कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रैथाने कविता

कवि सुन्दर कुरूपको काव्यिक आधारभूमि उनले बाँचिरहेको समय र परिवेश हो । ‘पृथ्वीको आविष्कार’ का अधिकांश कविता गाउँका छन्, जो अर्गानिक छन्, रैथाने स्वादका छन् ।

इलामको दक्षिणी भेग र दमकको माथितिर अवस्थित छ— चुलाचुली गाउँ  । गाउँको शिरमा ध्यानस्थ योगीझैँ लाग्ने स–साना पहाड छन्  । तल्तिर छ, समथर मैदान । गाउँको धमनीझैँ लाग्ने खहरेहरू त्यही मैदान भएर बग्छन्, जहाँ पानी कम गाउँलेको पसिना ज्यादा बग्छ । सम्भवतः त्यही पसिनाले चुलाचुलीको सभ्यता निर्माण भएको हुनुपर्छ ।

रैथाने कविता

भनिन्छ— प्रकृतिले संस्कृति निर्माण गर्छ । त्यसकारण प्रकृतिअनुसार, यहाँको संस्कृति निर्माण भएको छ । त्यो जीवन्त लाग्छ । यही जीवन्त संस्कृतिमा रम्दै चुपचाप साधनारत एउटा कवि छन्, जो हल्लाभन्दा पर सिर्जनात्मक बाँचिरहेछन् । ती कवि हुन्— सुन्दर कुरूप । हालै उनको कवितासङ्ग्रह प्रकाशित छ– पृथ्वीको आविष्कार ।

कुनै पनि कविलाई रचना प्रक्रियाका लागि एउटा निश्चित आधारभूमि भयो भने उम्दा सिर्जना आविष्कार हुने सम्भावना प्रबल हुँदोरहेछ । त्यो आधारभूमि कविले बाँचिरहेको समय र परिवेश पनि हुन सक्दो रहेछ । मात्र त्यहाँ कविको तिख्खर चेत, चिन्तन, कल्पनाशीलता र अभिव्यक्ति कौशल चाहिँदोरहेछ । कवि सुन्दर कुरूपको काव्यिक आधारभूमि उनले बाँचिरहेको समय र परिवेश हो । तर्सथ, पृथ्वीको आविष्कारभित्रका अधिकांश कविताहरू गाउँका कविता छन् । जो अर्गानिक छन् । रैथाने स्वादका छन् ।

गाउँसँग आख्यानको पेन्डोरा हुन्छ । गाउँको सन्दुकहरूमा, गोरेटोहरूमा, धानको सुगन्ध बोकेर बहने बतासहरूमा कथा हुन्छ । ती कथाहरू कवितामा कलात्मक आयो भने ओजपूर्ण सुनिदो रहेछ । कवि सुन्दर कुरूपको काव्यिक प्रवृत्ति कवितामा आख्यान आउनु हो । नेपाली कविताको इतिहासमा पनि आख्यान कहने कलात्मक कविताहरू नै मानक र लोकप्रिय भएका छन् । कवितामा प्रयुक्त कथाहरू पाठकलाई आफ्नैजस्तो लाग्यो भने कविताको सार्थकता त्यहाँ भेटिँदो रहेछ । फेरि आफ्नै भाषा निर्माण गर्न सफल कवि नै अब्बल दृष्टिगोचर हुँदोरहेछ । कवि भीडमा पनि निजत्वसहित उभिन सक्दोरहेछ ।

सौन्दर्यचेत कविलाई विशिष्टीकरण गर्ने अर्को अस्त्र रहेछ । यहाँ मननयोग्य कुरा के छ भने सौन्दर्यचेतलाई विचारले निर्देश गरिरहेको हुन्छ । कविको विचार सामाजिक न्यायको बर्खिलापमा छ भने सौन्दर्यचेत कुरूप देखिने सम्भावना सदैव रहन्छ । तसर्थ, कविताको टुलमा सौन्दर्यचेत सबैभन्दा महत्त्वपूर्ण विषय हो लाग्छ । हामी नेपाली कविताको सौन्दर्यशास्त्र निर्माणकै क्रममा छौँ । यहाँ कवि सुन्दर कुरूपको सौन्दर्यचेतलाई केहीथरी आलोचकले साम्प्रदायिक बिल्ला भिराइदिने जोखिम उत्तिकै छ । किनभने उनका कविताले तमाम विभेदविरुद्घ आवाज मुखरित गरेको छ । कविता लेख्नु आफैंमा राजनीति हो भने सुन्दरले शालीन राजनीति गरेका छन् । यो राजनीति भुइँमान्छेको लागि हो, जो गाउँमा बस्छन् र उनीहरूको आवाज सम्बन्धित ठाउँमा पुग्दैन । यो राजनीति लालमाया धिमालहरूका लागि हो, जो जीविकाका लागि गिट्टी कुट्छन् र शासकीय घामको न्यानोबाट सदैव वञ्चित छन् ।

जम्मा ३७ थान कविताको सङ्ग्रह हो— पृथ्वीको आविष्कार । यी कविता विविध विषयमाथि बोल्छन् । प्रेम, मानवीय संवेदना, पहिचान, श्रमजीवीको चूडान्त कथा, विभेदकारी सत्ताविरुद्घ शालीन विद्रोह यी कविताका कन्टेन्ट हुन् । शीर्ष कविता ‘पृथ्वीको आविष्कार’ भूतपूर्व प्रेमिकाको लागि कविले आविष्कार गरेको सुन्दर प्रेमोपहार हो । जहाँ कवि मन बोल्छ— माफ पाऊँ है सोल्टिनी !
म त हजुरको याद सिरानी लगाएर यसरी निदाएछु कि बिउँझिँदा निकै बूढो भइसकेको थिएँ ।

यसो गम्छु— उताको पाब्लो नेरुदादेखि यताका सुन्दर कुरूपसम्म आइपुग्दा यो पृथ्वीमा लाखौँ प्रेम कविता लेखियो होला । तर, पनि प्रेम कविताले पाठकलाई दिक्क किन नलागेको होला ? कविलाई पनि प्रेममाथि नलेखौँ किन नलागेको होला ? अब त पुग्योजस्तो किन नलागेको होला ? यसको जवाफ निजत्वमा पाउँछु । अभिव्यक्तिकलाको पृथक्पनमा पाउँछु । प्रेमानुभूतिको वेगलपनमा पाउँछु । सम्भवतः यसैकारण शिल्प पुगेका प्रत्येक प्रेमकविताहरू पढ्दा पाठकले नौलो अनुभूति गर्छन् । संग्रहमा अर्को उम्दा प्रेम कविता छ— सोल्टिनी साइँली । यो कविताले किशोरवयको प्रेमलाई उजागर गरेको छ ।

यो कविता सांस्कृतिक अन्तरघुलनको पक्षमा पनि छ । कवि सुन्दर कुरूपको प्रेम कविता बलशाली हुनुमा उनले प्रयोग गरेको भर्जिन विम्ब हो लाग्छ । नयाँ विम्ब आविष्कार गर्न पनि कला चाहिन्छ । यो मानेमा कवि सुन्दर कुरूप सार्थक देखिन्छन् । नत्र हामीकहाँ प्रेम कविता लेख्न जोखिम मोल्नुपर्छ । नेपालमा यस्ता केही लभजिहादीहरू छन् कि उनीहरूलाई लाग्छ, प्रेम कविताले अन्ततोगत्वा शाषकको पक्षपोषण गर्छ । प्रेमले मुख्य मुद्दाबाट भड्काएर मानिसलाई निकम्मा बनाउँछ भन्ने उनीहरूमा सोच छ । तर, ‘जनयुद्घ’ मा हेरौँ त ? कसरी छापामारहरूले नारायणगोपालको प्रेमगीत सुन्दै हिँडे ! प्रेमको मनोवैज्ञानिक सत्यलाई अनदेखा गर्न अब मिल्दैन । तर, यति हो प्रेम कवितामा अभिव्यक्तिकला र दृष्टिकोण पृथक् भएर चाहिँ आउनुपर्‍यो ।

‘पृथ्वीको आविष्कार’ मा शब्दको महाजाल छैन । कविता छोटा तर बुलन्द छन् । कविको भाषा पाठकमा प्रसार हुन खासै जद्दोजेहाद पर्दैन । कवि सुन्दर कुरूपमाथि अर्का कवि स्वप्निल स्मृतिको टिप्पणी यहाँ उल्लेख योग्य छ । उनी भन्छन्, ‘सत्ताइतर रैथाने विम्ब, सांस्कृतिक प्रतीक र मिथ अनि आफ्नै घुर्यानको भाषा टिपेर विराट विश्वदृष्टिकोणसहित कवितालाई कलात्मक उचाइ दिने कवि हुन् सुन्दर कुरूप ।’

गाउँ जो सहरनजिक छ, अहिले संक्रमणमा छ । यहाँका मानिस प्रकृति र प्रविधिको विचित्र दुनियाँमा निमग्न छन् । भूमण्डलीकरण र सांस्कृतिक उपनिवेशवाद सडकमार्ग हुँदै गाउँमा छिर्ने क्रममा छ । खाजामा चाउचाउ संस्कृति भित्रिएको एक जुग बितिसक्यो ।

मानिसको हातहातमा मोबाइल छ । मोबाइल के छ, पूरै विश्व हातमा छ । यस्तो संक्रमणकालीन समयमा कविले रैथानेपनमा झुकाव राख्नु महत्त्वको विषय हो । पृथ्वीको आविष्कार प्रचलित महान मिथक राखेर कवितालाई भव्यता दिन खोज्ने कविहरूको लागि पनि नमुना बनेको छ । कविता खोज्न उनी टाढा गएनन् । विश्वका दर्शन पल्टाएनन् । आफ्नै पेरिफेरिकै बोजु, आमा, बुबा, जिग्री लुङ्गा आदि माथि कविता खोजे । संग्रहमा एउटा कविता छ— आमा र आमाका साथीहरू । छोटो तर सम्पूर्ण कविता हो यो । विम्बको सटीक प्रयोग र भावपक्षको गहिराइले यो कविता पठनीय बनेको छ । हाम्रा आमाहरूको जीवनमा दुःखको निरन्तरता छ, कविताले व्यक्त गरेको चोटिलो विचार हो यो ।

कला कलाका लागि कि विचारका लागि माथि बहस हुन थालेको पनि सत्तेजुग बितिसक्यो । तर हाम्रोजस्तो विभेदको फेहरिस्त लामै भएको समाजमा कला कलाका लागि भन्ने विचार अनुपयुक्त हुँदोरहेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने कला हाम्रो आवश्यकता हो लाग्छ । पृथ्वीको आविष्कारभित्र पनि कविले सामाजिक उत्तरदायित्व बोध गर्दै कविताहरू लेखेका छन् । जस्तो एउटा कविता छ— नाच । नेपाली राजनीतिले कसरी भुइँमान्छेलाई कठपुतली बनाइरहेछ यो कविताले इंगित गरेको छ ।

अनेकौं आन्दोलन र उत्सर्गपश्चात् प्राप्त भएको नयाँ शासन व्यस्थामा पनि ती भुइँमान्छेहरू शाषकको स्वागत र मनोरञ्जनका लागि नाच देखाउन अभिशप्त छन्, कविताले बोल्छ । यो कविता कविको राजनीतिक जागरुकता पनि हो । जहाँ कविले राजनीतिक स्खलनप्रति ठाडो प्रतिवाद नगरी एउटा पात्रमार्फत कलात्मक प्रहार गरेका छन् । सम्भवतः शब्दको शक्ति यसरी नै प्रभावकारी भइदिन्छ होला । कवि सुन्दर कुरूपको काव्यिक वैचारिक धरातल पहिचान हो । मतलब उनको कविताको वैचारिक गन्तव्य समता र सामाजिक न्याय नै हो ।

पछिल्लो समय पहिचानवादी कविहरूको स्वर अलि उग्र भएको यथार्थ हो । कविको स्वर उग्र भएपछि कलालाई धकेल्दै नारा अगाडि आउने सम्भावना प्रचुर हुँदोरहेछ । तर्सथ पहिचानवादी कविहरूलाई केही समालोचकहरूले फगत कर्कश आवाजसम्म भन्न भ्याए । कर्कश स्वर उनको कविताको विशेषता होइन । यो पृथ्वीमा मेरो पनि गाउँ छ, त्यहाँ आमा छ, बुवा छ, मेरो अनुहार छ भन्ने शालीन र कलात्मक आग्रह नै समग्रमा पृथ्वीको आविष्कार हो ।

लामो समय गजल र कविता विधामा साधनारत कवि हुन् सुन्दर कुरूप । गजलमा पनि स्थापित नाम हुन् । गजल लेख्ने अभ्यासकै कारण होला, उनले कवितामा पनि थोरैमा धेरै कुरा भनेका छन् । कवितामा अनावश्यक शब्द आएको छैन । सम्भवत यसैकारण होला उनले लामो कविता लेख्न रुचि देखाएनन् ।

प्रत्येक कविको आफूलाई प्रिय लाग्ने केही शब्दहरू, विम्बहरू हुँदोरहेछ । त्यो रोग भनूँ या आदत कवि सुन्दरमा पनि रहेछ । जस्तो कि सर्वाधिकपटक उनले पृथ्वी विम्ब चलाएका छन् । खतरनाक र भयानक उनले बढ्ता प्रयोग गरेका प्रतीकहरू हुन् । लामो कविता पढ्ने आदत भएका पाठकहरूको लागि पृथ्वीको आविष्कारले तृप्ति दिँदैन ।

इलामका एक जना कवि छन् डम्बर पहाडी । उनी एकलाइने कविता (एलाक) लेख्छन् । उनको शैलीमा भन्ने हो भने पृथ्वीको आविष्कार छिप्पीएको निगार हो । तर, गुलियो छ ।

प्रकाशित : पुस ५, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?