कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भीडमा अदृश्य रास्कोलनिकोभ

रसियन आख्यानकार फिओदोर दोस्तोएभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ प्रकाशन भएको १५४ वर्ष पुगेको छ । समीक्षक भन्छन्, ‘यो किताब पढ्न अधिक धैर्य चाहिन्छ ।’
बलराम अधिकारी

उसले आफ्नो कोटको टाँक खोल्यो र बन्चरो बाँधेको सुर्कने फुस्कायो । तर, पूरै बाहिर भने निकालेन । त्यसलाई दायाँ हातले कोटभित्रै समाएर राखिरह्यो । उसका दुवै हात लथ्रक्कै गलेका थिए । उसलाई आफ्ना हात लाटिँदै र अररो बन्दै गएको महसुस हुन थाल्यो । बन्चरो कतै हातबाट चिप्लिएर खस्ला कि भन्ने डर भयो । अचानक उसलाई चक्कर लागेर आयो ।’

भीडमा अदृश्य रास्कोलनिकोभ


‘हैन, के च्यापेर राखेको त्यसरी ?’ दिक्क मानेको स्वरमा बूढी आइमाई कराउँदै ऊतिर आई ।

उसले एक क्षण पनि खेर फाल्न हुन्थेन । त्यसैले बन्चरो स्वाट्ट निकाल्यो र दुवै हातले हावामा मच्चायो । झन्डै अचेतझैँ कुनै बल नलगाई र यान्त्रिक ढंगले बन्चरोको पासो बूढीको थाप्लोमा बजार्‍यो । उसलाई आफूले बल लगाएझैँ लागेन, तर पहिलो प्रहारपछि भने आफ्नो जीउमा शक्ति फर्किएको महसुस भयो ।

त्यो बूढी आइमाईको टाउको सधैँ खाली हुन्थ्यो । ऊ आफ्नो पातलो खैरो कपाल बाक्लो तेलले चिप्लित्त पार्थी र पछाडि लगेर मुसाको पुच्छरझैं बटार्थीे । त्यसरी बाटेको कपाललाई ऊ भाँचिएको सिङले बनेको काइँयोले अड्काउँथी, जुन उसको गर्दनमा टक्रक्क अडेको देखिन्थ्यो । होची भएकीले बन्चरोको पासो उसको थाप्लोमै बज्रियो । ऊ चिच्याई तर निकै झिनो आवाजमा र दुवै हात टाउकोतिर उठाउँदै भुइँमा थेच्चारिई । बूढीको हातले अझै कसैको धरौटी समाइराखेको थियो । टाउकाको त्यही भागमा उसले बन्चरोको पासोले एकपछि अर्को गरी प्रहार गरिरह्यो । गिलासबाट पानी घोप्टिएझैँ उसको टाउकोबाट रगत ह्वालह्वाल्ती बग्न थाल्यो । बूढीको शरीर पछिल्तिर लड्यो । ऊ अलि पछि हट्यो र थरथर काप्दै गरेको शरीरलाई पूरै ढल्न दियो ।

घोप्टिएर बूढीको अनुहार नियाल्यो— ऊ मरिसकेकी थिई । खोपिल्टोभित्र धसिएका उसका अँखा टोलाएझैँ देखिन्थे, आखिभौँ र पूरै अनुहार थर्थराउँदै सोरिएको थियो ।’
माथिको पाशविक घटना ‘क्राइम एन्ड पनिसमेन्ट’ (अपराध र सजाय) को पाठ्यभूगोलको पृष्ठ ६८ मा घटेको हो । यस पाठ्यभूगोलको सिर्जना रसियन आख्यानकार फिओदोर दोस्तोएभ्स्कीले १५४ वर्षअघि गरेका थिए । बन्चरो हान्नेको नाम रास्कोलनिकोभ हो । रसियाको सेन्ट. पिटरस्बर्गको कुनै अभावग्रस्त बस्तीमा डेरा गरी बस्ने २३ वर्षीय यो युवक अकिञ्चन जीवन बाँचिरहेको छ । पढाइ शुल्क तिर्न नसकेर विश्वविद्यालयबाट निष्कासित हुनुपरेको पीडा बोकेर ऊ सहरका गल्लीहरूमा अदृश्य प्रायः भौतारिन्छ र अँध्यारो बुइँगलमा मुढोझैँ लडिरहन्छ । मारिने बूढी आइमाई एलिओना इभानोभ्ना हो । उसले अकुत सम्पत्ति थुपारेकी छे ।

सामान बन्धकी लिएर ऊ रास्कोलनिकोभजस्ता अभावले प्यारालाइसिस भएकासँग चर्को ब्याजमा ऋण दिन्छे । ऊ आफ्ना ग्राहकप्रतिको निर्दयी व्यवहारका निम्ति चिनिएकी छे । बूढीलाई भुइँमा ढालेर भाग्नै लाग्दा उसका अगाडि अकस्मात् बूढीकी सौतनी बहिनी टुप्लुकिन्छे । एउटा अपराध लुकाउन ऊ अर्को अपराध गर्न बाध्य हुन्छ । उसले बन्चरोको धारले लिजाभेटको खप्परमा हान्यो । एकै प्रहारमा उसको खप्पर चिरियो । तत्क्षण ऊ भुइँमा डङ्ग्रङ्ङ ढली । रास्कोलनिकोभले उसको कुम्लो झट्कारेर तान्यो, तर हतासमा कुम्लो भुइँमै खस्यो । त्यसपछि ऊ त्यहाँबाट हलतर्फ कुद्यो (पृ. ७१) ।

बन्धकी व्यवसायी बूढी आइमाई र उसको निर्दोष सौतनी बहिनीको हत्याको मियोमा समग्र उपन्यासको कथा बुनिएको छ । बूढीको हत्याको योजनाबाट आरम्भ भएको यस आख्यान पाठ्यभूमिको कित्ता योजनाको सफल कार्यान्वयन, हत्यापछिको रास्कोलनिकोभको मानसिक छटपटी, चित्तभ्रान्ति, अवसाद, द्वैधचरित्र, अपराध स्वीकारोक्ति, साइबेरियाको कारावास र पाप मोचनको अनुभूति र अन्त्यमा उसको आध्यात्मिक रूपान्तरणमा पुगेर टुंगिन्छ । यस बीचमा पाठकले ४६५ पृष्ठको लामो आख्यान यात्रा पूरा गर्छन् ।

दोस्तोएभ्स्कीको समग्र जीवन वियोगान्त नाटकजस्तो छ, यिनको भोगाइ कहालीलाग्दो, सिर्जनात्मक ऊर्जा ईर्ष्या लाग्दो, जीवन दर्शन अनुकरणीय । मृत्युचेत, जीवनाशक्ति, मानसिक उथलपुथल, शारीरिक रुग्णता, संघर्ष दोस्तोएभ्स्कीको जीवन र सिर्जनाको अकाट्य अंशका रूपमा रह्यो । ‘क्राइम एन्ड पनिसमेन्ट’ ले दोस्तोएभ्स्किो तुफानी जीवनको धेरै पक्षको उजागर गर्छ । कतिपय स्थानमा रास्कोलनिकोभ र दोस्तोएभ्स्कीको संघर्ष, दर्शन, कष्टसहन उस्तै–उस्तै लाग्छन् ।
रास्कोलनिकोभले इभानोभ्नालाई घृणा गर्नु स्वाभाविक हो । एकातिर उसको जीवन अभावग्रस्त छ, पिटरस्बर्गका गल्लीहरू अभावको दुर्गन्धले लतपतिएका छन् । अर्कातर्फ त्यो बूढी आइमाईको सन्दुकमा प्रयोजनविहीन धन थुप्रिरहेको छ । तथापि उसको ज्यान नै लिनुपर्ने कारण भने देखिँदैन । हत्यापछि उसको कोठाबाट सानो थैली लिएर भागे पनि चोरी गर्ने नियतले रास्कोलनिकोभ बूढीकोमा गएको हुँदैन । उसले जे–जति लगेको थियो त्यो पनि केही समय ढुंगामुनि लुकाएर राख्छ र पछि भित्र के थियो त्यो पनि नहेरी थैली नहरमा फ्याँकिदिन्छ । वास्तवमा इभानोभ्ना रास्कोलनिकोभको तर्क, दर्शन, युटोपियन समाजवादी दृष्टिकोण तथा मेगलोमेनिया अर्थात् महत्त्वोन्मादको सिकार भएकी छे ।

सहरमा एक्लो छ, अभावमा बाँचेको छ । भौतिक रूपले सहरको यान्त्रिकतासँग जोडिए तापनि मनोसामाजिक रूपले ऊ सबैबाट विच्छेदित छ । एकान्त रोज्छ, एकान्तमा नै रमाउँछ । ओबसेसिस थिङ्किङबाट ग्रसित छ । नसोची ऊ बस्नै सक्दैन । उसको मानसिक अवस्था देख्दा दार्शनिक जे. कृष्णमूर्तिले जे भने त्यो सही भनेझैं लाग्छ—

थिङ्किङ इज द प्रोब्लम् । जागा रहँदा एकलापमा रम्छ, निद्रामा प्रायः बर्बराइरहन्छ । कानुनको विद्यार्थी, तर्कमा ऊ सधैँ अरूलाई पछाडि पार्छ । उसको तर्कशक्ति उसले प्रहार गरेको बन्चरोभन्दा पनि धारिलो छ । गुफाझैँ लाग्ने अँध्यारो बुइँगलमा प्रायः भोकभोकै घोत्लिरहने, कहिले ज्वरोले हनहनिँदै गल्लीमा एकलाप गर्दै हिँड्ने यो युवक आफूलाई असाधारण मानव हुँ भन्ठान्छ । मस्तिष्कको अगम्य गर्तमा नेपोलियन बोनापार्टको प्रतिविम्ब बोकेर ऊ आफ्नै गुप्त योजनामा हराइरहन्छ । उसको समग्र समस्या र पीडाको जरो यही मानसिक प्रक्षेपण या भनौँ भ्रममा गडेर रहेको छ । सोनिआसँग पहिलोपटक आफ्नो अपराध स्विकार्दै ऊ भन्छ— हो कुरो त्यही हो । म नेपोलियन बन्न चाहन्थेँ । त्यसैले मैले त्यस बूढीलाई मारेँ (पृ. ३५०) । ऊ थप्छ— म त्यो बूढीमा आफ्नो सिद्धान्तको पहिलो प्रयोग गर्न गएको थिएँ (पृ.३५४) ।

सहरको भीडमा अदृश्य प्रायः बाँचिरहेको रास्कोलनिकोभ त्यही भ्रान्तिलाई मलजल गरिरहन्छ । नेपोलियनझैँ ऊ पनि आममानिस भन्दा भिन्न छु भन्ने सोच्छ । आफ्नो जीवनको उच्च उद्देश्य छ भन्ठान्छ । समाज इभानोभ्नाजस्ता अर्थ पिपासुका कारण प्रदूषित छ । निर्मल समाजको निर्माण र समग्र मानव समुदायको हितका निम्ति यस्ता प्रदूषकलाई नष्ट गर्नुपर्छ । ऊ तर्क गर्छ— सोनिआ, मैले एउटा जुम्रा मारेँ । एउटा निकम्मा, घिनलाग्दो, हानिकारक प्राणीलाई सिध्याइदिएँ (पृ.३५३) । बूढीलाई उसको कर्मअनुसारको सजाय दिएको उसको आफ्नै निष्कर्ष छ । कानुनले त्यो अधिकार नदिए तापनि ऊ आफ्नो विवेकले त्यसलाई सही ठम्याउँछ । एकातर्फ हजारौँ मानिस पिटर्सबर्गका गल्लीहरूमा अभावले छटपटाइरहेका छन्, भोका बालबालिकाहरू भीख मागिरहेछन्, मरिरहेछन्, सोनिआजस्ता नवयुवतीहरू परिवार धान्न शरीरको व्यापार गर्न बाध्य छन् । अर्कातर्फ इभानोभ्नाहरूको सन्दुकमा सम्पत्तिको रास लागिरहेको छ । यसरी प्रयोजनहीन रूपमा सम्पत्ति थुपार्नु नै उसको अपराध हो भन्ने रास्कोलनिकोभको ठहर छ । यस्तो सम्पत्तिको प्रयोग बृहत्तर मानवहितका लागि हुनुपर्छ भन्ने ऊ ठान्छ । यही अभिप्रायलाई मूर्तरूप दिन उसले बन्चरो चलाएको बुझिन्छ ।

रास्कोलनिकोभले आफ्नो राजनीतिक–दार्शनिक दृष्टिकोण ‘पिरियोडिकल रिभ्यु’ जर्नलमा छापिएको लेखमा व्यक्त गरेको थियो । विश्वविद्यालयमा हुँदाखेरि नै प्रकाशित उक्त लेखमा ऊ मानवजातिलाई इन्फेरियर अर्थात् निम्नकोटि र गिफ्टेड अर्थात् प्राकृतिक रूपले नै क्षमतावान् गरी दुई वर्गमा विभाजन गर्छ । उसको विचारमा अधिकजन निम्नकोटिमा पर्छन्, जो मूलतः भौतिक जीवन बाँच्छन्, वर्तमानभन्दा पर सोच्न सक्दैनन् । नयाँ विचार सोच्नु, व्यक्त गर्नु र त्यसलाई जीवन परिवर्तनका निम्ति प्रयोग गर्नु यिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो । स्वभावैले पुरातनवादी यो जनसमूह कानुनको पालना गर्नु आफ्नो धर्म ठान्छ । त्यसैले यी परनियन्त्रणमा बाँच्छन् र नियन्त्रित जीवन रुचाउँछन् । यिनलाई स्वतन्त्रताभन्दा पनि सुरक्षा ज्यादा मूल्यवान् हुन्छ । मलाई यहाँनेर जर्मन दार्शनिक नित्सेको याद आउँछ ।

रास्कोलनिकोभले यस्ता व्यक्तिहरूलाई ध्वंसक भनेको छ, जसले पुराना सामाजिक, राजनीतिक संरचना ध्वस्त पारेर नव संरचनाको आरम्भ गर्छन् । कालान्तरमा समाजले यस्तै ध्वंसक स्वप्नद्रष्टाहरूको उपासना गर्छ । यसको एक उत्तम उदाहरण ऊ नेपोलियनलाई मान्छ । वास्तवमा यस्ता व्यक्तिहरूबाट हुने कानुनको उल्लङ्घन, ध्वंस र अपराधलाई रास्कोलनिकोभ समाज परिवर्तनका लागि अपरिहार्य ठान्छ ।

नेपोलियनझै ऊ आफू पनि त्यही अल्पसंख्यक असाधारण जागृत समूहमा पर्छु भन्ने भानमा छ । त्यसैले ऊ आफूले गरेको हत्यालाई अपराधका रूपमा लिन तयार छैन । अपराध स्विकार्न दिदीले सम्झाउँदा ऊ क्रोधपूर्ण प्रतिवाद गर्छ— अपराध ? के अपराध ? मैले एउटा विषालु कीरा मारेँ । त्यसलाई मारेर मेरा ४० पाप काटिए । त्यसले गरिबको जीवन चुसिरहेकी थिई । के त्यस्तालाई सिध्याउनु अपराध हो ? (पृ. ४४०) साइबेरियाको कारागारमा कष्टप्रद जीवन भोगिरहँदा एक दिन ऊ आफैँसँग प्रश्न गर्छ— अपराध के हो ? यसमा उसको आफ्नै दृष्टिकोण छ— मेरो काम देखेर उनीहरू किन त्यति भयभीत भएका होलान् ? किनकि त्यो अपराध थियो ? अपराध भनेको के हो ? हो, मैले जे गरेँ त्यो कानुनी अपराध थियो । कानुनका अक्षरका लागि मलाई जे सजाय दिनु छ देऊ, ठीक छ । त्यसो हो भने हरेक मानव उद्धारक उसले उठाएको पहिलो कदममा नै दण्डित हुनुपर्ने हो । तर, ती आफ्नो योजनामा सफल भए त्यसैले ती सही ठहरिए । म असफल भएँ त्यसैले गलत ठहरिएँ । मैले त्यो कदम उठाउनु गलत भयो (पृ. ४६०) ।

बूढी आइमाईबाट लुटेको धनको ऊ कुनै प्रयोजन देख्दैन । न त त्यसलाई ऊ आफ्नो भोक शमनका निम्ति प्रयोग गर्न सक्छ, न त अन्य कसैको जीवन उत्थानका निम्ति । न त हत्यापछि उसको मिसन सोचेझैँ अगाडि बढ्छ । त्यसपछि ऊ दिग्भ्रमित हुँदै जान्छ, चेत र अर्धचेतको दोसाँधमा बर्बराइरहन्छ । आफ्नो अपराध स्विकार्ने या लुकाउने भन्ने दुविधाले विचलित बन्दै जान्छ । आफू असाधारण हुँ भन्ने भ्रान्तिको पर्दा च्यातिन थाल्छ । जति–जति ऊ भ्रान्तिबाट बाहिर आउँछ त्यति–त्यति उसको आफूप्रतिको धारणा बदलिँदै जान्छ । उसलाई आफू नेपोलियन होइन भन्ने महसुस हुन थाल्छ । उसको तर्कको धार बोधो हुँदै जान्छ । तर्कको स्थान आस्थाले लिन्छ । अन्ततः ऊ स्विकार्छ— के मैले त्यो बूढीको हत्या गरेँ ? बूढीको होइन, मैले आफ्नै हत्या गरेँ । मैले आफैँलाई सदाका लागि सिध्याएँ (पृ. ३५५) ।

यसै आत्मानुभूतिसँगै ऊ आफ्नो अपराध कबुल गर्छ र साइबेरियाको कष्टप्रद निर्वासित जीवनलाई कुनै गुनासो बेगर स्विकार्छ । प्रतिरोधविहीन कष्ट–सहनबाट उसलाई मुक्तिको अनुभव हुन थाल्छ । त्यही मुक्तिको अनुभवबाट उसको नवजीवनको आरम्भ हुन्छ— भौतिक रूपमा उही, तर रूपान्तरित अन्तस्करण । तर्कमात्र पर्याप्त छैन जीवनका लागि । तर्कभन्दा माथि आस्था छ भन्ने बुझ्छ । तर्कभन्दा बलियो छ प्रेम र सद्भाव । आस्थाका लागि ऊ ‘न्यु टेस्टामेन्ट’ को शरणमा जान्छ, प्रेम, सद्भाव र करुणाका निम्ति सोनिआको सहारा लिन्छ । तर्क र महत्त्वोन्मादको गुफामा निसासिएको उसको जीवन आस्था र प्रेमको प्राणवायु पाएर पुनः बौरिन्छ । प्रेमबाट नै उसको अन्तर–रूपान्तरणको यात्रा आरम्भ हुन्छ । यसलाई दोस्तोएभ्स्कीले नयाँ जीवनको कथा भनेका छन् ।

दोस्तोएभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ पढ्न अधिक धैर्य चाहिन्छ । म पठनमा पीडामिश्रित आनन्द रुचाउँछु जसलाई मैले पीडानन्द भनेको छु । पीडानन्द फ्रेन्च शब्द जुइसाँसको भावानुवाद हो जुन मैले फ्रान्सेली मनोविश्लेषक ज्याक लकाँबाट लिएको हुँ । म प्रायः त्यस्तो पुस्तक रोज्छु जसको भाषा, विषयवस्तु र शैलीले पाठकलाई चुनौती दिओस्, सोच्न बाध्य बनाओस्, कल्पनाको उडान र विचारको गहिराइमा लैजाओस् । फ्रान्सेली चिन्तक रोलाँ बार्टले आफ्नो पुस्तक द प्लेजर अव द टेक्स (इ.१९७३) मा व्यक्त गरेको अवधारणालाई समाएर भन्नुपर्दा ‘क्राइम एन्ड पनिसमेन्ट’ को मेरो पठन अनुभव केवल आनन्दमा सीमित रहेन । त्यसले आनन्दसँगै पीडा मिसाएर गयो । अझै पनि त्यो मानसिक पीडा म अनुभव गरिरहेछु ।

रास्कोलनिकोभको त्यो धारिलो बन्चरो हिंसा र न्याय दुवैको प्रतीक होझैं लाग्छ । उसको द्वैधवृत्तिक चरित्र देखेर म सोचमग्न छु । ऊ पीडित हो— ऊप्रति सहानुभूति जाग्छ । ऊ पीडक हो— उसलाई सम्झिँदा घृणा जागेर आउँछ । उसको महत्त्वोन्माद र तर्कसँग म सहमत छु, असहमत पनि । म उसलाई प्रेम र घृणा बराबर गर्छु । उसले मलाई प्रेमको आनन्द र घृणाको पीडामिश्रित अवस्था अर्थात् पीडानन्दमा छाडेको छ ।

प्रकाशित : पुस १९, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?