कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आवेगको प्रतिक्रिया न्यायसंगत हुँदैन

प्रिय जीवन, एकाध दिनयता म भूपू ताना सर्माले न्वारान गरी नाम राखिदिएको ‘पाताल’ मा छु  । म एकाध महिना यतै बरालिने मुडमा छु  ।

प्रिय जीवन,
एकाध दिनयता म भूपू ताना सर्माले न्वारान गरी नाम राखिदिएको ‘पाताल’ मा छु । म एकाध महिना यतै बरालिने मुडमा छु । यो विरल मौकामा बोली फुटेका नाति–नातिनीसँग म ध्वनियुक्त भाषामा बात मार्छु, बोली नफुटेको सुन्दर चिचिलोसँग चक्षु मिलन, मुस्कान आदान–प्रदान तथा भंगिमाका माध्यमले म मौन वार्ता गर्छु । यो मेरो शासनतन्त्रका विद्रूप घटना, कुरूप सूचना र बासी पात्रहरूको पट्यारलाग्दो दैनिकीको आखेटबाट अल्पकालीन विश्राम हो । तपाईंले यसलाई छोटो पलायनको संज्ञा दिनुभयो भने पनि खासै फरक पर्दैन । ढाई–तीन महिना मुलकमा प्रतिदिन घट्ने घटनाहरू र तिनबाट निसृृत हुने सूचनाहरूबाट विमुख हुँदा पनि केही नछुट्ने देखेर म यता लागेको हुँ । करिब तीन महिनापछि म फmर्किंदा कम्निस्ट आवरणयुत दक्षिणपन्थी प्रतिक्रियावादी सरकारको कुशासनमा अलिकता, भ्रष्टाचारमा अलिकता र जनअधिकार हरणमा अलिकता वृद्धि भएको हुनेछ । बस्, यो कुनै नयाँ परिदृश्य होइन, उही बासी परिदृश्यको उत्कर्षतर्फको निरन्तरता हो ।

म मुद्रण र विद्युतीय दुबै महलका दैनिक कुरूप सूचनाहरूबाट पृथक् रहेर किञ्चित् मानसिक चैन प्राप्त गर्ने मनशायले यो एकान्तबासमा पुगेको के थिएँ मित्र दीपक भेटवालले एउटा लिङ्क पठाइदिनुभयो । र, लिङ्कमा पुस १२ को कान्तिपुर ‘कोसेली’ मा तपाईंसँग मेरो यसरी प्रेमपूर्ण साक्षात्कार भयो, ‘मेरो विमति छ, खगेन्दाइ ।’ सन्दर्भ कान्तिपुरमा अलिअघि प्रकाशित याङ मोको ‘युवाहरूको गीत’ को अनुवादसम्बन्धी संस्मरणमा व्यक्त मेरो विचार रहेछ ।

प्रिय जीवन, तपाईंको असहमतियुक्त प्रतिक्रिया सन् १९५८ वरिपरिका र १९७६ पछिका चीनका आर्थिक नीतिहरूका प्रवृत्ति र परिणतिहरूसम्बन्धी मेरा धारणहरूमा केन्द्रित रहेछ । यो एक अनुरागयुक्त गम्भीर आलोचना भएकाले यसउपर हतारमा र आवगेमा प्रतिक्रिया जनाउनु न्यायसंगत हुँदैन भन्ने मलाई लाग्छ । तपाईंको असहमति सर्सरी पढ्दा मेरो मथिंगलमा तत्क्षण उठेका दुई विचार–तरंग यस्ता छन् । एक, माओका चिन्तन र कर्मको आलोकमा मैले वैचारिक शिक्षण र प्रशिक्षण प्राप्त गरेको हुँ । वास्तवमा मैले मार्क्सवादको मूलभूत जानकारी माओबाटै प्राप्त गरेको हुँ । त्यसैले गुरुका वचन र कर्महरूप्रति ममा अनालोचनात्मक मोह, श्रद्धा वा आसक्ति हुन सक्छ, जसलाई तपाईंको विमतिको ऐनामा म कठोर आत्मसमीक्षकका दृष्टिले गम्भीर रूपले नियाल्ने चेष्टा गर्नेछु ।

दुई, इतिहासको बाटोमा रुढीग्रस्त यथास्थितिले खडा गरेका अवरोधहरूलाई भत्काउन गरिने विप्लवी आन्दोलन र क्रान्तिका नूतन प्रयोगहरू त्यस्ता आँधीबेरी हुन्, जसको उथलपुथलकारी वेगमा पर्दा कतिपय सुन्दर र उपयोगी चीज पनि नष्ट हुन सक्छन् । आन्दोलन र क्रान्तिका नायकहरू ममतामयी, विवेकवान् र दूरदर्शी भएका खण्डमा त्यस्तो क्षति न्यून हुन सक्छ । तर, क्रान्ति वा क्रान्तिकारी परिवर्तनसम्बन्धी नूतन प्रयोग एकदमै क्षतिरहित, भद्र, सौम्य र शालीन कदापि हुँदैन । कतै क्रान्ति वा परिवर्तनसम्बन्धी तपाईँको परिकल्पना वा धारणा सुकोमल आदर्शवादी पो हो कि ! स्मरण रहोस्, यो मेरो कुनै निश्चयात्मक निष्कर्ष होइन, केवल तत्क्षण मनमा उठेको भाव–तरंग हो ।

प्रिय जीवन, म अहिले तपाईंको असहमतियुक्त गम्भीर मीमांसाप्रति सविस्तार प्रतिक्रिया जनाउने वातावरण र मनोदशामा छैन । आफ्नो वैचारिक सांस्कारीकरणको पृष्ठभूमिको सम्यक् संस्मरण गर्ने अवस्थामा पनि म अहिले छैन । कारण म बिल्कुल विश्रामको मुडमा छु । त्यसो त इतिहासको पुनःस्मरण गर्ने न्यूनतम सन्दर्भ सामग्रीहरू पनि मसँग छैनन् । विकिपिडियाको जंगलमा विचरण गर्ने जाँगर ममा छैन, न त यस्तो विचरणमा म खासै अभ्यस्त छु । तसर्थ घर फर्केपछि म तपाईंको असहमतिउपर आफ्नो विचार सविस्तार प्रकट गर्नेछु । अनुरागयुक्त एवं प्रबुद्ध पाठक सदैव लेखकको रचनात्मक सचेतक हो । तपाईंको सचेतनकारी खबरदारीलाई धन्यवाद ।

अभिवादन
फेयर फ्याक्स, भर्जिनिया
अमेरिका

प्रकाशित : पुस १९, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?