अग्निवर्षा कविता

विमल निभा

महिला रचितसंख्य–असंख्यकविताहरु

ZenTravel


जे महिला
त्यही कविता
जहाँ महिला
त्यहाँ कविताहरु
जति थिचिएका महिला
त्यतिकै कविता
जसरी चिन्तित महिला
त्यसरी नै कविताहरु
जस्तो मौन महिला
त्यस्तो कविता
जसो दुःखी महिला
उसो कविता
जस्तै गम्भीर महिला
त्यस्तै कविता
जता महिला
त्यता कविताहरु
जे जे महिला
त्यही त्यही कविता
जे जस्तो जीवन
महिलाहरुका
उस्तो कविताहरु पनि
हो, जुन महिला
शान्त, मुखर र प्रेममय
अतिशय क्रुद्ध
एवम् विचारशील महिला
अर्थात् महिला कवि
त्यो नै कविता

Meroghar

आठ हजार
र, तीन सय वर्षदेखि
असमान चिसोमा तप्त
महिला कविका
पुरूषार्थी
होइन, पुरूषजयी
अग्निवर्षा कविताहरु

प्रकाशित : पुस २६, २०७६ ११:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जुत्ताको मानवशास्त्र

डम्बर चेम्जोङ

मानिसले खासगरी चिसो ठिही, ढुंग्यान, पत्थरिलो गेग्रर्‍यान, काँडे झाडीमा हिँड्दा खुट्टाको वचावटका लागि जुत्ता नामको पहिरन अनेक रूपमा क्रमशः निर्माण गर्‍य‌ो । आफूलाई शारीरिक कठिनाइबाट बचाउन र खुट्टालाई सुरक्षित राख्न रूखको बोक्रो, जनावरको छाला, रौँ, घाँसपातजस्ता वस्तुहरूबाट जुत्ता बनाई यसको प्रयोग भएझैं लाग्छ ।

सायद आदिम साम्यवादी समाजमा माथि उल्लिखित अर्थमा मात्र जुत्ताको उपयोग हुन्थ्यो । तर, जसै मानव समाज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक, धार्मिक अनेक हिसाबले असमान बन्दै गयो जुत्ताको स्वरूप, डिजाइन, आकार पनि अनेकानेक हुन थाल्यो । जुत्ताले व्यक्तिको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, लैंगिक विविधता र हैसियत प्रतिनिधित्व गर्न थाल्यो । मानव समाजमा उत्पादनको प्रणाली र उत्पादनको सम्बन्धहरूको परिवर्तन र रूपान्तरणसँगै जुत्ता क्रमशः बहु–प्रतीकात्मक, विम्ब–बहुलतायुक्त र विशिष्ट सौन्दर्यबोधक वस्तुको रूपमा विकसित हुँदै आएको भान हुन्छ । आजको पुँजीवादी बजारकेन्द्रित युगमा जुत्ताको अर्थमहत्ता अन्य कुराभन्दा पनि सौन्दर्यात्मकता र वस्तु–पूजनीयतावादसंँग छ ।

विशिष्ट परिस्थितिअनुसार, ‘जुत्ता’ शब्द प्रयोग भएका अनेकार्थी वाक्यहरू हुन्छन् । कहिले सामाजिक रूपमा अत्यन्त सकारात्मक अर्थमा ‘जुत्ता’ को प्रयोग हुन्छ, कहिले अत्यन्त नकारात्मक अर्थमा । झगडा पर्दा रिस खप्न नसकी ‘तँलाई जुत्ताले हान्छु’ भनेको सुनिन्छ, हानेको पनि देखिएकै हो । नेपालकै संसद्भित्र समेत जुत्ता हानियो । यूएसएका पूर्वराष्ट्रपति जर्ज बुसलाई इराक भ्रमणको अवसरमा प्रेस मिट गरिरहेकै बेला एक जना पत्रकारले जुत्ताले हाने । पहिलो जुत्ताले हाने, चुस्त र फुर्तीका जर्ज बुसले छले, फेरि दोस्रो जुत्ता उडेर आयो— बुसको टाउकै ताकेर, फेरि छले । राजनीतिक विचार र व्यवहारमा असहमत भएपछि यसरी जुत्ताको प्रयोग गरिँदोरहेछ ।

कहिले मायालुलाई फकाउन ‘चुईं चुईं चुइँकिने जुत्ता, मै किनिदिउँला’ गाइन्छ, कहिले भने लवाइ–खुवाइको रवाफ देखाउन ‘मेरा जुता है जापानी’ गाइन्छ । खुट्टाको सुरक्षाका लागि किन्नुपर्ने जुत्ताकै सुरक्षा गर्नुपर्ने चलन पनि देखिन्थ्यो पहिले गाउँघरतिर । कतिसम्म भने जुत्ता किन्न र लगाउन सक्ने भन्ने प्रभाव पार्नु, देखाउनु पनि छ, फेरि–फेरि किनिरहन सक्ने हैसियत पनि छैन । कतै पाहुना जाँदा जुत्ता हातमा बोकेर घण्टौँ अर्थात् एक–दुई दिनसमेत खाली खुट्टा हिँड्ने अनि गन्तव्यमा पुग्ने बेला लगाउने चलन हाम्रा बाल्यकालमा गाउँ–घरतिर देखिएकै हो । कसैको भने बानी नहुनाले जुत्ताले खुट्टा च्यापेर उखरमाउलो दुख्नाले पनि सहन नसकी गन्तव्यमा पुग्ने बेला मात्र लगाउने बाध्यता पनि हुन सक्छ । हामी आफैँ पनि खुट्टामा लाओस् भनेर किनिदिएको चप्पल वर्षायाम हिलो–मैलोको बेला हातमै लगाएर हिँड्थ्यौं । यसर्थ जुत्ता शब्द र वस्तुले अभिधा, लक्षणा, व्यञ्जना तहमा अनेक अर्थ सुझाउँछन् ।

इतिहासको कुरा गरौँ । इतिहासको लेखोटमै पढ्न पाइन्छ– मकवानपुर ससुराली दरबारका सिपाहीले ‘जुत्ता नफुकाली सलाम ठोक्यो’ भन्ने निहुँमा पृथ्वीनारायण शाहले उक्त सिपाहीलाई तत्काल मार्न लगाए रे ! मननीय छ, सिपाहीले बुट फुकालेर सलाम ठोके कस्तो देखिएला, सुनिएला ! सिपाहीको परेड, सलामीको रौनक र तुजुक त लय, ताल मिलाएर बुट बजार्नुमा सुनिन्छ, देखिन्छ ! जुत्ता लाएरै सलाम ठोक्ने हो, जुत्ता फुकालेर चाहिँ ढोग्ने हो । ढोग्नु र सलाम ठोक्नु नितान्त फरक सन्दर्भहरू हुन् । पृथ्वीनारायण शाहकालीन समाजमा सैन्य संगठन र व्यवस्था थियोझैँ लाग्दैन, भए पनि सुरु र सिकारु अवस्थामै हुन सक्छ । त्यसैले त्यस बेला सिपाहीले सलाम ठोक्ने भन्ने सिकिसकेका थिएनन् कि ! सायद त्यस बेला दर्शन गर्ने, ढोग्ने चलन मात्र हुन सक्छ र ती अभागी सिपाहीले जुत्ता नफुकाली ढोग्नुको बदलामा ज्यान गुमाएको हुन सक्छ ।

सामान्यतया घरभित्र प्रवेश गर्दा ढोकाको संघारनेरै जुत्ता फुकाल्ने चलन नेपाली समाजमा छ । जुत्ताले ल्याएको बाहिरको धूलो, हिलो, मैलो घरबाहिरै बसोस् भन्ने होला । घरको कुरा त घरै हो तर नेपालको कतिपय सरकारी कार्यालयहरूमा, विशेषतः कार्यालय प्रमुखको कार्यकक्षमा जुत्ता बाहिरै खोलेर मात्र प्रवेश गर्नुपर्ने चलन छ । सुनेको हो, यकिन छैन : ‘अबदेखि कार्यालय प्रवेश गर्दा जुत्ता बाहिरै खोलेर पस्ने चलन बन्द गर्नू’ भन्ने परिपत्र पनि केही वर्षअगाडि आएको थियो रे ! २०४६–४७ सालतिरदेखि नेपालमा योजना तथा विकास कार्यक्रमहसँग सम्बन्धित कार्यालयहरूमा बिस्तारै डेस्कटप कम्प्युटरहरू एका–दुई दिन थालियो । कम्प्युटर–कोठा विशेष सफा राख्ने गरिन्थ्यो र त्यस कोठामा प्रवेश गर्दा जुत्ता खोल्नैपर्थ्यो । जुत्ता लगाएरै छेउ जाँदा कम्प्युटरमा भाइरस लाग्छ भन्थे । जुत्तासँग आउने धूलो–मैलोको कारण कम्प्युटरमा भाइरस लाग्छ भन्ने बुझाइ रहेछ त्यस बेला (३० वर्षअघि) का विज्ञहरूको ।

नेपालमा अध्ययन–अध्यापन, अनुसन्धान र ज्ञान उत्पादन तथा वितरण गर्ने केन्द्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस तथा केन्द्रीय कार्यालयहरूको कुरा गरौं । शिक्षाध्यक्षको कार्यालयलगायत त्यसै भवनभित्र अवस्थित शिक्षाध्यक्ष मातहतका कार्यालयमा जुत्ता ढोकाबाहिरै खोलेर प्रवेश गर्ने चलन राखिएको छ । पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठीज्यूको दर्शन गर्न जानुपर्दा बाहिर ढोकैमा अनुमान हुने– भेट्न कति समय लाग्ला भन्ने । कहिले त गाउँ–घर वा पातलो बस्तीको देवीमन्दिर बाहिरभन्दा धेरै जुत्ताका थाक हुन्थे शिक्षाध्यक्ष कार्यालयको ढोकाबाहिर । र, जस्तै जरुरी काम परे पनि फनक्क फर्कनुपर्ने । जुत्ता खोल्नुको झन्झट कति छन् कति ! सामान्य स्पोर्ट्स जुत्ताहरू लगाएर जाँदा ठीकै हो, एउटा खुट्टको कुर्कुच्चापट्टिले अर्को खुट्टाको कुर्कुच्चा धकेलेर जुत्ता ख्वास्स खोल्यो पस्यो ! तस्मा कस्ने छालाको चेल्सी बुट लगाएको छ भने सकस परिहाल्छ, अझ छालाको तस्मावाला हाइटप जुत्ता हो भने त फसादै पर्छ खोल्नलाई । आफ्नै खुट्टा ढोगेजसरी निहुरेर तस्मा फुकाल्दै जुत्ता खोल्नुको हैरानी कस्तो हुन्छ, सबैलाई थाहा भएकै कुरा हो । अझ मोटाएर भुँडी उछिट्टिएको ज्यान होस् र तस्मा फुकालेर खोल्ने जुत्ता लगाएको होस्, उसैलाई थाहा होला उठीउठी जुत्ता लगाउनु र खोल्नु कस्तो सकस हुन्छ भन्ने !

जुत्ता खोलेर मात्र ठूला हाकिम भेट्न पाउनुको मानवशास्त्रीय विश्लेषण कसरी गर्ने होला ! सामन्ती चिन्तन र चरित्रमा जुत्ता लगाएरै सलाम ठोक्ने हो र जुत्ता फुकाएर दर्शन गर्ने वा ढोग्ने हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयहरूमा जुत्ता खोलेर हाकिम भेट्ने चलन चलाउनुलाई सामान्य धूलो, मैलो, हिलोसँग सम्बन्ध राखेर हेरेर मात्र पुग्दैन । बरु सामन्तवादी बडप्पन भाव हाबी हुनाको कारणले जुत्ता खोलेर दर्शन गराउने भन्ने विचार हुन सक्छ ता कि आफ्नो कार्यकक्षमा प्रवेश गर्नुअघि जुत्ता खोल्नासाथ भेट्न आउनेले आफ्नो हैसियतको एक अंश भए पनि गुमाओस् र भेटमा डटेर कुरा गर्न नसकोस् भन्ने मनोभावनाले काम गरेको पनि हुन सक्छ ।

गएको मध्यवर्षायाममा ठूलो झरी–वर्षा र हिलाम्य कम्पाउन्डबीचमा निर्मित त्रिवि उपकुलपतिको कार्यालय कुलपतिज्यूबाट उद्घाटन भयो । उपकुलपतिको कार्यालय भवनवरिपरि जुत्ता वा बुटजुत्ता त, के गमबुट नै गाडिनेसम्मको हिलोमय थियो उद्घाटन–अवसर । त्यस अवसरमा कुलपतिज्यूका सम्मानमा हिलोमा बिछ्याइएको ‘रेड कार्पेट’ बारे धेरै नै छापाबाजी भएको थियो । नजाने कुन लोभ, मोह वा समस्याले हो— उपकुलपति–कार्यालयको आँगन कम्पाउन्ड आज पनि त्यही अवस्थामा छ । ठुस्केको मुखमा कुराउनी भनेको यही त हो ! जे भए पनि बाहिर कम्पाउन्डलाई व्यवस्थित नगरी हिलाम्य–धूलाम्य राखेपछि कम्तीमा आगन्तुकलाई अफिसभित्र प्रवेश गर्दा जुत्ता फुकाल्न बाध्य पार्ने बहाना त मिलेकै छ ।

कार्यकक्ष वा कार्यथलोमा जुत्ता लगाएरै प्रवेश गर्नु वा काम गर्नु भन्ने कुरा कतिपय अर्थमा आत्मविश्वास, आत्मसम्मान र खुला दिल–दिमागसँग पनि सम्बन्धित हुने रहेछ । कति प्राध्यापकलाई लाग्नेरहेछ, जुत्ता खोलेर नांगो खुट्टाले उभिएर क्लासमा पढाउनु भनेको खाली दिमागले पढाउनुजस्तै हो ।

एउटा रमाइलो किस्सा उल्लेख गरूँ । यूएसएको कोर्नेल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गरेको एउटा कार्यक्रम कीर्तिपुरमा थियो— कोर्नेल नेपाल अध्ययन कार्यक्रम । कार्यक्रमको क्लासरुममा विद्यार्थी तथा प्राध्यापक सबैले जुत्ता बाहिरै खोलेर चकटीमा बसेर, लो–टेबलहरूमा नोट लेख्ने, पढ्ने पढाउने किसिमको व्यवस्था थियो । त्यस कार्यक्रममा त्रिविका र त्रिविबाहिरका समेत प्राध्यापक तथा विषय विज्ञहरू आएर विभिन्न विषयमा पढाउनुहुन्थ्यो । एकपटक स्वर्गीय डा. प्रह्लाद योञ्जनको क्लास थियो तर उहाँले त्यसभन्दा अघिल्लो सिमेस्टरमा पनि पढाउन आउनुभएको थियो । दोस्रोपटक क्लास सुरु हुने समयमा उहाँले ब्याक–प्याकबाट एक जोर जुत्ता निकाल्दै भन्नुभयो, ‘यो कार्यक्रममा जुत्ता खोलेर, बसेर पढाउनुपर्ने चलन रहेछ तर दुइटा कुरा । एउटा त म बसेर क्लासमा पढाउन सक्दिनँ । दोस्रो जुत्ता नलाईकन मैले क्लासमा पढाउँदा के पढाएँ भन्ने थाहै पाउँदिन । अस्तिको सिमेस्टरमा त्यस्तै भयो र यसपालि क्लासमै लाउनका लागि नै नयाँ जुत्ता किनेर ल्याएको छु । पुरानो जुत्ता बाहिर ढोकामै खोलेर आएँ ।’ पीएचडीको अनुसन्धान लाङटाङ क्षेत्रको रेड पान्डामा गरेका र नेपालमा पाटे बाघको गणनामा संलग्न स्वर्गीय योञ्जन आफ्नो विषयका होनहार वैज्ञानिक थिए । प्रकृति र वातावरण संरक्षणका अभियन्ता पनि थिए ।

थोरै आफ्नै कुरा किन नगरूँ ? हाम्रो युवावयमा जुत्ताको दुःख थियो । ब्रिटिस गोर्खा भर्तीमा हङकङ जाने लाहुरेले ल्याएको जुत्ता बडो आकर्षक लाग्थ्यो । लाहुरे हुन एक बारको जुनीमा म पनि भिडें एकपटक । पूर्वमा धरानको घोपा (हाल बीपी मेमोरियल हस्पिटल) मा थियो— डिपो रिक्रुटमेन्ट सेन्टर । छनोटको एक चरणमा दौडनुपर्‍यो । दौडिन ‘रेडी’, ‘गेट’, ‘सेट’– हुँदै गर्दा गल्लावाल तथा एआरओ (एरिया रिक्रुटमेन्ट अफिसर) छेउमै उभिएर कराए, ‘केटा हो, जुत्ता, झोला, घडी, रेडियो, क्यामेरा सम्झेर कुद ।’ म भर्ती लागिनँ, फेल भएँ । तर, त्यो कुरकुरे बैंसमा भर्ती हुन नसकेको पीडाले कुन हीनग्रन्थिमा हान्यो कुन्नि, आज पनि जुत्ता–झोलाको परख गर्न मन लाग्छ ।

एउटा हिन्दी सिनेमामा नक्कली कर्णेल बनेर आएका अमिताभ बच्चनको जुत्ताको सोल प्वाल परेको देखेर कादर खान भन्छन्, ‘आद्मीको पहेचान ना है तो जुते से देख्ना पडेगा ।’ कादर खानको यो डायलगले बुझाउँछ— जुत्तामार्फत मानिसको सामजिक, वर्गीय हैसियत देखिन्छ । हुन पनि हो, विशिष्ट ऐतिहासिक परिस्थितिहरू र उत्पादनका सम्बन्धहरू रूपान्तरण हुँदै जाँदा जुत्ताले विविध अर्थ प्रतिनिधित्व गर्दै गयो । मलाई लाग्छ, जुत्ता आफैँ सबैभन्दा पहिले त लैंगिक विभाजन र असमानताको सिकार बन्यो । जसै महिला र पुरुषले लगाउने जुत्ता फरक–फरक बन्न थाले, तसै धनीमानी र गरिबगुरुवाका लागि पनि फरक–फरक जुत्ता उत्पादन हुन थाले । श्रम विभाजनसँगै श्रमिकले लगाउने जुत्ता र मालिकले लाउने जुत्ता फरक भयो ।

फ्रेन्च समाजशास्त्री पियरे वोर्दिउले कुनै पनि कुराको स्वाद, पसन्द र व्यक्तिको वर्गीय पृष्ठभूमिबीच सम्बन्धबारे अत्यन्त चित्तबुझ्दो विश्लेषण गरेका छन् । उनी कसलाई के मन पर्छ, कुन व्यक्ति कुन खानेकुरा वा लगाउने कुराको पारखी हुन्छ, कुन गीत, संगीतले कसको मन रमाउँछ भन्ने कुरा व्यक्तिको वर्गीय र सांस्कृतिक पृष्ठभूमिसँग सम्बन्धित हुन्छ भन्छन् । हामीमध्ये पनि कसैलाई गजल मीठो लाग्छ भने कसैलाई गाउँघरकै दोहोरी मन पर्छ । कोही लोकगीतका पारखी छन् भने कोही आधुनिक गीत मीठो मान्छन् । यसरी वोर्दिउका दृष्टिकोणअनुसार त जुत्ता पनि आ–आफ्नो स्वादअनुसारको हुने रहेछ । कसलाई कुन जुत्ता स्वादिलो लाग्छ, कुन ब्रान्डको जुत्ताले कसको मन हरण गर्छ भन्ने अध्ययन गर्ने हो भने पनि समाजको वर्गीय पक्षको एउटा पाटो बुझ्न सकिन्छ । आजको जुत्ता–रासन (अति आवश्यक कुरा) मात्र होइन, फेसन पनि हो । आजको जुत्ताको उपयोग–मूल्य मात्र हुँदैन, वस्तु–पूज्य मूल्य पनि हुन्छ । जय जुत्ता !
@chemjongd

प्रकाशित : पुस २६, २०७६ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×