कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिजो पनि छापिएका थिए खराब किताब

गुरुङ सुशान्तले लेखक तथा विश्लेषक आहुतिसँग गरेको कुराकानी:

हिजो पनि छापिएका थिए खराब किताब

पछिल्लो समय तपाईंलाई मन परेका या जङ चलेका पुस्तक कुनकुन हुन् ?

कम्युनिस्ट घोषणापत्रदेखि मार्क्सवादका आधारभूत पुस्तकहरू फेरि एकपटक पढ्ने अभियानमा छौँ  । त्यसलाई सघाउने वा सेरोफेरोका नयाँ किताबहरू पनि यसै अभियानसँग गाँसिएका छन्  ।यसबीच नेपालमा आएका नयाँ आख्यान र गैरआख्यानमा लेखकका आफ्नै निजत्वको सीमालाई नाघ्ने गरी लेखिएको देख्दिनँ । सञ्जीव उप्रेतीको ‘हंस’ उपन्यासचाहिँ उनको अघिल्लो रचनाभन्दा पृथक् आयामको पाउँछु । समाजशास्त्र, विज्ञान, शिक्षाशास्त्र, राजनीति आदि विषयमा जर्नल र पत्रिकाका सरदर रचनाबाहेक ‘डिस्कोर्स’ नै बदल्ने गरी नयाँ बहस सुरु भएको देख्दिनँ । तथापि नयाँ लेखकहरू फटाफट आइरहेका छन्, त्यो भने वर्तमानको राम्रो पक्ष हो ।

आफ्नो संकलनबाट दोहोर्‍याइरहने रचनाहरू कुनकुन हुन् ?
म्याक्सिम गोर्कीको कथा ‘बूढी इजरगिल’, हावर्ड फास्टको उपन्यास ‘माई ग्लोरियस ब्रदर्स’, चेखबका केही कथा । नेपालका रचनाहरू पनि केही दोहोर्‍याउँछु । तर, खासमा दोहोर्‍याइरहने बानी नै चाहिँ छैन ।

यहाँ हप्तैपिच्छे पुस्तक विमोचनसहितको हल्लाखल्ला हुन्छ तर वर्षका उत्कृष्ट पाँच पुस्तकको सूची बनाउनै पनि सकस हुन्छ । यस्तो किन हुन्छ ?
यसका कारण खोतल्न जरामै पुग्नुपर्ला । मेरो विचारमा जति धेरै अनुसन्धान गर्ने समाज भयो, लेखन उत्ति खारिएर आउँछ । तर, हाम्रो ऐतिहासिकतालाई हेर्दा निश्चित मान्छेहरूले मात्रै शब्दकर्म गर्ने समाज थियो । लेखक पनि अत्यन्तै थोरै जनसंख्याबीचबाट आउने भएकाले मात्रा कम हुने नै भयो ।

अनुपातमा गुणात्मकता पनि स्वतः कम भयो । कुनै बेला निश्चित जातिको मात्रै पठनपाठनमा कब्जा थियो, त्यो सीमाचाहिँ भत्किँदै गएको छ । विशेषतः ००७ सालपछि दलित र गैरहिन्दुले पनि सार्वजनिक शिक्षामा जान पाइने भएपछि मात्र जनजाति र दलितबाट पनि लेखकहरू आउन थाले, जसले लेखनमा विविधतासमेत ल्याउन सुरु त गर्‍यो तर त्यसको गति तीव्र छैन ।

नेपालका विश्वविद्यालय र सरकारले अवलम्बन गरेको शिक्षाको ढाँचा नेपाली समाजको विशेषताअनुकूलको छैन । परम्परागत ढाँचाले किताब वा अक्षरबाहेकलाई शिक्षा नै मानेन । लेखपढ गर्ने मान्छेलाई मात्रै शिक्षित मानियो । जीवनका असी–नब्बे प्रतिशत भौतिक आवश्यकता परिपूर्तिका खातिर सिर्जना गर्न सक्नेलाई अशिक्षित ठान्ने शासक विचार रह्यो । यस्तो विचारको जगलाई भत्काउने गरी हाम्रो शिक्षा आएन । त्यसमाथि हाम्रो समाजलाई प्रयोगशाला बनाउन युरोपेली–अमेरिकीले विकास गरेको शिक्षा लादियो । यसले हाम्रो मौलिक चिन्तन पद्धतिलाई मार्न सुरु गर्‍यो ।

२००७ सालपछि जनजाति र दलितका विविधतामय दर्शन र ज्ञानलाई शिक्षाको मूलधारमा समेटेर ल्याउनुपर्थ्यो । केही व्यक्ति उत्पीडित समुदायबाट आए पनि उनीहरूको सभ्यतामूलक चेतना औपचारिक शिक्षामा आएन । यसले पाठ्यक्रमको निश्चित बुँदाले खोजेको सूत्रीय पात्रजस्तै शिक्षितहरू जन्मिए । विद्यालय–विश्वविद्यालय जानुको अर्थ रोजगारीका लागि डिग्रीधारण गर्नुभयो । उस्तै डिग्रीधारीको संख्या बढ्दै गएपछि रोजगारीको संकट चुलिँदै गयो ।

पहिले अक्षर कोर्नुलाई मात्रै शिक्षितको काम मानियो, अलिपछि पेसा व्यवसाय गरेर खान सक्ने मान्छे उत्पादन गर्नुलाई शिक्षाको ध्येय मानियो । शिक्षाको मूल उद्देश्य त्यो होइन, हुनु हुँदैन । सबै क्षेत्रको ज्ञानलाई मानव–जातिको उन्नयनमा लगाउन सक्नु र आलोचनात्मक चेतनालाई झन्झन् गुणात्मक बनाउँदै लैजानु नै असल शिक्षाको दायित्व हो । यो दायित्वलाई सिर्जनात्मक रूपमा पूरा गर्दै लाँदा व्यक्तिको जीविकाको समस्या पनि स्वतः हल हुँदै जानुपर्ने कुरा हो ।

विश्वविद्यालयको उत्पादन र व्यक्तिगत पहलमध्ये कुनले बढी आलोचनात्मक चेतको विकास गर्‍यो भनेर हेर्नुपर्छ । स्वअध्ययन गर्नेहरूको भूमिका बढी छ किन भनिहाल्नु तर कमचाहिँ छैन । साहित्य र समाजशास्त्रमै देख्न सकिन्छ । जस्तो, व्यक्ति महेश चौधरीले जत्ति पनि विश्वविद्यालयका संकायले थारूबारे अध्ययन गरेन । यसरी हाम्रो शिक्षामा भएको अनुसन्धानको कमीका कारण पनि गम्भीर पुस्तक र मिहिनेतको स्वाद हामीले कम पाइरहेका छौँ । गर्न चाहने र सक्ने व्यक्तिलाई पनि जीविकाको समस्याले गाँज्ने दुर्भाग्यहरूका बीच ज्ञान उत्पादन कार्य भइरहेका छन् अर्थात् हाम्रो आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्था र त्यसको दिशाको सीमा वा अड्चनहरूको सापेक्षताहरू पुस्तकहरूमा प्रकट भइरहेछन् । यो सापेक्षता र सीमालाई नाघ्न उत्प्रेरित गर्ने राजनीतिक आन्दोलन र लेखनको दावानल नै आजको मुख्य आवश्यकता हो भन्ने लाग्छ ।

बजारमा उपलब्ध विषय र पाठकले खोजेको विषयबीच अन्तर पाउनुहुन्छ ?
सुरुको व्यापारिक पुँजीवादको बेला बजार एक प्रकारले जनसेवक थियो, आज बजार भनेको आम जनतामाथि लुट रच्ने सामाजिक यन्त्र भएको छ । यो यन्त्रले जसरी पनि आम पाठकलाई बढीभन्दा बढी लुट्न धराप थाप्छ । त्यसका लागि ऊ भड्किलो विज्ञापन गर्छ, अनेक आकर्षणका कथा हाल्छ । ज्ञान व्यापारको क्षेत्रमा पनि यसले यस्तो प्रोपागन्डा गर्छ नै । मुख्य विषयचाहिँ के हो भने ग्राहकले उन्नत चीज नभेट्दा पनि केही न केही त किन्ने नै भयो । जस्तो, संसदीय निर्वाचनमा धुमधाम प्रचारप्रसार गरेपछि प्रायः जनता भोट खसाल्न पुग्छन्, खराब वा असल मान्छे जो उठे पनि । तर, भोट खसाल्दैमा व्यवस्था र राजनीतिसँग कोही सन्तुष्ट रहेको प्रमाणित हुन्न, बरु नराम्रोसँग असन्तुष्टि र राम्रो चीज खोजिरहेको संकेत मात्र मिल्छ ।

यसरी नै बजारमा पुस्तक छर्दै प्रकाशक, सञ्चारमाध्यम, लेखक, सरसंगतका सबै मिलेर प्रचार गरिसकेपछि पुस्तक पढ्न चाहने मान्छेले किन्छ नै । तर, किन्ने पाठकको आवश्यकता किनिएकै पुस्तक थियो भन्ने मान्न कसरी सकिन्छ र ? जस्तोसुकै खानेकुरा दिए पनि एउटा बालकले खान्छ तर त्यो उसको पोषणका लागि सही थियो भन्ने कुनै ग्यारेन्टी हुँदैन । कुपोषण भए पनि बालकले उपलब्ध खाना खाएजस्तै गतिलो विषय नभए पनि किताब बिक्री भइरहेको हुन सक्छ । पुस्तक छापिएर मात्रै वा पढेर मात्रै पनि हाम्रो समस्याको हल हुँदैन । हामीलाई चाहिएको बौद्धिक जनशक्ति उत्पादन भयो कि भएन ? त्यो मुख्य कुरा हो ।

इतिहासलाई बेवास्ता गर्ने तर आधुनिक भनिएको शिक्षा लिइरहेको नयाँ पुस्ताले कस्तो पुस्तक अध्ययन गर्नुपर्छ ?
आजको समाजलाई बुझ्न हिजो नबुझी हुँदैन । इतिहास परख गर्ने सन्दर्भमा समाजका तीन पक्षलाई नबुझी हुँदैन– अर्थतन्त्र, संस्कृति र राजनीति । एउटा समाज व्यवस्थालाई अध्ययन गर्न त्यसका आधारभूत पक्षमा घोत्लिनैपर्छ । नेपाली समाज बुझ्ने हो भने सबभन्दा पहिले नेपाली समाज नै पढ्नुपर्छ । अर्को समस्या देख्दै छु— नेपाली समाजको अध्ययन गर्नुभन्दा विश्लेषण गर्नुमा बढी रुचि हुने जमात बढ्न थाल्यो किनभने विश्लेषण गर्ने सिद्धान्त विश्वविद्यालयबाट सिकेर आएको हुन्छ । सिद्धान्त सही या गलत होला, त्यो अर्कै विषय भयो । तर, नेपाली समाजजस्तो हो, त्यस्तै अध्ययन गर्नुपर्‍यो पहिले । नेपाली समाज बुझ्नलाई नेपालकै भाषामा सोच्नुपर्छ तर यो कुनै भाषामुखी कुरा होइन । भाषा सोच्ने प्रविधि र निश्चित सभ्यताको संस्कृति हुने भएकाले यसो भनेको हो ।

नेपाली समाजको हिजोका उत्पादन सम्बन्ध, उत्पादक शक्ति र अर्थतन्त्रको स्थितिलाई जानिसकेपछि त्यो अर्थतन्त्र कसरी बिग्रिँदै ढल्दै यहाँसम्म आइपुग्यो भन्ने ज्ञात हुन्छ । धरती घटेको छैन, उब्जनशीलता पनि आकाश–पाताल घटेको होइन । तर, अन्न निर्यात गर्ने देश आज धेरैथोक आयात गरेर बाँच्नुपर्ने स्थितिमा कसरी खुम्चियो ? यो प्रश्नको जवाफ अर्थतन्त्रको अध्ययनले मात्र दिन सक्छ । नेपाली समाजको संस्कृति बुझेपछि थाहा हुन्छ— नेतृत्वकारी दार्शनिकी के थियो ? सहजै बोध हुन्छ— हिन्दु जातव्यवस्थामा आधारित दार्शनिकी थियो । विविध शाखासहितको बौद्ध मत थियो । किराँत दार्शनिकी थियो । मस्टोपूजक खस दार्शनिकी पनि थियो । इस्लाम र प्रकृतिपूजक दर्शन पनि थिए ।

विविध दार्शनिकीमा आधारित संस्कृति अध्ययन गरेर मात्रै नेपाली समाज बुझ्न सकिन्छ । विभिन्न महासभ्यताबाट आएका संस्कृतिबीचका टकराव, हारजित र त्यसको प्रभावमा विकसित सोच्ने तरिका आदिलाई पढ्नुपर्छ । एउटा व्यक्तिले सोच्ने, खाने, उपचार गर्ने तरिकादेखि मनोरञ्जन, औजार सबै कुरा संस्कृतिभित्रै पर्छन् । यसको अध्ययन नगरी अहिलेको नेपाली समाजको मनोविज्ञान कसरी बुझ्ने ? साथै विदेशी हस्तक्षेपका कुरा भुल्नु हुँदैन । १८१६ को सुगौली सन्धिपछि सीधासीधा औपचारिक रूपमै विदेशी हस्तक्षेप आयो । त्यसले संस्कृतिमा प्रभाव पारेकै हो । यसरी शृंखलामा अध्ययन गर्दा मात्रै नेपाली संस्कृतिको स्थिति बुझिन्छ । संस्कृतिको एउटा अध्याय हो, हाम्रो सोच्ने तरिका । अनि राजनीतिक पृष्ठभूमिको अध्ययन । यसरी जुनसुकै भाषामा भए पनि समग्रतामा पढ्नुपर्‍यो । त्यसैले निश्चित किताबको सिफारिस गरेर मात्रै हुँदैन ।

हरेक पाठ र रचना राजनीतिक हुन्छ भन्ने मतलाई कसरी हेर्नुहुन्छ ?
पहिलो कुरा— हरेक पुस्तक राजनीतिबाट प्रभावित भएर लेखिन्छ भन्ने सही होइन । मार्क्सवादी भनेर प्रचार गरिएको एउटा भनाइ थियो— हरेक मान्छे या सिर्जनाका पछाडि एउटा राजनीति हुन्छ । तर, मार्क्सवादको आधारभूत कुरा त्यो होइन । कुनै साहित्यको पछाडि विचारधारा अनिवार्य र मुख्य हुन्छ । त्यसपछि राजनीति आउन पनि सक्छ, प्रत्यक्ष राजनीति नआउन पनि सक्छ ।

साहित्यमा भोकाएको र अघाएको लेखन फरक हुन्छ भनिन्छ । पुस्तक छनोट गर्दा पाठकले कसरी चिन्ने ?
छनोट गर्दा पुस्तक पढिसकेका वा जानकारसँग छलफल गर्नु राम्रो हो । तर, केका निम्ति पढ्ने भन्नेमा पनि वर्गीय रुचि हुन्छ । जो मान्छे सम्पन्न छ या अरूलाई शोषण गरेर बाँच्ने ठाउँ र वैचारिकीमा छ, उसको अध्ययन विशेषतः जानकारी लिन, आफ्नो पेसा–व्यवसायलाई टेवा पुर्‍याउन, आफूलाई जान्ने मान्छे देखाउन, मनोरन्जन लिनमा केन्द्रित होला । तर, जो श्रम नगरी बाँच्न सक्दैन, जसको श्रम शोषण भइरहेको छ या कठिनाइपूर्वक बाँचिरहे पनि भविष्यको सूनिश्चिततासमेत छैन, त्यस्ता श्रमजीवी नागरिकले केका लागि पढ्ने भन्ने कुरा गम्भीर छ । उत्पीडित, शोषित र न्यायप्रेमीहरूको अध्ययन खराबका विरुद्ध संघर्ष गर्नका लागि हो । त्यसकारण लड्नका लागि पढ्ने र पढेपछि लड्ने हुनुपर्‍यो । केवल पढ्ने मात्रै भयो भने त्यो त बौद्धिक विलास भयो ।

आज अध्ययनको आयाम पनि विस्तारित भएको छ । हिजो पनि ज्ञान पुस्तकबाट मात्रै आउँदैनथ्यो । आज त झन् ज्ञान प्राप्त गर्ने स्रोतहरू व्यापक रूपमा उपलब्ध भएका छन् । पुस्तकमा निश्चित भाषामा लेखिएका अक्षर हुन्छन्, जसको काम जानकारी दिनु हो । जानकारी दिने चीज केके आए त ? सिनेमा, नाटक र इन्टरनेट पुस्तककै नयाँनयाँ रूप हुन् । सबभन्दा आधारभूत पुस्तक त मानवीय जीवन र समाज नै भइहाल्यो । त्यसलाई संश्लेषण गरिएका कला सामग्री हिजोभन्दा आज बढेका छन् । कागजमा छापिएका अक्षरको संग्रहबाहेकका जानकारीमूलक र ज्ञानबर्द्धक सामग्रीलाई पनि पुस्तकको दायरामा समेटेर बुझ्नु र प्रयोग गर्नुपर्‍यो ।

त्यसो भए इन्टरनेटको प्रयोगले पठन संस्कृति खुम्चियो भन्ने चिन्ताको विषय होइन ? हो भने कसको चिन्ता हो ?
यो त प्रयोगकर्तामा भर पर्ने कुरा भयो । आफ्नो रुचिको ज्ञान विस्तार गर्न इन्टरनेट वा वेभसाइटलाई प्रयोगमा ल्याए त्यो उत्तम बाटो हो । पुस्तकालय गए बराबरै भयो त्यो । निहित स्वार्थ र आवेगहरूलाई भड्काउनमा प्रयोग गरे त्यो खराब हुन्छ । हिजो पनि छापिएका सबै पुस्तक असल थिए र ? खराब पुस्तक पनि थिए, असल पनि । इन्टरनेटमा असल सामग्री पनि छन् र खराब पनि । मेरो बुझाइमा इन्टरनेटको सहज पहुँचले अध्ययनको दायरा व्यापक र विविध भयो । पुस्तक अध्ययन ज्ञान संकलनको विधि हो भने त्यस ज्ञानलाई कपरछान गर्न अनिवार्यतः छलफलको विषय बनाइनुपर्छ । पहिलेपहिले औपचारिक र अनौपचारिक स्टडी सर्कलहरू बनाइन्थे र पुस्तक पढेपछि तिनमाथि छलफल गरिन्थ्यो । आजभोलि यस्तो चलनमा साह्रै कमी आएको देखिन्छ, यो भने राम्रो लक्षण होइन ।

ज्ञानको क्षेत्र अहिले कुन वर्गको कब्जामा छ ?
संसारका अधिकतम ज्ञानमाथि सधैँ मध्यम वर्गको नै प्रभुत्व रहँदै आएको छ । जसले जीविकाको संकटबाट अलिकति पार पाउँछ, उसले नै अतिरिक्त सोच्ने समय पाउँछ । राज्यले त निश्चित वर्गलाई मात्रै आफ्नो ज्ञानको सीमाभित्र राख्छ । नेपालमा पनि त्यस्तै हो । राज्यले डिजाइन गरेको ज्ञानको सीमालाई तोड्नका लागि श्रमिक वर्गलाई समेटेर न्यायपूर्ण ज्ञान–प्रसारको व्यापक आन्दोलन चलाउनुपर्छ । हिजो पनि आन्दोलन र क्रान्तिका बेला विद्यालय–विश्वविद्यालयबाहिरबाटै संगठित आन्दोलनले ज्ञान प्रसार गरेको थियो । अब पनि त्यस्ता आन्दोलनको जरुरी छ ।

अध्ययन र कलाको मुख्य दायित्व संघर्ष र परिवर्तन हो भने संस्कृतिकर्मी भनिने नेपाली लेखक–कलाकारले आफ्नो गहन भूमिका निर्वाह गरिरहेका छन् त ?
नेपाली समाजमा सांस्कृतिक रूपान्तरणका निम्ति व्यवस्थित र संगठित अभियानमा काम गर्नुपर्ने जुन नयाँ आवश्यकता देखिएको छ, त्यसमुताबिक अगाडि बढ्न व्यवस्थित प्रयत्नमा भाग लिने सिर्जनशील संस्कृतिकर्मीहरूमा त्यति रुचिको समय छैन । हिजो राज्य–व्यवस्थासँग लड्ने सांस्कृतिक संगठनहरू थिए, स्वतन्त्र बस्नेहरूले पनि केही न केही वैचारिक रचनात्मक काम गर्थे र पार्टीमा भए पनि नभए पनि ती कहीँ न कहीँ वैचारिक त्यान्द्रोले जोडिन्थे । हिजो प्रगतिको दिशामा जान चाहने सांस्कृतिक संगठनहरूको ठूलो हिस्सा आज यथास्थितिको रक्षा गर्ने पंक्तिमा पतन भयो । संसद् र सरकारमा रहेका दलसम्बद्ध सांस्कृतिक संगठनहरू घुमाइफिराइ माउ पार्टीको रक्षार्थ खटिरहेका देखिन्छन् । केही व्यक्ति अपवाद पनि होलान् । सत्ता र संसद्बाहिरका सांस्कृतिक संगठनहरू आफूलाई पुनर्गठित गर्न लागिरहेका छन् तर उनीहरू धेरै कठिनाइ र संकटका बीचमा छन् । नयाँ आएको युवा पुस्ताले समेत संगठित रूपमा वैचारिक हस्तक्षेप गर्ने साहस गरिरहेको छैन ।

कतिपय विश्लेषकले त औपचारिक फोरममै लेख्न र बोल्न थालेका छन्, ‘अहिले एक्लाएक्लै हिँड्नु नै ठीक छ ।’ मलाई यस्तो भनाइ दुर्भाग्यपूर्ण लाग्छ र प्रश्न पनि जाग्छ— संसारमा इतिहासको कुन त्यस्तो क्षण थियो, जहाँ परिवर्तनका पक्षपाती चिन्तकहरू एक्लाएक्लै हिँड्नु ठीक भएको ? शतप्रतिशत ठीक विचार नबनेसम्म सँगै हिँड्न नमिल्ने हो ? संगठित भएर हिँडेर दस प्रतिशत सही विचारलाई शतप्रतिशत बनाउन नमिल्ने हो ? यस्तो सोच कसरी जन्मिरहेका छन् त ? आधारभूत परिवर्तनका सिद्धान्त र आफ्नो निष्ठाप्रति हिच्किचाहट किन पैदा भइरहेको छ ?

हो, सिद्धान्त र विचारहरूप्रति पूरै विश्वस्त नहुन सकिन्छ । शंकाहरू हुन सक्छन् तर आफ्नो मुक्ति र निष्ठाप्रति ढुक्क हुन नसक्ने किन ? जीवनपर्यन्त श्रमजीवी जनता र आफ्नै निष्ठाका खातिर लडिरहन के कुराले अविश्वास हुन्छ ? न्यूनतम विचार मिल्नेहरूसँग संगठित भएर हिँड्न केले रोक्छ ? ज्ञानको पूर्णताबाट मात्रै आन्दोलन र परिवर्तनको प्रारम्भ हुन्छ भनी सोच्न मिल्ने कुरा पनि होइन । वर्षमा एक दिन मात्रै जुलुसमा आउन भ्याउने श्रमिक ज्ञानले पूर्ण भएर कहिले संगठित हुन सक्छ ? जोसँग जति ज्ञान छ, उसले त्यति नै अरूसँग जोड्न खोज्ने हो । सीमासहित परस्परमा जोडिएर मात्रै आन्दोलन बन्छ । इतिहाससिद्ध छ, एक्लाएक्लै हिँडेर जित्न सकिन्न । त्यसैले नयाँ पुस्तामा देखिएको हिच्किचाहट तोडिनु आवश्यक छ ।
कुराकानी : गुरुङ सुशान्त

प्रकाशित : पुस १९, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?