कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

'देश बलियो बनाउने नाममा शासकहरु मानिसलाई अलग्याउँदै छन्'

सुरज सुवेदी

पाकिस्तानमा जन्मिएको २५ वर्षीय लेखक जमिल जान कोचाईको पहिलो किताब ’९९ नाइट्स इन लोगाड’ डीएससी पुरस्कारको सर्टलिस्टमा परेको खबरले उत्साहित थिएँ । उनी पोखरा आउँदै थिए । म पोखरा जाँदै थिएँ।
पोखरामा पुगेकै साँझ खाना खाने बेलामा उनलाई देखेँ। कसैसँग गफ गरिरहेको थिए। मलाई भेटेर कुरा गर्न मन भएको भए पनि गएर बोलाइहाल्न मन लागेन। उनको बारेमा थप बुझेर मात्र भेट्छु सोचेँ।

'देश बलियो बनाउने नाममा शासकहरु मानिसलाई अलग्याउँदै छन्'

फेस्टिभलको दोस्रो दिन राइटिङ होम एन्ड दि होमल्याण्डशीर्षकको सत्रमा उनले बोल्ने निश्चित थियो। त्यो सत्र सुनेर मात्र उनलाई भेट्‌ने योजना बनाएँ।

सेसनमा मेरो मनका धेरै खुल्दुलीहरूलाई सहज बनाउँदै उनी बोले। मैले सोध्ने तयारी गरेका कतिपय प्रश्नहरू सहजकर्ता इतिशा गिरीले सोधिदिइन्। आफूले सोध्ने प्रश्न अरूले सोधिदिएपछि उनको जवाफ के हुन्थ्यो भन्ने थाहा भयो। मैले मनमनै प्रश्न थपेँ। उनी अलि मियाँ कक्षको स्टेजबाट ओर्लिएर चौरमा झरेपछि नजिक गएँ।

मलाई तिमीसँग अन्तर्वार्ता गर्नु छ। समय निश्चित गरौँ भनेर।

भई हाल्छ। कहाँ र कसरी भेट्‌ने भनेर यसमा इमेल गरिदेऊ।

भोलिपल्ट:

१२ बजे भेट्‌ने भनेको भए पनि उनी कुनै अर्जेन्ट काममा अल्झिएछन् । अब २ बजे हाम्रो भेट हुँदै छ। म उनी बसेको होटलमा पुगिसकेको छु। आएको जानकारी गराएर पर्खिरहेको छु।

आउनुभन्दा पहिला उसको बारेमा अलिकति बताइहाल्छु। उनी पाकिस्तानको एक शरणार्थी शिविरमा जन्मिएका हुन् । उनका बुवाआमा अफगानिस्तानबाट त्यहाँ आइपुगेका थिए। उनले किताबमा लेखेको लोगाड अफगानिस्तानको उत्तरी भेगमा पर्ने सुन्दर सहर हो। रुसी र अमेरिकी सेनाहरूले लामो समय सङ्घर्ष गरेको गरेको उक्त ठाउँले धेरै युद्धहरू भोगेको छ। ती युद्धका धेरै कथाहरू उनको किताबमा मिसिएका छन्।

स्कुलमा रहँदा कक्षाको शिक्षकले एक क्रिएटिभ राइटिङ क्लासमा पठाइदिएपछि उनले पहिलोपल्ट कथा लेखेका थिए। त्यहाँ कथा चिनेका उनको यात्रा विभिन्न जर्नलका सम्पादकसम्म पुग्यो। ती बाट प्रकाशन एजेन्ट हुँदै यो किताबसम्म आइपुग्यो।

प्रस्तुत छ उनै जमिल जान कोचाईसँगको कुराकानी :

आफूभित्रको लेखकलाई कसरी चिन्नुभयो ?

स्कुलमा धेरै पुस्तक पढ्थेँ तर आफैँले भने केही लेखेको थिइनँ। बरु कथा सुनाउँथे। मेरो दाजु म सानैदेखि कथा बनाएर सुनाउन सक्थेँ भन्नुहुन्थ्यो। नभएका घटनाहरूलाई सुनिरहूँ बनाएर सबैलाई सास थुनेर सुन्ने बनाउँथे रे। मलाई आफ्नो त्यो क्षमता थाहा थिएन।

मेरो हजुरआमा र बुवा धेरै कथा सुनाउनुहुन्थ्यो। आमा तथा आन्टीहरु पनि कथा सुनाउनुहुन्थ्यो। ती सबै एकदमै सुन्दर कथावाचक थिए। म कथाहरूसँगै हुर्किएँ।

हाइ स्कुलको अन्तिम वर्षमा मेरो शिक्षकले क्रिएटिभ राइटिङ क्लासको लागि नाम पठाइदिनुभएछ। त्यही क्लासमा गएर मैले पहिलोपल्ट लेखेँ। त्यसरी नपठाएको भए म त्यहाँ जान्थे कि जान्नथेँ पनि थाहा छैन। तर जब मैले लेखेँ त्यहाँका शिक्षक र विद्यार्थीहरूले मन पराए।

अर्को वर्ष युनिभर्सिटी गएपछि मैले आफैँ क्रिएटिभ क्लासमा भर्ना गरेँ। त्यहाँका शिक्षक मेरो महत्त्वपूर्ण मेन्टर बन्नुभयो। उहाँसँग अहिले पनि सम्पर्कमा छु। त्यसपछिका हरेक वर्ष मैले एउटा वा दुइटा क्रिएटिभ क्लास लिइरहेँ। परिष्कृत हुने चाहनालाई बढाइरहेँ । भेटे जति पढेँ। क्रिएटिभ राइटिङ, वाक्य संरचना, व्याकरणलगायत क्षेत्रमा सुधार गर्न अनेक किताब पढेँ।

धेरै मानिसहरू पढ्नका लागि राम्रो हुन्छन् तर लेखनसम्म पुग्न सक्दैनन् । पाठकबाट लेख्ने मान्छेमा पुग्ने दोबाटो कति बेला पत्तो लाग्छ?

यो ठ्याक्कै के हो भन्ने मलाई पनि थाहा छैन। तर लेख्न थाल्दा प्लट, पात्र वा, आइडिया बारे केही पनि थिएन। म केवल वाक्य लेख्न चाहन्थेँ । लामा लामा वाक्य लेख्ने अभ्यास गर्थेँ। मलाई वाक्यको आवाज एकदमै मन पर्थ्यो। एउटा वाक्य पछाडि आउने अर्को वाक्यमा त्यो आवाज गाँसिन्छ कि गाँसिँदैन भनेर सधैँ अभ्यास गर्थेँ। सुरुवातमा यही कुरामा धेरै ध्यान दिएँ। कुनै बलियो वाक्य लेख्ने र त्यसकै आवाज पछ्याएर अर्को वाक्य थपिरहने। यसरी बिस्तारै राम्रा लामा लामा वाक्य बनाउन सिकेँ। वाक्यबाट अनुच्छेद, पेज अनि पाठ। त्यो प्रक्रिया बिस्तारै बढ्दै गयो। युनिभर्सिटीको प्रोफेसर लेखकले पढ्ने हरेक चिजले लेखनलाई मद्दत गर्ने हुनुपर्छ भनिरहनुहुन्थ्यो। मेरो व्याकरण राम्रो थिएन त्यसैले व्याकरणका किताबहरू पढ्थेँ। वाक्य बलियो बनाउने अभ्यास गर्थेँ। त्यसरी बलियो वाक्य लेख्ने प्रयास बिस्तारै बलियो अनुच्छेद, बलियो कथा, र बलियो उपन्यास बन्दै गयो।

एक अन्तर्वार्तामा लेखिरहेको बेला पछाडि छुटेको घर र कथा जहिल्यै पनि आफूसँगै थियो भन्नुभएको छ। त्यो कथा आफूसँग छभन्ने कसरी थाहा भयो? त्यो पहिला नै थियो या पछि चिनिएको लेखकले लिएर आयो?

अमेरिकाको स्कुलमा अंग्रेजी सिक्न प्रयासरत हुन्थेँ। अरूसँग घुलमिल हुने प्रयत्न गर्थेँ तर संस्कार र भाषा थाहा नभएको कारण कम साथी थिए। खेल बुझ्दिन थिएँ। म खुसी बच्चा थिइनँ।

म पहिलोपल्ट अफगानिस्तान ६ वर्षको हुँदा गएको हुँ। त्यो मेरो जीवनको एकदमै महत्त्वपूर्ण समय थियो।

मैले पहिलोपल्ट धेरै आफन्त भेटेँ। म तीनलाई भेटेर रमाएँ। गाउँ घुमेँ। बाटोमा खेलेँ। भेडा र गाईहरूसँग सँगसँगै दौडिएँ। सम्झनाहरू सँगालेँ।

अनि अमेरिका फर्किएँपछि लोगाड कति सुन्दर छ भन्ने बयान गरेर थाकिनँ। १२ वर्षको हुँदा म फेरि त्यहाँ गएँ। जुँगा पलाउन थालेका थिए। म त्यसलाई देखाएर हिँड्थेँ। मलाई पहिलोपल्ट पुरुष भएको जस्तो लागेको थियो।

फेरि अमेरिका फर्किएर हरेक पल सोचिबस्थेँ। अफगानिस्तान कति सुन्दर छ भन्ने कुरा लागिरहन्थ्यो। त्यही याद, सम्झना र नोस्टालजियाले होला सायद जब म केही लेख्न खोज्थेँ कथा लोगाडमै पुगिहाल्थ्यो।

अर्को अन्तर्वार्तामा लोगाड सहर सुन्दर र डरलाग्दो दुवै थियो भन्नुभएको छ। त्यस्तो किन भन्नुभयो?

त्यहाँ जानुभन्दा पहिला अरू अमेरिकनले जस्तै मैले पनि अफगानिस्तानको बारेमा सुनेको थिएँ। धारणा त्यहीअनुसार बनेको थियो। पहिलोपल्ट जाँदा आफ्नै मान्छेहरूसँग म डराइरहेको थिएँ। मलाई आफ्नै देशसँग डराउनुपर्छ भनेर पढाइएको थियो।

त्यहाँ मैले सेना देखेँ। आकाशमा उडिरहेका लडाकु विमान देखेँ। बम पड्किएको सुनेँ। तर सँगै त्यहाँ भएका धेरै चिजहरूलाई प्रेम पनि गरेँ। दिदीबहिनीहरूसँग गाउँ घुम्न गए। साथीहरू बनाएँ। खुसी भएँ। त्यसको सुन्दरताले मलाई मोहनी लगाएको थियो। तर सँगै केही भइहाल्छ कि भन्ने डर पनि थियो। यो धेरै खुसी र धेरै डर एकैपल्ट मिसिएको समय थियो। र पनि मैले त्यो समयलाई मन पराएँ। पहिलोपल्ट आफूलाई जीवित महसुस गरिरहेको थिएँ। त्यो महसुस मलाई अमेरिकामा कहिल्यै पनि भएको थिएन। जब फर्किएँ त्यो महसुस सँगै होस् चाहिरहेँ। त्यसैले त मैले लेख्ने अक्षरमा लोगाड आइरहन्छ।

अंग्रेजी भाषाले आफूभित्रको अफगानिस्तान र लोगाडको ठाउँ खोसेको बताउनुभएको छ। किताबमा त्यसैले पनि पास्तो भाषाका धेरै अक्षर र पाठ अनुवाद नगरी छोडिएको छ । त्यसो गर्नुको खास कारण?

भाषा महत्त्वपूर्ण कुरा हो। मलाई लाग्छ सबै लेखकले यो कुरा दिमागमा राख्नै पर्छ। अंग्रेजी सिक्नु नराम्रो हैन तर यसलाई आफ्नो भाषाको मूल्यमा सिक्नु हुँदैन। लेखनमा करियर बनाउनको लागि अंग्रेजीमा लेख्नुको धेरै महत्त्व छ। प्रकाशन गर्न सजिलो हुन्छ। तर यसको मतलब आफ्नो भाषा गुमाएर अंग्रेजीमा लेख्नु हैन। आफ्नो भाषा र साहित्यको इतिहाससँग परिचित नभई नयाँ भाषामा पनि खासै केही गर्न सकिँदैन। साहित्यमा हुने सबैभन्दा शक्तिशाली आवाज फरक फरक भाषा मिसिएर बनेको आवाज भइदिन सक्छ । फरक भाषाले फरक अनुभव पनि बोकेको हुन्छ । त्यसैले उद्देश्य अंग्रेजीसँग जोडिएको भए पनि आफ्नो मातृ भाषालाई बिर्सिनु हुँदैन। त्यो भाषाले कसैले कहिल्यै नसुनेको नयाँ आवाज तपाईँको लेखनमा जोडिदिन सक्छ। पाठक जहिल्यै नयाँ कुरा पढ्न खोजिरहेका हुन्छन्। मलाई मेरो मातृभाषा आउँदैन तर त्यसका शब्दहरु राख्नका लागि श्रीमतीले धेरै मद्धत गरिन्।

९/११ को आतङ्ककारी हमलाले तपाईँको लेखनमा कसरी प्रभाव पारेको छ?

म ९ वर्षको थिएँ। टिभीमा कार्टुन हेरिरहेको थिएँ। कार्टुन अकस्मात् रोकिएर ठूलो बिल्डिङमा आगो लागिरहेको दृश्य देखियो। के भइरहेको हो भन्ने मलाई थाहा थिएन। स्कुलमा जाँदा मानिसले यसको बारेमा कुरा गरेको र कोही रोइरहेको देखेँ। ठूलो कुरा भएको रहेछ भन्ने त्यसबेला लाग्यो।

केही दिनमा अमेरिकाले अफगानिस्तानलाई दोष लगायो। सेना पठायो भन्ने सुनियो। त्यसपछि म बसेको ठाउँ र म आएको ठाउँको बीचमा सम्बन्ध नमिठो बन्यो। लडाइँ भयो। विद्यार्थीहरू मसँग रिसाउन थाले। उनीहरू मलाई नाम र देशको नाम लिएर जिस्काउँथे। आतंकवादी भन्थे। बिन लादेन मेरो अंकल वा हजुरबुवा हो भन्थे। एक बच्चाको रूपमा त्यो सामना गर्न निकै गाह्रो थियो। म अरूभन्दा फरक रहेछु भन्ने लाग्थ्यो । अस्वीकार्य भएको जस्तो लाग्थ्यो।

यसले मेरो पहिचान र म आफूलाई कसरी हेर्छु भन्ने कुरामा पनि व्यापक अन्तर ल्याइदियो। मैले लेखेका कथाहरूमा त्यो बुझाइको ठूलो असर छ। त्यो घटनाले मलाई म को हुँ भन्ने कुरा खोज्दै हिँड्ने बनाएको छ।

कथासम्म कसरी पुग्नु हुन्छ?

मेरो रिसर्च प्राय:जसो बुवाआमासँग गर्ने कुराकानी र उहाँहरूबाट सुन्ने कथामा निर्भर हुन्छ। ती कथामा उहाँहरूले भोगेको अफगानिस्तानको अनुभव हुन्छ। लडाइँ भएर कसरी घर छोड्नुपर्‍यो भन्ने पीडा हुन्छ। सँगै मलाई इतिहासमा रुचि छ।अफगानिस्तानको इतिहास सके जति पढ्छु। उपन्यास लेख्दा पनि मैले लेखिरहेको समयमा के भइरहेको थियो भन्ने थाहा पाउनका लागि धेरै पुराना किताब पढेको थिएँ। परिवार र अन्य अफगानी साथीहरूसँग कुराकानी पनि गरिरहेको हुन्छु। देशका बारेमा लेखिएका अन्य लेखहरू पनि पढिरहेको हुन्छु। तथ्याकं हेर्ने मात्र नभएर लोगाडको कृषिसम्बन्धी जानकारी भएका किताबहरू पनि पढेको थिएँ। त्यहाँको बजारमा कुन कुरा बिक्छ भन्ने कुरा थाहा पाउनुले पनि कथामा फरक पार्छ।

पात्रहरू कसरी छान्नुहुन्छ? सचेत भएर छान्नुहुन्छ कि उनीहरू आफ्नो बाटो बनाउँछन्?

अवस्थाअनुसार फरक पर्छ। कहिलेकाहीँ के भन्न खोजेको भन्ने निश्चित गरेर त्यसको लागि पात्रहरू चयन गर्छु। क्रिएटिभ राइटिङ क्लासमा सिकाइएको तरिका हो यो। उनीहरू भन्थे,यदि तिमी कथा भन्दै छौ भने कसको कथा भन्दै छु पहिला निश्चित गर्नु।कहिलेकाहीँ उल्टो पनि भइदिन्छ। कथा लेखिरहँदा कुनै दृश्यमा मेरो पात्र अर्को पात्रसँग गफ गरिरहेको हुन्छ। अकस्मात् तेस्रो पात्र त्यहाँ प्रवेश गर्छ। अनि त्यो कथा त मैले लेखिरहेका दुई पात्रहरूको नभएर पछि आएको तेस्रो पात्रको पो रहेछ भन्ने थाहा हुन्छ। त्यस्तो अनुभवले मलाई पात्रप्रति धेरै हस्तक्षेपकारी हुनु हुँदैन भन्ने ज्ञान दिएको छ। कथालाई आफ्नो बाटोमा हिँड्न दियो भने पक्कै पनि सुन्दर कथाहरू लेख्न सकिन्छ भन्ने बुझेको छु।

तपाईँ कुनै न कुनै रूपले राजनैतिक रूपमा एकदमै कठिन समय बाँचेको ठाउँको बारेमा उपन्यास लिएर आउनुभएको छ। नेपालमा धेरै मान्छेलाई अफगानिस्तानको बारेमा कुरा गर्ने हो धेरैको दिमागमा युद्ध मात्र आउला । लेख्ने बेलामा तपाईँ यस्ता खाले 'स्टेरियोटा' भत्काउनुपर्छ भन्ने सोचेर सचेत छनौट गर्नुहुन्छ कि गर्नुहुन्न?

त्यो कुरामा सचेत भइरहेकै हुन्छु । विशेषतः पात्रहरूको माध्यमबाट मलाई यस्तो गर्न मन पर्छ। म चाहन्छु मेरा पात्रहरू जटिल र रोचक हुन्। पात्रहरू एकदमै वास्तविक हुन् र वास्तविक जीवनमा सजिलै भेटिने खाले हुन् भन्ने लागिरहन्छ। मानिसहरूको जीवनमा एकदमै धेरै जटिल तहहरू छन्। ती तहहरूलाई मेरा पात्रमा जतिसक्दो धेरै खोतल्ने प्रयास गरिरहेको हुन्छु। कसैलाई देख्‍नासाथ स्टेरियोटाइप गर्नेहरू पनि तीनको बारेमा अलिक बढी जानेपछि त्यस्तो गर्दैनन्। मैले सोचेको जस्तो त उ हैन रहेछ भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ। म मेरा पात्रहरूका विभिन्न पक्षहरू त्यसरी उजागर गरेर उनीहरूप्रतिका मानिसका बुझाइहरूलाई चुनौती दिइरहेको हुन्छु।

यो कुरामा सचेत भएर कथामा जाँदा जटिल तह र गहिराइ भएका पात्रहरू सिर्जना गर्न सकिन्छ। तीनका विरोधाभाषहरूलाई बुझेर तीनलाई जस्ताको तस्तै प्रस्तुत गर्न सकेमा पक्कै पनि स्टेरियोटाईपलाई भत्काउने सामर्थ्य राख्छन्। किनकि स्टेरियोटाईप भनेको मानिसलाई कुनै सजिलो बुझाइमा सीमित गरिनु हो। उनीहरू बारेमा थोरै बुझेर धारणा बनाइहाल्नु हो। सजिलै कुनै खेमामा वर्गीकरण गरिहाल्नु हो। यदि तपाईँ एक बलियो पात्र बनाउन चाहनुहुन्छ भने उ यी सबै कुराहरू विरुद्धमा उभिनै पर्छ।

एक कठिन इतिहास बोकेको लोगाड जस्तो सहरको बारेमा लेख्नु कत्तिको कठिन र जिम्मेवारीयुक्त काम रहेछ?

लोगाड लामो समयसम्म लडाइँ भोगेको ठाउँ हो । एकदमै कठिन इतिहास भएको ठाउँ भएका कारण मलाई डर थियो। लोगाडलाई मैले बारम्बार लडाइँ भइरहेको एक खतरा ठाउँको रूपमा चित्रण गर्न नखोजे पनि म एकदमै साँचो र इमानदार हुन भने खोजेको छु। देशमा भइरहेको पीडा र दुःखलाई मैले बरालेको छैन। कथा लेख्दा त्यस बेला गरिएका हत्या, झारिएका बम, आमहत्या, जस्ता कुराहरू छुटाउँदिन। म मान्छेलाई यहाँ यस्तो भएको थियो र त्यो कुरा हामीले बिर्सिएका छैनौँ भन्ने कुरा बताइरहन चाहन्छु। मानिसहरूले यो कुरा भुलिहाल्छन्। यी सबै कुराहरू पटक पटक भइरहेका छन् किनकि मानिसहरू पट पटक बिर्सिरहेका छन्। म तीनलाई यी कुरा सम्झाइरहन चाहन्छु। कुनै बेला यो कुरा भार भएको जस्तो पनि लाग्छ तर सँगै एक लेखकको रूपमा यी कुरा मेरा जिम्मेवारी हुन् भन्ने कुरा पनि सम्झिन्छु। ती मारिएका मान्छे वास्तविक मान्छे थिए। तीनको जीवन थियो। तीनका परिवार थिए। तीनलाई माया गर्ने मान्छे थिए। तीनलाई जानिजानी मारिएको थियो। मानिसहरूलाई यो कुरा भुल्ने अधिकार छैन।

रिसर्चमा गएको बेला वा इतिहास पढिरहेको बेला यो कुरा त्यस बेला नगरेको वा गरेको भए यस्तो हुँदैन थियो भन्ने लाग्छ कि लाग्दैन?

एकदमै लाग्छ । इतिहासमा यस्ता धेरै अवसर थिए जति बेला अफगानिस्तानलाई धेरै यस्ता राजनैतिक निर्णय गर्ने अवसर थियो। तर तीनले गरेनन्। त्यसले देशलाई यस्तो दलदलमा पुग्नबाट बचाउने थियो। तिनले सिकेनन्। पटक पटक नेतृत्वले जनतालाई असफल बनाइरहे। ती शक्तिमा त पुगे तर आफू कुन सपना बेचेर त्यहाँ पुगेको हो भन्ने कुरा बिर्सिए। तीनले शक्तिको लागि धेरै कुरा बेचे। जनतालाई सुनेनन्।

अर्को दु:खद कुरा पनि छ। मेरो बुवा यसको बारेमा बारम्बार कुरा पनि गरिरहनुहुन्छ। सोभियत अकुपेसनको रेसिस्टेन्टको समयमा त्यहाँ धेरै राम्रा कमान्डर र मान्छेहरू थिए। ती देशको चिन्ता गर्थे तर तीनलाई पनि मारियो। मानिसहरूलाई युद्धबाट निकाल्ने धेरै अवसरहरूमा उनीहरू पटक पटक असफल भएका छन्। त्यसको असर अहिले भोग्नु परिरहेको छ।

लडाइँको बारेमा के भन्नु हुन्छ ? यस्ता कुराहरू समयमै व्यवस्थापन गर्न सकिएन भने एउटा देशले के-के कुरा गुमाउँछ जस्तो लाग्छ?

यो एकदमै दुःखान्त हो। लडाइँमा बम, हत्या, वा, अपहरण, जेल, आदिको कुरा मात्र हुन्छ जस्तो सुनिन्छ। यो साँचो र डरलाग्दो कुरा पक्कै हो। यो सँगै लडाइँले अन्य धेरै कुराहरूमा असर गर्छ। अवसरहरू गुम्छन्। अर्थतन्तमा असर गर्छ। शिक्षामा असर गर्छ। अहिले जवान हुँदै गरेका धेरै अफगानहरू लडाइँ मात्र सिकेर र सुनेर हुर्किनु परेको छ। तीनले उचित शिक्षा वा अवसर पाउन सकेनन्। र शान्ति भएका देशहरूले पनि पाइरहेका धेरै अवसरलाई 'टेकन फर ग्रान्टेड' लिइरहेका हुन्छन्। मृत्यु बाहेक पनि लडाइँमा गुम्ने चिजहरू धेरै हुन्छन्।

हराएका कुराहरूलाई संरक्षण गर्ने विषयमा कुरा गरौँ। हिजोको छलफलमा मुखबाट सुनाइँदै आइएका कथाहरूलाई बचाउनेविषयमा कुरा गर्नुभएको थियो। त्यस्ता कथालाई भनिनु किन जरुरी छ?

जब युद्ध अपराध, अत्याचार, आमहत्या, जस्ता कुराहरू आउँछ र जब ती कुराले गरिब मान्छेलाई असर गर्छ । गाउँमा बस्ने कमजोर मान्छेहरूलाई पीडा दिन्छ। सरकारले त्यस्ता कुराहरू यत्तिकै पन्छाउन खोजिरहेको हुन्छ। ती यस्ता सबै कुरा बिर्सिन लगाउन खोज्छन्। मेट्न लगाउन खोज्छन्। उनीहरू त्यसभन्दा माथि बसेर देश निर्माणका सपना बाँड्‍न थाल्छन्। र ती मानिसहरूसँग उनीहरूको लागि लेख्ने, उनीहरूको लागि रिसर्च गर्ने, उनीहरूलाई भएका कुराहरू सुन्दिने मान्छे हुँदैन।

यस्तै मौकामा धेरै ऐतिहासिक अपराधहरू भएका छन्। र त्यस्ता कुराहरू यदि कुनै तरिकाले रेकर्ड भएका छन् भने परिवारले सुनाउने तीनै कथाहरूमा भएका छन्। उनीहरूले पटक पटक सम्झिने यादहरू कथा बनेका छन्। ती कथा यत्तिकै बनेका कथा हैनन्। यसैले पनि हामीले पुराना त्यस्ता परम्पराहरूलाई बचाउनुपर्छ। त्यसलाई रेकर्ड गरेर जोगाउनुपर्छ। बोलीमार्फत हस्तान्तरण हुँदै आएका ती कथाहरू एकदमै सुन्दर पनि छन्। तीनले लेख्न र बोल्न नसक्ने मानिसहरूको दृष्टिकोण पनि समेटेका हुन्छन्। सँगै तीनले उनीहरूमाथि भएका विभिन्न खाले अपराधहरूलाई पनि गोप्य रूपमा रेकर्ड गरिरहेका हुन्छन्। तीनलाई जीवित राख्नु यसैले पनि जरुरी छ।

संसारभर धेरै शरणार्थीहरू उत्पादन भइरहेका छन्। तपाईँको परिवार पनि शरणार्थी रहेको थियो। यसलाई कसरी हेर्नुहुन्छ?

शरणार्थी तथा विस्थापनको समस्या बढिरहेको छ किनकि राज्य वा देशको जुन पुरानो बुझाइ हामीमा थियो त्यो असफल हुँदै गएको छ। युके, अमेरिका तथा, भारतमा भएका पछिल्ला चुनावलाई हेर्दा अति राष्ट्रवादीहरू उदाइरहेको देखिन्छ। त्यसले घृणा वा द्वन्द्वलाई बढावा दिइरहेको छ। देशको सिमाना बलियो बनाउने नाममा देश भित्र भएका साना साना समूहहरूलाई लगाउने काम भइरहेको छ।

अमेरिका आफ्‍नो बोर्डर बलियो बनाउने भनिरहेको छ सँगै सिरिया र अफगानिस्तानमा बम खसाल्न छोडेको छैन। लाखौँ मान्छेलाई घरबारविहीन बनाइरहेको छ। यो एकदमै विरोधाभास कुरा भयो। शासकहरू देश बलियो बनाउने नाममा मानिसहरूलाई अलग्याउँदै छन्। यो डरलाग्दो छ।

Twitter: @SurajWritesNP

प्रकाशित : माघ ४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?