कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘बड्‌डाको’ को डोब

रवीन्द्र ढकाल

मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे  । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु  ।यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए । त्यसपछि उनी हराए ।

‘बड्‌डाको’ को डोब

हालसम्म उनको खबर छैन । डोरबहादुरले समाज–विज्ञान अध्ययन गरेको थलो बुझ्न विष्ट हराएको लगभग २३ वर्षपछि (२०७५ पुस ६) गते लेखक चौधबीसा उपत्यका पुगेका थिए । डोरबहादुर हराएको दुई दशकपछि त्यस उपत्यकाको चित्र कस्तो थियो ? डोरबहादुरबारे गाउँलेहरू के भन्थे ?

एक आलेख :

बड्‌डाका कपाल पूरै सेतो, आँखानिर कालो कोठी । राडीपाखी काँधको दुवैपट्टि हालेर कम्मरमा डोरीले बाँध्थे रे ! प्रायः एक्लै हिँड्थे । कहिलेकाहीँ गाउँलेहरू भेला गराउँथे । र भन्थे, ‘तिमीहरू लाटा हौ, जडीबुटी भईकन पनि ठगिएका छौ ।’

बड्‌डाको यो वचन चौधबीसा उपत्यकाको लुम गाउँका कल्लीबहादुर रावतको मनमै गडेको छ । उनका ‘बड्डा’ डोरबहादुर विष्ट हुन् ।

चौधबीसाको विकासका लागि पहिला शिक्षा र शिक्षामार्फत अन्धविश्वास हटाउनुपर्छ भन्थे डोरबहादुर । यो कुरा उनले हिमालखबर पत्रिकाको २०५२ ‘माघ–चैत’ सालमा प्रकाशित लेख ‘चौधबीसाको अनुभव : खसहरूमा आत्म–पहिचानको संकट’ मा बताएका छन् ।

यही परिकल्पनाअनुरूप, उनले कर्णाली इन्स्टिच्युट खडा गरे चौधबीसामा । सदियौंदेखि खस जातिको आत्मविश्वास र पहिचानलाई सामूहिक रूपमा कमजोर परियो भन्ने उनको बुझाइ थियो ।

चौधबीसा उपत्यकावरिपरि पाइने जडीबुटीको उचित उपयोगले आर्थिक स्थिति सबल बनाउँछ, अर्थ भएपछि पहिचानको संकटको खाडललाई पुर्न सजिलो हुन्छ अनि आत्मविश्वास फर्किन्छ भन्नेमा विष्ट विश्वस्त थिए । विष्टले चौधबीसामा यही कुरा लागू गर्ने प्रयत्न गरेका थिए ।

चौधबीसा उपत्यकाभित्रको खस बस्ती हो— लुम गाउँ । गाउँमुन्तिर जवा नदी फैलिएर बगेको छ । नदीकै मास्तिर झुरुप्प माटोका छत भएका घरहरू टक्क मिलेर बसेका छन् । यी घरहरूलाई जहिल्यै पतरासी हिमालले हेरिरहेको हुन्छ ।

लुम गाउँकै शिवलाल रावत र गोविन्द बुढालाई विष्टले त्यसबेला काठमाडौं पढ्न पठाए । शिवलाल रावत अझै उनले भनेको वाक्य सम्झन्छन्, ‘काठमाडौं गएर पढ्नु अनि फर्कनु, काठमाडौंलाई चौधबीसासँग जोडने पुल हौ तिमीहरू ।’

...
जुम्लाको खलंगा बजारबाट ४५ मिनेटको जिप–यात्रापछि म लुम गाउँ पुगेको थिएँ । लुममा अहिले जिन्स पाइन्ट, मास्क, टुबोर्ग बियर र मोबाइलका सेटहरू बाटोसँगै पुगेर फेसन बनेका छन् ।

म लुम पुग्दा घाम टाउकोमाथि पुगिसकेको थियो । गाउँलेहरू विद्यालयको चउरमा जम्मा भएका थिए । चउरबीचमा कुर्सी थियो । कुर्सीमाथिको टपरीमा रातो अक्षता र सुकेको रगतको पाप्रा देखियो ।

कुर्सीअगाडि नाइलनको डोरीले दुई हात बाँधेका ‘मान्ठा’ हरू लस्करै उभिएका थिए । ती मान्ठाहरूलाई टपरीमा छुवाउँदै ‘तुइले चोर्‍या हो कि नाइ ?’ भनिँदै थियो ।

पाठोको रगतको सुकेको पाप्रा छोएपछि चोरले सत्य बोल्नुपर्छ रे ! यदि उसले झूट बोल्यो भने धामी लाग्छ भन्ने मान्यता रहेछ । यहाँ सरकारी ऐनभन्दा पनि धामीको शासन कडा रहेछ । टपरी छोएर कसम खाने मान्ठाहरू मुगुका बासिन्दा थिए ।

लुम गाउँको सामुदायिक वनको सिमानाले मुगुलाई छुन्छ । यी मान्ठाले बिनाजानकारी सामुदायिक वनमा पसेर हिड्डे र भोल्टे (जडीबुटी) चोरेका रहेछन् । चोर पत्ता लगाउने यस्तो प्रथालाई स्थानीय शब्दमा ‘रक्त्यावली’ भनिन्छ । धामी लाग्ने भएपछि साँचो नबोलेर भयो त ?

डोरबहादुर विष्टले सधैं भन्थे, ‘धामी, देवी, देवता, बाहुनले नेपाली समाजको पौरखको बाटो छेकिदिए ।’ उनी आफ्नो लेखमा यहाँका मान्ठाभित्र गडेर बसेको धामी अर्थात् अन्धविश्वास पनि हटाउने प्रयास गर्दैछु भन्थे । तर, अहिले उनी आफैं अलप भएका छन् ।

...

चौधबीसाका मान्ठाहरूको घर अहिले पनि बर्खाभरि वनको पाटनमा कोतरेको जटामसी, वन लसुन, नक्कली च्याउ, सेतो चिनी र कटुकोले चलाइदिन्छ । पहिले सुकेका जडीबुटीलाई पिठ्युँमा बोकेर २४ दिनमा मान्ठाहरू नेपालगन्ज पुर्‍याउँथे । अहिले ७ वर्षअगाडि खुलेको कच्ची बाटो हुँदै व्यापारी आउँछन् । दैनिक ज्यालामा यहाँका मान्ठालाई खटाएर जुडीबुटी बटुल्छन् । बोलेरोमा चढेर लुम पुगेका उनीहरूले बजारका साथै फाइदा पनि खाइदिएका छन् ।
गाउँलेका हातमा पचास हजारदेखि एक लाख रुपैयाँ नगद पर्छ । यसबाहेक अन्य आम्दानीको स्रोत भेट्न मुस्किल छ । गाउँ डुल्दा जडीबुटीबाट पाएको रुपैयाँ कहाँ जान्छ होला भन्ने कौतूहल जाग्नु स्वाभाविक हो । किनभने उनीहरूको जीवनस्तरमा केही भिन्नता देखिन्न ।

डोरबहादुर विष्ट हराउनुअघि उनले प्रायोगिक अनुसन्धान गरेकाे चौधबीसा उपत्यकास्थित लुम गाउँ, दृश्यमा जवा नदी मास्तिरको पतरासी हिमाल । तस्बिर : रवीन्द्र ढकाल

हिउँ पर्दा चिसोबाट ट्टकी (बच्चाहरू) लाई जोगाउन दाउराको खोजीमा महिलाहरू साँझसम्मै व्यस्त हुन्छन् । कति त उब्जनी नहुने खेतमै नङ खोस्रिरहेका देखिन्छन् । प्रायः महिलाहरू बिहानै पटुकीमा मकैको रोटीसँगै नुन बेरेर वन जान्छन् । हिउँ पर्नुअघि नै गाई, बाख्रा र भेडाका लागि घाँस बटुल्नु जो पर्छ ।

व्यस्तताबीच स्याउलाको भारी बोकेर साँझको गोधूलिमा सुनकुली रावतलाई गाउँ छिर्ने गल्छेडामै भेटेँ ।
‘श्रीमान् कता हुनुहुन्छ ?’

एकै छिनको अलमलपछि उनले विद्यालय छेउको ठूलो घरमा छन् भन्ने उत्तर दिइन् ।

म उनले भनेको घरतिर लागेँ । काठले बनेको तीनतले घर । प्रत्येक तलामा चारचारवटा कोठा । म घरभित्र छिर्नेबित्तिकै मानिसहरू भागाभाग गर्न थाले । तासका पत्ताहरू फिँजिएको थियो । खाल एकाएक रित्तियो । भाग्दाखेरि घोप्टिएका गिलासहरूबाट आएको ह्वास्स गन्धले नाक र मथिंगल नमज्जासँग हल्लियो । त्यहाँबाट भागेका उनीहरू बाहिर एकअर्कासँग भलाकुसारी गर्न थाले । ‘नौलो मान्ठा देखेपछि ढुकढुक भयौं,’ भाग्नेमध्येका एकले सुस्तरी भने ।


‘डोरबहादुर विष्टको बारेमा खोज्दै आएको विद्यार्थी हुँ,’ भनेर परिचय दिएपछि स्थिति अलि सामान्य बन्यो । वडाध्यक्ष, स्कुलका मास्टर सबै यहीँ आउँदा रहेछन् । जडीबुटीको रुपैयाँ त्यस दिन मैले तासको खालमा छरपस्ट भएको देखेँ ।


तास अम्मलीलाई ट्टकीका किताब बोक्ने झोला च्यातिएको हेर्ने फुर्सद रहेनछ भनेर अनुमान लाउन मुस्किल भएन । साथै श्रीमती, दिदी, बहिनी र आमाहरूलाई कामको बोझ र पौष्टिक खानाको कमीले उमेरभन्दा अगाडि नै बूढ्यौलीले छोएको पनि उनीहरूलाई वास्ता थिएन ।


लुम गाउँमा भेडाबाख्रा चराउन लगिरहेको दृश्य । तस्बिर : रवीन्द्र ढकाल

लोग्नेको प्रतीक्षामा चिसो दाउरालाई सुधारिएको चुलोमा अबेर रातिसम्म बालिराख्न आगो फुकिरहेका महिलाहरू सायद उनीहरू तासमा जितुन् भन्ने कामना पनि सँगै गर्छन् । तासमा हार्नेको घरबाट राति महिला रोएको चीत्कार आउँछ । हारको रन्‍को र रक्सीको मातमा लठ्ठिएको लाग्नेको कुटाइ खाएका महिलाका लागि हरेक रात चुक घोप्टिएझैं अन्धकार औंसी ।

एकाबिहानै म बसेको घरमा ७ जना महिला आइपुगे । सबभन्दा अघिकीले सुँक्कसुँक्क गर्दै भनिन्, ‘हामी यस्तै पीरकन बूढी भया हौं ।’ नौलो मान्ठालाई यस्तो कुरा बताएपछि मन हल्का हुन्छ कि भन्ने उनको आस हुँदो हो । तर, तासको खाल र रक्सीको मातलाई मैले कसरी रोक्नु ?

डोरबहादुर अलप भएको लगभग २५ वर्षपछि पनि लुम गाउँमा जडीबुटीको व्यवस्थापन र उचित प्रयोग भएको छैन । फाइदाजति बाहिरका व्यापारीले लगेका छन् र गाउँलेहरू केवल ज्यालामै रमाएका छन् । डोरबहादुर भएको भए यो स्थितिलाई कसरी विश्लेषण गर्थे होलान् ?

...

काठमाडौं आइसकेपछि डोरबहादुरले त्यसबखत काठमाडौं पठाएका शिवलाल रावत र गोविन्द बुढालाई खोज्न थालें । निकै दिनको प्रयत्नपछि अनामनगरको मोडमा जुम्लाको ओखर, स्याउ, सिमी र मह बेच्ने पसलमा रावत फेला परे । गोविन्दको पत्तो लागेन ।

शिवलाललाई लुमका बासिन्दाले जहिल्यै फोन गर्छन् र भन्छन्, ‘स्याउ, ओखर र मह किन्देऊ ।’ गाउँलेको आग्रह टार्न नसकेर घाटै खाएर पनि किन्दिन्छन् । सहरमा संघर्ष गर्दागर्दै गाउँ उनीबाट टुट्यो । वर्षौं भयो उनी लुम नपुगेको ।

‘म एउटा व्यक्तिले कहिलेसम्म स्याउ किन्दिराख्ने ?’ उनी प्रश्न सोध्छन् । म यसको उत्तर दिन सक्दिनँ । ‘पहिले पनि डोरबहादुर लागेर केही भएन चौधबीसामा, राज्य नै नलागेपछि अब एउटा रावतले के गर्ने ?’

प्रकाशित : माघ ४, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?