कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई दशक, दुई घटना

कुमारी लामा

एक झल्को
नमीठो साँझ भर्खरै बेहोरिसक्दा विगतको एउटा घटना तिखो बिझेको छ । हुन्छ नि घाउको पाप्रा कोट्याउँदाको कडा दुःखाइ ।

दुई दशक, दुई घटना

त्यस्तै । महिलाका त कति नि ! छोपिई बसेका ती चस्काहरू । बाटो, चोक गल्ली या मध्यबजार, जहीँतहीँ छन् त्यस्ता सुदूर समयका घाउहरू । देशमा प्रजातन्त्र उदाएसँगै हाम्रो परिवार धादिङबाट काठमाडौं सरेको थियो । गाउँ छाड्नुका विविध कारणहरू थिएछन्, उतिखेर म अजानकार थिएँ । ठूलो सहरका धेरै ठाउँमा नौला दुःख, हन्डर खाएपछि भने हामी डेरा सराइसँगै पुगेका थियौँ चाबेल शान्तिगोरेटो । त्यसबेला म एघार वर्षकी थिएँ ।

आफ्नो थातथलो, खेतीपाती छाडी हिँडेपछिको कठिनाइ हाम्रो परिवारले भोग्दो थियो । आमा एउटा कारखानामा काममा लाग्नुभएको थियो । त्यस दिन म आमाले काम गर्ने ठाउँबाट डेरातिर लम्किँदै थिएँ । बेफिक्री थियो चाल । तब अकस्मात् कसैको हात मेरो छातीतिर आइपुग्यो । त्यस हातले फत्ते गरेको कामसँगै उक्लेको दुःखाइको पारो र त्रासद झड्कामाझ म चाबेल चोकमा चिसो भई जमेँ । यति अचानक त्यस घटना भयो कि सायद म अलमलमा परेँ । या सायद डराएँ र पर्खालझैँ ठडिएँ केही क्षण । यी सब यति अप्रत्याशित र आकस्मिक भयो मैले को, के केही चाल पाइनँ । मात्र त्यो अनुहार एक झल्को आँखामा पर्‍यो । यति नजिकबाट कि मैले त्यसको नापनक्सा कैद गर्नै सकिनँ । ठम्याइ यति मात्र भयो कि त्यो पुरुष अनुहार हो । त्यसैबखत डर र अलमलबीच लाचारीपूर्वक फुस्फुसाएको भने सम्झना छ, ‘आमालाई भन्दिन्छु ।’

डर र अप्ठेरो बोकेर रन्थनिँदै डेरा पुगेँ । साँझ कामबाट फर्किनुभएकी आमालाई दिउँसोको घटना सुनाउन भने सकिनँ । थाहा छैन किन । ममा यति अवसाद भनौँ या त्रास या नमीठोपन फैलिएको थियो कि म बिस्तारै अर्कै हुँदै गएँ । सायद त्यही घटनापछि नै हो मेरो हिँडाइ बद्लिएको ।
म काँध झारी कुप्रिएर हिँड्न थालेको थिए । मानौँ कि म जोगाउन चाहन्थेँ आफूलाई ती हातहरूबाट । निकैपछि बाबाले याद गर्नुभएछ, मेरो नुहेको काँध । ‘किन बाङ्गिएकी, सीधा हिँड्’ भन्नुहुँदा म झसंग भएँ । मेरो हिँहाइ त अस्वाभाविक देखिन थालिसकेछ । छाति फुलाएर लम्किने निडर चाल त खुम्चिएर कता हो कता बेपत्ता भैसकेछ । पहिलेजस्तै टाउको उठाएर सीधा हिँड्न मैले निकै समय प्रयास गर्नुपर्‍यो । सम्भवतः त्यही घटना थियो ममाथि पितृसत्ताको पहिलो अंकुश, जसले मेरो बेपर्वाह हिँडाइमा बन्देज लगाइदियो । यसरी नै विकृत मानसिकता बोकेकाहरूका हात, मस्तिष्क हुँदै मिचिँदै जान्छ स्वतन्त्रता छोरीहरूको । साथमा सामाजिक मूल्य मन्यताहरूको डसाइ । कसरी टाउको उचो पारी स्वतन्त्र हिँड्न सक्नु त छोरीहरूले ?

विगत बल्झाउने अर्को घटना भयो हालै । फरक तर फेरि उस्तै पनि । म कसैलाई कुर्दै थिएँ जडीबुटी चोकमा । समय साँझको करिब ६ बजे । पुसको फासफुसे दिन, त्यसैले अलिक अँध्यारिँदो समय । लगभग दस मिनेटको कुराइमा केहीपटक तलमाथि हिडेँ । गाडी कुर्नेहरूको हूलमुल, हल्ला र धूलोमाझ एक मोटरबाइकवाला रोकिए र कसैलाई कुरेझैं गरे । त्यस मास्क र हेल्मेटधारीले मेरो यताउति हिँडाइ केही बेर नियाल्यो । ट्राफिकले चोकमा गाडी रोक्दाको सुनसान क्षण उसको बोली फुट्यो, ‘कता जाने हो ?’ मैले वास्ता गरिनँ । अलिक माथि पुगेर फर्किंदा उसले त्यही प्रश्न दोहोर्‍यायो । सामान्य सोधाइ फरक हुन्छ । सहजै बुझिन्छ । तर, उसको सोधाइ भिन्न थियो । फरक इन्टेन्सनसहितको । रिसको पारो उक्लिसकेको थियो मेरो । म अडिएँ र प्रतिप्रश्न गरें, ‘किन ? किन चाहियो ?’ उसले अर्कै पारामा केही कुरा भनेपछि भने मैले सहन सकिनँ र लामै जवाफ फर्कार्एँ । त्यसपछि त्यो बाइकवाला बेपत्ताले हुइँकियो । तर, दौडिनुअघि बोली गयो एउटा नमीठो शब्द मेरा लागि । के बोल्यो होला, आफैं बिचार्नुस् । म फेरि पहिलेजस्तै अवाक र स्तब्ध भएँ । एकपटक फेरि विगत बल्झियो फरक पारामा ।

समाज
यी घटना सामान्य हुन् त ?
मथिंगल हानेको हान्यै छ । प्रश्नहरू ओइरिएको छ आफैंभित्र । यी घटना सम्झँदै जाँदा सोच्दै छु, हाम्रो समय र समाजबारे । साढे दुई दशकभन्दा बढीको अन्तरालमा घटेका यी दुई घटनाले हाम्रो समाजमा व्याप्त मानसिकता प्रस्ट पार्छ । एउटी छोरी मान्छे किशोरावस्थाको होस् या प्रौढ, जहिल्यै यस्ता हिंसाका घटनामा परिरहेका छन् । हिंसा बन्द कोठामा मात्र होइन, खुला स्थानमा यसरी भइरहेको छ । हामी भने लोकतान्त्रिक संघीय देशका वैश्विक नागरिक भएको दम्भ ओकलिरहेका छौँ । परिवर्तन हुन नसकेको पितृसत्तात्मक मानसिकताको प्रहार सहनुपर्दा लाग्छ, नेपाली समाजको पात्रो र घडी जमिबसेको छ एकै ठाउँ ।

खै कहाँनिर परिवर्तन आयो त पितृसत्तात्मक समाज, सोच, दम्भ या कर्तुतमा ? जब कि आज पनि एउटी महिला सम्साँझ एक्लै हिँड्दा या मानिसको हूलमाझ पनि गाली गलौज र दुर्व्यवहारका सिकार हुन्छन् ।

यी घटना साक्षी हुन् हाम्रो समाजमा विद्यमान निरंकुश पितृसत्तात्मक प्रवृत्तिको । यस सोचले ग्रस्त पुरुषले महिलाको अस्तित्व स्विकार्दैन । महिलालाई मान्छेभन्दा तल एक वस्तु ठान्छ । अथवा मान्छे नै माने पनि प्रयोग गर्न सकिने, भोग्न सकिने या जे भन्दा गर्दा पनि हुने मानी व्यवहार गर्छ । जुन कुरा मैले बेहोरेको दुवै घटनाले प्रस्ट्याएको छ । पछिल्लो घटनामा सामेल हेल्मेटधारीले एउटी महिला साँझ सडकमा बेपर्वाह हिँडिरहनुलाई अन्यथा नै लियो र छोपिहाल्यो मौका । उसको त्यो सोचपछाडिका कारक तत्त्व धेरै होलान् । तीमध्ये पहिलो कारण हुन सक्छ, चिम्से आँखासहितको गोलो अनुहारप्रति समाजमा व्याप्त दृष्टिकोण । दोस्रो, समाजले महिलामाथि लादेको आउटडेटेड केही मूल्यमान्यताहरूको धङधङी । कैलाश राईले वकालत गरिरहेजस्तै अनेकन गलत बुझाइ छन्, जनजाति महिलाबारे हाम्रो समाजमा । जनजाति महिलाहरू स्वतन्त्र हुन्छन्, त्यसैले उनीहरूसँग जे बोल्न र भन्न पनि छुट छ भन्ने मानसिकता देखिन्छ मानिसको ।

यसो हुनुपछाडि उनीहरूको शरीरलाई शक्तिकेन्द्र, सत्ताधारीले गरेको दोहनको इतिहास जोडिएको छ । त्यसैको रहलपहल हो, उनीहरूप्रतिको व्याप्त आमधारणा । सम्भवतः यही मानसिकताग्रस्त त्यस पुरुषले रातमा एक्लै हिँडिरहेकी जनजाति अनुहारकी महिलालाई केही भन्दा फरक पर्दैन भन्ने सोच्यो होला । अथवा पितृसत्तात्मक दम्भले फुलेको एक बिमार मानसिकताले उम्लिएको पुरुषको अभिव्यक्ति पनि हुन सक्छ, उसको बोली व्यवहार । तर, समग्रमा यस्ता घटना सबै जातिका महिलाले चोक–दोबाटोमा झेलिरहेकै छन् ।

त्यो पुरुषको रवैयासँग सामाजिक मान्यताका केही पाटा पक्का जोडिएको छ । हाम्रो समाजिक मूल्यमान्यताले रातविरात महिलाको हिँडाइ स्विकार्दैन । साँझ नढल्दै घरभित्र छिर्नुपर्ने बन्देज अझै छ । त्यसमाथि थपिदिएको छ असल महिलाका गुणहरूको लामो लिस्ट । महानगरमा साँझ–बिहान कामकाजी महिला हिँड्छन् तर त्यसमा पनि कुन नापनक्साका अनुहार हिँड्दै छन्ले पनि खास भूमिका खेल्न सक्छ । महिलाको मौनतालाई सेलिब्रेट गर्ने हाम्रो समाजले असल महिलाको गुणमा ‘सहनु’ लाई निकै महत्त्वका साथ हेर्छ । बोली फर्काउने, प्रतिप्रश्न गर्ने, सहन नसक्ने त असल महिला होइन भनी ठोकिदिन्छ लाहाछाप । घरघरमा छ महिला बन्देजको सूची । बोल्यो कि खराब आइमाई । चुपचाप बसे आनन्द ।

मैले कडा रूपमा कुरा राख्दा घरमै ‘महिलावादी’ भएको नकारात्मक प्रतिक्रिया पाएकी छु । ज्योति जंगलले उप्काएको महिलावादी हुनुको या भनिनुको पीडा अधिकांश बोल्ने, प्रश्न गर्ने महिलाले झेल्ने गरेका छन् । गम्भीर प्रश्न जन्माएको छ समाजको यसखाले प्रवृत्तिले । खासमा समाज या भनौँ पितृसत्तात्मक मनोवृत्ति अटेसमटेस बोकी हिँडेकालाई सधैँ महिलाको प्रश्नले नमीठो गरी बिझाउँछ । जसरी त्यस पुरुषलाई घोच्यो र मलाई नमीठो गाली गरी भाग्यो । महिलाको आवज र प्रश्नसित त्रस्त देखिन्छन् उनीहरू । खाईपाई आएको मनमौजी समय हातबाट चिप्लिने डर बढेजस्तो लाग्छ । पितृसत्तात्मक मानसिकता बोकेकाहरूको मनोविज्ञान भयानक छ ।

उनीहरू महिला केवल मूर्ति भई बसिदियोस् चाहन्छन् । पटक्क मन पराउँदैनन् उनीहरूको चहलपहल, आवाज, प्रश्न या प्रतिप्रश्न । झम्के साँझमा निस्फिक्री हिँड्नु अनि मै हुँ भन्ने पुरुषलाई जवाफ फर्काउनु सह्य हुने कुरै भएन पितृसत्तात्मक सोच अठ्याई बस्नेहरूलाई । त्यो पुरुषले कल्पना गरेको हुँदो हो, उसको सोधाइको जवाफमा एक असहज हेराइ या एक लहर मुस्कान या मौनता । तर, त्यस्तो केही भएन । उसले प्रतिप्रश्न फेला पार्‍यो । उसलाई धक्का लाग्यो । मनमा हलचल भयो सायद । भाग्नुको विकल्प देखेन र भाग्यो । तर, जाँदाजाँदै ओकली गयो, आफूभित्रको जब्बर पितृसत्तात्मक प्रवृत्ति ।

नफेरिएको सोच
समय फेरिएजस्तो देखिए पनि फेरिएको छैन निरंकुश पितृसत्तात्मक सोच । यो जब्बरे सोच र प्रवृत्तिमा बद्लाव आएको भए महिलामाथिका हिंसाका घटना कम हुनुपर्ने हो । तर, उक्लेको उक्ल्यै छ हिंसाको ग्राफ । नाबालिकादेखि वृद्धासम्म कोही सुरक्षित छैनन् । विद्यालय, कार्यालय, सडक या घर कतै सुरक्षा छैन । महिलाका पीडादायी भोगाइ दोहोरिइरहेका छन् । मेरो विगत भोगाइ आज कलिला नानीहरूले बेहोर्दै छन् । महिला शरीरमाथिको दोहन र अस्तित्वहीनताको कथा लामो छ । इतिहास साक्षी छ, कसरी महिलाको अस्तित्व पुरुष अथवा लोग्नेको अस्तित्वसँग जोडिएको थियो । उही अवस्था आज पनि निरन्तर छ ।

लोग्ने छैनन् त उनीहरूको अस्तित्व छैन । सती जलाइनु उनीहरूको अस्तित्वहीनताको एक जिउँदो उदाहरण थियो । छाडियो पोल्न सती तर अझ पोलिँदै छन् विभिन्न खाले पोलाइ । छाउगोठभित्र निस्सासिँदै सास छोड्नुको पोलाइ, छोरा जन्माउन नसक्दा आधा दर्जनभन्दा बढी छोरी भ्रूण हत्यासँगैको मन र ज्यानको जलन, रिहानाहरूको दाइजो जलाइ या पूजाहरूको हाडनाता करणी जलाइ । निर्मला पन्तको जलाइको त सीमा छैन । मृत्युपश्चात् पनि न्यायका लागि गुन्जिरहेको छ उनको आवाज । लामो छ जलाई शृंखला । र, साथमा थपिएको छ सडकदेखि घरका सुरक्षितझैँ लाग्ने कोठा चोटाहरूमा दिनदिनै बाक्लिँदै गइरहेको महिलामाथिको हिंसा । महिलामाथि भइरहेका बग्रेल्ती हिंसाका घटनामाझ अग्रगामी सोच र परिवर्तनको ढोल पिट्न मस्त समाज कतै घिस्रिरहेको त छैन सतीयुगतिर ?

प्रकाशित : पुस २६, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?