रण–हारको प्रत्यक्ष बयान

डा. महेशराज पन्त

पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले भक्तपुर जितेको ३ महीना पनि नपुग्दै त्यही साल फाल्गुनकृष्ण एकादशीको दिन उनका दरबारिया कवि ललितावल्लभले त्यस विजयलाई मूल विषयवस्तु बनाई ‘भक्तविजयकाव्य’ लेखेकाले गोरखालीले भक्तपुरविजयलाई ठूलो ठानेको देखिन्छ ।

ZenTravel

हुन पनि हो, भक्तपुरविजय भएपछि पृथ्वीनारायण शाहको राज्यविस्तारको तेस्रो लक्ष्य पूरा भएको थियो । त्यो युद्ध प्रत्यक्ष देखेका, भक्तपुरका अन्तिम राजा रणजित् मल्ल (वि.सं. १७५९–१८२८, राज्यकाल वि.सं. १७७९–१८२६) का आप्त सेवक गरुडनारायण गोंगलले ‘भक्तविजयकाव्य’ रचिएको २० वर्षपछि भक्तपुरविजयको विवरण लेख्नु संयोग मात्र होइन जस्तो मलाई लाग्छ ।

गरुडनारायणले लेखेको यो विवरण सबभन्दा पहिले छत्रबहादुर कायस्थ (वि.सं. १९९९ मा जन्म) बाट वि.सं. २०५५ मा प्रकाशमा आयो (‘स्व. गरुडनारायण ग्वंगल, जुजु रणजीत मल्लया काशीवास’, ‘ज्वलान्हायकं’, ७ अङ्क, ने.सं. १०९८, ३७–४६ पृ.) । त्यहाँ ‘अनुवादक’ भनी छत्रबहादुरको नाउँ दिइएकोले उनले भाषान्तरबाट नेवारीमा उल्था गरेको देखिन्छ । यसको ५ वर्षपछि देविचन्द्र श्रेष्ठ (वि.सं. १९९५ मा जन्म) बाट गरुडनारायणको त्यही विवरणको विषयमा एउटा लेख प्रकाशमा आयो (‘पृथ्वीनारायण शाहको भक्तपुरमाथि हमला : आँखाले देखेको बयान’, ‘पृथ्वीजयन्ती–२०६० स्मारिका’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, १६–२२ पृ.) । त्यस लेखबाट यो विवरण नेपालीमा लेखिएको रहेछ भन्ने स्पष्ट भयो र छत्रबहादुरले नेपालीबाट नेवारीमा उल्था गरेको ठहरियो ।

Meroghar

नेपाली मसीजीवीहरूमा आफ्नो विशिष्ट पहिचान बनाएका देविचन्द्रको नवीनतम कृति ‘भक्तपुरमा गोर्खाली हमला— गरुडनारायण गोंगलको सम्झना’ (जगदम्बा प्रकाशन, ललितपुर, २०७६) १० सेन्टिमीटर चौडा र २५३ सेन्टिमीटर लम्बा नेपाली कागजमा लेखी बेरेर राखिएको, गरुडनारायण गोंगलको यही विवरणको सम्पादन हो । वि.सं. १८२६ मा भक्तपुरमा हमला भएदेखि वि.सं. १८२८ मा रणजित् मल्ल परलोक भएसम्मको कुरा परेको, गरुडनारायणको यस कृतिमा प्रसंगवश ने.सं. ९०९ तदनुसार वि.सं. १८४६ को पनि चर्चा आएकोले यो पुस्तक पछि लेखिएको हो भन्ने देखियो । नेवार राजाका सेवक, नेवार गरुडनारायणले यो विवरण नेवारीमा नलेखी किन नेपालीमा लेखे भन्ने प्रश्न यहाँनिर उठ्छ । पछि गरुडनारायणको प्रवेश गोरखाली राजाको दरबारमा भएको त मलाई थाहा छैन, उनका छोरा हृदयरत्न भने जङ्गबहादुर (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३) को पालामा सुब्बा पदमा विराजमान देखिएकाले गरुडनारायण नै गोरखाली दरबारमा भित्रिइसकेका थिए कि भनी अनुमान गर्न मन लाग्छ ।

भक्तपुरमा युद्ध हुँदा पृथ्वीनारायणसँगै भाइसमेतका प्रतापसिंह पनि थिए भनी ‘भक्तविजयकाव्य’ मा लेखिएकोले (५४–५५ श्लोक) बहादुर शाह पनि त्यहाँ पुगेको देखिन्छ । त्यस बेला प्रतापसिंह (वि.सं. १८०६–१८३४) को उमेर २० वर्ष र बहादुर शाह (वि.सं. १८१४–१८५४) को भने १२ वर्ष मात्र थियो । गरुडनारायणले यो विवरण तयार पार्दा गद्दीमा रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५) भए पनि हालीमुहाली भने उनका काका बहादुर शाहको भएकोले बालककालमा त्यो युद्ध देखेका बहादुर शाहको लागि त्यस युद्धको विवरण नेवारीभाषी गरुडनारायणले नेपालीमा तयार गरेको हुनुपर्छ जस्तो मलाई लाग्छ ।

यस पुस्तिकाका मुखपृष्ठमा देविचन्द्र श्रेष्ठको नाउँअगाडि ‘सम्पादक’ नभनी ‘ग्रन्थ’ लेखिएकोले ‘सम्पादक’लाई ‘ग्रन्थकार’ भनिने इच्छा भएको, भनिहाल्न भने अप्ठ्यारो परेको जस्तो लाग्छ । ‘प्रकाशकीय’मा भने देविचन्द्रलाई स्पष्टै ‘ग्रन्थकार’ लेखिएको कुरा यहाँनिर भन्नुपर्छ । हाम्रो यतातिर स्वतन्त्र ग्रन्थलाई माथिल्लो ठानी त्यस्तो ग्रन्थलाई ‘मौलिक’ भनेर त्यस्तो पुस्तकको बढी मानमनितो गर्ने र प्राचीन ग्रन्थको विवेचना गरी त्यो प्रस्तुत गर्ने सम्पादकलाई भने त्यति सम्मान नदिने परिपाटी बसेको देखिएकोले तथा सम्पादित ग्रन्थलाई पारितोषिकले अलंकृत गर्न पनि संकोच मानिने हुनाले ‘ग्रन्थ’ शब्दले काम चलाइएको हुनुपर्छ ।

क्राउन अक्टाभो साइजमा ८९ पृष्ठ भएको यस पुस्तिकामा ४ पृष्ठ सम्पादकको ‘प्राक्कथन’ ले (५–८ पृ.) र यसपछिको १ पृष्ठ ‘प्रकाशकीय’ ले ओगटेको छ (९ पृ.) । त्यसपछिका ४९ पृष्ठमा ‘ऐतिहासिक छलफल’ (११–५९ पृ.) फैलिएको छ । त्यसपछिका १४ पृष्ठमा मूलपाठ (६१–७४ पृ.) अनि १४ पृष्ठ (७५–८८ पृ.)मा मूल पुस्तकको फ्याक्सिमिलि दिइएको छ । सबभन्दा पछिल्लो पृष्ठमा ‘नेपालभाषा प्रभावित शब्दहरूको सूची’ (८९ पृ.) दिई यो पुस्तिका टुङ्ग्याइएको छ ।
‘राणाकालमा नेपाल एकीकरणको इतिहास अध्ययन समेत अगाडि बढ्नै दिइएन । नेपाल बाहिर भने यस प्रकारको अध्ययन रोक्न सकिने अवस्था थिएन । त्यसैले रामनगर (पटना) तथा वनारसमा केही काम भएका छन्’ (५ पृ.) भनी ‘प्राक्कथन’ मा लेखिएकोले कुन कृतितर्फ यो संकेत गरिएको हो भनी खोतल्नुपरेको छ ।

वि.सं. १९७९ मा प्रकाशित अम्बिकाप्रसाद उपाध्याय (वि.सं. १९५१ तिर–१९८६ पछि) को ‘नेपालको इतिहास’ को पहिलो संस्करण त मैले देखेको छैन, वि.सं. १९८६ मा प्रकाशित दोस्रो संस्करण अर्थात् ‘नेपालको इतिहास र (रामनगरको इतिहास)’ मा प्रकाशकमा ‘पण्डित देवीप्रसाद उपाध्याय, रामापुरा बनारस’ र ग्रन्थकारको ठेगाना दिँदा ‘रामापुरा, काशी ‘बनारस’ तथा ग्रन्थकार बितिसकेपछि वि.सं. २००४ मा प्रकाशित तेस्रो किंवा अन्तिम संस्करणमा प्रकाशकमा ‘राजेश्वरीप्रसाद उपाध्याय, सिंहा लाइब्रेरी रोड, पटना’ लेखिएकोले यो संकेत अम्बिकाप्रसादको इतिहासतर्फ हो जस्तो मलाई लाग्छ । अम्बिकाप्रसादको इतिहासमा पृथ्वीनारायणको विषयमा विशेष कुरा केही छैन, त्यो त्यति लामो पनि छैन । उता, वि.सं. २००४ मा प्रकाशित तोत्रराज पाण्डेय (वि.सं. १९६७–२०१४) र नयराज पन्त (वि.सं. १९७०–२०५९)को ‘नेपालको संक्षिप्त इतिहास’ मा पृथ्वीनारायणको विषयमा कता हो कता बढी लेखिएको छ । अर्को शब्दमा भन्नुपर्दा, अम्बिकाप्रसादको इतिहासमा भन्दा ८ गुना बढी त्यहाँ लेखिएको छ र अन्त अन्त अप्रकाशित नयाँ नयाँ कुरा पनि त्यहाँ निकै छन् । त्यो पुस्तक काशीमा प्रकाशित भए पनि त्यसको रचना राणाशासनमा नेपालमै भएको हो र राणाशासनमै सरकारी विद्यालयमा पाठ्यपुस्तकको रूपमा त्यो पढाइएको पनि हो । यस कारण बाहिर लेखिएको अम्बिकाप्रसादको इतिहास अघि सारी नेपालको एकीकरणको इतिहासको खोजी राणाशासनले गर्दा नै हुन सकेन भनिहाल्नु त्यति उपयुक्त हुँदैन कि !

गोरखाले तनहुँ राज्य जितेपछि तनहुँले राजा आफूले मुगल बादशाहलाई तिरो तिरी हकभोग गर्दै आएको, चम्पारन जिल्लामा पर्ने रामनगरका केही तप्पामा अधिकार कायम राखी त्यहाँका राजा भई बसे । त्यो राज्य पुस्तानपुस्ता कायम रह्यो । तनहुँको भगौडा राजवंशकै पछि लागी रामनगर पुगेका पौडेलवंशका देवीप्रसाद उपाध्याय रामनगर राज्यका भित्रिया हुन पुगेका थिए । यी कुरा राम्ररी नबुझ्दा ती स्थाननामलाई घोलमेल गरी ‘रामनगर (पटना) तथा वनारस’ भनी ‘प्राक्कथन’ मा लेखिएको देखिन्छ ।

गोरखा राज्य चौबीसीमा नगनिने हुनाले त्यसलाई देविचन्द्रको भाषामा ‘नेपाल मण्डल’ को अर्थात् मेरो भाषामा ‘नेवारराज्य’ को ‘चोइटो स्वरूप ‘गोर्खा’ (७–८ पृ.) भनी गरिएको उत्प्रेक्षा पचाउन गाह्रो छ । किनभने, नेवारराज्य परापूर्वकालदेखि पश्चिमतर्फ नुवाकोटमा सीमित थियो र नुवाकोट नेवारराज्यको पश्चिमी द्वारको रूपमा रहेको हुँदा नेवार राजाहरू नुवाकोटसम्म राज्य कायम गर्न सकेकोमा गर्व गर्थे । त्यसमाथि, काठमाडौँखाल्डोमा राजधानी भएका ३ नेवारराज्यभन्दा गोरखा राज्य भाषा र संस्कार इत्यादिले गर्दा भिन्न प्रकृतिको थियो भन्ने कुराको पनि हामीले हेक्का राख्नुपर्छ ।

गरुडनारायणले लखेको विवरणभन्दा ३ गुनाभन्दा पनि बढी पृष्ठको ‘ऐतिहासिक छलफल’ भएकोले यसलाई ‘उपोद्घात’ शब्दले संज्ञित गर्न सकिन्छ । सम्पादकले मिहिनेत गरी थरीथरीका दृष्टिले यस विवरणको विवेचना गरेकाले धेरै कुरा स्पष्ट भए पनि केही कुरा अझै अनुसन्धेय छन् । यस विवरण र यसको विषयमा सम्पादकले गरेको विवेचनाको पूरापूर परीक्षा यस पत्रिकामा स्थानाभाव र मेरो समयाभावले गर्दा सम्भव छैन । यसैले, सरसरी हेर्दा मनमा लागेको कुराको चर्चा गरेको छु ।

‘ललितावल्लभको काव्यले गोंगलको संस्मरण अध्ययन गर्न खास केही सहयोग पुर्‍याउँदैन’ (५३ पृ.) भनी सम्पादकले भने पनि भक्तपुरविजयलाई विषयवस्तु बनाएर लेखिएका २ कृतिको तुलनात्मक परिशीलन हुनु जरूरी छ । काव्य भएकोले ‘भक्तविजयकाव्य’ मा कल्पनाको उडान हुनु स्वाभाविक भए पनि भुसबाट कनिका छाने जस्तै गरी त्यसबाट इतिहास निकाल्न सकिन्छ र गरुडनारायणको विवरणसँग त्यसको तुलना हुन सक्छ । जयप्रकाश मल्ल बित्दा ‘भीत्र्यानि १ सती गयीन्’ (६७ पृ., १०२ पङ्क्ति) भनी लेखिएकोमा ‘भक्तविजयकाव्य’ मा भने ‘स्त्रीयुगल’ अर्थात् २ स्त्री सती गएको (५८ श्लोक) भनी लेखिएको त्यसको एउटा दृष्टान्त हो ।

वंशावलीमा आश्विनवदि ११ रोज ५ मा ललितपुरविजय भएको भनी लेखिएको र त्यस मितिको सत्यापन पनि पञ्चाङ्गगणनाद्वारा भएकोले गरुडनारायणको यस विवरणमा भने ‘उहापछि भाद्र वदि १३ दिन् पछि पाटन् सहर पनि फुट्यो र श्रीतेज मल्ल राजा पनि भागेर भादगाउ पाउ लाग्नु भयो’ (६२ पृ., २५–२६ पङ्क्ति) भनी गरुडनारायणले लेखेकोमा ललितपुरका राजा तेजनरसिंह मल्लले भक्तपुरमा शरण पर्न आएको दिन ‘भाद्र वदि १३’ नभई ‘आश्विन वदि १३’ हुनुपर्ने हो भनी सम्पादकले टिप्पणी गरेका छन् (२१ पृ.) । वंशावलीमा ललितपुरविजयको मिति पूर्णान्तमानअनुसार दिइएको र गरुडनारायणले चाहिँ नेवारहरूले अमान्तमानअनुसार, मिति दिने हुनाले यो अन्तर देखिएको हो । यस कारण सम्पादकले भने जस्तो यसमा महीना बिरिएको छैन, कालमानपद्धति मात्र फरक परेको हो ।

यस विवरणमा रणजित्का ३ छोरा डाटिह्म जुजु, धन जुजु, र मेल् डाटिको चर्चा आएको छ । यी ३ छोरा उनका ७ जना मठ्याहा छोराहरूमध्येका हुन् भन्ने सम्पादकको ठहर्‍याइ छ । सम्पादकले डाटिह्म जुजुको औपचारिक नाउँ अच्युतसिंह र धन जुजुको चाहिँ धनसिंह हो भनी लेखेका छन् (४५ पृ.) ।

गूठीका कागजातबाट ने.सं. ८६८ मा अच्युतसिंहले तलेजुमा चाँदीको केतकीपत्र चढाएको बुझिन्छ (नेपाल–जर्मन हस्तलिखितग्रन्थसंरक्षणपरियोजनाको माइक्रोफिल्म के ३८१।१) । त्यस्ता कागजातमा धनसिंहको चर्चा नआए पनि अजितसिंह (के ३८१।१, ३८८।१३, ३८८।१७, ३८०।६८), उपेन्द्रसिंह (के ३८८।१३) र अवधूतसिंह (के ३८१।१) को चर्चा आएको छ । ने.सं. ८६८ को महाष्टमीको दिन रणजित्, जयलक्ष्मी मैजु र अजितसिंहले तलेजुमा मुकुट अर्पण गरेको देखिएको छ (के ३८८।१७) । यताबाट अजितसिंह जयलक्ष्मीतर्फका छोरा रहेछन् भन्ने देखिन्छ ।

भक्तपुर जितेपछि गोरखालीले नेल ठोकी राखेका आफ्ना छोराहरूलाई बन्धनमुक्त गरिदिने आग्रह काशीवास गर्न जान लाग्दा रणजित्ले गर्दा पृथ्वीनारायणले अस्वीकार गरेको कुरा यस विवरणमा छ । रणजित् बितेको ११ महीनापछि मात्र पृथ्वीनारायणले रणजित्का २ जना छोरा र जुवाइँसँग सलामी कर लिई उनीहरूको अचल सम्पत्ति थामिदिएका थिए
(महेशराज पन्त, ‘पृथ्वीनारायण शाहका, अहिलेसम्म प्रकाशमा नआएका तीनवटा लालमोहर’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, १७ पृ.) । वि.सं. १८२६ फागुनमै लेखिसकिएको ‘भक्तविजयकाव्य’मा भने रणजित्लाई काशीवास पठाइसकेपछि पृथ्वीनारायणले चाहिँदो कर दिएर रणजित्का छोरानातिहरूको घरखेत र सम्पत्ति फिर्ता दिएको कुरा छ (१००–१०१ श्लोक) । यताबाट लालमोहर पछि भए पनि रणजित्लाई काशीवास पठाएको लगत्तैजसो उनका सन्तानको घरबार सलामी लिई फिर्ता दिएको देखिएको छ ।

यस विवरणको प्रस्तुतीकरण सम्पादकले पाठालोचनात्मक रीतिले गर्न खोजेको प्रशंसनीय छ । त्यसमाथि, अक्षर टुट्दा मूलपाठमा काकपद दिई दुइटा पङ्क्तिको बीचमा थपिएका त्यस्ता अक्षर मूलपाठमा यसै गरी थपिएकोले यो नयाँ प्रयोग यहाँ गरिएको छ । पहिले लेखिएको अक्षर हटाउनुपर्दा मूलमा यस्तो धर्को हाली हटाएकोमा मूलपाठमा पनि यही हूबहू उतारिनु अर्को नयाँ प्रयोग हो । यसरी मूलको यथारूप प्रस्तुतीकरणमा जोड दिइँदा दिइँदै पनि मूलमा ठाउँठाउँमा हटाउनुपर्ने अक्षरमा मसी दलेको कुरा भने यहाँ खुलाइएको छैन ।

कहीँ कहीँ पाठालोचनका सबै नियमको पालना नभएको पनि देखाउन सकिन्छ । उदाहरणको लागि, मूलमा नष्ट भइसकेका अङ्क वा अक्षर यहाँ प्रसंगानुरोधले यस्तो कोष्ठभित्र राखिएको छ । तर, मूलमा टुटेको अक्षर पनि यस्तै कोष्ठमा राखिएकोले फ्याक्सिमिलि नहेरेसम्म कागज नष्ट भई गएको अक्षर हो कि, लेख्नेले नै छुटाएको हो भन्ने स्पष्ट हुँदैन (उदाहरणको लागि, ६८ पृ., ११६ पङ्क्ति) । मूलमा भएको पाठ यथावद् राखी संशोधित पाठ पनि यही कोष्ठ भित्र राखिएकोले अझ भ्रम पर्न गएको छ (६६ पृ., ८१ पङ्क्ति) । कुनै अक्षर वा अक्षरका मात्रा हटाउनुपर्दा तेर्सो मसिनो धर्को दिई हटाउने चलन पनि प्राचीन लेखपद्धतिमा छ (महेशराज पन्त, ‘जातरूप’ज् कमेन्टरि अन् दि अमरकोष’ १ भाग, दिल्ली, मोतीलाल बनारसीदास, सन् २०००) । मूलपाठमा अघिबाट ‘छोड्योछन्’ (९० पङ्क्ति) लेखिएकोमा त्यसमा पछिबाट एकलख खारिज गर्न त्यसमाथि दुइटा धर्को दिएको नबुझ्दा पाठ दिँदा ‘छोड्योछन्’ (६७ पृ., ९० पङ्क्ति) नै छापिएको छ ।

मूलको उतार सम्पादकबाट पङ्क्ति पङ्क्ति छुट्ट्याई राम्रोसँग गरिएको छ तापनि अझै सावधान भई उतार गर्नुपर्ने देखिन्छ । सबभन्दा पहिलो वाक्यमा ‘गुरवे’ नै ‘गुरूवे’ भई छापिएको छ । ह्रस्व भएकोमा दीर्घ— ‘गरि’को ठाउँमा ‘गरी’, ‘तिन्लाइ’ को ठाउँ ‘तिन्लाई’— हलन्त भएकोमा अजन्त— ‘इन्लाइ’ को ठाउँमा ‘इनलाइ’, ‘मुल्चोक्’ को ठाउँमा ‘मूल चोक’, ‘पाटन्’को ठाउँमा ‘पाटन’, ‘रात्’ को ठाउँमा ‘रात’— शिरबिन्दु नभएकोमा शिरबिन्दु— ‘इटाछे’ को ठाउँमा ‘इटाछें’— ‘र’ को ठाउँमा ‘ल’— ‘तरवार’ को ठाउँमा ‘तलवाल’— चन्द्रबिन्दु नभएकोमा चन्द्रबिन्दु— ‘ज्यूदै’को ठाउँमा ‘ज्यूँदै’— चन्द्रबिन्दु भएकोमा चन्द्रबिन्दु छोडेको— ‘हुँडा’ को ठाउँमा ‘हुडा’— ‘स’को ठाउँमा ‘श’ ‘साहेव’को ठाउँमा ‘शाहेव’— रेफ छुटेकोमा कुनै सूचना नदिई रेफ थपेको — ‘हजूमा’को ठाउँमा ‘हजूर्मा’— हलन्तको ठाउँमा संयुक्ताक्षर— ‘भत्काई’ को ठाउँमा ‘भत्काई’— अनुस्वारमा विपर्यय— ‘भंनुभयो’ को ठाउँमा ‘भनुं भयो’ । यी सब यथारूप नउतारिएकाका केही दृष्टान्त हुन् ।

हामीकहाँ चलेको देवनागरी लिपिमा केही काल अघिसम्म पनि ‘व’ लेखी त्यसको मुनि थोपा दिए ‘व’ उच्चारण गर्ने र ‘व’ अक्षरमा केही थपथाप नगरे ‘ब’ उच्चारण गर्ने चलन थियो । त्यसैले सावाँ अक्षर चिनाउँदा ‘तलथोप्ली व’ भनी पढाउने चलन थियो । मूलपाठ उतार्दा जहाँ जहाँ तल थोपा छैन, त्यसको उच्चारण ‘ब’ गर्ने र थोपा हुँदा ‘व’ भनी उतार्ने चलन छ, तर ‘व’बाट उठ्ने संस्कृत शब्द आयो भने त्यस अक्षरमा थोप्ला नभए पनि ‘व’ नै पढ्ने चलन छ । यहाँ मूलपाठ दिँदा एकनासले ‘व’ लेखिएकोले पाठालोचनको सिद्धान्तबाट यो पाठ पर गएको देखिन्छ ।

प्रूफको अशुद्धि त्यति नभए पनि ‘ब’ र ‘व’को खयाल नराख्दा विन्दु, दरवार, वनारस, प्रतिविम्व, चौविसी, वहादुर, दोस्रो वाजि, वाधक, विहिबार, वितेपछिको, वयान, वूढा राजा, वागी, वन्दोवस्त, व्रम्हनाल, बज्रखाल, जवावी जस्ता वर्णविन्यास ठाउँठाउँमा भेट्टिन्छन् । ‘श’ र ‘स’को छ्यानविचार नगर्दा एउटै शब्द कहीँ ‘शूरप्रताप’ र कहीँ ‘सूरप्रताप’ भई छापिएको छ । संस्कृतभाषामा त्यति अधिकार नभएर होला, प्रशय, भश्म, सक्षम, प्रसंगवस, पदच्यूत, पुनर्स्थापित, तत्व, व्यतित, मौन रहनु, सविस्तार उल्लेख, संसामयिक जस्ता वर्णविन्यास पनि यहाँ परेका छन् । भक्तपुरका अन्तिम राजाको नाउँ यहाँ सर्वत्र ‘रणजित’ छापिएकोले ‘लडाइँ जित्ने’ अर्थमा रहेको मूल शब्द ‘रणजित्’को अर्थविपर्यय भई ‘लडाइँमा जितिएको’ अर्थमा परिणत हुन गएको छ ।

प्रकाशित : माघ ४, २०७६ १०:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’

सरिता तिवारी

द सेकेन्ड सेक्स !‘सेक्स’ शब्दको सार्वजनिक उच्चारणसम्म गर्न पनि डराउँथें । भाषाको शाब्दिक अर्थ मात्रै बुझ्ने हुस्सु तर म मात्रै रहेनछु, पछि थाहा पाएँ । त्यस्तो बेला यस्तो विस्फोटक शब्द भएको किताब लेख्ने लेखकबारे झनै उदेकको धारणा सुनेकी हुँ सुरुमै । लेखक नै थिए ती जो उनलाई— छाडा, अराजक, नारी–मुक्ति आन्दोलनविरोधी, ‘तथाकथित’ नारीवादी... मार्क्सवादविरोधी आदि भन्थे ।

तिनलाई लेखक के भन्नु ! चिन्तनको दारिद्र्य र पूर्वाग्रहको जालोले पुरिएका दुःखी मनुष्य थिए ती । तर, म तिनैको संगतमा थिएँ । धन्न त्यो संगतदेखि समयमै उछिट्टिने संजोगहरू जुरे र म ‘विचरा’ को अलिकति भए पनि उद्धार हुन सम्भव भयो ।

पोखरा बस्थें त्यतिखेर । पहिलोपल्ट यिनको नाम त्यहीँ सुनें । कविता लेख्न खुबै रौसिने ! दिनकै चार पाँचोटा कविता लेख्दिने उद्दामको ऊर्जा थियो । लेखेपछि पायक मिल्दो, आफूले जाने–चिनेको सुनाउने ठाउँ थियो मासिक ‘समता काव्य सन्ध्या’ । महिना दिनसम्ममा कविताहरू उरुङ लागेका हुन्थे । कुन सुनाऊँ ? आफूले लेखेका हरेक कविता ‘खतरा’ लाग्ने कम्ता मीठो हुन्थेन त्यो भ्रम ! बल्लतल्ल छाँटेर कविहरूको अघिल्तिर एउटा मात्रै कविता सुनाउँदा पनि ‘बाफ रे’ लाग्थ्यो । किनभने कार्यक्रमको अन्त्यमा कुनै अग्रज कविले कविताको समीक्षा गर्ने चलन थियो । स्थापित कविहरूका कविताको मोडेल हेर्दै कविता फुराउने ढंग सिकिरहेको फुच्चे मान्छे म । प्रायः प्रशंसा पाउँथें । त्यसले दिने हौसलाले ज्यान प्वाँख हुन्थ्यो ।

त्यस्तै कुनै एक साँझ एक पाका कविले मन्चबाट भने, ‘हामीलाई विश्वास छ, हाम्रै बीचबाट पारिजात जन्मिनेछन् । तसलिमा नसरिन जन्मिनेछन् । सिमोन द बुभा जन्मिने छन्... !’ मुटु ढक्क फुल्यो । कत्रा कत्रा मान्छेका नाम ! सुन्दै जीउमा काँडा उम्रिने ! डर लाग्ने !

अघिल्ला दुई मैले पहिल्यै सुनेका र अलि–अलि पढिसकेका लेखकका नाम थिए । तेस्रो नामबारे मलाई केही थाहापत्तो थिएन । थाहा पाउन अहिलेजस्तो इन्टरनेट र गुगल सर्चको सुविधा पनि थिएन । न त ठ्याक्कै त्यही सामग्री भेटिने किताब पाइन्थे कतै । वा पाइने नै भए पनि त्यस्ता ठाउँसम्म मेरो पहुँच थिएन । त्यतिबेला मैले अधिकांशतः पढ्ने ठाउँ पीएन क्याम्पस परिसरभित्रको क्षेत्रीय पुस्तकालय थियो । अब्बल र पठनीय किताबहरू वर्षौंसम्म गायब हुने नियतिले ग्रस्त अरू धेरै पुस्तकालयजस्तै थियो यो पनि । त्यसैले जब खास कुरा जान्नु र बुझ्नु छ, आफ्नै प्रयासले जुगाड गर्नुपर्ने हुन्थ्यो ।

कार्यक्रम सकिएर निस्कने बेला कुनै ‘स्वयम्घोषित’ प्रगतिशील लेखक महोदयलाई सोध्दी भएँ, सिमोन द बुभा चिन्नुहुन्छ ? – अँ ! ओहो ! लौ गज्जब । यी सज्जनबाट ज्ञानदानको कृपा बर्सिने निश्चित थियो । किनभने अरू केही विषयमा पनि यिनी मेरो ज्ञानका ‘अजस्र स्रोत’ रहिसकेका थिए ।

त्यसपछि महोदय भट्याउन थाले र म पूरै आज्ञाकारी मुद्रामा सुन्न । सिमोनबारे माथि पेस गरिएका विशेषण दिने व्यक्ति उनै थिए । तिनले अर्तीको लयमा के–के कारणले अराजकता बेठीक कुरा हो र नारीवाद एनजीओको मात्रै मुद्दा हो भनेर पनि अर्थ्याए । सिमोन कम्युनिस्टविरोधी हुन् पनि भने । यी तिनै व्यक्ति थिए, जसले पछि कुनै एक प्रसंगमा भने, ‘...हेर्नुस् बैनी जत्ति जे भने पनि विद्या भण्डारीलाई आफ्ना पतिको पाइन्ट धुँदा जुन आत्मीयता र आनन्द ‘फिल’ हुन्थ्यो त्यस्तो अनुभूति चुनाव जितेर सांसद, मन्त्री जेसुकै भए पनि हुन सक्दैन !’ फरक–फरक समयमा तिनले भनेका यी दुइटा कुराले मलाई तिरिमिरी झ्याईं बनायो ।

तैट, सोच ! त्यसपछि न यिनी मेरा ज्ञानका स्रोत रहे न मैले आफूलाई यिनको आसपास नै पुग्न दिएँ । प्रसंगवश, कुनै दिन एक युवा लेखकसँग सोधें, ‘दाइ सिमोन द बुभाको किताब छ तपाईंसँग ?’ तिनले छ भनेनन् । नभएरै होला । तर, ‘भव्य’ जानकारी भने दिए— फ्रान्सकी अस्तित्ववादी, नारीवादी विचारक । नारीवादको बाइबल भनिने प्रख्यात किताब ‘द सेकेन्ड सेक्स’ की आँटिली लेखक । विवाह, सन्तान, वैध सम्बन्ध सबै कुरालाई चुनौती दिने अद्भुत महिला । बिहे गरिनन् तर कुनै लेखकसँग आजीवन सम्बन्धमा बसिन् । आदि ।

यिनको व्यक्तित्वका तिलस्मी आख्यान सुन्दा औडाहा छुट्थ्यो तर कतैबाट किताबको जुगाड भएन । यस्तो लेखकको किताब पढ्ने म कहिले हुँला भन्दाभन्दै जिन्दगीको अन्ध–कालीन एक दशक बित्यो । भनेको रहेछ, ‘सेकेन्ड सेक्स’ अर्थात् दोस्रो लिंग ! प्राथमिक होइन त्यसको परिपूरक । कर्ता (सब्जेक्ट) होइन कर्ताद्वारा चलायमान वस्तु (अब्जेक्ट) । बुभा भन्छिन्, ‘अब्जेक्ट’ ले जबजब ‘सब्जेक्ट’ बन्ने कोसिस गर्छे, उसले हिंसा र दमनको सिकार हुनुपर्छ । शारीरिक, मानसिक, बौद्धिक सबै स्तरको हिंसा ! सबै स्तरको दमन ! संघर्ष र कोलाहलको बीचबाट पनि जब नारीहरू परम्परालाई पछाडि छोड्दै, आफू जकडिएका सीमा तोड्दै निस्कन्छन्, कर्ता या सब्जेक्ट बन्ने बाटो खुल्दै जान्छ । यसरी पुरुषलाई मूल र महिलालाई अर्को (अन्य) मान्ने भाष्यमाथि प्रश्न गर्ने सिलसिलामा महिनौंका अनुसन्धान, अध्ययन र निष्कर्षको एकमुष्ठ उत्पादन थियो, ‘द सेकेन्ड सेक्स’ । संसारमै पहिलोपल्ट कुनै (महिला) लेखकले विलक्षण आँट र जोखिम उठाएर गरेको युगान्तकारी कार्य । ऐतिहासिक, भौतिक, दार्शनिक, जैविक दृष्टिले सर्वाधिक वैज्ञानिकता र विश्वसनीयताका साथ गरेको उद्घोष !

किताबमा भनिएको छ, ‘स्त्री जन्मिन्न, बनाइन्छे । इतिहासले, साहित्य–जीवविज्ञान–मनोविश्लेषण आदि जम्मैका परम्पराले स्त्रीत्वका असंगत मिथकहरू बुन्दै–बुन्दै आएका छन् । त्यसको चाबीले नै स्त्रीत्वको मापदण्ड निर्माण गर्छ ।’
स्त्रीत्वका निर्धारित सर्तअनुकूल हुनु नै स्त्री हुनु हो भन्ने निर्मित सत्यलाई फड्किएर स्त्रीको विपुल र स्वतन्त्र मानवीय अस्तित्वको खोजी बुभाको निजी र लेखकीय दुवै व्यक्तित्वको साझा गुण हो । छिरोलिएको टुक्राटुक्रा र अपरिचयको, अनस्तित्वको बिरानो वस्तुसदृश अधीनस्थ (अन्य) स्थितिबाट–एउटा पूर्ण मानवको । एकतित्र र सग्लो परिचयको । (महिला) व्यक्ति स्वयम्ले छनोट गरेको नैसर्गिक (मूल) जिन्दगीतर्फको यात्रा बुभाले तय गरेको विचारको यात्रा थियो । वरणको यात्रा पनि यही थियो ।

उनले भनिन्, शरीर वस्तु होइन स्थिति हो । उनले स्त्रीको शान्तिप्रिय, सहनशील, पराधीन र तल्लो दर्जाको परम्परित स्थितिको खण्डनमा तमाम मिथकीय र जीवशास्त्रीय झूटहरूका विरुद्ध प्रामाणिक भाषामा बोलिन् । त्यति मात्रै होइन, नारी मुक्तिको प्रश्नमा कम्युनिस्ट शासनपद्धतिका कपटविरुद्ध हाकाहाकी चुनौती दिएर भनिन्, तिमीहरू पनि झूटा हौ !
बीसौं शताब्दीको मध्यान्तरपछि संसारले धमाका सुन्ने गरी प्रकट भएकी यी दबङ् लेखकलाई कम्युनिस्ट साहित्य र समीक्षाले किन दुत्कार्थ्यो भन्ने कुराको चुरो यहीं छ । मेरा ती सज्जनले कुनै बेला मलाई सिमोन किन म्युनिस्टविरोधी हुन् भनेर सिकाए भन्ने कुराको पोयो पनि यहीँनेर खुल्छ । उनले तत्कालीन सोभियत रुसको उदाहरण दिएर किटेरै भनेकी छन्— महिलाको मुक्ति समाजवादमा पनि सम्भव रहेनछ । लेनिनकालमा बनेका महिलामैत्री कानुन उल्ट्याएर मातृत्व र परिवार रक्षाका नाममा जसरी निषेधका कानुन ल्याइए, त्यसले महिलालाई पुरुष कमरेडका कफी–सर्भरभन्दा बढी नबनाएको उनको भनाइ अहिले नेपाली कम्युनिस्ट आन्दोलनमै पनि चरितार्थ भइरहेको छ ।

धेरैजसो ‘कम्युनिस्ट’ लेखकहरूलाई सिमोन किन बिझाउँछिन् भन्ने कुरा हिजो–आज आएर म थाहा पाउँदै छु । दुराग्रहको वमन गर्न कोष्ठकभित्र जे–जे शब्द राखेर चिनाइए पनि सिमोन नारी–मुक्ति आन्दोलनकी सानदार नाम हुन्, जो जीवनका पछिल्ला दशकमा फ्रान्सेली महिला मुक्ति संगठनकी अध्यक्षसमेत थिइन् । आजीवन ‘लेफ्ट’ धारामा प्रवाहित यिनी संसारभरका ‘लेफ्ट–विङ्’ बाटै लखेटिइन् । उनको जन्मथलो फ्रान्स र उनका वैचारिक मित्रगण समाजवादी देशमा भन्दा पुँजीवादी अमेरिकामा उनी ज्यादा पढिइन् । यसलाई विडम्बना भन्ने कि संयोग ?

संसारका एक से एक दार्शनिकहरू जन्मेको देशमा जन्मिइन् सिमोन द बुभा । प्रबोधन र प्रयोगको उद्गमभूमिमा जन्मिइन् । फ्रान्सेली क्रान्ति, पेरिस कम्युनदेखि अनेक वाद र संवादले विश्वलाई वैचारिक नेतृत्व गरिरहेको देशमा जन्मिइन् । स्वतन्त्रता र समानताको जाग्रत सपना वायुझैं स्वस्फूर्त उनीभित्र सास भएर पस्यो । विचार र धारणाहरूको निर्बन्ध ‘डाइलेक्टिक्स’ उनी उभिएको माटोमै उपलब्ध थियो । त्यसैको सुगन्धमा मुक्त पन्छीझैं विभोर भएर बाँचिन् उनी सम्झौताहीन आफ्नै सर्तको जिन्दगी ।

सन् १९०८ जनवरी ९ को जन्म । धनाढ्य परिवारमा जन्मिए पनि दिनानुदिन खस्कँदो आर्थिक अवस्थाले पुर्ख्यौली ध्वाँस व्यवस्थापन गरिरहनुपर्ने उनको परिवार विस्तारै टाट हुँदै थियो । बा र आमा पटक्कै नमिल्ने । बाआमाबीचको अन्तहीन घर्षणमय सम्बन्धले दिएको एक्लोपन र कल्पनाशीलताले आफूलाई ‘बौद्धिक’ बन्ने मार्गतिर सोझ्याएको बयान उनले ‘मेमायर्स अफ ड्युटिफुल डटर’ मा गरेकी छन् ।

व्यक्ति आफू आफैं बन्दैन । व्यक्ति स्वयम्भू होइन । उसका विचार र बाटो भौतिक परिस्थितिले निर्माण गर्छन् । तर, त्यसको गतिशीलता र रूपान्तरणको सर्त भने ब्यक्तिको हातमा हुन्छ । उनको किशोरकालको भयावह एकान्त र विचलनका साथी किताब मात्रै थिए । उनले यति पढिन्, यति पढिन् कि त्यो देखेर परिवारका मान्छेहरू आत्तिन्थे । उनको निरन्तर मुखर गतिशीलताका सारथि तिनै किताबहरूले निर्माण गरेका विचार थिए । किताबमाथिको उनको लगनले हेगेल, लाइबनित्जजस्ता दार्शनिकको गहिरो प्रभाव मात्रै दिएन, जिन ज्याक मर्ली, सार्त्र, क्लाउड लेवी स्ट्रसजस्ता उम्दा विचारकको मित्र पनि बनायो ।

सिमोन पितृसत्ताका तमाम यान्त्रिकीलाई हाकाहाकी चुनौती दिएर उन्मुक्त बाँचेकी साहसी व्यक्ति हुन् विवाह, प्रेम, यौनसम्बन्ध, गर्भपतनजस्ता मान्यतामाथि प्रहार गरेर उनले अन्य वा अब्जेक्ट हुनुको नियतिबाट आफूलाई अलग्गै राखिन् । आफ्नै मर्जीले प्रेम गरिन् र छुट्टिइन् तर हरेक प्रेम र शारीरिक सम्बन्धमाथि बकाइदा गौरव मात्रै गरिनन् आफ्ना उपन्यास र संस्मरणमा पनि तिनको जीवन्त अभिलेख पनि राखिदिइन् ।

प्रख्यात अस्तित्ववादी लेखक जाँ पल सार्त्र १९२९ देखि मृत्युपर्यन्त (१९८१ सम्म) उनका अनन्य ‘पार्टनर’ रहे । उनीहरू एकअर्काका मेन्टर, एकअर्काका पूरक रहे तर दुवैले निजी छनोटको स्वतन्त्रतालाई सम्मान पनि गरिरहे । यसबीचमा सार्त्र र सिमोन दुवै आआफ्ना प्रेमीसँग ‘लिभ इन रिलेसन’ मा पनि बसे । सार्त्रबाहेक सिमोनका दुई प्रेमी थिए— अमेरिकी लेखक नेल्सन एल्ग्रिन र फ्रान्सेली फिल्ममेकर क्लाउज लन्जम्यान । कतिपय आलोचक अहिले पनि एल्ग्रिनसँगको सम्बन्धको खुला बयान र उनलाई सिमोनले लेखेको विवादास्पद चिठीका आधारमा उनको नारीवादी अडानको धज्जी उडाउँछन् । तर, मूल कुरा कुन क्षणमा उनीभित्र परम्परित स्त्रीत्व सग्बगाएर उनलाई सम्हालिन हम्मे पर्‍यो भन्ने होइन, उनको अथक साधनाका कारण संसारले के पायो भन्ने हो ।

‘द सेकेन्ड सेक्स’ उनको खास परिचायक हो । तर, उनलाई प्रसिद्धि दिलाउने अन्य किताब र कामहरू पनि छन् । उनले अढाई दर्जन जति किताब लेखिन्, प्रायः उपन्यास र निबन्ध । तीमध्ये ‘द ब्लड अफ अदर्स’, ‘द मेन्डरिज’, ‘एथिक्स अफ एम्बिग्युटी’ लगायतको चर्चा बढी सुनिन्छ । उनका संस्मरणात्मक कृतिहरू धेरै नै विवादग्रस्त हुन पुगे । चारवटा संस्मरण कृतिमध्ये ‘द प्राइम अफ लाइफ’ सर्वाधिक आलोचित र विवादग्रस्त किताब हो । आफ्ना निजी र यौन जीवनबारे निर्धक्कसँग खुलेर बयान गर्ने उनको हक्की शैली जीवनकालका पछिल्ला किताबमा पनि कायम देखिन्छ । त्यसको उदाहरण १९७० मा लिखित वृद्धावस्थामाथिको गहिरो विश्लेषण ‘ओल्ड एज’ र फ्रान्समा गर्भपतन कानुन ल्याउन दबाबस्वरूप १९७१ मा लेखिएको ‘मेनिफेस्टो अफ थ्री फोर थ्री’ मा भेटिन्छ । सार्त्रलगायत उनका प्रियजनहरू एक–एक गर्दै उनलाई छोडेर गए । जीवनका अन्तिम वर्षहरूमा पनि लेखन पठनमा निमग्न सिमोन संसारभरका स्त्री बौद्धिकहरूका लागि गतिशील चेतना, निडर लेखन र घर्षणमय ‘बोल्ड’ जिन्दगीकी साझा गुरु हुन् । अँध्यारो समयमा, स्त्री लेखक हुनुका समस्त असुविधा र दुःखमा, स्त्री भएकैले खप्नुपर्ने छुद्र आलोचना, प्रहार र ‘बुलिइङ’ का क्षणमा सिमोन निरन्तर उज्यालो फ्याँकिरहने लाइट हाउस हुन् ।


जनवरी सिमोनको जन्ममास हो । अठहत्तर वर्षको आयु बाँचेर १९८६ अप्रिल १४ का दिन बितेकी उनी सच्चा क्रान्तिकारी, सच्चा साम्यवादी हुन् । उनले हिँडेको बाटो सजिलो त छैन तर अस्तित्वको चोटले, नाम अनाम हिंसाको डहनले, परिचयको कठोर प्रश्नले लखेटिएका संसारभरिका स्त्रीहरूले हिँड्नुपर्नेछ—वस्तु (अब्जेक्ट) देखि कर्ता (सब्जेक्ट) सम्मको त्यस्तै कठोर बाटो । सिमोन द बुभालाई विनम्र नमन !

प्रकाशित : माघ ४, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×