एउटा कविताको सामर्थ्य

दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले अहिले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ ।
हरि अधिकारी

आज भारतमा एक बेहतरिन उर्दू नज्म अथवा उर्दू भाषामा लेखिएको एक बहुतै सुन्दर कविताको चर्चा चुलिएको छ  । कुनै एउटा नज्म अथवा कविता यसरी व्यापक चर्चामा आएको दृष्टान्त विरलै पाइन्छ  ।

एउटा कविताको सामर्थ्य

तर, यसपटक आधुनिक उर्दू कविताका सम्भवतः सबैभन्दा प्रभावशाली हस्ताक्षर, दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ । फैजको यो उत्कृष्ट नज्मलाई यस रूपमा चर्चित बनाउनेहरूले जानी–जानी हो वा अज्ञानताले हो, यसको जुन प्रकारको भाष्य गर्ने प्रयास गरेका छन् त्यो भने सरासर गलत देखिन्छ ।
मार्क्सवादी कवि फैज अहमद फैजले यो कविता सन् १९८० को दशकको एक विशेष कालखण्डमा इस्लामिक गणतन्त्र पाकिस्तानमा लादिएको सैनिक शासनको प्रतिरोध गर्नाका खातिर लेखेका थिए । सैनिक शासनले फैजका सबै प्रकारका रचनाहरूमाथि पूर्ण प्रतिबन्ध लगाएकाले यो कविता उनको जीवनकालमा पाकिस्तानमा त्यति धेरै पाठकसम्म पुग्न सकेको थिएन । अहिले, कवि फैजको देहान्त भएको झन्डै ३७ वर्षपछि उनको यो कविता पाकिस्तानसँग अनवरत रूपमा द्वन्द्वरत रहेको छिमेकी देश भारतमा सैनिक शासनको भन्दा अलि बेग्लै किसिमको अधिनायकवादी सत्तासँग संघर्ष गरिरहेका आम जनताका लागि एउटा ठूलो प्रेरणाको स्रोत बन्नुलाई एउटा सुखद आश्चर्यको विषय हो भन्न सकिन्छ ।

महान् साहित्यिक सिर्जनाहरू देश, राजनीति, भाषा र संस्कृतिका सीमारेखाहरूमा बाँधिएर रहँदैनन् भन्ने पुष्टि फैजका कालजयी रचनाहरूले बलियोसँग गरेका छन् । उनका प्रायः सबै रचना पाकिस्तानभन्दा उत्तर भारतको विशाल पाठक समुदायमा प्रिय छन् । त्यसैले, संसदीय बहुमतको बलमा अन्धधार्मिक, उग्रहिन्दुत्ववादी र मुस्लिमप्रति चरम् असहिष्णु शासन लाद्न खोजिरहेको भारतीय जनता पार्टीको सरकारले लागू गर्न खोजेको विभेदकारी नागरिकता ऐनको विरोधमा उत्रिएका भारतीय युवाहरूले ‘हम देखेंगे’ का अमर शब्दहरूमा आफ्नो हृदयको आवाज मिसाउन खोजेको हुनुपर्छ ।

नरेन्द्र मोदी सरकारले लागू गर्न खोजेको विवादास्पद नागरिकता संशोधन ऐन २०१९ को विरोधमा उत्रिएका भारतभरिका ५ दर्जनभन्दा बढी विश्वविद्यालयका छात्रहरूमध्ये इन्डियन इन्स्टिच्युट अफ् टेक्नोलजी (आईआईटी) कानपुर, यूपीका विद्यार्थीहरूले विरोध प्रदर्शनका क्रममा फैज अहमद फैजको त्यही ‘हम देखेंगे’ शीर्षकको गीति–कवितालाई आफ्नो मनको कुरा राख्ने माध्यम बनाएका छन् । उनीहरूले विरोध प्रदर्शनका क्रममा त्यस कविताको सस्वर पाठ गर्दै त्यसमा कविले व्यक्त गरेको फौजी अधिनायकवादको क्रूर पञ्जाबाट सर्वसाधारण पाकिस्तानी नागरिकको मुक्तिको कामनासँग आजको भारतका अल्पसंख्यक समुदायले भोग्नुपरिरहेको विभेदजन्य पीडालाई जोड्न खोजेका छन् ।

आईआईटी कानपुरसँग सम्बन्धित अधिकारीहरूले भने आन्दोलनकारी विद्यार्थीहरूले फैजको त्यस महान् कवितालाई आफ्नो मनको भावना मुखरित गर्ने माध्यम बनाउन खोजेको कुरालाई नकारात्मक रूपमा लिएका छन् । कुनै पनि उत्कृष्ट कविताको सीमातीत सौन्दर्य र सामर्थ्यबारे बिल्कुलै बेखबर ती रूढाग्रहीहरू त्यो कवितालाई हिन्दुविरोधी भएको आरोप लगाउँदै प्रदर्शनका क्रममा त्यसको पाठ गर्न र त्यसलाई उद्धृत गर्न प्रतिबन्ध लगाउनुपर्ने माग गरी स्थानीय प्रशासनमा उजुरी दिन पुगेका थिए । कुनै पनि मुसलमानको नाम जोडिनेबित्तिकै त्यसमा देशद्रोह देख्ने दृष्टिदोषग्रसित उत्तर प्रदेशको योगी आदित्यनाथ नेतृत्वको सरकारअन्तर्गतको कानपुर जिल्लाधिकारी कार्यालयले त्यस उजुरीमाथि तुरुन्तै सुनुवाइ गर्दै फैजको त्यस कालजयी कविताका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न ३ सदस्यीय कथित विज्ञ टोली गठन गरेको छ । अहिलेसम्म विज्ञ टोलीले प्रतिवेदन दिएको समाचार भने आएको छैन । आधुनिक उर्दू कविताका शीर्षस्थ हस्ताक्षर फैज अहमद फैज (सन् १९११–१९८४) को त्यो चर्चित कविताको एक टुक्रा यस्तो छ :

हम देखेंगे
लाजिम है कि हम भी देखेंगे
वह दिन जिसका वादा है
हम देखेंगे
जो लौह–ए–अजल में लिखा है
हम देखेंगे
लाजिम है कि हम भी देखेंगे ।

पाकिस्तान पिपल्स् पार्टीका नेता तथा लोकप्रिय प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई षड्यन्त्र गरेर फाँसी दिलाई सत्ता हत्याएका जनरल जियाले आफ्नो स्थिति बलियो हुनेबित्तिकै फैज र इकबालहरूको मुलुक पाकिस्तानलाई फौजी निरंकुशता र इस्लामिक उग्रवाद मिलेर बन्ने क्रूर अधिनायकवादको अँध्यारो सुरुङभित्र हुलिदिएका थिए । त्यहाँ लोकतन्त्र, स्वतन्त्र प्रेस, अभिव्यक्तिको स्वतन्त्रता, मानवअधिकार र कवि–लेखक–कलाकारहरूलाई चाहिने सिर्जनात्मक परिवेशको नाम–निशान नै मेटिदिइएको थियो ।

समाजवादी नेता र प्रधानमन्त्री जुल्फिकार भुट्टोका निकट मित्र रहेका कम्युनिस्ट कवि फैजमाथि जर्नेल जियाको फौजी सत्ताको वक्रदृष्टि पर्नु स्वाभाविक नै थियो । देशभित्र उनका रचनाहरू छापिने वा पढिने सम्भावना बिल्कुलै थिएन । त्यसैले कालान्तरमा मानवीय मुक्तिको शाश्वत मन्त्रजस्तै बन्न पुगेको ‘हम देखेंगे’ पनि यसको रचना भएको केही वर्षसम्म पाकिस्तानी पाठकहरूसम्म पुग्नै पाएको थिएन भन्दा पनि हुन्छ । लगातारको मानसिक उत्पीडनबाट दिक्क भएर लेबनानमा निर्वासित जीवन बिताइरहेका कवि फैज जीवनको अन्तिम समयतिर स्वदेश फर्केर लाहौरमा बस्न थालेका थिए । सन् १९८४ को नोभेम्बर महिनामा उनको त्यसै सहरमा निधन भएको थियो ।

अहिले चर्चाको शिखरमा रहेको यो महान् कविताको पहिलो तर अत्यन्तै प्रभावशाली सार्वजनिक प्रस्तुति भने कविको मृत्यु भएको करिब १५ महिनापछि, सन् १९८६ को फेब्रुअरी महिनामा भएको थियो । लाहौरको अल हम्जा रंगशालामा कवि फैज अहमद फैजको जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सुविख्यात पाकिस्तानी गजल गायिका इकबाल बानोले सैनिक तानाशाह जिया–उल–हकले फैजका कविताहरूमाथि लगाएको प्रतिबन्धलाई दृढतापूर्वक तोड्दै सुफियाना शैलीमा लेखिएको यो क्रान्तिकारी गीति–कविता गाएकी थिइन् । त्यस दिन इकबाल बानोले फैजको कवितामाथि लगाइएको प्रतिबन्ध मात्र होइन, जर्नेल जियाले पाकिस्तानी महिलाहरूले कालो साडी लगाउन नपाउने भनी जारी गरेको फतवाको पनि दृढ अवज्ञा गरिदिएकी थिइन् । गायिका बानो त्यस दिन अल हम्जा रंगशालामा कालो साडीमा सजिएर पुगेकी थिइन् ।

त्यस दिन अल हम्जा रंगशालामा उपस्थित करिब ५० हजार पाकिस्तानी जनताका लागि इकबाल बानोले कन्सर्टमा आउँदा लगाएको कालो साडी र उनले गाएको फैजको ‘हम देखेंगे’ शीर्षकको नज्म एक अलौकिक आनन्दको अनुभूति बनेको थियो । सैनिक प्रशासनका प्रहरी र गुमास्ताहरूको त होस नै उडेको थियो त्यतिबेला । मोहतरमा इकबाल बानो सुफी गायकको तन्मयताका साथ ‘सब ताज उछाले जाएंगे’, ‘सब तख्त गिराए जाएंगे’ गाइरहेकी थिइन् उता रंगशालामा जम्मा भएको सम्पूर्ण श्रोतावृन्द भने लगातार इन्कलाब जिन्दावादको तुमुल आवाज निकालिरहेको थियो । विष्मित र चकित सरकारी गुमास्ताहरूले केही समयपछि रंगशालाको बिजुली काटिदिएर त्यो अद्भुत कार्यक्रममाथि जसोतसो व्यवधान त पुर्‍याएका थिए तर त्यतिबेलासम्म उनीहरूको हकमा ढिलो भइसकेको थियो । रंगशालामा बत्ती निभाउनुभन्दा पहिले नै इकबाल बानोले गाएको फैजको नज्म रेकर्ड गरिसकिएको थियो र त्यसको केही दिनपछि नै त्यस रेकर्डका कैयौं प्रतिहरू गोप्य रूपमा हिन्दुस्तान, बंगलादेश र नेपालका राजधानी सहरहरूमा पुर्‍याइसकिएका थिए ।

महान् उर्दू कवि फैज अहमद फैजको जन्म ब्रिटिस भारतको पन्जाब प्रान्तको नरोवाल जिल्लाको एउटा सम्पन्न पन्जाबी जाट परिवारमा सन् १९११ को फेब्रुअरी १३ का दिन भएको थियो । सन्तानको शिक्षा–दीक्षाप्रति जागरुक परिवारमा जन्मेका उनले प्राथमिक तहदेखि नै मुलुकका उत्कृष्ट शैक्षिक प्रतिष्ठानहरूमा पढ्ने अवसर पाएका थिए । अरेबिक र अंग्रेजी साहित्यमा डबल एमए गरेका उनी पाकिस्तानका श्रेष्ठतम् प्राज्ञिक व्यक्तित्वहरूमध्ये एक मानिन्थे ।

कलेजमा पढ्दा ताका नै मार्क्सवादी विचारधारासँग जोडिएका फैज आजीवन पाकिस्तान कम्युनिस्ट पार्टीका प्रखरतम् बौद्धिक अनुहार रहे । तर मूल रूपमा उनी एक क्रान्तिकारी कवि थिए । प्रोफेसर, दैनिक पत्रिकाको सम्पादक, सरकारी अधिकारी, प्रधानमन्त्रीका सहयोगी, जुनसुकै हैसियतमा काम गर्दा पनि उनले आम जनताको मुक्तिको परिकल्पनालाई नै आफ्नो चिन्ता र चिन्तनको आधार बनाएका थिए । आफ्नो सैद्धान्तिक र नैतिक अडानका कारण फैजले आफ्नो जीवनको लामो समय निर्वासनमा बिताउनुपरेको थियो ।

फैजका नक्श–ए–फरियादी, दस्त–ए–सबह र जिन्दाँ–नामा शीर्षकका ३ कवितासंग्रहसहित १ दर्जन कृति प्रकाशित छन् । उनलाई सन् १९६२ मा तत्कालीन सोभियत संघको सर्वोच्च नागरिक पुरस्कार लेनिन पिस प्राइज र पाकिस्तानको सर्वोच्च नागरिक सम्मान निशान–ए–इम्तियाज (मरणोपरान्त १९९०) बाट पुरस्कृत गरिएको थियो । भनिन्छ, सन् १९८४ मा उनको निधन नभएको भए त्यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनलाई दिइने कुरा लगभग तय भएको थियो ।

उर्दू कविता ‘हम देखेंगे’ को भावानुवाद

हामी हेर्नेर्छौं
जरुरी छ त्यसैले हामी पनि हेर्नेर्छौं
सृष्टिको प्रारम्भमै तय गरिएको त्यो अवश्यम्भावी दिन
जसका बारेमा दिइएको थियो हामीलाई वचन
त्यसलाई हामी हेर्नेर्छौं ।

जब अन्याय र अत्याचारको यो पहाड
सिमलको भुवाझैं उडेर बेपत्ता हुनेछ
हामी दबाइएका प्रजाहरूको पैतालामुनिको जमिन
ढङढङ ढङढङ गरी हल्लिन थाल्नेछ
जब यी शासकहरूको शिरमाथि
हुनेछ चट्याङको भीषण आघात,
हामी हेर्नेछौँं
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

जब भगवान्को पवित्र आश्रमबाट
यी सबै मूर्तिहरूलाई हटाइनेछ
तब हामी दीनहीन अकिञ्चन सर्वहाराहरूलाई
दरबारको उच्चासनमा राखिनेछ
त्यतिबेला झिकिनेछन् धेरैका शिरबाट श्रीपेच
भत्काइनेछन् बलिया ठानिएका सिंहासनहरू अनेक
अनि हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

त्यतिबेला बाँकी रहनेछ केबल ईश्वरको नाम
त्यो ईश्वर जो हराएको छ र उपस्थित पनि छ
जो दृश्यमान् छ र छ अदृश्य पनि
त्यतिबेला उठ्नेछ नारा अहम् ब्रह्मास्मिको
त्यो अहम् म हुनेछु र तिमी पनि हुनेछौ
त्यतिबेला गर्नेछन् शासन ईश्वरका सन्तानहरूले
ती शासकमध्ये एउटा हुनेछु म र अर्को हुनेछौ तिमी ।

हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।
(फैजले ‘हम देखेंगे’ कविता सन् १९७९ मा जर्नेल जिया–उल–हकको फौजी तानाशाहीको विरोधमा लेखेका थिए ।)

प्रकाशित : पुस २६, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?