कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यांकी क्षेत्रमा हिउँको उत्पात

राजव

हिजो डिसेम्बरको पहिलो आइतबार र पहिलो तारिख थियो  । यो सिजनको पहिलो हिम वर्षा हुने दिन पनि  ।

यांकी क्षेत्रमा हिउँको उत्पात

बिहान केही बेर घाम हल्का रूपमा यताउता सडकतिर छरिएका थिए । सब रूखहरूलाई पातहरूले छोडेको धेरै दिन भइसकेको छ । अब ती कंकालजस्ता देखिन्छन् । ठिहीको प्रकोपले तिनका हाँगाहरू कुरूप सिटाजस्ता भएका छन् । तिनलाई छुँदै घाम भुइँमा फैलिएका थिए । त्यसकारण ती मृतप्रायः सिटाहरूले पनि घामको न्यानो महसुस गर्न पाए होलान्जस्तो लाग्थ्यो । घरका लनका घाँसहरू र धुपीका बोटहरू अझ हरियै छन् । धुपी त ज्यान्द्रो नै हुन्छ । हिउँ, ठिही जत्ति पनि सहन सक्ने ।

कृष्णले भनेजस्तै स्थितिप्रज्ञ । तर, लनका घाँसहरू स्थितिप्रज्ञ हुँदैनन् । ती पूरै झोक्रिनेछन् । घामको एक छिनको त्यो रमझम दुर्लभ पुतलीझैं बिलायो । फेरि आकाश धुम्मियो । वातावरण सुरुआती साँझझैं धमिलियो । एघार बजेपछिको हालत थियो यो । यो हिउँ पर्नुपूर्वको सांकेतिक वातावरण थियो । हिमवर्षाको गर्भे पिरियड भने हुन्छ यसलाई । धुम्मिएको घण्टौंपछि हिउँका फुल्का झर्न थाल्छन् । आइतबार हुनाले सडकमा गाडीहरू कम गुडेका थिए । त्यसमाथि हिउँ पर्नेवाला दिन थियो । टीभीका वेदर च्यानलहरूको घोषणाअनुसार, हिउँ पर्न तीन बजेबाट सुरु हुनेवाला थियो । त्यसकारण वाकका लागि म दुई बजे निस्किएको थिएँ । कामले गर्दा म मर्निंङ वाक गर्न भ्याउन्नँ । त्यसकारण यो काम म कामबाट फर्केपछि साँझ मात्र गर्छु । अर्लिंगटन टाउनमा सरेपछिको मेरो ओर्कआउटको रुटिङ यस्तै छ ।

मेरो अपार्टमेन्टपछाडि छ, मैले हिँड्ने गरेको मिउटम्यान बाइक पाथ । यो हिँड्ने र साइकल गुडाउनेहरूका लागि मात्र बनेको बाटो हो । यो दस माइलसम्मको लम्बाइमा बेडफोर्ड सहरसम्म तन्किएको छ । एक वर्ष अगाडिसम्म म यो बाटोमा जगिङ गर्थें । जगिङ गर्दा म दुई अढाई माइलसम्म गर्थें । तर, अब त्यस्तो सकसको दौड छोडेको छु । र, फुर्तिलो हिँडाइ थालेको छु । अर्थात् चार माइल ब्रिस्किङ गर्छु । त्यसमाथि पचास, साठी पुसअप गर्छु । त्यसकारण योभन्दा बढीको हिँडाइ किन चाहियो ? छैसठ्ठीवर्षे मेरो शरीरका लागि यो पर्याप्त छ अथवा बढी नै ।

लेही हस्पिटलकी मेरो प्राइमरी केयर डाक्टर मार्ग्रेट गाड्न पनि भन्छे ‘डन्ट पुस योर सेल्फ ।’ उसले त्यसो भनेपछि मेरो व्यायामको अब्सेसन कम भएको छ । अहिलेसम्म आकस्मिक रूपमा आइलाग्ने मौसमी व्याधिका बाहेक नियमित रूपमा निल्नुपर्ने कुनै पनि औषधिमा मैले खर्चबर्च गर्नुपरेको छैन । यो सबको देन मिउटम्यान बाइक पाथ नै हो । मलाई त्यस्तै लाग्छ । किनभने सुन्दर प्रकृतिबीच बनेको यो मिउटम्यान बाइक–वे नभएको भए सायद म नियमित हिँड्ने थिइनँ । र, मेरो डाक्टर मार्ग्रेट गाड्न मलाई भनिहाल्ने थिई, ‘लु खा नेपाली ! सुगरको औषधि, प्रेसरको पिल्स ।’

मिउटम्यान बाइक पाथको दायाँबायाँ वृक्षहरू, बुट्यानहरू र झाडीहरू प्रशस्त छन् । बीचबीचमा आफ्नो गतिको मीठो ध्वनि सुनाउँदै बग्ने सङ्ला पानीका खोल्साहरू पनि आउँछन् । चौडाइको हिसाबले आठ फुटको मिउटम्यान बाटोको पिच एकदम सलल बग्ने चिल्लो छ । दायाँबायाँ छुट्याउने बीचमा सेतो डेढ इन्चको डिभाइडर लाइन छ । मास्तिर हिँड्दा दायाँपट्टि हिँड्नुपर्छ, फर्कंदा बायाँ । साइकल, बाइसाइकल कुदाउनेहरूले यो नियम सख्त रूपमा पालन गरेका हुन्छन् । मिउटम्यानमा हिँड्ने, कुद्ने, लम्कने, साइकल कुदाउनेहरूको लहर चलिरहेको हुन्छ । बच्चाहरूलाई स्टोलरमा राखेर आमाहरू पनि जगिङ गरिरहेका हुन्छन् ।

ब्रिस्किङका हिप हल्लाइरहेका हुन्छन् । कतिपय आफ्ना बच्चाहरूलाई साइकल सिकाइरहेका हुन्छन् । साइकल कुदाउनेहरू ‘आई एम अन योर राइट’, ‘आई एम अन योर लेफ्ट’ भन्दै हिँड्नेहरूलाई सचेत पार्दै दायाँबायाँबाट हुइँकिइरहेका हुन्छन् । तर, म बाइसाइकलतिर आकर्षित भइनँ । मलाई हिँड्नै मज्जा लाग्छ । हिँड्नुको आनन्द प्याडल चालमा छैन । साइकलवाला पनि यस्तै सोच्दा हुन्, साइकलको आनन्द हिँड्नेलाई के थाहा ? सिम्पल कुरो छ, जसलाई जुन गति मन पर्छ त्यही अपनाउने हो । मिउटम्यानमा लम्कँदै, लम्कँदै म आफ्नो मजा र गतिमा दुई माइल माथि पुग्छु । र, फर्कन्छु । आफ्नो अपार्टमेन्ट पुग्दासम्म चार माइल हिँडाइको मेरो नियमितता पूरा भएको हुन्छ । तर, हिजो म त्यत्ति परसम्म पुगिनँ । डेढ माइल पुग्दानपुग्दै रुईजस्ता हिउँका फुल्काहरू झर्न थाले । त्यसकारण म बीचैबाट फरक्क फर्किएको थिएँ ।

म फर्कन थालेको पाँच मिनेटपछि सघन रूपले चर्को गतिमा बाक्ला हिउँका फुल्काहरू आक्रामक रूपमा बर्सन थाले । ती फुल्काहरूले मेरो अनुहार र विशेषगरी मेरो आँखामा प्रहार गरिरहेका थिए । चिसोबाट जोगिन मेरो शिरमा नेपाली पस्मिनाको कानछोपुवा टोपी थियो । त्यसकारण कपालको खडेरी लागेको मेरो शिरको अनाथ छालाहरूले आक्रामक हिउँ फुल्काहरूको चिसा थप्पड सहन परेको थिएन । तर, मेरो टोपी तिनको बोझ बोक्दै थियो । हिउँका त्यस्ता फुल्काहरू धमाधाम मेरो टोपीमा अवतरण हुँदै थिए । त्यसरी अवतरित हिउँ–फुल्काहरू थपिँदा–थपिँदा दस मिनेटभित्र मेरो टोपीको रूपको अस्तित्व हिउँको डल्लोजस्तो भएको थियो । मेरो सामुन्नेबाट मास्तिर लम्किरहेकाहरूको शिरको टोपीको हाल पनि त्यस्तै थियो । तिनको अमेरिकन कानछोपुवा शिरपोश हेरर म आफ्नो टोपीको हाल बुझिरहेको थिएँ । हिँड्दाहिँड्दै मिउटम्यानको कालो पिचको रङ छोपिएर पूरै सेतो भैसकेको थियो ।

दायाँ–बायाँका नाङ्गिएका कंकाल रूखहरूका जीर्ण हाँगाहरू हिउँले ढाकिएर ती अकस्मात फुलेझैँ देखिन थालेका थिए । जगरहरू बेपर्बाह कुदी नै रहेका थिए । हिँड्नेहरू चिप्लिएर बजारिन नपरोस् भन्नेमा सचेत पाइला चालिरहेका थिए । पैंसठ्ठी पार उमेरको मेरो चाल पनि त्यस्तै सचेत थियो । मेरा परेला र आँखिभौं चिसा हिउँका फुल्काहरूले ढाकिसकेका थिए । चिसोले गाला र नाकको टुप्पो रातो न रातो भैसकेको थियो । मेरो ज्याकेटदेखि तल स्निकरसम्म हिउँ लटरम्म बसेका थिए । मेरो रूप हिममानवको जस्तो भैसकेको थियो । यस्तो बेला निस्कने हरेकको हाल यस्तै बेहाल हिममानवको जस्तो हुन्छ नै ।

म आफ्नो हिममानव रूप लिएर अपार्टमेन्टको भित्री मूल दैलोमा पुग्दा हिउँ दुई इन्च झरिसकेको थियो । दैलो उघार्नुअघि म उफ्रन थालेँ । यसो गरेपछि शरीरको फुक्लो हिउँ फुरफुर झर्छ । म चारपटक उफ्रें । मेरो शरीरका अधिकांश हिउँ दैलोको रबर म्याटभरि झरेका थिए । र, पग्लँदै थिए । घरभित्र निरन्तर पचहत्तर डिग्री फरेनहाइट तापक्रम कायम हुनेगरी ताप–प्रवाह खोलिएको छ ।

त्यसकारण मैले यो ढोका खोलुन्जेलसम्म ती हिउँ पानी–पानी भैसकेका थिए । साथमा मेरो शरीरका पोसाकका अटेरी हिउँ–फुल्काहरू पनि पानी बन्दै थिए र, बग्दै थिए । म लामो, न्यानो करिडोर हुँदै आफ्नो अपार्टमेन्ट नम्बर दुईको दैलो खोल्छु । माइलको हिसाबले कम र समयको हिसाबले म दुई घण्टा नै हिँडेको थिएँ । मेरो हिँडाइको माइल घटाउने तीव्र गतिमा उड्दै आँखामा प्रहार गर्न आइपुग्ने ती हिउँ फुल्काहरू नै थिए । गएको बिहीबार थ्याङ्स गिभिङ डे थियो । प्रायःको घरमा सिङ्गो टर्की रोस्ट गरिएको थियो ।

साथमा मास पोटाटो, स्विट पोटाटोलगायतका अनेक साइड डिस तयार गरिएका थिए । तिनको रेफ्रिजिरेटरभित्रको चिस्यानमा खाइनसिध्याएका बाँकी बचेका त्यस्ता परिकारहरू अझै होलान् । हाम्रो रेफ्रिजिरेटरभित्र पनि अझै टर्कीको सिङ्गो फिलो, छाती, करङ, रोस्टेड केही ड्रम्स स्टिक, सिङ्गै उसिनेको कुरिलो, भेज पुलाउ आदि कतिपय बचेका परिकार राखिएका थिए । थ्याङ्स गिभिङको साँझ छोरा–बुहारी, ज्वाइँ–छोरी, नाति–नातिनाको जमघट थियो । अमेरिका आएको सुरुका केही वर्ष हामीलाई यो खैरे चाड थ्याङ्स गिभिङको मतलब हुँदैनथ्यो । तर, बतासमा निस्केपछि त्यसको स्पर्शबाट जोगिन के सक्नु ! जोगिन घरभित्रै बस्नुपर्छ । त्यो सम्भव छैन । त्यसमाथि थ्याङ्स गिभिङ खानपिन, भेटघाट, कृतज्ञता र भोजभतेरको चाड हो । हामीले खानपिनका त्यस्ता परिकारहरूको साथमा जमेर थ्याङ्स गिभिङ भतेर मनाएका थियौं । खुब रेड वाइन पिएका थियौं । एघार बजेपछि हाम्रो परिवारको थ्याङ्स गिभिङ भोज सकिएको थियो ।

फेरि छोरी, ज्वाइँ, छोराबुहारी बाईबाई गर्दै आ–आफ्नो घर याक्टन र लिटिलटन फर्किएका थिए । ‘ड्राइभ सेफ, ड्राइभ सेफ’ भन्दै हामीहरूले उनीहरूलाई बिदा गरेका थियौं । उनीहरू हिँडेपछि फेरि कोठा सुनसान बनेको थियो । हामी डाइनिङ टेबुलमा बचेका खाने कुराहरू क्रमशः रेफ्रिजेरेटरमा थन्क्याउन थाल्यौं । तीन बोतल रेड वाइन रित्तिएछ । मेरी बूढीको जाँचपड्तालमा बढी पिउने मै ठहरिएँ । यही गल्फल्ती गर्दै हामी निदाएका थियौँ । घर पुगरे छोरा, छोरीले हामी सुरक्षित घर आइपुग्यौँ भन्न फोन गरेका रहेछन् । तर, थकाइ र वाइनको उग्रताले ओछ्यानमा ढलेका हाम्रा लठ्ठिएका कानले तिनको फोन के सुन्थे ? मस्तले निदाएको निदाइ भइएछ ।
बिहान उठेपछि मैले आफ्नो फोनमा तिनले छोडेको भ्वाइस मेसेज सुनेको थिएँ, ‘अराइभ्ड सेफ्ली, गुड नाइट, अराइभ्ड सेफ्ली, गुड नाइट ।’

हिउँले भिजेका लुगा फुकालेर म बाथरुमभित्र पसेँ । सावरहेडबाट झरेको तातो पानीमा मजाले पखालिएँ । हिँडेर आएपछि म प्रायः तातो पानीमा यत्तिकै पखालिने गर्छु । त्यसरी नुहाएर फ्रेस मुडमा म लिभिङ रुममा आएको थिएँ । यसपछि मलाई घरायसी कुरो गर्नु केही थिएन । रेफ्रिजेरेटरमा थ्याङ्स गिभिङका लफ्टेओभर खानाहरू अझै थिए नै । त्यसकारण मलाई पकाउनुपर्ने झन्झटतिर लाग्नुपर्ने थिएन । म सोफामा बसें र टीभी खोलें । तिनले उत्तरपूर्वी अमेरिकी राज्यभर हिम–आँधीको प्रकोपका समाचार फुकिरहेका थिए । विशेषगरी यसको चपेटामा बढी न्युयोर्क पर्दै थियो । न्युयोर्कमा दुई फिट हिउँ पर्नेवाला थियो । हिउँ आतंकको यो समाचार मलाई हेरिरहन मन लागेन । टीभी बन्द गरेँ ।

किचेन र्‍याकबाट हेनेसी कोन्यागको बोतल झिकें । अन्दाजी डेढ पेग ग्लासमा राखेँ । र, चुस्की लिँदै झ्यालबाहिर हेर्न थालेँ । कोन्यागको रमरम नशामा ल्याम्प पोस्टको प्रकाशमा उडिरहेको ‘स्नो–फ्लेक’ को चमक हेर्नुको आनन्द बेग्लै हुन्छ । म यही मस्तीको रमरम तालमा हिउँका चमेलीहरूको मोहक अवतरण हेरिरहेको थिएँ । यसरी हेर्दाहेर्दै हिउँ र बतासको गति झन् तीव्र रूपमा चल्न थालेको थियो । सडक किनारमा पार्क गरिएका कारहरू हिउँले छोपिइसकेका थिए । ती हिउँको बर्को ओढेर सुतिरहेका झैं देखिन्थे । गुडिरहेका कारहरूको विन्डसिल्डबाहेक तिनको अरू बडी पार्ट हिउँले पूरै छोपिएका थिए । गुडेका सबै कारका वाइपर हिउँ पन्छाउन चलिरहेका थिए । सडकको हिउँ पन्छाउन स्नोप्लो जोडिएका ट्रकहरू हिउँ सोर्दै कुद्दै थिए । तिनको पछिपछि नुन छर्दै अर्को ट्रक कुदिरहेको थियो ।

उज्यालो निख्रिसकेको थियो । लठ्ठाका बत्तीले प्रकाश छर्न थालिसकेका थिए । भर्खर पौने पाँच बजेको थियो । तर, हावभाव रातको हुँदै थियो । आइतबारदेखि हिउँ बीच–बीचमा ब्रेक लिँदै मंगलबारसम्म पर्दै थियो । यो हिसाबले हिउँ धर्तीमा डेढ फुट झर्दै थियो । बिल्कुल आतंकको वातावरण बन्दै थियो । अमेरिकी परिवेशको मेरो पहिलो कथा ‘किवुका’ मा मैले यो हिउँ–आतंक र यसको मोहकताको बयान गरेको छु । त्यसपछि लेखेको मेरा अरू कथामा पनि हिउँको सुखद, दुखद, रोमाञ्चक र सौन्दर्यात्मक चित्रण छन् । हिउँको सौन्दर्यको बयान गर्न, चित्र कोर्न, कविता लेख्न वा निबन्ध लेख्न वा गफ गर्न वा डकुमेन्ट्री बनाउन त मजा हुन्छ । तर, त्यसलाई भोग्नुपर्‍यो भने के हुन्छ !

म सपरिवार सन् २००२ को नोभेम्बर दुईमा बोस्टन आएको थिएँ । त्यसको दस, बाह्र दिनपछि यो मौसमको पहिलो हिमआँधी आएको थियो । टहलिने सिलसिला थियो । म डाउनटाउन बोस्टन गएको थिएँ । मलाई मौसमको खबर थाहा थिएन । अपार्टमेन्टबाट निस्कँदा आकाशमा बादलको धरपकड थियो । वातावरण बिल्कुल धुम्मिएको, गुम्स्सिएको थियो । तर, मलाई यो हिउँ आँधीको गर्भे अवस्था हो भन्ने थाहा थिएन । म एक्लै बेखबर हिँडेको थिएँ । पन्ध्र मिनेटमा म डाउनटाउन क्रसिङको भूतल सबवे स्टेसनमा ओर्लिएको थिएँ । माथि उक्लेर म साइडवाकको दायाँबायाँ अत्यन्त उत्सुक आँखा फैलाउँदै हेर्दै अगाडि बढ्दै थिएँ ।

बच्चाहरूको आख्यानको चर्चित बाँदर पात्र क्युरियस जर्जझैं अत्यन्त उत्सुक मुडमा थिएँ म । त्यसबेलाको मेरो उमेर उनन्चास वर्षको थियो । तर, मेरो उत्सुकता क्युरियस जर्जको भन्दा कम थिएन । म क्युरियस जर्जको पल्याकपुलुक मुद्रामा अगाडि जाँदै थिएँ । एक छिनमा बायाँतिर अलग संरचनाको एउटा भवन देखियो । त्यसको विशाल दैलोको अलिक माथि साइनबोर्डमा लेखिएको थियो— बार्नेस एन्ड नोबेल । यो देखेपछि म झटपट सडकको दायाँबायाँ हेर्दै सडक क्रस गरेर कर्पोरेट सञ्जालको यो पुस्तक पसलभित्र पस्न पुगेको थिएँ । पस्नासाथ किताबहरूको सामुद्रिक लहर चलिरहेको देख्छु । चारैतिर किताबले भरिएका साना, ठूला, अग्ला, लामा, छोटा र्‍याकहरू देख्छु । एउटा कुनामा म्यागजिन र अखबारहरू प्रदर्शन गरिएको डेस्कहरू देख्छु । सामुन्ने निकै लामो स्कलेटर चलिरहेको देख्छु । त्यसका खुट्किलामा उभिँदै मानिसहरू माथ्लो खण्डमा पुगिरहेको देख्छु । म क्युरियस जर्ज हेर्‍याहेर्‍यै भइरहेको थिएँ ।

म जहाँ उभिएको थिएँ, त्यसको सामुन्ने सात–आठवटा काउन्टर थिए । सबै चालु थिए । हरेक काउन्टरमा ग्राहकहरूको लामा–लामा लाइन थिए । लाइन लाग्नेहरू हरेकको हातहातमा तीन–चार किताब च्यापिएका थिए । क्रमशः ती काउन्टरको क्यासियरकोमा पुग्थे । आफूले किन्न चाहेको सबै किताबको रकम चुक्ता गर्थे । र, झोलामा राखेर क्यासियरले दिएको किताबको झोला बोकेर बाहिर निस्कन्थें । यो निरन्तर चलिरहेको थियो । अर्कोतिर र्‍याकहरूमा त्यत्तिकै संख्यामा मानिसहरू आफूले चाहेका किताब खोज्ने, भेटेपछि निकाल्ने गरिरहेका थिए । म म्यागजिन सेक्सनतिर पुगेको थिएँ ।

मेरो आँखा ‘हार्डभर्ड रिभ्यु’, ‘पुल्गसायर’, ‘पेरिस रिभ्यु’, ‘टिन हाउस’, ‘थ्रिपेनी रिभ्यु’, ‘याल रिभ्यु’, ‘पोएट्री’, ‘पेन’, ‘न्यु अमेरिकन राइटिङ’, ‘ग्लिमर ट्रेन’, ‘अग्नि’ जस्ता पचासौं साहित्यिक मासिक, त्रैमासिक पिरोडिकलहरूतिर घुमेका थिए । तिनलाई पल्टाएर मैले लगभग दुई घण्टा बिताएको थिएँ । त्यसपछि म स्क्लेटरबाट माथ्लो तला उक्लिएको थिएँ । तलभन्दा माथि झन् धेरै किताबको र्‍याक र कक्षहरू थिए । सबैतिर चाहको किताब खोज्नेहरूको लर्को तलजस्तै थियो । ती र्‍याकमा मैले प्रखर बौद्धिक लेखक सुजन सोनट्याग भेटेको थिएँ । उनको निबन्धसंग्रह एगेंस्ट इन्टरप्रिटेसन भेटेको थिएँ ।

जेडी स्यालिन्जर भेटेको थिएँ । उसको कथासंग्रह ‘नाइन स्टोरी’ भेटेको थिएँ । लागूऔषध बेचेको आरोपमा बीस वर्षको उमेरमा पाँच वर्ष जेल सजाय भोगेका चिकानो मूलका प्रख्यात जनवादी कवि जिमी स्यान्टियागो बाका भेटेको थिएँ । उसको प्रसिद्ध कवितासंग्रह ‘इमिग्य्रान्ट इन आवर ओन ल्यान्ड’ का थुप्रै कविता पढ्न पाएको थिएँ । चार्ल्स बुकोवस्की भेटेको थिएँ । त्यहाँ उसका उपन्यास र कवितासंग्रहहरू थिए । मैले ती प्रायः सब पल्टाएको थिएँ । मलाई एलेन गिन्सबर्गभन्दा बढी चार्ल्स बुकोवस्की मन पर्छ । बुकोवस्की मलाई गिन्सबर्गभन्दा धेरै उदात्त र मस्तीको लाग्छ । म बार्नेस एन्ड नोबेलभित्र पौने तीन बजे पसेको थिएँ । पुस्तकको यो विश्वमा म घण्टौँ हराएको थिएँ । किताबहरूको एक से एक साहित्यिक चकाचौंधमा डुबेको मलाई घडीको गतिको पत्तै भएन । ‘वी आर क्लोजिङ इन टेन मिनेट’ माइकबाट कुनै स्त्री स्वरले प्रसारण गरेको यो सूचना सुनेपछि म हडबडाएर तल झर्ने स्कलेटरतिर बढेको थिएँ । म बार्नेस एन्ड नोबेलबाट निस्कँदा ९ बज्दै थियो ।

भित्र हुँदा मलाई बाहिर के चलिरहेछ भन्ने बिल्कुल पत्तो थिएन । बाहिर निस्किएर जे देखेँ, त्यसले मलाई चकित पार्‍यो । बाहिरको संसार अर्कै भइसकेछ । हिउँ आकाशबाट ह्वारह्वार्ती झरिरहेको थियो । सडक, साइड वाक, हिउँले पुरिइसकेका थिए । ल्याम्प पोस्टको प्रकाशले हिउँ कुन गतिमा झरिरहेछ भन्ने अनुमान देखाइरहेको थियो । मेरो आँखामा पहिलोपटक हिउँको संसार प्रकट भएको थियो । म रोमाञ्चित हुँदै स्टेसनतिर जाँदै थिएँ । तर, मलाई हिँड्न सजिलो भइरहेको थिएन । मेरो जुत्ता हिउँमा ग्वामग्वाम गाडिइरहेको थियो । खुट्टा लगभग पिन्डुल्लासम्म डुब्थ्यो । रोमाञ्च, सकस, त्रास, भोग्दै म सब–वे स्टेसनमा पुगेको थिएँ । हिउँले सब–वेको नियमितता रोकिएको रहेनछ । धेरै कुर्नुपरेन । पाँच मिनेट बितेपछि चर्को आवाज छोड्दै ट्रेन आइपुग्यो । म पन्ध्र–सोह्र डिब्बा भएको ट्रेनको मध्यभागको डिब्बाभित्र पसेको थिएँ । आउँदाको जस्तो घुइँचो थिएन । प्रायः सबै कामबाट फर्किएका जस्ता देखिन्थे । तिनको अनुहार चिसो र थकित देखिन्थ्यो । ती सब शिरदेखि जुत्तासम्म हिउँको भार बोकेर पसेका थिए । मेरो शरीरको हाल पनि त्यस्तै थियो ।

सब–वे चढेको दस मिनेटमा म केन्डल स्क्वायर स्टेसन ओर्लिएको थिएँ । केन्डल स्टेसन पनि भूमिगत नै थियो । यहाँ झर्ने म एक्लो थिएँ । माथि उक्लेर देखेको हिउँको तमासा अझ चर्को थियो । एकदम आतंकित पार्ने श्वेत दृश्य । न सडक देखिन्थ्यो, न फुटपाथ । सबलाई हिउँले बराबर गरिदिएको थियो । मबाहेक वरिपरि अरू कोही मानिस देखिएनन् । हिउँ आफ्नो चर्को रफ्तारमा बर्सी नै रहेको थियो । कुन बेला रोकिन्छ र कति बर्सन्छ मेरो खबरमा थिएन । तर, हिउँको तत्कालको खबर भने मेरो पत्तोमा आइहाल्यो । अगाडि बढ्न पहिलो कदम हिउँमा के परेको थियो, मेरो खुट्टो हिलोमा झैं घुँडोभन्दा माथिसम्म भास्सियो । त्यसपछि अर्को खुट्टो उचालेँ, त्यो पनि हिउँभित्र त्यत्ति नै गहिराइमा जाक्कियो । म यसरी फुक्लो हिउँभित्र आधाजसो डुब्दै अगाडि बढ्न थालेँ । चारैतिर अग्ला नवनिर्मित भवनहरू थिए । तीमध्ये कतिपय भवन बायोकेमिकल कम्पनीसँग सम्बन्धित, कतिपय व्यापारिक कम्पनीसँग सम्बन्धित, कतिपय सफ्टवेयर र इन्जिनियरिङसँग सम्बन्धित थिए । त्यसपछिका अधिकांश भवन विश्वप्रसिद्ध शैक्षिक संस्थान एमआईटी (म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलजी) सँग सम्बन्धित थिए ।

म एक अज्ञात नवागन्तुक नेपाली ती अधुनातन बिशाल भवनको मुनिमुनि कटीसम्मको हिउँमा डुब्दै अगाडि जाँदै थिएँ । केन्डल स्क्वायरबाट हिँडेर मेरो अपार्टमेन्ट पुग्न १० मिनेट पनि लाग्दैनथ्यो । म क्याम्ब्रिज सहरको युनियन स्ट्रिटमा बस्थेँ । धेरै टाढा थिएन । तर, त्यसरी हिउँ डुबानमा परेको मलाई वान युनियन स्ट्रिटको त्यति नजिकको आफ्नो अपार्टमेन्ट पुग्न तीस मिनेट लागेको थियो । हिउँको यो मेरो पहिलो भोगाइ थियो । त्यसपछि त कतिकति ।

कोठामा बसेर झरिरहेको हिउँ नियाल्न, घाम लागेको बेला हिउँको सुन्दर परिवेश हेर्न जत्ति मजा हुन्छ, त्योभन्दा निकै चर्को हुन्छ, यसले दिने हैरानी । हिँड्न, बस कुर्न, कार चलाउन, कार पार्किङ गर्न, हिउँ सोहोर्न, पन्छाउन, हिउँमा डुबेको कार निकाल्न, हिउँको रास खनेर आफ्नो कारको पार्किङ स्पट बनाउन, कतिकति कष्टैकष्ट ।

नोट : न्यु ह्याम्पसायर, म्यासाचुसेट (बोस्टन) कनेटिकट, रोड आइजल्यान्ड, मेन, भरमन्ट र न्युयोर्क राज्यलगायतका क्षेत्र यांकी क्षेत्रका रूपमा बुझिन्छ । यो क्षेत्रमा यांकी बस्छन् ।

प्रकाशित : पुस ५, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?