अच्युतानन्दको ‘विमानशास्त्र’

टीका ढकाल

सत्ताईसौं अध्यायमा पुगेपछि बालकृष्ण समका ‘मेरो कविताको आराधन’ आकाशबाट कागजको कलेवरमा खसेको अलिकति उज्यालोजस्तै भइदिन्छ । त्यही रोमाञ्चक उज्यालोले डोर्‍याएर प्राचीन ग्रीसेली किंवदन्तीमा वर्णित आइकारस र डिडालसको कथा हुँदै आर्य सभ्यताका महर्षि भरद्वाजकृत ‘बृहद विमानशास्त्रसम्म’ लैजान्छ । त्यससँग सम्बद्ध रहेर बीसौं शताब्दीमा भएका केही मनोरञ्जक, केही अपत्यारिला वैज्ञानिक प्रयोगसम्म खिंच्छ ।


पौराणिक सत्य र ऐतिहासिक सत्यका बीचमा रहेको अन्तर प्राज्ञिक जगत्ले खुट्याउन थालेको धेरै भैसक्यो । आम नागरिकको तहमाचाहिं विश्वव्यापी असमञ्जसको समानान्तर शृंखला सँगसँगै चलिरहेकै छ । जगत्का सत्यसँग शताब्दीयौंसम्म श्रुति, स्मृति, लोककथा र कल्पनालाई बुनेर निर्माण भएको ऐतिहासिक कृतिले पौराणिक सत्य निर्माण गर्छ । जुन बेला इतिहासका अभिलेखजन्य प्रमाणले ती घटनाको अस्तित्व निश्चित गर्छन्, त्यो ऐतिहासिक सत्य बन्न पुग्छ । त्यसैले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरिएका पण्डित अच्युतानन्द, उनले प्रयास गरेको प्रारम्भिक इन्जिनियरिङ कला, विज्ञानमा समर्पित भएर घरखेत गुमाएको तथ्य आदि ऐतिहासिक सत्य हुन् । बृहद् विमानशास्त्र पौराणिक सत्य हो । आइकारस र डिडालसचाहिं दन्त्यकथा ।


सबै ‘पौराणिक सत्य’ वास्तविक सत्य हुँदैनन् वा सधैं असत्य रहिरहन्छन् भन्ने पनि छैन । पौराणिकताबाट कल्पनालाई अलग्याएर सत्य छुट्याउने बौद्धिक कर्म प्राचीनकालदेखि हालसम्म निरन्तर चलिरहेकै छ । अंग्रेजीमा ‘मिथ’ भनिने पौराणिकता अपरीक्षित मान्यता (एजम्सन) हो, जसलाई आधुनिक इतिहासकारहरू प्रमाणद्वारा परीक्षण गर्नु
आफ्नो पहिलो दायित्व ठान्छन् (पिटर हिस, ‘मिथ, हिस्ट्री एन्ड थ्योरी’, जर्नल अफ हिस्ट्री एन्ड थ्योरी, संख्या ३३, पृष्ठ १–१९) । महाभारत वा रामायणका घटनाको ऐतिहासिक प्रमाण खोज्ने कार्य त्यसैले चलिरेहको हो । यद्यपि जडवत् वाक्यहरूमा पौराणिकतलाई पेस गर्ने राजनीतिले आज यस्तो परिशीलन असजिलो, खतरायुक्त बनाएको छ ।


धर्मआधारित राजनीतिको मुख्य जग पौराणिकता भएकाले उसले पौराणिक सत्यलाई इतिहासका रूपमा अर्थ्याउन थाल्छ । आम मानिसलाई पनि त्यसैगरी सोच्ने फरमान जारी गर्छ । उदाहरणका लागि आजको भारतमा गान्धीको इतिहाससँग हिन्दुत्वको पौराणिकता संघर्षरत छ, जबकि हिन्दु गान्धी आफैं पौराणिकतामा विश्वास राख्थे । मुस्लिम जगत्मा प्रोफेट मुहम्मदको चित्र बनाउनु मात्र पनि मृत्युदण्डकारक हुन्छ । क्रिस्चियनहरूका सम्प्रदायअनुसार फरक पौराणिक विश्वास छन् । धार्मिक हुनु र धर्मभीरु हुनु फरक कुरा हुन् । भीरु चरित्रले पौराणिकताको परिशीलन रोकेर सत्य खोज्ने परिश्रमलाई निस्तेज गर्छ, अन्धविश्वासमा लिप्त राख्छ । धार्मिक हुनुले समाजलाई अनुशासन र कर्तव्यको बाटोतर्फ प्रेरित गर्छ । तसर्थ, मानिस धार्मिक होस्, भीरु नहोस् । समले सम्झाइरहने अच्युतानन्द धार्मिक छन् । उनमा असाधारण वैज्ञानिक वृत्ति पनि सँगै देखिन्छ । समलाई त्रिचन्द्र कलेजमा पढाउने पण्डित पीताम्बर अच्युतानन्दका पारिवारिक नातेदार भएकाले उनैका माध्यमबाट समले अच्युतानन्दलाई भेटे, आफ्नो संस्मरणमा उनका कुरा लेखे ।
युवा अवस्थामा अध्ययनका लागि बनारस गएकाबखत अच्युतानन्दले रेल गाडी देखे, चढे । एकीकृत वाष्पशक्तिले त्यसको इन्जिन चलेको थाहा पाए । यताबाट गएका वा उतैका अरूले पनि रेल गाडी देखेका हुन्, चढेका हुन् । केवल अच्युतानन्दको मस्तिष्कलाई त्यसले हुँडल्यो, हुँडलिरह्यो । आफ्नो जीवनमा यस्तै अनुभवहरू सँगालेका पूर्वभारतीय राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका होलान्— सपना त्यस्तो होस् जसले निदाउन दिंदैन ।


धेरै अघि अच्युतानन्द पनि निदाएका थिएनन् । बनारसबाट नेपाल फर्केपछि बीस वर्ष लगाएर दुई जना अट्ने चारपांग्रे गाडीलाई वाष्पशक्तिले चलाएर देखाए । उनको महत्त्वाकांक्षा बढ्यो । उड्ने जहाज बनाउने उद्योग गर्न थाले । उनीसँग एउटा जिज्ञासु मस्तिष्कबाहेक अर्थोक थिएन । यो घटना अमेरिकी राइट दाजुभाइले हवाइजहाजको आविष्कार गर्नुभन्दा निकै अघिको हुनाले संसारमा ‘एरोडाइनामिक्स’ जन्मिसकेको थिएन । रेल चलेको देख्नुबाहेक अर्को अनुभव वा आधुनिक विज्ञानको अध्ययन गर्ने सम्भावना अच्युतानन्दसँग थिएन । त्यसैले, जर्मन वैज्ञानिक डेम्लरले अलिक पहिले बनाएको आन्तरिक ज्वलन मेसिनबारे पनि यिनलाई थाहा थिएन । बीस वर्षको अनुत्पादक खर्चले त्यसबेलाको समयमा नौ हजार रुपैयाँ ऋण बोकायो । भतिज पीताम्बरका माध्यमबाट जनरल गेहेन्द्रशमशेर (पहिलो वैज्ञानिक मानिएका) लाई गुहारे । गेहेन्द्रले उनका बाबु तत्कालीन प्रधानमन्त्री वीरशमशेरबाट दस हजार रुपैयाँ सहयोग दिलाइदिए ।


वीरशमशेरले ती दरिद्र वैज्ञानिकलाई भनेका वाक्य सम लेख्छन्, ‘हेर पण्डित राम्रो उद्योग गरेछौ, उहाँ सवारी भएका बेलामा श्री ५ मुमा बडामहारानीलाई पनि नजर गराएछौ, यहाँ चाहिएको बेलामा म पनि डाकुँला, जेठा (गेहेन्द्र) लाई दस हजार दिनु भनिदिएको छु, ऋण तिर, तर अब यस्तो बनाउँदा हामीलाई जाहेर गरेर मात्र गर्नु, अहिले आफ्ना आँटले बनाएछौ, भैहाल्यो (सम, मेरो कविताको आराधन, पृष्ठ १०४)।’


नेपालको पहिलो वैज्ञानिक त धादिङ जिल्लाको चरंगे फेदी अचानेका यी अच्युतानन्द पो देखिए । उनले बनाएको वाष्पचालित गाडी कता पुग्यो होला ? जोगाएर राख्न सकेको भए कमसेकम आज छाउनी संग्रहालयमा देखिन्थ्यो कि ? श्री ३ वीरशमशेरका जेठा छोरा गेहेन्द्रले बनाएको तोपसमेत लिलामी हुने देशमा एउटा शक्तिहीनको आविष्कार बाँच्न के सम्भव हुन्थ्यो होला र ?


वीरशमशेरबाट पाएको पैसाले ऋण तिर्नुको साटो अच्युतानन्द जहाज बनाउन थाले । अर्को बीस वर्ष धातु र इन्धनको प्रयोग नबुझी अनेक असफल प्रयास गरेका उनका सुरुआती सामान काठ र बाँसका थिए । प्रारम्भिक वैज्ञानिक प्रयोगहरू यस्तै उटपट्याङ हुँदा हुन् । बाफले जहाज नचल्ने बुझेपछि मट्टीतेलको इन्धनमा आइपुगे र इन्धन राख्ने भाँडोचाहिं धातुको हुनुपर्छ भन्ने बुझे । फेरि ऋणमा डुबे । वीरशमशेरको देहान्त भैसकेको थियो । अन्यत्रबाट सहयोग पाउने सम्भावना थिएन । विक्षिप्तजस्तै भएर उनी काठमाडौंको चपलीघाटमा तपस्या गर्न थाले, उड्ने मेसिन बनाउन । अनेक खाले चंगा बनाएर उडाए । अनेक पार्टपुर्जा जोडेर तयार गरे । उनको नाम नै विमान पण्डित राखिदिए मानिसहरूले । चपलीघाटमा दिनदिनै रमिता लाग्न थाल्यो । अनौठो काम भैरहेको, मानिस जम्मा भैरहेको देखेर एक दिन प्रहरी आएर सोध्यो, ‘बाजे, के बनाउन लाग्नुभएको ?’


‘जहाज ।’
‘कहाँ उडाउने ?’
‘आकाशमा ।’
‘दरबारमाथि पनि उड्छ ?’
‘उड्यो भने सबैतिर उड्छ ।’


‘लौ बाजे, त्यसो भए यो सबै छुट्याउनोस्, आइन्दा हामीलाई नसोधी हात नहाल्नुहोला’ (सम, उही, पृष्ठ १०५) ।
अनि उनका कलपुर्जा आगोमा जले । यसैबेला, करिब सबैथोक सकिएर सडकमा आइपुगेका बेला, समले उनलाई भेटेका थिए । यी अच्युतानन्दको सम्झना मात्र पनि नेपालका लागि प्रेरणादायी हुन सक्छ । अलिक वर्षपछि अमेरिकामा राइट दाजुभाइले साइकल मर्मत गर्ने आफ्नै पसलका पार्टपुर्जा जोडेर साँच्चै उड्न सक्ने जहाज बनाए । राइट दाजुभाइको आविष्कार पनि नमुना मात्र थियो । त्यसमा सयौं वैज्ञानिकले करिब एक दशक लगाएर गरेका सयौं परिष्कारपछि पहिलो विश्वयुद्धमा प्रयोग गर्न सन् १९१४ मा पहिलोपटक यात्रुबाहक जहाज उडाइयो, जसमा १६ जना यात्रु सवार थिए ।


अच्युतानन्दको असफल प्रयोगले प्राचीन ग्रीसको एउटा दन्त्यकथा सम्झाउँछ, जसमा डिडालस र आइकारस ‘वैज्ञानिक’ बाबुछोराको वर्णन छ । इसापूर्व ४३ मा जन्मेर इस १७/१८ मा मृत्यु भएका रोमन कवि ओभिडले सबैभन्दा पहिले यो कथा लेखे, आफ्नो ‘मेटामोर्फोसिस’ शीर्षकको लामो काव्यभित्र । ओभिड, होरेस र भर्जिललाई प्राचीन रोमन साहित्यका त्रिमूर्ति मानिन्छ । ल्याटिन भाषामा लेखिएको मेटामोर्फोसिसलाई पछि अंग्रेजी कविहरू सर स्यामुअल गार्थ र जोन ड्राइडेनले अंग्रेजीमा अनुवाद गरे । पन्ध्रवटा अलग खण्डका पुस्तकाकारमा मेटामोर्फोसिस प्रकाशित छ । हलिउडका ‘साइन्स फिक्सन’ मा ग्रीसेली वा नर्डिक पात्रहरू जोडेर आजकल बनाइने सिनेमाका आदिस्रोत यिनै प्राचीन कृतिहरू हुन् ।


मेटामोर्फोसिसको आठौं पुस्तकअनुसार प्राचीन ग्रीसको एक राज्य ‘क्रिट’ का राजा मिनोसले आफ्नो पराक्रम निर्वाध रहोस् भन्नका लागि समुद्रकी देवी पोसाइडनलाई खुसी राख्न बलि दिने विचार गरे । हिन्दु पौराणिक मान्यताअनुसार पनि भाग्य र सम्पत्तिकी देवी लक्ष्मी समुद्रकै छोरी हुन् । तर, पोसाइडन आक्रोश, अहंकार, आँधी, भूकम्प र एकै छिनमा बदलिने स्वभावका लागि चिनिन्छिन् । लक्ष्मीको कोमलता र दयाको ठीक विपरीत स्वभाव छ ग्रीसेली देवीको । उनले आफूलाई दिइने बलिका लागि एक सुन्दर सेतो गोरु समुद्रबाट सिर्जना गरी मिनोसकहाँ पठाइन् । त्यो गोरुको सुन्दरतामा लोभिएर राजा मिनोसले अर्कै गोरु बलि दिए, जसले पोसाइडनलाई आक्रोशित बनायो । उनले मिनोसकी रानी ‘प्यासिफाए’ लाई त्यो गोरुसँग प्रेममा फसाइन् र सहवाससम्म धकेलिन् । रानीले आधा गोरु, आधा मानव स्वरूपको मानवभक्षी राक्षस मिनोटोरलाई जन्म दिइन् । लगभग अपराजेय त्यस राक्षसलाई डिडालसले बनाएको ‘लेबिरिन्थ’ भित्र नौ वर्ष बन्दी बनाइयो । पहिले रानीलाई र पछि आफ्नी छोरी ‘एरियन’ को प्रेमी थिसियस (जसले मिनोटोरलाई मार्छ) लाई सहयोग गरेको थाहा पाएपछि डिडालस र उसको छोरा आइकारसलाई नै लेबिरिन्थभित्र मिनोसले कैद गरिदिए ।


‘इन टिडियस एक्जाइल नाउ, टु लङ डिटेन्ड
डिडालस ल्यांग्विस्ड फर हिज नेटिभ ल्यान्ड
...हिज बोई यङ आइकरस नियर हिम स्टुड
अन्थिन्किङ अफ हिज फेट, विथ स्माइल्स पर्सुड... ।’ (ओभिड,मेटामोर्फोसिस, पुस्तक ८, भर्स १६–१७)
(लामो कैदी जीवनमा डिडालसलाई मातृभूमिको याद आइरह्यो, ...उसको युवा छोरो आइकारस नजिकै टीठलाग्दो गरी उभिएको हुन्थ्यो, आफ्नै भाग्य सम्झेर... ।)


डिडालसले अन्ततः मैनमा जोडेका पखेटा लगाएर छोरालाई कैदबाट भगाउँछ । तर, आकाशमा धेरै माथि उड्नाले मैन पग्लेर पखेटा खुस्किन्छन् । आइकारस जमिनमा खस्छ, उसको मृत्यु हुन्छ । यसरी, हरेकपल्ट नयाँ र अप्ठ्यारा सामान बनाउनुपर्दा एथेन्सका छिमेकी राज्यले समेत खोजी गरिने डिडालस आफ्नो समयको टमस एडिसनजस्तै थियो भन्न सकिन्छ ।


दन्त्यकथाका पात्रहरूको जीवनमा अनेक संयोग र चमत्कारका प्रसंग जोडिएर आउँछन् । डिडालस बाबुछोराको अस्तित्व केवल मिथक हो भने कवि ओभिडचाहिं ऐतिहासिक सत्य । पहिलो शताब्दीको सुरुतिर लेखिएको मानिने मेटामोर्फोसिसका रचानाकर ओभिडको मस्तिष्कमा मानिस सवार हुने अलग्गै विमान होइन, मानिसकै शरीरमा जोडिएका पखेटा भए उड्न सकिने विचार आयो । सायद चराहरू उडेको यथार्थले उनलाई त्यस्तै काल्पनिकीको निर्माण गर्न प्ररित गर्‍यो, जसलाई उनले आफ्ना पात्रहरूमा आरोपित गरे । ओभिडको कल्पनामा जहाज आइसकेको छैन । तर, रोचक यथार्थ के हो भने मानिसले गुड्नेभन्दा उड्ने कल्पना धेरै पहिले गर्न थालेको देखिन्छ ।


उड्ने सामर्थ्यको अझ प्राचीन उल्लेख आर्य–हिन्दु सभ्यताका वैदिक ग्रन्थहरूमा पाइन्छ । इसापूर्व १७०० आसपास रचना भएको मानिने ऋग्वेद संसारकै सर्वप्राचीन पूर्ण ग्रन्थ हो । ऋग्वेदअघि सुमेरियन सभ्यताका सानातिना अभिलेखहरू पाइएका छन् । आजको दक्षिणी इराकमा पर्ने सुमेर र मेसोपोटामियाकालीन गिल्गामेस राजाको कहानी समेटिएको महाकाव्य ऋग्वेदभन्दा पहिलेको प्रामाणिक कृति हो । आधुनिक उदार लोकतन्त्रमा आवश्यक पर्ने समाज र राज्यबीच नियन्त्रण–सन्तुलनको विकास खोतल्ने क्रममा गिल्गामेसकालीन आदिम मानिसले सामना गर्नुपरेको राज्यशक्ति विन्यासको प्रश्नलाई वर्तमान बसर अल असदकालीन सिरियाको अवस्थासँग तुलना गर्दै डारोन असिमोग्लु र जेम्स रबिन्सनले ‘गिल्गामेस संकट’ भन्ने नाम दिएका छन् (असिमोग्लु र रबिन्सन, न्यारो कोरिडर, प्राक्कथनको पृष्ठ ८) । सुमेरियन सभ्यताको समकालीन विश्वका प्राचीन कृतिहरूमध्ये ऋग्वेद यस्तो ग्रन्थ देखापर्छ, जसले आजपर्यन्त मानवसभ्यतालाई आश्चर्यमा पारिरहेकै छ ।

विवाह, धार्मिक अनुष्ठानलगायत विभिन्न प्रयोजनका लागि अहिले पनि उच्चारण गरिने मन्त्रहरू सामेल भएको ऋग्वेदको प्रयोग करिब चार हजार वर्षसम्म निरन्तर भैरहेको छ । गिल्गामेसको महाकाव्यभन्दा विशाल, व्यवस्थित र पूर्ण ग्रन्थका रूपमा ऋग्वेदवरिपरि जति मात्रामा अनुसन्धान, व्याख्यान र संकथनहरू निर्माण भएका छन्, त्यति अन्य कुनै प्राचीन ग्रन्थमाथि भएका छैनन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सामेल ऋग्वेदका प्राचीन पाण्डुलिपिमध्ये भोजपत्रमा लेखिएका करिब ३० वटा भारतको मुम्बईस्थित भण्डारकर अनुसन्धान संस्थामा सुरक्षित छन् । हाल प्रचलनमा रहेका वैदिक ग्रन्थहरू अठारौँ र उन्नाईसौं शताब्दीमा संगृहीत विभिन्न १७००० अलग पाण्डुलिपिबाट तयार गरिएका हुन् । ऋग्वेदमा मानिसको उडान कल्पनाका प्रारम्भिक अभिलेखहरू धेरै छन् । उदाहरणका लागि पहिलो मण्डल, पच्चीसौं सूक्तको सातौँ यो मन्त्र–
वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् । वेदा नाव समुद्रियाः । (ऋग्वेद १।२५।७)
(हे वरुण...) तिमीलाई अन्तरिक्षमा पक्षीसरि उड्ने मार्ग थाहा छ, समुद्रमा चल्ने नौकाको बाटो थाहा छ ।
ऋग्वैदिक मीमांसाभित्र प्रवेश गरिसकेपछि आधुनिक विज्ञानले खुट्याउने पौराणिक र ऐतिहासिक सत्यबीचको अन्तर अझ प्रस्टसँग देखिन्छ । कहिलेकाहीं वैज्ञानिकहरू पनि पौराणिकतातर्फ बहकिएका हुन्छन् । तर, त्यतिले मात्रै त्यसको वैज्ञानिक सत्य पुष्टि हुँदैन । जस्तो, सन् २०१५ जनवरी ३–७ मा भारतको मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत एउटा कार्यपत्रद्वारा घोषणा गरियो— करिब सात हजार वर्षअघिको आर्य सभ्यतासँग उड्न सक्ने विमानहरू थिए । केरलाको उड्डयन महाविद्यालयका विमानचालक आनन्द बोदास र उनका सहयोगी अमेय जाधवले गरेको यो दाबीलाई संसारका धेरै वैज्ञानिक संस्थाहरूले खण्डन गरे । आफ्नो दाबी प्रमाणित गर्न बोदास र जाधवले अघि सारेको स्रोत महर्षि भरद्वाजले रचना गरेको भनिएको प्राचीन ‘वैमानिक प्रकरण’ वा बृहद् वैमानिक शास्त्र थियो (बोदास र जाधव, एभिएसन इन द वेदिक एज (कार्यपत्र), १०२ औं अन्तर्राष्ट्रिय भारतीय विज्ञान सम्मेलन २०१५, मुम्बई) ।


ब्रह्ममुनि परिब्राजकको सम्पादनमा ‘बृहद् विमानशास्त्र’ सन् १९५९ मा पहिलोपल्ट प्रकाशित भएको थियो । अनुष्टुप छन्दका तीन हजार संस्कृत श्लोक र तिनको हिन्दी अनुवादसहित प्रकाशित यो कृतिले विज्ञान जगतमा त्यसबेला ठूलै हलचल ल्यायो । रामायणमा उल्लिखित पुष्पक, महाभारतकालीन राजा भोजद्वारा लेखिएको मानिने
‘समराङ्गणसूत्राधार’ मा कल्पित विमान, ‘युक्तिकल्पतरू’ मा वर्णित व्योमयान आदिको उदाहरण पेस गर्दै महर्षि भरद्वाजले ‘यन्त्रसर्वस्व’ ग्रन्थको एक अंगका रूपमा ‘वैमानिकशास्त्र’ को रचना गरेको दाबी यस कृतिमा गरिएको छ । यसको प्रारम्भिक प्रतिलिपि (पाण्डुलिपि होइन) भारतको बडोदा संस्कृत लाइब्रेरीमा पाइएको थियो । कृतिमा गरिएको दाबीअनुसार महर्षि भरद्वाजप्रणित प्राचीन विमान विज्ञानका चालीसमध्येको एक अंश मात्र भेटिएको हो । विमानको गति, मार्ग, प्रकार, प्रयोग र निर्माणकलाको विस्तृत वर्णन भएको ३६८ पृष्ठ लामो यस कृतिलाई सन् १९७२ मा क्यानडाली संस्कृतज्ञ जीआर जोसियरले अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरे । पुस्तकका एक सय अधिकरणलाई आठ अध्यायमा विभक्त गरिएको छ । पुस्तकले अत्यधिक चर्चासँगै विवाद जन्माएपछि यसको प्रामाणिकता अध्ययन गर्न सन् १९७४ मा भारत सरकारले भारतीय विज्ञान संस्थानलाई जिम्मेवारी दियो । मानवीय कल्पनाको क्षमताभन्दा टाढा विशाल शून्यमा रहेको सत्यलाई यथार्थमा समेट्ने परिश्रमले नै मानव सभ्यताको विमान उडिरहेछ । समय र समाजका सिमानालाई विस्तारित गरिदिने लहर यस्तै खोजीको गर्विलो इतिहास हो । प्रकाशित : माघ ४, २०७६ १०:४१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टुटेको नागरिक—नेतृत्व संवाद

टीका ढकाल

प्रतिस्पर्धात्मक संसदीय गणतन्त्र, संघीय स्वरुपको राज्य, स्रोत भएका स्थानीय तह, महिला सहभागिता, समावेशिता जस्ता धेरै प्रगतिशील व्यवस्था समेटेर नेपालको संविधानले कोरेको राजनीतिक मध्यमार्गको गोरेटो चार वर्ष नपुग्दै चुनौतीको नयाँ घेराभित्र उभिएको देखिँंदैछ । विस्तृत शान्ति सम्झौतापछिको एक दशक लामो संक्रमणकालीन राजनीतिक परिदृश्यसँग विश्वका धेरै लोकतान्त्रिक मुलुकमा अभ्यास गरिएको उदार लोकतन्त्रका अनुभवसमेत मिसाएर नयाँ संविधानमार्फत लोकतान्त्रिक मध्यमार्गको स्वरूप रेखांकित गरियो ।

एकातर्फ जातीय स्वरूपका संघीय इकाइ स्थापना गर्न अधिकतम राजनीतिक परिचालन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति, स्थानीय सरकारलाई अधीनमा राखेर प्रदेशले चलाउने बिचौलिया संघीयता र अर्कोतर्फ त्यसको प्रतिक्रियामा हिन्दु धार्मिक अधिराज्य खोज्ने दुई खालका ‘अति’को बीचबाट संविधानसभाले आजको व्यवस्था रचना गरेको हो ।

यसका पक्ष वा विपक्षमा अनेक तर्क गर्न नसकिने होइनन् । विगत चार वर्षमा स्थिर हुँदै गएको जस्तो देखिने राजनीतिक प्रणालीमाथि अहिले आइपरेको सबैभन्दा ठूलो चुनौतीचाहिँं नागरिक र नेतृत्व बीचको संवादहीनता तथा बढ्दो दूरी हो । अहिलेसम्म राजनीतिले सम्बोधन गर्नसक्ने तहमै रहेको संवादहीनताको स्वरूप राजनीति अकर्मण्य हुँदै जाँदा झन् बढ्दै जानेछ । यसको अन्तिम बिसौनीले फेरि नयाँ राजनीतिक करारसम्मको माग गर्न सक्छ । अहिले किनारामा देखिने संविधान संशोधन वा व्यवस्था पुनर्लेखनको आवाज एउटा यस्तै माग हो ।

चुनौती नभएको प्रणाली हुँदैन वा चुनौतीसँग जुध्ने क्षमताले मात्रै कुनै पनि राजनीतिक व्यवस्थालाई दिगोपनको जगमा उभ्याउँछ । हतियारलाई साध्य बनाउने एउटा माओवादी समूह र हिन्दु राज्यको पुनःस्थापना चाहने अर्को दक्षिणपन्थी कित्ताबाट यस मध्यमार्गलाई भत्काएर उनीहरूकै कल्पना अनुसारको प्रणाली स्थापित गर्ने प्रयास पनि चलिरहेकै छ, जसको सीमा र क्षमताबारे नेपाली समाज तथा सरकार जानकार छन् । यो कुनै ठूलो खतरा होइन । राजनीतिक मध्यमार्गमाथि आज देखिएको प्रमुख चुनौती व्यवस्था भित्रबाटै छ, बाहिरबाट होइन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय भनिएका अन्य राजनीतिक दलको नेतृत्व आर्थिक अपारदर्शिताको टापुमा बसेर जनतासँग निरन्तर टाढिँदै जाने क्रम अहिले संस्थागत भइरहेको छ । नेतृत्वले कार्यकर्ताबाट सामन्ती स्तरको बफादारी खोज्ने, आफ्ना पार्टीका संगठनलाई विचारविहीन जत्थामा परिणत गर्ने र संगठन बाहिरबाट आउने अपेक्षाकृत सन्तुलनलाई खारेज गर्ने परिपाटी सबैजसो दलमा मौलाएको छ । सत्तामा बसेको होस् वा प्रतिपक्षी दल, नागरिकसँग संवाद गर्ने पहिलो माध्यम उसको संगठन हो । त्यसबाट परिचालित हुने जनसम्पर्कसँग स्वतन्त्र रूपमा आउने विचारलाई एक ठाउँ मिसाएर आफ्नो बाटो तय गर्ने नेतृत्वले संवादको प्रभावकारी माध्यम भेट्न सक्छ । कुनै पनि दलले यस्तो संवादको खोजी गर्ने सामान्य चिन्तनसमेत गरेको देखिँदैन ।

उदार लोकतन्त्रले मात्र होइन, सीमित संख्यामा रहेका ‘रेजिमेन्टेड’ प्रणालीले पनि नागरिकसँगको निरन्तर संवादको उपाय अपनाउँछन् । दरबारको चौघेरामा बस्ने राजाहरू कुनै बेला ‘देश–दर्शन’का लागि निस्कनुलाई ठूलो काम मानिन्थ्यो । राजा ज्ञानेन्द्रको सन्दर्भमा त्यसले काम गरेन । लोकतान्त्रिक भारतमा पाँच वर्षअघि प्रभावकारी संवादकर्ताका रूपमा उदाएका मोदीको राजनीतिक छवि उनको सरकारले ल्याएका पछिल्ला कानुनका कारण अनुदार बनिरहेको छ । तैपनि उनी नागरिकसँग संवाद गर्ने नयाँ उपाय खोजिरहेका देखिन्छन् । चीनमा त कम्युनिस्ट पार्टीको उपल्लो तहमा बस्ने नगरदेखि केन्द्रसम्मका करिब पाँच लाखभन्दा बढी नेताका लागि जनताको बीचमा जानु, श्रम गर्नु, नियमित कक्षा लिनु अनिवार्य बनाइएको छ । भेनेजुएलामा निकोलस मदुरोको सरकार त्यत्रो ठूलो विद्रोह तथा आर्थिक संकट सामना गरेर यतिन्जेल टिक्न सक्नुमा त्यहाँका जनतासँग उनको सरकार र पार्टीको निरन्तर सम्पर्क नै प्रमुख हो । नेपालमा भने आजको सरकार, सत्तारुढ पार्टी होस् वा प्रतिपक्ष, जनतासँग जोडिने काममा कसैको रुचि देखिंँदैन । जनता केवल भोट मागिने अमूर्त समूह भएको छ र राजनीतिक नेतृत्वचाहिंँ धुरीमा बसेर भाषण सुनाउने हुल । लोकतान्त्रिक व्यवस्थाले खोज्ने सिर्जनशील, सौहार्दपूर्ण संवाद हराएको छ ।

राष्ट्रहरू किन असफल हुन्छन् (ह्वाई नेसन्स फेल) का लेखकद्वय डारोन असिमोग्लु र जेम्स रबिन्सनले नयाँ अर्थ–राजनीतिक अनुसन्धानमार्फत हालसालै अर्को पुस्तक लेखेका छन्— न्यारो कोरिडोर (साँघुरो गल्ली) । यसमा उनीहरूको प्रमुख सैद्धान्तिक प्रस्तावना छ— नागरिक र सरकारबीच संवैधानिक सीमाभित्र अनवरत चलिरहने प्रतिस्पर्धाले स्वतन्त्रताको रक्षा गर्दै कुनै पनि राष्ट्रलाई प्रगतिको बाटोमा डोर्‍याउँछ । अघिल्लो पुस्तकमा लोकतान्त्रिक र समावेशी संस्थालाई उदार लोकतन्त्रको प्रमुख आधार मानेका उनीहरू सभ्यताको इतिहासदेखि आजसम्म उपलब्ध अनेक प्रमाणका आधारमा थप तर्क दिन्छन्— समाज र सरकारबीच संविधानको दायराभित्र चल्ने स्वाभाविक संवादसहितको प्रतिस्पर्धाले नागरिक स्वतन्त्रताको ‘साँघुरो गल्ली’ निर्माण गर्छ, जसलाई जोगाएर मात्रै सहिष्णु लोकतन्त्र बचाउन सकिन्छ । मानव सभ्यताको विकास क्रममा प्राचीन ग्रीसदेखि आजका सबैजसो देशले यस्तो प्रक्रिया बेहोरेका छन् भन्ने तथ्यलाई उनीहरूले आनुभाविक अध्ययनद्वारा सिद्ध गरेका छन् । त्यो साँघुरो गल्ली अर्थात् ‘न्यारो कोरिडोर’ नै आजको लोकतान्त्रिक मध्यमार्ग हो ।

हरेक राष्ट्रमा समाज र सरकारबीच नागरिक अधिकारको दायराउपर निरन्तर प्रतिस्पर्धा चलिरहेको हुन्छ । यस प्रतिस्पर्धाको शाश्वत नियमचाहिँं के हो भने सरकारको प्रवृत्ति नियन्त्रण उन्मुख हुन्छ, किनकि वैधानिक शक्तिको अभ्यास गर्ने उसलाई शक्तिशाली नागरिक चुनौती लाग्छन् । बलियो नागरिकले जस्तोसुकै बलियो सरकार फाल्न सक्छ, त्यसैले एकपटक शक्तिको स्वाद चाख्न पाएको नेतृत्व जुनसुकै हालतमा आफ्नो शक्ति कायम राख्न चाहन्छ । यसका लागि नागरिकको संगठित हुने दायरालाई सीमित गर्नु सबैभन्दा सजिलो बाटो हो । समाजचाहिंँ नागरिक अधिकारको क्षितिजलाई सकेसम्म फैलाउन चाहन्छ । सरकारसँगै शक्ति अभ्यास गर्ने राजनीतिक दलको नेतृत्वसम्म पनि यही आधारभूत चरित्र विस्तार हुन्छ ।

अराजकता रोक्न तथा बलियोबाट कमजोरलाई बचाउन समाजलाई सरकार चाहिन्छ । आफ्नो वैधानिकता कायम राख्न सरकारलाई समाज चाहिन्छ । कुनै पनि समाज आफैं भ्रष्ट हुनसक्छ । तर समाजकै वैधानिकतालाई चुनौती दिने उपक्रम राजनीतिशास्त्र वा समाजशास्त्रले पत्ता लगाएको छैन । जबकि सरकारचाहिंँ सधैं नागरिक सदाशयको जगमा टिकेको हुन्छ । नेपालकै इतिहासमा यस्तो क्रम सत्तरी वर्षयता अनेकपटक दोहोरिएको छ । सरकार र नागरिक बीचको सम्बन्धलाई परिभाषित गर्ने सम्झौताको दस्तावेज अर्थात् संविधान यसैले सातपटक लेखिनुपरेको हो । जनताका प्रतिनिधिले लेखेको पहिलो संविधानमात्रै चार वर्षअघि जारी भएको हो ।

यहीँनेर धेरैले बिर्सन थालिसकेको, तर बारम्बार सम्झाइरहनुपर्ने एउटा तथ्य छ । यस संविधानको जगका रूपमा रहेको बाह्रबुँदे सम्झौताको सातौँ बुँदामा भनिएको थियो— सात राजनीतिक दलहरू विगतमा सरकार तथा संसद सञ्चालन गर्ने क्रममा गरेका गल्ती–कमजोरीको आत्ममूल्यांकन र स्वआलोचना गर्दै भविष्यमा त्यस्ता गल्ती–कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्छन् । नेपालको राजनीतिक इतिहासमा सत्ता उपभोग गरिसकेका शक्तिहरूले आफ्ना विगतका कमजोरी स्वीकारेर तिनलाई आइन्दा नदोहोर्‍याउने वाचा लिखित रूपमा गरिएको यो विरलै उदाहरण हो । दोस्रो दिल्ली सम्झौताका रूपमा भारतलाई मध्यस्थ बनाएर गरिएको सम्झौता हुनाले यसको आलोचना प्रशस्तै गर्न सकिन्छ । एउटा पक्षलाई यसको उल्लेखसम्म पनि राजनीतिक रूपमा गलत लाग्न सक्छ । तर यो बुँदा जनतासँग टुटेको संवाद स्थापित गर्न राजनीतिक दलहरूले अपनाएको एउटा तरिका थियो ।

सात दल र माओवादीमाथि राजाको शासनले वर्षाउने सम्भावित कहरबाट जोगिन सम्झौताको स्थानका रूपमा दिल्ली र सम्झौताको मध्यस्थका रूपमा तत्कालीन भारत सरकारलाई रोज्ने सजिलो बाटो तत्कालीन दलहरूले लिए, जसको राजनीतिक सन्देशउपर कालान्तरमा प्रश्न उठ्ने सम्भावनाप्रति उनीहरूले त्यसबेला आँखा चिम्लिदिए । तर त्यो सम्झौतालाई स्वीकार्दै पार गरिएको राजनीतिक यात्रालाई अब उही बिन्दुमा पुगेर फेरि सुरु गर्न सम्भव छैन । प्रश्न चाहिँं के हो भने नेपाली समाजलाई विश्वासमा लिन विगतका गल्ती नदोहोर्‍याउने प्रण गरेका राजनीतिक दलले त्यो वाचा कायम राखेका छन् त ? यो प्रश्न वर्तमान संविधानले निर्धारण गरेको स्थायित्वको बाटोसँग अन्तरसम्बन्धित छ ।

राजनीतिक दलहरूले जनताका सामुन्ने निकै निहुरिएर ‘गल्ती सुधार्ने’ लिखित प्रण किन गर्नुपर्‍यो भने राजाको प्रत्यक्ष शासनको विपक्षमा जनता परिचालन गर्न खोजे पनि तत्काल सडकमा ठूलो जनसमूह ओर्लिएन । ५२ सालदेखि सरकार र संसदमा भित्रिएको भ्रष्टाचारको चाङले राजनीतिको साख यति कमजोर बनाएको थियो कि ०४७ सालको संविधानद्वारा गरिएको राजनीतिक करारलाई एक कदम अघि बढेर नवीकरण नगरेसम्म समाजले तिनै राजनीतिक दललाई पत्याउन सकिरहेको थिएन । गल्ती स्वीकार्ने वाचाले करार नवीकृत हुने निश्चय भएपछि मात्र नागरिक सडकमा ओर्लिए ।

माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरेर दिगो शान्ति स्थापना गर्ने परिणाममा पुग्नु त्यस आन्दोलनको अर्को पक्ष थियो । आज शान्ति स्थापना भएर राजनीतिक दल र जनताका बीचमा नयाँ करार सम्पन्न त भएको छ, तर राजनीतिमा देखिएको स्खलनचाहिँ ०५२ सालदेखि ०५८ सालभन्दा निम्नकोटीको छ । त्यसैले शान्ति स्थापना गरिएको मूल्यमा राजनीतिक आदर्शको अधोपतनलाई नागरिकले सहनुपर्ने कुनै बाध्यता छैन । विश्वसनीय विकल्प दृष्टिगोचर हुनासाथ आजको शक्ति सन्तुलनमा उथल–पुथल आउन सक्ने राजनीतिक ‘अन्डरकरेन्ट’ यसैकारण पनि विकसित भैरहेको देखिन्छ । तत्काललाई कांग्रेस र कम्युनिस्ट पार्टीहरू नै एकअर्काका विकल्प हुन् । नागरिकसँग उनीहरूको दूरी तथा निरन्तरको मूल्य स्खलनले चाहिँ समाजलाई नयाँ करारतिर लगेरै छाड्छ । यस्तो ध्रुवीकरण रोकेर संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मध्यमार्गलाई बलियो बनाउन सरकार र प्रतिपक्षले आफ्ना आलोचकसँग पनि निरन्तर औपचारिक र अनौपचारिक संवाद गरिरहनुपर्छ । यो आजको प्रमुख राजनीतिक कार्यभार हो । पार्टीको संगठनबाट प्रवाहित हुने जनसम्पर्क र पार्टी बाहिरबाट आउन सक्ने स्वतन्त्र विचारको संयोजनबाट मात्र लोकतन्त्र प्रभावकारी हुनसक्छ भन्ने चेतना कांग्रेस र कम्युनिस्टको नेतृत्वलाई आउनुपर्छ ।

twitter : @TikaDhakaa

प्रकाशित : पुस २३, २०७६ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×