‘मेरो देश कुन हो ?’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मेरो देश कुन हो ?’

टिप्पणी
अभय श्रेष्ठ

यो ‘खोल्देऊ’ कथा पढ्दा संवेदनशील जो कोही पाठकलाई आँसु थाम्न मुस्किल पर्छ । छ्यांगै नखोलिएकोले यस कथाको अन्त्यको व्याख्या पाठकपिच्छे अलग अलग हुन सक्छ ।

शब्दमा वर्णन नगरी त्यो दृश्यले सकिनाको जिन्दगीमा के विपत् आइलागेको थियो भन्नेचाहिँ प्रस्ट पार्छ । त्यसकै लागि अश्लीलताको आरोपमा कथाकारले अदालतमा बयान दिनुपर्‍यो । तर, कथा अश्लील थिएन, बरु विपत्मा परेका युवतीको अस्मिता हरण गर्ने अश्लील समाजप्रति तिखो व्यंग्य थियो । हो, कथाकारले एक ठाउँमा केटी बेहोस भएर रेलको लिकनजिक बेहोस अवस्थामा भेटिएकी उल्लेख गरेका छन् ।

स्ट्रेचरमा रहेको उसको शरीरलाई चाहिँ लास भनेका छन् । यसले प्रश्न उठ्छ, सकिना जिउँदै थिई कि मृत ? मृत हो भने डाक्टरले उसको बाबुलाई झ्यालतिर संकेत गर्दै ‘खोल्देऊ’ भन्दा उसले कसरी सलवार खोलिदिई ? ज्युँदै थिई भने नाडी छामेर डाक्टरले किन ज्युँदो भएको संकेत गरेन ? प्रश्नजस्तो उठे पनि अन्तिम दृश्यले बलात्कृत युवतीको अन्तरमा लुकेको असीम भयलाई छताछुल्ल पार्छ ।


सआदत हसन मन्टो (१९१२ मे ११– १९५५ जनवरी १८) मुसलमान समुदायका त्यस्ता महान् कथाकार हुन्, जसका लागि मुसलमान वा हिन्दु होइन, ‘मान्छेले मानवीय उच्च गरिमासाथ बाँच्न पाउने हक’ सबैभन्दा महत्त्वपूर्ण थियो । कथामार्फत सदैव उनले यसैको पक्षधरता देखाए । खासगरी भारत विभाजनपछि त्यहाँका बासिन्दाले भोग्नुपरेको, विपत्ति, हिंसा र भयको मनोविज्ञानलाई उनले जीवन्त चित्रण गरे ।

परम्परावादी समाजले भारत स्वतन्त्रताअघि उनका तीन कथा ‘धुवाँ,’ ‘बु’ र ‘काली सलवार’ तथा भारत विभाजनपछि पाकिस्तानमा अन्य तीन कथा ‘ठन्डा गोस्त’, ‘खोल दो’ र ‘उपर निचे दरमियान’ लाई अश्लीलता प्रयोग गरेको आरोपमा मुद्दा लगायो । उनले अदालतमा प्रस्टीकरण दिनुपर्‍यो । एकपल्ट त जरिवानै तिर्नुपर्‍यो । अश्लीलताको आरोपमाथि उनको प्रस्टीकरण सधैँ एउटै हुन्थ्यो, ‘लेखकले तब मात्र कलम चलाउँछ जब उसको संवेदना घाइते हुन्छ । म अश्लील लेखक होइन, कथा लेखक हुँ ।’


समाजले कहिल्यै महत्त्व नदिएका दलित, उत्पीडित र सीमान्तकृत समुदायको दुःख, पीडा र बाध्यतालाई मन्टोका कथाले इमानदारीपूर्वक प्रकट गर्छन् । उनी तिनको मनस्थितिका अनुद्घाटित सत्य उद्घाटन गर्छन् जहाँ ठूला मनोवैज्ञानिक पनि पुग्न सकेका हुँदैनन् । ती खासमा मान्छेलाई बाँच्ने कला सिकाउने कथा हुन् । उनका अधिकांश मुख्य पात्र यातना भोगेका र विपत्मा परेका मान्छे हुन् । भौतिक स्थिति कमजोर भए पनि ती आफ्ना मानवीय आकांक्षाका बलमा कट्टरपन्थविरुद्ध अन्तिम क्षणसम्म लडिरहन्छन् ।


पन्जाबको लुधियानामा जन्मेका मन्टो सन् १९३६ मा एउटा फिल्मी पत्रिका सम्पादन गर्न बम्बई पुगेका थिए । त्यसैबेला उनले इम्पेरियल फिल्म कम्पनीका लागि पटकथा र संवाद लेख्न थाले । त्यो समय मन्टोका जिन्दगीका सबैभन्दा सुनौला दिनहरू थिए । त्यसै बेला उनका सबैजसो कथा र निबन्धका किताबहरू छापिए । सन् १९४७ अगस्ट १४, रातको १२ बजे भारत विभाजन भयो । पूरै देशमा भागदौड मच्चियो । जताततै हिन्दु र मुसलमानबीच काटामार चल्यो । उनका पत्नी र बच्चाहरू परिवारका अन्य सदस्यसँगै पाकिस्तान गए । कुनै पनि हालतमा बम्बई छाड्दिनँ भनी मन्टो जिद्दी कसेर बसिरहे ।

त्यसताक उनी बम्बे टाकिजमा काम गर्थे । कट्टरपन्थी हिन्दु समुदायले बम्बे टाकिजको मालिकलाई ‘सबै मुसलमान कर्मचारीलाई निकाल्नू, अन्यथा सारा सम्पत्ति नष्ट भएको आफ्नै आँखाले हेर्न तयार हुनू’ भनी धम्की दिए ।

मन्टोमाथि यो आदेशको असर अत्यन्त घातक भयो । उनी भत्किएको सपना र घाइते मन लिएर लाहोर गए । बम्बईमा आखिरी दिनहरूको सम्झना गर्दै उनले लेखेका छन्, ‘भारत र पाकिस्तानमध्ये मेरो देश कुन हो ? यो तय गर्नु मेरा लागि असम्भव छ । बडो निर्दयतापूर्वक जसरी रगतको खोलो बगाइँदै छ, त्यसका लागि को जिम्मेवार छ ?’ त्यही पीडाले उनी अत्यधिक रक्सी पिउन थाले ।

अहमद नदिम कासमीको शब्दमा कहानीका यी पागल जादुगरलाई अन्ततः कलेजोको क्यान्सर भयो र चेखब वा मोपासाँजस्तै ४३ वर्षको अल्पायुमा उनको मृत्यु भयो । जीवन जति छोटो भए पनि ‘टोबा टेकसिंह’, ‘ठन्डा गोस्त’, ‘दो गड्ढे’, ‘गुरमुखसिंह की वसियत’, ‘खोल दो’, ‘नंगी आवाज’, ‘सुरमा’, ‘टिटवालका कुत्ता’ लगायत आफ्ना कालजयी कथामार्फत उनी अमर छन् ।

प्रकाशित : माघ ४, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

खोल्देऊ

सआदत हसन मन्टो

अमृतसरबाट दोस्रो प्रहर दुई बजे स्पेसल रेल हिँड्यो । आठ घण्टापछि मुगलपुरा पुग्यो । बाटोमै कैयन् व्यक्ति मारिए । कैयन् घाइते भए । केही व्यक्ति यताउता भड्किए ।

बिहान दस बजे क्याम्पको चिसो भुइँमा सराजुद्दिनले आँखा खोल्दा चारैतिर लोग्नेमान्छे, आइमाई र बालबच्चाको उर्लंदो समुद्र देख्यो । उसको सोच्ने र बुझ्ने बाँकी थोरै क्षमताले पनि धोका दियो । ऊ अबेरसम्म धूमिल आकाशतिर एकटक लगाएर हेरिरहृयो ।


क्याम्पमा कोलाहाल थियो, तर कान बन्द भएझैँ बुढो सराजुद्दिन केही सुनिरहेको थिएन । कसैले उसलाई हेरेको भए गहिरो निद्रामै रहेको अनुमान लगाउन सक्थ्यो । तर, होइन । उसको होस गायब थियो । उसको सारा अस्तित्व कतै शून्यमा अड्किएको थियो ।


धूमिल आकाशतिर कुनै उद्देश्यबिना हेर्दा उसका आँखा घामसँग ठोकिए । घामको तेजिलो प्रकाश अस्तित्वको नसा नसामा फैलियो । ऊ उठ्यो । दिमागमा कैयन् दृश्य ओहोरदोहोर गर्न थाले । आगलागी, भागदौड, स्टेसन, गोलीको सर्सराहट, रात र सकिना । सराजुद्दिन जुरुक्क उठ्यो र पागलजस्तै चारैतिर फैलिएको मानव समुद्र नियाल्न थाल्यो ।
पूरा तीन घन्टा उसले सकिना, सकिना भनेर चिच्याउँदै क्याम्पलाई चक्कर लगायो । तर उसकी एक्ली तरुनी छोरीको पत्ता लागेन । चारैतिर मानौँ धाँदली मच्चिएको थियो । कोही आफ्नो बच्चा, कोही आमा, कोही पत्नी र कोही छोरीलाई खोजिरहेका थिए । सराजुद्दिन पराजित मुद्रामा एक ठाउँमा बस्यो । दिमागमा जोड लगाएर सकिना आफूबाट कहिले र कहाँ छुटेकी थिई भनी सम्झन खोज्यो । सोच्दा सोच्दै उसको दिमाग सकिनाकी आमाको लासको दृश्यमा अड्किन्थ्यो जसका आन्द्राभुँडी बाहिर निस्केको थियो । त्यसअगाडि ऊ केही सोच्न सक्दैनथ्यो ।


सकिनाकी आमा मरिसकेकी थिई । सराजुद्दिनकै अगाडि उसले प्राण त्यागेकी थिई । तर, सकिना कहाँ छे ? प्राण छाड्ने बेला पनि उसले सराजुद्दिनलाई भनेकी थिई, ‘मलाई छाडिदेऊ । बरु सकिनालाई लिएर यहाँबाट जतिसक्दो चाँडै भाग ।’ सकिना बाबुसँगै थिई । दुवै जना नांगै खुट्टा दौडिरहेका थिए । सकिनाको सल खसेको थियो । त्यो टिप्न ऊ एकछिन रोकिन खोजेको थियो । सकिनाले चिच्याउँदै भनेकी थिई, ‘अब्बा, छाडिदिनुस् ।’ तर उसले सल टिपेको थियो ।


यस्तो सोच्दै उसले आफ्नो कोटको उक्सेको खल्तीतिर हेर्‍यो । अनि त्यहाँबाट एउटा कपडा निकाल्यो । त्यो सकिनाको सल थियो । कठै, उसकी प्यारी छोरी कहाँ थिई ? सराजुद्दिनले थकित दिमागमा जोड लगाएर सम्झन खोज्यो । तर कुनै नतिजामा पुग्न सकेन । के उसले सकिनालाई आफूसँगै स्टेसनसम्म ल्याएको थियो ? के ऊ पनि सँगै गाडीमा बसेकी थिई ? बीच बाटोमा गाडी रोकिँदा हुल्याहाहरू भित्र पसेका थिए । के ऊ बेहोस भएको थियो र त्यसै बेला तिनले सकिनालाई उठाएर लगेका थिए ?


सराजुद्दिनको दिमागमा सवालै सवाल थियो । जबाफ एउटै थिएन । उसलाई सहानुभूति चाहिएको थियो । चारैतिर जति पनि मानिसहरू भौँतारिएका थिए, सबको हालत उस्तै थियो । सराजुद्दिन रुन चाहन्थ्यो । रुन पनि उसका आँखा उसलाई सहायता गरिरहेका थिएनन् । हरे, आँसु कहाँ गायब भएको थियो, कुन्नि !


छैटौँ दिन होस सामान्य स्थितिमा फर्केपछि सराजुद्दिनको भेट ती व्यक्तिसँग भयो, जो उसलाई मदत गर्न तयार थिए । आठजना स्वयंसेवी नवयुवा थिए । तिनका हातमा लाठी र बन्दुक थिए । सराजुद्दिनले तिनलाई अनेक आशीर्वाद दियो र सकिनाको हुलिया बताइदियो, ‘गोरी.. र असाध्यै राम्री छे । मेरो होइन, उसकी आमाको गोता गएकी छ । उमेर करिब सत्र वर्ष । आँखा ठूला ठूला । कपाल गाढा कालो । दाहिने गालामा ठूलो कोठी । मेरी एक्ली छोरी हो । खोजेर ल्याइदेऊ बाबु हो, ईश्वरले तिमीहरूको भलो गर्छन् ।’


स्वयंसेवी युवकले बुढा सराजुद्दिनलाई उसकी छोरी जिउँदै भए केही दिनमै फिर्ता ल्याइदिने दरो आश्वासन दिए । आठै जनाले सक्दो कोसिस गरे । ज्यान हत्केलामा राखेर उनीहरू अमृतसर गए । कैयन् पुरुष र बच्चालाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइदिए । दस दिन बित्यो । सकिनालाई कतै भेटेनन् ।


एक दिन यस्तै सेवाको काममा लरीमा अमृतसर जाँदै थिए । छरहटानजिकै सडकमा एउटी केटी देखिई । लरीको आवाज सुनेर ऊ तर्सी र दौडन थाली । स्वयंसेवकहरूले मोटर रोके । सबै जना उसलाई पिछा गर्न थाले । खेतमा उनीहरूले केटीलाई पक्रिए । उसको दाहिने गालामा ठूलो कोठी थियो । एउटा केटोले भन्यो, ‘डराउनु पर्दैन । तिम्रो नाम सकिना हो ?’


डरले केटीको अनुहारको रङ पहेलो भयो । उसले जबाफ दिइनँ । केटाहरूले भरलाग्दो आश्वासन दिएपछि ऊ ढुक्क भई । उसले आफू सराजुद्दिनकी छोरी सकिना भएको स्वीकार गरी । हरेक युवकले केटीको मन बहलाउन सक्दो उपाय गरे । उसलाई खाना खुवाए, दूध पिलाए र लरी चढाए । एउटाले आफ्नो कोट फुकालेर दियो किनभने सल नहुँदा उसलाई एकदमै अप्ठेरो भइरहेको थियो । बारम्बार ऊ हातले छाती ढाक्ने प्रयास गरिरहेकी थिई ।


कैयन् दिन बिते । सराजुद्दिनले सकिनाको कुनै खबर पाएन । ऊ दिनभरि विभिन्न क्याम्प र कार्यालयको चक्कर लगाउँथ्यो । तैपनि कतैबाट उसकी छोरीको पत्तो लागेन । राति ऊ ढिलोसम्म ती स्वयंसेवी युवकको सफलताका लागि प्रार्थना गर्थ्यो, जसले उसलाई सकिना जिउँदो रहेकी भए केही दिनमै फिर्ता ल्याइदिने आश्वासन दिएका थिए ।
एक दिन उसले क्याम्पमा ती नवयुवा स्वयंसेवीलाई देख्यो । उनीहरू लरीमै थिए । सराजुद्दिन दौडँदै तिनीहरूको नजिक पुग्यो । लरी हिँड्नै लागेको थियो । उसले सोध्यो, ‘बाबु हो, मेरी छोरीको पत्ता लाग्यो कि ?’


सबैले एउटै स्वरमा भने, ‘पत्ता लाग्छ, पत्ता लाग्छ । धन्ना नमान्नुस् बुढा बा !’ यति भन्दै तिनले लरी चलाए । सराजुद्दिनले एक चोटि फेरि ती नवयुवाको सफलताका लागि प्रार्थना गर्‍यो । उसको मन अलिकति हलुका भयो ।
साँझपख सराजुद्दिन बसेको क्याम्पमा केही गडबड भयो । चार जना कसैलाई बोकेर आइरहेका थिए । सोधुपुछ गर्दा थाहा भयो, एउटी केटी रेलको लिक नजिकै बेहोस अवस्थामा भेटिएकी थिई । मानिसहरूले उसलाई बोकेर ल्याए । सराजुद्दिन उनीहरूको पछाडि लाग्यो । तिनले केटीलाई अस्पताल पुर्‍याइदिए र फर्किए ।


केही बेर सराजुद्दिन अस्पतालबाहिर बिजुलीको काठे खम्बामा आड लागेर उभियो । अनि बिस्तारै भित्र छिर्‍यो । क्याबिनमा कोही थिएन । एउटा स्ट्रेचरमा लास पसारिएको थियो । सराजुद्दिन हलुका पाइला चाल्दै त्यसतर्फ गयो । कोठामा एक्कासि बत्ती बल्यो । सराजुद्दिनले लासको चम्किलो गालामाथि कालो कोठी देख्यो । एक्कासि ऊ चिच्यायो, ‘सकिना !’


क्याबिनमा बत्ती बाल्ने डाक्टरले सराजुद्दिनलाई हकार्‍यो, ‘के हो ?’ सराजुद्दिनको घाँटीबाट मुस्किलले यति निस्कियो, ‘डाक्टर साप, म यो केटीको बाबु हुँ ।’ डाक्टरले स्ट्रेचरमा पसारिएको लासको नाडी छाम्यो । अनि झ्यालतिर संकेत गर्दै सराजुद्दिनलाई भन्यो, ‘खोल्देऊ !’ एक्कासि सकिनाको लासमा ज्यान फर्किएझैँ भयो । प्राणविहीन हातले उसले बिस्तारै आफ्नो इँजारको सुर्कनी खोली र कम्मरबाट सलवार सरक्क तल सारिदिई । ‘मेरी छोरी जिउँदै छे, मेरी छोरी मरेकी छैन’, असीम खुसीले चिच्याउँदै बुढो सराजुद्दिन चिच्यायो । डाक्टर शिरदेखि पैतालासम्मै पसिनाले लछप्पै भिज्यो ।

प्रकाशित : माघ ४, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×