कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डोल्पाका हामी केटाकेटी

हेमन यात्री

उपल्लो डोल्पाको प्रख्यात गन्तव्यको नाम हो— फोक्सुन्डो ताल  । यही फोक्सुन्डो तालबाट निकास भएर बग्ने पानी फोक्सुन्डो खोलाको नामले बगेर झर्छ  ।

डोल्पाका हामी केटाकेटी

फोक्सुन्डो तालबाट करिब दुई–तीन किलोमिटर तेर्सो–ओरालो बगेर हामफाल्दै झर्छ पहिरोमा । ताल पुग्नुभन्दा अघिको अन्तिम बिसाउनीबाट एकसाथ देखिन्छन् आकाशको छाया खसेजस्तो नीलो ताल र पहिरोबाट हाम्फालेर खस्दै गरेको सेतो झरना । ताल पुग्नुभन्दा अघिको अन्तिम उकालो बाटाको टुंग्याउनीबाट झरना देखिने भएकाले त्यस ठाउँलाई झरना भनिँदो रहेछ । अघिसम्म खोला भएर बगिरहेको फोक्सुन्डोको पानी, करिब पाँच सय मिटरभन्दा लामो पहिरो भेटेपछि एक्कासि फोक्सुन्डो झरनाको रूपमा बद्लिन्छ । क्षणभरमै खोलाबाट झरनामा परिणत भएको पानीले एक छिनसम्म त आँखालाई अन्त भाग्नै दिँदैन । आधा बिहानको उकालो छिचोलेपछि भेटिने झरनामा नरोकिने को होला र ?

पर देखिएको मनमोहक फोक्सुन्डो तालले लोभ्याए पनि झरनालाई चटक्कै छाडेर भाग्नै नसकिने बनाइदिन्छ । गहिरो खोँचमा बजारिएपछिको झरनाको आवाजसँगै आइपुग्ने चिसो बतासले छिनभरमै शरीरको पसिना सुकाइदिन्छ । यस झरनालाई पृष्ठभूमि बनाएर दुई–चार सेल्फी नहानी हिँड्ने यात्री फोक्सुन्डो ताल पुग्नै सक्दैन भने पनि हुन्छ । गएको असार महिनाको पहिलो हप्ता फोक्सुन्डो काव्य यात्राले बताएको मेरो अनुभवले यही भन्छ ।

पहिरोमा उफ्रिन पाएसम्म न हो झरना । पहिरो सकिएपछि त बग्नैपर्‍यो । झरनाले छिनमै खोलाको आकार लिन्छ । र, बिस्तारै बग्न थाल्छ ओरालो । खोंचमा केही किलोमिटर एक्लै बगेपछि तल गाउँमा देखापर्छ फोक्सुन्डो । सायद गाउँमा यही फोक्सुन्डो खोलाको भरोसामा गाउँलाई त्यहाँ बस्न मन लागेको । नत्र त यो हिमाली भेगमा पानीको मूल भेट्नै मुस्किल पर्छ । पानी नभएको ठाउँमा बस्ती बस्ने कुरै भएन । माथिल्लो डोल्पाका तीन गाउँपालिकामध्ये शे–फोक्सुन्डो गाउँपालिका हो एउटा । यही शे–फोक्सुन्डोको एउटा स्यानो गाउँ हो साइजल ।

तीनतिर हिमालले बार लगाएर सुरक्षा दिएको छ साइजललाई । दक्षिणतिर फोक्सुन्डो खोलाको बाटो । साइजल पुग्दा असारको झरी परेर रोकिएको थियो । झरीपछिको खुला आकाशमुनिको गाउँ विछट्टै सुन्दर देखियो । वरिपरि पहाडले घेरिएको । पहाडभन्दा माथि हजुरबाको फुलेको कपालजस्तो सेतै देखिन्थे हिमाल । साँझपखको असारे घाम कताबाट निस्केर हो, हिमालको टुप्पोमा टल्किन पुगेको थियो । त्यस दिन हिमालमुनिको स्यानो उपत्यका साइजलभन्दा माथि पुग्नु थिएन हामीलाई । त्यसो त हिमालमाथि टल्किएको घामले पनि यहाँभन्दा अघि नबढ्नु भन्ने संकेत दिइरहेको थियो ।

साइजलमा नमुना विद्यालय
तापिरिचा मावि, अपर डोल्पाको तीनैवटा स्थानीय तहमा एउटा मात्रै माध्यमिक विद्यालय हो । शे– फोक्सुन्डो गाउँपालिका–८, साइजलस्थित सञ्चालनमा रहेको छ विद्यालय । अपर डोल्पाको सरकारी विद्यालयहरू रित्तोरित्तो भए पनि, साइजलको तापिरिचा मावि सानदार ढंगले चलिरहेको छ । त्यो पनि पूरापूरा अंग्रेजी माध्यममा । निर्माणाधीन केही भवनसहित विद्यालयको व्यवस्थित भौतिक संरचना, दक्ष शिक्षक, अनुशासि त छात्र/छात्रा र आधा दर्जनभन्दा बेसी विद्यालयका कर्मचारीसहित सञ्चालित तापिरिचा मावि, सहरमा कहलिएको निजी विद्यालयभन्दा कम छैन ।

तर कसरी ?
दिनभरि हिँडेर साँझ साइजलको तापिरिचा माविको आँगनमा पुग्दा क्यान्टिनमा ३/४ जना भान्से साँझको खाना तयार गर्न व्यस्त थिए । पूर्ण रूपमा आवासीय व्यवस्थापनमा सञ्चालित तापिरिचा माध्यमिक विद्यालयमा जम्मा २०५ जना छात्रछात्रा छन् । तिनै विद्यार्थीका निम्ति खाना तयार भइरहेको थियो । विद्यालय प्रमुख व्यास्थापक सेम्दुक लामा हाम्रो काव्य यात्रासँग जोडिने भएको हुनाले हामी रोकिएका थियौँ त्यहाँ । अपर डोल्पाका धेरै विद्यालयमा शिक्षकले पाइला नटेकी सदरमुकाममा बसेर हाजिर गर्ने र तलब बुझ्ने गरेको समाचार पढ्दै गरेको हामी, तापिरिचा माविको व्यवस्थापन देखेर भने आश्चर्यमा परिरहेका थियौँ । यो दूरदराजको विद्यालयमा त्यस्तो के जादूको छडी चल्छ, जसले विद्यार्थीहरूलाई त्यो तहको सेवा, सुबिधा र नतिजासहितको नमुना विद्यालय सञ्चालन गर्न सम्भव बनाइरहेको छ ?

२०५४ सालमा स्थापना भएको यस विद्यालय त्यति सजिलो बाटो हिँडेर आजको तापिरिचा माविसम्म आइपुगेको भने होइन । यसको जरा पहिल्याउँदै जाने हो भने स्विजरल्यान्ड हुँदै अमेरिका नपुगेसम्म डोल्पाको तापिरिचा मावि भेट्नै सकिँदैन । जतिखेर स्विजरल्यान्डकी मानवशास्त्री मारियटा र अमेरिकी क्याथ्री इनमानले आफ्नो पीएचडीको शोधको विषय बोन धर्मलाई रोजे, त्यसबेलासम्म उनीहरूलाई डोल्पाको भौगोलिक अवस्था कस्तो छ भन्ने थाहै थिएन । तर, नेपालको हिमाली जिल्ला अपर डोल्पा र आसपास नपुगी मारियटा र क्याथ्रीको रिसर्च पूरा हुँदैन थियो । त्यसपछि झोलीतुम्बी कसेर उनीहरू नेपाल उडे । नेपाल आएर उनीहरूले कर्णालीको नक्सा तयार पारे । कर्णालीको पनि विशेषगरी डोल्पा जिल्लाको फोक्सुन्डो तालमा चिनो लागाए र यात्रामा निस्किए ।

फोक्सुन्डो त्यही ताल हो, जसको उत्तर किनारामा बोन धर्म गुरु तापिरिचाले तपस्या गरेर ज्ञान प्राप्त गरेको पवित्र भूमि हो । बोन धर्मका प्रवर्तक तोन्पा सेन्राव मिवोले १८ हजार ३६ वर्षअघि बोन धर्मको सुरुआत गरेका थिए । त्यही बोन धर्मको रिसर्च गर्ने क्रममा मारियटा र क्याथ्री इन्मान डोल्पाको रिग्मो गाउँ पुगे । संयोगबस त्यसबेला सेम्दुक लामा फोक्सुन्डो ताल नजिकैको रिग्मो गाउँमा स्यानो पसल गरेर बसेका थिए । मारियटा, ब्याथ्रो र सेम्दुकको भेट त्यहीँ गाउँमा भयो । लामाले उनीहरूको रिसर्चको निम्ति सक्दो सहयोग गरे । मारियटा र क्याथ्रो आफ्नो शोधकार्य सकेर फर्किने समय नजिकिइरहेको थियो । सेम्दुक लामालगायत साथीहरूले उनीहरूलाई गाउँको निम्ति केही सहयोग गरिदिन आग्रह गर्ने भए ।

तर, के सहयोग माग्ने ? अलमलमा परे उनीहरू । त्यतिबेलासम्म डोल्पाको धो–तराप उपत्यकामा मारियटा र क्याथ्रोजस्तै विदेशीले खोलिदिएको व्यवस्थित विद्यालय क्रिस्टल माउन्टेन सञ्चालनमा आइसकेको थियो । उनीहरूले सोचे, गाउँमा विद्यालयको जरुरी छ । लामा र साथीहरूले ति विदेशी साथीहरूलाई क्रिस्टल माउन्टेनजस्तै स्कुल खोलिदिन आग्रह गरे । पढे–लेखेका उनीहरूले त्यस क्षेत्रमा विद्यालयको जरुरी छ भन्ने बुझेका थिए । आफ्नो शैक्षिक अनुसन्धान पूरा गर्न सहयोग गरेका साथीहरूको आग्रहप्रति सकारात्मक भए उनीहरू । मारियटा र क्याथ्रीको त्यही सकारात्मक सोचको परिणामको नाम हो आजको तापिरिचा मावि ।

विद्यालय बनाउन सहयोग गर्ने वचन दिएर मारियटा र क्याथ्रो आफ्नो देश फर्के । देश फर्केर उनीहरूले विद्यालय सहयोग कोषको स्थापना गरे । कोषमा पचास, सय डलर गर्दै रकम जम्माजम्मा गरे । मारियटाले स्विजरल्यान्डमा ‘तापिरिचा भोरोइन’ र क्याथ्रीले अमेरिकामा ‘फ्रेन्डस अफ डोल्पा’ मार्फत रकम संकलन गरे । यता सेम्दुक लामा, रामचन्द्र बूढाहरू भएर ‘तापिरिचा एसोसिएसन फर सोसल हेल्प इन डोल्पा’ भन्ने नन्फ्रोफिटेबल अग्रनाइजेसन सुरु गरे । बोन धर्मसँग नजिक रहेका उनीहरूले, बोन धर्म गुरुको नामबाट संस्थाको गतिविधि सुरु गर्ने निर्णय गरे । तापिरिचा नाम गरेको विख्यात बोन धर्म गुरुको नामबाट संस्थाको नाम राखेर बोन धर्म र गुरुप्रति समर्पण गरेको देखिन्छ । उनीहरूले संस्थाको नाम मात्रै तापिरिचा राखेनन् । विद्यालयको नाम समेत धर्म गुरुको नामबाटै राखे— तापिरिचा प्रावि । त्यही बालक तापिरिचा आजको लाठे तापिरिचा मावि भएको हो ।

२०५४ सालमा जम्मा पन्ध्र विद्यार्थी जम्मा गरेर विद्यालय सुरु भयो । विद्यालयको आफ्नो भवन थिएन । दर्तासमेत थिएन । तर, सेम्दुकले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्दुवामा अवस्थित खाली भवनमा पठनपाठन सुरु गरे । तर, सधैं यसरी सम्भव थिएन । अनुमतिबिना सुरु गरेको विद्यालयले आधिकारिकता प्राप्त गर्न सरकारी प्रक्रियामा जानैपर्थ्यो । यो प्रक्रिया झन्झटिलो पनि थियो । बरु सञ्चालनमा रहेको एउटा विद्यालयसँग छलफल गरे साम्दुक र उसको समूहले । विद्यार्थीको अभाव खड्किरहेको शे–फोक्सुन्डोको पुनिखास्थित सरस्वती प्राबिलाई साइजल ल्याएर सञ्चालन गर्ने टुंगो गरे उनीहरूले ।

पूर्ण आवासीय सुविधासहित सुरु भएको विद्यालयले बिस्तारै गति लिन थाल्यो । विद्यालय स्थापना भएको दुई वर्षपछि रामचन्द्र बुढामगर विद्यालयको व्यवस्थापनसँग जोडिए । संस्थालाई टेकओभर गर्ने सवालमा रामचन्द्र दक्ष मानिन्थे । विद्यालय सरकारी भए पनि अमेरिका र स्विजरल्यान्डबाट प्राप्त सहयोगले विद्यालय थप मजबुद बन्दै गयो । सरकारी विद्यालय, त्यसमाथि अपर डोल्पाका अधिकांश विद्यालय नाम मात्रैका विद्यालय छन् अहिले पनि । न त्यहाँ शिक्षक उपस्थित हुन्छन्, न विद्यार्थी । तर, तापिरिचाको अवस्था ठीक उल्टो देखिन थाल्यो । जति–जति विद्यार्थी बढ्दै गए, उति नै विद्यालयको तह बढाउदै लग्नुपर्ने देखियो । २०५४ सालमा सुरु भएको विद्यालय ११ वर्षपछि पहिलो एसएलसी ब्याच २०६५ मा पासआउट भए । त्यो पनि उत्कृष्ट नतिजासहित ।

११ वर्ष भएछ तापिरिचा माविबाट बर्सेनि विद्यार्थीहरूले विद्यालय छोड्दै हिँडेको । तापिरिचाले पखेटा हालेर पठाउँछ, जसरी फोक्सुन्डो तालबाट निकास भएर बग्दै बग्दै आउने पानीले साइजल छोएर बग्छ ओरालै ओरालो । ठीक त्यसरी नै तापिरिचाबाट बर्सेनि २५ जना विद्यार्थी निस्केर जान्छन् । उनीहरू कहाँकहाँ पुग्छन् ? पुग्नेहरूलाई मात्रै थाहा हुने कुरा हो । लेखाजोखा राखेर साध्य पनि त हुन्न विद्यालयलाई । तर, तापिरिचाले उत्पादन गरेका आफ्ना केही विद्यार्थी, अहिले विद्यालय आफैंले हायर गरेर ल्याएको छ । विद्यालयले सञ्चालनमा ल्याएको हेल्थ डिपार्डमेन्टमा केही स्टाफ नर्स, एचए र निजी शिक्षकको रूपमा माथिल्लो तहको डिग्री लिएर विज्ञान, गणित र अंग्रेजी विषय पढाइरहेका छन् ।

आफैंले अध्ययन गरेको विद्यालयमा फर्केर सेवा गर्न पाउनुको आनन्द उसैलाई मात्रै त हुने हो, जसले सेवा गर्ने मौका पाइरहेका छन् । यस विद्यालयले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रममा विद्यालयका सदस्यहरूले मात्रै सेवा लिँदैनन् । अपर डोल्पाका तिनै स्थानीय तहका मानिसले सेवा लिन्छन् । स्विजरल्यान्डकी मारियटा होस् वा अमेरिकी क्याथ्री वा उनीहरूजस्तै शोधकर्ता, पर्यटकहरूलाई होस् वा मजस्तो बेलाबखतको डुलुवालाई समेत स्वास्थ्यमा समस्या परे तापिरिचा माविको स्वास्थ्य विभाग हरदम हाजिर छ ।

अहिले तापिरिचा माविमा जम्मा दुई सय पाँच जना विद्यार्थी छन् । एलकेजीदेखि कक्षा दससम्म पढाइ हुने विद्यालयको प्रत्येक कक्षामा अधिकतम २५ भन्दा माथि विद्यार्थी राखिँदैन । तर, हरेक वर्ष कात्तिक २५ गतेदेखि चैत १० सम्म विद्यालय पूर्ण रूपमा बन्द हुने गर्छ । अधिकतम हिमपातका कारण प्रत्येक हिमाली जिल्लाका विद्यालयहरूको अवस्था उस्तै हुने गर्छ । कात्तिक महिनादेखि माथिल्लो डोल्पाका सारा गाउँहरू रित्तो हुने गर्छन् । हिउँ छल्न बेंसी झरेका हिमालीहरू चैतमा घर फर्कंदा अधिकांशको कमजोर घरहरू हिउँले खाइसकेको हुन्छ । हिमालमा बस्ने प्रत्येक मानिसहरूको दुःख हो यो ।

हिउँद सकिएपछि उनीहरू घर फर्कन्छन् र आफ्नो जीर्ण घर मर्मत गरेर बस्छन् । वर्षौवर्षदेखि उनीहरू यसरी नै बाँचिरहेका छन् । अन्य विद्यालय, सरकारी कार्यालयहरूको हालत पनि उस्तै हो । तर साइजलमा तापिरिचा मावि कात्तिकबाट रित्तो भए पनि यसबीचमा उसको गतिविधि भने निरन्तर रहन्छ । कक्षा १० का विद्यार्थीलाई एसईई तयारीका लागि काठमाडौँमा छुट्टै होस्टलको व्यवस्था गर्छ विद्यालयले । उनीहरू उतै जाँचको तयारी गर्छन् । एसईईको बेला जिल्ला सदरमुकाम डोल्पा आउँछन् र जाँच लेख्छन् ।

कात्तिकमा पहाड झरेको तापिरिचा एकैपटक छ महिनापछि हिमाल फर्कन्छ । वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनपूर्व विद्यार्थी भर्ना कार्यक्रम सुरु हुन्छ । अभिभावकहरू आफ्ना नानीहरूलाई भर्ना गराउन लाम लाग्छन् । तर, सीमित सिटका कारण सबैले भर्ना पाउँदैनन् । विद्यालयले प्रवेश परीक्षा लिन्छ र सफल हुनेहरू वैशाख पहिलो सातादेखि विद्यालयमा हाजिर हुन्छन् । विद्यालय हाजिर भएका सम्पूर्ण विद्यार्थी २४ सै घण्टा विद्यालयको आचारसंहिताभित्र बस्छन् । विद्यार्थीको सम्पूर्ण खर्च विद्यालय आफैंले बहन गरेर, उनीहरूको चौतर्फी विकासका लागि विद्यालय व्यवस्थापनले गर्न सक्ने जति सिर्जनात्मक क्रियालकलापमा सहभागी गराउँछन् ।
उनीहरू कविता लेख्छन्, गीत लेख्छन्, गाउँछन् ।

बाजा बजाउँछन्, नृत्य गर्छन् । भाषण गर्छन् । अन्य साधना, ध्यान गर्छन् । उनीहरू समरको हरेक बिहान ५ः३० बजे नै ब्युँझन्छन् । ब्रस गर्छन् । मेडिटेसन गर्छन् । चिया पिउँछन् र करिब एक घण्टा पाठ्यक्रमसँग सम्बन्धित विषयमा घोत्लिन्छन् । हरेक साँझ ९ः३० बजे निदाउने तापिरिचाका विद्यार्थीहरू शुक्रबार भने ऐच्क्षिक क्रियाकलापमा व्यस्त हुन्छन् । विद्याथीहरूको रुचिअनुसार कोही गीत गाउँछन् । कोही गीत लेख्छन्, कोही कविता लेख्छन्, कोही विद्यालयको पुस्तकालयमा आफ्नो रुचिअनुसारका पुस्तक पढ्छन् । कोही नृत्य गर्छन् त कोही खेल खेल्छन् । तापिरिचा माविको आँगनमा, गत असार महिनामा फोक्सुन्डो काव्य यात्राबाट फर्किंदा हाम्रो निम्ति विद्यालयले गरेको छोटो स्वागत कार्यक्रमको सन्दर्भ यसको गतिलो उदाहरणको रूपमा लिन सकिन्छ ।

केही मिनेटको अन्तरमा उनीहरूले रचना गरेको गीत, कविता र नृत्य हाम्रा लागि नयाँ त हुने नै भयो । साथै तापिरिचाबाट डोल्पा सदरमुकामको दुईदिने पैदलयात्राका लागि केही ऊर्जासमेत संकलन भएको थियो । तापिरिचा माविका केटाकेटीहरूले आधा घण्टाको समयमा पैदा गरेको सिर्जनात्मक झंकार बोकेर फोक्सुन्डो खोलाको डिलैडिल फर्क्यौँ हामी ।

प्रकाशित : पुस १२, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?