मिडलक्लास मेनिया

शिक्षा रिसाल

कहिलेकाहीँ सोच्छु । होइन, दिनको एकपटक त सोच्छु— म संसारको सबैभन्दा धनी भएँ भने के गर्छु होला ?
विपरीतार्थी अर्को मनले उत्तिखेरै बूढी औंलो जमिनतिर तेर्स्याउँदै घुयँत्रो हान्छ, ‘देख्, देख् । सपना देखेको पैसा लाग्दैन । पैसा लाग्ने भए तँ संसारकै सबैभन्दा गरिब भइसक्थिस् ।’

मिडलक्लास मेनिया

अनि सोच्छु— साँच्चै, म संसारकै गरिब भएँ भने के हुन्छ होला ?
त्यत्तिकैमा अर्को मनले बूढीऔंलो आकाशतिर फर्काउँदै भन्छ, ‘होऽऽ योचाहिँ सम्भव छ । किप इट अप ।’
एक दिन आफ्नो वास्तविक औकातबारे सोचें । म धेरैथरी रहिछु । म त मान्छे प्रजातिको छेपारो रहेछु— मनको रङ फेरिरहने ।
हुन त रङहरू फेरिइरहनुपर्छ । र, त जिन्दगी इन्द्रेणीजस्तो हुन्छ । नत्र त जीवन रङहरूको भीमकाय थुप्रो मात्रै बनिदिन्छ ।
सोसल मिडियाका लागि म ‘अपर मिडल क्लास’ रहेछु । किनकि देश–विदेश टहलिँदा म रे–ब्यानको चस्मा लगाएर गमक्क फुल्छु ।
कहिलेकाहीँ देखभेट हुने साथीका लागि पनि त्यही वर्गकी हुँ । किनकि म रेस्टुराँमा कार्डबाट पैसा तिर्छु ।
करोडपति/अर्बपतिले मलाई बाल दिँदैनन् तर आक्कल–झुक्कल सम्झिए भने तिनका लागि म लोअर क्लास गरिब हुँ । उनीहरूले गाडीको सिसाबाट बाहिर हेर्दा म हरेक पटकजसो लोकल गाडी कुरिरहेकी हुन्छु ।
र, मिल्ने साथीहरूका लागि म उही सदाबहार मिडल क्लास हुँ ।
यसो गहिरिएर सोच्दा लाग्छ— मध्यमवर्गीय जिन्दगी साँचिक्कै दयनीय हुन्छ । धनी र गरिबको बीचमा स्यान्डविच बनेर चेपिएको वर्ग । यिनीहरू (मतलब हामीहरू) न कहिल्यै धनी हुन सक्छन् न कहिल्यै गरिब ।
कहिलेकाहीँ चिठ्ठा–सिठ्ठा परेर धनी हुने–हुने पारा त ल्याउँछन् तर दुई दिनमै पैसा सकेर ब्याक टु मध्यमवर्गीय जिन्दगी । कहिलेकाहीँ जुवामा हारेर गरिब होलान्–होलान्जस्तो पारा पनि ल्याउँछन् तर ऋण लिएर जसोतसो ग्रह कटाउँछन् र ब्याक टु मध्यमवर्गीय जिन्दगी । पेन्डुलम के घुम्छ र त्यति– जति मध्यमवर्गीयहरू घुम्छन् । खोलाले वर्षातमा बगाउने काठको मुढोजस्तै हुन्छन् मध्यमवर्गीयहरू । कहिले हुत्तिएर यो किनारामा, कहिले अर्को किनारामा ।
म पनि त्यतिबेला गाउँ (भैंसेपाटी) को हुनेखाने परिवारमा जन्मिएकी हुँ । जग्गा–जमिनवाला परिवार । फेरि जग्गा–जमिनमा दाजुभाइहरूको लफडावाला त्यही घिसिपिटी र पट्यारलाग्दो कहानी । हाम्रो हजुरवाले जिउनी पाउनुभएन रे ! तर, पनि ‘हजुर, घर बनाउने जग्गा छैन’ भन्दै रुन आउनेलाई ‘ल यहाँ घर बनाऊ न त’ भन्दै जग्गा देखाइदिने । घर बनाउन पनि सघाइदिने । ती ‘विचराहरू’ ले अहिले व्यवसाय र दलाली गरेर फिक्स्ड डिपोजिटमा कति पैसा राखिसके होलान् ! तर, हाम्रा प्रिय हजुरबाले हाम्रो जीवन नै सदाको लागि मध्यमवर्गीयमा फिक्स्ड बनाइदिए ।
समय चल्दै गयो । हामी अलि–अलि जमिनदारीबाट ठीकठाकको जमिनदारीमा, ठीकठाकको बाट उच्च मध्यमवर्गीयमा र त्यसबाट खस्किँदै मध्यमवर्गीय बन्न पुग्यौं ।
घर बनाउनुपर्‍यो— ल, यो जग्गा बेच्ने !
घरमा कसैको बिहे गर्नुपर्‍यो— ल है, त्यो
जग्गा बेच्ने !
छोराछोरी पढाउनुपर्‍यो— ल, त्यो जग्गा बेचिहालौं !
हाम्रो वरपर दाजुभाइ खलकले पनि त्यही गरेका हुन् । पुर्खाहरूले जोडेको त्यही देखावटी सम्पत्तिमा ऐस गरे । २० लाखले २० महिना मोज गरे । बिहे, पास्नी, व्रतबन्ध, भोज गरे । अनि सधैं मध्यमवर्गीय जिन्दगीमा अडिए । तर, फेसबुकमा उनीहरूको चटक हेर्दा कति हाँसो उठ्छ, बयान गर्न सक्दिनँ ।
मेरी हजुरआमा कहिलेकाहीँ भन्नुहुन्छ, ‘बाउबाजेको सम्पत्ति बेचेर गाडी चढ्या हुन् यिनीहरू । आफैं पैसा कमाएर चढून् नि !’
म उहाँलाई भन्दिन्छु, ‘अँ अँ, यो हाम्रो घर त आफैं कमाएको पैसाले बनाको होला नि, होइन ?’ उहाँ बम्किनुहुन्छ ।
मेरो र मेरोजस्ता परिवारका लागि व्यवसाय गर्न हुन्न, घाटा लाग्छ । व्यवसायमा घाटाबाहेक केही छैन । लोकसेवा, सरकारी जागिर, पेनसन पकाउनुपर्छ वा प्राइभेटमा टन्न पैसा आउने जागिर खानुपर्छ । त्यही कमाइले गाडी चढ्नुपर्छ । यही हो
सफलताको मानक ।
हामी मध्यमवर्गीयको घरमा छोरा र छोरीबीच पनि ठूलै भेदभाव हुन्छ । छोराले पाउने बाउको सम्पत्तिमा छोरीको एकरत्ति हक लाग्दैन । दुनियाँले ‘मध्यमवर्गीय केटीलाई सजिलो छ’ सोच्लान् तर सबैभन्दा भविष्य धरापमा उनीहरूकै छ । अंशबारे संविधानमा लेखिए पनि व्यवहारमा बराबर गरिँदैन । हाम्रोजस्तो परिवारमा संविधान पढेर बस्न फुर्सद कसलाई ? पीआर र ग्रिनकार्ड खोजी बस्ने हो । अनि ‘मलाई अंश चाहिन्छ’ भन्दा उत्तर आउँछ, ‘तैँले त बिहे गरेर आफ्नो घरको सम्पत्तिमा राज गर्ने हो ।’
त्यसैले, ८० प्रतिशत (सर्वेक्षण गरिएको होइन । यस्तो काम गर्न मध्यमवर्गीयलाई फुर्सद हुन्न) मध्यमवर्गीय महिलाले सामाजिक सुरक्षा (कोष होइन) का लागि जागिर र राम्रो सम्पत्ति भएको केटा
खोज्ने रहेछन् ।
यो मिडल क्लासभित्र पनि अनेक क्लास छन्—
– गाडी चढ्ने मिडल क्लास ।
– बाइक/स्कुटर चढ्ने मिडल क्लास ।
– साइकल चढ्ने मिडल क्लास । (नोट : अचेल साइकल चढ्ने हाई–क्लास पनि हुन्छन् ।)
– सार्वजनिक गाडी चढ्ने मिडल क्लास ।

मजस्ता लोकल बसमा धक्का खाने क्लासको संख्या धेरै छ । हामीभन्दा माथिका वर्गको संख्या पनि कम छैन, जसले ठूला र महँगा गाडी चढ्छन्, छोराछोरीलाई अमेरिका/अस्ट्रेलिया पठाउँछन् । विदेशमा केएफसी र म्याकडोनल्ड्सको अगाडि टुक्रुक्क उभिएर फोटो खिचाउँछन् । घुम्न युरोप जान्छन् ।
अलि अस्ति दसैंताक इन्डोनेसियाको बाली घुमघाम सकेर मलेसियाबाट फर्किंदा प्लेनमा एक नेपाली परिवार मसँगैको सिटमा पर्‍यो । एक नानी थिई, १० वर्षकी । सोधें, ‘नानु, कता घुमेर आएको ?’
उसले अंग्रेजी लवजमा बोली, ‘अमम्ऽऽ अस्ट्रेलिया ।’
ओहो ! म १० वर्ष हुँदा थानकोट कटेर जान पाए पनि रातभरि निद्रा लाग्दैनथ्यो । फेरि सोधेँ, ‘कहाँ–कहाँ घुमेको नि अस्ट्रेलियामा ?’
‘सिड्नी, ब्रिजबेन, पर्थ... !’
उसको भाइ थियो, ५ वर्षको । अलि धेरै चकचक गरिरहेको थियो । मेरो सिटमा आएर सोध्यो, ‘तिमीलाई पनि नेपाली बोल्न आउँछ ?’
मलाई विदेशी सोचेछ उसले । उनीहरूका बाबा भन्दै थिए, ‘धेरै नचल है नत्र २०२० मा युरोप टुर क्यान्सिल हुन्छ फेरि । बाबा र मामु मात्रै जान्छौं ।’
धन्न उनले नेपालीमै भने । कुरा सुनेर प्लेनको झ्यालबाहिर हेरेँ मैले मनमनै मुसुमुुसु हाँस्दै भने ओके ।
बोलीचाली र सो–अफ देख्दा उनीहरू उच्च वर्गका लाग्थे । नत्र त मिडल क्लासको अब्रोड भ्याकेसन भन्या त्यही बैंकक हो अनि समुद्रीय ‘बिच’ भएको पाताया । त्यहाँसम्म त बल्ल–बल्ल, जसो–तसो, कनी–कनी एक वर्षअघिदेखि बचत गर्दै ‘अफोर्ड’
भने गर्छन् ।
अनि मजस्तै कोही छ भने त चटकै बेग्लै हुन्छ । त्यही एउटा फोटोलाई जिन्दगीभर प्रयोग गर्दै मानिसलाई जलाउन कम्ता मजा आउँदैन । अझ त्यहीमाथि ‘सोलो ट्राभलर’, ‘एकल यात्री’, ‘माह लाइफ माह च्वाइस’ भन्दै सामाजिक सञ्जालमा ह्यासट्याग झुन्डाउन आजकल मैले दिमागमा विशेष अलार्म राखेकी छु ।
त्यतिले मात्र पुग्दैन । घरेलु उडान चढ्न पाए पनि बोर्डिङ पासको फोटो नहाली खाएकै पच्दैन हामीलाई । उता जहाजका कर्मचारीहरू ‘छिटो आउनू’ भनिरहेका हुन्छन्, यता सेल्फी खिच्नेको लाइन हुन्छ । उता जहाज उड्न लागिसक्यो, यता सेल्फीको भीड । जहाजभित्र बसिसकेपछि पनि सेल्फी सकिएको हुँदैन । जहाज परिचारिकाले चकलेट लिएर आइन् भने एकै जनाले चकलेट सोहोरेर सक्छ । कोही–कोहीलाई देखेर त लाग्छ— पक्कै यिनीहरूको किराना पसल हुनुपर्छ, बेच्नका लागि लाँदै छन् । जहाजबाट निस्केपछि फेरि एकपटक सेल्फी लिनैपर्‍यो । ढोकामा । बादलसँग । खाना खाइरहेको । ल्यान्ड गर्दै गर्दा । टेक–अफ गर्दै गर्दा । अझ लामो दूरीको प्लेनमा दिने ब्ल्यांकेटको त कुरै नगरौँ । ‘कति न्यानो हुन्छ है’ भन्दै ब्यागमा कोची–कोची ल्याउँछन् । (नोटः मैले त्योचाहिँ गरेकी छैन । ब्ल्यांकेट दिने प्लेन चढेकै छैन क्यार !)
तर, यो त नेपालका उच्च मध्यमवर्गीय भनिने मानिसहरूको सामाजिक सञ्जालमा पनि छ्यापछ्याप्ती देखिन्छ । बिजनेस क्लासमा बसेर सेल्फी । बोर्डिङ पासको सेल्फी । केही महिनाअगाडि मात्रै हो, एक जना नेपाली मालिन्दो एयरलाइन्समा हतारहतार बिजनेस क्लासमा गएर बसे र सेल्फी खिचे । एयरहोस्टेस उनको बोर्डिङ पास देखाउँदै ‘यो सिट तपाईंको होइन’ भन्दै थिइन् । यात्रीले मुसुमुस हाँस्दै भने, ‘जस्ट फर सेल्फी ।’ रियल पासवाला विदेशी कुरिरहेका थिए ।
प्लेनमा दौडेर पहिल्यै बिजनेस क्लासको सिटमा बसी सेल्फी लिनेको कमी छैन । एक छिनपछि ठस्ठस्ती कन्दै उठेर इकोनोमीमै बस्छन् । यो नयाँ ट्रेन्ड हो ।
प्रकृतिले ठगेकी, लक्ष्मीले नपत्याएकी, कुवेरले बास नगरेका मध्यमवर्गीय मानिसलाई रिस पनि धेरै उठ्छ । विशेषगरी धनी मान्छेहरूसँग । मलाई पनि कोही धनी मानिस देख्यो कि रिस उठ्छ । औडाहा छुट्छ । चिटचिट पसिना आउँछ ।
मलाई कहिलेकाहीँ लाग्छ— धनी मान्छेहरू के–के सोच्दा हुन् ?
एकपटक अन्तर्वार्तामा एक बैंकरले भनेकी थिइन्, ‘मलाई दिक्क लाग्यो भने त सपिङ जान्छु । कहिले सिंगापुर जान्छु, सलोन जान्छु, फ्रेस फिल हुन्छ ।’
त्यतिबेला मलाई अफिसले तलब नहालिदिएको दुई महिना भएको थियो ।
सोच आउँछ—
उनीहरू धनी, मचाहिँ नधनी । आखिर किन ?
उनीहरू सम्पन्न, मचाहिँ नसम्पन्न ।
आखिर किन ?
यस्तोमा रिस किन नउठोस् ? उनीहरूसँग सबथोक हुन्छ, जो मसँग छैन ।
यदि तपाईं मध्यमवर्गीय हुनुहुन्छ भने कल्पना गर्नुस् । एक रुपैयाँ पनि नहुँदा र बैंकको खातामा ५ लाख हुँदाको मानसिक अवस्था !
बैंकको खातामा टन्न पैसा हुँदा लाग्छ— यो संसार कति राम्रो छ । मानिसहरू कति राम्रा छन् । जिन्दगी कति सुन्दर छ । लाइफ इज ब्युटिफुल । चराचुरुंगीहरू कति राम्रा छन् । अफिसका साथीहरू कति मिजासिला छन् । मन जतिबेला पनि फुरुंग । आकाशमा
तैरिरहेको जस्तो आनन्द । कस्तो मीठो उपहार यो जीवन । आहा !
जब बैंकको खातामा २ हजार हुन्छ, तब जिन्दगीमा अँध्यारोबाहेक केही देखिँदैन । खाना पनि रुच्दैन । कोही बोलेको सुन्यो कि झनक्क रिस उठ्छ ।
यी र यस्तै कारणले हो, मध्यमवर्गीय मानिसहरू चिडचिडा हुन्छन् ।
अफिसमा तलब ढिलो आयो, टेन्सन । छोराछोरीको स्कुल फी आयो, टेन्सन । घरबेटीले भाडा माग्यो, टेन्सन । यता खर्च गर्‍यो, उता नपुग्ने । खर्च पनि सुन तौलिएजसरी गर्नुपर्ने । यताको कपडा झिकेर अर्कोतिर टाल्यो, यता ह्वांगै ।
त्यसमाथि यही मध्यमवर्गीय मानिसलाई नै अनेकथरी रोग लाग्छ । तिनै सुगर, प्रेसर, थाइराइड आदि । औषधि उपचार गरिरहनुपर्ने । महिनाभरि हाकिमको थुतुनो सहँदै कमाएको पैसा पनि
उपचारमै सकिने ।
मिडल क्लास मान्छेको अर्को समस्या— विदेश त जाने तर कुनै संस्थाले पो लगिहाल्छ कि ? टिकट र होटल त भयो, गएको भत्ता पनि दिइहाल्छ कि ? क्रुज डिनर गराई पो हाल्छ कि ? क्रुज डिनर !
म १० वर्षदेखि पत्रकारिता क्षेत्रमा छु । यसबीच एकपटक कुनै कम्पनीले लगेर सिंगापुरसम्म गएकी छु । अस्ति भर्खर बाली गएर भए–नभएको पैसा सकाएर आएँ । म पनि के कम ! मौका यही थियो, भएभरका आरिसेलाई जलाउने । हुरुरु इन्स्टाग्राम र ट्विटर भरिने गरी फोटो पोस्ट गरें ।
हरेकजसोले सोधे, ‘कसले लगेको ? केही सेमिनार थियो ? टिकट र होटल मात्र मिलाइदिएको कि बाँकी सबै पनि ?’
मध्यमवर्गीय मानिस विदेश घुम्न गयो भने पनि स्पोन्सर कोही अरू नै हुनुपर्छ । दसैंको बेलामा नातेदारले सोधपुछ गर्दा घरमा भनेछन्, ‘अफिसले लग्या हो ।’
(नोट ः मेरो घरमा यो लेख कसैले पढ्दैन ।)
संघर्षरत नेपाली पत्रकारको त्यति हैसियत हुँदैन कि कमाएर एकैचोटि ३–३ वटा देश घुमून् । फर्केपछि सबैले सोधे, ‘कति जनाको समूह थियो ? रमाइलो भयो ? भत्ता पनि दिए ?’
मध्यमवर्गीयहरूका समस्याको लिस्ट बनाउने हो भने त्यसले पृथ्वीको दुई फन्को मार्छ ।

ट्याक्सी
गाडी कोचाकोच छ । गाडीभित्र मान्छे हुन् कि भेडाबाख्रा– पत्तो पाइँदैन । उभिन पनि सकिँदैन । ट्याक्सी पो चढौं कि क्या हो !
आधी घण्टासम्म घोत्लेर सोच्यो— ट्याक्सीमा जाने निर्णय हुन्छ । त्यसपछि फेरि अर्को संघर्ष सुरु हुन्छ— ट्याक्सीवालासँग बार्गेनिङ ।
‘दाइ, मिटरमा जाम् न !’
यो हरेकजसो मध्यमवर्गीय मानिसहरूको प्रिय वाक्य हो । ‘मिटरमा जान्नँ’ भन्ने र पैसा अलि बढी भन्ने ट्याक्सीवालालाई मनमनै सात पुस्तासम्मको गाली दिने वर्ग यही हो । खुरुक्क मिटरमा जाने ट्याक्सीवालाहरू त फेरि देउतै हुन् । ‘घर कहाँ हो ?’ देखि लिएर कुनथरी, कुन गोत्रसम्म पुग्छ कुरो । मध्यमवर्गीयको कुरै बेग्लै छ । ट्याक्सीले अन्तिममा ‘अलिकति थप्दिनू’ भन्ला भन्ने डर यात्राभरि भइरहन्छ ।

लुगा
लुगा किन्नुपर्‍यो । कहाँ जाने ? सिभिल मल, लाबिम मल, सिटी सेन्टर । मल गयो, एउटा लुगाको मूल्यमा बाहिरतिर ३–४ वटा आउँछन् । अनि कहाँ फेसनसँग चल्न सक्नु । बच्चाबच्चीलाई लुगा किन्दिनुपर्‍यो भने अर्कै छ किस्सा । लामो र ठूलो लुगा किन्दिने अनि कारण देखाउने— बढ्ने बच्चालाई ठीकै हुन्छ । २–३ वर्षसम्म किन्दिने टन्टै साफ । अझ २–३ वर्ष फरकका सन्तान छन् भने एक जोर लुगाको रोटेसन चर्खेपिङझैं चलिरहन्छ । यो वितरण प्रणाली उस्तै परे मिल्ने छिमेकीका सन्तानसम्म पुग्छ ।

मनोरञ्जन
एक दिन रमाइलो गर्छु भन्यो, महिनाभरको बजेट गडबड हुन्छ । क्यूएफएक्समा फिल्म हेर्न जानुअघि थुप्रै पटक सोच्नुपर्छ । फिल्ममात्र हेरेर भएन— पपकर्न, पेय पदार्थ आदि खानैपर्‍यो । बजेटले २ हजार नाघ्छ । अनि त्यही अन्तिम उपाय— शनिबारको दिन बिहानै उठेर सस्तोवाला शो । कि बुधबारको सस्तोवाला टिकट । नाइट शो हेर्ने मन हुँदाहुँदा मर्निङ शोमा खुम्चिन्छौं । बच्चाहरू भिडियो गेम्स, थ्रीडी, भीआर हेर्ने भन्छन् । ओहो, कति महँगो हो ! अनि बच्चालाई फकाई–फुकाई त्यही भृकुटीमण्डपको पिङ खेलायो । बच्चाहरू पनि सुरुसुरुमा त धेरै माग गर्छन् तर बुझ्दै गएपछि ‘क्या मिडल क्लास परिवारमा जन्मिएछ यार’ भन्दै भृकुटीमण्डपमै चित्त बुझाउँछन् ।
विदेश त छँदै छ । देशभित्रै घुम्नेहरूको कहानी पनि कम्ता रोचक छैन । ठाउँ पुग्न पाएको हुन्न, फोटो खिचिहाल्नुपर्छ । अनि उत्तिखेरै अपलोड नगरेर भो त ?
त्यो ठाउँको आनन्द लिने, प्रकृतिको काखमा चुर्लुम्म डुबेर जीवनका आयामहरूबारे घोत्लिने ! अहँ ! तुरुन्त क्यामेरा निकालेको छ, सयौं फोटो खिचेको छ, अपलोड गरेको छ । वास्तवमा मानिसहरू आजभोलि कुनै ठाउँ पुगेर पनि त्यो ठाउँ राम्ररी हेर्दैनन् । कसैलाई क्यामेरा र फोन लग्न नदिने हो भने लेखेर राख्नुस्— घुम्ने मान्छे दुईतिहाइले घट्छन् । तर, होइन— भिजिट नेपाल २०२० प्रवर्द्धन गर्नुपर्छ ।
अचेल धेरैजसो जग्गा र घर किन्दै–बेच्दै गर्नेहरू रातारात मध्यमवर्गीयबाट उच्च मध्यमवर्गीयमा चढेका देखिन्छन् । न्युली टर्न रिचहरू । यिनीहरूका चटक देखेर दंग पर्छु ।
तरकारी किन्न जानुपर्‍यो— कार निकालेको छ ।
टोलको बैठकमा जानुपर्‍यो— कार निकालेको छ ।
बच्चालाई नजिकै स्कुल पुर्‍याउनु छ— कार झिकेको छ ।
यस्ता टुप्पेहरू जगिङ जाँदा पनि कारै लिएर गए भने अचम्म नमान्नुहोला ।
अनि कनी–कनी अंग्रेजी पनि यिनीहरूलाई नै बोल्नुपर्छ । दूध पनि नछोडेको बच्चालाई ‘बेटा, डन्ट डु दिस’, ‘बेटा, ह्वाट डिड आई टेल यु !’ झन् वरपर कोही छ भने त नेपाली फिटिक्क निस्किन्न ।
झन् मध्यमवर्गीय केटीहरूको त कुरै नगरौं । सबैले पाकिस्तानी सिरियल ‘जिन्दगी गुलजार है’ हेरेका हुन्छन् । त्यसकी पात्र कसफसँग आफूलाई दाँज्छन् । तर, उनीहरूको जीवनमा कोही जारुन हुँदैन, न त हुन्छ सरकारी जागिर । म पनि त्यही कोटामा पर्छु ।
कोही मन परेर डेट गइहाल्न पनि मिडल क्लासकालाई धेरै समस्या । अहिले त मान्छेहरू निकै फरवार्ड भइसके तर आफ्नो त ‘टिन्डर एप’ खोले भने पनि प्रोफाइल फोटोमा गुलाबको फूल राख्छु होला । थोपडा राख्ने आत्मविश्वास अहिलेसम्म पलाएको छैन ।
हो, यो हिम्मत ल्याउन पनि मिडल क्लासबाट अलिकति माथि हुनुपर्ने रहेछ ।
आजकल म अलि गरिब भएकी छु । ‘ह्यासट्याग कफीप्रेमी’ भन्दै पोस्ट गर्ने म ‘क्याफेनले एन्जाइटी हुन्छ, सो आई प्रिफर हट लेभन विथ हनी एन्ड जिन्जर’ भन्छु । हुन पनि आजकल कफीले एन्जाइटी हुन्छ । एउटा साथीले जिस्क्याई त हाल्यो, ‘अदुवाचाहिँ मन नपर्ने रे ! महँगा रेस्टुराँमा गएपछि हट लेमन विथ जिन्जर चाहिने । हेर मान्छेका दुःख !’
बाहिर डिनर खान जानुपर्‍यो भने अलि सस्तो थकाली कहाँ छ ? साथीहरू भेट्यो भने उही भृकुटीमण्डप र संकटाको चिया जिन्दावाद ।
हाम्रो भने टाउकोमाथि छत त छ आफ्नो नामको घर छैन । हिँड्नलाई ५० लाखका बस–माइक्रो छन् तर सानै भए पनि आफ्नै गाडी चाहिएको छ । बरु किस्तामा पैसा तिरौंला ।
अर्को मन लाग्छ— मध्यमवर्गीयहरू भाग्यमानी हुन् । किस्तै–किस्तामा भए पनि आफ्ना रहर त पूरा गर्न पाउँछन् । चाहेको जति त शाहरूख खानलाई पनि पुगेन । कुन हो, प्राइभेट जेट किन्न पैसा पुगेन रे उनलाई ! योचाहिँ क्लासअनुसारको गरिबी हो ।
केही समय भयो मलाई ‘रोयल इन्फिल्ड’ चलाउन मन लागेको । सपनामा देखिरहन्छु । कट्रिना कैफले ‘जिन्दगी ना मिलेगी दोबारा’ मा चलाएजस्तै । अनि फेरि काठमाडौंको बाटो सम्झिन्छु र तर्सन्छु । फेरि साइकल नि छैन भनेर झसंग हुन्छु । एउटा सपना पूरा हुनै लाग्दा अरू नयाँ–नयाँ के–के आइसक्छन् । आफ्नो मन परेको कुरा आउटडेटेड भइसक्छ । ट्रेन्डसँग चल्न त अकुत पैसा हुनुपर्छ । सोसल मिडियामा हुन्छन् त्यस्ता मानिसहरू । बजारमा आएको भोलिपल्ट उनीहरूको हातमा हुन्छ । कति सकस छ विचराहरूलाई । ट्रेन्डसँग चल्नैपर्‍यो । केही गरी ऊ ट्रेन्डबाट छुट्यो भने सोधिहाल्ने र यसले किन किनेन होला भनेर सोच्ने मजस्ताको कमी छैन ।
टिम कुकदेखि यति रिस उठ्छ ! बल्ल–बल्ल पैसा जोहो गरेर वा कसैको गिफ्ट पाएर आईफोन ७ बोक्ने हैसियत बनायो, बजारमा आईफोन ११ आइसकेको हुन्छ । सबैले सधैं गिफ्ट नि किन दिन्थे ? अनि यस्तो संसारमा मिडल क्लास मान्छे कसरी टिक्न सक्छन् ? अनि यहाँनेर आउँछ एउटा प्रसिद्ध भनाइ, ‘घाँटी हेरी हाड निल्नू ।’
अरे ! म शाकाहारी हो यार ! त्यही पनि हाड नि निल्छन् र ??
@RisalShiksha

प्रकाशित : पुस १९, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?