कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उथलपुथलको इतिवृत्त

संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले ‘अपहिभल’ पुस्तकमा चासो व्यक्त गरेका छन् ।
राम लोहनी

डायमन्ड र उनका कृतिज्यारिड डायमन्डका किताबहरू अन्तर्राष्ट्रिय ‘बेस्ट सेलर’ मा पर्छन्  । सामान्य शरीरविज्ञानमा विज्ञता हासिल गरेका डायमन्ड बिस्तारै विकासवादतिर आकर्षित भए  ।

उथलपुथलको इतिवृत्त

पछिल्लो समय डायमन्डको चासो भूगोल, समाज र मानव सभ्यताको अध्ययनमा आइपुगेको छ । भर्खरै प्रकाशित डायमन्डको कृति हो— ‘अपहिभल’ अर्थात् ‘उथलपुथल’ । डायमन्डले अघिल्ला किताबमा प्रस्तुत गरेको विचारकै निरन्तरता हो यो किताब पनि । यसमा डायमन्ड राज्यमाथि आइपरेको संकट (क्राइसिस) लाई त्यहाँका सरकार र जनताले सम्बोधन गर्ने रणनीतिको विश्लेषण गर्छन् । उनका अनुसार, राज्यले बेहोर्ने संकट व्यक्तिको निजी जिन्दगीमा आइपर्ने संकटकै अर्को रूप हो ।

संकट अवसर पनि हो रूपान्तर हुने र अग्रगामी छलाङ मार्ने । उचित प्रकारले संकटको व्यवस्थापन गर्ने व्यक्ति सफल भएजस्तै राष्ट्रिय संकटलाई बुद्धिमत्तापूर्ण तरिकाले सम्हाल्ने राज्य पनि सफल हुन्छ र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने तर्कलाई डाइमन्डले जोड दिएका छन् ।

संकटको इतिवृत्त
डायमन्ड संकटका तीन प्रकारका स्रोतको चर्चा गर्छन्— बाह्य, आन्तरिक र ऐतिहासिक । बाह्य मुलुकले गरेको आक्रमण वा नाकाबन्दी वा यस्तै कारण बाह्य कारण हुन् । मुलुकभित्रको गृहयुद्ध, राजनीतिक द्वन्द्व आदि आन्तरिक कारण हुन् । एकपछि अर्को गर्दै घट्दै गएका घटनाहरूले पैदा गरेको सञ्चित दबाबको बिस्फोटबाट पनि संकट निम्तिन्छ । डायमन्ड यस्तो संकटलाई ऐतिहासिक कारणबाट पैदा भएको संकट मान्छन् ।

पुस्तकको पहिलो खण्डमा व्यक्तिगत संकटको चर्चा गरिएको छ । दोस्रो खण्डमा छवटा देशले बेहोरेका संकटको इतिवृत्त छ । तेस्रो खण्डमा समकालीन विश्वले बेहोरिरहेको संकट, त्यसले निम्त्याउने परिस्थिति र त्यसको सम्बोधनको उपायहरूको विश्लेषण गरिएको छ । डायमन्डले छनोट गरेका देशहरू फिनल्यान्ड, जापान, चिली, इन्डोनेसिया, जर्मनी, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका हुन् । संयुक्त राज्य अमेरिकाको चर्चा समकालीन संकटको सन्दर्भमा गरिएको छ । फिनल्यान्ड र जापान बाह्य कारणले संकटमा परेका थिए । फिनल्यान्ड १९३९ मा तत्कालीन सोभियत संघको आक्रमण र त्यसपछिको विश्वयुद्धको चपेटामा परेको थियो ।

१८५३ मा एक अमेरिकी जहाजले आफ्नो बन्दरगाहमा जबर्जस्ती लंगर बाँधेपछि जापानको संकट सुरु भयो । संसारबाट लगभग अछुतो रहेको जापानमा अमेरिकी हस्तक्षेपले उथलपुथल नै ल्याइदियो । चिली र इन्डोनेसिया आन्तरिक राजनीतिको कारण घोर संकटमा फसेका थिए । १९७३ को सेप्टेम्बर ११ को दिन सेनाले विद्रोह गरेपछि चिली संकट प‍र्‍यो । संकटले चिलीमा अगस्टो पिनोचे नेतृत्वको निरंकुश शासनको उदय गरायो । इन्डोनेसियाको संकट १९६५ को कम्युनिस्ट विद्रोह, सात जना सेनाका जनरलको हत्या र सुहार्तोको उदयसँग जोडिएको छ । उक्त विद्रोहले इन्डोनेसियामा सुकार्नो युगको अन्त गरिदियो र चिलीमा जस्तै निरंकुशता सुरु भयो । पिनोचेको चिली र सुहार्तोको इन्डोनेसियामा विरोधी राजनीतिको नाममा लाखौं मान्छे मारिए, भ्रष्टाचार उत्कर्षमा पुग्यो, मुलुकको विकास लगभग अवरुद्ध भयो ।

जर्मनीको संकट दोस्रो विश्वयुद्धमा भएको पराजयसँगै उत्कर्षमा पुग्यो । जर्मनी तहसनहस मात्र भएन, पूर्वी र पश्चिमी गरेर दुई देशमा विभाजन पनि भयो । जर्मनी विश्वयुद्धमा होमिनुमा केही ऐतिहासिक तथ्यहरूले भूमिका खेलेको थियो । उन्नाईसौं शताब्दीसम्म जर्मनी युरोपको कमजोर राष्ट्र थियो । बिस्मार्कले जर्मनीको एकीकरण गरेपछि र १८७१ मा फ्रान्सलाई पराजित गरेपछि जर्मनी शक्तिको उदय भएको हो । फ्रान्स, स्पेन, पोर्चुगल, हल्यान्ड, बेलायतको जस्तो जर्मनीको उपनिवेश थिएन । यही क्रममा प्रथम विश्वयुद्धमार्फत जर्मनी अन्तर्राष्ट्रिय शक्ति राजनीतिमा प्रवेश गर्‍यो ।

महायुद्धमा जर्मनीको पराजय भयो । महायुद्धपछि गरिएको सन्धि र थोपरिएको आर्थिक दायित्वले हिट्लरको नश्लवादलाई प्रेरित गर्‍यो । जर्मनीको जस्तै अस्ट्रेलियाको संकटको पनि ऐतिहासिक आधार थियो । अस्ट्रेलियाको राजनीति एक प्रकारले भन्दा बेलायतको जिम्मामा थियो । पहिलो विश्वयुद्धमा अस्ट्रेलिया संलग्‍न त थिएन तर बेलायतको सहयोगको खातिर सेनाको स्वयंसेवक दस्ता भने पठाएको थियो । टर्कीको ग्यालिपोली प्रायद्वीपमा बेलायती नेतृत्वमा उत्रेको यो दस्ताको अप्रिल २५, १९१५ का दिन व्यापक संहार भयो । बेलायती सेनापतिको अस्ट्रेलियालीप्रतिको अनुत्तरदायी नेतृत्वको कारण यो संहार भएको थियो । दोस्रो विश्वयुद्धमा सुदूरपूर्व र अस्ट्रेलियाको सुरक्षाको जिम्मा लिएको बेलायती जंगी जहाजलाई जापानले डुबाइदिएपछि बेलायतले अस्ट्रेलियाको सुरक्षा जिम्मा लिन सकेन । लगत्तै सिंगापुरमा बेलायती सेनाले जापानसमक्ष आत्मसमर्पण ग‍र्‍यो । यो आत्मसमर्पणमा तीन दिनअघि मात्र पुगेका दुई हजार अस्ट्रेलियाली सेना पनि प‍र्‍यो । बेलायतको छत्रछायामा बसिरहेको अस्ट्रेलियालाई आफ्नै खुट्टामा उभिनुपर्ने स्थिति आइप‍र्‍यो ।



१२ बुँदे संकट व्यवस्थापन
डायमन्डले संकट समाधानका १२ वटा तत्त्वहरूको चर्चा गरेका छन् । उनका अनुसार, व्यक्तिगत तथा राष्ट्रिय दुवै तहमा यी तत्त्वहरूको चरित्र लगभग उही हुन्छ । ती तत्त्वहरू यसप्रकार छन् :

१. संकटमा परेको स्वीकारोक्ति । व्यक्तिको हकमा यो स्वीकारोक्तिको घोषणा सजिलो हुन्छ । तर, राष्ट्रको हकमा जनता र सरकारको सहमति हुनुपर्ने हुँदा प्रक्रिया केही फरक भए पनि स्वीकारोक्तिचाहिँ हुनैपर्छ । संकटमा परेको स्वीकार गरेपछि मात्र समाधानका उपायबारे प्रयास हुन सक्छ ।
२. व्यक्ति वा राज्य दुवैले संकटबाट मुक्त गर्ने दायित्व आफ्नै भएको स्विकार्नु जरुरी हुन्छ । जुनसुकै कारणले संकटमा परेको भए पनि संकटको भोक्ता आफैँ भएको हुँदा त्यसबाट मुक्त हुन पहिलो प्रयास आफैँले गर्नुपर्छ, अरूले होइन ।
३. संकटसँग जोडिएको वास्तविक समस्याको पहिचान अर्को आवश्यकता हो । संकट भनेको समस्याहरूको गुजुल्टो हो । गुजुल्टोमा बेरिएर रहेका समस्याको पहिचान भएपछि मात्र समाधानका प्रयास कामयाबी हुन सक्छ ।
४. समस्याको प्रबलताको पहिचान । समस्याको पहिचान भएपछि त्यो कत्तिको प्रबल छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । समस्याको प्रबलता हेरेर व्यक्ति वा राज्यले त्यसको समाधान आफ्नो क्षमताभित्र भए/नभएको निर्क्योल गर्न र सल्लाह, सहयोगको लागि आह्वान गर्न सक्छ ।
५. अर्काको अनुभवबाट शिक्षा । त्यस्तै समस्यासँग जुधेका र त्यसबाट पार भएका व्यक्ति र राज्यले संकटमा परेका व्यक्ति र राज्यलाई मोडेलको काम गर्न सक्छ ।
६. व्यक्ति वा राष्ट्र दुबैमा दबाब थाम्‍न सक्‍ने र प्रतिकूल परिस्थिति थेग्‍न सक्‍ने ताकत अन्तर्निहित हुन्छ । त्यो उनीहरूको अहम्, आफ्नोपन र सहनशीलताको सीमा हो । अहम् र आफ्नोपनको ताकतको प्रस्ट पहिचान हुनु आवश्यक हुन्छ । यसले संकटको गुजुल्टोमा बेरिएका सहन सकिने र नसकिने समस्याहरू पर्गेल्न सजिलो तुल्याउँछ ।
७. सहनशीलताको सीमा र ताकत पहिचानका लागि इमानदार आत्ममूल्यांकन हुनु आवश्यक छ । व्यक्ति वा राज्य दुवैको सीमा हुन्छ । ताकतको वस्तुगत मूल्यांकनले आत्मविश्वासलाई दृढ बनाउँछ ।
८. इतिहासबाट शिक्षा । त्यसभन्दा अघि बेहोरेका संकटको अनुभव वर्तमान संकटमा उपयोगी हुन्छ ।
९. अर्को तत्त्व हो धैर्य । समाधान प्रयासमा अनिश्चितता, असफलता पैदा हुन सक्छ । तर, त्यसबाट हतास नभै प्रयास जारी राख्‍नुपर्छ, भाग्‍नु हुँदैन ।
१०. लचकता । हरसंकटले परिवर्तनको सम्भावनालाई बोकेको हुन्छ । त्यो एउटा अवसर पनि हो । त्यसैले सकारात्मक परिवर्तनको लागि तयार हुनु आवश्यक हुन्छ ।
११. केन्द्रीय मूल्यको पहिचान । व्यक्ति र राज्य दुवैको आफ्नोपन र निजत्वसँग सम्बन्धित केही केन्द्रीय तत्त्वहरू हुन्छन् । केन्द्रीय तत्त्वलाई सकेसम्म अक्षुण्ण राख्‍ने प्रवल चाहना हुन्छ । जोगाउनुपर्ने केन्द्रीय मूल्यसँग सम्बन्धित तत्त्वहरू पहिचान भएपछि परिधीय तत्त्वमा परिवर्तन गर्न सजिलो हुन्छ ।
१२. कुनै पनि कुरा हुनैपर्छ भन्ने आत्मदबाबबाट मुक्त भएर विवेकले देखाएको र तर्कसंकत बाटो अपनाउनुपर्छ । असंगत र आफैँले सिर्जना गरेको कृत्रिम अवरोधले बाटो अवरुद्ध मात्र गर्छ ।

डायमन्डले पुस्तकमा यी हरेक बुँदाको महत्त्व र भूमिकालाई क्रमशः चर्चा गरेका छन् । व्यक्तिगत संकटको कुरा गर्दा पटकपटक आफैँलाई उदाहरणको रूपमा उभ्याएका छन् । विद्यावारिधि अनुसन्धानमा प्रारम्भमा पाएको असफलताले निम्त्याएको मानसिक संकट, पेसागत क्षेत्र परिवर्तन गर्दाको संकट र पहिली पत्‍नीसँग सम्बन्धविच्छेद गर्दाका अनुभवलाई पाठकहरूमाझ बाँडेका छन् । उल्लिखित छवटा राष्ट्रले संकटबाट मुक्त हुन अपनाएका रणनीतिहरूलाई पनि यिनै १२ बुँदाभित्र रहेर प्रस्ट पारेका छन् । संकटले यिनीहरूलाई कहाँ पुर्‍यायो, संकट समाधानका प्रयास सही सावित भए, भएनन् भन्नेजस्ता मूल्यांकनमा पनि लेखकले पर्याप्त ध्यान दिएका छन् ।

संकटको वर्तमान अवस्था
संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले पुस्तकको तेस्रो खण्डमा चासो व्यक्त गरेका छन् । वर्तमान संकट विशेषगरेर शक्तिशाली र धनी राष्ट्रसँग जोडिएका छन् । डायमन्ड यो मामिलामा जापान र खासगरेर संयुक्त राज्य अमेरिकालाई जोडेर चर्चा गर्छन् । वर्तमान संकट र सम्भावित भावी उथलपुथललाई पनि माथि उल्लिखित १२ बुँदाको आलोकमा हेरिएको छ । आर्थिक समृद्धिको साथमा बढ्दो ऋण, घट्दो जनसंख्या, पाका एवं वृद्धहरूको बढ्दो संख्या जापानको वर्तमान समस्या हुन् । डायमन्ड उथलपुथल आउनुअघि नै त्यसबाट बच्‍न उचित कदम चाल्नुपर्ने सुझाव दिन्छन् । पश्चिमी देशले जस्तो जापानले आप्रवासीहरूलाई कहिल्यै रुचाएन । डायमन्ड जापानले अब यो नीति त्याग्‍नुपर्ने सल्लाह दिन्छन् । जापानको भावी ऊर्जा तथा उत्पादन संकटको समाधानको लागि नवीकरणीय ऊर्जा र नवीकरणीय उत्पादनतर्फ जोड दिनुपर्ने उनको सुझाव छ ।

अमेरिकाको हकमा अमेरिकी समाज, अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा संकट बिस्तारै प्रकट हुँदै गएकोतर्फ लेखकले संकेत गरेका छन् । अमेरिकाको ताकत भनेको यसको भूगोल, क्षेत्रफल, प्रविधि, प्रजातन्त्र र आर्थिक अवस्था हो । विश्वको शक्तिशाली राष्ट्र भएकाले यसका थप दायित्व पनि छन् । अमेरिकामा सामाजिक–आर्थिक गतिविधि अन्यत्रको दाँजोमा एकदमै तीव्र छ । आप्रवासको माध्यमबाट संसारभरिका क्षमतावान मानिसहरू अमेरिका पुगेका छन् । डायमन्ड यसलाई अमेरिकाको ठूलो सम्पत्ति मान्छन् ।

अमेरिकाको समस्याको रूपमा डायमन्डले राजनीतिक ध्रुवीकरण, अमेरिकी चुनाव, बढ्दो असमानता आदिलाई देखाएका छन् । कर तिरेर दर्ता गर्नुपर्ने प्रावधानले सबै अमेरिकीलाई मतदानमा सहभागी गराउन नसकेकको तर्फ डायमन्डले ध्यानाकर्षण गराएका छन् । मतदानजस्तो प्रजातान्त्रिक अभ्यासबाट ठूलो संख्याका अमेरिकीहरू वञ्चित हुनु अमेरिकी प्रजातन्त्रकै उपहास हो । अन्य देशको अनुभवबाट सिक्‍न नखोज्‍नुलाई डायमन्ड चिन्ताको विषय मान्छन् । अमेरिकासँगै सिंगो विश्व जलवायु परिवर्तन, ऊर्जा संकट र धनी र गरिबबीचको बढ्दो अन्तरको चपेटामा पर्दै गइरहेको छ । आसन्न यी संकटलाई पनि माथि चर्चा गरिएका १२ बुँदाभित्रैबाट सम्वोधन गर्न सकिने डायमन्डको दाबी रहेको छ ।

निष्कर्ष
डायमन्डको लेखनमा भाषिक सरलता पाइन्छ । गैर–आख्यान र जटिल विषयलाई सरलीकृत तुल्याउने न्यारेसन शैली डायमन्डको लेखकीय हस्ताक्षर हो । उनका किताब एउटा खास मुद्दामा केन्द्रित हुने गर्छन् । उदाहरणबाट मुद्दालाई प्रस्ट पार्ने, त्यसपछि आफ्नो प्रस्तावना प्रस्तुत गर्ने र त्यसको विस्तृत विवेचना गर्ने उनको शैलीले पाठकलाई बाँधिराख्‍ने क्षमता राख्छ ।

अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको समकालीन विश्व राजनीति, राष्ट्रिय राजनीति र व्यक्तिगत जीवनलाई एउटै चस्माले हेर्न र बुझ्‍न खोज्‍नु यो पुस्तकको ताकत हो । डायमन्डका अघिल्ला किताबजस्तै ‘अपहिभल’ को पठन पनि आकर्षक हुने निश्चित छ ।

प्रकाशित : पुस ५, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?