केही प्रश्न केटाहरूलाई

अमृता अनमोल

अफिसबाट फर्किंदै थिएँ । साथी निर्मलाले चिया पिउन निम्ता गरी । नजिकैको चियापसल पुग्दा एक जना अपरिचित अनुहार पनि थियो त्यहाँ । उसको बाल्यकालको साथी रे ! मलाई देख्नासाथ ऊ मुस्कुरायो । निकै परिचित जसरी हात चरप्प छोप्यो ।

ZenTravel

र, मुसार्दै बिस्तारै छोड्यो । पहिलो भेटमै ? म छक्क परें । गोलो टेबलको वरिपरि बसेर चिया पिउँदासम्म उसका आँखा मबाट अन्त गएनन् । नशालु आँखा अनुहार, छाती र शरीरमा डुलाइरह्यो उसले । मानौं भोको बाघ सिकारको खोजीमा थियो । त्यस्तो सिकार म थिएँ । टेबुलमुनि उसका खुट्टा मेरै खुट्टा छुने गरी पसारिएका थिए । म तर्कंदै जान्थें । ऊ लहसिँदै जान्थ्यो । बिस्तारै दुवै हात टेबुलमाथि राखेर क्वारक्वारी हेर्न थाल्यो । मैले असुरक्षित– अपमानित महसुस गरें ।


मेरो स्त्रीत्व उर्लियो । जुरुक्क उठेर चड्याम्म गालामा बजार्न मन लाग्यो । तर, सकिनँ । साथीको मुख हेरेर सम्हालिएँ । चार सुर्कोमै चिया पिएँ अनि जुरुक्क उठें । साथीले बस्न भन्दै थिई । मचाहिँ ‘काम छ’ भनेर बाहिरिएँ । ऊ हेरेको हेर्‍यै भयो । घर आइनपुग्दै मोबाइलमा म्यासेज आयो । ‘तिमीलाई भेटेर सारै खुसी लाग्यो । निकै मायालु रहिछ्यौ,’ लेखिएको थियो, ‘फेरिफेरि भेटेर चिया खाऊँ है ।’ मैले हत्तपत्त उसको म्यासेज डिलिट गरें । त्यत्तिले मन मानेन । नम्बरै डिलिट गरें । त्यसपछि कम्तीमा उसका दुई दर्जनपटक फोन आए । ‘हामी साथी बनौं’ं भन्ने म्यासेज धेरै आए । मैले सबै म्यासेज र कल डिटेल लिएर प्रहरीमा जाने धम्की दिएँ । त्यसपछि ऊ साइड लाग्यो । तनाव सकियो ।

Meroghar


पहिलो भेटमै उसका तुच्छ हर्कतले केटा साथीप्रतिको मेरो विश्वास डगमगायो । घटनाले समग्र केटाप्रति प्रश्न खडा गरिदियो । के सबै केटा सधैं यौनका भोका हुन्छन् ? किन हरेक केटी साथीको मायालार्ई काम वासनामा मात्रै बदल्न खोज्छन् ?


अफिसमा काम गर्दै थिएँ । फेसबुक म्यासेन्जरमा यौटा म्यासेज आयो । ‘हाई ! अमृता सन्चै ?’ गाउँले दाइ रहेछन् । मैले ‘नमस्ते, सन्चै छु’ भनें । केही बेर गाउँघरका कुरा गरे । सोधेको प्रश्नको जवाफ दिएँ । त्यसपछिका दिनमा उनी खुल्न थाले । कहिले ‘तिमी कति राम्री छ्यौ’ भन्थे । कहिले ‘टीभीमा तिम्रो कस्तो राम्रो बोली सुनिन्छ’ भन्थे । कहिले ‘तिम्रो बोल्ड रिपोर्टिङले सबै प्रभावित हुन्छन्’ भन्थे । एक दिन त ‘तिमी कस्तो १५ वर्षेजस्तो देखिन्छ्यौ’, ‘तिमीलाई पाउने त कस्तो भाग्यमानी’, ‘सधैँ मस्त, सधैँ सन्तुष्ट’ पो भने । मैले जवाफ फर्काएँ, ‘आफ्नै चेलीमाथि कुदृष्टि लगाउने दाइका नाममा कलंक । तिमीलाई धिक्कार छ ।’ उनले ‘सरी’ लेख्दै थिए । मैले फेसबुक नै ब्लक गरिदिएँ ।
फेसबुक ब्लक गरे पनि मन शान्त भएन । टेबुलमाथिको बोतल तानेर घटघटी पानी पिएँ । बेचैन महसुस भयो । मनभित्रै प्रश्न मडारियो, ‘केटाको शरीरमा त्यस्तो के छ जसले हरेक प्रसंगलाई यौनसित तुलना गर्छ ?’

कात्तिक अन्तिम साता । सिमसिम पानी परिरहेको थियो । घरनजिकैको एसियन रिसोर्टमा वनसम्बन्धी कार्यक्रम थियो । म छाता ओढेर हतार–हतार जाँदै थिएँ । एक जना नजिकैबाट गुनगुनायो । ‘यौटै छाता ओढौं मायालु’ हतार थियो । त्यसैले म नसुनेजस्तो गरी होटलतर्फ लम्कँदै गएँ । उसले फेरि गायो, ‘ओढौं छाता ओढौं मायालु !’ म ठिंग अडिएँ । उसका आँखा मतिर थिए । रिस उम्ल्यो । त्यसैले कड्किएँ, ‘ए, के भनेको ? कसलाई भनेको ?’ ऊ ‘गीत गाएको’ भन्दै मुस्कुराउन पो थाल्यो । मैले झपारेँ । उसले ‘लाज मानीमानी माया गरेको’ भन्ने जवाफ फर्कायो । म ‘खोइ तेरो माया ?’ भन्दै झम्टिन जाँदै थिएँ । लुसुक्क अर्को होटलभित्र छिर्‍यो । ऊ त्यही होटलको कामदार रहेछ । होटल मालिकलाई ‘आइन्दा त्यसको मुख देखे कालो पोतिदिने’ चेतावनी दिँदै आफ्नो काममा लागें ।


त्यसयता ऊ होटलमा छ या छैन, थाहा छैन । तर, जब म त्यस ठाउँमा पुग्छु— मलाई त्यो मानिसको सम्झना आउँछ । पुरुषको सम्हालिनै नसकिने यौन उत्तेजना सम्झेर दया लाग्छ । र, त्यो स्वभावप्रति घृणा लाग्छ । अघिल्लो साता राजमार्ग चौराह हुँदै अफिस जाँदै थिएँ । ठ्याक्कै बर्दघाट बुटवल बस लाग्ने ठाउँतिर एक जना अधबैंसे मतिर फर्केर बोल्यो, ‘बैनी सुन्तला खाम् सुन्तला । सानासाना चट्ट मिलेका । तिम्रैजस्ता । बैनी सुन्तला खाम्,’ मैले बुझें । उसले स्तनसँग तुलना गरेर मलाई जिस्क्याइरहेको थियो । तर, पनि नसुने जसरी अगाडि बढ्दै थिएँ । ऊ झन्झन् जोडले बोल्न थाल्यो । मैले सहन सकिनँ । टक्क अडिएँ र सोधें, ‘के भनेको ?’ उसले ‘सुन्तला किन्न भनेको’ भन्ने जवाफ फर्कायो । ‘खोइ सुन्तला ?’ उसले पारिपट्टि देखायो । मैले ‘ल हिँड्’ भनें । तर, ती सुन्तला उसका थिएनन् । मेरो रिसको पारो तात्यो । ‘तैँले मलाई जिस्क्याएको ?’ ऊ बहादुरी गरे जसरी मुसुक्क हाँस्यो । र, गिज्याउँदै भन्यो, ‘सुन्तला त सुन्तलै हुन् नि बैनी ! जसका भए नि ।’ मैलै सहनै सकिनँ, ‘तँलाई बदमास !


म तोरो जिस्क्याउने वस्तु हुँ ? तेरी आमा, दिदीबैनीलाई कसैले यस्तै भने के हुन्छ ? ल हिँड् प्रहरीमा ।’ ऊ केही नर्भस भयो । हत्तपत्त १०० मा डायल गरेँ । त्यो फोन अहिले नजिकको प्रहरीमा जाँदो रहेनछ । जिल्ला प्रहरीमा उठ्यो । ऊ डरले काँप्दै थियो । त्यतिबेलै अफिसबाट फोन आयो । सम्झेँ । आज स्टोरी सक्नु छ । औंला ठाडो पारें र उसलाई ‘आइन्दा कोही केटीमाथि आँखा मात्रै ठाडो गरे जेलमा कोच्छु’ भन्दै भुतभुताएर हिँडें । पछिसम्म मलाई थकथकी लागिरह्यो— त्यसलाई किन प्रहरीकोमा लगिनँ ?


बुटवलमै लैंगिक हिंसाविरुद्धको कार्यक्रम थियो । कार्यक्रममा एक जना नेता र म अतिथि थियौं । हामीसहित मञ्चमा ७ जना र हलमा करिब ६० जना थिए । आयोजकले उपस्थिति पुस्तिका ल्याए । मैले पुस्तिका दिदैं गर्दा ती अधिकृतले मेरो हात छोए । र, रोमाञ्चित हुँदै भने, ‘म्याडमको हात कति मुलायम ! मान्छे राम्री, अनुहार राम्रो, ज्यानै राम्रो । कस्तो म्याचिङ !’ यसो भन्दै गर्दा आफ्ना नशालु आँखा मेरो अनुहार हुँदै शरीरभरि दौडाए । लैंगिक हिंसाविरुद्धको कार्यक्रममै ममाथि हिंसा भयो । जुरुक्क उठेर एक चड्कन लगाउन मन लाग्यो । तर, सम्हालिएँ । ‘सर यो त लैंगिक हिंसा हो नि,’ यत्ति भनें, ‘यसरी कसैलाई नजिस्क्याउनु यौन दुर्व्यवहारको आरोपमा प्रहरी खोरमा जाकिनुपर्ला !’


उनी ङिच्च दाँत देखाएर अगाडि फर्के । जब मेरो कार्यपत्र सुरु भयो, मैले नामै नलिई ‘यसरी पनि हिंसा हुन्छ’ उनको हर्कत सुनाएँ । यस्तोमा के गर्ने भनेर सहभागीलाई सोधें । हलबाट ‘प्रहरी खोरमा जाक्ने’ भन्ने जवाफ आयो । पुलुक्क उनको मुखमा हेरें । उनी उधोमुन्टो लगाएर बसिरहेका थिए ।


अन्त्यमा, केही प्रश्न केटालाई । तिमीले गर्ने व्यवहार तिम्रा आमा, पत्नी र दिदीबैनीमाथि भए तिमी के ठान्छौ ? तिम्रा पत्नी, जसले तिम्रैलागि जीवन अर्पेका छन्, तिनले तिमीले जस्तो व्यवहार अर्को केटासित गरे तिमीलाई कस्तो महसुस हुन्छ ? तिमी सहन्छौ ? अहँ सहन्नौं । आफूले नसहने व्यवहार अरूलाई किन गर्ने ? पतिपत्नीबीच सीमित हुनुपर्ने यौन उत्तेजना अरूलाई किन देखाउने ? हरेक सम्बन्धलाई यौनसित किन जोड्ने ? केटाको यो उसको कमजोरी हो । साहस होइन, दुस्साहस हो । रोमान्स होइन हिंसा हो ।


महिलामाथि हुने हिंसा महिलाको मात्रै समस्या होइन । समाजकै समस्या हो । तसर्थ हिंसाविरुद्ध पुरुष पनि प्रतिबद्ध हुनुपर्छ । हरेक पुरुषले महिलाप्रतिको उच्छृंखलता र आवेग रोक्नुपर्छ।

प्रकाशित : माघ ४, २०७६ १०:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अच्युतानन्दको ‘विमानशास्त्र’

टीका ढकाल

सत्ताईसौं अध्यायमा पुगेपछि बालकृष्ण समका ‘मेरो कविताको आराधन’ आकाशबाट कागजको कलेवरमा खसेको अलिकति उज्यालोजस्तै भइदिन्छ । त्यही रोमाञ्चक उज्यालोले डोर्‍याएर प्राचीन ग्रीसेली किंवदन्तीमा वर्णित आइकारस र डिडालसको कथा हुँदै आर्य सभ्यताका महर्षि भरद्वाजकृत ‘बृहद विमानशास्त्रसम्म’ लैजान्छ । त्यससँग सम्बद्ध रहेर बीसौं शताब्दीमा भएका केही मनोरञ्जक, केही अपत्यारिला वैज्ञानिक प्रयोगसम्म खिंच्छ ।


पौराणिक सत्य र ऐतिहासिक सत्यका बीचमा रहेको अन्तर प्राज्ञिक जगत्ले खुट्याउन थालेको धेरै भैसक्यो । आम नागरिकको तहमाचाहिं विश्वव्यापी असमञ्जसको समानान्तर शृंखला सँगसँगै चलिरहेकै छ । जगत्का सत्यसँग शताब्दीयौंसम्म श्रुति, स्मृति, लोककथा र कल्पनालाई बुनेर निर्माण भएको ऐतिहासिक कृतिले पौराणिक सत्य निर्माण गर्छ । जुन बेला इतिहासका अभिलेखजन्य प्रमाणले ती घटनाको अस्तित्व निश्चित गर्छन्, त्यो ऐतिहासिक सत्य बन्न पुग्छ । त्यसैले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरिएका पण्डित अच्युतानन्द, उनले प्रयास गरेको प्रारम्भिक इन्जिनियरिङ कला, विज्ञानमा समर्पित भएर घरखेत गुमाएको तथ्य आदि ऐतिहासिक सत्य हुन् । बृहद् विमानशास्त्र पौराणिक सत्य हो । आइकारस र डिडालसचाहिं दन्त्यकथा ।


सबै ‘पौराणिक सत्य’ वास्तविक सत्य हुँदैनन् वा सधैं असत्य रहिरहन्छन् भन्ने पनि छैन । पौराणिकताबाट कल्पनालाई अलग्याएर सत्य छुट्याउने बौद्धिक कर्म प्राचीनकालदेखि हालसम्म निरन्तर चलिरहेकै छ । अंग्रेजीमा ‘मिथ’ भनिने पौराणिकता अपरीक्षित मान्यता (एजम्सन) हो, जसलाई आधुनिक इतिहासकारहरू प्रमाणद्वारा परीक्षण गर्नु
आफ्नो पहिलो दायित्व ठान्छन् (पिटर हिस, ‘मिथ, हिस्ट्री एन्ड थ्योरी’, जर्नल अफ हिस्ट्री एन्ड थ्योरी, संख्या ३३, पृष्ठ १–१९) । महाभारत वा रामायणका घटनाको ऐतिहासिक प्रमाण खोज्ने कार्य त्यसैले चलिरेहको हो । यद्यपि जडवत् वाक्यहरूमा पौराणिकतलाई पेस गर्ने राजनीतिले आज यस्तो परिशीलन असजिलो, खतरायुक्त बनाएको छ ।


धर्मआधारित राजनीतिको मुख्य जग पौराणिकता भएकाले उसले पौराणिक सत्यलाई इतिहासका रूपमा अर्थ्याउन थाल्छ । आम मानिसलाई पनि त्यसैगरी सोच्ने फरमान जारी गर्छ । उदाहरणका लागि आजको भारतमा गान्धीको इतिहाससँग हिन्दुत्वको पौराणिकता संघर्षरत छ, जबकि हिन्दु गान्धी आफैं पौराणिकतामा विश्वास राख्थे । मुस्लिम जगत्मा प्रोफेट मुहम्मदको चित्र बनाउनु मात्र पनि मृत्युदण्डकारक हुन्छ । क्रिस्चियनहरूका सम्प्रदायअनुसार फरक पौराणिक विश्वास छन् । धार्मिक हुनु र धर्मभीरु हुनु फरक कुरा हुन् । भीरु चरित्रले पौराणिकताको परिशीलन रोकेर सत्य खोज्ने परिश्रमलाई निस्तेज गर्छ, अन्धविश्वासमा लिप्त राख्छ । धार्मिक हुनुले समाजलाई अनुशासन र कर्तव्यको बाटोतर्फ प्रेरित गर्छ । तसर्थ, मानिस धार्मिक होस्, भीरु नहोस् । समले सम्झाइरहने अच्युतानन्द धार्मिक छन् । उनमा असाधारण वैज्ञानिक वृत्ति पनि सँगै देखिन्छ । समलाई त्रिचन्द्र कलेजमा पढाउने पण्डित पीताम्बर अच्युतानन्दका पारिवारिक नातेदार भएकाले उनैका माध्यमबाट समले अच्युतानन्दलाई भेटे, आफ्नो संस्मरणमा उनका कुरा लेखे ।
युवा अवस्थामा अध्ययनका लागि बनारस गएकाबखत अच्युतानन्दले रेल गाडी देखे, चढे । एकीकृत वाष्पशक्तिले त्यसको इन्जिन चलेको थाहा पाए । यताबाट गएका वा उतैका अरूले पनि रेल गाडी देखेका हुन्, चढेका हुन् । केवल अच्युतानन्दको मस्तिष्कलाई त्यसले हुँडल्यो, हुँडलिरह्यो । आफ्नो जीवनमा यस्तै अनुभवहरू सँगालेका पूर्वभारतीय राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका होलान्— सपना त्यस्तो होस् जसले निदाउन दिंदैन ।


धेरै अघि अच्युतानन्द पनि निदाएका थिएनन् । बनारसबाट नेपाल फर्केपछि बीस वर्ष लगाएर दुई जना अट्ने चारपांग्रे गाडीलाई वाष्पशक्तिले चलाएर देखाए । उनको महत्त्वाकांक्षा बढ्यो । उड्ने जहाज बनाउने उद्योग गर्न थाले । उनीसँग एउटा जिज्ञासु मस्तिष्कबाहेक अर्थोक थिएन । यो घटना अमेरिकी राइट दाजुभाइले हवाइजहाजको आविष्कार गर्नुभन्दा निकै अघिको हुनाले संसारमा ‘एरोडाइनामिक्स’ जन्मिसकेको थिएन । रेल चलेको देख्नुबाहेक अर्को अनुभव वा आधुनिक विज्ञानको अध्ययन गर्ने सम्भावना अच्युतानन्दसँग थिएन । त्यसैले, जर्मन वैज्ञानिक डेम्लरले अलिक पहिले बनाएको आन्तरिक ज्वलन मेसिनबारे पनि यिनलाई थाहा थिएन । बीस वर्षको अनुत्पादक खर्चले त्यसबेलाको समयमा नौ हजार रुपैयाँ ऋण बोकायो । भतिज पीताम्बरका माध्यमबाट जनरल गेहेन्द्रशमशेर (पहिलो वैज्ञानिक मानिएका) लाई गुहारे । गेहेन्द्रले उनका बाबु तत्कालीन प्रधानमन्त्री वीरशमशेरबाट दस हजार रुपैयाँ सहयोग दिलाइदिए ।


वीरशमशेरले ती दरिद्र वैज्ञानिकलाई भनेका वाक्य सम लेख्छन्, ‘हेर पण्डित राम्रो उद्योग गरेछौ, उहाँ सवारी भएका बेलामा श्री ५ मुमा बडामहारानीलाई पनि नजर गराएछौ, यहाँ चाहिएको बेलामा म पनि डाकुँला, जेठा (गेहेन्द्र) लाई दस हजार दिनु भनिदिएको छु, ऋण तिर, तर अब यस्तो बनाउँदा हामीलाई जाहेर गरेर मात्र गर्नु, अहिले आफ्ना आँटले बनाएछौ, भैहाल्यो (सम, मेरो कविताको आराधन, पृष्ठ १०४)।’


नेपालको पहिलो वैज्ञानिक त धादिङ जिल्लाको चरंगे फेदी अचानेका यी अच्युतानन्द पो देखिए । उनले बनाएको वाष्पचालित गाडी कता पुग्यो होला ? जोगाएर राख्न सकेको भए कमसेकम आज छाउनी संग्रहालयमा देखिन्थ्यो कि ? श्री ३ वीरशमशेरका जेठा छोरा गेहेन्द्रले बनाएको तोपसमेत लिलामी हुने देशमा एउटा शक्तिहीनको आविष्कार बाँच्न के सम्भव हुन्थ्यो होला र ?


वीरशमशेरबाट पाएको पैसाले ऋण तिर्नुको साटो अच्युतानन्द जहाज बनाउन थाले । अर्को बीस वर्ष धातु र इन्धनको प्रयोग नबुझी अनेक असफल प्रयास गरेका उनका सुरुआती सामान काठ र बाँसका थिए । प्रारम्भिक वैज्ञानिक प्रयोगहरू यस्तै उटपट्याङ हुँदा हुन् । बाफले जहाज नचल्ने बुझेपछि मट्टीतेलको इन्धनमा आइपुगे र इन्धन राख्ने भाँडोचाहिं धातुको हुनुपर्छ भन्ने बुझे । फेरि ऋणमा डुबे । वीरशमशेरको देहान्त भैसकेको थियो । अन्यत्रबाट सहयोग पाउने सम्भावना थिएन । विक्षिप्तजस्तै भएर उनी काठमाडौंको चपलीघाटमा तपस्या गर्न थाले, उड्ने मेसिन बनाउन । अनेक खाले चंगा बनाएर उडाए । अनेक पार्टपुर्जा जोडेर तयार गरे । उनको नाम नै विमान पण्डित राखिदिए मानिसहरूले । चपलीघाटमा दिनदिनै रमिता लाग्न थाल्यो । अनौठो काम भैरहेको, मानिस जम्मा भैरहेको देखेर एक दिन प्रहरी आएर सोध्यो, ‘बाजे, के बनाउन लाग्नुभएको ?’


‘जहाज ।’
‘कहाँ उडाउने ?’
‘आकाशमा ।’
‘दरबारमाथि पनि उड्छ ?’
‘उड्यो भने सबैतिर उड्छ ।’


‘लौ बाजे, त्यसो भए यो सबै छुट्याउनोस्, आइन्दा हामीलाई नसोधी हात नहाल्नुहोला’ (सम, उही, पृष्ठ १०५) ।
अनि उनका कलपुर्जा आगोमा जले । यसैबेला, करिब सबैथोक सकिएर सडकमा आइपुगेका बेला, समले उनलाई भेटेका थिए । यी अच्युतानन्दको सम्झना मात्र पनि नेपालका लागि प्रेरणादायी हुन सक्छ । अलिक वर्षपछि अमेरिकामा राइट दाजुभाइले साइकल मर्मत गर्ने आफ्नै पसलका पार्टपुर्जा जोडेर साँच्चै उड्न सक्ने जहाज बनाए । राइट दाजुभाइको आविष्कार पनि नमुना मात्र थियो । त्यसमा सयौं वैज्ञानिकले करिब एक दशक लगाएर गरेका सयौं परिष्कारपछि पहिलो विश्वयुद्धमा प्रयोग गर्न सन् १९१४ मा पहिलोपटक यात्रुबाहक जहाज उडाइयो, जसमा १६ जना यात्रु सवार थिए ।


अच्युतानन्दको असफल प्रयोगले प्राचीन ग्रीसको एउटा दन्त्यकथा सम्झाउँछ, जसमा डिडालस र आइकारस ‘वैज्ञानिक’ बाबुछोराको वर्णन छ । इसापूर्व ४३ मा जन्मेर इस १७/१८ मा मृत्यु भएका रोमन कवि ओभिडले सबैभन्दा पहिले यो कथा लेखे, आफ्नो ‘मेटामोर्फोसिस’ शीर्षकको लामो काव्यभित्र । ओभिड, होरेस र भर्जिललाई प्राचीन रोमन साहित्यका त्रिमूर्ति मानिन्छ । ल्याटिन भाषामा लेखिएको मेटामोर्फोसिसलाई पछि अंग्रेजी कविहरू सर स्यामुअल गार्थ र जोन ड्राइडेनले अंग्रेजीमा अनुवाद गरे । पन्ध्रवटा अलग खण्डका पुस्तकाकारमा मेटामोर्फोसिस प्रकाशित छ । हलिउडका ‘साइन्स फिक्सन’ मा ग्रीसेली वा नर्डिक पात्रहरू जोडेर आजकल बनाइने सिनेमाका आदिस्रोत यिनै प्राचीन कृतिहरू हुन् ।


मेटामोर्फोसिसको आठौं पुस्तकअनुसार प्राचीन ग्रीसको एक राज्य ‘क्रिट’ का राजा मिनोसले आफ्नो पराक्रम निर्वाध रहोस् भन्नका लागि समुद्रकी देवी पोसाइडनलाई खुसी राख्न बलि दिने विचार गरे । हिन्दु पौराणिक मान्यताअनुसार पनि भाग्य र सम्पत्तिकी देवी लक्ष्मी समुद्रकै छोरी हुन् । तर, पोसाइडन आक्रोश, अहंकार, आँधी, भूकम्प र एकै छिनमा बदलिने स्वभावका लागि चिनिन्छिन् । लक्ष्मीको कोमलता र दयाको ठीक विपरीत स्वभाव छ ग्रीसेली देवीको । उनले आफूलाई दिइने बलिका लागि एक सुन्दर सेतो गोरु समुद्रबाट सिर्जना गरी मिनोसकहाँ पठाइन् । त्यो गोरुको सुन्दरतामा लोभिएर राजा मिनोसले अर्कै गोरु बलि दिए, जसले पोसाइडनलाई आक्रोशित बनायो । उनले मिनोसकी रानी ‘प्यासिफाए’ लाई त्यो गोरुसँग प्रेममा फसाइन् र सहवाससम्म धकेलिन् । रानीले आधा गोरु, आधा मानव स्वरूपको मानवभक्षी राक्षस मिनोटोरलाई जन्म दिइन् । लगभग अपराजेय त्यस राक्षसलाई डिडालसले बनाएको ‘लेबिरिन्थ’ भित्र नौ वर्ष बन्दी बनाइयो । पहिले रानीलाई र पछि आफ्नी छोरी ‘एरियन’ को प्रेमी थिसियस (जसले मिनोटोरलाई मार्छ) लाई सहयोग गरेको थाहा पाएपछि डिडालस र उसको छोरा आइकारसलाई नै लेबिरिन्थभित्र मिनोसले कैद गरिदिए ।


‘इन टिडियस एक्जाइल नाउ, टु लङ डिटेन्ड
डिडालस ल्यांग्विस्ड फर हिज नेटिभ ल्यान्ड
...हिज बोई यङ आइकरस नियर हिम स्टुड
अन्थिन्किङ अफ हिज फेट, विथ स्माइल्स पर्सुड... ।’ (ओभिड,मेटामोर्फोसिस, पुस्तक ८, भर्स १६–१७)
(लामो कैदी जीवनमा डिडालसलाई मातृभूमिको याद आइरह्यो, ...उसको युवा छोरो आइकारस नजिकै टीठलाग्दो गरी उभिएको हुन्थ्यो, आफ्नै भाग्य सम्झेर... ।)


डिडालसले अन्ततः मैनमा जोडेका पखेटा लगाएर छोरालाई कैदबाट भगाउँछ । तर, आकाशमा धेरै माथि उड्नाले मैन पग्लेर पखेटा खुस्किन्छन् । आइकारस जमिनमा खस्छ, उसको मृत्यु हुन्छ । यसरी, हरेकपल्ट नयाँ र अप्ठ्यारा सामान बनाउनुपर्दा एथेन्सका छिमेकी राज्यले समेत खोजी गरिने डिडालस आफ्नो समयको टमस एडिसनजस्तै थियो भन्न सकिन्छ ।


दन्त्यकथाका पात्रहरूको जीवनमा अनेक संयोग र चमत्कारका प्रसंग जोडिएर आउँछन् । डिडालस बाबुछोराको अस्तित्व केवल मिथक हो भने कवि ओभिडचाहिं ऐतिहासिक सत्य । पहिलो शताब्दीको सुरुतिर लेखिएको मानिने मेटामोर्फोसिसका रचानाकर ओभिडको मस्तिष्कमा मानिस सवार हुने अलग्गै विमान होइन, मानिसकै शरीरमा जोडिएका पखेटा भए उड्न सकिने विचार आयो । सायद चराहरू उडेको यथार्थले उनलाई त्यस्तै काल्पनिकीको निर्माण गर्न प्ररित गर्‍यो, जसलाई उनले आफ्ना पात्रहरूमा आरोपित गरे । ओभिडको कल्पनामा जहाज आइसकेको छैन । तर, रोचक यथार्थ के हो भने मानिसले गुड्नेभन्दा उड्ने कल्पना धेरै पहिले गर्न थालेको देखिन्छ ।


उड्ने सामर्थ्यको अझ प्राचीन उल्लेख आर्य–हिन्दु सभ्यताका वैदिक ग्रन्थहरूमा पाइन्छ । इसापूर्व १७०० आसपास रचना भएको मानिने ऋग्वेद संसारकै सर्वप्राचीन पूर्ण ग्रन्थ हो । ऋग्वेदअघि सुमेरियन सभ्यताका सानातिना अभिलेखहरू पाइएका छन् । आजको दक्षिणी इराकमा पर्ने सुमेर र मेसोपोटामियाकालीन गिल्गामेस राजाको कहानी समेटिएको महाकाव्य ऋग्वेदभन्दा पहिलेको प्रामाणिक कृति हो । आधुनिक उदार लोकतन्त्रमा आवश्यक पर्ने समाज र राज्यबीच नियन्त्रण–सन्तुलनको विकास खोतल्ने क्रममा गिल्गामेसकालीन आदिम मानिसले सामना गर्नुपरेको राज्यशक्ति विन्यासको प्रश्नलाई वर्तमान बसर अल असदकालीन सिरियाको अवस्थासँग तुलना गर्दै डारोन असिमोग्लु र जेम्स रबिन्सनले ‘गिल्गामेस संकट’ भन्ने नाम दिएका छन् (असिमोग्लु र रबिन्सन, न्यारो कोरिडर, प्राक्कथनको पृष्ठ ८) । सुमेरियन सभ्यताको समकालीन विश्वका प्राचीन कृतिहरूमध्ये ऋग्वेद यस्तो ग्रन्थ देखापर्छ, जसले आजपर्यन्त मानवसभ्यतालाई आश्चर्यमा पारिरहेकै छ ।

विवाह, धार्मिक अनुष्ठानलगायत विभिन्न प्रयोजनका लागि अहिले पनि उच्चारण गरिने मन्त्रहरू सामेल भएको ऋग्वेदको प्रयोग करिब चार हजार वर्षसम्म निरन्तर भैरहेको छ । गिल्गामेसको महाकाव्यभन्दा विशाल, व्यवस्थित र पूर्ण ग्रन्थका रूपमा ऋग्वेदवरिपरि जति मात्रामा अनुसन्धान, व्याख्यान र संकथनहरू निर्माण भएका छन्, त्यति अन्य कुनै प्राचीन ग्रन्थमाथि भएका छैनन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सामेल ऋग्वेदका प्राचीन पाण्डुलिपिमध्ये भोजपत्रमा लेखिएका करिब ३० वटा भारतको मुम्बईस्थित भण्डारकर अनुसन्धान संस्थामा सुरक्षित छन् । हाल प्रचलनमा रहेका वैदिक ग्रन्थहरू अठारौँ र उन्नाईसौं शताब्दीमा संगृहीत विभिन्न १७००० अलग पाण्डुलिपिबाट तयार गरिएका हुन् । ऋग्वेदमा मानिसको उडान कल्पनाका प्रारम्भिक अभिलेखहरू धेरै छन् । उदाहरणका लागि पहिलो मण्डल, पच्चीसौं सूक्तको सातौँ यो मन्त्र–
वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् । वेदा नाव समुद्रियाः । (ऋग्वेद १।२५।७)
(हे वरुण...) तिमीलाई अन्तरिक्षमा पक्षीसरि उड्ने मार्ग थाहा छ, समुद्रमा चल्ने नौकाको बाटो थाहा छ ।
ऋग्वैदिक मीमांसाभित्र प्रवेश गरिसकेपछि आधुनिक विज्ञानले खुट्याउने पौराणिक र ऐतिहासिक सत्यबीचको अन्तर अझ प्रस्टसँग देखिन्छ । कहिलेकाहीं वैज्ञानिकहरू पनि पौराणिकतातर्फ बहकिएका हुन्छन् । तर, त्यतिले मात्रै त्यसको वैज्ञानिक सत्य पुष्टि हुँदैन । जस्तो, सन् २०१५ जनवरी ३–७ मा भारतको मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत एउटा कार्यपत्रद्वारा घोषणा गरियो— करिब सात हजार वर्षअघिको आर्य सभ्यतासँग उड्न सक्ने विमानहरू थिए । केरलाको उड्डयन महाविद्यालयका विमानचालक आनन्द बोदास र उनका सहयोगी अमेय जाधवले गरेको यो दाबीलाई संसारका धेरै वैज्ञानिक संस्थाहरूले खण्डन गरे । आफ्नो दाबी प्रमाणित गर्न बोदास र जाधवले अघि सारेको स्रोत महर्षि भरद्वाजले रचना गरेको भनिएको प्राचीन ‘वैमानिक प्रकरण’ वा बृहद् वैमानिक शास्त्र थियो (बोदास र जाधव, एभिएसन इन द वेदिक एज (कार्यपत्र), १०२ औं अन्तर्राष्ट्रिय भारतीय विज्ञान सम्मेलन २०१५, मुम्बई) ।


ब्रह्ममुनि परिब्राजकको सम्पादनमा ‘बृहद् विमानशास्त्र’ सन् १९५९ मा पहिलोपल्ट प्रकाशित भएको थियो । अनुष्टुप छन्दका तीन हजार संस्कृत श्लोक र तिनको हिन्दी अनुवादसहित प्रकाशित यो कृतिले विज्ञान जगतमा त्यसबेला ठूलै हलचल ल्यायो । रामायणमा उल्लिखित पुष्पक, महाभारतकालीन राजा भोजद्वारा लेखिएको मानिने
‘समराङ्गणसूत्राधार’ मा कल्पित विमान, ‘युक्तिकल्पतरू’ मा वर्णित व्योमयान आदिको उदाहरण पेस गर्दै महर्षि भरद्वाजले ‘यन्त्रसर्वस्व’ ग्रन्थको एक अंगका रूपमा ‘वैमानिकशास्त्र’ को रचना गरेको दाबी यस कृतिमा गरिएको छ । यसको प्रारम्भिक प्रतिलिपि (पाण्डुलिपि होइन) भारतको बडोदा संस्कृत लाइब्रेरीमा पाइएको थियो । कृतिमा गरिएको दाबीअनुसार महर्षि भरद्वाजप्रणित प्राचीन विमान विज्ञानका चालीसमध्येको एक अंश मात्र भेटिएको हो । विमानको गति, मार्ग, प्रकार, प्रयोग र निर्माणकलाको विस्तृत वर्णन भएको ३६८ पृष्ठ लामो यस कृतिलाई सन् १९७२ मा क्यानडाली संस्कृतज्ञ जीआर जोसियरले अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरे । पुस्तकका एक सय अधिकरणलाई आठ अध्यायमा विभक्त गरिएको छ । पुस्तकले अत्यधिक चर्चासँगै विवाद जन्माएपछि यसको प्रामाणिकता अध्ययन गर्न सन् १९७४ मा भारत सरकारले भारतीय विज्ञान संस्थानलाई जिम्मेवारी दियो । मानवीय कल्पनाको क्षमताभन्दा टाढा विशाल शून्यमा रहेको सत्यलाई यथार्थमा समेट्ने परिश्रमले नै मानव सभ्यताको विमान उडिरहेछ । समय र समाजका सिमानालाई विस्तारित गरिदिने लहर यस्तै खोजीको गर्विलो इतिहास हो।

प्रकाशित : माघ ४, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×