वेक अप ‘बेबी’ !

फ्लोरिडा, अमेरिकामा जन्मेका जिम मरिसन (सन् १९४३–१९७१) छोटो आयु बाँचेर पनि चिरस्मरणीय बनेका संगीत–साधक हुन् । डिसेम्बर ८ (मरिसनको बर्थ–डे) उनका प्रशंसकका लागि विशेष दिन हो ।
सरिता तिवारी

रिडिङ योर पोयम्ज  । आई नेभर गेस्ड, यु ह्याब रिटन एनी पोइम अबाउट जिम मरिसन !... स्याल्युट !रातको झन्डै पौने बाह्र बजे  । मध्यरातमा कुनै तारा खसेझैं आकस्मिक मेसेज बक्समा खसेका थिए यी शब्द । निद्राको परत जम्न लागेका आँखाको सतह एकाएक जुरुक्क उठ्यो । सुत्ने तर्खरमा जुम्सो भैरहेको मेरो अवचेतनमा रक शैलीमा गुन्जिए आदिम परिचयका प्रिय शब्द ...‘वेक अप !’ प्रतिक्रियामा एउटा विनम्र धन्यवाद पठाएँ ।

वेक अप ‘बेबी’ !

एउटा युगको, सामाजिक र आर्थिक दुवै कोणबाट एउटा अधीर कालखण्डको चेतना बोक्ने सर्जकका नाममा एक चिर्कटो कविता लेखेर मैले कुनै तीर मारेको होइन । यति त मलाई थाहा छ ।

उताबाट प्रशंसा र प्रेमका अरू थप शब्द आए । इमोजी बक्सबाट दुई थान स्माइली तानेर पठाएँ ।

मेरा पाठकले पठाएको त्यो ‘सलाम’ मेरो एउटा लघुकाय कविताका लागि कम तर एउटा महान् स्रष्टाको चिरन्तन स्मरणका लागि ज्यादा हो । कलाको जरुरत र मूल्यको साक्ष्य हो त्यो सलाम । संगीत र साहित्यले मिलौं दूरीहरूका सीमा नाघेर मानवता र सत्यको खोजमा हिँडेका मान्छेहरूबीच गर्ने संवादको पनि साक्ष्य हो

त्यो सलाम ।
यही डिसेम्बर ४ को मध्यरात थियो त्यो । एकपल्ट फेरि सुन्न मन भयो, ‘वेक अप !’ फेरि सुन्न मन भयो, ‘वुमन इन द विन्डो’ । फेरि सुन्न मन भयो ‘द इन्ड’ ,’राइडर्स अन द स्ट्रोम’...! यस्ता शब्द जसका सुन्दरता पनि भयावह छन् । यस्तो संगीत, जसको भयावहता पनि सुन्दर छ । अभिभूत भएँ । दिल दिमागको सुदूर कुनासम्म पुग्ने गरी आनन्दित भएँ । र, धेरै दिनदेखि तन्द्रामा उँघिरहेको आफूभित्रको मान्छेलाई च्याँठ्ठिएर जगाएँ, ‘ओए केटी उठ् ! जस्ट वेक अप !’

कुनै कविताले बीसौं वर्षपछि प्राप्त गरेको ‘नोटिस’ का खास अर्थ हुन्छन् । र, यो डिसेम्बर महिना हो । अनि, त्यही मध्यरातको जाग्रत चिच्याहट नै यो संस्मरणको प्रस्थान हो ।

‘वेक अप’ अमेरिकामा सन् साठीको मध्यमा जन्मिएको रक ब्यान्ड ‘द डोर्स’ को सिग्नेचर गीत हो । दिमागका तारहरू झन्झनाएर एकपल्ट आफ्नै गालामा झापड हनाउने गीत । जुन गीत सुन्नुभन्दा दशकौंअघि त्यसबारे पढेर म प्रभावित भएँ । जुन गीतका शब्दभन्दा अघि भावको व्याख्यामा डुबेर रन्थनिएँ । जुन गीतका गायकको फोटोसम्म नदेख्दै म उनको एक अविचल प्रशंसक भएँ । रोचक कुरा के भने, मात्रै एउटा आलेखले दिएको सीमित सूचनाका भरमा जसका गीतको भाव र संवेदनाले लेख्न प्रेरित गरे मलाई उही श्रष्टामाथिको प्रेमले समर्पित— कविता ।

सप्रसंग— मेरो कवि हैसियतको दोस्रो किताब थियो— अस्तित्वको घोषणापत्र (२०६७) । हैसियत किन भनेको भने, कवि (शब्दकर्मी) हुनु मेरा लागि सत्य खोज्ने, सत्यमार्गी बन्ने असाधारण बाटो रोज्नु हो । ढाँटेर बाँच्न त असंख्य विकल्प छन् । छाती फुकाएर निर्धक्क बोल्न, निडर र आफ्नै विश्वासको मस्त संसारमा बाँच्नका लागि नै म लेख्ने उद्यममा छु । मलाई यस्तो ठान्ने बनाउने तिनै मान्छेहरू हुन् जसले सत्य खोज्नु, भेट्नु र संसारले त्यो थाहा पाउनुको मूल्यमा जिन्दगी गुमाए । जो आत्माको बोली ओकल्नुको प्रतिदानमा दुनियाँबाट अविश्वसनीय त्रासदी र भयावह मृत्युका कथा लिएर बिदा भए ।

म किताबको कुरा गर्दै थिएँ ।
त्यस किताबसँग मेरा धेरै अपेक्षा थिएनन् । तर, प्रकाशनपछि अधिकांशले त्यो किताब रुचाएको प्रतिक्रिया दिए । शब्दको संसारमा खासै नपत्याइएको कविलाई यो अनपेक्षित सुखद खबर थियो । तर, यो संग्रहमार्फत नै मलाई रुचाउन सुरु गरेका कतिपय पाठक (कवि) हरू पछिल्ला दिनमा ‘नियोजित रूपले स्टन्टबाजी गर्न ‘अश्लील’ र क्रूर शब्दसँग खेलिरहेको’ मा, कविताबाट ‘एजेन्डा लेखन’ गर्न थालेकामा मसँग खुबै दुःखी छन् । ती अहिले पनि यदाकदा तिम्रो फलानो किताब नै राम्रो हो भन्दै यो किताबको प्रशंसा गर्छन् ।
उनीहरूले यसो भन्दा म खास प्रतिक्रिया गर्न आवश्यक ठान्दिनँ ।

अफसोस केमा लाग्छ भने उनीहरू आफूलाई कविताका मर्मज्ञ दाबी गर्छन् तर आज ‘स्टन्ट’ गरिरहेको कविका विगतका कवितामा विद्रोह र विरुद्धको कुनै धूवाँ देख्दैनन् ! प्रतिबद्ध प्रतिरोधको पूर्वाभास भेट्दैनन् । लेखक बन्न हिँडेको एउटा मान्छेभित्र विचारको ‘क्रमिक विकास’ पनि हुँदो हो । त्यति बुझ्न कसैलाई चार्ल्स डार्बिन बन्ने दुःख पनि गर्न नपरिहाल्दो हो । तर, कसैसँग यसरी सोचिदिने फुर्सद र उदारता खोज्ने मूर्खता म गर्दिनँ, कम्तीमा यतिबेला । हरेक रुचि र अरुचि व्यक्तिगत आग्रह र दुराग्रहका विषय मात्रै होइनन्, राजनीतिक पनि हुन् भन्ने अब त म राम्रैसँग बुझ्छु । खैर, त्यस किताबभित्र केही व्यक्तिमाथिका कविता पनि छन् ।

ती व्यक्ति जसले कुहिरोभित्र हराइरहेको मेरो युवावयलाई विचारको कोलाजले नयाँ, फरक र धारिलो बनाइदिए । धारणाहरूको अनन्त ‘जिगज्याग’ मा हेलिँदै गरेको मेरो दिमागलाई म आफैंले नसोचेको दिशा दिए । यस्ता व्यक्तिमध्ये जिम मरिसन, अलेन गिन्सवर्ग, अवतार सिंह पाश, पारिजात आदि थिए । मलाई यी स्रष्टामाथि कविता नै लेखिहाल्ने रहर किन जाग्यो ? म जान्दिनँ । त्यसरी लेखिएका सबै कविता ०५६/०५७ सालतिर पोखरा छँदै लेखिएका हुन् । तीमध्ये केही किताबमा छापिए, केही अझै पनि डायरीमै छन् ।

पोखरा । यसको छवि भयावह रूपले सम्मोहक कुनै ‘एब्स्ट्र्याक्ट आर्ट’ जस्तो छ मभित्र । यसले धेरै कुरा दिएको छ मलाई । धेरै थोक चिनाएको छ । केही सुन्दर, मोहक कुराहरू अनि केही गहिरा विषाद पनि ।

र, त्यही ‘एब्स्ट्र्याक्ट’ कथामा कुनै दिन जिम मरिसन उपस्थित भए क्रान्तिकारी आत्मघातीको विम्ब लिएर । मलाई यी दुर्लभकोटी स्रष्टासँग पहिलो साक्षात्कार गराउने व्यक्ति कवि बानिरा गिरी हुन् । विश्वका प्रमुख साहित्य, कला र संगीतमाथि उनको परख कति समृद्ध र सघन थियो भन्ने थाहा पाउन उनका फुटकर लेख नै पर्याप्त लाग्थे । म उनलाई पढ्दा आनन्दित हुन्थें । हिजोआज अल्जाइमर्सको बिमारीले आफ्नै विगत र वर्तमान समेत बिर्सिएर भौतिक रूपले दयनीय भइरहेकी वानीरा गिरी तिनताका सक्रिय स्तम्भकार थिइन् ।

त्यतिबेला म दिदीसँग बस्थेँ । पृथ्वीनारायण क्याम्पसको गेटैनेर दिदीको बुक स्टल थियो । मानविकीको विद्यार्थी म । शब्दको मोह बहुतै थियो । पढ्ने भोक र कविता लेखेर सुनाउने लोभ उस्तै । बुक स्टलमै बित्थ्यो धेरै समय । पत्रपत्रिका खुबै पढिन्थ्यो । अखबारका पानामा जिम मरिसन चित्रले होइन, शब्दमा कुँदिएका बयानले ठोक्किए मसित । वानीरा गिरीका शब्दमा जिम आधुनिक संगीतका कोहिनूर थिए । शक्तिशाली आवाजका जादुगर थिए । जिमका जागरण गीत सुषुप्त अवस्थामा रहेको मान्छेको चेतना जगाउने साइरनजस्ता थिए । उनले ‘द डोर्स’ ब्यान्डको सफलता फ्रन्ट म्यान जिम मरिसनको अद्भुत कलाचेत र अन्तर्मनबाट उद्भूत सत्यको प्रकाशनका कारण सम्भव भएको भन्दै लेखेकी छन्, जिम मरिसन साँच्चै नै ज्ञात र अज्ञातबीचको ढोका बनेर बाँचे...
जस्तो कि जिम आफैं भन्थे–
देअर आर थिङ्स नोन
एन्ड देअर आर थिङ्स अननोन
ह्वाट द सेपरेट्स देम इज द डोर
एन्ड द्याट्स् ह्वाट आई वान्ट टु बी
आई वान्ट टु बी द डोर !
जिमलाई आफूमा आत्मसात् गर्ने यी शब्द साँचेर मात्र बसेँ म । उनलाई सुन्ने, महसुस गर्ने र उनका शब्दको संवेगभित्र एकाकार हुने समय आउन मैले दशक बढी कुर्नुपर्‍यो । उनको जादुयी आवाजको कम्प, उनका भावको शक्ति र संवेदनाको गहिराइमा पुग्ने भौतिक ल्याकत र साधन मसँग थिएनन् । पैसा, ज्ञान, सम्मान र पहुँच वर्गीय मात्रै छैनन्, लैंगिक पनि छन् भन्नका लागि मसँग यस्ता अनुभव धेरै छन् । विवाह र सन्तान जन्मका ‘स्पिडब्रेकर’ हरूकै बीचमा पनि मभित्र जिम र उनीजस्ता अरू थुप्रै मानिस जिउँदै थिए । यो कम अर्थपूर्ण कुरा हो भन्ने मलाई लाग्दैन ।

नियमित तलब थाप्ने जागिर खाएपछि सबैभन्दा पहिले किन्नु थियो मलाई ल्यापटप । त्यो फुर्सदको तलतल मेट्ने केवल एउटा आयताकार वस्तु थिएन मेरा लागि । संसार चिन्ने, संसार भेट्ने ढोका थियो । यही ढोकाबाट छिरेपछि बल्ल मैले जानें, कस्ता थिए जिम ? उनका शब्दले रचेको संसार कस्तो थियो ? उनका गीतले के भन्छन् ?

सन् साठीको दशकको मध्यपछिका वर्षहरूमा कला दुनियाँलाई आक्रामक रूपमा हस्तक्षेप गरेर सत्तरीको दशकको थालनीमै बितिजाने जेम्स डग्लस (जिम) मरिसन उच्चकोटीका साधक थिए । बीसौं शताब्दीका दुर्लभ र दुस्साहसी गायकमध्ये एक थिए । उम्दा गीतकार र कवि थिए । क्लासिकल रक संगीतमा उनले बनाएको स्पेस छुट्टै छ । खास छ ।

चार वर्षको छँदा देखेको भयानक सडक दुर्घटनाको स्मृतिले आजीवन लखेटिएका यिनी स्कुलकालदेखि नै ‘अफबिट’ छात्रमा गनिन्थे । कोलम्बिया विश्वविद्यालयबाट फिल्म अध्ययनमा स्नातक सकाउन्जेल बाईसवर्षे तन्नेरी जिमले आफ्नै पहलमा रे मान्जरेक, रोबी क्रिजर र जोन डेन्समरसँग मिलेर ‘द डोर्स’ नामक सांगीतिक समूहको निर्माण गरे । ज्याज, रक, ब्लुज र लोक सबै किसिमका संगीतको आत्मा छामेका यी चार भाइले जे गाए, जसरी गाए त्यसले साठीको दशक हल्लियो । त्यसको पराकम्प अझै उस्तै छ । आफूलाई उत्पात सभ्य र शिष्ट भनाउने मानिसहरूलाई जिमहरूले गाएका गीत अश्लील र छाडा पनि लाग्न सक्छन् । कसैलाई यस्तो लाग्नै हुन्न भन्ने पनि होइन । तर, कुरा के भने उनीहरूले जसरी समयको जटिल यथार्थलाई अति मिहिन र मूर्त ध्वनि दिएर छोडेका छन् त्यसको गहिराइ र फैलाइ ठम्याउन तिनका एक एक शब्द ध्यानस्थ सुन्ने धैर्य र उदारता चाहिन्छ । उनीहरूले बाँचेको युगका संकट चिन्ने दृष्टि चाहिन्छ ।

युद्धोपरान्त विश्वका आर्थिक, सामाजिक संकट, शीतयुद्धका सांस्कृतिक उत्तरदान र भियतनाममा पोखिएको अमेरिकी युद्धोन्मादको आलोचना, प्रेम र मानवताको रक्षा गर्ने अपिल अनि भयावह आगतको चिन्ता ‘द डोर्स’ का गीतहरूमा भेटिने मूल कथ्य हो । एकल धार्मिक, एकल जातीय राष्ट्रवाद र नश्लीय एकत्ववादको विष फैलिरहेको वर्तमान समयमा द डोर्सका गीतहरू झनै प्रासंगिक छन् । ‘वेक अप’, ‘द इन्ड’, ‘वुमन इन द विन्डो’, ‘राइडर्स अन द स्ट्रोम’, ‘एल. ए. वुमन’ लगायतका गीत यसकारण कालजयी छन् । यीमध्ये प्रायः गीत जिम रचित हुन् ।

जिमका सुरुआती आदर्श थिए अस्तित्ववादी विचारक नित्से । पछि आर्थर रिम्बाउन्ड, फ्रान्ज काफ्का, बाल्जाक, ज्याक केरुवाक, अलेन गिन्सवर्ग इत्यादिको मिश्रित प्रभावले यिनका रचना मिथक, इतिहास, वर्तमानका त्रासदी र भयकारी भविष्यकथनले भरिएका छन् । आलोचकहरू यिनलाई सपना र दुस्वप्नका अभूतपूर्व गायक मान्छन् ।

सन् १९४३ को डिसेम्बर ८ मा अमेरिकामा जन्मेका जिम जम्मा सत्ताईस वर्ष बाँचेर १९७१ जुलाईमा बिते । यति छोटो जिन्दगीलाई आउँदा अनेकौं पुस्ताका लागि लोमहर्षक बनाएर छोडेका यिनी गतिशील स्वप्नदर्शी र उदात्त दुनियाँका परिकल्पनाकार थिए । अफसोस नै भन्नुपर्छ, उनको अति सिर्जनशील र रहरलाग्दो उमेरलाई अल्कोहल र ड्रग्सको भयंकर कीराले निलेर खाइदियो । व्यक्तिगत जीवनका कठोर उहापोहले दिएको मानसिक तनाव, अलगाव र एक्लोपनले दुर्व्यसनको उत्कर्षमा पुर्‍याएर उनलाई आत्मघात गर्ने अवस्थामा पुर्‍याइदियो ।

धर्तीमा जिम मरिसनजस्ता अनेक स्रष्टा आए र गए । तिनले उच्च सिर्जनशील तर भयावह सकसको जिन्दगी बाँचे । सत्य खोज्ने तिर्खाले तिनलाई आत्महन्तासमेत बनाइदियो । यो दुःखद कुरा हो । यति ठूलो संसार उनीहरूजस्ता मान्छेका लागि किन यतिविधि साँघुरो हुन्छ ? तिनले कल्पना गरेजस्तो फराकिलो दुनियाँ बनाउने सामर्थ्य छ हामीसँग ?

जस्तो कि, ‘द इन्ड’ मा भनिएको छ–
के तिमी अनुमान गर्न सक्छौ यति धेरै स्वतन्त्र र अनन्त
कुनै अपरिचितको दुस्साहसिक खोज...

जिमहरूले छोडेर गएका प्रेम, घृणा, आक्रोश र जागरणका लय छन् हामीसँग । अवचेतनमा सुषुप्त बसेर ती मध्यरातमै पनि जुरुक्क ब्युँझाउन आउँछन् । चरम अकर्मक भावले निदाउरो भएको बेला च्याँट्ठिएर बोलाउँछन्, ओई उठ्....!
जस्ट वेक अप...बेबी !

प्रकाशित : पुस ५, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?