१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बहुरंगी हृषीकेश

सुजित मैनाली

कूटनीति, राजनीति, मानव अधिकारवादी आन्दोलन, लेखन, प्राध्यापनलगायत अनेकन क्षेत्रमा विख्यात नाम हो– हृषीकेश शाह (१९८६–२०५९)  । पञ्चायती व्यवस्था सुरु हुनुअघि र त्यसको पूर्वार्द्धमा बढी चर्चित उनी २००७ साल अथवा २०४६ सालताका पनि गुमनामचाहिँ रहेनन्  ।

बहुरंगी हृषीकेश

बहुदल पुनःस्थापनापछि मुख्यतः मानवअधिकारका क्षेत्रमा सक्रिय रहेर उनले आफूलाई चर्चामा राखिरहे । राणाकालदेखि बहुदल पुनःस्थापना हुँदै माओवादी सशस्त्र युद्धसम्म बेहोरेका उनले आफूलाई ती घटनाका निष्क्रिय साक्षी नभएर सक्रिय कर्ताका रूपमा दर्ज गरे ।

यतिका राजनीतिक उथलपुथलबीच हृषीकेश सक्रिय रहन कसरी सके ? यसको उत्तर खोज्न उनको व्यक्तित्व र स्वभाव नियाल्नुपर्छ । पछिल्लो समय पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराईले यस्तै प्रयास गरेका छन्, आफ्नो किताब ‘परराष्ट्रका पात्र’ मार्फत । हृषीकेशबारे भट्टराईले लेखेका छन्, ‘एक व्यक्ति, सिद्धान्त र धारणाप्रति उनले दिने समर्थन एकाएक बदल्ने र पहिले अँगालेका दिशाविपरीत पनि गइहाल्ने स्वभावका थिए उनी (पृ. २१७) ।’ यस टिप्पणीको मर्मप्रति सहमत हुँदै यस आलेखमा ‘परराष्ट्रका पात्र’ मा उल्लेख हुन छुटेका हृषीकेशसम्बन्धी केही महत्त्वपूर्ण विवरणको आलोकमा उनको व्यक्तित्वबारे थप लेखाजोखा गरिएको छ ।

बहुमुखी कि बहुरंगी ?
हृषीकेशको निधनपछि हिमाल खबरपत्रिका (१–१५ पुस, २०५९) मा ओबिचुएरी छाप्दा पत्रकार बसन्त थापाले लेखेका थिए, ‘कूटनीतिज्ञ, राजनीतिज्ञ, संविधानविद्, मानवअधिकारवादी, कुशल लेखक–चिन्तक, शास्त्रज्ञ, उनी के थिएनन् ? उनी एकथोक मात्र होइन एकसाथ धेरैथोक थिए, त्यसैले उनी हृषीकेश शाह थिए ।’ यही कुरा भट्टराईले ‘परराष्ट्रका पात्र’ मा अलिक भिन्न पारामा लेखेका छन्, ‘कहिल्यै आफूलाई कुनै पनि प्रकारको अवकाशमा लान नचाहने उनी सधैं विभिन्न रूपरंगका राजनीतिक क्रियाकलापमा अग्रसर भएर चर्चामा आइरहे (पृ. २१७) ।’ थापाले हृषीकेशको बहुमुखी प्रतिभातर्फ संकेत गरेका छन् । भट्टराईले त्यस्तो प्रतिभालाई बहुरंगी जामा पहिर्‍याइदिएका छन् । हृषीकेशको ‘बहुरंगी’ चरित्रलाई बिर्सिएर उनको व्यक्तित्व र स्वभावमाथि प्रकाश पार्न वस्तुतः सम्भव छैन ।

‘राजपरिवार’ मा जन्म हुनुको संयोग र विद्याप्रतिको अतिशय लगावले हृषीकेशको बहुमुखी व्यक्तित्व निर्माण गरिदियो । पृथ्वीनारायणले गोरखा राज्य विस्तारका क्रममा गण्डकी बेँसीका आठ राज्य अर्थात् ‘टीका’ हरूलाई समावेश गर्नुअघि तीमध्येको एउटा ‘टीका’ भीरकोटका राजा थिए, हृषीकेशका पुर्खा । पञ्चायती व्यवस्थामा भीरकोटको राजपदवी खारेज हुनुअघि त्यहाँका राजा तारकबहादुर शाहका छोरा हुन् हृषीकेश ।

राणाकालताका राणहरूले पश्चिमका ‘घराना’ ठकुरी किशोरहरूलाई काठमाडौं ल्याई पढ्ने–लेख्ने तुल्याएर ज्वाइँ बनाउने गर्थे । सहिद बनाइनुअघि दशरथ चन्दलाई त्यही प्रयोजनले काठमाडौं भित्र्याइएको थियो । यसै मेसोमा तारकबहादुरले श्री ३ महाराज चन्द्रशमशेरको निगाहबाट पढ्ने मौका पाए । उनले कलकत्ताको हाइयर स्कुलबाट मेट्रिकुलेसन, त्रिचन्द्र कलेजबाट आईए र पटना युनिभर्सिटीबाट बीए उत्तीर्ण गरे । लगनशील भएर पढेबापत रोलवाला राणा जनरल प्रतापशमशेरकी छोरी मदनदिव्येश्वरीसँग उनको लगनगँठो जुर्‍यो (हृषीकेश शाह, प्रारब्ध र पुरुषार्थ, सन् २०१४, पृ. ५) । घर र मावल दुवै राजघराना भएकाले त्यसको असर हृषीकेशको व्यक्तित्वमा पर्‍यो । उनले दार्जिलिङको सेन्ट रोबर्ट्स हाइस्कुलबाट म्याट्रिक गरेर पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा र इलाहावाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे ।

अध्ययनसँगै जागिरे जीवनको खुड्किलो चढ्न पनि पारिवारिक पृष्ठभूमिले हृषीकेशलाई साथ दियो । श्री ३ महाराज जुद्धशमशेरको अनुग्रहबाट उनले त्रिचन्द्र कलेजमा अध्यापन सुरु गरे । पद्मशमशेरले सत्तामा आएपछि उनलाई त्रिचन्द्र कलेजमा वार्षिक १८ सय रुपैयाँ तलबसहितको नियुक्ति दिए । शनिबारको दिन पद्मशमशेरलाई पत्रपत्रिका पढेर सुनाउने अतिरिक्त जिम्मेवारी पनि पाए । पद्मशमशेरलाई प्रसन्न बनाएबापत वार्षिक २४ सय रुपैयाँ पाउने गरी ‘चिफ इन्सपेक्टर अफ स्कुल्स’ को जिम्मेवारीमा पदोन्नति भए (उही, पृ. ५३) ।

राणाशाहीको सेवामा रहँदै गर्दा छिट्टै राणाशाही ढल्ने छाँटकाँट देखेपछि पक्ष बदलेर हृषीकेश राणाशाहीविरोधी खेमामा आबद्ध भए । नेपाल प्रजातन्त्र पार्टीका नेता महेन्द्रविक्रम शाह (राजा महेन्द्र होइन) को पार्टीमा उनी गुप्त ढंगले प्रवेश गरे । प्रजातन्त्रप्रति आस्था राख्ने नेपाल प्रजातन्त्र पार्टीलगायत दलहरूबीच एकीकरण भएर नेपाली कांग्रेस गठन भएपछि हृषीकेश पनि नेपाली कांग्रेसका सदस्य बन्न पुगे । बीपी कोइराला र डिल्लीरमण रेग्मीबीचको विवादले नेपाली कांग्रेस विभाजित भएपछि रेग्मीको साथ लागेर हृषीकेशले नेपाली राष्ट्रिय कांग्रेस गठन गर्न सघाए । रेग्मीका प्रमुख सहायकका रूपमा उनले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हाले ।

राणाशाहीविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको आन्दोलनप्रति रेग्मी सकारात्मक हुने कुरै थिएन । राणाशाहीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा पैरवी गरेर उनले नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र संघर्षको उछित्तो काडे । कांग्रेसको संघर्ष विजयोन्मुख भएपछि चतुर हृषीकेशले रेग्मीसँग भने, ‘कुनै न कुनै रूपमा सबैले क्रान्तिमा सहयोग गर्नुपर्छ, नत्र मौकामा... हात बाँधेर बसेको भन्ने कलंक लाग्न सक्छ ।’ डिल्लीरमणले आफ्नो प्रस्तावमा चासो नदेखाएपछि आफैँ गएर कांग्रेस नेता मातृकाप्रसाद कोइरालासँग भेटे । कोइरालाले ‘हामी आफ्नै मान्छेलाई बाहेक अरूलाई हतियार दिन सक्दैनौं’ भनेपछि हृषीकेश जिल्लिए (उही, पृ. ८३) ।

अन्ततः राणा र आन्दोलनकारी शक्तिले मिलेर संयुक्त सरकार गठन गर्ने तयारी भयो । नयाँ मन्त्रिमण्डलमा क–कसलाई समेट्ने भन्नेबारे छलफल सुरु भयो । मौकाको फाइदा उठाउन रेग्मीको साथ लागेर हृषीकेश भारतबाट काठमाडौं भित्रिए । तर, काठमाडौंका जनताले उनीहरूलाई पत्याएनन् । राणाका अनुचर भनेर ढुंगामुढा गरे । यति हुँदाहुँदै पनि काठमाडौंमा केही आमसभा गरेर ‘शक्तिप्रदर्शन’ गरी मन्त्रिपरिषद्मा आफूहरूको हिस्सेदारी दाबी गरे (उही, पृ. ८९) । तर, नयाँ मन्त्रिमण्डलमा नेपाली राष्ट्रिय कांग्रेस समाविष्ट भएन ।

त्यसपछिका मन्त्रिमण्डलमा चाहिँ रेग्मीको समावेश भयो । रेग्मीको राजनीति अवसरवादी किसिमको थियो । त्यसैले केही समय सत्ताको स्वाद चाखेर उनी राजनीतिको किनारमा धकेलिए । तर, उनका सहायक हृषीकेशले चाहिँ रेग्मीलाई त्यागेर घरी बीपी त घरी महेन्द्रसँग निकट भई सत्ताको फन्को लगाइरहे ।

विश्वसनीयताको सीमा
‘परराष्ट्रका पात्र’ मा पूर्वपरराष्ट्रसचिव भट्टराईले आफैँले प्रत्यक्ष भोगेको कालखण्ड र संगत गरेका व्यक्तिहरूसम्बन्धी अति सामान्य विवरणका लागि पनि अरूलाई उद्धृत गरेर जोखिम पन्छाउने सरकारी कर्मचारीको मनोवृत्ति देखाएका छन् । किताबलाई विश्लेषणात्मक कम, विवरणात्मक बढ्ता बनाएर आफ्नो सीमा जाहेर गरेका छन् । यति हुँदाहुँदै पनि हृषीकेशको चर्चा गर्ने सन्दर्भमा उनले यस्ता कमीकमजोरीलाई माथ गर्न खोजेका छन् ।

रेग्मी र हृषीकेशबारे चर्चा गर्दै किताबमा भट्टराईले गरेको टिप्पणी रोचक छ, ‘रेग्मी र शाहबीच धेरै कुरामा समानता थियो । उनीहरूको स्वभाव पनि धेरै मिल्थ्यो । ‘सिद्धान्त साधन मात्र हो, साध्य होइन’ भन्ने दुवैको मान्यता थियो (पृ. १२२) ।’ अर्को एउटा सन्दर्भमा उनले ‘अरू’लाई उद्धृत गरेर नै सही, रेग्मीलाई ढुलमुले राजनीति गर्ने व्यक्ति भनेका छन् (उही, पृ. १२०) । यसो भनेर उनले हृषीकेशको राजनीतिलाई पनि त्यही श्रेणीमा राखेका छन् । एक ठाउँमा उनले सीधै भनेका छन्, ‘उनलाई (हृषीकेशलाई) भरपर्दो र विश्वसनीय व्यक्ति मान्नेचाहिँ सायद कोही थिएन (उही, पृ. १६५) ।’ भट्टराईले ‘परराष्ट्रका पात्र’ मा उल्लेख गर्न छुटाएका त्यस्ता अनेक प्रसंग छन्, जसले अविश्वसनीय, ढुलमुले र अवसरवादी राजनीति गर्ने सवालमा हृषीकेशले आफ्ना ‘गुरु’ रेग्मीलाई निक्कै पछाडि छोडेका थिए भन्ने देखाउँछ ।

रेग्मीले मोहनशमशेरबाट ५० हजार रुपैयाँ बुझेर प्रजातन्त्र स्थापनार्थ भएको आन्दोलनलाई असहयोग गरेका थिए (प्रारब्ध र पुरुषार्थ, पृ. ९७) । आफूलाई प्रजातन्त्रिक मूल्यमान्यताप्रति बफादार बताउने रेग्मीले आफ्नो राजनीतिक जीवनप्रति गरेको सबैभन्दा कठोर व्यङ्ग्य त्यही थियो । यस्तो ‘आत्मघाती’ व्यङ्ग्य गर्ने सवालमा रेग्मीभन्दा हृषीकेश निकै अगाडि थिए भन्ने कुरा बीपी र महेन्द्रसँगको उनको सम्बन्धको उतारचढाव हेर्दा स्पष्ट हुन्छ ।

बीपीप्रति हृषीकेशको दृष्टिकोण आरम्भमा निको थिएन । यसका लागि उनको पारिवारिक पृष्ठभूमि एक हदसम्म जिम्मेवार थियो । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली राष्ट्रिय कांग्रेसलाई नयाँ मन्त्रिमण्डलमा नसमेटिएपछि बीपीको दोहोलो काढ््न हृषीकेशले डिल्लिरमण रेग्मीलाई साथ दिएका थिए । यस्तै विषयलाई लिएर नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा गृहमन्त्रीसमेत रहेका बीपीलाई भेटेर हृषीकेशले गुनासो गरे ।

हृषीकेशको पार्टीका नेता/कार्यकर्ताले बीपीलाई हियाउन ‘गृहमन्त्री बीपी युवतीहरूसँग कानाकानापिच्चा खेलेर समय बिताउँछन्’ भन्दै एक जना युवतीले बीपीको टाउको रुमालले छोप्न लागेको फोटो छापिदिएका थिए । त्यही प्रसंग उप्काउँदै बीपीले ‘तपाईंहरू पनि कमचाहिँ हुनुहुन्न’ भनेपछि हृषीकेशले कड्किँदै बीपीलाई प्रजातन्त्रबारे सिकाउन खोजे, ‘तपाईंमा प्रजातन्त्रको राम्रो बोध होला जस्तो लागेको थियो तर नेपालको गृहमन्त्री भएर गरेको कारवाहीबाट चाहिँ प्रजातन्त्र के हो भन्ने थाहा नभएको जस्तो लाग्यो (उही, पृ. १००) ।’ राजा त्रिभुवनलाई भेटेर हृषीकेशले बीपीको यो कुराको पोल लगाए ।

प्रकारान्तरमा राजनीतिले अर्कै मोड लियो । रेग्मी र हृषीकेशबीच दूरी बढ्यो । रेग्मीको पार्टीबाट हृषीकेश निष्कासित भए । उनलाई बीपीले साथ दिए । नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर मन्त्रिपरिषद्का अध्यक्ष भएको बेला बीपीकै चाहनाबमोजिम राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहेका हृषीकेशलाई अमेरिकाका लागि नेपालको पहिलो आवासीय राजदूतको जिम्मेवारी थपियो । त्यसअघि महेन्द्रले उनलाई राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि बनाएर अमेरिका पठाएका थिए । बीपीकै सदिच्छाले उनी नेपाली कांग्रेसको महामन्त्री पनि बने ।

बीपीले प्रधानमन्त्री बनेपछि पनि हृषीकेशलाई राष्ट्रसंघका स्थायी प्रतिनिधि र अमेरिकाका लागि नेपाली राजदूतको जिम्मेवारीमा थमौती गरे । प्रधानमन्त्रीको हैसियतले बीपी राष्ट्रसंघ साधारणसभामा भाग लिन जानुअघि राष्ट्रसंघको औपचारिक कार्यक्रममै टेबुलमा जुत्ता बजार्ने तत्कालीन सोभियत संघको मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुस्चेभको हृषीकेशले आलोचना गरेका थिए । बीपी अमेरिका पुगेको अवसरमा त्यही प्रसंग झिकेर ख्रुश्चेभले बीपीकै अगाडि हृषीकेशलाई हियाउन खोजे । हृषीकेशकै कुरामा सही थपेर बीपीले उनको मान राखिदिए । बीपीका यस्ता अनेकन सद्भावपूर्ण व्यवहारबाट भावुक बन्दै हृषीकेशले आफूलाई अमेरिकाको आवासिय राजदूत बनाउने बीपीको निर्णयबारे चर्चा गर्ने क्रममा लेखेका छन्, ‘मलाई बीपी बाबुले पठाएका । त्यसैले उनीप्रति मेरो लोयल्टी हुने नै भयो (उही, पृ. १६४) ।’ अर्को एउटा सन्दर्भमा बीपीप्रति नतमस्तक हुँदै उनले लेखेका छन्, ‘नेपालको ठूलो नेता भनेको विश्वेश्वरप्रसाद कोइराला हो । बाहुनको चित्त माखाको पित्त भन्ने नेपाली उखान छ तर उनको चित्त यति ठूलो थियो कि... बोलाईकन मलाई पार्टीको जेनरल सेक्रेटरी बनाए, अरू कसैले त्यसरी बोलाएर जिम्मेवारी देलान् त (उही, पृ. १६९) ?’

तर, दुर्भाग्य ! ‘लोयल्टी’ भन्ने शब्द हृषीकेशको शब्दकोशमा थिएन । बीपीसँगको उनको सम्बन्धको हकमा पनि यही कुरा लागू भयो । त्यसअघि बीपीलाई अप्ठेरो पार्ने खेलोफड्कोमा सक्रिय रहेका उनले त्यसपछिका दिनमा पनि त्यस्ता क्रियाकलापलाई निरन्तरता दिए ।

नेपाली कांग्रेसभित्र बीपीको प्रभाव छिमलेर उनलाई प्रधानमन्त्री बन्न नदिन महेन्द्रले कुनै बेला सुवर्ण र गणेशमानलाई बीपीविरुद्ध उचालेका थिए । त्यस प्रयोजनमा महेन्द्रका तर्फबाट ‘नारद’ का रूपमा प्रयोग हुन हृषीकेशले मञ्जुर गरेका थिए । बीपी सरकारविरुद्ध ‘कू’ गर्नुअघि महेन्द्रले परामर्श लिएका एकाध व्यक्तिमध्ये हृषीकेश पनि थिए । आफूले देशको सक्रिय नेतृत्व लिन लागेको जनाउ दिँदै त्यस्तो अवस्थामा आफूलाई सघाउने/नसघाउने भनि महेन्द्रले जिज्ञासा राख्दा हृषीकेशले ‘बुताले भ्याएसम्म सघाउन पाउनु आफ्नो सौभाग्य’ भएको बताएका थिए (उही, पृ. १९९) ।

‘कू’ पछि हृषीकेशले महेन्द्रसँग परराष्ट्र र शिक्षा मन्त्रालय मागे । तर, महेन्द्रले उनलाई अर्थमन्त्री बनाए । छोटो समयका लागि परराष्ट्रमन्त्री पनि बनाए । पञ्चायती व्यवस्थाका लागि संविधान बनाउन भनेर गठन गरिएको शाही विधान आयोगको अध्यक्ष पदमा समेत उनले नियुक्ति पाए ।

कृतघ्नताको हद नाघेर बीपीलाई दुत्कारेका हृषीकेशले महेन्द्रलाई पनि सकारेनन् । हुन त पञ्चायती व्यवस्था सुरु हुनुअगावै उनी महेन्द्रविरुद्ध गुप्त षड्यन्त्रमा सरिक भइसकेका थिए । राजा त्रिभुवन जुरिचमा उपचाररत रहँदा युवराज महेन्द्रले कार्यकारिणी अधिकार पाएका थिए । सम्भवतः त्यतिबेलै महेन्द्रका भाइ वसुन्धरालाई दाजुविरुद्ध ‘कू’ गर्न आफूले उकासेको हृषीकेशले आफ्नो ‘प्रारब्ध र पुरुषार्थ’ मा उल्लेख गरेका छन् । त्रिभुवन जुरिचमै रहेको बेला एकपटक महेन्द्र अमरनाथको दर्शन गर्न भारत गएका थिए । महेन्द्रका अर्का भाइ हिमालय पनि त्यतिबेला देशमा थिएनन् ।

वसुन्धरा राजप्रतिनिधि स्थायी समितिको अध्यक्ष बन्न पुगेका थिए । त्यतिबेला आफूले वसुन्धरालाई मौकामा चौका हान्न उकासेको हृषीकेशले सकारेका छन् । आवश्यक परेको खण्डमा भारतबाट सैनिक झिकाएर महेन्द्र समर्थकलाई तह लगाउने उपाय उनले सुझाएका थिए । वसुन्धराको अनुमति लिएर यसबारे छलफल गर्न भारतीय राजदूत भगवान सहायलाई भेटेका पनि थिए । तर, तीर्थयात्रामा गएको व्यक्तिविरुद्ध कदम चाल्दा पाप लाग्छ भन्दै सहायले हृषीकेशको प्रस्तावप्रति अभिरुचि नदेखाएपछि ‘कू’ को योजना तुहिएको हृषीकेशले लेखेका छन् (उही, पृ. १३४) । वसुन्धरा त्रिभुवनका सर्वाधिक प्रिय पुत्र थिए भन्ने कुरा १९९७ सालको सहिद काण्डमा राणाशाहीविरोधी अभियानमा लागेका युवाहरूलाई दिने सजायबारे छलफल गर्न सिंहदरबारमा गरिएको भेलामा जुद्धशमशेरले त्यहीँ रहेका त्रिभुवनलाई हियाउँदै ‘झन्डै कीराले हीरा बिगार्न लागेका थिए’ भन्दा दुई जना पहरेदार सैनिकमाथि गोली दागेर सिंहदरबार पसेका वसुन्धराले ‘के नाप्छस् त गर्’ भन्दै जुद्धशमशेरलाई ललकारेको प्रसंगले पनि देखाउँछ

(राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा–परिषद्को भूमिका–भाग १, २०६२, पृ. १५७–५९) । त्यस्तै त्रिभुवन जेठो छोरा महेन्द्रलाई रुचाउँदैन थिए भन्ने कुरा महेन्द्रको विवाह बहिष्कार गर्न उनी कलकत्ता गएको प्रसंगले पनि पुष्टि गर्छ । त्यस्तो अवस्थामा आफ्नो उत्तराधिकारी वसुन्धरा भइदिए हुन्थ्यो भन्ने चाहना त्रिभुवनमा हुनु अस्वाभाविक होइन । यी तमाम सन्दर्भले महेन्द्रविरुद्ध वसुन्धराले ‘कू’ गर्न खोजेका थिए भन्नेतर्फ संकेत नगर्ने होइन । परन्तु चर्चामा आउन ‘मैले मुर्कट्टाको टाउको काटेँ’ सम्म भन्न बेर नलगाउने हृषीकेशको यो ‘आत्मस्वीकृति’ लाई वैकल्पिक स्रोतबाट पुष्टि नगरीकन सर्लक्कै पत्याउनचाहिँ सकिँदैन ।

कसैको साथमा केही समय रहेपछि उसलाई धोका दिने हृषीकेशको स्थायी स्वभाव थियो । यस्तो अस्थिर स्वभावकै कारण पञ्चायती संविधानको मस्यौदा तयार गरेका उनले पञ्चायती व्यवस्थालाई बढी प्रतिनिधिमूलक र जिम्मेवार बनाउनुपर्छ भनि सार्वजनिक रूपमै आवाज उठाउन थाले । यसबापत करिब १४ महिना जेल परे । त्यसपछिका दिनमा उनी लाभका पदबाट वञ्चित भए । फुर्सदिलो समयमा उनले प्राज्ञिक कर्म गरे । मानवअधिकारवादी आन्दोलनमा सरिक भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनको समर्थनमा उत्रिए । यसो गर्दैगर्दा २०४५ सालतिर दिल्लीमा पत्रकार सम्मेलन गरेर नेपालमाथि भारतले नाकाबन्दी लगाउनुपर्छ भन्नसम्म बाँकी राखेनन् ।

नेपाली इतिहासका एक जना दुर्लभ पात्र हुन्, हृषीकेश । उनी सबैका थिए, त्यसैले कसैका थिएनन् । कसैको हुन नसकेकैले सबैका हुन सकेका थिए । तेज दिमाग, अंग्रेजी भाषामा बलियो पकड, सशक्त लेखनशिल्प, अभिव्यक्तिकला, आत्मविश्वास, कुरा मिलाउने क्षमता आदिका कारण अविश्वसनीय हुँदाहुँदै पनि उनको साथ लिन सबैजना बाध्य भए । यस अर्थमा उनी नेपालको राजनीतिमा ‘नेसेसरी इभिल’ का भव्य नमुना थिए ।

अमेरिकी मूल्यांकन
शाह संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि र अमेरिकी राजदूत रहँदा अमेरिकी प्रशासनले उनको व्यक्तित्व र स्वभावको मूल्यांकन गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले सन् १९६० ताका तयार गरेको उनको मूल्यांकन पछिल्लो समय ‘डिक्लासिफाई’ गरेर ‘जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरी एन्ड म्युजियम’ मा राखिएको छ । अमेरिकी प्रशासनले गरेको उनको स्वभावको विश्लेषण पढ्दा नेपाली राजनीतिज्ञहरूलाई अमेरिकीहरूले कति मिहिनसँग नियालेको हुँदारहेछन् भन्ने थाहा हुन्छ ।

‘डिक्लासिफाइड’ लेखोटमा हृषीकेशबारे भनिएको छ, ‘नेपालको एउटा तप्कामा शाह राष्ट्रवादी र पढे–लेखेका विद्वान्का रूपमा प्रतिष्ठित छन् । तर, उनी बुद्धिमानभन्दा बढ्ता चतुर (कनिङ) छन् । राष्ट्रसंघ प्रतिनिधिको जिम्मेवारी र प्रभावशाली अमेरिकीसँगको सान्निध्यका कारण उनले आफ्नो महत्त्वलाई बढी आँकेका छन् । उनले राष्ट्रसंघसम्बन्धी आफ्नो जिम्मेवारीलाई बढी सर्वोपरि मान्ने गरेका छन् र अमेरिकी राजदूतको जिम्मेवारीबाट पन्छिन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्ने गरेका छन् ।’ उनलाई राष्ट्रसंघमा रहेका भारतीय कूटनीतिज्ञहरूले ‘डिप्लोम्याटिक इडियट’ भन्ने गरेको बेहोरा लेखोटमा उल्लेख छ । उनको स्वभावको पृष्ठभूमि केलाइसकेपछि थपिएको छ, ‘उनी महत्त्वाकांक्षी, अवसरवादी र असाध्यै ढँटुवा छन् । साधारणतया भन्नुपर्दा उनी अमेरिकाप्रति... मित्रवत् भाव राख्छन् । उनी बेलायतलाई घृणा गर्छन् र विशेषगरी पश्चिमी गठबन्धनप्रति सद्भाव राख्दैनन् ।’ उनलाई अमेरिकी प्रशासनले कसरी लिने भन्नेबारे लेखोटमा सुझाइएको छ, ‘वैचारिक प्रश्नमा उनको भर गरिनु हुँदैन, परन्तु उनको र हाम्रो अभिरुचि स्पष्टसँग समान रहेको सन्दर्भमा चाहिँ उनलाई विश्वास गर्न सकिन्छ ।’

राजासँग हृषीकेशको सीधा सम्पर्क र राजालाई प्रभाव पार्न सक्ने उनको क्षमतालाई अमेरिकाले दोहन गर्न सक्ने लेखोटमा सुझाइएको छ । ‘अहिले... राजालाई प्रभाव पार्नसक्नेमध्ये उनी सबैभन्दा अग्रणीजस्ता देखिएका छन्, यद्यपि यो दिगोचाहिँ नहुन सक्छ,’ भनिएको छ । हृषीकेशबारे देशभित्र र बाहिरका मानिसले गरेका यस्ता मूल्यांकनले कालिदासको एउटा श्लोकको स्मरण गराएको छ ।

‘कुमारसम्भवम्’ मा हिमालयपुत्री पार्वतीको वर्णन गर्ने क्रममा कालिदासले लेखेका छन्, ‘मन्द बतासमा हल्लिने नीलकमलले जस्तैगरी मनमोहक तरिकाले कर्के नजरले हेर्ने कला पार्वतीले हरिणीबाट सिकेकी हुन् अथवा हरिणीले पार्वतीबाट, यस अन्योलको छिनोफानो हुन सकेको छैन (१।४६) ।’ हृषीकेशको सन्दर्भमा यस श्लोकलाई यसरी परिमार्जन गर्न सकिन्छ, ‘परिवेशअनुसार रङ बदल्ने कला हृषीकेशले छेपारोबाट सिकेका हुन् अथवा छेपारोले हृषीकेशबाट, यस अन्योलको छिनोफानो हुन सकेको छैन ।’

हृषीकेशबाट नेपाल र नेपालीले लाभ नलिएको चाहिँ होइन । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा उनले जति अरू कुनै कूटनीतिज्ञले चिनाउन सकेका छैनन् । सोभियत संघका नेता ख्रुस्चेभसँगको बहस र विवाद, राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डको मृत्युको छानबिन गर्ने आयोग अध्यक्षको जिम्मेवारीलगायत मार्फत उनले आफूसँगै नेपाललाई पनि संसारभरिका अखबारका हेडलाइनमा पारे । अंग्रेजी भाषामा ‘एन्सियन्ट एन्ड मिडिभल नेपाल’ जस्ता गहकिला किताब लेखेर देशलाई विदेशीमाझ अझ राम्रोसँग चिनाए । यस्ता अनेक गुणले सम्पन्न हुँदाहुँदै पनि अविश्वसनीय प्रवृत्तिका कारण उनको व्यक्तित्वको फैवालट साँघुरिन पुग्यो ।

हृषीकेशका कमीकमजोरी केलाउँदै गर्दा तिनलाई नियतको खोट भन्दा पनि स्वभावजन्य कमजोरीका रूपमा लिनु बढी उपयुक्त हुन्छ । पद अथवा पैसाको लालसाले उनले खेमा अथवा विचार परिवर्तन गरेको देखिँदैन । कुनै विचार अथवा व्यक्तिप्रति ‘लोयल’ रहन नसक्नु उनको चारित्रिक स्वभाव थियो । यदी उनको अर्जुनदृष्टि पद र पैसामा हुन्थ्यो भने पञ्चायती व्यवस्थाविरुद्ध उनले ‘भित्रैबाट बगावत’ गर्ने थिएनन् ।

हृषीकेशको निजी जीवन उनको सार्वजनिक जीवनजस्तै अस्थिर र अस्तव्यस्त थियो । त्यसैले चरम अवसरवादी हुँदाहुँदै पनि उनले सम्पत्ति संग्रह गर्न जोड गरेनन् । जीवनका अन्तिम दिनताका रोग, एक्लोपन र अभावले उनलाई गाँजेको थियो । मृत्यु हुनुभन्दा करिब दुई महिनाअघि मण्डला बुक प्वाइन्टमा हृषीकेशले किताब किन्न पैसा नभएपछि ‘मसँग अहिले पैसा भएन, ल यो लिनुस्’ भनेर सुनका असर्फी पसलेलाई दिन खोजेको विवरण अभि सुवेदीले ‘किताब र चम्चा’ शीर्षकको निबन्धमा उल्लेख गरेका छन् (समकालीन साहित्य, पूर्णांक ७०, पृ. ५–८) ।

परिवारिक पृष्ठभूमि र सत्ताको केन्द्रमा वर्षौं बिताएको उनको विगत नियाल्दा उनीसँग किताब किन्ने पैसा नहुनुलाई आश्चर्य नै मान्नुपर्छ । हृषीकेशको मृत्युपछि कर्मकाण्डमा चाहिँने चाँदीको झारी खोज्न उनको परिवारका सदस्यले ठूलै दौडधुप गर्नुपरेको थियो भनी निकटस्थहरूबाट पङ्क्तिकारले सुनेको कुरा उल्लेख गर्नु यहाँ सान्दर्भिक हुन्छ ।

अनेक रङका कुचीले कोरिएको हृषीकेशको जीवन विचित्रसँग बहुरंगी थियो । त्यसैले उनलाई सग्लो रूपमा नभएर खण्डखण्डमा बुझ्ने फ्रयत्न गर्नु बढी सहज हुन्छ ।
@sujitmainali

प्रकाशित : पुस ५, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?