क्रस क्रस क्रस पार्टी

कृष्ण धरावासी

सायद यस्तै सन् ७२/७३ तिरको कुरा हुनुपर्छ  । म सञ्जीवभन्दा दुई वर्ष जेठो भए पनि लुते तथा पुड्को भएकाले उनीभन्दा मै सानो देखिँदो हुँ  ।

क्रस क्रस क्रस पार्टी

उनीचाहिँ लुते र सुलुत्त परेका थिए । हामी त्यस्तै नौ–दस वर्षको छेउछाउमा थियौं होला । त्यसबेला भारत र पाकिस्तानको युद्ध भइरहेको थियो । एकएक छिनमा पूर्वतिरबाट बत्तिएर आएका भारतीय युद्ध विमानहरू हाम्रो आकाशमाथि उड्न थाल्थे । फाइटर आयो फाइटर भनेर मानिसहरू डरले घरभित्र लुक्न थाल्थे । साँझमा अल इन्डिया र रेडियो सिलोनले ‘बत्ती बुझाओ बत्ती बुझाओ’ भन्थ्यो र हतारहतार घरघरमा बत्ती निभाइन्थे । हुन त त्यो लडाइँ हाम्रो देशसँग थिएन तर युद्ध विमानहरूले सायद जानीजानी नै हाम्रो देशको हवाई सीमाको अतिक्रमण गर्थे होलान् ।

युद्धको आतंकले ठूला मानिस त्रसित थिए होलान् । त्यसरी फाइटर हाम्रो आकाशमा कहिले माथि कहाँ हो कहाँ, कहिले टाउकैमा खस्लाजस्तो भएर उडेको हेर्न कत्ति हो कत्ति मज्जा लाग्थ्यो । यहाँ करायो भनेर हेरिसक्दा कहाँ पुग्थ्यो कहाँ ! हामी भुरा पनि युद्धमय भएका थियौं तर मलाईचाहिँ त्यो युद्धबारे त्यस्तो धेरै कुरा थाहा थिएन । हाम्रोमा रेडियो पनि थिएन । घरमा अन्तर्राष्ट्रिय कुरा बुझ्ने मानिस पनि थिएनन् । पत्रपत्रिकाको चलन पनि थिएन ।

सञ्जीवको घरमा त सबै थोक थियो । रेडियो पनि थियो, भारतीय पत्रिका पनि थिए । डा. बा (शंकरप्रसाद उप्रेती) ले भारतबाटै एमबीबीएस गर्नुभएकाले पनि उहाँलाई यो युद्धबारे बढी चासो थियो नै होला । डा. बाबाटै जानेर होला, सञ्जीवले नै मलाई यो युद्ध के हो र किन भइरहेको छ भनेर सुनाउँथे । उनले भनेका कुरा मलाई आमाले बेलुका सुनाउने गरेका कथाजस्ता लाग्थे । म उनका कुरा सुन्दासुन्दै कल्पनाको संसारतिर घुम्न थाल्थेँ । मलाई सञ्जीवले भनेका सबै कुरा सत्य लाग्थे र पत्याएका तिनै कुरा म पनि घरमा लगेर सुनाउँथें । आमाबुबाले त पत्याउँथे कि पत्याउँदैनथे, मभन्दा साना बहिनीहरू र गाउँका अरू स्कुल नजाने साथीहरू ती कुरा सुनेर दंग पर्थे । म उनीहरूलाई ती कुरा सञ्जीवले भनेको नभनी आफैंले जानेको भनि सुनाउँथें र उनीहरू मसँग झन् छक्क पर्थे ।

म अरूलाई दंग पार्थें । तर, मलाई सञ्जीवले दंग पार्थे । सञ्जीवले भनेका कुनै कुरामा पनि म शंका गर्दिनथें । म उनलाई अन्धो विश्वास गर्थें । मैले उनलाई त्यसरी विश्वास गर्नुमा उनको घरको साधन र स्रोतको प्रभाव थियो । कहिलेकाहीं डा. बा हामीलाई छेऊमा राखेर ठूला मानिससँग गरेजस्तो कुरा गर्नुहुन्थ्यो । त्यसकारण पनि मलाई लाग्थ्यो, सञ्जीवले नजानेको केही छैन । हुन पनि त्यसबेलाको मेरो अनुभवमा, त्यो उमेर समूहमा उनले नजानेको भन्ने केही थिएन पनि । जुनसुकै विषयको पनि उत्तर हुन्थ्यो उनीसँग ।
एक दिन सञ्जीव र म उनकै स्टडी रुममा पढिरहेका थियौं । उनले एकाएक आफ्नो छाती थिचेर ऐया... भने । कसैले केही पनि नगरी ऐया... भनेको सुनेर म अलमल्ल परें । उनले एक छिनसम्म छाती समातिरहे । मलाई डर लाग्यो । छाती दुखेको कुरा बुबालाई भनौं भनी उनीसँग सोधें । उनले बिस्तारै भने, ‘यो कुरा बुबालाई भन्नु हुँदैन । यहाँ मलाई गोली लागेको छ । यो कुरा बुबा–आमालाई थाहा छैन ।’ यो सुनेपछि म झन् आत्तिएँ । अनि मैले ‘खै कहाँ, हेरौं त !’ भनें । उनले भने, ‘यो त्यसरी पनि हेर्न मिल्दैन । भर्खरै दबाई गरेको छ । कसैलाई देखाउन मिल्दैन ।’

उनको कुराले म झन् अचम्मित भएँ । मैले फेरि सोधें, ‘कसरी गोली लाग्यो त ? कसले हानेको गोली ?’ उनले बिस्तारै भने, ‘यो भारत–पाकिस्तानको लडाइँको बेला लागेको हो ।’ मैले भनें, ‘त्यो लडाइँ त भर्खरै भइरहेको छ । तिमीलाई कसरी लाग्यो ?’ उनले भने, ‘भारत र पाकिस्थानको लडाइँ पहिले पनि भएको थियो । त्यतिबेला म भारतीय सेनामा थिएँ । मैले फाइटर उडाउनुपर्थ्यो । मेरो फाइटरले पाकिस्तानी सीमा नजिकै पुगेर बम खसाल्दै गर्दा तलबाट हानेको गोली मेरो छातीमै लाग्यो । मैले हतारहतार फाइटर फर्काएर ल्याएँ । अनि अस्पतालमा उपचार गरेर फिर्ता पठाएका नि !’

म ट्वाल्ल परें । मेरो साथी त्यसरी मर्दामर्दै बाँचेकोमा खुसीले उफ्रौंजस्तो भयो । उनका कुराले म झन् आकषर््िात भएँ । अनि सोधें, ‘अनि तिमी त्यसरी लडाइँमा गएको आमाबुबालाई थाहा भएन ?’ उनले भने, ‘म लुसुक्क लुकेर गएँ नि । कसैले पनि थाहा पाएनन् । थाहा पाएको भए त मारिहाल्थे नि !’ उनको त्यो कुरा सुनेपछि अब त झन् मैले कसैलाई भन्नै नहुने भयो । डा. बा र आमाले त झन् थाहा पाउनै भएन !

त्यो कुरा मैले निकै पछिसम्म नै पत्याएछु । आज पनि मलाई त्यो कुरा पत्याइरहन मन लाग्छ ।

हुन त हरेक बच्चामा स्वैरकाल्पनिक क्षमता प्रशस्त हुन्छ तर त्यो पछिसम्म कत्तिको रहन्छ भन्ने कुरा मुख्य हो । कल्पना त म पनि गर्थें तर त्यसरी पत्याउन सक्ने पाराले भन्ने क्षमता थिएन । त्यस्तै कक्षा चारतिर थियौं होला । एक दिन सञ्जीवले भने, ‘मैले पानी पार्ने बम बनाएको छु । हेलिकप्टरबाट माथि आकाशमा लगेर पड्कायो भने तुरुन्त पानी पर्छ । तर, त्यो पड्काउन लैजाने हेलिकप्टर किन्ने पैसा मसित छैन । पछि ठूलो भएर पैसा कमाएपछि म हेलिकप्टर किनेर त्यो बम पड्काउँछु ।’ यो कुरो पनि मैले पत्याएँ । म किन पत्याउँथे भने सञ्जीव ढाँट्दैनन् र उनले त्यो गर्न सक्छन् भन्ने लाग्थ्यो । अर्थात् उनी मेरो हिरो थिए । हिरोले नसक्ने के हुन्छ र !

एक दिन उनले भने, ‘अब हामीले फलाम सिलाउने मेसिन बनाउनुपर्छ ।’ अनि कैयौं दिनसम्म फलामका टुक्रा, फलामका तार र खापसियो भेला गर्यौं । यो टिममा चाहिं एक जना मारवाडी साथी पनि थिए— भिखमचन्द्र मित्तल । गोदामपछाडि हामीले प्रयोगशाला बनाउने भयौं । केही दिन कोसिस गरेको, काम भएन । अनि त्यसको सिद्धान्त बनाउने जिम्मा हामीले सञ्जीवलाई दियौं । तर, अहिलेसम्म पनि उनले हामीलाई त्यो सिद्धान्त बनाएर दिएका छैनन् । यस काममा उनी ढिला भए ।

फेरि एकपल्ट हिमाल चढ्ने कुरा लिएर आए । उनले भने, ‘हिमालमा यति मानव हुन्छ । त्यसलाई कसैले पनि देखेको छैन । मैले भेटेको छु । त्योसँग मैले कुरा पनि गरेको छु । त्यो धेरै अग्लो हुन्छ । त्यसले मेरो साथीसँग पनि भेट्छु भनेको छ । अब भिखम र तिमी पनि मसँग हिमाल जाऔं ।’ हामी जाने भयौं । अनि उनले भने, ‘हिमाल चढ्नुअघि पहिला चढ्ने अभ्यास गर्नुपर्छ । भोलि गुड फ्राइडेमा हिमाल चढ्ने अभ्यास गर्न जाऔं ।’ अनि शुक्रबार आधा दिनको बिदापछि हामी बिरिङ खोलातिर गयौं । त्यहाँ नदीले काटेर अग्लोअग्लो भीर बनाएको थियो । हामी त्यही भीर चढ्न थाल्यौं । कैयौंपल्ट चिप्लेर लड्यौं । कैयौंपल्ट धसारिएर घुँडा र पिंडुलाका छाला पिल्स्यायौं र बेलुका गलेर लखतरान भई घर फर्क्यौं । अनि भिखम र मैले हिमाल चढ्न गाह्रो मानेपछि त्यो दिन स्थगित भएको हाम्रो हिमाल आरोहण आजसम्मै अलपत्र छ ।

सञ्जीवको कल्पनाशक्ति बेजोडको थियो । सानैदेखि उनका लागि घरमा अंग्रेजी भाषाका बालसाहित्यका किताबहरू ल्याइएको हुन्थ्यो । उनी ती कथाहरू पढेर हामीलाई फररर सुनाउँथे । उनी कथावाचक र हामी श्रोता हुन्थ्यौं । पछि मैले पनि बुझ्दै गएँ, उनी कतिपय तिनै अंग्रेजीका बालकथा आत्मपरक ढंगले हामीलाई सुनाउँदा रहेछन् । हुर्किंदै गएपछि उनको पढ्ने पुस्तकको स्तर पनि बढ्दै गयो । अब हामी जासुसी किताब पढ्ने भयौं । मचाहिं हिन्दीका जासुसी किताब पढ्थें, उनी जेम्स हेड्ली चेजका अंग्रेजी जासुसी उपन्यास पढ्थे । जासुसी उपन्यास पढ्न थालेपछि अब हामी अपराधी पत्ता लगाउने हुने भयौं । एउटाले अपराध गर्ने र अर्कोले त्यो अपराध पत्ता लगाउने खेल खेल्न लाग्यौं । उनले गरेको अपराध पत्ता लगाउन हामीलाई निकै बेर लाग्थ्यो, हामीले गरेको अपराध भने उनी एकै छिनमै पत्ता लगाउँथे ।

एकपल्ट स्कुलमा फुटबल खेल्ने साथीहरूका प्यान्टहरू हराउने र अर्को दिन भेटिने हुन थाल्यो । यो क्रम झन्डै एक हप्तासम्म चलिरह्यो । स्कुलमा ठूलै खैलाबैला हुन थाल्यो । खैलाबैला हुनुको मुख्य कारणचाहिं हराएका प्यान्टका गोजीमा धम्कीपूर्ण चिट्ठीहरू हुन्थे र ती चिट्ठीको पुछारमा धम्की दिनेले ‘क्रस क्रस क्रस पार्टी’ लेखेको हुन्थ्यो । त्यो घटनाले गम्भीर रूप लियो । त्यो चिट्ठी पुलिसको हातमा पनि पुग्यो ।

त्यसपछि पनि प्यान्ट हराई नै रह्यो । सञ्जीव र म पनि छक्क परेका थियौं ! हामीभन्दा पनि बाठो र खतरा स्कुलमा को आयो भनेर हामी चकित थियौं ।

त्यहीबीच एक दिन चौथो घण्टी लागिसक्दा–नसक्दै विभिन्न कक्षाका विद्यार्थी गुरुरुरुरु दौडेर अफिसतिर गएको देखियो । म पनि दौडिएर भीडमा खाँदिँदै झ्यालको डन्डी समाउन पुगें । भित्र कोठामा प्रध्यानाध्यापकलगायत अधिकांश सर एकमुख लाएर सञ्जीवलाई हप्काइरहेका थिए । एक छिनसम्म मैले केही बुझिनँ । सधैं स्कुलको बोर्ड फस्ट हुने साथीलाई सरहरूले त्यसरी हकार्नुपर्ने कारण के रहेछ ! उनको र मेरो कक्षाको सेक्सन फरक भएकाले उनलाई कक्षाबाट निकालेर लगेको मैले देख्ने कुरै भएन ।
हेडमास्टरले सबै सरलाई एउटा कागज पालैपालो देखाउँदै सोध्दै थिए, ‘के यी अक्षर यसका हैनन् त ?’ स्कुल–फस्ट हुने विद्यार्थीको अक्षर कुन शिक्षकले चिन्दैनन् र ? तर, सञ्जीव भन्दै थिए, ‘ती अक्षर मेरा हुँदै हैनन् । कसैले मेरा अक्षरको नक्कल गरेको हुन सक्छ ।’ तर, कुनै शिक्षक उनको तर्क सुन्नेवाला थिएनन् । अन्त्यमा सञ्जीवले भने, ‘नपत्याए कृष्णलाई सोध्नु, यी अक्षर मेरा हुन् कि हैनन् !’

हेडमास्टर ठूलो स्वरले चिच्याए, ‘कृष्ण भट्टराईलाई यहाँ बोला ।’

म भीड छिचोल्दै अफिसभित्र पसें । हेडमास्टरले त्यो कागज मलाई देखाए, ‘भन् यी अक्षर कसका हुन् ?’

मैले कागज हेरें । अक्षर शतप्रतिशत सञ्जीवका थिए । तर, मैले दायाँबायाँ केही सोचिनँ । तुरुन्त भनें, ‘खै कसका हुन् ! म चिन्दिनँ सर ।’

मेरो कुराले अफिसको वातावरण शान्त भयो । सायद सरहरूले मबाट त्यस्तो उत्तरको आशा गरेका थिएनन् । हेडमास्टरले फेरि सोधे, ‘नडराई, नढाँटी भन् । के यी सञ्जीवका अक्षर होइनन् ?’ मैले उसैगरी निर्भीक भएर भनें, ‘हैनन् । यी अक्षर सञ्जीवका हैनन् ।’
मुद्दा अलमल्ल पर्‍यो । हेडमास्टरले सबै विद्यार्थी र शिक्षकलाई कक्षाकोठामा पठाए । सञ्जीवलाई पनि पठाए । र, मलाई एक्लै पारेर फकाए । तर, मैले आफ्नो बयान पटक्कै फेरिनँ ।

अन्त्यमा मलाई पनि हेडमास्टरले कक्षामा पठाए । त्यसबेलासम्म पनि किन सञ्जीवलाई त्यसरी केरेका हुन्, बुझेको थिइनँ । कक्षामा आएपछि थाहा पाएँ– फुटबल खेल्ने साथीहरूको प्याण्ट लुकाउने र धम्कीपूर्ण चिट्ठी लेख्ने आरोप सञ्जीवलाई लागेको रहेछ । अक्षरबाट उनी पक्राउ परेका रहेछन् ।

स्कुल छुट्टीपछि म सञ्जीवसँगै उनको घर गएँ । बाटोमा मैले उनलाई सोधें, ‘सबै कुरा सत्य भन । त्यो प्यान्ट लुकाउने र धम्कीपूर्ण चिट्ठी लेख्ने तिमी नै हौ ?’ सञ्जीवले सानो स्वरमा भने, ‘हो, त्यो सबै मैले नै गरेको हुँ ।’ म अब झन् तीन छक्क परें । सँगैको साथीले लगातार त्यसो गरिरहेको कुरासमेत मलाई थाहा रहेनछ । पछि घरमा गएर उनले सबै घटना डा. बालाई फरर्र सुनाए । बा ट्वाँ परेर हेरेको हेर्‍यै भए ।

सञ्जीवको कल्पना र प्रयोग गर्ने शैली बाल्यकालदेखिकै हो । आज पनि उनी आफ्नो लेखनमा निरन्तर प्रयोग गरिरहन्छन् । सञ्जीवले मलाई सधैँ छक्क पारे । आज पनि पारिरहेकै छन् । ‘आलु, नौनी र कफी’ मा एक छक्क, ‘घनचक्कर’ मा दुई छक्क, ‘हंस’ मा तीन छक्क ! उनको पछिल्लो किताबको नाम ‘हाँसको कथा’ थियो । पछि त्यो छापिँदा ‘हंस’ भएछ । ‘हंस’बारे त मैले लेख्नै बाँकी छ । कुनै दिन लेखुँला ।

प्रकाशित : पुस ५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?