‘शोले’ एक ‘क्लासिक’ लोकेसन [तस्बिरहरु]

विकास रौनियार

‘शोले’ सम्झँदा म पुराना दिनतिर बरालिन्छु । त्यो फिल्म हेर्न हामीले व्यापक प्रतीक्षा गर्नुपरेको थियो । नेपालमा धर्मेन्द्र अघोषित ब्यान्ड थिए । त्यसैले शोले हेर्न धेरै दर्शक रक्सौल पुग्नुपरेको थियो ।

ZenTravel

त्यस समय सबैभन्दा बढी चलेको फिल्म हो यो । यस फिल्मका सानाभन्दा साना घटना–विषय विश्वविख्यात छन् । सन् १९७५ मा रिलिज भएको ‘शोले’ हामीले सन् १९८४–८५ तिर बल्ल काठमाडौंमा हेर्न पायौं— भिडियो सेट आएपछि, मखन टोलको अँध्यारो गल्लीभित्र, थोत्रो सुकुलमा ठेलमठेल गर्दै ।

हालै दक्षिण भारतको बैंगलोर पुगें । तत्क्षण अनुपमा चोपराको किताब ‘शोले द मेकिङ अफ अ क्लासिक’ सम्झिएँ । सँगै सम्झना भयो— शोले छायांकन बैंगलोरनजिकै गाउँमा भएको थियो । त्यस ठाउँबारे जानकार ड्राइभरलाई साथै लिएर करिब ५५ किलोमिटर पर रामनगरम्, कर्णाटक पुगेँ । रामनगरम् फिल्ममा रामगढको रूपमा चित्रित छ ।

Meroghar

प्रख्यात निर्देशक रमेश सिप्पीले निर्देशन गरेको शोलेमा सञ्जीव कुमार, धर्मेन्द्र, हेमा मालिनी, जया भादुरी, अमिताभ बच्चनलगायतले अभिनय गरेका छन् । त्यो ठाउँ पुग्नु मेरो सौभाग्य थियो ।

त्यहाँ घुम्न आएका धेरै मानिस शोलेकै कुनै गीत गाइरहेका थिए । त्यसकै संवाद बोलिरहेका थिए । शोलेकै कुनै दृश्यको पोजमा तस्विर खिचाउँदै थिए । ‘ए दोस्ती हम नही छोडेंगे,’ ‘अरे ओ शाम्भा कितने आदमी थे !’– यस्ता संवाद यो लेकोसनमा व्यापक सुन्न पाइन्थ्यो । शोले फिल्मको हिरो वा हिरोइनको पोज दिएर तस्बिर खिच्नेमा त्यहाँ घुम्न आएका सुल्तान मिर्जा पनि थिए । उनी ठूलो स्वरमा शोले–संवाद बोल्दै थिए । अहिले पनि त्यहाँ स्थानीय गाउँले भेटिन्छन्, जसले शोलेको छायांकन हेरेका थिए । कसरी अमिताभ बच्चनले घोडा दौडाएका थिए, कसरी फाइट–सिन सुटिङ भएको थियो– गाउँलेहरू रुचिसाथ सुनाउँछन् । शोलेका धेरै प्रशंसक यहाँ घुम्न आउँछन् ।


प्रकाशित : माघ ४, २०७६ १०:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विरोधाभासको इन्द्रजालमा सिनेमा–बहस

मनोजबाबु पन्त

बीसौं सदीको मध्यतिरको कुरा हो, जुन बेला जुग महान युद्ध लड्न व्यस्त थियो, जवान आत्माहरूको लासको पसारो लगाएर सभ्यता गजबको गाथा लेखिरहेथ्यो इतिहासमा । ठीक त्यसैबेला, आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन थालेको सिनेमा भने आफ्नै अस्तित्व संकटको अप्ठ्यारो युद्ध लडिरहेको थियो ।

अन्य विधाहरूको कोपभाजनको ठेड्कोमा सिनेमा भन्ने जिनिस आफ्नो स्वतन्त्र अस्तित्व गुमाउने हैसियतमा पुगिसकेको थियो । आफ्नो मौलिक सौन्दर्य निर्माण गर्न खोज्दै गर्दा सिनेमाले कथा, उपन्यास र नाटकबाट यति धेरै खजाना सापटी माग्यो कि, सिनेमाको स्वरूप खिचिएको नाटकजस्तो अथवा देखिने कथाजस्तो मात्र बनिदियो ।


खण्डहरहरूमा बेस्वादसँग दुःखी–मरेका लासहरूको पसारो लगाएर महान युद्ध सुस्ताएको थियो । तिनै तबंगलाहरूमा घोत्लिएर ध्यान गर्दागर्दै, कला साहित्य र दर्शनमा मानवीय अस्तित्वका गम्भीर प्रश्नहरू थल्थलाएका थिए । त्यसै बेलातिर सिनेपारखीहरूले भने सिनेमाको मियो समाउन खोजे र एउटा स्वतन्त्र कलाको रूपमा यसको अस्तित्वका रूपरेखा निर्माण गर्न खोजे । फ्रंसुवा त्रुफोले फ्रेन्च सिनेमाहरूलाई गाली गर्दै लेखेको एउटा लामो लेखले फ्रेन्च सिने जगत् थर्कमान भएथ्यो । उनले बनिरहेका साबिकका सिनेमालाई ठाडो गाली गरे । किताबबाट सारेर सिनेमा निर्माण गर्ने फ्रेन्च सिने–परम्पराले सिर्जना गरेको गम्भीर संकट औंल्याए । कथा, उपन्यासमा पहिल्यै लेखिसकिएका आरोह–अवरोहहरू सिनेमाको रूपमा आउँदा, सिनेमाको अस्तित्व सधैँ साहित्यको भरिया मात्रै भइदियो भन्ने उनको आरोप थियो । अझ गम्भीर आरोप के थियो भने लेखनीको भाषाबाट दृश्य भाषामा आउँदा कति अवयवहरू बाटोमै छुटिजान्थे । किताबको अथाह सागरभित्र थोरै प्रतिशत मात्र सिनेम्याटिक सम्भावनाका संकेतहरू रहन्थ्यो । अतः सिनेमा एउटा यस्तो भरियाझैं थियो, जो आफैं विकलांग छ । तर, डोकोभरि ठेलमठेल कथा–कथनीको भारी बोकेर अँध्यारो बाटोमा सकीनसकी घस्रिरहेछ ।

सिनेमामा एउटा छुट्टै कलाको रूपमा आफ्नै संकेतहरू छन् कि छैनन् ? कथा, उपन्यास, नाटक र पेन्टिङका मसला मोलेर पाक्ने स्वादे क्वाँटी मात्रै पो हो कि अथवा अन्य कलामा नभेटिएका संकेतहरू सिनेमाको भाषाले बोल्छन् ? फ्रेन्च नवलहरसँग जोडिँदै पश्चिम दिशाका मुलुकमा सिनेमा सौन्दर्यका संकेतहरू उत्खनन हुने प्रयास निरन्तर थियो ।

सिनेमा दृश्यविधा भएकाले चित्रकलासँग स्वभावैले गाँसिएको थियो । चरित्र र नाटकीय उल्झनहरूको प्रस्तुतीकरण गर्दा ऊ नाटकको कोड्सहरूसँग अछुतो रहन सक्ने थिएन । अनि कथ्यको निर्माण गर्दै जाँदा कथा–उपन्यासको परम्परालाई अनुसरण गर्नु नै थियो । स्वाभाविक रूपमा यी विधाहरू सिनेमामा टाँसिएका छन् । तर, यी प्रभासँगसँगै सिनेमासँगको आफ्नै निरपेक्ष संकेतहरू के थिए ? जुन उसको निजी स्वभाव थियो ।

अन्य विधाका प्रभाबले प्रदूषित भएर भ्रमित बनेको सिनेमा कलालाई आफ्नो स्वतन्त्र अस्तित्व पत्ता लगाउने एउटा गजबको जुक्ति के थियो भने सिनेमाको माध्यममा अन्य विधाबाट घुस्न आएका तत्त्वहरूलाई हटाएर हेर्दा जे बाँकी रहन्छ त्यही नै शुद्ध सिनेमाको निजी स्वरूप हो । यसरी आजभन्दा पचास वर्षअघि आफ्नै स्वतन्त्र सौन्दर्यका मानकहरूसहित, सिनेमा सातौं कलाको रूपमा आफ्नो निजी अस्तित्व अजमाउन लागिपरेको थियो । ठीक त्यसै बेलातिर हाम्रो मुलुकमा भने कनीकुथी बल्ल–बल्ल सिनेमाले जन्म लिएथ्यो ।

स्थापनाको स्वर्ण जयन्ती मनाईवरी यहाँसम्म आइपुग्दा, हाम्रो सिनेमाको भाषाले सिनेमा सौन्दर्यमा सचेत हुनु त परको कुरा, विदेशी प्रभावमा पिल्सिएर आफ्नो मौलिक स्वरूप निर्माण गर्नसमेत सकेको छैन । स्थापनाकालदेखि नै भारतीय मूलधारे सूत्रहरूले देखाइदिएको चिप्लो बाटोमा लड्दै–पड्दै यहाँसम्म आइपुगेको सिनेमाको स्वरूपमा हाम्रो आफ्नो भन्ने धेरै सामग्री छैनन् । जन्मको पचास वर्षपछि आएर बल्ल आज–भोलि सिनेमाको मौलिकतालाई लिएर एकाध गम्भीर चिन्तनका मूल फुट्न थालेका छन् ।

सिनेमाको स्वतन्त्र सौन्दर्यबोधको बहसझैं मौलिक नेपाली सिनेमाको बहस पनि थुप्रै विरोधाभासका इन्द्रजालहरूले घेरिएका छन् । यो बहसमा पनि अलमलको जालो चिर्न एउटा जुक्ति निकाल्नुपरेको छ । हाम्रो सिनेमाको सौन्दर्यमा ठेलिएका विदेशी घिसिपिटी सूत्रलाई एकफेर सर्लक्क निकालेर हेर्दा जे–जति कुरा बाँकी रहन्छन्, त्यही नै हाम्रो निजी सिनेमाका मानक बन्न सक्ला । तर, डर के भने, सबै प्रभावबाट मुक्त गर्दा हाम्रो सिनेमामा केही पो बाँकी नरहला कि अथवा जे बाँकी रहला, त्यो सिनेमा नभएर अन्य कुनै जिनिसको थुप्रो पो रहला कि !

यहाँनेर एउटा बलियो विरोधाभासले झ्याप्प डेरा जमाउने उत्तिकै खतरा छ । सिनेमा आफैँमा अन्तर्राष्ट्रिय भाषा हो । यसको सौन्दर्यबोधलाई राजनीतिक सिमानाले छुट्याउनु उक्तिसंगत हो या होइन ? सम्भ्रान्त राष्ट्रहरूमा सिनेमाले जगजगी फैलाएको धेरै वर्षपछि मात्रै हामीले सिनेमाको स्वाद चाख्यौं । धेरै परबाट समुद्रहरू पार गरेर भारतीय सिनेमाले सिकेका बाचाकीका संस्कारहरू, खुला सिमा हुँदै हाम्रोतिर आइपुगे । एउटा यस्तो जिनिस, जो हामीभन्दा धेरै पर जन्मियो, उतै हुर्कियो, आफ्नो लोकप्रियताको जालो फिजिँदै हाम्रो दैलोसम्म आइपुग्यो, यो सुदूरदेखि आएको विदेशी मालमा हामिले हाम्रो मौलिकता खोज्नु नै मूर्खता हो भन्ने एकथरी अर्धसिल्ली तर्कहरू बजारतिर रग्मगाइरहेका भेटिन्छन् ।

यो तर्कभित्र लुकेको ध्रुवसत्य के हो भने, सिनेमा बन्नको लागि चाहिने केही आधारभूत अवयबहरू हुन्छन्, जुन संसारको जुन कुनामा पनि उस्तै हुन्छन् । जुनसुकै भूगोल, राष्ट्र र संस्कृतिले पनि ती आधारभूत तत्त्व छुटाउन सक्दैनन् । अनि अलिक गहिरिएर हेर्दा मानवीय संवेदनाका आकार पनि संसारभरि, मान्छे बाँचेका ठाउँमा उस्तै रहन्छ । त्यसैले त हामीहरू ल्याटिन अमेरिकाको कुनामा बुनिएको मान्छेको कथा सुनेर दक्षिण एसियाको कुनामा करुणा उमार्छौं । स्पष्ट छ— सिनेमाको भाषा मानवीय संवेदनाको सञ्चार गरिहिँड्ने विश्वब्यापी भाषा हो । यो अलमलको माखेसाङ्लोले सिनेमाको मौलिकताको ओझ कम भयो कि झैँ देखिन्छ । तर, चुरो कुरो कहाँ छ भने निश्चित आधारभूत संकेतहरू र साझा मानवीय संवेगहरू प्रस्तुत हुने तौरतरिकाचाहिँ राष्ट्र, समाज र संस्कृतिपिच्छे आफ्नै शैलीगत आकारहरू हुन्छन् । हामी ती शैलीमा सचेत हुन सकेनौं भने हामीले भन्ने संवेदनाका यात्राहरू झूटा, जाली र उडन्ते भइदिन्छन् । सतहमै रुमल्लिएका हाम्रा संवेदनाका आरोहणहरू अन्तराष्ट्रिय सिनेमाका मञ्चहरूमा पुग्न सक्दैनन् । पुगिहाले भने पनि ती सिनेमाले हाम्रो पहिचानको किलो गाड्न सक्दैनन् ।

प्रत्येक कलाको सौन्दर्यमा केही आधारभूत संकेत हुन्छन् । ती संकेत शास्वत रहन्छन् । ती संकेतबिना त्यो भाषा जिउँदो रहन सक्दैन । सिनेमाका आधारभूत संकेत पनि विश्वव्यापी रूपमा अपरिवर्तनशील शाश्वत रहन्छन् । त्यसपछि ती संकेतलाई प्रयोग गर्ने शैलीहरू हुन्छन् । शैलीहरू भने बारम्बार निर्माण भैरहन्छन्, विनिर्माण भैरहन्छन् । क्रान्तिकारी रूपमा आउने कुनै ‘आँवा–गार्द’ प्रयोगहरू बिस्तारै सर्वस्वीकार्य शैलीको रूपमा स्थापित भइदिन्छ र यसरी नै कलाको उडान, शैलीको निरन्तर निर्माणमा लागिरहन्छ । जब शैलीहरूको अत्यासलाग्दो पुनरावृत्ति भइदिन्छ र निश्चित संरचनाभित्र फसिदिन्छन्— ती शैलीहरू सूत्रमा परिवर्तन भैदिन्छ । संसारका धेरै मूलधारे सिनेमाले यस्तै बासी सूत्रहरू हसुरेर सिनेमा घरहरूमा बान्ता गरिरहन्छन् ।

बलिउड भन्ने कोठी यस्तै सूत्रहरूको गोदाम थियो कुनै बेला । हाम्रो सिनेमाले त्यही गोदामबाट थुप्रै सूत्र पैंचो माग्यो, त्यही सूत्रको सुकुल ओच्छ्यायो । हाम्रा आफ्ना कथाहरूलाई त्यही सूत्रहरूको सुकुलमा बिसायो । हाम्रा जीवन भोगाइलाई पनि त्यहीँ बिसायो । हाम्रा संवेदनाका यात्रालाई पनि त्यहीं बिसायो । हामीहरू यी सूत्रहरूको हिप्नोसिसले यति धेरै अभ्यस्त भयौं कि यी बासी सूत्रबाहिर पनि सिनेमाको अस्तित्व छ भन्ने कल्पना पनि गर्न सकेनौं । कति मूलधारे सूत्रजीवीहरू कहिलेकाहीँ बन्न खोजेका सिनेमाको नवीन आयामलाई सिनेमा नै भएन भनेर खिसीटिउरी गर्ने गर्छन् । उनीहरूको बुझाइमा बासी सूत्रहरू नाठोसिएका सिनेमाहरू सिनेमाको परिभाषाभित्र पर्दैनन् । बलिउड यतिबेला आफैँ ती सूत्रको गोदामबाट बाहिर चियाइरहेछ । तर, हामीहरू गति हराएर विचलित छौं । हाम्रो सिनेमाको स्वरूप निर्माण गर्ने यात्रामा सबैभन्दा पहिले सूत्रीय यात्रालाई त्यागेर, शैलीगत यात्राको छलाङ लगाउनुपरेको छ । अनि शैली निर्माणको बाटोतर्फ लागिरहँदा केही आधारभूत मानकहरूमा गम्भीर चिन्तनको खाँचो छ ।

१. विषय उठान
सिनेमा सौन्दर्यको किरणलाई समीक्षाको प्रिज्ममा छिरिहेर्दा यसका ४ थान निर्धारक प्रस्ट हुन्छन् । १. सामाजिक–राजनैतिक २. भावनात्मक ३. शैलीगत ४. आर्थिक । यीमध्ये अघिल्ला दुई निर्धारक भने विषयको उठानसँग सम्बन्धित छन् ।

हामीहरूले सिनेमामा के वाचन गरिरहेका छौं ? ती विषय हाम्रो समाजसँग कति रेलिभेन्ट छन् ? हामीले उठाएका विषय सामाजिक चेतनाको प्रभावबाट प्रस्फुटित छन् कि छैनन् ? यदि आफ्नो सिर्जनाप्रति सर्जक इमानदार छ भने, उसले बाँचेको परिवेश र त्यसले दिएका प्रभावहरू स्वतःस्फूर्त उसका सिर्जनामा आइपुग्छन् । त्यसले प्रत्येक चेतनाको निजी कथा प्रस्फुटन गर्न थाल्छ । सर्जक चाहे जतिसुकै स्वैरकल्पनाको यात्रामा लागोस् अथवा वैयक्तिक स्वप्नयात्राको विम्ब खिचोस्, ती सबै स्वतन्त्र उडानको स्रोत आफ्ना परिवेशहरू नै हुन्छन् । सिनेमाको भाषा परिवेशबाट परेको प्रभाव र त्यसको वस्तुनिष्ठ प्रस्तुतीकरणको तालमेलले बनेको हुन्छ भनिन्छ । तर, जब एउटा सर्जक सिनेमाको विषय उठान गर्न विदेशी सिनेमाको डीभीडी चक्काहरू उठाउँछ, बाटो त्यहीँबाट बिग्रिन्छ । प्रभावहरूको इमानदार सिर्जनाको बाटो छोडेर बाहिरी सूत्रहरूले भरिएका कोठे न्यारेटिभका यात्रा सुरु हुन्छ । अनि हामी समाज–इतर एलियनका कथ्य बुन्न थाल्छौं । हाम्रा परिवेश र पात्रहरूचाहिँ विदेशी बासी सूत्र बोकी हिँड्ने खेताला मात्र भइदिन्छन् । सतहमा नै प्रदूषण बोकेर आउँछन् हाम्रो समाज र पात्रहरू ।

सामाजिक–राजनीतिक चेतनाबाट आफ्नो सिनेमाको विषय उठान गर्ने केही जब्बर सर्जकहरू पनि हाम्रो फ्याटर्निटीमा उपस्थित छन् । तर, सामाजिक मुद्दा मात्रै वकालत गर्न खोज्दा जीवन भोगाइका सूक्ष्म तहहरू कतै छुटेका छन् र कुनै राजनैतिक अगुवाझैं, सिनेकर्मी मुद्धावाचक हुनपुगेका छन् । आम–संचारमा झुल्किरहने सामाजिक मुद्धाहरू र कथावाचकले खोज्ने सामाजिक प्रभावहरूमा तात्विक भिन्नता रहन्छ । मिडिया सधैँ मुद्धा खोजिहिँड्छ । साधारण जीवनका सूक्ष्म निरीक्षण समाचारको विषय बन्न सक्दैन । समाचार बन्नका लागि विशेष घटनाहरू चाहिन्छन् । यतिबेला च्याउझैं उम्रेका कोठे मिडियाहरू ट्रेन्डिङको भूत सवार गरेर गल्ली–गल्लीमा बलात्कारीहरू खोज्दै हिँड्दै छन्, टोलटोलमा हत्याराहरू ढुकिरहन्छन् ।

यस्तो लाग्छ, हाम्रो परिवेश बाँच्नै नसक्ने गरी कहालीलाग्दो भइसकेको छ । त्यस्तै भुइँचालोपछि अत्यधिक सलबलाएका अन्तर्राष्ट्रिय संस्थाहरू डलर पचाउन गाउँगाउँ चहार्दै छन् र मान्छेहरूलाई जबर्जस्ती दुःखी–पीडित बनाइरहेछन् । पपाराजीहरूले सिर्जना गरेको सिउडो न्यारेटिभभित्र समाजको वास्तविक संवेदना कतै हराएको छ । इमानदार कथावाचकको रूपमा यो विचलनको बाटो सोझ्याउन सचेत सिनेकर्मीको चेतनाको खाँचो छ । विषय–उठान गर्दा बासी सूत्रहरूको लेपनलाई त्यागेर आफ्नो परिवेशको भोगाइको गहिराइबाट जब इमानदार न्यारेटिभ सिर्जना हुने संस्कार सुरु हुन्छ, हाम्रो सिनेमाको स्वरूपको पहिलो खुड्किलो त्यतिबेलै उक्लिन्छ ।

२. मानवीय अवस्था
हाम्रो सिनेमाको सूत्रीय परम्पराले सुरुआतदेखि नै अतिरञ्जित मानवीय संवेदनाको भल बगाइरहेछ । मानव–इतर आर्किटाइप्सको पसार छन् तर गुण र दोषसहितको खाँट्टी मान्छे हाम्रो सिनेमाको पर्दाबाट बेपत्ता छ । हाम्रो उद्यानको मूल ढोकामै टाँसिदिए हुन्छ, ‘मानिस हराएको सूचना ।’ भारतीय अति नाटकीयताको काखमा हुर्किएको हाम्रो सौन्दर्यचेतले अतिरञ्जित जीवन संवेगहरू छापिरह्यो निरन्तर । पुराना खद्दरका कपडाहरूले पेट उकासेर, अनुहारमा मोसो घसेर विकृत स्वरूपमा मान्छे हँसाउने मस्काराहरूले खनेको हाम्रो प्रदर्शनी कलाको बाटो, आजसम्म आइपुग्दा जीवनको स्वरूप खिच्न असफल छ । हाड–छालाभित्र, गुण–दोषसहित बाँचिरहेको मान्छेको मूल्य हामीलाई थाहा छैन । हाम्रा कल्पनामा केही थान एलियनहरू डेरा गरी बसेका छन् । ती एलियनका घिसीपिटी आरोह बारम्बार दोहोर्‍याउँदै हाम्रो कथ्यको महान् यात्रा निरन्तर छ ।

विश्वयुद्धको मार खाएर थलिएको जगतले पहिलोपटक जीवन–अस्तित्वको मूल्यलाई नजिकबाट छाम्न खोजेको थियो । युद्धले मारेका नौजवानहरूको सिनोको गन्ध अनि दुखेर छटपटाएका सुकुमारहरूको आर्तानादमा निसास्सिएको सभ्यताले जीवन कथाको मूल्य नजिकबाट बोध गरेको थियो । जीवनको सबैभन्दा भरपर्दो र सपाट प्रतिनिधि सिनेमा भइदियो । त्यसपछिको सिनेमाले उडन्ते देउता र परीहरूका कथाहरू कम भन्न थालेर मान्छेका भोगाइका इमानदार र अनन्त उडान भर्न थालेका थिए । जीवनलाई यति नजिकबाट छाम्न सक्ने सिनेमाको सम्भावनालाई हाम्रो सिने संस्कारले कहिल्यै बुझ्न खोजेन । केही सडेगलेका मसलाले लठ्ठिएर मन्दबुद्धिले खिपिएका हाम्रा कथ्यहरू मन्द–मन्द गतिमा वर्षौं यात्रा गर्दै यहाँसम्म आइपुगे ।

लगभग तीन दशकअघि प्रदर्शनीमा आएको ‘उजेली’ हाम्रो सिने संस्कारको संरचनाभन्दा फरक, नवीन आयाम बोकिआएको थियो । भलै यो स्वतन्त्र सिनेमा नभएर राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत थियो र यसको माध्यम सिनेमाको पर्दा नभएर टीभीको सिसा थियो । किन्तु वर्षौ लामो संस्कारले कोर्न नसकेको मानवीय अवस्थाको प्रतिच्छाया टीभीको सानो स्क्रिनमा देखिएको थियो । अतिनाटकीयताको रोगले ग्रसित नेपाली सिनेमाका लागि ‘उजेली’ ले पाठ सिकाएको थियो । तर, यो पाठ नेपाली सिनेमाले कहिल्यै सिकेन, सिक्नै चाहेन ।

५० को दशकमा केही बन्ने लहरहरू बौरिरहेका हुन्, यदाकदा ‘मुकुन्डो’ र ‘नुमाफुङ’ जस्ता सिनेमाहरू, मूलधारे संक्रमणबाट अछुतो रहेर प्रकट भएथे । केही प्रयासहरू निरन्तर भई नै रहेका छन् । ‘कालोपोथी’ र ‘सेतो सूर्य’ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरू घुमी हिँडेका सिनेमा पनि यी अतिनाटकीयताको रोगबाट मुक्त थिए । किन्तु मूलधारको महामारीले ग्रस्त बनाएको जगत्मा यदाकदा झुल्किने यी झिल्काहरू शून्यमा शून्य सरि बिलाउँदै छन् ।

पछिल्लो समय बनेका केही स्वाधीन सिनेमाले भोगाइका गहिराइमा डुब्ने कसरत गरिरहेका छन् । पछिल्लो दशकमा केही सुन्दर संकेत देखिँदै छन् । ‘लुट’ भन्ने सिनेमाले बजारबाट अत्यधिक सफलता लुटेपछि हाम्रा मूलधारका आधार स्तम्भहरू डगमगाएका थिए । त्यसपछि मूलधारको एउटा पाटो साँच्चै मान्छेजस्तो देखिने झर्रा चरित्र, खरो जीवनशैली र विश्वसनीय संवेदनाहरू खिप्न खोजी हिँडे । तर, कथामा भने सूत्रीय परम्पराको मायाजालमा फसेर ती चरित्रका अस्तित्वहरू प्रदूषित भए, संक्रमित भए । अनि अर्काथरी मूलधारे सूत्रजीवीहरू, जसले आफ्नो गोदामभरि सडेगलेका मसलाहरू थुपारेका छन्, उनीहरूलाई जीवनलाई गहिराइमा पुगेर छाम्न खोजेका सिनेमा, सिनेमा नै लाग्दैनन् । मिति नाघेका सूत्रहरू र अतिरञ्जित आर्किटाइप्सको मायाजालमा उनीहरू यतिबिघ्न फसेका छन् । उनीहरू साउनमा आँखा फुटेको गोरुझैँ छन् । अनि यिनै सूत्रजीवीहरूको कोपभाजनको भुमरीमा हाम्रो सिनेमाको भाषा भ्रमित छ ।

आफ्नै सतही जीवनको प्रस्तुतिमा मनमगन भइरहेको मूलधारले जबसम्म हाम्रा मानवीय अवस्थाको स्वरूप सिर्जना गर्न सक्दैनन्, हाम्रा सिनेमाहरू सधैंभरि नेपाली पोसाक लगाएर धर्तीमा प्रकट भएका एलियनहरू उमारिरहन्छन् । जब हाम्रो सिनेमामा हाम्रो परिवेशका मान्छे देखिदैनन् भने हाम्रो जिबन–भोगाइका साक्षी ती सिनेमा कसरी बन्लान् ? हाम्रो मौलिक दस्ताबेज भनेर गर्व गर्ने स्वरूपमा ती कसरी ढल्लान् ?

३. शिल्पकारिता
विषयमा कनीकुथी बल गर्न खोजिरहेको नेपाली सिनेमा, शैली निर्माणमा भने गोल्खाडी खाएको छ । क्यामराले खिच्दैमा, दृश्यमाथि भद्दा आवाज थुपार्दैमा सिनेमाको अभिप्राय पूरा हुँदैन । सिनेमाका आधारभूत मानकबाट बेखबर हाम्रा अधिकांश सिनेमाहरू, देखिने रेडियो नाटकजस्ता छन् कि खिचिएको गाईजात्रे प्रहसनजस्ता छन् । सिनेमा सिर्जनाका केही आधारभूत मानकहरूमा आफ्नो निजी शैलीहरू नखोज्दासम्म हाम्रा सिनेमाले मौलिक पहिचान बनाउन नसक्ला ।

क. वाचनशैली
संसारभरि भनिने कथाका स्वरूप उस्तै रहेछ । शान्त चलिरहेको जीवनमा कम्प घटित गरिदिनु र त्येसको समाधान नभेटुन्जेल घम्साघम्सीको यात्रामा लागिरहनु कथाको धर्म रहेछ । हामीले सुनिआएका दन्त्यकथादेखि सुदूरबाट यता आइपुगेका साई–फाई कथासम्मका मेरुदण्ड येही धर्ममा अडिएको रहेछ । श्रुति परम्पराबाट लेखनीमा झरेको यो कथाको परम्परा दृश्यभाषामा आइपुग्दा पनि निरन्तर रह्यो । सिनेमाले यी सीमित सूत्रमा वाक्कदिक्क हुनेगरी नै कथा भन्यो । अनि लामो समयपछि यो अत्यासबाट सिनेमाले मुक्ति खोज्यो र वाचनशैलीका नयाँ प्रयोग थपिँदै गए ।

यसै पनि शाब्दिक भाषाबाट दृश्यभाषामा रूपान्तरण भएको कथाका आधारभूत संकेतका तालमेल नै फरक थिए । त्यसैले कथाका उल्झनहरू मात्रै घिच्याइरहँदा सिनेमा सधैँ अधुरो–अपूरो थियो । सिनेमाको भाषाले शैलीगत छलाङ खोज्यो, कथावाचनको परम्परागत सूत्रलाई छोडेर काव्यिक सौन्दर्य खोज्यो । यो काव्यिक छनोट, सर्जकको निजी चेतनासँग बढी गाँसिएको थियो । फलस्वरूपः वाचनशैलीमा राष्ट्र, परिवेश र व्यक्तिको निजी छनोटका लेपनहरू भेटिन थाले । सिनेमाको कथ्यमा सधैँ चरित्रका घम्साघम्सीका आरोह–अवरोह मात्रै छैनन्, बरु अनन्त जीवनका मीठास पनि छन्, जसलाई जिन्दगी अनुभूत गरेझैँ गर्न सकिन्छ । शैलीको यात्रा नै गर्न नसकेको हाम्रो सिनेमाभित्र वाचाकीको काव्यिक चेतना आउन लामो समय कुर्नुपर्ला ।

ख. दृश्य रचना
क्यामराअगाडि देखिने प्रत्येक अवयव र त्यसलाई कसरी देखाउने भन्ने विविध सम्भावनाको बीचबाट एउटा सर्जकले गर्ने स्पष्ट नियन्त्रणमा सिनेमाको शैली निर्माण भएको हुन्छ । हामी भने कथालाई छाप्न प्रयोग गरिने पुरातन सूत्रमै अघाएर बसेका छौं । सिनेमाका आधारभूत संकेतको चेतनाको अभावले हाम्रो शैली निर्माणको बाटो छेकेको छ । दृश्यमा अन्तर्निहित समयको वैयक्तिक नियन्त्रणको सम्भावना, हाम्रो चेतनामा अझै छिरिसकेको छैन । त्यसैले हाम्रो सिनेमाको स्वरूप थुप्रै क्लिशेका भण्डार थुपारेर कथा छाप्ने मेसिनभन्दा माथि उठ्न सकेको छैन ।

ग. निरन्तरता
दृश्यको निरन्तरताको अनुभूति गराउन हलिउडले एउटा पाठ बनाएको छ । संसारभरिका धेरै मूलधारे सिनेमाहरू त्यही पाठ कण्ठाग्र गरेर कथावाचनको यात्रामा निक्लिएका छन् । हाम्रो सिनेमाले भारतीय परम्परालाई सर्लक्कै स्वीकार गर्दा, निरन्तरताको भाषा पनि सँगै गाँसिएर आयो । यतिबेला खण्डित दृश्यहरूलाई गाँस्ने शैलीहरू नयाँ–नयाँ उत्खनन हुँदै छन् । तर, शैलीको यात्रामा लाग्दै नलागेको हाम्रो सिने परम्पराले कालग्रस्त भैसकेको तिनै पुरातन सूत्रकै जालोमा आफ्नो सबै कथ्यलाई बिसाएको छ ।

४. सर्जक सिनेमाको खोजी
केही अपवाद छोडेर भन्ने हो भने नेपाली सिनेमाबाट सर्जक हराएको छ । कथालाई छाप्ने व्यवस्थापकीय जिम्मेवारीमा मात्रै सीमित छन् हाम्रा निर्देशकहरू । त्यसैले हाम्रा सिनेमाका यात्राहरूमा नवीन आयामहरूको गुन्जायस रहँदैनन् । कविता लेख्ने कविझैँ, चित्र कोर्ने चित्रकारझैँ वा उपन्यास लेख्ने लेखकझैँ यदि सिनेमालाई स्पष्ट सिर्जना मान्ने हो भने एउटा स्पस्ट सर्जकको खाँचो रहन्छ । विषयको उठानदेखि शैलीगत आयाम खिप्न स्पष्ट सर्जकको आवष्यकता पर्छ । सर्जक सिनेमाको अवधारणा स्वीकार गर्न नसकुन्जेल सिनेमालाई शाश्वत सिर्जनाको रूपमा पनि स्वीकार गर्न गाह्रो पर्छ ।

५. समग्र दृष्टिकोण
विकृत सिनेमाहरूको विशाल कन्टेनरमा प्राणहीन मुर्दा सिनेमाहरू असरल्ल लडी मात्रै रहेका छन् । यो विशाल खातका पत्रहरू केलाउँदा, सदावहार सिनेमाहरूको संख्या असाध्यै थोरै छ । सीमित आयु बोकेर आउने, केही दिन बजारमा तमासा देखाएर, सदाका लागि चिसो कन्टेनरमा अस्ताउने यी दुःखी सिनेमाहरूको नियति साह्रै टीठलाग्दो छ । जुन बेलासम्म मनोरञ्जनको व्यापार गर्ने बजारिया मालसामानभन्दा गम्भीर र पृथक् परिचय सिनेमाले पाउँदैन, सिनेमाका लागि गरिने सबै गम्भीर बहस व्यर्थ हुनेछन् । हाम्रा सिनेमा सधैँ सतहमै तैरिरहनेछन् । मनोरञ्जनको व्यापार मात्रै गर्ने जिनिसको परिचयबाट उठेर जुन बेला सिनेमाले एउटा गम्भीर कलासाधनाको स्वरूप भेट्ला, जीवन–जगत्को असली दस्ताबेज बन्ला, हाम्रो सांस्कृतिक मूल्यको समयचित्र बोकेर जब हाम्रा सिनेमाहरू अन्तर्राष्ट्रिय मञ्चहरू चियाउन खोज्लान्, सिनेमाप्रतिको दृष्टिकोण अलि फराकिलो, अलिकति गहिरो बन्ला ।

६. बजार
सिनेमा सिर्जनाको सबैभन्दा ठूलो दुःख, थुप्रो पैसा नखन्याईकन, सिर्जनाले मूर्तरूप लिन सक्दैन । जब लगानीले किलो गाड्छ, बजारले भूमिका खेल्छ । जातोका खपेटाझैँ, बजारका यी दुई खपेटाका पिसाइमा धेरै सम्भावना पिठो भइदिन्छन् ।

नेपालमा सिनेमा बन्न सुरु हुनुभन्दा धेरै पहिले, भारतीय सिनेमाको स्वाद यता छिरिसकेको थियो । वर्षौंपछि आक्कलझुक्कल झुल्किने हाम्रा सिनेमाहरू, आँधी–हुरीझैँ आउने विदेशी सिनेमाले सिर्जना गरेका मसलेदार स्वादको नजिक पुग्नुपर्ने बाध्यता थियो । अलिकति फरक स्वाद बोकेर जाऊँ, विदेशी अतिरञ्जनाको कुलतमा फसेका दर्शकहरू तिल्मिलाउलान् भन्ने पीर, बजारबाट कुलेलाम ठोक्नुपर्ला भन्ने पीर । यिनै पीरैपीरको तीरमै बसेर हाम्रा सिनेमाले लगातार घिसीपिटी सूत्रहरू छापिरहे ।

गान्धारीले झैँ आँखामा पट्टी बाँधेर, बलिउडले हिँडेको अँध्यारो बाटोमा पछिपछि घिस्रिरहे । फाट्टफुट्ट केही प्रयोग आउन खोजेका हुन् । तर, बजारले त्यसलाई स्याबासी नदिँदा, निरन्तरता गुमाएका ती सिनेमाका साधनाहरू, धोको पूरा गर्ने इलममै सीमित भइदिए । गम्भीर भएर लागेका केही साधक भने अन्ततः बजारको निठुरे जालोमा साधनाको समाधि बिसाएर, बजार फकाउनतिर पो लागे । बजारको खेला यस्तै रहेछ । भद्दा स्वादको कुलतमा फसेका हाम्रो सिनेफिलियाले, गम्भीर सिनेमाको स्वाद चाख्न नजानुन्जेल, अन्तर्राष्ट्रिय बजारहरूको आँखा हाम्रा सिनेमामा नपरुन्जेल, कति साधकहरू यो बजारको अचानोमा चिरिँदै, टुक्रिँदै जानुपर्ने हो, थाहा छैन ।

शाश्वत सिनेमाका साधनालाई मलजल हाल्नुपर्ने राज्यको निकाय कानमा तेल हालेर घाममा सुतेको छ । कला चेतनाको यतिविधि बोधो परिवेशमा गम्भीर भएर लागिरहेका साधकहरू अर्धसिल्लीझैँ छन्, पटमूर्खझैँ छन् । कारण उनीहरूले बजारको भाषा बुझेका छैनन् ।

५० वर्षभन्दा लामो यात्रामा बनेका हजारभन्दा बढी सिनेमा फगत बजारका लागि निक्लिए । सडे–गलेका विदेशी मसला ठोसेर जिन्दगीलाई खिस्याएजस्ता सिनेमाहरूको यस्तै ध्येय थियो— बजारबाट मुनाफा सोहोर्नु । तर, अधिकांश सिनेमालाई निठुरे बजारले टाट पल्टाइदियो । बजारको मोहजालले लठ्ठिएकाहरू, बजारकै इन्द्रजालमा जाकिए । बजारमै हारेका हाम्रा सिनेमाहरूबाट, बजारभन्दा माथि बसेर, सिनेमाका अनन्त सम्भावनालाई उत्खनन गर्ने दिन कहिले आउला ? राज्य, सर्जक, चिन्तक र दर्शकको गोलमेचबाट एउटा साझा चेतनाको किलो नठोकुन्जेल, हाम्रा सिनेमाले गम्भीर स्वरूप नभेटलान् । शैलीको निजी उडान भर्न नसक्लान् । हामीले भन्दै गरेका निजी सिनेमाको स्वरूप कहिलेसम्म बनिसक्लान्?

प्रकाशित : माघ ४, २०७६ १०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×