२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चुनाव हारेपछि किताब लेखें

किताब वार्ता
कृष्ण अचार्य

६ पटक अर्थमन्त्री भइसकेका रामशरण महत हाल व्यवस्थापिका संसद्मा छैनन्  । हालै उनको ट्रायल ट्रेमोर्स एन्ड होप– द पोलिटिकल इकोनमी अफ कन्टेम्पररी नेपाल’ किताब प्रकाशित छ  ।

चुनाव हारेपछि किताब लेखें

नयाँ किताब र अर्थराजनीतिक विषयमा केन्द्रित भएर कृष्ण आचार्यले महतसँग कुराकानी गरेका छन् :

यो किताब किन लेख्नुभएको ?
म केटाकेटिदेखि नै अर्थव्यवस्थामा चासो राख्ने मान्छे हुँ । सन् २००५ मा राजाले सत्ता कब्जा गरेपछि हाम्रो फुर्सदको दिन सुरु भयो । त्योबेला ‘इन डिफेन्स अफ डेमोक्रेसी’ किताब लेखेँ । राजाले ‘डमोक्रेसी’ कै बद्नाम गरेपछि मैले त्यसलाई ‘काउन्टर’ दिन पुस्तक लेखेको थिएँ । अमेरिकाको न्यु मेक्सिको युनिभर्सिटीले त्यो किताब विकासोन्मुख मुलुकको अर्थराजनीतिक विषयलाई ‘केस स्टडी’ अध्ययन गर्न पाठ्यक्रममा राखेको छ । यसपटक नुवाकोटबाट संसदीय चुनावमा हारेपछि फुर्सदको समय उपयोग गर्न अर्को किताब लेखौँ भन्ने लाग्यो । नेपालको वर्तमान अर्थव्यवस्था कसरी अगाडि बढिरहेको छ ? के उतारचढाव आइरहेका छन् ? कमी–कमजोरी के छन् ? अहिलेको सत्ताले कहाँ–कहाँ सुधार गर्नुपर्छ ? भन्ने विषयमा यो किताब लेख ।

तपाईं अर्थमन्त्री भएको बेला निजी क्षेत्रलाई अधिक सुविधा दिनुभयो र सरकारी संस्थान कौडीको भाउमा निजीकरण गर्नुभयो भन्ने आरोप छ । तर, तपाईंले किताबमा यसबारे प्रस्टसँग लेख्नुभएको छैन नि ?
ज्ञान नभएका मानिसहरू मलाई त्यो आरोप लगाउँछन् । कौडीको भाउमा मैले नै बिक्री गरेको हुँ र ? निजीकरणको काम भएको बेला म योजना आयोगमा थिएँ । तर, म निजीकरणको नीतिको पक्षमा थिएँ । वस्तुको भाउ बजारले निर्धारण गर्छ । प्रतिस्पर्धा गराएर, बजारले निर्धारण गरेको मूल्यमा निजीकरण भएको हो । ती उद्योग निजी क्षेत्रले पनि सञ्चालन गर्न सकेनन्, घाटा भइरह्यो । तर, निजी क्षेत्रलाई ठाउँ दिएपछि अन्य उद्योग खुल्न थाले । सरकारको एउटा चिनी उद्योग बन्द भयो, दर्जनौं अरू चिनी उद्योग खुले । एउटा छाला–जुत्ता कारखाना बन्द भयो, अहिले पचासौँ छाला–जुत्ता उद्योग खुले । विदेशमा समेत निर्यात भइरहेको छ । निजी उद्योगले सरकारी ढुकुटीमा पैसा पनि बुझाएका छन् ।


त्यो नीति गलत भएको भए लगानी वृद्धि भन्दै अहिले सरकार किन ठूलो–ठूलो स्वरमा कराइरहेको छ ? नेपालमा ढुक्क भएर लगानी गर्नुस् भनेर प्रधानमन्त्रीलगायत सबैजना भाषण गरेर हिँडिरहेका छन् । हामीले जुन नीति लिएका छौँ, त्यसलाई हाम्रा अलोचकले पनि अपनाइरहेका छन् । भारत, बेलायतमा मात्रै होइन, चीनजस्तो मुलुकमा समेत ६० हजार उद्योग निजीकरण भएको छ भनेर किताबमा लेखेको छु । बजार अर्थतन्त्रमा विश्वास गर्नेमध्ये सबैभन्दा ठूलो मुलुक चीन हुँदै छ । नेपालमा पनि निजीकरणले सरकारको राजस्व बढाएको छ । यो रकम देशको पूर्वाधार विकास, गरिबी निवारण, समाजिक विकास, पछाडि परेका वर्गका लागि खर्च गर्न सजिलो भएको छ ।

समाजवाद, उदारवाद र बजार अर्थतन्त्रको कुरा गर्दा एडम स्मिथ, डेबिड ह्युम, जोन लोकजस्ता शास्त्रीय उदारवादीहको चर्चा किताबमा उल्लेख छैन !
हरेक विषयको चर्चा जरुरी हुँदैन । समाजवादको अवधारणा कसरी सुरु भयो र अहिले यसले कसरी आकार लिएको हो भनेर किताबमा चर्चा गरेको हुँ । मैले चर्चा गरेको नीति सारा संसारले अँगालेको छ । नेपालका माओवादीले पनि समाजवाद भन्ने, अमेरिकाको वर्नी स्यान्डर्सले पनि समाजवाद भन्ने ? समाजवादलाई आ–आफ्नो ढंगले व्याख्या गर्ने काम भएको छ । तर, अहिलेको समाजवाद प्रजातान्त्रिक नीति नै हो, छ । जस्तो विश्वेश्वरप्रसाद कोइराला प्रजातन्त्र पनि चाहिन्छ, राजनीतिक र आर्थिक सन्तुलन चाहिन्छ भन्नुहुन्थ्यो । अवधारणा कसरी विकसित हुँदै आयो र सही अवधारणा के भन्ने मुख्य कुरा हो । हिजोको समाजवादको र आजको बजार अर्थव्यवस्थाको सकारात्मक पक्ष चाहिन्छन् । दुवैतिरका कमजोर पक्ष हटाउनुपर्छ भनेको हुँ ।

किताबको दोस्रो खण्डमा बीपीको समाजवादको चर्चा गर्नुभएको रहेछ नि !
बीपीको कुरा मात्रै छैन । नेपालको सन्दर्भमा समाजवादको पहिलो कुरा बीपीले गर्नुभएको हो । नेपाली कांग्रेसले सत्तामा आउँदा के गर्‍यो ? सामाजिक विकासका काम के–के गर्‍यो ? हामीलाई आलोचना गर्नेका गल्ती के थिए भनेर लेखेको छु ।

बीपी विचारधारको श्रेय लिन खोज्नुभएको हो ?
बीपी र कांग्रेसको दृष्टिकोणले मात्रै होइन, समग्र देशकै कुरा लेखेको छु । हामीले लिएका जुन नीति सही थिए, त्यसमा श्रेय लिनु स्वाभाविक हो । पार्टीका कुरा मात्रै लेखेको होइन । समाजवादको नीति के भनेर लेखेको हो । आफ्नो विचारधाराभन्दा माथि उठेर किताब लेख्नुपर्छ । नेपालमा आर्थिक सुधार कसरी सुरु भयो भन्दा सन् १९९० मा हामीले ल्याएको विचारधारा नै थियो । यसलाई हामीले ठीक भनेका छौँ । नेपालको रेमिट्यान्स अर्थतन्त्र, जलस्रोतको विकासको सन्दर्भ पनि छ यसमा ।

अर्थतन्त्रको नीतिगत तहमा लामो समय तपाईंले नै नेतृत्व गर्नुभयो । तर, विगतका हाम्रो कमजोरीको विषयमा धेरै चर्चा भेटिएन !
गरेको छु । माओवादीले अर्थतन्त्र कसरी ध्वस्त पार्‍यो भनेर लेखेको छु । माओवादीले १० वर्षसम्म र त्यसपछि पनि ६/८ महिना राजनीतिक अस्थिरता ल्याउने काम नगरेको भए मुलुक धेरै माथि जान्थ्यो । राजनीतिक अस्थिरता र द्वन्द्वले हामी धेरै पछाडि पर्‍यौं ।

माओवादीलाई मात्रै दोष लगाउने कुरा भयो नि यो त ?
त्यसोभए, माओवादीले ठीक गर्‍यो भनेर प्रशंसासहित लेख्नुपर्‍यो त !

कांग्रेसका पनि कमजोरी थिए होलान् ?
कांग्रेसमा मात्रै केन्द्रित भएर किताब लेखेको होइन । समग्रमा कमजोरी भनेको तीव्र राजनीतिक ध्रुवीकरण हो । दलीय राजनीति बढी भयो, उत्पादनमा ध्यान दिएनौँ । भाषणबाजीमा मात्रै ध्यान छ । पार्टीसँग नजिक भएको मान्छेलाई मात्रै अदालत, संवैधानिक निकाय र कर्मचारीतन्त्रमा राखियो । राजनीतिमा मात्रै ध्यान भयो, अर्थतन्त्रलाई भाषणमा मात्रै सीमित पारियो । व्यवहार र आचरणमा राजनीतिक रूपमा बलियो हुने काम गरियो । विद्यालय व्यवस्थापन समितिमा समेत पार्टीगत चुनाव हुने वातावरण बनायौँ । रेलका ठूला कुरा गर्ने तर काठमाडौंको सडकको हालत नहेर्ने काम भएको छ । यी सबैबारे अन्तिम खण्डमा लेखेको छु ।

यी सबै काम गर्न कांग्रेसले लामो समय सत्ता पाएको थियो त !
कांग्रेसका कमजोरी के, अर्कोको कमजोरी के भन्न खोजेकै होइन । देशमा घटना भए । त्यसको उथलपुथýलले के परिणाम ल्यायो ? माओवादी द्वन्द्व, शान्तिप्रक्रिया र संविधान निर्माणमा के–के भयो ? संविधान कस्तो छ ? संविधान कार्यान्वयन गर्ने चुनौती के–के छन् ? भूकम्पले हम्रो अर्थतन्त्रलाई के गर्‍यो भन्ने विषयमा केन्द्रित भएको छु ।

तपाईं अर्थमन्त्री हुँदा गठन भएको कर फर्स्योट आयोगको विषय पनि केही लेख्नुभएको रहेनछ !
सबै विषय किन लेख्ने ? कर फर्स्योट आयोग संसारमा जहाँ पनि व्यवस्था गरिएको हुन्छ । कर अधिकृतले गरेको काम चित्त बुझेन भने अदालत जाने, त्यहाँ दसौँ वर्ष लाग्न सक्छ भनेर सरकारले कानुन बनाएर अधिकारसम्पन्न आयोग बनाउने चलन छ । नेपालमा पनि कानुनअनुसार आयोग बनेको हो । मलाई स्वार्थवश विवादमा ल्याइएको हो । तपाईंहरूले निकाल्नुभएको रिपोर्ट पनि पूर्वाग्रही छ । मन्त्रालयमा शुद्ध ढंगले काम गरेको मान्छे हुँ म । यदि कसैले भ्रष्टाचार गरेको भए छानबिन गरे हुन्छ । सम्पत्ति हेर्ने कानुन छ ।

तपाईंचाहिँ कस्ता पुस्तक पढ्नुहुन्छ ?
धेरै पढ्न भ्याउँदिनँ । अर्थव्यवस्थामा चासो राख्ने भएकाले समय हुँदा आफ्नै विषयका पुस्तक पढ्छु । नेपालकै सन्दर्भमा नयाँ पुस्तकमा कहिलेकाहीं ध्यान जान्छ ।

अर्थ राजनीति विषयमा तपाईंलाई राम्रो लागेको कुनै पुस्तक ?
जोसेफ स्टिग्लिट्जको ‘पिपुल पावर एन्ड प्रोफिट’ निकै राम्रो लागेको किताब हो । नोबेल पुरस्कार विजेता उनी ‘लिबरल’ व्यक्ति हुन् । अहिले रिपब्लिकन पार्टीको खिलाफमा छन् । उनले लेखेको किताबको मुख्य उद्देश्य बजारबाट फाइदा लिनु भन्ने हुन्छ । फाइदा पिपुलका लागि हुनुपर्छ, बजारको उद्देश्य पिपुलको पक्षको हुनुपर्छ भन्ने यो पुस्तकको उद्देश्य हो ।
अर्को मन परेको पुस्तक ‘सिभिलाइजेसन : द वेस्ट एन्ड द रेस्ट’ हो । हावर्ड विश्वविद्यालयका प्रोफेसर नियाल फर्ग्युसन हुन्— लेखक । उनको किताबको केही कुरा मैले मेरो पुस्तकमा पनि लखेको छु । उनले ६ सय वर्षअगाडिसम्म पूर्वीयाहरूको सभ्यता पश्चिमाहरूको भन्दा धेरै माथि थियो भनेर लेखेका छन् । पश्चिमाको सभ्यता ६ सय वर्षयता निकै माथि गएको उनको किताबमा उल्लेख छ । यसपछाडि ६ वटा कारणको व्याख्या छ । कानुनी शासनको प्रजातन्त्र, बजारका लागि देश मात्रै होइन, विज्ञानको प्रयोग, औषधि उपचारमा उच्च गुणस्तर र प्रविधिको विकास, काम गर्ने कल्चर र बाँच्नका लागि काम होइन, काम गर्नका लागि बाँच्ने भनी लेखेका छन् किताबमा ।

सरकारले किताबको आयातमा १० प्रतिशत भन्सार महसुल लगाइदिएको छ । यसमा तपाईंको धारणा के छ ?
यो गलत काम हो । अर्थमन्त्री हुँदा मैले पनि एकपटक पुस्तक आयातमा कर लगाउन खोजेको थिएँ । युनेस्कोले पुस्तक आयात–निर्यातमा भन्सार महसुल लगाउन पाइँदैन, शून्य भन्सार महसुल हुनुपर्छ भनेको रहेछ । यो थाहा पाएपछि फिर्ता लिएँ । नेपालका छपाइ उद्योगको संरक्षणका लागि यो काम गरिएको भनिएको छ । यदि उनीहरूलाई प्रोत्साहन गर्ने हो भने, कागज आयातमा भन्सार छुट दिँदा हुन्छ । विदेशबाट आउने पुस्तकलाई कर लगाउन हुँदैन ।

प्रकाशित : पुस १२, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?