कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

उसको खप्परमा गिदी छ

किशोर नेपाल

दीपक न्युयोर्कजस्तो संसारको राजधानीका रूपमा कहलिएको ठूलो शहरमा ‘उबर’ चलाउँछ भन्दैमा उसलाई ग्रेहाउण्ड बस अड्डाको लोकेसन पनि थाहा होला भनेर कसरी सोच्नु ? फोन गरेर बोलाउने मानिस आएर कारमा नबसेसम्म दीपकले कुनै पनि लोकेसनबारे सचेत हुनु आवश्यक थिएन  । साँच्चै, न्युयोर्क जगमग र जीवन्त शहर हो  ।

उसको खप्परमा गिदी छ

ट्विनटावर विनाशको पीडा मानिसको मनमा अझै बिझिरहेकै छ होला । आउँदा दिनमा पनि त्यो पीडा बल्झिइरहनेछ । तर, अहिलेसम्म कसैले पनि छाती खोलेर त्यो पीडाको प्रदर्शन गरेको देखिएको छैन । शहरका एफएमहरूमा अधिकांश स्टिभी वन्डरको गीत बज्ने गर्छ— आई जस्ट कल्ड टु से आई लभ यू । मानिसहरू यही गीत रुचाउँछन् । त्यही बजाउँछन् ।


ट्विनटावर ध्वस्त भएको पीडा न्युयोर्क राज्य सरकारले अथवा केन्द्रीय सरकारले मानिसको मनमा रोपेको थिएन । साँच्चै, ट्विनटावर ध्वस्त भयो । विकल्पमा त नभनौं, अर्को टावर बनिसक्यो । सत्य हो, ट्विनटावरको विकल्प छैन । ट्विनटावरको विकल्प त ट्विनटावर नै हो । जबसम्म ट्विनटावर बनेको थिएन, एम्पायर स्टेट बिल्डिङ थियो न्युयोर्क शहरको उचाइ । ट्विनटावर बन्यो । त्यसले एम्पायर स्टेट बिल्डिङको उचाइलाई जित्यो । तर, ट्विनटावर एम्पायर स्टेट बिल्डिङको विकल्प बन्न सकेन ।

उच र नीचको कुरा यस्तै हो । संसारमा को ठूलो हो र को सानो ? मानिस होस् या वस्तु ! न्युयोर्कमा जन्मेका लरेन्स मनसान्टो फर्लङ्गेटी आफ्नो कविता संग्रह ‘ए कन्भे आइल्यान्ड अफ द माइन्ड’ को दस लाख प्रति बिकेपछि पनि सुशान्त रहे । जति बेला उनी तन्नेरी थिए— मलाई राम्रो सम्झना छ, उनका कविता कवि शैलेन्द्र साकारले र मैले सँगै पढेका थियौं झोंछेको पवमा ‘ऐला’ पिउँदै । अहिले त पहिलेको झोंछेजस्तो पनि छैन झोंछे । हट लेमन हनी भएको छ । साकार पनि अहिले अमेरिकाको नर्थ क्यारोलिनातिर हल्लिँदै छ । एउटा पारिवारिक त्रासदीपछि ऊ रुन पनि सकेको थिएन र हाँस्न पनि । तर, समयान्तरमा उसले आफूलाई सम्हाल्यो । भुइँचालोपछि त अब वसन्तपुरको अवतार पनि बदलिएको छ । लरेन्स काठमाडौं आए कि आएनन् ? त्यो मलाई थाहा भएन । यो लरेन्सको कुरा भयो । यसबारे साकारलाई बढी थाहा होला । साथी–भाइहरूका बीचमा हंग्री र एंग्री जेनरेसनको कुरा उही बुझ्थ्यो ।

ज्याक्सन हाइटका नेपालीहरू सामान्यतया ‘सेभेन ट्रेन’ चढेर म्यानहट्टनको गौरव मानिएको ‘टाइम्स स्क्वायर’ पुग्छन् । उति बेला काठमाडौ शहरकी पपुलर न्युज एंकर मृदुला कोइरालाको प्रसिद्ध रेस्टुराँ पनि यहीं थियो रे । सेभेन ट्रेनको अन्तिम स्टेसन यही हो । टाइम्स स्क्वायरबाट ग्रेहाउन्ड बस अड्डा पुग्न सजिलो छ । यसो भनौं, त्यो अहिले म हिँडिरहेको यसै भवनको एउटा छेउमा छ । एक छिनअगाडि दीपक र म हाम्रो देशजस्तै उल्टो दिशामा दौडिरहेका थियौं । पूरै शहर दर्के पानीमा निथ्रुक्क भिजेको थियो । दीपकलाई बस अड्डा फेला पार्न हम्मे परेको थियो । उसले पेनसिल्भानिया एभेन्युको ‘पेन स्टेसन’ अगाडि, ट्याक्सी वेमा कार रोकेर, मलाई न्युयोर्क शहरबाट बिदा गर्‍यो । पानी बेस्सरी दर्किइरहेको थियो । न्युयोर्क शहर नै डुबाउला कि जस्तो ! सामान्य आँखाले उचाई नाप्न नसकिने म्यानहट्टनका गगनचुम्बी भवनमा बस्नेहरूले के गरे होलान्, यो दर्के पानीको अनुभव ? भवनहरू पचासौं तलाका होलान् । ‘त्यति माथि पानीको वेग हुँदैन कि’ दीपकसँग बिदा हुने बेला आँखाबाट निस्केका पिलपिल आँसु पुछ्दै मेरा पाइला पेन स्टेसनभित्र लम्किए । त्यसरी अघि बढ्दाबढ्दै पनि म के–के कुराहरू सोच्दै थिएँ ! यत्तिकैमा म झन्डै लडेको । कति बेला पाइलाले समथर भुइँ छाडेर ‘स्टेप’ टेकी सकेछन् । थाहै भएन ।

अमेरिका नाम गरेको देशमा ‘जानकारी’ नहुनु भनेको मानिस आफैं द्विविधामा रहनु हो । मानौं कि द्विविधामा हुनु पनि एक प्रकारले आफैंमा अपराध हो । मलाई जानकारी चाहिएको थियो ः ग्रे हाउन्ड बस स्टपको लोकेसनको । खै, त्यो कतातिर छ ? ‘इन्स्ट्रक्सन्स’ पछ्याउँदै जाँदा, बेलाबेलामा यो स्टेसनमा आइपुग्दा, मैले यता आउँदा–जाँदा देख्ने गरेको, ‘हडसन स्टोर’ देखें । यो स्टोर मलाई रमाइलो लाग्थ्यो । बुक, न्युजपेपर्स र अनेक प्रकारका खुद्रा सामानको स्टोर, र सँगै कफी पसल । कफीको चर्को वास्नाले वातावरण महकिएको थियो । कफीको यो बास्ना, मलाई लाग्यो, निकारागुअन कफीको हो । म कफीका लागि नलोभिएको होइन । तैपनि, म त्यहाँ नरोकिईकनै पेन स्टेसनको सबभन्दा पुछारको तलामा रहेको ग्रे हाउन्ड र पिटर प्यान बसको अड्डामा पुगें । मलाई खुशी लागेको थियो । किनभने, बसमा चढ्न मैले खासै हतार गर्नुपरेको थिएन । बस गुड्ने निर्धारित समयभन्दा झन्डै बीस मिनटअघि म त्यहाँ हाजिर भएको थिएँ । मैले ‘अनलाइन’ खरिद गरेको टिकट मेरो स्मार्ट फोनमा सुरक्षित थियो । म ढुक्क थिएँ । तर, मेरो ‘ढुक्क’ भाव एक छिनका लागि मात्र वैधानिक भयो ।

त्यसपछि ढुक्क हुन पाइनँ म । भूतहरू संग्रालिन थाले मेरो दिमागमा । यस्तो भयो कि अनायास नै, मेरा पाइला बस अड्डामा रहेको इन्क्वायरी काउन्टरतिर बढे । काठमाडौंतिर भेटिने, कतारो फाल्ने चौबाटोमा बास बस्ने भनेर चर्चामा आउने, रैथाने भूतले एकाएक डोहोर्‍याएजस्तो । सबै आफ से आफ । सबै कुरा बिर्सिएर मैले काउन्टरमा बसेको मानिसलाई आफ्नो स्मार्ट फोनमा रहेको टिकट खरिदसम्बन्धी सूचना देखाएँ । म ऊसँग बोल्न चाहन्नथें । उसले मैले बोलेको अंग्रेजी बुझ्दैन भन्ने मलाई थाहा थियो । उसले मेरो मोबाइलमा डाउनलोड गरिएको टिकटतिर आँखा पनि नलगाई मलाई टिकट काउन्टरतिर जाने इसारा गर्‍यो । म टिकट काउन्टरमा पुगें । मैले काउन्टर छोड्नुभन्दा पहिले, मेरा आँखा काउन्टर क्लर्कको छातीको बायाँतिर टांगिएको नेम ट्यागमा परे— ह्यामिल्टन । मलाई त्यो मानिस कताकता मानिस नभएर हामीले आफ्नो बालककालमा घरअगाडिको चौरमा किङ (बल) खेल्दा छिनछिनमा कल्पना गर्ने गरेको भकुन्डे भूतजस्तै लाग्यो । उसको अनुहारको आकार भकुन्डोजस्तै थियो । रङ निख्खर सेतो । दाँतको रङ निख्खर कालो । त्यसमाथि ऊ कालो सुट, कालो ‘बो’ टाई र सेतो कमिजमा सजिएको थियो । गोरो अनुहारमा काला दाँत !

ती गज्जबसँग चम्किइरहेका थिए । ह्यामिल्टन— यो नाम मेरो मनमा गढेर बस्यो । यस्तै मानिसलाई मैले बाल्टिमोर शहरको प्रसिद्ध टाउसन मलमा पनि देखेको थिएँ । ‘नेक्स्ट’ म झस्किएँ । ‘नेक्स्ट’ पछि सामान्यतया यो समाजमा बोलिने ‘प्लिज’ शब्दको उच्चारण पनि गरेन उसले । मेरो पालो आइसकेको रहेछ । मैले झ्यालको खोपाबाट हात घुसारेर आफ्नो मोबाइलको स्क्रिन देखाएँ । तर, ‘नेक्स्ट’ ले मेरो हात स्वीकार गरेन । अलि रूखो स्वरमा भन्यो, ‘युअर आईडी ।’ मैले खल्तीबाट नेपाल सरकारले जारी गरेको, हरियो रङको, साह्रै पातलो, ‘एमआरपी’ पासपोर्ट झिकेर उसलाई दिएँ । उसले त्यसलाई ओल्टाई पल्टाई हेर्‍यो । हामीले मूल्यवान ठहर्‍याउने त्यो एमआरपी पासपोर्टलाई सामान्य कागज जति पनि मान्यता दिएन । उसले मेरो पासपोर्टलाई कम्प्युटरमा घिसार्‍यो । त्यसपछि उसका हातका औंला कम्प्युटरका किबोर्डमा चल्न थाले । एकै छिनमा कम्प्युटर प्रिन्टरले बोर्डिङ टिकट छाप्यो । ‘नेक्स्ट’ ले टिकट र पासपोर्ट मेरो हातमा राखिदियो ।

नेक्स्टसँग म मुग्ध भएको थिएँ । किनभने, उसका र मेरा बीचमा, यो अपरिचित वातावरणमा पनि, ‘व्यक्तित्वगत’ समानता भेटेको थिएँ मैले । मैले देखें, ऊ पनि, मजस्तै, कम्प्युटरको किबोर्डमा दुईवटा मात्रै औंला चलाउँथ्यो । मेरो घाँटीमा देवी भुवनेश्वरीको लकेट झुन्डिएको थियो । उसको घाँटीमा क्रसको । मैले ‘नेक्स्ट’ को छातीको बायाँतिर टाँगिएको नेम ट्याग देखें । मैले सोचेकै थिइनँ, यहाँ पनि ह्यामिल्टन नामको समानता होला भनेर । तर, नामको समानता थियो । सम्झेर म झसंग भएँ । नेक्स्टको छातीको बायाँतिर टाँगिएको नेम ट्यागमा लेखिएको थियो— ह्यामिल्टन । योचाहिँ निख्खर कालो रङको ‘ह्यामिल्टन’ थियो । दाँत अत्यधिक सेता र उत्तिकै चम्किला । नामहरूको यो मिलनले मलाई मेरो मनको साँघुरो संसारमा ठूलै गडबडी उत्पन्न हुन लागेजस्तो लाग्यो । ‘घोस्टबस्टर’ जस्ता अमेरिकी सिनेमाले उत्तेजित बनाएको मेरो मनमा भूतको संशय उत्पन्न भयो । गोरो छालामा कालो दाँत भएको ह्यामिल्टन । कालो छालामा सेतो दाँत भएको ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । सोच्दासोच्दै म वासरुमतिर लागें । धेरैपटक मनले भन्यो, भूत होइन, भ्रम हो । तै, त्यो भ्रम भन्ने मनले पनि भूतको उपस्थितिलाई इन्कार गर्न सकेको थिएन ।

निष्णात थिए ह्यामिल्टनहरू । यो त उनीहरूको अनुहारले बताउँथ्यो । टिकट काट्ने, जाँच गर्ने, मार्क लगाउने र यात्रुको यात्रा सकिएपछि टिकटमा प्वाल पारेर त्यसलाई रद्द गर्ने । म त्यो ‘प्वाल पार्ने’ पन्चिङ मसिन कुन ‘ब्रान्ड’ को थियो त्यो ब्रान्डको नाम जान्न उत्सुक थिएँ । देशतिर त्यस्तो पन्चिङ मेसिन चाहिँदैन । देशका बसमा टिकट काट्नै पर्दैन । खलासीलाई भाडा बुझाए पुग्छ । यतातिरका बसका खलासी र उताका कन्डक्टरको हाउभाउ र लाउने–खाने कुराको कुनै तुलना नै थिएन । उताका कन्डक्टर समृद्ध थिए भने यताका खलासी समृद्धिको अनिश्चित भविष्य कुरेर बसेका थिए । एक्कासि मलाई ज्ञान भयो— यताका कन्डक्टर र उताका खलासीले लगाउने कपडा एकै भए पनि, दुवैतिरको मानसिकता एउटै थियो ।

चार बज्न दस मिनट बाँकी थियो । बस स्ट्यान्डमा मानिसहरूको चहल–पहल शुरु भयो । ठीक चार बजे आउनेवाला थियो बस । विस्तार रुँग्दै गर्दा बस आउने समय भयो । यो स्टेसनबाट बोस्टन जाने बस समयभन्दा पाँच मिनेटअगाडि आइपुग्यो । त्यो बससंगै आउनुपर्ने थियो बाल्टिमोर जाने बस । त्यो बस आइपुगेन । त्यसको सट्टा, बोस्टनको बस छुट्नेबित्तिकै, ह्यामिल्टन नम्बर तीन, बस स्ट्यान्डको परिदृश्यमा देखा पर्‍यो । उसको अनुहार देखेर मलाई लाग्यो, ऊ कुनै दुःखद समाचार सुनाउन त्यहाँ आएको छ । उसले बस यात्रुहरूको ध्यान आफूतिर तान्दै भन्यो, ‘लेडिज एन्ड जन्टलम्यान ।’ लेडिज एन्ड जन्टलम्यान’ हरू हललल्ल हाँसे । हाँसोले ह्यामिल्टनको अनुहार मसांग्रियो । उसले फेरि दोहोर्‍यायो, ‘लेडिज एन्ड जन्टलम्यान,’ यसपटक सबैका कान ठाडा भए । त्यसपछि उसले जानकारी दियो, ‘बसको ड्र्राइभर स्यामुयल हिजो अफिसका साथीहरू कसैलाई थाहै नदिई, अफिसबाट औपचारिक बिदासम्म स्वीकृत नगराई आफ्नो साथीको बिहेको जन्ती गएछ । अहिले भर्खर मात्रै उसले टेलिफोन गर्‍यो ।

तिमीलाई कम्पनीले जागिरबाट निकालिदेला भन्ने डर छैन ? हामीले स्यामुयलसँग सोध्यौं । उसले केही जवाफ दिएन । वास्तवमा स्यामुयल लरतरो ड्राइभर होइन । ऊ हाम्रो ग्रेहाउन्ड संघको नेता हो ।’ यसपछि ह्यामिल्टन जसरी आएको थियो त्यसरी नै फर्कियो । अर्को बसबारे प्रश्न गर्दा यति मात्रै भन्यो, ‘व्यवस्था हुनेछ ।’

छिनको छिनमा बस स्टप खाली भयो । त्यहाँ एउटी काली महिला र उसका चार जना केटाकेटी, फिलिपिनोजस्तो देखिने एउटा बूढो र म मात्रै बाँकी रह्यौं । महिला र बूढोको अनुहार म हेरिरहेको थिएँ । उनीहरूको अनुहारमा कुनै उत्तेजना र आक्रोश थिएन । ‘अमेरिकामा पनि यस्तो हुने रहेछ’ मचाहिँ निकै उत्तेजित थिएँ । अमेरिकाजस्तो विकसित, सम्पन्न र अग्रगामी देशमा पनि एउटा ड्राइभर बिहेको भोजमा पुगेर मात्तिँदा त्यसको विकल्प नपाएर बस सेवा नै रोकिन्छ भने हाम्रो के हैसियत ! त्यहाँ अरू रुटमा चल्ने बसहरू यथावत् चलिरहेका थिए । नचलेको एउटै रुट थियो बाल्टिमोर । बाल्टिमोर रुटमा बस किन नचलेको ? स्पष्टीकरण दिइसकेको थियो ह्यामिल्टनले ।

‘अमेरिकाको न्युयोर्क शहरको मुख्य बसस्टपबाट एउटा बस बाल्टिमोर गएन । किनभने, बसको ड्राइभर स्यामुयल साथीको बिहेमा मस्त भयो,’ म सोच्दै थिएँ, ‘देशमा पुग्यो भने यो समाचार कति ठूलो हो कति । कसले पत्याउला यो समाचार ? ह्या, अमेरिकामा पनि त्यस्तो हुन्छ ? त्यत्रो सिस्टम भएको मुलुक । ल, एउटा ड्राइभर त बिहेको भोजमा गयो । विकल्पमा ड्राइभरहरू त पक्कै थिए होलान् । कस्तो हरिबिजोग !’

यो कुरा सुनिसकेपछि मैले अरू कुरा सोच्न छाडेँ । कफीको तलतल लागेकाले म नजिकैको कफी पसलतिर लागें । बसस्टपमा भेटिएकी ती काली र थसुल्ली महिला त्यही थिइन् । उनका चार सन्तान त्यही कफी पसलमा बर्गर चपाइरहेका थिए । काली महिलाचाहिँ ठूलो ‘टेक अवे’ ग्लासमा ‘स्ट्र’ बाट स्मुदी तानिरहेकी थिइन् । मैले त्यहाँ एक कप कफी किनें । त्यसपछि बसको वेटिङ हलतिरै फर्किएँ । ह्यामिल्टनले बताएको थियो, ‘व्यवस्था हुनेछ ।’ व्यवस्था भयो भने आफू छुटिएला भन्ने डर सबैलाई हुन्छ । त्यस्तो डर थिएन मलाई । बसको व्यवस्था गर्नेले हामीलाई छुटाएर पक्कै बस गुडाउने छैन ।

रातको १२ बजेसम्म बसको कुनै व्यवस्था भएन । संसारको सबैभन्दा शक्तिशाली भनिएको देशमा एउटा ड्राइभर आफनो ड्युटीमा आएन । उसले देशको सार्वभौमसत्ता सम्पन्न सरकारलाई चुनौती दियो । एउटा रेपुटेड ट्रान्सपोर्ट कम्पनीको रेपुटेसन भत्कियो । काली महिलाका दुई जना बच्चा खेल्दै थिए भने अरू दुई जना नांगो बेन्चमा निदाएका थिए । उनीहरूको तिघ्रामा लामखुट्टे भर्खर उक्लेका थिए । कालीले लामखुट्टेले टोकेको देखेकी थिइनन् । उनी एउटा मुखले चुइगम चपाउँदै थिइन् र अर्को मुखले महिला स्वतन्त्रताको खिल्ली उडाउँदै थिइन् । यो चुरोटको दोष थियो कि चुइगमको ? थाहा भएन ।
फिलिपिनी आकारको रेलको ड्राइभरजस्तो देखिने एउटा बूढो मानिस स्टेसनबाहिरको स्मोकिङ जोनमा बसेर मज्जाले चुरोट तानिरहेको थियो । त्यसपछि, रातिको साढे १ बजेतिर, दुईवटा बस सँगसँगै आए । ती दुवै बस एउटै स्टपमा रोकिए । तीमध्ये एउटा बस, ह्यामिल्टनले भनेअनुसार, कम्पनीले व्यवस्था गरेर बाल्टिमोरका लागि पठाएको थियो । यो बसमा एक जना महिला, दुई जना पुरुष र चार जना केटाकेटी थिए । हामी बसमा बस्नेबित्तिकै ड्राइभरले बस कुदाइहाल्यो । बीचबीचमा ऊ माइकबाट ‘सरी लेडिज एन्ड जेन्टिलम्यान’ भन्दै थियो । बसका सबै यात्री निदाइसकेका थिए ।

ननिदाउनेमा म एक्लै थिएँ त्यहाँ । मैले ड्राइभरको अनुहारतिर नजर लगाएँ । योचाहिं रातो वर्णको ह्यामिल्टन थियो, हेर्दै खाइलाग्दो, डम्म परेको । मैले उसको युनिफर्ममा टाँगिएको ट्यागमा हेरें । नाममा लेखिएको थियो, ‘डोनाल्ड ह्यामिल्टन ।’ म आफैंभित्र अत्तालिएँ । एक त ऊ तेज रफ्तारले बस हाँकिरहेको थियो । दोस्रो हाइवेमा उसलाई डिस्टर्ब गर्ने कुनै गाडी थिएनन् । मिर्मिरे बिहानीमा उसले बाल्टिमोरको बस स्ट्यान्डमा पुर्‍याएर बस रोक्यो । मैले उसलाई एकपटक राम्ररी हेरें, उसको अनुहार अरू तीन ह्यामिल्टनको भन्दा बेग्लै थिएन । शारीरिक रूपमा मात्र यो ह्यामिल्टन हट्टाकट्टा थियो । मलाई लाग्यो, यसको खप्परमा गिदी छ ।

प्रकाशित : पुस २६, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?