१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गौरिकापथमा डुआना

गौरिका सिंहको चार स्वर्णले १३ औं दक्षिण एसियाली खेलकुद ‘गौरिकामय’ बनाइदियो । १३ वर्षीया डुआना लामाले पनि २ कांस्यसहित ५ पदक जितिन् ।
राजु घिसिङ

पौडीमा गौरिका सिंहको प्रवेश नै स्वर्णिम थियो  । उनले ११ वर्षकी छँदै साउन, २०७१ मा भएको १९ औं राष्ट्रिय खुला पौडीमा सनसनी मच्चाउँदै आठ स्वर्ण र एक रजत जितेकी थिइन्  ।

गौरिकापथमा डुआना

आठपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । प्रतियोगिताकै सर्वाधिक सफल खेलाडी भए पनि उनले ‘उत्कृष्ट खेलाडी’ को पुरस्कार पाइनन् । उनलाई त्यो पुरस्कारको मतलब पनि थिएन । किनभने बच्चा नै थिइन् । ‘ए’ लेबलमा अध्ययनरत उनी अहिले पनि आफूलाई बच्चै मान्छिन् ।


दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा सबभन्दा बढी चार स्वर्ण जित्ने पहिलो नेपाली बनेपछि गौरिकाले भनिन्, ‘अब रमाइलो गर्ने किनभने म बच्चा नै छु ।’ १३ औं सागमा पौडीको प्रतिस्पर्धा सकिएपछि उनले ‘तारेको आलु खान नपाएको एक महिना भयो, अब खाने हो’ भनेपछि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा हाँसो गुन्जिएको थियो ।

उनले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जित्दै इतिहास कोरिन् । उनले १२ औं सागको पौडीमा १ रजत र ३ कांस्य हात पारेर तीन वर्षअघि नै नेपाली खेलकुदमा ‘गौरिका युग’ को संकेत दिएकी थिइन् । उनी पौडीको व्यक्तिगत स्पर्धामा सागमा पदक जित्ने पहिलो नेपाली हुन् । यसपालि सागको ३५ वर्षे इतिहासमा पौडीबाट स्वर्ण चुम्ने पनि पहिलो भइन् ।


तेक्वान्दोमा ४ स्वर्ण जितेका दीपक विष्टको कीर्तमान बराबरी गरेकी १७ वर्षीया गौरिका मात्र होइन, अरू खेलाडीमा पनि सम्भावना देखियो । गौरिकाले १३ वर्षको छँदा सन् २०१६ को सागमा जसरी चार पदक जितेकी थिइन, त्यसैगरी यसपालि डुआना लामा उदाएकी छन् । १३ वर्षीया डुआनाले व्यक्तिगत स्पर्धामा २ रजत र टिम स्पर्धामा ३ कांस्य गरी ५ पदक हात पारिन् ।


पौडीमा प्रतिस्पर्धा गर्न थालेको ५ वा ६ वर्षको छँदा हो, ठ्याक्कै याद छैन डुआनलाई । उनलाई गौरिकाले पहिलोपल्ट प्रतिस्पर्धा गरेको क्षण भने सम्झना छ, साउन २०७१ को । गौरिकाले भने त्योबेला डुआनालाई चिनेकी थिइनन् । तीन वर्षअघिको डुआनासँग भएको भेट सम्झन्छिन् गौरिका, ‘उनलाई पदक नजितेकोमा चिन्तित भएको देखें । अहिले (पदक जित्दा) धेरै खुसी लाग्छ ।’


राष्ट्रिय प्रतियोगितामा गौरिकाले सफलता हात पारिरहेको ती क्षणबारे डुआना भन्छिन्, ‘म उमेर समूहमै खेलिरहेकी थिएँ । बिस्तारै खुला (सिनियर) प्रतियोगितामा खेल्न थालें । बिस्तारै मेडल पाउन थालें । तर, जहिले पनि गोल्ड जित्न सक्दैन । प्रयास गर्थं, गर्नुपर्छ । स्वर्ण नपाएकोमा दुःखी हुनुभन्दा पनि मलाई अब कडा मिहिनेत गर्छु भन्ने लाग्थ्यो ।’ गौरिकाले ६ वर्षे करिअरमा एकपछि अर्को गर्दै कीर्तिमान बनाइरहेकी छन् । उनकै पथमा छिन् डुआना । उनले गौरिकाकै केही राष्ट्रिय कीर्तिमानलाई पनि उछिनेकी छन् ।


पाटन अस्पतालमा जन्मिएकी गौरिका लन्डनमा ट्रेनिङ गर्छिन् । पौडीका लागि विशेष प्रशिक्षण लिन थालेको ५ वर्ष भयो । डुआना झन्डै एक वर्षयता फुकेट (थाइल्यान्ड) मा कोलिन ब्रान्डसँग ट्रेनिङ गरिरहेकी छन् । गौरिका १२ औं सागमा पदक जित्ने लक्ष्यमा थिइनन् । त्यसैले उनले गुवहाटीमा प्राप्त चार पदकलाई बोनस मानेकी थिइन् । यसपालि डुआनाले पनि पदक अपेक्षा गरेकी थिइनन् । व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमै उनले ५ पदक हात पारिन् । उनले टिम स्पर्धामा ३ कांस्य त गौरिकासँगै जितिन् । ‘गौरिका र टिमसँग रमाइलो भयो । टिममा सँगै जित्दा अनुभव बाँड्न पाइन्छ, मज्जा आउँछ,’ डुआनाले भनिन्, ‘गौरिका साँच्चिकै उत्कृष्ट छिन् । म पनि ठूली भएर उनीजस्तै हुनेछु । मेडल जित्नेछु । गोल्ड देखाउनेछु । उनका लागि म वास्तवममै धेरै खुसी छु ।’ उनको यो भनाइपछि गौरिका भावुक भइन्, ‘माया लाग्यो ।’


गौरिकाले १३ वर्ष २५५ दिनको छँदै रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरिन्, जहाँ उनी १० हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी थिइन् । त्यसले उनलाई विश्वव्यापी चर्चा दिलायो । एउटा देशको सहभागिता निश्चित गर्न पाएको अवसरमा ओलम्पिकमा पुगेकी उनी फेरि विश्व खेलकुदको महाकुम्भमा प्रतिस्पर्धा गर्न चाहन्छिन् । गृष्मकालीन ओलम्पिक अर्को वर्ष टोकियोमा हुदै छ, जहाँ उनी छनोट पार गरेरै खेल्न चाहन्छिन् । छनोटमार्फत टोकियोको टिकट काट्न उनलाई सजिलो भने छैन, अहिलेको समयमा धेरै सुधार गर्नु आवश्यक देखिन्छ ।


हालसम्म नेपालबाट तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्रै छनोट भएर ओलम्पिक खेलेका छन् । गौरिका भन्छिन्, ‘सपना त हो, देख्नुपर्छ अनि आफ्नोतर्फबाट उत्कृष्ट प्रयास गर्नुपर्छ ।’ डुआनाको सपना पनि ओलम्पिक नै हो । ‘मेरो लक्ष्य अर्को सागमा मेडल जित्ने हो,’ कक्षा ८ मा अध्ययनरत डुआनाले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने चाहना छ । मेरो सपना ओलम्पिक खेल्ने नै हो ।’ सीधा प्रवेशको बाटोभन्दा माथि उक्लिएर छनोटमार्फत ओलम्पिक जाने हो भने उनले गौरिकाको अहिलेको स्तरलाई पनि उछिन्नुपर्छ ।


गौरिकाको सफलताको आधार परिवारले तय गरिदिएको हो । उनकी आमा गरिमा राणा (२०५० सालको एसएलसी बोर्डफस्ट) व्यवस्थापक पनि हुन् । गरिमा र बुबा पारस मात्र होइनन्, पूरा सिंह–राणा परिवार नै गौरिकाको खेलको स्तरलाई कसरी निरन्तर सुधार गर्ने भन्नेमा लागिरहेको छ । छोरीको स्वर्णिम यात्राबारे गरिमा भन्छिन्, ‘प्रशिक्षकको कार्यक्रम छोरीलाई मिलेकाले सफल भएको हो । हामीले अरूका अभिभावकले जस्तै बच्चाको चाहना पूरा गर्न साथ दिएका मात्रै हौं ।’

एक वर्षयता लन्डनस्थित क्याम्डेन स्विस कटेज स्विमिङ क्लबमा एडम टेयलरसँग प्रशिक्षण गरिरहेकी गौरिकाले यो सागका लागि निजी रूपमै व्यवस्था गरिएका ट्रेनर (ओमिद गोलानी) र फिजियोथेरापिस्ट (एआई जमल) सँग काम गरेकी थिइन् ।


आइरिस आमा र नेपाली बुबाका छोरी हुन् डुआना । यो परिवार पनि छोरीको चाहनाअनुसार अगाडि बढ्न चाहन्छ । ‘स्विमिङमा सफल खलाडी बन्ने छोरीको चाहनाअनुसारै उनलाई फुकेटमा पढ्ने व्यवस्था गरिएको हो,’ डुआनाका बुबा मुखिया लामाले भने, ‘छोरीले जबसम्म स्विमिङ खेल्छिन्, तबसम्म पूर्ण साथ दिइनेछ ।’ डुआना फुकेटमा सातामा १९ घण्टासम्म ट्रेनिङ गर्छिन् भने गौरिका लन्डनमा १८ घण्टा ।


१३ औं सागमा गौरिकाको नाम १२ स्पर्धामा दर्ता गरिएको थियो । तर, नौ स्पर्धा मात्रै खेलिन्, सबैमा पदक जितिन् । एकपछि अर्को स्पर्धा लगत्तै खेल्दा प्रदर्शनमा असर पर्ने भएकाले उनले तीन स्पर्धा त्यागेको बताइन् । आयोजकको नाताले पनि नेपालले आफ्नो सम्भावनाअनुसार ‘उपयुक्त तालिका’ बनाएको भए गौरिकाले नेपाललाई थप पदक दिलाउन सक्थिन् । उनले भारतकी शिवांगी शर्मालाई रोमाञ्चक प्रतिस्पर्धामा उछिन्दै १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले २ सय मिटर ब्याकस्ट्रोकको स्वर्णको होडमा भारतकै मन्ना पटेललाई पछाडि पारेकी थिइन् । उनलाई तिनै मन्नाले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा भने रजतमै रोकिदिइन् ।


गौरिका, डुआना, तिसा शाक्य र अनुसिया तण्डुकारको टिमले चार गुणा १ सय र चार गुणा २ सय मिटर फ्रिस्टाइल रिले तथा चार गुणा १ सय मिटर मिड्ले रिलेमा कांस्य हात पार्‍यो । ‘हामीले १२ औं सागमा रिलेबाट मेडल जितको थिएन । यसपालि पनि अपेक्षा थिएन । तीन कांस्य जित्यौं र यसले हामी अब अरू देशका लागि प्रतिस्पर्धी बनेका छौं,’ गौरिकाले भनिन् । डुआनाले २ सय मिटर बटरफ्लाई र २ सय मिटर ब्रेस्टस्ट्रोकमा रजत जितेकी हुन् । उनले दुई स्पर्धामा पदक छुन सकिनन् । १६ वर्षीया तिसाले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा कांस्य हात पारेकी हुन् ।


गौरिकाले सागको दुई संस्करणबाट १३ पदक (४ स्वर्ण, ३ रजत, ६ कांस्य) हात पारेकी छन् । सबभन्दा बढी पदक जित्नेमा उनले स्वर्गीय सुनीललाल जोशीको कीर्तिमानभन्दा एक पदक मात्रै पछाडि छिन् । निरन्तर राष्ट्रिय कीर्तिमान बनाइरहेकी गौरिका भन्छिन्, ‘मैले अरूको रेकर्ड तोडें । अरूले मेरो रेकर्ड ब्रेक गरोस् भन्ने हो । उनीहरूले बनाउने रेकर्ड पनि धेरैले तोडेर देशका लागि सफलता दिलाएको हेर्न चाहन्छु ।’ उमेरअनुसार प्रगति भइरह्यो भने गौरिकाको कीर्तिमान तोडेर अगाडि बढ्ने अवसर छ, डुआनालाई । किनभने उनलाई पौडीका लागि राम्रो अवस्थामा पुग्ने उमेरले प्रतीक्षा गरिहेको छ ।

प्रकाशित : मंसिर २८, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?