१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

डहरे दर्शन

आरके अदीप्त गिरी

समुद्र सतहबाट दुई हजार, दुई सय मिटरको उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुराँस फुलेर डाँडै रातो हुन्छ । मानौं प्रकृतिले सारा रूख, बुट्यानमा रातो रङ पोतेको छ ।

डहरे दर्शन

अझ बिहान उदाएको सूर्य रूखका हाँगाहरूमा पर्दा टल्किएको शीत देख्दा यस वन कुनै लोककथामा वर्णित ‘मोहिनी वन’ जस्तो प्रतीत हुन्छ । एनिड ब्लाइटनको बाल–उपन्यास ‘इन्द्रजाली रूख’ पढ्दा दिमागमा आएको कल्पनाको झिल्का यो लालीगुराँस–वनमा पुग्दा यथार्थ बन्छ । मानौं म ब्लाइटनले कल्पना गरेको वनमा साना नानीहरूसँग रमाएर खेलिरहेछु ।


वरिपरिको घना जंगलले त्यहाँ पुग्ने हरेकलाई विशेष किसिमको सम्मोहनमा लठ्याउँछ । लामो यात्रापछि लालीगुराँसको रूखबाट खसेका गुराँसका रंगीविरंगी थुंगाले घेरिएर रूखकै फेदमा सुस्ताउनु, गुराँसका पत्रैपत्र कुल्चदै हिँड्नु वास्तवमै अलौकिक आनन्दमा रम्नुजस्तै हो । यस्तो आनन्द पर्वत जिल्लाको डहरे देउरालीमा पुग्ने यात्रुले सँगाल्ने आनन्द हो ।


गुराँसको यस लेकबाट उत्तरतिर फर्केर हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, नीलगिरिजस्ता सुन्दर हिमालय पर्वत आँखैअगाडि उभिइरहेका देखिन्छन् । सिताराझैँ टल्किरहेका हिमशिखरका यी दृश्य हेर्दा लाग्छ, जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण यही हो । त्यस्तै पूर्वबाट हेर्दा पोखरा, स्याङ्जातिरका गाउँका घरहरू तल–तल देखिन्छन् । पश्चिम फर्केर हेर्दा उस्तै बागलुङ र गुल्मी जिल्लाका सुन्दर हरिया पहाडी शृंखलाका अनेक आयाम देख्न सकिन्छ । जिल्लाकै उचाइमा रहेको डहरेबाट यी वरिपरिका गाउँ तलतिर हेर्दा आफू संसारकै सबैभन्दा उचाइमा भएजस्तै लाग्छ ।



स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।


भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’ यस्ता किंवदन्ती अनेक तरहले बनेका हुन्छन् । यसको सत्यता कति छ त्यो खोजको पाटो हुन सक्ला । जे होस्, डहरे देउरालीलाई धार्मिक पुस्तकले अति महत्त्वका साथ लेखेका छन् ।


यस पर्वतमा करिब २ हजार मिटर लामो डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पहाडमा आवाल ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्रि, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा यहाँ धुमधामको पूजाअर्चना गरिन्छ ।



अहिलेसम्म डहरे देउराली क्षेत्र संरक्षणका लागि जिल्लाका कार्कीनेटा, थापाठाना, भंगारा र स्याङ्जाको पञ्चमूल वरपरका गाउँले केही पहल गरिरहेका छन् । सँगै यस स्थल संरक्षणका लागि विधिवत् रूपमा समिति नै गठन गरिए पनि त्यसबाट कुनै फलदायी कामचाहिँ भएको देखिँदैन ।


डहरे पुग्न जंगल छिचोल्दै हिँड्नुपर्छ । करिब ६० किमि लम्बाइ र १५ किमि चौडाइ क्षेत्रफल रहेको लेकलाई पतझर प्रकारको घनाजंगलले घेरेको छ । सदियौं पुरानाजस्ता लाग्ने लहरा र झ्याउले जेलिएका रूख बुट्यानका आकृतियुक्त वनक्षेत्र देख्दा कुनै विशेष जिलायु सौन्दर्यको आभास मिल्छ । मानिसको पातलो आउजाउ र उपस्थिति रहने जंगलको गोरटो बाटो प्रायः रूख बुट्यान र झाडीले छोपेको देखिन्छ । सुरुमा बाटो छिचोल्न नसक्दा मानिस जंगलमा हराउने सम्भावना पनि हुन्छ ।


लेकको चुचुराबाट वरिपरिको प्रकृति नियाल्दा मन चकित बन्छ । कल्पना गरेको परिवेशभन्दा नितान्त फरक महसुुस गर्न सकिन्छ डहरे चुली टेक्दा । मन एकाएक आकाशको फेरो मार्न पुग्छ प्रकृतिको बुई चढी । यो वनक्षेत्र जैविक विविधतायुक्त छ । यहाँ दुर्लभ जातका वनस्पति पनि प्रशस्तै पाइन्छन् ।



डहरे देउरालीका विविध पक्षबारे यहाँ चर्चा गरियो । यस क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पुर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि यो ठाउँ महत्त्वपूर्ण नाका बनेको थियो ।

त्योबेला घोडा, खच्चडलाई भारी बोकाएर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म ढुवानी गर्ने गरिन्थ्यो । हाल सडक पहुँचले पुरानो त्यो समस्या टरेर गएको छ । र, अहिले यो स्थान पर्यटकीय गन्तव्य बन्दै छ ।
डहरे पुग्न पोखराबाट पर्वतको कार्कीनेटा हुँदै करिब ३ घण्टाको उकालो उक्लनुपर्ने हुन्छ । स्याङ्जाको सिरुबारीबाट पनि ४ घण्टाको हिँडाइपछि डहरे पुगिन्छ । केही वर्षयता नौडाडा–कार्कीनेटा–लुंखु मोटर बाटो पुगेपछि यहाँ पुग्न केही सहज भएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?