१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रेम–यौनको राजनीति

धनकुमारी सुनार

सन् १९०३ मा फ्रान्समा जन्मेकी सिमोन डी बोउवार प्रेम, यौन र महिला मुक्तिबारे विगुल फुक्ने लेखक हुन्  । महिला उत्पीडनको चिरफार गरेकी सिमोनलाई विवाह–संस्थामा विश्वास थिएन  ।

प्रेम–यौनको राजनीति

अविवाहित रहे पनि उनी अस्तित्ववादका प्रवर्तक ज्याँ पाल सार्त्रसँग प्रेम र यौन–सम्बन्धमा रहिन् । सार्त्र र सिमोनको जीवनमा पटक–पटक तेस्रो व्यक्ति आए पनि उनीहरूबीच माया र विश्वास कायम रह्यो ।

अर्की ऐतिहासिक व्यक्तित्व रोजा लक्जमबर्ग हुन्, जो पोल्यान्डमा सन् १८७१ मा जन्मिएकी मार्क्सवादी अभियन्ता हुन् । उनी पहिले पार्टी नेता लियो जोगिचेवसँग प्रेम–सम्बन्धमा थिइन्, पछि आत्मीय मित्र क्लारा जेटकिनका छोरा तथा अर्थशास्त्री एवं अभियन्ता कोत्सा जेट्किनसँगको रिलेसनमा थिइन् । उनको तर्क थियो, के प्रेम–सम्बन्ध वैवाहिक संस्थामा प्रवेश गर्न आवश्यक छ ? कानुनी सर्तमा बाँधिएर वैवाहिक जीवन जिउनु महिला पुरुषको नियति हो ?

यी युगान्तकारी महिलाले पितृसत्ताले बनाएका प्रेम, यौन, विवाह र परिवारसम्बन्धी कानुन र परम्परालाई चुनौती दिए । साहित्यकार पारिजातले पनि विवाह नगरी आफू प्रेम र यौन–सम्बन्धमा रहेको तथ्य सार्वजनिक गर्दै चुनौती दिएकी थिइन् ।

पाखण्डी समाज र विषकन्या
नेपाली समाजमा प्रेम र यौन–सम्बन्धलाई ‘ट्याबु’ (निषेधित विषय) बनाइएको छ । त्यसैले पुरुषको यौन–कुण्ठा ६ महिने बालिकादेखि ९० वर्षको वृद्घाको बलात्कार र हत्यामा पोखिएको छ । महिला शरीर सहकर्मी, आफन्त, प्रेमी वा श्रीमान्को मोलमोलाई, हस्तक्षेप र आक्रमणको केन्द्र बन्दै आएको छ । यस्ता घटनाले महिला शरीरमाथि पितृसत्ताको राजनीतिलाई घाम जत्तिकै छर्लंग पारेका छन् ।

केही वर्षयता नेपाली समाजमा प्रेम, यौन–सम्बन्ध र यौनहिंसाबारे छलफल सुरु भएको छ । यौनहिंसाविरुद्घ महिलाहरू आँटसहित बोल्न थालेकाले प्रेम र यौन–सम्बन्धका विभिन्न आयामबारे बहस हुन थालेको छ । महरा काण्डले पनि नयाँ बहस सिर्जना गरेको छ ।
लेखक नरेन्द्रजंग पिटरले महरा काण्डपछि रोशनीलाई विषकन्याको उपमा दिए । विषकन्या बलियो शत्रुलाई मार्न वा शक्तिहीन गर्न प्रयोग गरिने महिलालाई जनाइन्छ । मन्दविष ख्वाएर बालिकाहरूको शरीरलाई विषालु बनाउने र शक्तिशाली पुरुष–शत्रुलाई प्रेमपासोमा पारेर मार्ने प्राचीन चलनतिर उनको संकेत होला । उनको बुझाइमा विषकन्याको सिकार भएका कृष्णबहादुर महरा अत्यन्त भलाद्मी थिए, सुरापानबाट टाढै रहने वैचारिक व्यक्तित्व थिए ।

महरा काण्ड हठात् घटित भएको घटना होइन, न त रोशनीलाई कसैले प्रयोग गरेको हो । हुन कसै–कसैले त सीआईएको संलग्नतासम्म भन्न भ्याए । हाम्रो दुःख नै के हो भने हामी मान्छेलाई मान्छे हुन दिँदैनौं । उसलाई अलौकिक वा देवताको स्तरमा राखेर हेर्छौं । खानु, सुत्नुजस्तै प्रेम र यौन–सम्बन्ध पनि मान्छेका जैविक आवश्यकता हुन् भन्नेसमेत बिर्सन्छौँ ।

महरा र रोशनीबीच प्रेम सम्बन्ध, लेनदेन वा अरू केही थियो । यो उनीहरूबाहेक अरूका लागि अनुमानको विषयमात्र हो । तीन दशकको सम्बन्ध प्रेम नै थियो भने दुःखान्त भएको छ । यही मेसोमा विवाह–संस्थाभन्दा बाहिरका प्रेम र यौन–सम्बन्धबारे बहस जारी छ । उनीहरूको प्रेम र यौन–सम्बन्धले जन्माएका प्रश्नबाट छलफल सुरु गर्न सकिन्छ ।

प्रश्न एक : महरासँग उच्च राजनीतिक हैसियत नभएको भए, दुवैबीच प्रेम भएको भए, दुवैले आफ्ना पुराना सम्बन्ध–विच्छेद गर्न र कुनै पनि उमेरमा दोस्रो विवाह गर्न पाउने सहज वातावरण भएको भए के हुन्थ्यो ? उनीहरूले पुराना सम्बन्धविच्छेद गरी दोस्रो बिहे गरी सुखद जीवनको विकल्प रोज्न पनि सक्थे । यो खालको दुर्घटना दुवैको जीवनमा आउने थिएन र दुवैका परिवारजनले मानसिक पीडा खेप्नुपर्ने थिएन । समाजमा यस्ता धेरै विवाहित छन्, जसले आपसमा प्रेम–सम्बन्ध नहुँदानहुँदै पनि मक्किसकेको वैवाहिक संस्थालाई जोगाउनुपर्ने सार्वजनिक बाध्यता झेलिरहेका छन् ।

प्रश्न दुई : प्रेम, विवाह र यौनबारे धेरैजसोको धारणा पुँजीवादी भइसक्ने वा नयाँ आयाम खोजी गर्ने । तर, मानसिकता, संस्कार र बुझाइ भने सामन्तवादमै टाँस्सिइरहेको छ । अब प्रेम र यौन–सम्बन्धबारे पुराना डिस्कोर्सको खुलेर विश्लेषण गर्दै समाजलाई सही ट्र्याकमा लैजान परिवर्तकारी पुस्ताले भूमिका खेल्न जरुरी छ । महिलापात्र मात्रै सिद्दिने र पुरुषपात्र निर्णायक, वीर र ठालु भइरहेने हो भने हाम्रा प्रेम र यौन–सम्बन्ध भत्किन्छन् नै, भत्किन दिनुपर्छ । पुरानो समाप्त नभई नयाँ सिर्जना हुँदैन ।

प्रेम र यौनमा देखिएको संक्रमण
मानव समाजको सुरुआतमा न एकनिष्ठ विवाह थियो, न यौन–सम्बन्ध नै । नैतिक/अनैतिक जे भए पनि, प्रेम वा सहमतिमा परिपक्व महिला र पुरुषबीच हुने एकनिष्ठ वा बहुनिष्ठ यौन–सम्बन्ध प्रचलित यथार्थ हो । यौन र प्रेमको मामलामा धेरै थोरै मान्छे मात्र एकनिष्ठ हुन सक्छन् । को–कोबीच कति यौन–सम्बन्ध वा प्रेम भयो भनेर तेस्रो व्यक्ति गोठालो लागेर साध्य हुँदैन । त्यसमा दुई कर्ता नै सजाय र पुरस्कारका लागि जिम्मेवार हुने हो ।

प्रेम, यौन र विवाह संस्थासम्बन्धी बुझाइ र अपेक्षा बदलिँदो छ । तर, समाजका ठेक्का लिएका राजनीतिक र सामाजिक मठाधीशका बुझाइ, व्यवहार भने जडसूत्रवादी छ । अब यौन र प्रेममा बहुनिष्ठतालाई प्रश्रय दिनुपर्छ भन्ने होइन । जसरी प्रेम र यौनमा महिला–पुरुषको समान भागीदारी चाहिन्छ, त्यसरी नै महिला र पुरुषबीच समान मर्यादा र विश्वास जोडिनुपर्छ ।

विवाहअघि–पछि परिपक्व महिला र पुरुषबीच सहमतिमा हुने मानसिक वा शारीरिक सम्बन्धलाई समाजपिच्छे फरक ढंगले हेरिन्छ–बुझिन्छ । के नैतिक, के अनैतिक, समाज र त्यसको अवस्थाअनुसार भिन्नता छ । आज विवाहपूर्व र विवाह–इतर शारीरिक सम्बन्ध सामान्यजस्तै हुन थालेको छ । समाज जति खुला हुँदै छ, यौनबारे बुझाइ र गराइ पनि खुकुलिँदै छ ।

नेपाली पितृसत्तात्मक समाज महिलाको यौनिकतामाथि नियन्त्रणमा टिकेको छ । त्यसैले महिलालाई यौनबारे छलफल गर्न, यौनानन्दका गतिविधिबारे जानकारी लिनसमेत विमुख पारिएको छ । सबै क्षेत्रमा पुरुष आधिपत्य रहेकाले महिला शरीरमाथि पनि जे गरे हुन्छ भन्ने मानक स्थापित छ ।

बदलिँदो प्रेम र यौनको भाष्य
भनिन्छ, प्रेममा जात, वर्ग र देशको सीमाले अर्थ राख्दैन, न त विवाह हुनु नहुनुले नै माने राख्छ । यौन–सम्बन्धलाई एकनिष्ठ बनाउँदै प्रेमपछि विवाह अनि यौन–सम्बन्धको मान्यतामा बाँध्नु राम्रो हुन सक्ला । तर, नेपाली समाजमा पनि थुप्रै युवा–जोडी विवाह नगरी रिलेसनमा बस्न थालेका छन् । महिलाहरूले सगर्व भन्न थालेका छन्, ‘म रिलेसनमा छु, म विवाहमा विश्वास गर्दिनँ ।’ यो प्रेम र यौनबारे सडेगलेका मान्यताप्रति नयाँ पुस्ताको विद्रोह पनि हो । यो विद्रोहलाई नकार्न सकिँदैन, बरु यसलाई कसरी स्वस्थ र मर्यादित बनाउने भन्ने सवाल प्रधान हो । पुरुषहरूले खुला रूपमा विद्रोह गरेको कमै पाइन्छ । पुरुष मनोविज्ञान अझै आँटिलो देखिएको छैन । समाजका पुरानै मूल्य–मान्यतामै ऊ खुसी छ, किनकि ऊ प्रेम र यौनमा आफू एकनिष्ठ हुन चाहँदैन तर महिलालाई भने एकनिष्ठ बनाउन खोज्छ ।

युवा पुस्ता, अझ महिलामा विवाह संस्थाप्रति विश्वास गुम्दै छ । यसमा पढेलेखेका र कामकाजी महिलाको बाहुल्य छ । यसको अर्थ उनीहरू विवाह संस्था र परिवारबाट विमुख हुँदै छन् । यसले देखाउँछ, पुरानो समाज र परिवारसम्बन्धी युटोपिया भत्किँदै छ । समाजका अरू पक्ष फेरिँदै छ भने प्रेम, यौन, विवाह, परिवार सामन्ती र पितृसत्तात्मक रहन सक्छन् त ? परम्परा, संस्कार र संस्कृतिका नाउँमा महिलामाथि थोपरिएका बन्देजका आधारमा समाज सभ्य र परिवार आदर्श बनिरहन सम्भव छ ? अवश्य छैन ।

मुक्तिको सामूहिक चेष्टा
हाम्रो समाज प्रेम र यौनको मामिलामा लुकेर जे पनि गर्ने, तर खुलेर गर्दा स्वीकार्य नहुने ढोंगी छ । यसले थुप्रै असन्तुष्ट जोडीलाई निरस र प्रेमविहीन वैवाहिक जीवन बिताउन बाध्य पारिरहेको छ । त्यसैले धेरैको प्रेम र विवाहको दुःखद अन्त्य भइरहेको छ ।
साहित्यकार आहुति प्रेम र यौन पनि राज्यसत्ताको चरित्रअनुरूप निर्माण हुने बताउँछन् । नेपाली समाज प्रेमको मामिलामा संघर्ष गर्दै छ, किनभने प्रेममा अझै जात, वर्ग र धर्म प्रधान छ । प्रेम जीवनको बाधक र वर्जित चीज होइन, सहयोगी बन्नुपर्छ । प्रेम र यौनलाई लिपपोत गरेर छोप्ने हैन, बाहिर निकाल्नुपर्छ । त्यसैले यसलाई व्यवस्थित, सुसंगत र सुसंस्कृत बनाउने चुनौती छ ।

पुँजीवादमा पद र पैसाले सबै कुरा किन्न सकिन्छ, त्यसमा पनि महिलाको किनबेच र उनीहरूमाथिको हिंसा अत्यधिक छ । निःसन्देह, कुनै पनि सम्बन्धमा, प्रेम र यौनमा प्रेमी, श्रीमान् वा अर्को कुनै व्यक्तिबाट हुने हिंसा स्वीकार हुन सक्दैन । अतः सिमोन दी बोउर भन्छिन्, ‘यदि पुरुषले काम–क्रीडालाई एक युद्घ–क्षेत्र र बिस्तरालाई अखडा मान्न बन्द गर्छ भने स्त्रीका कैयौँ समस्या सहजै दूर हुनेछन् ।’

वर्तमानमा प्रेम र यौन–सम्बन्धलाई जटिल र ट्याबु बनाउनेभन्दा यसबारे सही ज्ञान र व्यवस्थापनको खाँचो देखिन्छ । प्रेममा त विश्वास, त्याग र समर्पण मात्र हुनुपर्छ । प्रेममा छलकपट, हिंसा र तिरस्कारको ठाउँ नै हुनु हुँदैन । तर, प्रेमका नाउँमा गरिने ढोङमा चाहिँ शरीर र सत्ताको लेनदेन हुनसक्छ । प्रेम र हिंसा दुई विपरीत भिन्न छन्, आकाश र जमिनजत्तिकै । जहाँ दुई महिला र पुरुषबीच प्रेम र आदर हुन्छ, त्यहाँ निमेष पनि दबाब र हिंसाको कल्पना गर्न सकिँदैन, न त प्रेममा माइनस–प्लसको फर्मुला नै लागू हुन्छ । हुन्छ त त्याग, समर्पण र प्रेम अनि प्रेम नै हुन्छ, जसले परिवार र समाजलाई समेत अग्रगतिमा लैजान्छ ।

@DhanaKumari
(नेपाल महिला आयोगकी पूर्वआयुक्त सुनार हाल मानवशास्त्रमा पीएचडी गर्दै छिन्)

प्रकाशित : पुस ५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?