कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नदीहरूको मृत्यु

अरुण गुप्तो

स्प्रिङ, समर, ओटम र विन्टर विभाल्दीको ‘द फोर सिजन्स’ भन्ने भायलिन कन्सर्टीका ऋतुहरू हुन्  । विन्टर कोन्सर्टोमा विन्टरको कथालाई लिएर उनले गीत र संगीत रचना गरेका थिए  ।

नदीहरूको मृत्यु

यो ‘अलेग्रो नोन मोल्तो’, ‘लार्गो’ र ‘अलेग्रो’ गीतको वेगसँग सम्बन्धित छ । उनले विन्टरको मध्यम वेगलाई मन पराएजस्तो छ । हिउँदको जम्ने र कपाउँने बर्फिला बाटामा छिनछिनमा खुट्टा बजाइरहनु र दाँत कँपाइरहनु यो शीत ऋतुको दृश्य हो । काठमाडौंको हिउँदको दृश्य यस्तो थियो होला । हिमालका गाउँमा यस्तै होला । तराईको शीतमा धूलोमिश्रित कुहिरो अबका दृश्य हुन्छन् । विभाल्दीको संगीतबारे युरोप सहरका केटाकेटी बुझ्न चाहन्छन् । काठमाडौंका ठाउँठाउँमा भेटिने कार्बनको तीव्र गन्ध, धूलो र चिसो हावाको गन्धले विकृत संगीत पनि निर्माण गर्दैन ।

शीतलाई हामीले कसरी बोध गर्ने ? धूलो र कार्बनको गन्ध, घाँटी च्याप्ने वायु, आँखामा हुने ज्वलनबाट ? विभाल्दीको संगीत हाम्रा लागि असान्दर्भिक हो । काठमाडौंजस्ता सहरका लागि त झनै असम्भव । शीत ऋतुको तीव्र अथवा मध्यम वेग बोध हुनु सम्भव छैन । पर्यटकहरू के भन्छन्, मलाई थाहा छैन । धेरै त काठमाडौंमा बस्दैनन्, हिमालतिर लाग्छन् । हामीसँग पर्यटनको विषय क्लाइमेट चेन्ज, हामी र हाम्रो राजनीतिका विषय हुन् । पर्यटनको विषय राजनीति र पर्यावरणशास्त्र दुवैसँग जोडिएको छ । त्यसैले पर्यटनसँग पोलिटिकल इकोलोगी जोडिएको छ । पोलिटिकल इकोलोगी बुझ्नु पर्यटन, समुदाय, राजनीति र पर्यावरणबीचको सम्बन्ध बुझ्नु हो ।
यो लेख मैले हालै अध्ययन गरेका दुई किताबबाट प्रभावित छ— सञ्जय नेपाल र जार्को सारिनेनका ‘पोलिटिकल इकोलोगी एन्ड टुरिजम’ पढ्नलायक महत्त्वपूर्ण किताब हुन् । उनीहरूले समुदायका कुरालाई क्रिटिकल रूपमा छलफल गरेका छन् । डेबिड नेउसुम, सुजन मुर र रोस दौलिङका ‘नेचुरल एरिया टुरिज्म’ पनी पढ्नयोग्य किताब हुन् ।

समुदायले बुझेको वातावरण एउटा क्षेत्रविशेषको ज्ञान हो । उसको क्षेत्रको विनाश समुदायको विचारको विनाश हो । हामीले अत्मसात् गर्ने कुरा साधारण छ, दुई रूख नलगाई एउटा बिरुवा पनि काट्न सकिँदैन । पोलिटिकल इकोलोगी सामाजिक, सामुदायिक वातावरणीय विचार हो । काठमाडौं अथवा विराटनगरको एउटा पोखरी पुर्नुभन्दा पहिले, यी सहरको सामुदायिक चेतना बुझ्नुपर्छ । यो चेतना सहरको इतिहासमा बसेको हुन्छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णयमा सामुदायिक चेतनालाई सम्मान नदिनु क्लाइमेट चेन्जको कारणमध्ये एउटा मुख्य कारण हो ।

राचेल कर्लसनको ‘साइलेन्ट स्प्रिङ’ को सानो उपाख्यान सम्झन्छु— अमेरिकाको मध्यमा एउटा सानो सहर थियो, जहाँ सबै प्राणी वातावरणसँग सामञ्जस्यमा बसेका देखिन्थे । त्यो सहर चेस बोर्डजस्तै खेतहरूको मध्यमा थियो, जहाँ गहुँबालीको भूमि र गिरिपार्स्व (सानो पहाड) का फूल बगैंचा थिए । स्प्रिङ ऋतुमा हरिया मैदानमाथि पुष्पका सेता बादल बग्थे । अटममा ओक वृक्ष, म्यापेल र बिर्च (रूख) ले यस्ता रङ निर्माण गर्थे, पाइन रूखहरूका पृष्ठभूमिमा त्यो प्रज्वलित हुन्थ्यो र धिपधिप बल्थ्यो । शिशिर ऋतुमा अर्ध–लुकेको तुँवालोको बिहान डाँडामा फ्याउरो भुक्थ्यो र हरिण आनन्दले खेत पार गर्थे ।

समुदायको विचार उसको वातावरणसँग सम्बन्धित हुन्छ । काठमाडौंको समुदाय उसको वतावरणीय मनस्थिति हो । राचेलले कल्पना गरेका सहर धेरै छन् । तर, यस्तो सहरको कल्पना गर्नु नै पर्दैन । स्याल कराएको राति, ९ बजेपछि छोरीलाई प्राम (नानीहरूलाई राखेर गुडाइने कुर्सी) मा राखेर हामी रिङरोडतिर हिँड्थ्यौं । अलिकति रूखको समूह हुनेबित्तिकै लाटोकसेरोको हुट सुनिन्थ्यो । अलिकति रिंगरोड छोड्नेबित्तिकै क्रिकेट (कीराको प्रजाति) हरूको संगित सुनिन्थ्यो ।

मौसम परिवर्तनका अन्तर्राष्ट्रिय समस्याबीच काठमाडौंमा अनेक समस्या थपिएका छन् । यो अर्कटिकको बरफ पग्लिनेजत्तिकै समस्या हो । एउटा रूखको विनाश उसको वरिपरिका लाखौं जीवनरूपको मृत्यु हो, जसको फल अरू समय र परिस्थितिमा भयानक रूपमा देखापर्छ । बाहिरी रूपमा केही देखापर्दैन । तर, अन्तरिक संरचना एक प्रकारको विश्वव्यापी सहयोजन हो । यही नदेखिने प्रणाली भन्नु प्राकृतिक वस्तु, जीवजन्तु सम्पूर्ण रूपमा एकअर्काका भाग हुन् । यो संरचनामा क्षति हुनेबित्तिकै नराम्रो परिणाम तुरन्तै देखिँदैन । यसलाई केओस थ्यौरी भनिन्छ ।

काठमाडौंका नदीहरूको मृत्यु भइसकेको छ । नदीहरूको मृत्युको मुख्य कारण संसारका सहर हुन् । मानवीय विकासको गरिमा यी सहर नै हुन् । तर, हामी अब केही सुधार गर्न सक्दैनौँ । यी सहरहरू केओस थ्यौरीका जन्मथलो हुन् । भुपेन हजारिकाले ‘गंगा तुम बहती हो क्यूँ’ गाएका छन् । यो वाग्मतीको गीत हो, नाइल नदीको पनि गीत हो । यस्ता गीत अब अर्थहीन छन् । नदीहरूको गीत मन्दिरको सहरमा पुगेर अन्त्य भएको छ । अब ग्लास्गोमा फेरि नाटक हुन्छ । भर्खरै एन्टेनिओ गुटेरेस खिन्न भएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले एउटा मौका फेरि गुमाएको छ । अमेरिका, ब्राजिल, भारत र चीनले महत्त्वाकांक्षी उद्देश्यलाई नकारेको देखिएको छ । कार्बन नियन्त्रन हुन गाह्रो छ ।’

अब के उपाय छन् ? एक दिनको कथा भन्छु । कथा नै उपाय हो । बुद्धको जन्मस्थान मेरो गाउँबाट धेरै टाढा छैन । मेरो गाउँको नाम बहादुरगन्ज हो । बौद्ध चेतना भएका वृद्ध अहिले पनि छन् त्यहाँ । रहमत धेरै वर्षपहिले नै संसार छोडिसकेका फकिर थिए । मेरो आमासँगको कुराकानी अहिलेसम्म याद छ । पूर्व–पश्चिम राजमार्ग बनाउँदा, कृष्णनगरदेखि चन्द्रौटासम्मको लिन्करोड पनि निर्माण सुरु भएको थियो । रहमत बुबाको क्लिनिकमा मुटु दुख्यो भनेर आए । बुबाले भने, ‘तिमीलाई केही रोग छैन ।’ अचम्म परेर रहमत मेरी आमालाई भेट्न गए । र, भने, ‘रातिको सपना धेरै डरलाग्दो थियो आमा । म ठूलो वृक्षमा फल टिप्न जाँदा, एउटा हाँगा भाँच्चियो । तर, मलाई केही भएन । हाँगाको आर्तनाद अहिलेसम्म सुन्दै छु, काम गर्न मनै छैन ।’ आमा हाँस्नुभयो, ‘रूख काटेको असह हुन्छ तिमीलाई । उता सडक निर्माणतिर नजाऊ ।’

रहमत बुबालाई विपनाको र आमालाई सपनाको कुरा सुनाउँथे । म उनको कुन सपना सही हो भन्दै हुर्केको छु । दुइटैको महत्त्व बुझ्छु । बुबाले उनलाई औषधि नदिनुको कारण पनि बुझेको थिएँ । समुदाय धेरै जटिल संरचना हो । पोलिटिकल इकोलोगीले यो संरचना बुझ्न सक्दैन । पोलिटिकल इकोलोजीले आर्थिक, सामाजिक विषयको सम्बन्ध वातावरणसँग छ भन्ने तथ्य त बुझाउँछ तर समुदाय सपना र विपनाको सम्मिश्रणबाट बनेको छ भन्ने कुराबाट अनभिज्ञ छ ।

मिथक, इतिहास, स्मृति, अनुष्ठानजस्ता अनेकौं स्वप्न र विपनाको मिश्रण हो समुदाय । पोलिटिकल इकोलोगी एउटा भव्य कथा हो, जसको जरो सामाजिक–सामुदयिक संरचनाबाट अलग भएर सफल हुन सम्भव छैन । तर, शब्दकोशीय समस्या छ । काठमाडौंको समुदायले मलाई धेरै चकित पार्छ । म मेरा विद्यार्थीसँग धेरै घुमेको छु । बोडेदेखि चापागाउँ, कीर्तिपुरदेखि धुलिखेलसम्म । शब्दकोशमा कुनै पनि समुदायको व्याख्या सटीक नै हुन्छ तर काठमाडौं या दाङका नेवार, वीरगन्जका मैथली, पोखराका गुरुङ अथवा बुटवलका बाहुन समुदाय शब्दकोशीय व्यख्याबाट सीमित धारणा ल्याउँछन् ।

त्यसैले विभाल्दी म्याड्रिडको सम्मेलन बुझ्दैनन्, रहमतको चिन्तन बुझ्छन् । पोलिटिकल इकोलोगीले टुरिज्मलाई राम्ररी बुझाउँछ र डिस्कोर्समा ल्याउँछ । दुवैको मध्यमा समुदाय छ । २०२० को वर्ष नेपालको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ । म्याड्रिडको सीमितता र विकासको आकांक्षाले काठमाडौंको कार्बन घट्न दिँदैन ।

रहमत भन्थे, ‘पैगम्बर मोहम्मद, मक्काबाहिर धेरै दिन खजुरको रूखमुनि बसेका थिए, ध्यानमग्न ।’ इस्लामको चिन्तन यस्तै रूखमुनि र गुफाहरूभित्रका अलौकिक चेतनाबाट आएको हो भन्ने रहमतको विचार थियो । रचेल अन्तिममा लेख्छिन्, ‘जहाँ दुइटा सडक छुट्टिन्छन्, हामी त्यहाँ उभिएका छौं ।’ तर, रोबर्ट फ्रर्स्टको परिचित कविताजस्तो सन्तोषजनक सडक छैन, जुन सडक हामीले हिँडिरहेका छौं, त्यो सडक भ्रामक रूपमा सरल छ, एउटा सर्लक्कको सुपर हाइवे, जसमा हामी तीव्र बेगले हिँडिरहेका छौं तर त्यसको अन्त्यमा विनाश छ । सडकको अर्को मोड, ‘कम हिँडेको बाटो’ ले पृथ्वीलाई बचाउने भरोसा दिन्छ । पोलिटकल इकोलोगीले यस्ता विचारलाई समावेश गर्न सक्दैन भने म्याड्रिड सम्मेलनको सार्थकता हुँदैन । कैजर हक, बंगलादेशका प्रसिद्ध कवि हुन् । उनको कविताको अंश नेपालीमा अनुवाद गर्न कोसिस गर्छु :

यदि हामी
भनौँ कि
कुरा यस्तै छ
हामी कि आफूलाई जगाउन सक्छौ
कस्टप्रद रूपमा
अलिअलि गरी
योग्य हुनुसम्म

‘योग्य हुनु’ संगीतको बुझाइसम्मको कठिन बाटोमा हिँड्नु हो । सहरबाट पोखरी, जंगल, पहाड, समथर, डाँडाकाँडा जाने बाटो बिराउनुलाई पोलिटिकल इकोलोगीले स्पस्ट पार्न सक्दैन । मलाई लाग्छ, सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ पोलिटिकल इकोलोगीको मर्म बुझेको कथा हो । पर्यावरणीय समस्या पोखरीबाट सहरतिर आएको छ । यो सिद्धान्तले समुदायको सीमित व्याख्या गरिदिँदा, प्रकृतिप्रतिको हाम्रो संरचनात्मक झुकाउलाई अलग्याउँछ ।

एउटा रूख ढलेको हेर्दा मुटु काम्छ । अमेजनमा त हजारौं रूख जलेका छन् । त्यहाँका आदिवासी समुदायलार्ई के भयो होला ? त्यहाँ पनि होलान्— हजारौँ रहमत । उनीहरूको सामुदयिक सपनामाथि को घोत्लिन्छ होला ? गायत्री स्पिभाकको भनाइ सधैं सम्झिन्छु, ‘धेरै गाह्रो छ— भन्दै जाऊ, लेख्दै जाऊ, सजिलो बाटोबाट हामी हिँड्दैनौँ ।’

सल्लक परेको गाडी र ट्रेन दौडाउने बेगअघि हिउँदको जम्ने र कँपाउने बर्फिला बाटोहरूमा छिनछिनमा खाली खुट्टा हिँडिरहनु अविकसित मानसिकता हो भनिन्छ । खाली खुट्टा दगुर्ने गाउँको त्यो केटालाई एकै छिनको लागि भए पनि फर्काउने मन छ । विभाल्दीको गीतको सर्थकता र सञ्जीव उप्रेतीको ‘पोखरी’ को गम्भीरता बुझ्न पोलिटिकल इकोलोगीले मात्र हुँदैन । खाली खुट्टाले बरु सम्भव होला कि ?

प्रकाशित : पुस १२, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?