कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनकालीमा कृपालु

कृष्ण खनाल

पशुपति क्षेत्रस्थित वनकालीमा मनै खिच्ने उद्यान छ, ‘कृपालु उद्यान’  । एक वर्षअघि मैले एक जना आफन्तबाट त्यो उद्यानको झलक दिने एउटा सानो पुस्तिका हेर्ने अवसर पाएको थिएँ  ।

वनकालीमा कृपालु

यसबीच म दुई–चारपटक पशुपति पुगेको पनि छु, कहिले पशुपतिनाथको दर्शन गर्न त कहिले आर्यघाट वा किरियापुत्री भेट्न । तर, त्यो उद्यानतर्फ ध्यान दिने मेसो मिलेको थिएन । अहिले त उद्यान सबैका लागि खुला पनि भइसकेको छ ।


यो एउटा नमुना ‘आध्यात्मिक उद्यान’ रहेछ । रमणीय त उसै छ, त्यहाँ एकाध घण्टा विचरण गर्दा आध्यात्मिक आनन्द पनि मिल्छ, सनातन वैदिक सभ्यताको झलकसमेत पाइन्छ । पशुपतिक्षेत्र सुहाउँदो हेर्न र देखाउनलायक विशिष्ट एवं मौलिक महत्त्वको छ त्यो उद्यान ।


जगद्गुरु श्री कृपालुजी महाराज अपरिचित नाम होइन । उनका विचार, प्रवचन, भजनकीर्तनहरू प्रायः सबै आध्यात्मिक टीभी च्यानल, रेडियोमा दिनहुँ देख्न, सुन्न पाइन्छ । तिनमा प्रवाहित हुने ‘राधे राधे’ भक्ति रसधाराले सबैलाई मुग्ध र आनन्दित बनाउँछ । उनका प्रवचनमा भक्ति र ज्ञानको विलक्षण प्रतिभा बर्सिन्छ । त्यसैले उनलाई ‘भक्तियोग रसावतार’ भनेर पनि सम्बोधन गरिन्छ । ती प्रवचन म पनि बेलाबखत सुन्ने, हेर्ने गर्छु, आध्यात्मिक आनन्दको अनुभूति हुन्छ । श्यामा श्यामा धाम, (ठिमी) भक्तपुर उनका नेपाली अनुयायी अर्थात् ‘राधे राधे परिवार’ को नियमित भजनकीर्तन एवं सत्संगस्थल हो । उनका नेपाली शिष्य स्वामी हरिदासका प्रवचनमा पनि विलक्षण प्रतिभा देखिन्छ । यिनै हरिदासले आफ्ना गुरुको सम्झनामा त्यो उद्यानको परिकल्पना गरेका रहेछन् । कृपालुजी महाराजको आध्यात्मिक पथ अनुसरण गर्दै पाँच वर्षअघि स्थापित विद्वत् समाज नेपालले उद्यानको त्यो स्वरूपलाई साकार बनाएको छ । अर्थात् त्यसको शिल्प, संरचनादेखि भौतिक निर्माण एवं व्यवस्थापनको जिम्मेवारी समाजले लिएको छ । समाजमा इन्जिनियरिङलगायत सबै विधाका बौद्धिक व्यक्ति संलग्न छन् । उद्यानकलामा नेपाली इन्जिनियरहरूको विशिष्टता पनि देख्न सकिन्छ ।


उद्यान मात्र होइन प्रकृति, अध्यात्म र कुञ्जको अनुपम संयोजन देख्न पाइन्छ त्यहाँ । वैदिक एवं पौराणिक सनातन दर्शन र अध्यात्मको झाँकी दिनेगरी उद्यानको संरचनाले दर्शकलाई हाम्रो प्राचीन सभ्यताको दिव्य स्मरण गराउँछ । शिव–पार्वती, सीताराम र राधाकृष्णका लीलासँग जोड्ने शिव–पार्वती वाटिका, पुष्प वाटिका, शिवानी कुञ्ज, एकादश रुद्र पर्वत, गोवर्धन पर्वतजस्ता पौराणिक एवं धार्मिक सन्दर्भ भएका वाटिकामात्र होइन कर्म, ज्ञान र भक्ति तथा त्यससम्बन्धी बहस/विमर्शको प्राचीन परम्परासमेत स्मरण हुने गरी चिटिक्क पारिएका महापुरुष चौतारी, शास्त्रार्थ बैठक, भक्ति सोपान, आशुतोष प्रांगण, नटेश्वर डबलीले उद्यानको गरिमा बढाएका छन् । दर्शकलाई पौराणिक कथाका महत्त्वपूर्ण घटनामा डोर्‍याउँछ । संगैको वनकाली मन्दिर र ‘वनकालीवाग’ नाम दिइएको रमणीय खण्डले उद्यानस्थलको प्राचीन पहिचानलाई सुरक्षित राखेको छ ।


उद्यानमा गरिएको व्यवस्थाले सूक्ष्म तर प्रकृति संरक्षणको महत्त्वपूर्ण सन्देश दिन्छ । उद्यानमा भूक्षय रोकथाम तथा वर्षात्को पानीलाई सुरक्षित रूपमा प्रकृतिमै फर्काउने व्यवस्थापन हाम्रो निजी आवासका लागि पनि अनुकरणीय लाग्यो । त्यहाँ प्रयोग गरिएको प्राकृतिक प्रविधिमा न कुनै खर्च लाग्छ, न कुनै विशिष्ट प्राविधिक ज्ञान नै चाहिन्छ । आफ्नो सानो घर–कम्पाउन्डमा पनि सजिलैसंग यो विधिलाई सजिलै प्रयोग गर्न सकिन्छ । घरमा धोईपखाली गर्दा बाहिरिने तथा वर्षाबाट आउने पानीलाई ढल वा सडकमा नपठाई आफ्नो घर–कम्पाउन्डभित्र सानो कुलेसोका माध्यमबाट थोरै शुद्धीकरणसहित जमिनभित्रै सोसिने व्यवस्था गर्न कुनै कठिनाइ हुँदैन । प्रकृतिप्रतिको चेतनाबोध र थोरै लगनशीलता भए पुग्छ ।


नियमित रूपमा पशुपतिमा टहलिन जाने जोसुकैले पनि उद्यान बनाउनुपूर्व वनकालीको त्यो खण्डको दुरवस्था देखेकै हुनुपर्छ । भूक्षयग्रस्त, फोहोरको डंगुर लागेको, दुर्गन्धित र वनजर अवस्थामा थियो त्यो ठाउँ । उद्यान निर्माणपछि त्यहाँको कायापलट भएको छ । हुन त, त्यस क्षेत्रमा २०४४ सालदेखि पशुपति क्षेत्र विकास कोषले काम गरिरहेको छ । कोषका लागि पनि उद्यान एउटा पाठ सिक्नलायक उदाहरण बनेको छ । कोषको काम पशुपतिनाथ मन्दिरको भेटी, पुजारी, शिवरात्रि वा तीजको प्रवन्ध, घाट र क्रियाकर्म मात्र यसका गतिविधि होइनन् । विश्व सम्पदामा सूचीकृत अन्तर्राष्ट्रिय महत्त्वसमेत पाएको त्यो क्षेत्रको सम्पदा संरक्षण, प्राकृतिक सौन्दर्यको विकास एवं संवर्द्धन, धार्मिक तथा आध्यात्मिक चिन्तन एवं विमर्श पनि कोषका महत्त्वपूर्ण कार्यक्षेत्र हुन् । ऐनले पनि उसलाई ती जिम्मेवारी दिएको छ । विश्व सम्पदामा सूचीकृत यो क्षेत्रको अझै अपेक्षित विकास हुन सकेको छैन । कोष आफैंले नभ्याउने र नसक्ने धार्मिक/आध्यात्मिक महत्त्वका काम अरूसँग साझेदारी गर्न सक्छ ।


पश्चिमा चिन्तन, संस्कृति र जीवनशैलीले हामीलाई भोगवादी मात्र बनाएको छैन, हाम्रा प्राचीन सभ्यता, संस्कृति र ज्ञानबाट पनि हामीलाई तीव्र गतिमा विमुख बनाउँदै छ । युरोप, अमेरिकामा जन्मेका हुर्केका र अध्ययन गर्दै रहेका हिन्दु परिवारका युवा विद्यार्थीमा सांस्कृतिक पहिचानको संकट बढ्दो छ । थोरै होलान् तर नेपाली समुदाय पनि यसमा अपवाद छैन । विदेशमा बस्नेको मात्रै पनि कुरा होइन यो । देशभित्रै पनि नयाँ पुस्ताका केटाकेटी तथा युवा जमातलाई हिन्दु सभ्यता र संस्कृतिबारे राम्रो र व्यावहारिक रूपमा चिनाउने आधार छैन । केही पूजापाठ र कर्मकाण्डबाहेक परिवारमा पनि त्यो संस्कार लोप हुँदै गएको छ । उद्यानमा प्राचीन वैदिक सभ्यता, संस्कृति र दर्शनको झलक दिनेगरी बनाइएका वाटिका, सिँढी, कुञ्ज आदिले प्राचीन नाम मात्र सम्झाउने होइन, त्यससँग जोडिएका अर्थ र सन्दर्भलाई पनि व्याख्यात्मक ढंगले बुझाउन सकिन्छ । उदाहरणका लागि उद्यानभित्र तीनवटा बाटो (सिँढी) लाई कर्ममार्ग, ज्ञानमार्ग र भक्तिमार्ग भनिएको छ र त्यसको संगमलाई ‘त्रिवेणी’ नाम दिइएको छ । कर्म, ज्ञान र भक्ति पूर्वीय जीवनदर्शनका अत्यन्त महत्त्वपूर्ण पक्ष हुन् ।


उद्यान अवलोकनपछि कसैलाई पनि मनमा लाग्न सक्छ, यसको भविष्य अर्थात् दीघकालीन व्यवस्थापन र निरन्तरता कसरी होला ? पशुपतिक्षेत्र बाँदरको बिगबिगी भएको ठाउँ हो । भनाइ नै छ, बगैंचालाई विरूप पार्न एउटै बाँदर काफी छ । तर, उद्यानमा बाँदरको कुनै उपद्रो देखिन्न । उद्यान व्यवस्थापकलाई बरु नररूपी बाँदरको बढी चिन्ता छ । प्रवेश शुल्क लिएर मात्र पनि त्यसको सुरक्षा र सौन्दर्य जोगाउन सकिन्न । नियन्त्रित, प्रायोजित र उद्देश्यमूलक प्रवेश एउटा उपाय हुन सक्छ ।

प्रकाशित : मंसिर २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?