हिउँ–चिहानको अभिलाषा !

मोहन मैनाली

२०७१ मंसिर ५ घुन्सा, ताप्लेजुङहिजो राति यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस थियो । छाया परेको कुलोमा पानीको माथिल्लो पत्र बिहानसम्म पनि जमेको थियो । यस्तो जाडोमा बिहानैका कलिला घाम ताप्न म हिमाली चुङ्दाको होटलको चउरमा निस्किएँ ।

ढाडमा घाम पारेर अलिकति उत्तरपश्चिमको घमाइलो, फलेडाँडाको भीर हेर्दा जीउ र आँखा दुवैलाई अलि न्यानो भएजस्तो भान पर्‍यो ।

हिजो घुन्सा आइपुग्नेबित्तिकै मैले हिमाली चुङ्दालाई फलेडाँडा कता पर्छ भनी सोधेको थिएँ । उनले यतैतिरको बाक्लो बादललाई देखाएर ‘त्यही हो’ भनेका थिए । हिजो मेरो प्रश्नको घुर्मैलो जवाफ दिनुपरेको कुरा चुङ्दाले सम्झिइरहेका रहेछन् । आज बिहानै उनले ‘फलेडाँडा त्यही हो’ भनी मलाई देखाइदिएका थिए ।

घमाइलो/खुलेको फलेडाँडा देख्दा मेरो मन भने चिसियो/धमिलियो । किनभने यो त्यही फलेडाँडा थियो, जहाँ २०६३ साल असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा डा. हर्क गुरुङलगायत २४ जनाको ज्यान ठाउँको ठाउँ गएको थियो । हिजो फलेगाउँबाट घुन्सा आउँदा मैले बाटोको देब्रेतिर फलेडाँडामा ज्यान गुमाएकाहरूको सम्झनामा बनाइएको चौतारो देखेको थिएँ, जहाँ डा. हर्क गुरुङको नाम १४ नम्बरमा कुँदिएको थियो । उनी त्यहाँ ज्यान गुमाउनेमध्ये सबैभन्दा पाका थिए ।

यतिबेला मैले निकै वर्षपहिलेको एउटा प्रसंग सम्झिएँ । हिमाल बुक्सका वसन्त थापाले डा. हर्क गुरुङका ६० वटा जति लेख/निबन्धको बिटो पढ्न दिएका थिए । ती लेख/निबन्ध पढेर मैले कुन–कुन लेख/निबन्ध राखेर किताब निकाल्न उपयुक्त हुन्छ भनी सुझाव दिनुपर्ने थियो (यीमध्ये ३६ वटा लेख/निबन्धको संग्रह ‘विषय विविध’ उनको मृत्युपछि हिमाल बुक्सबाट प्रकाशित छ) ।

त्यस बिटोमा यात्रा संस्मरण पनि थिए । एउटा संस्मरणमा बेलायत छाड्ने बेलाको प्रसंग छ, जहाँ डा. गुरुङले आफ्नी मायालु क्रिससँग छुट्टिँदाको वर्णन गरेका छन्, ‘बिदाइका बेला क्रिसले मलाई एउटा पोको थमाउँदै भनी— हर्क, यो मैले बुनेको स्विटर हिमाल चढ्दा लगाउनू । किनभने, हिउँमाथि आफ्नो चिहान तुल्याउने आफ्नो अभिलाषा उसलाई मैले धेरै खेप प्रकट गरिसकेको थिएँ ।’

‘हिउँमाथि आफ्नो चिहान बनाउने अभिलाषा !’

‘धेरै खेप प्रकट गरिसकेको !’

कस्तो दुःखद संयोग ! डा. गुरुङ चढेको हेलिकप्टर दुर्घटना भएको फलेडाँडाको, झन्डै पाँच हजार मिटर अग्लो भीरमा दुर्घटना भएको महिना असोजमा त हिउँ पक्कै पनि थिएन तर अहिले भने अलिकति हिउँ थुप्रिएको थियो ।

यतिबेला डा. हर्क गुरुङले दुर्घटना हुनुभन्दा दुई वर्षअघि तयार गरेको ‘नेपाल : एटलस एन्ड स्टाटिस्टिक्स’ सम्झिएँ, जसको पहिलो नक्सामा नेपालका २५ वटा ठाउँको नाम छ । त्यसमा घुन्सा पनि परेको छ । घुन्सा नक्सामा लेखिनुपर्ने गरी ठूलो ठाउँ होइन भनी भूगोलविद्हरू भन्छन् ।

नक्सामा घुन्साको उल्लेख हुनु र घुन्सा उपत्यकाको फलेडाँडाको आंशिक रूपले हिउँले ढाकेको ठाउँ उनको चिहान बन्नु मेरा लागि संयोग मात्र हुन् । तर, धेरै मानिस यसो ठान्दैनन् ।

घुन्सा उपत्यकाको फलेडाँडाबाट उडेर ३७५ किलोमिटर पश्चिम जाँदा लम्जुङ जिल्लाको तराँचे भन्ने गाउँमा पुगिन्छ । त्यही गाउँमा १९९५ साल पुस २१ गते ठूलाको जन्म भएको थियो । उनका बाबु लाहुरे थिए । उनका माइला र साइँला दाजुले काठमाडौको दरबार स्कुलमा केही समय पढेका थिए । पछि उनीहरू पनि लाहुरे भए । घरका बाकसमा राखिएका आफ्ना दाजुहरूका ‘राम्राराम्रा पोसाक र चित्रसहितका किताब’ देख्दा ठूलालाई पाठशाला जान मन लागेको थियो । तर ‘आफ्नो गाउँदेखि सबभन्दा नजिकको स्कुल’ पुग्न उनले १२८ किलोमिटर उकालो–ओरालो हिँड्नुपर्थ्यो । एक हप्ता बाटोमा बिताउनुपर्थ्यो । त्यसैले ९ वर्षको उमेरसम्म गाउँका अरू केटाकेटीजस्तै गरी ठूला पनि गाउँमै खाइखेली हुर्के ।

त्यसपछि जिद्दी गरेर र बाटाका कष्ट खेपेर ठूला आफ्ना बुबासँग काठमाडौँ आए । अनि भारतको जालन्धर गएर स्कुले पढाइ पूरा गरे । त्रिचन्द्र क्याम्पसबाट आईए, पटना कलेजबाट बीए अनि बेलायतको एडेनबरा विश्वविद्यालयबाट भौगोलिक अन्वेषणमा डाक्टरेट डिग्री लिए । उनै ठूलालाई हामी डा. हर्क गुरुङका नामले र त्यस नाममा निस्किएका उनका कृतिले चिन्दछौं ।

हर्क गुरुङले हातले काेरेकाे नक्सा । यस नक्सामा १८औँ शताब्दीकाे नेपाल र गाेरखाली राज्यकाे विस्तारलाई देखाइएकाे छ ।

ठूलाले तीन वर्ष एडेनबरा र लन्डन विश्वविद्यालयमा पढाए । तराँचेदेखि बेलायतसम्मको यात्राबारेमा उनले आफ्नो किताब ‘विषय विविध’ मा लेखेका छन्, ‘कहिलेकाहीं आफ्नो जीवनयात्रा केलाउँदा आफैँलाई हाँसो उठ्थ्यो— नौ वर्षको उमेरसम्म बाह्रपोखरी लेकमा भेडा चराउने गुरुङ ठिटो बेलायतमा गुरु भएकोमा । तर, जस्तै शिक्षा, सफलता, साधनहरू पाएर पनि मनमा एउटा केही गुमाएको अनुभव गर्दथें । पार्टीमा बो–टाई लगाएर ब्रान्डीको गोब्लेट सुम्सुम्याउँदै मिममैयाँहरूसित गफ लगाउँदा पनि कहिले झल्याँस्स लमजुङ सम्झन्थेँ । लन्डन महासहरमा पनि नपाइने त्यो वस्तु थियो आफ्नो आदिकालको पृष्ठभूमि ।

यही आदिकालको पृष्ठभूमिले होला, डा. गुरुङलाई नेपाल फर्कायो, त्रिभुवन विश्वविद्यालयका शिक्षक, विकास योजनाकार, मन्त्री, लेखक, खेलाडी, पर्वतारोही, चित्रकार, फोटोग्राफर, अध्ययनशील घुमक्कड अनि आदिवासी तथा अल्पसंख्यक समुदायको अधिकारका रक्षक बनायो । ‘डा. गुरुङको बौद्धिक जीवनका सबै पक्षमा समान रूपले पाइने एउटा साझा भाव थियो— राष्ट्रप्रेम,’ त्रिभुवन विश्वविद्यालयमा डा. गुरुङका पहिलो सत्रका विद्यार्थी डा. पीताम्बर शर्माले डा. गुरुङलाई यसरी सम्झिएका छन् ।

घुमक्कड डा. गुरुङको परिचय उनको यात्रा संस्मरण किताब ‘मैले देखेको नेपाल’ मा पाइन्छ । यसमा उनले झन्डै १५ वर्षसम्म नेपालका विभिन्न भागमा गरेको मूलतः पैदलयात्राको संस्मरण समेटिएको छ । यो किताब पढ्दा छर्लंग हुन्छ, निहुँ पायो कि डा. गुरुङ घुम्न हिँडिहाल्थे । रेडक्रम सोसाइटीको स्वयंसेवक हुँदा होस् कि विश्वविद्यालयमा भूगोल पढाउँदा होस् अथवा योजनाकार/मन्त्रीका हैसियतमा होस् कि स्वतन्त्र यात्रीका हैसियतमा, डा. गुरुङ सधैँ हिँडिरहन्थे ।

उनको हिँडाइ अरू धेरै यात्रीको हिँडाइभन्दा फरक थियो । हामी केही दिनको यात्रा गर्छौं र घर फर्केर आराम गर्छौं । तर डा. गुरुङ घरबाट निस्केपछि घर बिर्सन्थे कि जस्तो लाग्छ । दाङ, जाजरकोट, जुम्ला, रारा, मुगु घुमेर जुम्ला, फोक्सुम्दो, ताराकोट, हुँदै ढोरपाटनसम्मको यात्रा उनले एकै मेसोमा सकेका थिए । यसो गर्दा उनले लगातार १२ हप्तामा ६१० किलोमिटर पार गर्नुपरेको थियो । झापाको काँकरभिट्टाबाट यात्रा थालेर पूर्वपश्चिम राजमार्गमा यति बाटो हिँडेका भए उनी बुटवलभन्दा २४ किलोमिटर पश्चिम पुगेका हुन्थे ।

यात्रामा आइलाग्ने दुःख र ठूला समस्याले पनि उनलाई यात्रा गर्न छेक्दैनथ्यो । सन् १९७१ मा उनी अन्तर्राष्ट्रिय हिमालयन एक्सपेडिसनमा नेपालका तर्फबाट सदस्य भएका थिए । उनी सगरमाथा चढ्न गए । यो पर्वतारोहण निकै कठिन सावित भयो । मौसमले गर्दा उनीहरूले न माथि चढ्न सक्ने, न तल झर्न सक्ने, न त बसेका ठाउँमा चैनले बस्न सक्ने अवस्था भोग्नुपर्‍यो । डा. गुरुङसँग नाम र काम गराइ मिल्ने कुशल पर्वतारोही हर्ष बहुगुणा हिमाली चिसो भीरमा परेर बिते । उनलाई त्यहीँ जलाएर बिदा गर्नुपर्‍यो । यति अत्यासलाग्दो अवस्था भोगेपछि सामान्य मान्छे आफ्नो घर फर्कन्छ तर डा. गुरुङ घर फर्कनुको सट्टा त्यहाँबाट पैदल पूर्व हान्निए । थप चार साता एक्लै पैदल हिँडेर धरान पुगेपछि मात्र उनलाई काठमाडौं फर्कौं लाग्यो ।

हुन त, अलिअलि जिद्दी गर्ने स्वभाव नभएको भए उनले आफ्नो जीवनमा जे कुरा हासिल गरे, सो हासिल गर्न सक्दैनथे होला ! कठिन परिस्थितिमा पनि काम गर्न सक्दैनथे होला । कार्पेट काण्ड लगाइएर मन्त्री पद छाड्नुपरेका बेलामा छट्पटिएर बस्नुको सट्टा उनले आफूले गरेका यात्राको संस्मरण लेखे, जुन सुरुमा अंग्रेजी भाषामा ‘भिन्येत् अफ नेपाल’ र पछि नेपालीमा ‘मैले देखेको देश’ नामले छापियो । त्यस किताबको भूमिकामा उनले लेखेका छन्, ‘यो पुस्तक मेरो जीवनको एउटा बहुत कठिन चरणमा लेखिएको हो जतिबेला ममाथि एउटा राजनीतिक प्रकृतिको मुद्दा अदालतमा चलाइएको थियो ।’

उचाइ, लम्बाइ, क्षेत्रफल, अक्षांश, देशान्तर, जनसंख्या आदिका अंक खेलाउनुपर्ने हुँदा झट्ट हेर्दा भूगोल विषय अलि नीरस लाग्न सक्छ । तर, डा. गुरुङ रसिलो लेखन भएका लेखक हुन् । आफ्नो यात्रा संस्मरणमा उनले गरेको राराको वर्णन यसको एउटा उदाहरण हो । उनले लेखेका छन्, ‘...बिहानीपख तालको पानी शान्त हुँदा रारादहले वरिपरिको संसारलाई प्रतिविम्बित गर्छ र त्यसबेला यस पाँच वर्गमाइलको तालमा अनन्त आकाश ओर्लेको भान हुन्छ । तर, मीठो सपना भताभुंग भएझैं मध्याह्नतिर सुरु हुने बतासले यस नक्सालाई मेटिदिन्छ । छालमाथि हाँस, जलेवा र कर्‍याङकुरुङ ढलपल–ढलपल ढल्किन थाल्छन् । नक्सा मेटिएर जान सक्छ तर राराको त्यस दृश्यको सम्झना मस्तिष्कमा सधैं आलो रहन्छ ।’

यस्तो लेख्ने बेलामा भूगोलविद् डा. गुरुङ अलि निस्क्रिय बसेर चित्रकार डा. गुरुङलाई काम गर्न दिएको थियो होला । डा. गुरुङले विद्यार्थी हुँदै चित्रकारितामा हात हालेका थिए । बालकृष्ण समको संगत र प्रोत्साहन पाएका थिए । उनले बनाएका चित्र प्रकाशनका आवरणमा सजिएका पनि थिए । उनले बनाएका चराका चित्रमध्ये डाँफे र मुनालका चित्र हुलाक टिकटका रूपमा छापिएका थिए । तर, उनको चित्रकारी जीवन त्यति धेरै सक्रिय हुन पाएन ।

योग्य गुरुका योग्य चेला डा. पीताम्बर शर्मा आफ्ना गुरु डा. गुरुङको यो भनाइ बेलामौकामा सम्झने गर्छन्, ‘नेपाल नचिन्नु नेपालीको अभिशाप हो ।’ डा. गुरुङले नेपाल चिन्नका लागि बेपत्तासँग घुमघाम गरेका थिए । यस्तो घुमघामले उनलाई राष्ट्रिय योजना आयोगको पहिले सदस्य र पछि उपाध्यक्षका हैसियतमा साढे सात वर्ष सिंहदरबार बसायो । डा. गुरुङले भनेका छन्— संयुक्त अधिराज्यबाट फर्केपछि म झोला बोकर तीन महिना पैदल घुमेर कर्णालीको अध्ययन गरेँ । यो खबर राजाको कानसम्म पुग्यो । यदुनाथ खनाल र डा. भेषबहादुर थापाले मलाई दुर्गमका कुनाकाप्चाका बारेमा थाहा पाएको अनौठो मानिस भनी सिफारिस गरे होलान् ।

राष्ट्रिय योजना आयोगमा पुग्दा डा. गुरुङलाई लाग्यो, ‘हाल काठमाडौं तथा पूर्वी तराईको विकासका निम्ति जुन कुरामा जोड दिइएको छ, त्यसलाई देशको दीर्घकालीन विकासका निमित्त राम्रो लक्षण मान्न सकिँदैन ।’ त्यसैले उनले विभिन्न प्रदेशबीचको आर्थिक, सामाजिक तथा राजनीतिक अन्तर घटाउनुपर्छ भन्ने ठाने । विभिन्न प्रदेशबीचमा पूरै समानता ल्याउन सम्भव छैन भन्नेमा उनी सचेत थिए । यसका लागि उनले नेपाललाई चार विकास क्षेत्र (जसलाई पछि पाँच बनाइयो) मा बाँडेर उत्तर–दक्षिण विकास गर्ने योजना अघि सारे । ‘विकास रेखा’ यस अवधारणाको मुख्य पक्ष थियो । ‘विकास रेखाको मुख्य ध्येय विकासोन्मुख तराई र उपेक्षित पहाडी क्षेत्रको अर्थव्यवस्थालाई जोड्नु हो,’ उनले भनेका छन् । यसका लागि उनले मोरङको विराटनगरदेखि संखुवासभाको हेदाङ्ना (रुदाङ) सम्मको कोसी विकास रेखा, वीरगन्जदेखि धुन्चे/बाह्रबिसेसम्मको काठमाडौं विकास रेखा, भैरहवादेखि जोमसोमसम्मको गण्डकी विकास रेखा र नेपालगन्जदेखि जुम्लासम्मको कर्णाली विकास रेखा कोरे ।

विकास रेखाले छुने मधेसका विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जले मधेसको, पहाडी भेगका ठाउँले पहाडी विकासको र हिमाली भेगका ठाउँले हिमाली भेगको विकासका लागि नमुना प्रस्तुत गर्छन् भन्ने उनले ठानेका थिए । तर, यो साकार हुन सकेन । उदाहरणका लागि, कोसी विकास रेखाका लागि चाहिने विराटनगर–हेदाङ्ना सडक सम्पन्न हुन उनले यो विचार निकालेको झन्डै ५० वर्ष पर्खनुपर्‍यो ।

योजनाकारको पदले उनलाई तीन वर्ष मन्त्री पदमा बसायो । उनले उद्योग तथा वाणिज्य, शिक्षा तथा संस्कृति, निर्माण तथा यातायात अनि पर्यटन मन्त्रालय सम्हाले । ‘मन्त्रीका रूपमा मेरो तीनवर्षे कार्यकालको तीतो अनुभव छ,’ डा. गुरुङले भनेका भए पनि नेपालको पर्वतारोहण र पर्यटन प्रवर्द्धन गर्न सकिने ठाउँका बारेमा जानकार उनले पर्यटन मन्त्रालयमा गरेका काम भने अहिलेका लागि पनि मार्गदर्शन हुन सक्छन् । किनभने उनी टाढासम्म देख्न सक्थे ।

जति बेलामा पर्वतारोहण र पर्यटनलाई हामीले राम्रोसँग बुझेका थिएनौं (अझैसम्म पनि बुझेका छैनौं) त्यतिबेला उनले भनेका थिए, ‘हामी बाँच्ने बेसाहाको घेराभित्र पिल्सिएका छौं, तर विकसित देशका मानिसहरू आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्छन् । भौतिक साधनहरूले जति परिपूर्ण भए पनि तिनीहरू असन्तुष्ट रहन्छन् । आफैंले रचेको आधुनिकताको साङ्लोबाट उम्कन तिनीहरू पर्यटक भई विश्व चहार्छन्, अगुवा (अन्वेषक) भई बिराना ठाउँ पुग्छन्, अनि पर्वतारोही भई मसिनले पट्टिएको शरीरलाई प्रकृतिसित दाँज्न खोज्छन्... पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’

‘नक्सांकन गर्ने कला अर्थात् कार्टोग्राफी डा. गुरुङको विशिष्टताको अर्को क्षेत्र हो,’ डा. शर्माले भनेका छन् । सन् १९८३ मा उनको ‘म्याप्स अफ नेपाल : इन्भेन्ट्री एन्ड इभ्यालुएसन’ छापियो । पछि सन् २००६ मा हिमाल बुक्सले उनको ‘नेपाल : एटलस एन्ड स्टाटिस्टिक्स’ छाप्यो । ‘पञ्चायत रजत स्मारिका’ मा डा. गुरुङको ‘नेपाल अधिराज्यको बनोट’ शीर्षकको लेखसँगै उनले हातले कोरेको नक्सा छापिएको छ, जसमा १८ औं शताब्दीको नेपाल र गोरखाली राज्य विस्तारलाई देखाइएको छ ।

डा. गुरुङको नेतृत्वमा भएको अर्को महत्त्वपूर्ण काम ‘नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँ सराइ प्रतिवेदन’ हो । वाणिज्यशास्त्री, भूगोलशास्त्री, अर्थशास्त्री र समाजशास्त्री मिलेर तयार गरेको यो प्रतिवेदन २०४० सालमा राष्ट्रिय जनसंख्या आयोगलाई बुझाएपछि यसले नेपालको राजनीतिमा ठूलो तहल्का मच्चायो । डा. हर्क गुरुङसमेतलाई भारत र मधेसीविरोधी भनी प्रस्तुत गरी उनलाई मृत्युदण्ड दिन माग गरियो । यस सन्दर्भमा डा. गुरुङले प्रतिवेदनमा नेपालको (तत्कालीन) संविधानको भाग २ धारा ८ को खण्ड घ मा रहेको मधेसीप्रति भेदभावमूलक प्रावधान संशोधन गर्न ‘नेपाली उत्पत्तिको व्यक्ति भन्ने व्यवस्था राष्ट्रियताका दृष्टिले भेदभावपूर्ण र कार्यान्वय पक्षमा द्विविधाजनक हुनाले सो शब्दावली नै संविधानबाट
झिकिने गरी संशोधन गर्न’ सुझाव दिएको प्रस्टीकरण दिए ।

सो प्रतिवेदनले अंगीकृत नागरिकलाई केही सीमित महत्त्वपूर्ण पदमा बन्देज लगाउन सुझाव दिएको थियो, जुन हालको नेपालको संविधानमा राखिएको छ ।

नेपाल र भारतबीचको खुला सिमानाले दुवै देशमा समस्या ल्याएको कुरा बेलाबेलामा सुन्न पाइन्छ । डा. गुरुङको नेतृत्वमा तयार भएको सो प्रतिवेदनले नेपाल भारत सिमानालाई नियमित गर्न त्यतिबेलै सुझाव दिएको थियो । यस विषयमा डा. गुरुङको मत थियो, ‘दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना मानचित्रको बुट्टा मात्र होइन । राष्ट्रिय सिमाना भनेको सम्बन्धित राष्ट्रहरूको राजनीतिक, आर्थिक र वित्तीय दोसाँध हो ।...दुई घडेरीबीचको बलियो पर्खालले राम्रो छिमेकी बनाएसरह दुई देशबीचको सिमाना वास्तविक भएमा त्यसबाट एकको समस्या अर्काको क्षेत्रमा नपोखिने, अवाञ्छनीय तत्त्वले दोहोरो फाइदा उठाउन नपाउने, राष्ट्रिय नीतिहरूको कार्यान्वयनमा सघाउ पुग्ने हुन्छ र छिमेकी राष्ट्रहरूबीच बढी प्रस्टता आउँछ । ...यस्तो व्यवस्थाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने क्रममा गतिरोध आउँदैन, परिमाण र प्रकृतिमा परिवर्तन आउन सक्छ । ...हालको जस्तो गरिबको साटासाट अवश्य नै दुई स्वतन्त्र राष्ट्रबीचको दिगो लक्ष्य हुन सक्तैन भने सानो र गरिब देशको आर्थिक क्षेत्रमा ठूलो र सम्पन्न देशका मानिसको बढ्दो आधिपत्य पनि सुमधुर सम्बन्धको परिचय अवश्य होइन । ...आप्रवासन सँगाली राखेको समस्या पनि हो, जुन प्रत्येक बितेका पुस्ताले आउँदो पुस्तालाई भारी बिसाउँदा बिसाउँदा अझ बढी गह्रौं बन्दै गइरहेको छ ।’

२०३६ सालको राजनीतिक उथलपुथलपछि नेपालमा आदिवासी, जनजाति र अल्पसंख्यकको अधिकारका विषयमा कुरा उठ्न थाल्यो । २०४६ सालको परिवर्तनपछि यो अझ टड्कारो भएर आयो । त्यसपछि डा. गुरुङले आदिवासी, जनजाति र अल्पसंख्यकको अधिकार आन्दोलनलाई बौद्धिक धरातल र उचाइ दिए ।

नेपालजस्तो धेरैवटा भाषा भएका देशमा विभिन्न भाषाबीच गरिएको भेदभावका बारेमा बोल्दा/लेख्दा उनी जेम्स तोरे बोदेको यो भनाइ उल्लेख गर्ने गर्थे, ‘एउटै देशमा कुनै विशेष वर्ग शिक्षा र विकासका सबै तकनिकी सुविधाउपर जबसम्म हावी रहन्छ, अन्य धेरैको लिपिसम्म पनि हुँदैन, सामाजिक क्रान्ति एउटा हास्यास्पद कल्पना मात्र हुनेछ ।’

भाषाका हकमा २०४७ सालको संविधानले भेदभाव गरेको विषयमा उनी टिप्पणी गर्थे, ‘नेपालको संविधान १९९० ले भने मातृभाषाको परिभाषा सम्बन्धमा नौलो व्याकरण प्रस्तुत गर्दै ठालु खसकुरालाई ‘राष्ट्रभाषा’ को संज्ञा दिएको छ— जोत्नका लागि गोरु र राँगालार्ई नारेजस्तै । यस प्रकारको भाषा एकाधिकार नीतिले गर्दा नेपालमा कति भाषा–भाषिका छन् भन्ने नै ठेगान लाग्न सकेको छैन ।’ यस्तो भाषिक भेदभावको ऐतिहासिक पक्ष देखाउन डा. गुरुङ संवत् १९७४ को भाषा नीतिको उदाहरण दिने गर्थे, जसमा गोर्खा (हाल नेपाली भनिने) भाषाले अरू जंगली भाषालाई गलहत्ती नलगाई यस भाषाको विकास हुन्न भनिएको छ । २०१४ सालको राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनलाई पनि उनी उल्लेख गर्ने गर्थे, जसमा नेपालीबाहेकका भाषालाई स्कुलमा प्रतिबन्ध लगाउनुपर्छ भनिएको छ ।

यस विषयमा भने डा. गुरुङको जीवनको एउटा खण्ड आफ्नै जीवनको अर्को खण्डसँग मेल खाँदैन । आफू सत्तामा भएका बेलामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नेपाली भाषा अधिगोष्ठी २०३३ लाई विशेष सम्बोधन गर्दा डा. गुरुङले नेपाली भाषाका पक्षमा फरकमत व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘...हामीले भोगेका अनुभव र आज राष्ट्रिय शिक्षापद्धतिको योजना लागू भैसकेपछि अधिराज्यको ७५ जिल्लामा जुन नेपाली भाषा व्यापक रूपमा प्रयोग भइरहेको छ त्यो बडो ठूलो उपलब्धि हो ।

त्यसैले नेपाली भाषा एउटा विशेष जातिको भाषा नभैकन राष्ट्रिय भाषा, त्यो पनि कस्तो भनेदेखि एउटा राष्ट्रिय एकीकरणको माध्यमको रूपमा आएको छ । ...हाम्रो अभिप्राय के हुनुपर्‍यो भने अधिकांश जनताको मातृभाषा नेपाली नै हुनुपर्छ, भविष्यको नेपालका लागि । ...अरू जातीय वा स्थानीय भाषा, प्रान्तीय भाषाको ठाउँ उनीहरूको समाजमा छ र त्यस समाजमा नेपाली भाषा भिज्नुपयो, तिनलाई नेपालीभाषीमा परिणत गर्नुपयो । ...त्यसैले के प्रस्ट हुनुपर्‍यो भने, जातीय भाषाहरूको आफ्नो ठाउँमा महत्त्व छ, तर ती अनुभवहरूलाई समेटेर हामीले राष्ट्रिय धारमा ल्याउनुपर्छ । मुख्य रूपले नेपाली भाषालाई नै विस्तार गर्दै लैजानुपर्छ । ...राष्ट्रिय एकीकरणको माध्यमको रूपमा आउने र नौलानौला अनुभव, विज्ञानका माध्यम र साधनहरूलाई उपयोग गरेर विकास र उद्योग गर्ने एउटै भाषा हुन सक्छ— त्यो हो नेपाली भाषा ।’

उनको विचारमा आएको यो परिवर्तनलाई समयक्रममा आफैंलाई सच्याउने डा. गुरुङको क्षमताका रूपमा लिन सकिन्छ । यो सानो विरोधाभासले डा. गुरुङको व्यक्तित्व र योगदानलाई ओझेल पार्दैन । नेपालको विकास योजना, भूगोल, साहित्य, पर्वतारोहण तथा आदिवासी जनजाति आन्दोलन र नेपालीलाई नेपाल बुझाउने अभियानमा उनको योगदान सधैँ स्मरणीय रहन्छ ।

डा. गुरुङको निधन भएको केही समयपछि हिमाल बुक्सका वसन्त थापाले मलाई डा. गुरुङसँग सम्बन्धित अर्को काम पनि लगाएका थिए । त्यो हो— ‘मैले देखेको नेपाल’ प्रेसमा जानुअघि एकपटक पढ्ने र कुनै गल्ती भेटिएमा सच्याउन सुझाव दिने । अहिले, फलेडाँडातिर मुख फर्काएर घाम तापेका बेलामा मैले त्यतिबेला पढेको डा. गुरुङको यो वाक्य सम्झिएँ, ‘लमजुङको एउटा सानो गाउँमा सुरु भएको यात्रा म पुगेको अन्तिम पाटी, पुल, भञ्ज्याङ र उच्चस्थलभन्दा पर्तिर पनि जारी रहनुपर्छ ।’

डा. गुरुङको इच्छा र दृढताबमोजिम फलेडाँडाको यो भीरभन्दा पर्तिर पनि उनको यात्रा जारी रहन्छ, रहँदैन म भन्न सक्दिनँ । के कुराचाहिँ ठोकेर भन्न सक्छु भने यात्रा जारी रहेका खण्डमा पनि उनको यहाँसम्मको यात्राबाट हामीले जे–जस्ता लाभ पाएका थियौँ, त्यस्ता लाभ भने यहाँभन्दा पर्तिरको यात्राबाट पाउन सक्दैनौँ  । प्रकाशित : पुस १९, २०७६ ११:०७

प्रतिक्रिया
पठाउनुहोस्

खजाना खोलेजस्तो

मोहन मैनाली

जीवन र जगत्का बारेमा बुझाउन डा. तीर्थबहादुर श्रेष्ठ नेपाली लोकगीतको एउटा टुक्रा सापट लिन्छन्  । गीतले भन्छ– ‘चैत जाँदो वैशाख लाग्दो, सुन हजुर सालको पात पलायो  ।

त्यसपछि उनी भन्थे, चैत जाँदा/वैशाख लाग्दा सालको जुन रूखमा नयाँ पात पलाउँदैन, त्यो रूख मर्‍यो भन्ने ठान्नू ।


प्रकृतिको यो र यस्तै नियमका बारेमा बताउँदा धेरै वैज्ञानिकहरू जटिल पाराले भन्छन् । तर डा. श्रेष्ठ जनजिब्रोमा चल्तीका भनाइ/गीत/कवितामार्फत बताउछन् । प्रस्ट पनि हुने, सरल पनि हुने गरेर । २०७५ को चैत जाँदो र २०७६ सालको वैशाख लाग्दो उहीँ श्रेष्ठको नयाँ किताब ‘नेपाल अध्ययन (भाग १)ः भू–स्वरूप र हावापानी’ पढ्ने मौका मिल्यो । पढ्दै जाँदा लाग्यो यो किताब सरल र रोचक शैलीमा लेखिएको ज्ञान र अनुभवको भण्डार हो । ज्ञानको भण्डार नहोस् पनि कसरी ! निकै दुःखले भेला गरेका जानकारी र अनुभव यसमा छन् । २०२० साल अर्थात् म नजन्मँदैको कुरा रहेछ । डा. श्रेष्ठ वनस्पति अध्ययनका लागि पोखरासम्म प्लेनमा गएछन् । पोखराबाट हिँडेर टुकुचे अनि मुक्तिनाथ हुँदै पैदलै पोखरा फर्किएछन् । त्यसको तीन वर्षपछि फेरि पोखराबाट हिँड्न थालेछन् । यसपाली पोखराबाट पश्चिमउत्तर हानिएर ढोरपाटन पुगेछन् । त्यहाँबाट दुनै, जुम्ला खलंगा, रारा ताल । राराबाट फर्कंदा अहिले हामीले गर्नेजस्तो ताल्चाबाट प्लेन/गाडी चढेनछन् । भित्री हिमाल अर्थात् हिमालको दक्षिण हाँगो पार गरेर उत्तरी डोल्पा पुगेछन् । अनि कागबेनी, मुक्तिनाथ, घोडेपानी हुँदै पोखरा आइपुगेछन् । यो यात्रा ७५ दिनको रहेछ !


पत्रकारिताका सिलसिलामा जानकारी संकलन गर्दाका अनुभव बताउनुपर्ने ठाउँमा म थोरै गर्ब र धेरै दम्भका साथ भन्ने गर्थें– ‘गाडीको बाटोलाई छाडेर बेनीघाटबाट बूढीगण्डकी नदीको पानीढलो घुमेर मर्स्याङ्दीको पानीढलोमा पसेर गोरखा बजार आइपुग्दा मात्र गाडी हामीले गाडी देख्न पाएका थियौँ । यति बाटो छिचोल्न हामीलाई २६–२७ दिन लागेको थियो ।’ अब यसो भन्न मैले कि त छाड्नुपर्‍यो, कि त श्रेष्ठको यो किताब नपढेका/नपढ्ने मानसिको हूल फेला पार्नुपर्‍यो ! दुई वर्षपहिले डा. श्रेष्ठले मलाई मैले पैदल घुमेका ठाउँको नक्सा मागेका थिए । मैले फुर्तीसाथ नेपाल र त्यसको केही पश्चिममा पर्ने भारतका विभिन्न ठाउँमा म हिँडेको बाटो नक्सामा उतारेर दिएको थिएँ । अहिले आफैँलाई लाज लागेर आयो । म जन्मनुअघिदेखि अहिलेसम्म पनि निरन्तरजस्तो हिँडेर ज्ञान र अनुभव बटुलिरहने मान्छेका अगाडि जीवनको छोटो समयमा केही दिन पैदल हिँडेर जानकारी बटुल्ने मान्छेले फुर्ती लगाएकोमा । पैदल हिँडेर भेला गरिएका सामग्रीको महत्त्व र गुरुत्व अलग हुन्छ । ‘प्रकृति अध्ययनका क्रममा हाम्रा सबै इन्द्रिय परिचालन हुनुपर्छ,’ उनले भनेका थिए ।


पैदल हिँड्दा कुनै ठाउँको बिहान, दिन र रातको अवस्था थाहा पाइन्छ । आँखाले देख्छ, कानले सुन्छ, नाकले सुँघ्छ, छालाले त्यहाँको तापक्रम जाँच्छ, खुट्टा र फोक्सोले आफू हिँडिरहेको ठाउँको भिरालोपन र उचाइ नाप्छन् । गाडीमा त्यो पनि एयरकन्डिसनर गाडीमा हिँड्दा यस्तो केही हुन पाउँदैन । त्यसैले श्रेष्ठ भन्छन्– ‘जुन ठाउँमा म रात बसेको हुन्नँ त्यो ठाउँ पुगेँ भन्दिनँ ।’ श्रेष्ठका साथमा जानकारी संकलन गर्नका लागि केही साधन पनि साथमा थिए– उचाइ नाप्न अल्टिमिटर, दिशा पत्ता लगाउन कम्पास, बाटो पत्ता लगाउन नक्सा, फोटो खिच्न क्यामरा । आफूले भेटेका मानिसलाई उनले ‘परम्परागत ज्ञानका भण्डार’ भनेका छन् । यी सबै कुराको संयोजन गर्ने भित्री आँखा अर्थात् वनस्पति, भूबनोट र समाज अध्ययन गर्ने ज्ञान पनि थिए लेखकसँग । उनको अनुभवले भन्छ, ‘...खोजपूर्ण यात्रामा निस्कियौँ भने हिमालयको काखमा कतै लुप्त अवस्थामा, कतै गुप्त अवस्थामा त कतै सुप्त अवस्थामा सानाठूला भूस्वर्ग भेट्छौँ ।’


काठमाडौँको आकाशबाट सोझो पश्चिम हानिँदा ९० किलोमिटर मात्र टाढा गोरखा जिल्लामा पर्छ एउटा यस्तो भूस्वर्ग । त्यस अलौकिक ठाउँको नाम हो चुम उपत्यका । त्यस ठाउँबारे उनले लेखेका छन्, ‘नेपालमा सबैभन्दा कम सुनिएको, कतिपय नेपालीले थाहै नपाएको, मानवबस्ती र प्राचीन संस्कृतिले सुसज्जित त्यो विशाल उपत्यका सबैतिरबाट लुकीबसेको छ ।’ त्यो ठाउँ पुग्न उनलाई ९ दिन लागेछ । यसबाट नेपालका भूस्वर्गका एउटा विशेषता प्रस्ट हुन्छ— नजिक भईकन पनि टाढा हुने विशेषता । आफ्नै देशमा भएका यस्ता भूस्वर्गमा जिउँदै पुगेर फेरि मर्त्यलोकमा फर्कन पाउने अवसर हामीसँग छ । श्रेष्ठले किताबमा वर्णन गरेको त्यो स्वर्गमा म पनि पुगेको थिएँ २०५१ सालमा । निकै दिन हिँडेर । तर त्यस स्वर्गमा पुग्दा, त्यहाँ बस्दा मैले त्यहाँका कैयन विशेषता थाहा पाइनँ । खासमा, मैले त्यस ठाउँलाई चिनेको रहेनछु किनभने त्यति बेला म आफ्ना दुईवटा बन्द आँखा लिएर गएको थिएँ । यो किताबमा त्यस ठाउँका बारेमा पढेपछि ती आँखा खुलेका छन् । अर्थात्, यस किताबले मलाई दुईवटा भित्री आँखा दियो जसका सहायताले अब म त्यस भूस्वर्गलाई चिन्न सक्छु । अब फेरि जान पाएचाहिँ त्यो उपत्यकालाई राम्ररी देख्ने रहेछु मैले ।


यस पुस्तकमा अरू पनि धैरे कुरा छन् । भूकडी र भूसेतु, जलवायु परिवर्तन र पहाड, पानी, महत्त्व बोकेका केही स्थान, भूकम्प र हामी गरी पाँचवटा खण्डमा छरिएका २१ वटा निबन्धमा तिनै ठाउँलाई भूस्वर्ग बनाउने जीवित र निर्जीव तत्त्वका कुरा छन् । यस पुस्तकमा संग्रह भएका सामग्री यसअघि शिक्षक मासिकमा छापिएका थिए । त्यसो भनेर यिनका सन्दर्भ कत्ति पनि पुराना भएका छैनन् । ‘अँध्यारोमा बसेका मानिसलाई बिजुलीको उज्यालो भएका ठाउँमा पु‍र्‍याउनु एउटा कुरा हो भने अँध्यारोमा बसेका मानिसबीच बिजुली पु‍र्‍याउनु अर्कै कुरा हो,’ श्रेष्ठले एक ठाउँमा लेखेका छन् । यो विकासको मोडेलको कुरा पनि हो । कुनखालको विकास कसरी गर्ने भन्ने कुरा पनि हो । अहिले अँध्यारोमा बसेका मानिसलाई बिजुली पुगेका ठाउँतिर तान्ने/धकेल्ने खालको विकास भइरहेको छ । त्यसले गर्दा बिजुली पुगेका र नपुगेका दुवै ठाउँको बिजोग भएको छ । लेखकले भनेझैँ गर्नसके नेपालका गाउँ बाँझो बसेका अनि खानेकुरा विदेशबाट बेसाउनुपरेको खबर सुन्नुपर्दैनथ्यो होला ।


पश्चिम नेपालको कैलालीमा पर्ने प्रसिद्ध ताल घुमेपछि श्रेष्ठले लेखेका छन्, ‘घोडाघोडी सिमसारमा भेटिने हल्का प्याजी जीउ र कटुस रङको लामो गर्धन भएको पर्पल हिरनलाई ध्यानी बकुल्ला भन्न सुहाउँछ । यसको ध्यान मुद्रा र त्यसबेलाको अंगविन्यास निकै आकर्षक हुन्छ ।’ वरपरका कुनै पनि कुराबाट विचलित नभईकन एकाग्र भएर त्यो ध्यानी बकुल्लाले ध्यानचाहिँ केमा दिइरहेको हुँदो हो ? ‘माछा, छेपारो वा भ्यागुत्ता नजिक पर्नासाथ यिनको (अर्थात् ध्यानी बकुल्लाको) सिकारी झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुन्छ । आफ्नो ताक र त्यसको ताल यसले बिराउँदैन । प्रायः अचुक हुन्छ,’ उनले लेखेका छन् ।


निहुँ बकुल्लाको, कुरा त हामी मान्छेको पो हो यो । घोडाघोडी सिमसारको होइन नेपाल नामक दलदलको पो हो । आलोपालो गरी हाम्रा कार्यकारी निकायमा जाने गाढा राता, खुइलिँदै गएका राता अनि खरानी रङका, आकर्षक ध्यानमुद्रा र अंगविन्यास भएका, गर्धन छोटै भए पनि हात लामा भएका ध्यानी प्रजातिका राजनीतिक नेता पनि त यस्तै ध्यान गर्दैछन् हैन र ? आफ्ना मालिकअनुकूलका, तिनलाई अनुकूल हुने गरी भाँचकुच पारिएका जानकारी र तिनका आधारमा गरिएका अपव्याख्या हामीलाई पस्कने, थरीथरीका रङका ध्यानी प्रजातिका बुद्धिजीवी पनि त्यसै गरिरहेका छैनन् र ! ध्यानी प्रजातिका भ्रष्टाचार निवारक पनि त्यसै गरिरहेको देखेका छौँ हामीले । बैंकबाट निकाल्न नमिल्ने पैसा ‘निकाल्न दे’ भनी आदेश दिने न्यायाधीशको प्रजाति पनि त ध्यानी नै होला ! सिकार नजिक पर्नासाथ यी सबै ध्यानीको झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुँदैन र ? यिनको पनि त निसाना प्रायः अचुक हुन्छ ।


विपद् आइलाग्नुभन्दा पहिले सूचना दिन सके धेरै मानिसको ज्यान जाँदैन । केही वर्षअघि आएको एउटा विपद्बारेमा उनले लेखेका छन्, ‘हुडहुड आउँदै छ भन्ने मौसम पूर्वानुमानका समाचार मनाङमा चौंरी चराउने गोठालाहरूले १२ घण्टा जति अगाडि मात्र पाएका भए आठ ज्यान हिउँमा पुरिनुपर्ने थिएन । ...आठ नेपालीसहित १२ पर्यटकको मृत्युको खबर सुन्नुपर्ने थिएन । ...अब त चेतौँ ।’ ‘ज्यान जाला चेत्दिनँ’ भनेर बसेपछि कहाँ चेतिन्छ र ? उनले यो कुरा लेखेको झन्डै साढे चार वर्षपछि हिजोअस्ति बारा पर्सामा भुइँभुमरी आउनुअघि हामीले त्यसको खबर दिन सकेनौँ । जलवायु परिवर्तनले गर्दा यसअघि भोग्नु नपरेका भुमरीजस्ता विपद् आउँछन् भनेर डा. श्रेष्ठले नै निकै पहिले हामीलाई सचेत गराएकै थिए ।


‘स्कुल लिभिङ सर्टिफिकेट कन्ट्री लिभिङ सर्टिफिकेट नबनोस्,’ यस किताबको अन्तिम वाक्य पढेका बेला नेपालका अखबारमा कोरिया जाने परीक्षाको फारम भर्न लम्बेतान लाम लागेको खबर छाएको थियो । नेपाल पसेपछि आकाशको जाममा चक्कर लगाउन बाध्य हवाइजहाज ‘कन्ट्री लिभिङ सर्टिफिकेट’ बोकेका मानिस त बोकेर नेपाल बाहिरिन्छन् । कुनै किताब किताबमात्रै हुन्छन् । कुनै किताब किताब त भइहाल्छन्, ती थप ज्ञान आर्जन गर्नका लागि कच्चा पदार्थ पनि हुन्छन् । यो यस्तै किताब हो जसमा भएका ज्ञानको उपयोग गरेर नेपाली समाजले थप ज्ञान आर्जन गर्छ । कसैले लेखेको पढेको थिएँ । पत्रकार र साहित्यकारमा एउटा समानता हुन्छ । त्यो हो– उनीहरू कुनै पनि कुरालाई फरक किसिमले हेर्छन् र फरक पाराले प्रस्तुत गर्छन् ।

'नेपाल अध्ययन (भाग १) : भू–स्वरूप र हावापानी'
लेखक : डा. तीर्थबहादुर श्रेष्ठ
प्रकाशक : शिक्षक मासिक
मूल्य : रु, ३०० ।–


यो किताब पढेका भए ती मानिसले भन्ने थिए— वनस्पतिविद् र साहित्यकार एउटा कुरामा समान हुन्छन् । उनीहरू जुनसुकै कुरालाई पनि रोचक पाराले प्रस्तुत गर्छन् । किताबबाट एउटा उदाहरण हेरौँ । समुद्रको सबैभन्दा गहिरो पिँध कति गहिरो होला ? लेखकले किलोमिटरमा बताइदिएका छन् । तर, यसले उनको चित्त बुझेनछ । लेखे, ‘सगरमाथालाई त्यहाँ लगेर डुबाइदिने हो भने त्यसको शिखर पानीभन्दा दुई किलोमिटर तलै डुबैको हुन्छ ।’ किलोमिटरले बोधो खालको जानकारी मात्र दिन्थ्यो । नेपाली पाठक अति धेरै परिचित रहेको सगरमाथासँग तुलना गरेर लेखकले यसलाई छर्लंग पारिदिए ।


२०७२ सालको भुइँचालोपछिका आतंकपूर्ण रातको सम्झना उनले शान्त भएर गरेका छन्, ‘संसारभरका कुकुरको कान सापटी लिएर चनाखो भएझैँ सिंगो रात अनिदै बित्न थाल्छन् ।’ भुइँचालो गएको एक हप्तापछि धरहरामुनि (ए होइन, धरहरा भएको ठाउँमुनि) पुगेका लेखकलाई लाग्यो, ‘धरहरामुनि बसेर चिच्याउँदै चक्काजाम र नेपाल बन्द गराउने लाखौँ कार्यकर्ताका हातहरू आज कहाँ पुरिए ? एउटा इँटा उठाउने मानिस छैन । ...धरहराको आकाशमा एउटा ठूलो भ्वाङ परेको रहेछ । आकाश रित्तो लाग्यो । सधैँ धरहराको सुरिलो उचाइसँग आकाश पुग्ने मेरा आँखासामु खुला आकाश थियो । भ्वाङ परेको आकाश किनभने त्यहाँ धरहरा थिएन ।’


सधैँभरि हाँसिरहने फूललगायतका वनस्पतिको अध्ययनले हो कि, जन्मजात क्षमताले हो कि, रुचिले पो होला कि, कि घुमेका ठाउँ अनि भेटेका मान्छे, संगत गरेका साहित्यकार अनि अध्ययन गरेका साहित्यले हो कुन्नि डा. श्रेष्ठको कलम रोचक बाटो भएर हिँड्छ । यत्रो दुःख गरेर भेला गरेका, आफ्नो लामो र सदा सक्रिय जीवनका अनुभवसँग घोलेर सुन्दर प्रस्तुतिमा उनिएका यस किताबका सामग्री पढ्न अल्छी ग‍र्‍यौँ भने त हामी लास्टै अल्छीमा गनिएलाउँ कि !


यो पुस्तक ‘पढ्न त पढ्ने हो तर अलि पछि’ भन्न पनि नमिल्ने भएको छ किनभने यस पुस्तकको प्रकाशक शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले यसै किताबमा लेखेका छन्, ‘नेपाल अध्ययनको यस शृंखलाका दोस्रो र तेस्रो भाग पनि आउँदै छन् ।’ यसो भन्नुको अर्थ यसो होला ः यो पुस्तक मीठो छ भनेर पढ्ने बेलामा धेरै फारु नगर्नुहोला किनभने श्रेष्ठले नै लेख्नुभएका, यस्तै मीठा अरू दुईवटा किताब चाँडै तपाईंको हात पर्छन् ।


यस शृंखलाका बाँकी भागमा र यही भागको अर्को संस्करणमा चाहिँ मलाई एउटा ठूलो पेजमा छापिएको नेपालको नक्सा पनि पढ्न मन लागेको छ जहाँ डा. श्रेष्ठले हिँडेको पैदल बाटो, त्यो बाटो हिँडेको साल, त्यो बाटो हिँड्न लागेको समय आदि कोरिएका होऊन् । त्यो नक्सा हेरेर उनले हिँडेको बाटो हिँड्न नसके पनि उनको किताब पढ्दै गर्दा आफू पनि त्यही बाटो हिँडेको सुखद कल्पना त गर्न सक्छु नि !

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×