१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भैया अंकल !

संगीत मगर

सुनील भैया भारतीय नागरिक हुन् । सिसा, किताब, फलाम बटुल्दै हिँड्ने र गर्मीमा बरफ बेच्दै हिँड्ने व्यापारी, जसलाई हामी सम्मानले होइन, अपमानले पुकार्छौं— भैया... ! व्यवहार पनि कुनै अपराधीलाई झैं गर्छौं । तर, मैले सुरुमै ‘भैया’ भनिनँ, ‘अंकल’ भनें ।

भैया अंकल !

हिँडेको प्रत्येक अप्ठ्यारा बाटामा

भेटिन्छन् अलग अलग कहानी

कुनै कनै कहिल्यै मेटिँदैनन् यादबाट

बरु स्मृतिका पत्रमा भित्रभित्रै घुस्छन्

र, ताजा हुने बहाना खोज्छन् ।

फोनको स्क्रिनमा उनको नाम पिलिकपिलक आइरहेको थियो । उठाएँ । औपचारिताबिनै सोधिहालिन्, ‘दिदी तपाईं धरान आउनुभएको ?’ एक्कासि आएको प्रश्नले आश्चर्य तुल्यायो । तर, उत्तरमात्रै दिएँ, ‘होइन । दाङमै छु ।’

फेसबुकमा मैले राखेको पुरानो फोटो देखेर ‘म धरान छु’ सोचिछन् । भनिन्, ‘छिमेकी ‘भैया’ ले पनि सम्झेको छ रे है दिदी तपाईंलाई !’ उनी अर्थात् धरान बसाइको छिमेकी नम्बर एक, भैया अर्थात् छिमेकी नम्बर दुई ।

पहिलोपटक धरान टेकेको बिहान उनीसँग चिनजान भएको थियो । भेटमै हामीले दिदी–बहिनीको साइनो लगायौं । उनी बनिन्, छिमेकी नम्बर एक । त्यही साँझ भेट भएको थियो सुनील साहसँग (उमेरले मभन्दा बढी भएकाले उनलाई पछिसम्म पनि म अंकल भनेरै बोलाउँथें ।)


मलाई सानैदेखि ग्यास र बिजुलीसँग खुब डर लाग्छ । अप्ठेरो कामबाहेक ग्यास–बिजुलीको नजिक पनि जानु नपरे हुन्थ्यो भन्ने लाग्छ । तर, एक्लै बसेपछि घरमा घुर्की लगाएजस्तो कहाँ हुँदो रहेछ र ? साँझमा अफिसबाट फर्किएर डेरामा ग्यासको पाइप जोड्दै थिएँ । मरिगए आए पो ! नचिनेको सहरमा कोसँग सहयोग माग्न जानु ? बिहान साइनो गाँसिएकी बैनी पनि अफिसबाट कोठा फर्किएकी थिइनन् ।


ग्यास जोड्दाजोड्दै आइपुगेका थिए, सुनील अंकल । उनैले ग्यास हेरिदिए । समस्या पाइपमा होइन, चुल्होमै रहेछ । हामी दुवै जना लाग्दा पनि मर्मत गर्न सकेनौं । बाहिर गाढा अँध्यारो थियो । त्यो दिन उनैले प्रस्ताव गरे, ‘आज मेरैमा खाऔं । म पकाउँछु ।’


धरानको बसाइको सुरुआती दिन । त्यसमाथि नयाँ चुल्होले नै धोका दिनु ! अपरिचितको भान्सामा खान खान जानु ! अहो, मेरा लागि त्यो सबैभन्दा बढी गाह्रो समय थियो । सायद उनको अनुहार कुनै गोरो नेपाली मूलको भइदिएको भए सहजै भनिदिन्थें, ‘हुन्छ किन नहुनु नि !’ तर, मभित्रको कुरूप मानसिकताले मनलाई दुविधामा पारिरहेको थियो । अर्थात् जाऊँ कि नजाऊँ ! जे होस् त्यो दिन सुनील अंकलको मसालेदार खाना खाएँ । त्यो नितान्त बेग्लै अनुभव थियो ।

छोटो दिन । छिट्टै रात पर्ने जाडोको दिन थिए ती । मैले राति ८ बजेसम्म अफिसमै काम गर्नुपर्थ्यो । जब रातमा कोठा फर्किन्थें, ती सुनील अंकल मायालु भावले भन्थें, ‘छोरी बाहार धेर नबस । ठन्डा बहुतै छ । बिमार पर्ला ।’ त्यस्तोबेला मलाई आमाबुबाको याद आउँथ्यो । भैया अंकल मलाई सहरको मेरो अभिभावकजस्तै लागे ।


माघे संक्रान्ति पश्चिमेली मगरको ठूलो पर्व हो । संक्रान्ति मनाएर बसमा लगातार लामो यात्रापछि दाङबाट धरान फर्किएँ । बसको थकान र रातको चिसोले बिरामी परें । सहरमा एक्लो हुनु र बिरामी पर्नु झनै डरलाग्दो हुँदो रहेछ । कसैले ‘कस्तो छ ?’ भनेर सोधिदिए पनि आधा ज्वरो घट्छ कि भन्ने लाग्ने ।


अफिसमा राम्ररी काम गर्न सकिनँ । छिट्टै डेरा फर्किएँ र घुप्लुक्क सुतें । कोठा शान्त भएको चाल पाएर होला एक छिनपछि बैनी र अंकल आए । सञ्चो नभएको सुनाएपछि उनीहरू बाहिर गए । ‘ल खाना खाऊ,’ आधा घण्टापछि सुनील अंकलको हातमा खाना थियो । उनले भने, ‘खाऊ छोरी । यो सहरमा हम्रा अपना कौन छ र ?’


भैया अंकलको मायाले मलाई फेरि ‘अपना’ हरू सम्झन बाध्य बनायो । हामी त आफ्नाकै बीच झन् पराई बाँच्दा रहेछौं । नजिक भएर पनि कति टाढा... । भैयाले भनेको सत्य पनि हो– कत्ति आफ्नासँग एक अंगालो माया बाँड्न सकिँदैन, एक आँखा आँसु बाँड्न सकिँदैन, एक घाउ चोटको पीडा बाँड्न सकिँदैन । म बिरामी पर्नु सामान्य कुरा थियो । तर, भैयाले कति असामान्य अभिव्यक्ति भने मेरो मान्यता नै हलचल भइदियो ।


धरान बसाइ क्रममा भैयासँग एक प्रकारको पारिवारिक लगावजस्तै भयो । तल्लो तलामा बस्ने राईनी बैनी, म र भैया सधैं मिलेर खाना बनाउँथ्यौं, बाँडेर खान्थ्यौं, सँगै लामो गफ गर्थ्यौं । भैयाको साँझको निश्चित खान्की थियो— रोटी र मासु । तर, उनले मासु कहिल्यै पनि आफ्ना लागि मात्रै ल्याएनन् । भैया पिठो मुछ्दै गर्दा म कफी तयार पार्थें । त्यसपछि हामी सुन्थ्यौं— उनका जीवनका उत्तरचढाव । प्रायः उनी आफ्नै कुरा बढी गर्थे ।


५९ वर्षको अन्तिम ढिकमा उभिएका थिए उनी । उनलाई राम्ररी थाहा थियो— उनी अर्कै देशका नागरिक हुन्, बैनी र म अर्कै देशका नागरिक हौं ! उनलाई यो पनि थाहा थियो— धरानबाट आफ्ना घर पुग्न एक घण्टाको बस यात्रा र त्यसपछिको एक घण्टा रेल यात्रा काफी हुन्छ । तर, उनी भन्थे, ‘देशले भावनामा फरक पार्दैन । यो त व्यक्तिको सोचको कुरा हो ।’


भैया थिए— नेपालको कबाडी उठाउने कबाडीवाल । यही कमाइले उनले भारतको एउटा प्रतिष्ठित कलेजमा छोरालाई इन्जिनियरिङ पढाइरहेका थिए । ‘कामले भन्दा पनि परिश्रमले मान्छेलाई ठूलो बनाउँछ,’ यो उनको दर्शन थियो । मलाई ती भैयाको अनुहारमा तमाम बाबाहरूको अनुहार याद आउँछ— परदेशमा पसिना चुहाएर आफ्ना सन्तानलाई जीवनजस्तो जीवन बाँच्न दिने बाबाहरूको अनुहार ।


‘मेरो बेटालाई नयाँ जकेट खरिदकर दिया छु । और उसके पुरानावाला मैं ल्याया । चेन बिग्रिएछ, बनाइदेऊ त छोरी,’ घरबाट फर्किएपछि एक साँझ उनी मेरो काठामा आए । उनको हातमा एउटा पुरानो ज्याकेट थियो तर ब्रान्डेड ।


हाम्रो कोठा नजिक–नजिक भएकाले कुराकानी भइरहन्थ्यो । ‘बिहे कसरी गर्नुभएको ? मागेर कि मन पराएर ?’ एक दिन कुरैकुरामा सोधेकी थिएँ । उनको मागी विवाह भएको रहेछ । अर्थात्, ‘घरवाले ने पसन्द की हमने भी एक दुसरेको पसन्द की और सादी हो गई ।’


‘अनि झगडा कत्तिका पर्छ ?’ म अर्को प्रश्न गर्छु ।


‘किसिलिए झगड कर्ने ? लोग दो वजह से झगडा कर्ते हैं । या तो पैसा के वजसे या बेवफाह के बजसे । बिबीका खुदका दुकान हैं । वो खुद कमाती हैं । और मैं खुद कमाता हुँ । हमने कवि एक दुस्रेका साथ बेवफा नहीं कि तो झगड कर्दैन हामी,’ उनको यस्तो भनाइ सुनिरहँदा भैया साह्रै बुज्जकी मानिस हुन् भन्ने भाव मनमा आउँथ्यो ।


नेपाल–भारतबीच अहिले सीमा विवाद भैरहेको यसबेला म सम्झिरहको छु, ती भैया अंकल अर्थात् सुनील साहलाई ।


उनलाई चिनेपछि लागेको छ— धर्ती बाँडिएको सिमानाबारे केही थाहा नपाउनु कति ठूलो प्राप्ति रहेछ ! ‘सामुन्नेवाला कहाँबाट आयो ? कुन देश र कुन जातको हो ?’ अनभिज्ञ रहनुले कसरी आत्मयीता जागृत हुँदो रहेछ ! मान्छेले बनाएको यो मान्यताभन्दा पर पनि त कैयौं जिन्दगी रहेछ, जसलाई आफ्नो नागरिकतामा लेखिएको देश र आफ्नै नाम पनि थाहा हुँदैन । उनीहरू देश चिन्दैनन् तर माटो चिन्छन् ।

उनीहरू पसिना र परिश्रम चिन्छन्, तर लालपुर्जा र सम्पत्ति चिन्दैनन् । उनीहरू दिनैभर मिहिनेत गर्छन् । साँझ आरामले खाना खान्छन् र मस्त निदाउँछन् । हो, उनीहरूलाई फरक पदैन रहेछ भूगोल र सिमानाले । परिचय व्यवहारले पनि दिन सकिन्छ भन्ने दर्शन ती भैया अंकलले सिकाए ।


भैया अंकलको आफ्नै सिद्धान्त छ । आफ्नै दर्शन छ । कुनै विलासिताको चाहना छैन । कुनै द्वेषभाव छैन । हामीले हेपिरहेको ती कैयौं भारतीय मूलका ‘भैया’ हामीभन्दा पनि उच्च सोचका छन्, उनलाई भेटेपछि यो कुरा थाहा पाएँ । ती भैया अंकलको जीवन दर्शन सामान्य थिएन । त्यो थियो, मिहिनेत र परिश्रमको अक्करे भीरमा फुलेको कुनै सुन्दर जीवनको फूल ।

प्रकाशित : मंसिर २८, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?