शंका गर्नु नै अप्रामाणिक हो

दिनेशराज पन्त

नेपाल प्रज्ञा प्रतिष्ठनका प्राज्ञ दिनेशराज पन्त चर्चित इतिहासविद् हुन्  । २०७३ सालमा उनले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ नामक पुस्तक प्रकाशन गरेका छन्  ।

शंका गर्नु नै अप्रामाणिक हो

पृथ्वीनारायणको इतिहासबारे हुने अधिकांश बहस र छलफलको केन्द्रमा पन्त आइहाल्छन् । पृथ्वी जयन्तीको छेकोमा पृथ्वीनारायण शाह र दिव्योपदेशमाथि केन्द्रित भएर जनकराज सापकोटाले पन्तसँग गरेको कुराकानी :

पृथ्वीनारायण शाहबारे अहिले अलग–अलग बुझाइ छन् । तपाईंको बुझाइ कस्तो छ ?
पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते राजा भए । उनले विसं १८०० असोज १५ गते नुवाकोट जिते । १८२५ सम्म उनको राजधानी नुवाकोट नै भयो । उनले लगालग एकपछि अर्को राज्य विजय गरेको इतिहास छैन । तर, राज्य जितेपछि पनि उनी चुप लागेर बसेको देखिन्न । पश्चिम १ नम्बर नुवाकोटबाट काठमाडौं जम्मा साढे सात कोस हो । यति नजिकको राज्य जित्न उनलाई नुवाकोट विजयपछिका २५ वर्ष लागेको देखिन्छ । विसं १८२५ असोज १३ गते उनले काठमाडौं सहर जिते । त्यसैले भन्न सकिन्छ, उनले सैन्य बल मात्रै प्रयोग गरेनन्, रणनीतिक योजना पनि अख्तियार गरे ।

अहिले पृथ्वीनारायणलाई एकातिर देवत्वकरण त अर्कातिर दानवीकरण गर्ने चलन छ । हामी संशोधनमण्डल पद्धतिका मानिसले त्यसबाट टाढा बस्नुपर्छ भनेका छौं । पृथ्वीनारायण देउता बनाउँदैमा ठूला, दानव बनाउँदैमा साना हुने होइनन् । हामी नेपाल चाहँदैनौं र नेपाली हुनुमा गौरव मान्दैनौं भने पृथ्वीनारायणलाई जुन दृष्टिले हेरे पनि भयो । इतिहासले पनि त्यसै गर भन्दैन । उनका जति पनि उपदेश छन्, सबै दिव्योपदेशमा आएका छन् । ती उनको जीवन पद्धतिसँग मिल्न आउँछन् पनि । यसैले उनको ब्यक्तित्व कस्तो थियो भन्ने बुझाउँछ ।

कतिपयले दिव्योपदेशकै प्रामाणिकतामाथि पनि शंका गर्छन् । उनले लेखेकै होइन भन्छन् । के समयक्रममा दिव्योपदेशपछि थपथाप हुँदै आएको हो ?
यो प्रश्न नै अप्रामाणिक शंका हो । पृथ्वीनारायणकै समयका काजी अभिमानसिंह बस्नेतका दरसन्तान बखतमानसिंह बस्नेतबाट दिव्योपदेशको मूलप्रति पाइएको हो । त्यो हस्तलिखित थियो, जुन अहिले राष्ट्रिय अभिलेखालयमा छ । अभिमानसिंहकहाँ त्यो कसरी आयो भन्ने प्रश्नमा त्यो उनकै कुनै कारिन्दाले पृथ्वीनारायणको कुरा सुनेर तयार पारेका हुन सक्छन् । बखतमानले पनि त्यो हस्तलिखितप्रति आफ्नै कुनै कारिन्दाको घरमा भेट्टाएको बताएका थिए ।

पहिले दिव्योपदेश २००७ सालतिर मात्रै पाइएको हो भन्ने थियो । तर, इतिहासकार बाबुराम आचार्यले त्यसअघि नै पाएको भेटियो । उनले दार्जिलिङमा रहेका साहित्यकार सूर्यविक्रम ज्ञवालीलाई त्यसको केही अंश पठाइदिए । विसं १९९२ मै दार्जिलिङबाट दिव्योपदेश समेटिएको पुस्तक निस्किएको पाइयो । तर, आचार्यले त्यो दिव्योपदेश कहाँबाट पाए, यकिन छैन । हुन सक्छ, कुनै भारदारले दिए ।

योगी नरहरिनाथजस्ता मान्छेले पनि दिव्योपदेशको संकलन गर्ने र जनस्तरमा पुर्‍याउने काम गर्नुभएको देखिन्छ । समयक्रममा बाबुराम आचार्य पनि त्यसमा संग्लन हुनुभयो । मेरा पिताजी प्राध्यापक नयराज पन्तले त्यही दिव्योपदेशलाई नै व्याख्यानको रूपमा संस्कृतमा ३८० श्लोक र नेपालीमा ३८० श्लोक गरी निकाल्नुभयो ।

यतिकै आधारमा दिव्यपदेशलाई किन शंका नगर्ने त ?
शंका गर्नुको एउटा कारण के भने दिव्योपदेशको हस्तलिखित मूलग्रन्थ अहिलेसम्म एक प्रति मात्रै भन्दा बढी पाइएको छैन । एउटा केही बर्गबाट जानी–नजानी वा पृथ्वीका सन्तानलाई हामीले हटायौं भन्ने अहंकार वा गर्वबोधले पनि त्यस्तो कुरा आएको देखिन्छ ।

अढाई सय वर्षअगाडि कुपन्डोलको मान्छेले थापाथलीको ऐश्वर्य भोग गर्न पाएको थिएन । थापाथलीका मान्छेले कुपन्डोलको ऐश्वर्य भोग गर्न पाएको थिएन । त्यसलाई बिर्सेर पृथ्वीप्रतिको आग्रह वा दुराग्रह झल्काउने गरेको पनि देखिन्छ । तर, पृथ्वीनारायण शाह त्यति मात्र होइन । उनले विदेशीको नाचगानलाई रोके, हेर्नैपर्छ भने काठमाडौंका नेवारको मात्रै नाचगान हेर्नु भने । भारतीयको नाच हेर्दा भारततिर जासुसी सूचना जान्छ, आफ्नो पैसा पनि जान्छ भन्ने उनले सोचे । त्यसो त बीचको एउटा समयमा पृथ्वीनारायण शाहको सालिक ढाल्ने देखिका अभियान पनि नेपालमा चल्यो ।
त्यति नै कारणले दिव्योपदेशमाथि शंका गरिहाल्नु जरुरी देखिन्न । किनकि दिव्यपदेशको गुणवत्ता अहिले पनि छ । दक्षिणमा भारत र उत्तरमा चीन भएकाले उनले नेपाललाई दुई ढुंगाको तरुल भने । इतिहासको एक समयमा नेपाल धनी हुनुको कारण भारत–तिब्बतबीचको व्यापार पनि हो । त्यो कुरा अहिले पनि उत्तिकै मुनासिब देखिन्छ ।

केही समयअघि म नुवाकोट पुगेको थिएँ । हनुमानढोकामा जस्तै पृथ्वीनारायण शाहले एक औँला ठड्याएको मूर्ति त्यहाँ देखेँ । शाह राजाहरू एक से एक हुन् भन्ने भाव देखाउन गाउँ फर्क अभियानको पालामा पृथ्वीनारायण शाहको त्यस्तो मूर्ति बनाइएको थियो । इतिहासका पुराना तस्बिरमा कतै पनि पृथ्वीनारायणले औँला ठड्याएको देखिन्न । त्यो त एकथरी शासकको काम थियो । तर, जुन बेला दिव्यपदेश निस्कियो, त्यो उनको महिमामण्डन गर्न निस्केकै होइन ।

दिव्योपदेशको हस्तलेखन कसको थियो भन्नेबारे केही खुल्छ ?
त्यो खुल्दैन ।

त्यसो भए त्यसको प्रामाणिकतामाथि किन शंका नगर्ने ?
प्रामाणिकताबारे जसले जति प्रश्न उठाए पनि समयक्रममा त्यसको खण्डन हुँदै आएको छ । यसबारे प्रश्न गर्नेहरूले पनि गतिलो प्रश्न–प्रमाण दिन सकेका छैनन् । एउटा आग्रहबाट प्रश्न उठेको छ । दिव्योपदेश पृथ्वीनारायण शाहलाई महिमामण्डित गर्न लेखिएको होइन । किनभने त्यो महिमामण्डनको युग नै थिएन ।

दिव्योपदेश पृथ्वीनारायण शाहको भाषणको लिखोट हो वा भाइभारदारमाझ दिएको प्रवचनको टिपोट वा भनाइको सार संक्षेप ?
पृथ्वीनारायण पश्चिम विजय गर्न भन्दै नुवाकोट पुगेका थिए । त्यतिबेला पर्वतका राजाले नेपाली भाषामा लेखेको एउटा पत्र छ, जसमा उर्दू भाषामा हस्ताक्षर छ । पत्रमा ‘गोर्खाका राजा हामीमाथि दागा राखी पश्चिम हान्न भन्दै नुवाकोट आए । तर, उनी आफैँ त्यहीँ विरामी परे’ भन्ने सार छ । उनी बिरामी परे पनि धैर्य र शूर नभएका मान्छे भएको भए त्यहीँ विलौना गरी समय बिताउँथे । त्यही बेला उनले भाइ–भारदारलाई अगाडि राखेर केही कुरा भने । यस्तो उपदेशलाई सबैले आ–आफ्नै ढंगले टिपेका हुन सक्छन् ।

भाइभारदारसामु भनेको कुराको टिपोट नै दिव्यपदेश हो । दिव्योपदेशमा आएभन्दा अरू धेरै कुरा पृथ्वीनारायणले भनेका हुन सक्छन् । अथवा टिप्ने मान्छेले आफ्नो शैलीमा पनि लेखेको हुन सक्छ ।

यतिकै आधारमा यसैलाई सही मान्ने त ? भन्नेहरूले त ‘जित्नेको इतिहास लेखिन्छ’ भन्छन् १
जित्नेको इतिहास हुन्छ, हार्नेको हुँदैन भन्ने नै गलत छ । यो त अप्रामाणिक कुरा हो । यहाँ जित्नेको पनि इतिहास छैन । जस्तो २०६३ सम्म त द्रव्य शाहकै सन्ततिको राज्य थियो नि यहाँ । द्रव्य शाहकै पालाको तात्कालिक पत्र पा शिलापत्र हामीले पाउन सकेका छैनौं । जबकि उनले विसं १६१६ मा शासन गरेका हुन् ।

पृथ्वीनारायणलाई बडामहाराजधिराजको उपाधि कसले दिएको हो ?
मैले गोरखाको इतिहास तयार पार्नका लागि २०३७/३८ सालतिर परराष्ट्र मन्त्रालयका करिब अढाई लाख पुराना कागजात पढेको थिएँ । राजा राजेन्द्रविक्रम शाहलिखित एक लिखोटमा उनले आफूअघिका धेरैजसो राजालाई श्री ५ लेखेका छन् । तर, पृथ्वीनारायण शाहलाई ५२ वटा श्री लेखेका छन् ।

त्यही बेलातिरका कैयन् पुराना पत्रमा पृथ्वीनारायणलाई ‘बडामहाराज’ लेखेको पाइन्छ । रणबहादुर शाहकै शासनकालतिरका पत्रमा पनि यस्तो भेटिन्छ । तर, पछाडि जोडिएको धिराज शब्द भने अधिराज शब्द सन्धि भएर आएको हो ।

एकथरीले पृथ्वीनारायण शाहलाई स्वीकार गर्दैनन् । अर्कोथरीले महिमामण्डन गर्छन् । तपाई कतातिर ढल्किनुहुन्छ ?
पृथ्वीनारायण शाहले गरिबक्सियो, मौसुफ यस्तो होइबक्सन्छ, दिव्यपदेश यस्तो, पृथ्वीनारायण शाहले सम्पूर्ण राम्रो काम गरे भनेर महिमामण्डित गर्छन् एकथरी । पृथ्वीनारायणको सम्झनामा सार्वजनिक बिदा दिनुपर्छ । बिदा दिनु पर्दैन भन्ने पक्षको म होइन । तर, बिदा दिनु आवश्यक छ वा छैन यो विचारणिय कुरा हो । सिन्धुलीको पौवागढीमा भएको विसं १८२४ असोज १५ गतेको नेपाल–अंग्रेज युद्धमा (यो मिति पनि मेरै अनुसन्धानबाट निस्किएको हो) पृथ्वीनारायणले किनलक नेतृत्वको अंग्रेजी सेनालाई हराउन नसकेको भए नेपालको अहिलेको अस्तित्व हुने थिएन ।

हामीले पृथ्वीनारायणलाई वस्तुगत ढंगले हेनुपर्छ । शाहमाथि विश्वविद्यालयले र सबै अनुसन्धानकर्ताले अध्ययन गर्नु जरुरी छ । उनलाई मान्नुपरेको किन हो भने त्यतिबेला पृथ्वीनारायणको अभियान सफल नभएको भए अहिलेको नेपाल सम्भव थिएन ।

प्रकाशित : पुस २६, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?