१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

द्रौपदी–कर्णको दुःखान्त प्रेम

लेखक चित्रा बनर्जी महाभारतको मूलकथाकै सूक्ष्म संकेतलाई पक्रेर लेख्छिन्, ‘पाण्डवसँग विवाहअघि नै द्रौपदी धनुर्वीर कर्णप्रति आकर्षित भएकी थिइन् ।’
अभय श्रेष्ठ

दुःखान्त प्रेमझट्ट हेर्दा, महाभारतको मूलकथामा द्रौपदी र कर्णको सम्बन्ध मूलतः घृणाले निर्देशित भएझैँ लाग्छ  । तर, भारतको प्रख्यात मूर्तिदेवी पुरस्कार विजेता प्रथम महिला लेखक प्रतिभा राय, अमेरिका निवासी भारतीय लेखक चित्रा बनर्जी दिबकरुणीलगायत नयाँ धारणाका लेखकले मूलकथाकै सूक्ष्म संकेतलाई पक्रेर पाण्डवसँग विवाहअघि नै द्रौपदी धनुर्वीर कर्णप्रति आकर्षित भएकी र कर्णको हृदयमा पनि द्रौपदीकै वास रहेको उल्लेख गरेका छन्  ।

द्रौपदी–कर्णको दुःखान्त प्रेम


विवाहअघि नै सूर्यबाट गर्भवती भएर कुन्तीले कर्णलाई जन्म दिएकी थिइन् । लोकलाजका कारण उनले शिशुलाई बाकसमा हालेर गंगामा बहाइदिइन् । बग्दै बग्दै धेरै पर पुगेपछि गंगा किनारमा बस्ने सारथि अधिरथले उनलाई उद्धार गरे । पत्नी राधाले शिशुलाई पुत्रका रूपमा प्रेमपूर्वक पालन पोषण गरिन् । ठूलो हुँदै जाँदा कर्ण सारथि हुनुभन्दा धनुर्विद्यामा रुचि देखाउन थाले । परशुरामलाई गुरु थापेर उनले धनुर्विद्यामा असाधारण क्षमता देखाए । धनुर्विद्यामा दक्षता प्रमाणित गर्न उनी विभिन्न देशमा आयोजना हुने समारोहमा पुग्थे । ठूला योद्धा एवं राजकुमारलाई हराएर थुप्रै धनराशिका पुरस्कार जित्थे ।

उनको कुशलता र वीरताको प्रसिद्धि देश–देशावरमा फैलियो । अनि कर्णलाई नदेख्दै द्रौपदीको मनमा उनीप्रति मृदु भाव जागिसकेको थियो । पाञ्चालमा एकपल्ट कर्णको वीरता र सुन्दरता प्रत्यक्ष देखेर द्रौपदीले मनमनै उनलाई आफ्नो हृदयमा वास दिइन् । द्रौपदीका आँखामा आफूप्रति असीम प्रेमको किरण देखेर कर्ण पनि उसैगरी मोहित भए । दुवै जना एक अर्कालाई पाउने सपना देख्न थालेका थिए । तर, उनीहरूको प्रेम अव्यक्त थियो । प्रतिभा रायले आफ्नो उपन्यास ‘याज्ञसेनी’ मा चाहिँ द्रौपदीले आफ्नो स्वयंवरमा पहिलोपल्ट कर्णलाई देखेर मोहित भएको उल्लेख गरेकी छन् ।

हस्तिनापुरका राजकुमारहरूका गुरु द्रोणाचार्य र पाञ्चाल नरेश द्रुपदबीच ठूलो दुस्मनी थियो । द्रुपद छोरी द्रौपदीको विवाह वीर अर्जुनसँग गराएर आफ्नो शक्ति बढाउन चाहन्थे । त्यसैले द्रौपदीको स्वयंवरमा उनले तल खड्कुलाको पानीमा छाया हेरेर धेरै माथि फनफनी घुमिरहेको यन्त्र–माछाको आँखामा वाणले निशाना लगाउनुपर्ने सर्त राखे । द्रुपदको अनुमानमा यो काम अर्जुनबाहेक अरूले गर्न सक्दैनथे । मत्स्यवेदको यो सर्त कर्णका लागि झनै मामुली थियो । त्यसमा द्रौपदी पनि विश्वस्त थिइन् । स्वयंवरमा आउने राजकुमारहरूको भीडमा उनका आँखाले कर्णलाई नै खोजिरहेका थिए । त्यसै बेला कृष्णले कर्ण ‘सूतपुत्र हुन्, उनीसँग विवाह भए आजीवन दासी हुनुपर्ला’ भनी द्रौपदीको कान फुकिदिए । द्रौपदीको मनमा कोलाहाल मच्चियो । कृष्णको कुरा मानौँ, पूरा हुनै लागेको सपनाको बलिदान हुने ।

नमानौँ, कत्रो समस्या ! उनलाई पनि पिता द्रुपदले द्रोणसँग प्रतिशोध लिने प्रतिज्ञा पूरा गर्न अर्जुनलाई ज्वाइँ बनाउन चाहेको थाहा थियो । त्यसमाथि कर्ण राजकुमार नभई सूतपुत्र भएकाले उनीसँग विवाह भए जीवनभर दासी भएर बाँच्नुपर्ने कुराले पिरोल्यो । कर्णले धनुकाण खैँचनै लाग्दा अकास्मात् उनले भनिदिइन्, ‘म सूतपुत्रसित विवाह गर्दिनँ ।’ द्रौपदीजस्ती निडर र विवेकी युवतीले समेत जातको आधारमा गरेको अपमानजनक व्यवहारले कर्णको मनमा गहिरो चोट लाग्यो । यो अपमान उनले जीवनभर भुल्न सकेनन् । द्रौपदीले भने पाँच पाण्डवसँग विवाह भए पनि कर्णलाई बिर्सन सकिनन् ।


महाभारतको पूरै कथामा यही जातिभेदको भूमिका छ । जातिभेद गर्ने पाण्डवहरूको जितबाट महाकवि व्यासले यसको औचित्य साबित गर्न खोजे पनि उनले नचाहँदा नचाहँदै यसका खतरनाक पार्श्व प्रभावहरू प्रकट भएका छन् । कौरव पक्षधर मात्र नभई पाण्डव पक्षधर र तिनका सन्तानसमेत सखाप हुनु त्यसको ज्वलन्त प्रमाण हो ।

मौन वेदना
कर्णको दुर्नियति सम्झँदा संसारका सारा अभागी वीरहरूको जीवनका अनेक विपत्ति साक्षात्कार भएझैँ लाग्छ । उनी महाभारतका निमित्त नायक हुन् । वेदव्यास स्वयंले चाहेर पनि उनलाई खलनायक बनाउन सकेनन् । त्याग, पराक्रम र सत्यनिष्ठाका पर्याय कर्णको जीवन अरण्य रोदनजस्तै एक अविरल निःश्वास थियो । एउटा मौन वेदना, मौन चित्कार, मौन विद्रोह । सारथि पुत्र’ भएकै कारण धनुर्विद्यामा उनले अर्जुनसँग प्रतिस्पर्धा गर्न पाएनन् । जन्मकै कारण देखाई उनलाई रंगभूमिमा अर्जुनसँग प्रतिस्पर्धा, द्रौपदीको स्वयंवरमा मत्स्यवेद र भीष्मको नेतृत्व रहुन्जेल महाभारत युद्ध गर्नबाट वञ्चित गरियो । खासमा उनी शूद्र पनि थिएनन् ।

उनको नश्लमाथि उठाइएको प्रश्न इतिहासकै भयानक गल्ती थियो । त्यसको सजाय आधुनिक युगमा पनि सकल दलित, उपेक्षित र उत्पीडितले बेहोर्नुपरेको छ । तिनको प्रतिभा, पराक्रम र सौर्यको कदर गर्न आज पनि हाम्रो समाज तयार छैन । परशुरामबाट ब्राह्मणत्वको परीक्षामा सफल भएर उनले शस्त्रविद्या सिके । तर, गुरुको निद्रा भंग हुन नदिन बिच्छीको टोकाइ चुपचाप सहँदा ब्राह्मण नभएको थाहा पाएर परशुरामले उनलाई ब्रह्मास्त्रको पूर्ण ज्ञान दिएनन् । अनुपम गुरुभक्ति र अतिसहनशीलताको पुरस्कार उनले यसरी पाए । तर, पितातुल्य गुरु द्रोणको हत्या गराउन झूटभन्दा पनि कैयन् गुणा खतरनाक अर्ध सत्य बोल्ने युधिष्ठिर सत्यवादी ठहरिए । द्रौपदीलाई पाँच पति थोपर्ने उनी आदर्श पुरुष र आर्यावर्तका नायक भए ।

अभागी महावीर
रंगभूमिमा अर्जुनको चुनौती स्विकार्न सक्ने एक मात्र योद्धा उनै कर्ण थिए । हस्तिनापुरका कुलगुरु कृपाचार्यले ‘सूतपुत्रलाई राजकुमारसँग प्रतिस्पर्धा गर्न अधिकार नहुने’ अविवेकी घोषणा गर्दा पितातुल्य गुरु द्रोणाचार्य, हस्तिनापुरका महारथि र भारदारहरूले ल्याप्चे लगाइदिए । भीमले त ‘सूतपुत्रले राजकुमारलाई ललकार्ने’ भनेर बातैपिच्छे उनको कुलको अपमान गरे । कर्णले आफ्नो योग्यताको परीक्षा दिन नपाउने भए । कुन्तीलाई थाहा थियो, कर्ण उनकै जेठा छोरा हुन् । लोकलाजबाट बच्न आफ्नै छोराको अपमान उनले चुपचाप हेरिरहिन् । आखिर दुर्योधनले भने, ‘वीरता कुनै जाति वा नश्लको पेवा होइन । ऋषि, नदी र शूरवीरहरूको उत्पत्तिको कथा सबैलाई थाहा हुँदैन । पाण्डवहरू हो, जन्म वा कुलको होइन, वीरताको सम्मान गर्न सिक । होइन भने तिमीहरूको जन्मका हाल हामीलाई पनि थाहा छ ।’

कुलगुरुले राजकुमारसँग युद्ध गर्न राजकुमार नै हुनुपर्ने नियम बताएपछि दुर्योधनले तत्काल कर्णलाई अंगदेशको राजा बनाए । तैपनि, घाम डुबिसकेकाले कर्णले प्रतिस्पर्धा गर्न पाएनन् । बदलामा कर्ण आफ्नो असीम अपमान र विपत्मा साथ दिने दुर्योधनको आजीवन हितैषी भए । दुर्योधनले ‘निच जातिका’ कर्णलाई मित्र र अंगदेशको राजा बनाएको हस्तिनापुरका भारदारहरूलाई पचेन । कौरव सेनापति बन्ने क्रममा भीष्मले भने, ‘म सेनापति रहुन्जेल सूतपुत्र कर्णले युद्ध गर्न पाउँदैन ।’ भीष्म अर्जुनको सरशय्यामा नपरुन्जेल महावीर कर्णबिना महाभारत युद्ध चलिरह्यो । भीष्मपछि सेनापति बनेका द्रोणलाई रणनीति सुधार्न जब उनी सुझाव दिन्थे, द्रोण बातैपिच्छे उनलाई युद्धबाट निकालिदिने धम्की दिन्थे ।

द्रोण हत्यापछि कर्ण स्वयं सेनापति भए । उनले माद्र नरेश शल्यलाई सारथि बनाए जो नकुल र सहदेवका साख्य मामा थिए । ती एक नम्बरका जाली र धोकेबाज थिए । पाण्डवका पक्षमा लड्न आएका उनी युधिष्ठिरको उपेक्षा र दुर्योधनको सत्कारबाट प्रेरित भएरै कौरव पक्षमा लागेका थिए । युद्ध सुरु हुने बेला कुन्ती र कृष्णले पाण्डव पक्षलाई सघाउन आग्रह गर्दा उनले कौरव पक्षबाट लडे पनि ऐनमौकामा तिनलाई कैँची मार्ने वाचा गरेका थिए । त्यो वाचा उनले बारम्बार कर्णलाई अर्जुनको दाँजोमा अत्यन्त हेय देखाएर, उनको मनोबल गिराउने व्यवहार गरेर पूरा गरे । सारथि भएर पनि आदेश मान्न अस्वीकार गरेर, अर्जुनले तिमीलाई नमारी छाड्दैनन् भनेर उनी कर्णलाई कायल पार्थे । यति गर्दा पनि पाण्डवहरूबाट उनले माफ पाएनन् । अन्ततः युधिष्ठिरले उनको वध गरे । पाण्डवले त कौरव पक्षकै एक भाइ विकर्णको समेत गुण सम्झेनन् जसले सभामा नंग्याउन ल्याइएकी द्रौपदीको पक्षमा निडर र निष्पक्ष भएर बोलेका थिए । युद्धमा भीमले क्रूरुतापूर्वक उनको वध गरे ।

कर्णलाई पाण्डवतर्फ मिलाउन कृष्णले कर्णको जन्मभेद खोल्दै भनेका थिए, ‘तिमी नै पाण्डवमध्ये जेठा मानिने छौ । जेठा भएका नाताले राजा बन्ने र पद्मिनी देहकी द्रौपदीसँग सुखभोग गर्ने अवसर तिमीलाई पनि प्राप्त हुनेछ ।’ अत्यन्त कमनीय देहकी द्रौपदीसित मोहित भएर पाँचै पाण्डव उनीसँग विवाह गर्न लालायित भएका थिए । तर, कुनै समय आफ्नै चिर सपनाकी रानी तिनै पद्मिनीमाथि हिस्सा लाग्ने लोभले कर्णलाई तान्न सकेन । कृष्णको प्रस्ताव अस्विकार्दै कर्णले निर्द्वन्द्व भएर भने, ‘मेरो यौवन केबल मेरी पत्नीका लागि हो ।’

जन्मले राजकुलकै भए पनि आमाकै कारण नीच जातिको अपमानपूर्ण जिन्दगी बाँच्नुपरेको पहिलोपल्ट थाहा पाउँदा कुनै युवकको हालत कस्तो होला ? कर्णले त्यही मर्मभेदी स्थितिको साक्षात्कार गरे । तर, त्यसको प्रतिक्रिया उनले आमा कुन्तीसित कहिल्यै प्रकट गरेनन् । युद्ध सुरु हुनै लाग्दा कुन्तीले पनि उनलाई पाण्डवतर्फ लाग्न आग्रह गरिन् । जन्मदात्री भएर पनि आमा हुन नसकेकी, आफ्नो अपमानपूर्ण जीवनको कारक बनेकी तिनै कुन्तीलाई समेत उनले ममतामयी आमाको सम्मान दिए । तिनको कुकृत्यका लागि कुनै गुनासो गरेनन् । याचकलाई कहिल्यै निराश नफर्काउने कर्णले उनीसँग ‘अर्जुनबाहेक कसैलाई नमार्ने’ वचन दिए । नभन्दै युद्धमा युधिष्ठिर, भीम, नकुल, सहदेवलाई पक्रेर, तिनको तेजोबध गरेर ज्यान माफी दिए । अर्जुनको शरशय्यामा सुतेपछि भीष्म स्वयंले पाण्डवतर्फ लाग्न सुझाव दिँदा उनले विनम्रतापूर्वक अस्विकार्दै दुर्योधनप्रतिको अविरल बफादारी दर्साएका थिए ।

द्रौपदीसँग प्रतिशोध
टुहुरा पाँच पाण्डवमाथि सय भाइ कौरवले गर्नुसम्म अन्याय गरेका थिए । भीमलाई विष खुवाएर नदीमा फ्याँकिएको थियो । राज्यसत्ताबाट च्युत गर्न अत्यन्त विस्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने षड्यन्त्र गरियो । बनवास र गुप्तवासका क्रममा पनि बारम्बार मार्न खोजियो । भीष्म, विदुर, द्रोण, कृपाचार्यजस्ता न्यायप्रेमी लाचार छाया भए । कौरवको हाहामा लागेर विपत्तिमा परेका पाण्डवको धज्जी उडाउनु, आफ्नो अपमानको प्रतिशोध लिन दुःखी द्रौपदीप्रति अश्लील कटाक्ष गर्नु, दुर्योधनलाई युद्ध प्रेरित गरेर नरसंहारलाई निमन्त्रणा दिनु सज्जन कर्णलाई सुहाउने कुरा थिएन । तर, उनलाई दुर्योधनको दायरामा धकेल्ने भूमिका पाण्डव र उच्च भारदारहरूले नै खेलेका थिए । यस्तोमा ऐनमौकामा आफूलाई लगाएको असाधारण गुणको भर्पाई गर्न पनि उनी आजीवन दुर्योधनको मित्र हुनु अनिवार्य थियो ।

भीम सानैदेखि हदै खलेपु थिए । उनी रूख हल्लाएर हाँगामा बसेका कौरवलाई खुत्रुक्कै पार्थे । जुल्फी पक्री फनक्क घुमाएर पाहाजस्तै पछार्थे । टाउको थिचेर पोखरीमा डुबाइदिन्थे । यही सम्झेर दुर्योधनले पाण्डवलाई पन्छाउन खोजे । कति अवस्थामा पाण्डव दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे । कृष्ण बारम्बार युद्धका लागि उचाल्थे । तर, आफैं राजपाठबाट गहलहत्याइँदा पनि पाण्डवको क्षत्रीय र राजकुलीन अभिमान हदै उत्ताउलो थियो । तिनको यही जातिवादी अहम्ले कर्णलाई दुर्योधनको दायरामा धकेलिदिएको थियो । कर्ण आफ्नो सत्यनिष्ठा, दयालुपन र दानी स्वभावबाट डगमगाएनन् । चक्रपाणि चालिसेको ‘संक्षिप्त भारत’ का अनुसार युधिष्ठिर जुवामा पराजित भएपछि दुर्योधनले द्रौपदीलाई सभामा घिच्याएर ल्याउन कर्णलाई अह्राएका थिए । (मूलकथामा ती व्यक्ति दुर्योधनका भाइ प्रतिकामी थिए ।) दुर्योधनको अन्यायपूर्ण आदेशका लागि उनले द्रौपदीसँग माफी मागे । द्रौपदी रजश्वला भएर एकवस्त्रा रहेकी थाहा पाउँदा त्यसै फर्के । दुर्योधनले षड्यन्त्रपूर्वक पाण्डवको हत्या गर्ने योजनालाई कायरता भन्दै दुत्कारे ।

अनुपम वीरता
महाभारत युद्धमा कर्णले देखाएको अद्वितीय वीरताका अनेक घटना छन् । उनले अश्वमुख नामक वाण प्रहार गर्दा कृष्णले चलाखी गरेर रथ ननुहाएका भए अर्जुन स्वयं मारिने थिए । तैपनि कर्णको वाणले अर्जुनको किरिट र मुकुट उछिट्ट्यायो । अरू चार पाण्डवको त उनले सातो लिएका थिए । यस्ता परमवीर कर्ण अरू बेला अर्जुनसँग सामना हुँदा कायरतापूर्वक भागेको महाभारत मूलकथाका प्रसंगहरू पटक्कै पत्यारिलो लाग्दैन । अन्ततः कर्ण स्वयं युद्धको नियमविपरीत अर्जुनको ब्रह्मास्त्र प्रहारबाट मारिए । हिलोमा जाकिएको रथको पाङ्ग्रा उठाउन लाग्दा निःशस्त्र कर्णमाथि प्रहार गर्न कृष्णले आदेश दिए । कर्णले युद्धको नियम सम्झाउँदा कृष्णले उनको खिल्ली उडाए । कर्णको सहादतपछि सञ्जयले भनेका थिए, ‘याचकले माग्दा जसले सदैव दिन्छु भन्यो, याचकका लागि जसले कहिल्यै हुन्न भनेन, जसलाई सज्जनहरूले सदैव सत्पुरुष माने, तिनै कर्ण आज युद्धमा मारिए । याचकरूपी पन्छीहरूको कल्पवृक्ष ढल्यो ।’

भारतीय टीभी स्टार प्लसको महाभारत शृङ्खलामा एउटा विशेष दृश्य छ । कर्णको ब्रह्मास्त्रबाट अर्जुनलाई बचाउनु असम्भव भएपछि कृष्ण भागेझैँ गरी अर्जुनको रथ दलदलतिर लैजान्छन्, जसलाई पछ्याउँदै जाँदा कर्णको रथ भासिन्छ । आचारसंहिताविरुद्ध अर्जुनको प्रहारबाट कर्ण मरणान्त हुँदा आर्तनाद गर्दै कुन्ती पाण्डवहरूलाई कर्णको असली परिचय दिन्छिन् । यसका लागि पश्चात्ताप गर्दै युधिष्ठिरले खै गर्दा आमा कुन्तीको बचाउ गर्दै कर्ण भन्छन्, ‘यो सब मैले गर्दा भएको हो प्रिय अर्जुन । म तिमीलाई हराउन चाहन्थेँ । छल गरेर तिमीले ममाथि विजय प्राप्त गरे पनि धर्म र नैतिकताका दृष्टिले मैले नै तिमीलाई पराजित गरेँ ! किनभने कृष्णको छल बुझ्दाबुझ्दै मैले तिमीमाथि कहिल्यै छलपूर्वक प्रहार गरिनँ ।’

द्रौपदीको अमर प्रेम !
कर्णको हत्यापछि द्रौपदीका मनमा कस्तो कोलाहाला मच्चिएको होला ? यसमा परम्परागत लेखकहरूले मूलकथाको सतहको फेर समातेर यी दुईबीच घृणाको सम्बन्धबाहेक केही थिएन भन्दै सिंगै किताब लेखिदिन सक्छन् । बरु, एक छिन प्रतिभा रायको उपन्यास ‘याज्ञसेनी’, चित्रा बनर्जी दिबकरुणीको भ्रमहरूको दरबार (द प्यालेस अफ इल्युजन्स), का तर्कपूर्ण कथालाई आधार मानेर व्याख्या गरौँ । आफूले जानाजान अपमान गरे पनि कर्णप्रति द्रौपदीको अनुराग कहिल्यै सकिएन । इन्द्रप्रस्थमा कौरव पक्ष भ्रमणमा आउँदा कर्णका लागि विशेष कोठा द्रौपदीले नै छुट्ट्याइदिएकी थिइन् । उनको ध्यान तान्न द्रौपदी अनेक हाउभाउ गर्थिन् । चोरीचोरी हेर्थिन् । तर, कर्णलाई यस्ता कुराले छुँदै छोएन । मत्स्यवेदमा देखिएको उनको आँखाको चमक द्रौपदीले गरेको जातिभेदी अपमानपछि सदाका लागि गायब भयो । तर, कर्णले पनि आफूलाई त्यतिकै प्रेम गर्थे भन्ने कुरा भीष्मसँग गरेको वार्ता सुनेर द्रौपदीले थाहा पाएकी थिइन् ।

त्यही आधारमा एक छिन गमौँ त, कर्ण र द्रौपदीको प्रेम सफल भएर विवाह भएको भए के हुँदो हो ? प्रस्ट छ, महारानी हुन नपाए पनि उनको जिन्दगी शान्त र प्रेमको बगैँचामा हराभरा हुन्थ्यो । तनावले उनको मनमा वास पाउने थिएन । कुनै मालसामानसरह उनी कौडाको खालमा थापिने थिइनन् । पाँच पाण्डवका बगाल निजी पत्नीहरूको सौतेनी व्यवहार उनले सहनुपर्ने थिएन । कर्ण पनि धीर, गम्भीर, शान्त र प्रेमरसले सिँचित रहन्थे । उनीभित्र कुनै आत्महीनता र कुण्ठा रहने थिएनन् । द्रौपदीको अपमान गर्ने कसैको हिम्मत हुने थिएन । द्रौपदीसँग बिहे नभएको स्थितिमा पाण्डवहरू त्यति शक्तिशाली पनि हुने थिएनन् । तिनले राज्य नपाए पनि त्यति कमजोर स्थितिमा महाभारत युद्ध नै हुँदैनथ्यो । लाखौँ मान्छेले ज्यान गुमाउनुपर्ने थिएन । तिनका पत्नी विधवा हुनुपर्दैनथ्यो । कर्णप्रति द्रौपदीको प्रेमको हत्या जातिवादको अस्त्र प्रयोग गरी छलपूर्वक गरिएको थियो । अन्ततः प्रेमी कर्णकै हत्या पनि छलपूर्वक नै गरियो । त्यो पनि उनकै पतिद्वारा । दुवैमा कृष्णले भूमिका खेलेका थिए ।
यस्तोमा द्रौपदीको हृदयभित्र कस्तो आँधी चलेको थियो होला ?
@avayashrestha

प्रकाशित : पुस १२, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?