर्वको मात्रै रहेन । त्यहाँ अरू नै जातिका मानिसहरूको बाहुल्य छ ।


आफ्नो जातिको सीप, कला र अधिकार ठान्ने गन्धर्वहरू भने सारंगीबाट टाढिँदै गएका छन् । सारंगी धुनमा गीत गाउँदै हिँड्ने गन्धर्व अब पुरानो पेसाबाट थकित भएका छन् । यस क्षेत्रका गन्धर्वको पुर्ख्यौली थलो सल्यान हो । पहिले उनीहरू सल्यानबाट दाङ आएर गीत गाउँथे र मानापाथी उठाउँथे । औलोको डर भएकाले लामो समय दाङ बसिरहन सक्दैनथे । जब औलोको प्रभाव कम भयो, २०२४ सालपछि गन्धर्वहरूको बसोबास हुन थाल्यो । ‘ठाउँठाउँमा खानेकुरा उठाउँदै हिँड्थ्यौं । बेलुकापख कतै बास बस्थ्यौं । थारूसँग माटाका हाँडी मागेर पकाएर खान्थ्यौं,’ घोराही उपमहानगरपालिका ११ नयाँ बस्तीका ५९ वर्षीय काला गन्धर्वले भने, ‘हामीसँग भाँडाकुँडा पनि हुँदैनथे । कतै बिष्टकै बारीको छेउमा बसिन्थ्यो ।

कतै रूख र बाँसको झ्याङमुनि बसिन्थ्यो ।’ अहिले पनि उनी ५८ वर्षीया श्रीमती मुसीलाई साथमै लिएर गाउँ पस्छन् । पहिलेजस्तो सबैको घरमा जाँदैनन्, चिने–चिनेको घरमा मात्रै पुग्छन् । जति कठिनाइ भए पनि उनीहरूले सारंगी मोह छोडेका छैनन् । अधिकांश युवा पुस्ता सारंगीबाट टाढिँदै गैरहेको बेला उनका छोराहरू हेमराज, मिलन र विराजले भने सारंगी छोडेका छैनन् । उनीहरू काठमाडौंमा सारंगी बजाएर जीविका चलाइरहेका छन् ।

नयाँ बस्तीकै ४७ वर्षीय राजु गन्धर्वले बुबा तिलकको पछि लागेर सारंगी बजाउन सिके । ‘सानोमा बाले हात समाएर हिँडाउँथे । ठूलो हुँदै गएपछि बिष्टले दिएको खानेकुरा बोकेर हिँड्थें,’ उनले भने, ‘त्यतिबेला बिष्टहरूले धेरै मान गर्थे । गन्धर्व घरमा आए हुन्थ्यो भन्थे तर अहिले त्यस्तो खोजी हुँदैन ।’ त्यतिबेला खबर अर्को ठाउँमा पठाउने मुख्य साधन नै गन्धर्व थिए । कसैको छोरी विवाह भएर टाढा गएका हुन्थे । भेटघाट, सम्पर्क हुने अवस्था थिएन । उनले भने, ‘मेरो छोरीको यस्तो ठाउँमा विवाह भएको छ । अवस्था के कस्तो छ, खबर ल्याइदिनु भन्थे । हामी त्यहाँ पुगेपछि यताको खबर सुनाइदिन्थ्यौं, उताको खबर यता ल्याइदिन्थ्यौं ।’

तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका ५७ वर्षीय टेकबहादुर गन्धर्व सारंगी बजाउँदै रोल्पाको थबाङ, दैलेख, सुर्खेत, काठमाडौंका साथै भारतका विभिन्न सहरमा पुगेका छन् । उनले जीवनमा तीन खालको समाज देखेका छन् । ‘सुरुमा साह्रै सम्मान थियो, बीचमा छुवाछूत बढी भयो र अहिले फेरि आदर सम्मान गर्न थालेका छन्,’ उनले भने । अहिले हरेकजसो सांगीतिक समूहमा सारंगी छ । दोहोरी साँझमा सारंगी बज्छ तर गन्धर्वभन्दा अन्य समुदायले नै बजाइरहेको छ । ‘अहिले गन्धर्वलाई नखोजेको किन हेला ?’ उनी भन्छन्, ‘अरूले सारंगी बजाए पनि यसको खास मर्म गन्धर्वलाई मात्र थाहा हुन्छ ।’

नयाँ पुस्ताले जीविकोपार्जनका लागि अन्य पेसामा विकल्पहरू खोज्न थालेकाले सारंगीमाथिको निर्भरता घट्दै गएको गन्धर्व र सारंगीको संगीतका विषयमा विद्यावारिधि गरेका डा. लोचन रिजाल बताउँछन् । ‘हामीले उनीहरूका सीप र कलालाई सदुपयोग गर्न सकेनौं । आधुनिक प्रविधिले सारंगीलाई छायामा पारेको छ,’ उनले भने, ‘पहिले अन्य कुनै पनि प्रविधि थिएन । सूचना र मनोरञ्जनको माध्यम गन्धर्व मात्रै थिए । अब त्यो अवस्था रहेन ।’

मागीखाने भाँडो
सारंगी मागीखाने भाँडोका रूपमा बदनाम भएको रक्षाचौरका ५२ वर्षीय रामबहादुर गन्धर्वको अनुभव छ । ‘कसैले वचन लगाउँछन् । मागीखान किन हिँडेको भन्छन् । सारंगी बोकेर हिँड्यो भने माग्ने भनेर बुझ्छन्,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई चोट पुगेको छ । अपमान दिने सारंगी किन बोक्ने भन्ने भएको छ ।’ सशस्त्र द्वन्द्वको समयमा पनि गन्धर्वहरूले ठूलो पीडा भोगेको उनले बताए । मागेर हिँड्नुपर्ने, विद्रोही माओवादी र सरकारी सुरक्षाकर्मीले भेष बदलेर सीआईडीको रूपमा हिँडेको भनेर दुःख दिन्थे । ‘तर हामीले आफ्नो काम इमानदारीसाथ गर्‍यौं । कसैको प्रभावमा परेनौं । युद्धमा सबै जाति लागे तर गन्धर्व कतै पनि लागेको देखिएन,’ उनले भने, ‘यो जातिले सारंगीबाहेक अरू केही हतियार बोकेन तर यो हतियारले हाम्रो जातिको इज्जत बचाउन सकेन ।’

सारंगी कसले बचाउने ?
सारंगी बनाउने र बजाउने दुवै खालका मानिसहरूको अभाव हुन थालेको छ । एक गाउँमा एक/दुई जना मानिस मात्रै सारंगी बनाउन जान्छन् । बनाउनेहरूले पनि उचित मूल्य पाउँदैनन् । ‘अब सारंगी बनाउने मान्छे नै पाइँदैन । बजाउनेहरू पनि घट्दै गएका छन्,’ नयाँ बस्तीका ४९ वर्षीय डाइबर गन्धर्वले भने, ‘एउटा सारंगी बनाउन तीन दिन लाग्छ । त्यसमा प्रयोग भएको सामान र मिहिनेतको
मूल्य उठ्दैन ।’

नयाँ बस्तीकै ५६ वर्षीय पदम गन्धर्व पनि सारंगी बनाउँछन् । भनेजस्तो बिक्री नभएपछि उनी पनि काममा त्यति हौसिन सकेका छैनन् । सारंगी उत्पादन बढाउने उद्देश्यले नयाँ बस्तीका ५० वर्षीय गणेश गन्धर्वले एउटा समूह नै बनाएका छन् । २४ जना सदस्य रहेको गन्धर्व सारंगी उत्पादन समूहले सारंगी बनाउन र बजाउन सिकाउने लक्ष्य लिएको छ । आफ्ना सन्तानलाई पनि सारंगी बजाउन सिकाइरहेको उनले बताए । ‘अब हामी सचेत नहुने हो भने सारंगी र गन्धर्वको इतिहास नै मेटिने अबस्था आइसक्यो,’ उनले भने, ‘बूढापाकाको मृत्युसँगै सारंगी पनि मर्दै गएको छ । अब पनि बचाउन नसके हाम्रो अस्तित्व संकटमा छ ।’

खमारीको काठबाट सारंगी बनाउने गरिएको छ । सारंगी बजाउन बाँसको धनुकी बनाइन्छ । त्यसमा घोडाको पुच्छर जोडेर रेट्न मिल्ने बनाइन्छ । सल्लाको फल खोटो घोडाको पुच्छरमा घोटेर राम्रो धुन आउने बनाइन्छ । सारंगीको फेदतिर बाख्राको छाला लगाइन्छ । सारंगीमा ब्याडमिन्टनमा प्रयोग हुने डोरी लगाएर रेटिन्छ । एउटा सारंगीमा सामान र मिहिनेत जोडेर ४ हजार ५ सय रुपैयाँसम्मको लगानी पर्ने गरेको गणेशले बताए । ‘तर बजारमा मिहिनेत उठ्ने मूल्यमा बिक्री हुँदैन । बजाउन नजान्नेलाई सारंगी कस्तो भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘यसको मूल्य उठ्ने हो भने गन्धर्वहरू सारंगी बनाउन लाग्थे । त्यसपछि बजाउन पनि ध्यान दिन्थे ।’

प्रकाशित : माघ ११, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?