भिगन : बन्दै गरेको एउटा संसार

घनश्याम खड्का

मांसहार र शाकाहारका बारे त सबलाई थाहै छ, यसबीच उम्रिएको अर्को वर्ग भिगनबारे चाहिँ ? भिगनको भोजन हो के ? किन कोही भिगन हुन्छ ? कति छन् यस्ता मान्छे यो संसारमा अनि हाम्रो देशमा ? के हुन्छ यस्तो खानाले ? यसबारे यहाँ एउटा रिपोर्ट छ– आउनुस्, यही सेरोफेरोमा केही बात मारौं–
भोजनका हिसाबले प्राणीहरू दुईथरी छन्— शाकाहारी र मांसहारी । गाई, हरिण, हात्ती आदि मासु खाँदैनन् ।

भिगन : बन्दै गरेको एउटा संसार

बाघ, चितुवा र बिराला इत्यादि घाँसमा आँखै लगाउँदैनन् । त्यसैले बाघ भन्नासाथै मांसहारी भन्नैपर्दैन, जसरी गाईको नाम लिएपछि शाकाहारी भनिरहनु पर्दैन । तर मान्छे, माछा–मासु पनि खान्छ, दही दूध पनि उसलाई चाहिन्छ, अन्नपात, सागसब्जी र फलफूलले नपुगेर उसलाई अण्डा, घिउ र महसमेत खान्छन् । कोही यसमा छानीछानी यो खाने र ऊ नखाने गर्छन् । यस्तो लाग्छ, मान्छेका लागि खान हुने–नहुने भन्ने नै केही छैन । त्यसैले मान्छेचाहिँ कोही शाकाहारी छ, कोही मांसहारी र कोहीचाहिँ शुद्ध शाकाहारी, माने भिगन ।


पहिले शब्दको बुनोटमा जाऊँ । छाउपडीको अंग्रेजी शब्द छैन किनभने गोराहरूको संस्कारमा छाउगोठ छैन र गोरीहरू रजोवती हुँदा गुफाजस्तो कुनामा गएर लुक्ने कल्पनासम्म पनि गर्दैनन् । त्यसैले अंग्रेजीमा छाउपडीलाई जनाउने शब्द हुने कुरै भएन । त्यस्तै, भिगनिजमको छोटकरी रूप भिगनलाई अंग्रेजी अर्थकै शुद्धतम भाव बुझाउने शब्द नेपालीमा छैन । किनभने, नेपालमा यसको चल्ती छैन । भिगनिजम एक बृहत् अवधारणा बोकेको शब्द हो ।

शब्दका तहमा उल्था गर्ने हो भने नेपालीमा यसको अर्थ हुन आउँछ— शाकाहारवाद । तर, प्रचलनअनुसार यसलाई बुझ्ने हो भने हाम्रो व्यवहारप्रदत्त शाकाहारवादले पश्चिमाहरूले बाँच्ने भिगनिजमको अर्थ दिँदैन । किनभने, शाकाहारवादले माछा–मासु मात्रै होइन, जीवको शरीरबाट निस्पाद हुने कुनै पनि उत्पादनको प्रयोग गर्दैन । आफ्नो क्षुधा तृप्तिका लागि अरू कसैको ज्यान लिनु वा तिनको दोहन गर्नु उचित होइन भन्ने मूलमर्म भिगनिजमको छ । हालको हिमवत् खण्डमा शाकाहारीहरूले दुग्धजन्य पदार्थ र मह निरापद रूपले प्रयोग गर्छन्, यसमा अण्डा पनि सामेल गर्नेहरू थुप्रै छन् ।

अझ, कतिपय त माछालाई पनि शाकाहारी भोजन नै मानेर काम चलाइरहेका भेटिन्छन् । त्यसो हुनाले भिगन आहारलाई कवि पराशरहरूले ‘शुद्ध शाकाहार’ को रूपमा बुझाउन खोजे पनि आम मानिस यसलाई दही–दूधसहितको भोजन नै भनी बुझ्छन् । यस्तो बुझाइले भिगनहरू बरोबर अप्ठेरोमा पर्दारहेछन् ।

विषेशतः पूजाआजा र भोजभतेरमा गएका बखत तिनलाई ‘प्रसाद’ भनेर दिइएको पदार्थले खानु कि ओकल्नु बनाइदिन्छ । यस्ता अक्करे क्षणमा अक्सर भिगनहरू चुपचाप त्यो प्रसाद जिब्रोभित्र हालेजस्तो गर्छन् र आफ्नै आस्थालाई चिमोटेर भए पनि अर्काको हृदयलाई नदुखोस् भन्ने चेष्टा गर्छन् । नेपालीमा भिगनको व्यवहारपरक समानार्थी शब्द भइदिएको भए यस्तो दुविधा रहने थिएन सायद ।
नेपालीमा नभए पनि भिगन आहारको मर्मलाई बुझाउने शब्द संस्कृतमा भने अवश्यै छ– निरामिष ।

आमिषको मूलार्थ– मासु र यसको लक्षणार्थ हुन्छ अर्थात् मासुबाट बनेका सबै चीज । यहाँसम्म कि हाडछालाको देहप्रति हुने काम–भोगको इच्छालाई पनि यसले अभिव्यक्त गर्छ । निरामिषचाहिँ आमिषको व्यतिरेकी शब्द हो, जसको अर्थ हुन्छ— मासु र मासुबाट निस्पादित सबै द्रव्यहरूले रहित ।

अर्थको यस आलोकमा हेर्दा निरामिष भोजन भन्दा भिगन आहारलाई सही रूपमा प्रतिनिधित्व गर्छ । तर, अप्ठेरो के छ भने व्यवहारमा अति चल्ती भएकाले जसरी शाकाहारी वा शुद्ध शाकाहारी भोजनले दही–दूध समावेश नभएको आहार भनेर जनस्तरमा अर्थ सम्प्रेषण गर्दैन, त्यसरी नै चल्तीमै नआएका कारण निरामिष भोजनले पनि आम रूपमा भन्न खोजेको कुरोलाई बुझाउँदैन । यसरी, अंग्रेजी संस्कृतिमा भिगन भन्नेबित्तिकै के भन्न खोजिएको हो बुझिएझैं नेपालीमा बुझाउने कुनै शब्द फेला नपर्दा काठमाडौंको शैशव अवस्थाको भिगन समुदाय अलमलमा छ ।



आफ्नो पेट भर्न र जिब्राको स्वाद फेर्न मान्छेले जनावरमाथि गर्नुसम्मको अत्याचार गरेको छ । यस्ता कृत्यबाट केही मानिस अलग भए र माछा–मासु खान अस्वीकार गरे । सामान्यतया हामीले बुझ्दै आएको शाकाहार जीवन पद्धति यही हो ।

भिगनहरू भने मासु मात्रै होइन, जनावरबाट उत्पादित हरेक सामग्रीको जगमा हिंसा देख्छन् । हुन पनि हो, हामीले मीठो मानेर खाने दुग्धजन्य पदार्थको स्रोत गाई–भैंसीलाई बढी उत्पादनशील बनाउन कृत्रिम हार्मोनको सुई हाल्ने, अनेक औषधि खुवाउने र तिनले दूध दिन छाडेपछि कसैको गर्दन छिनाल्ने र कसैकालाई टाट्नाबाटै लखेट्ने प्रवृत्ति संसारैभर व्याप्त छ । एक दिन काट्नकै लागि अर्बौं प्राणी उद्योगपूर्वक हुर्काइँदै छन् । प्राणीमाथिको यस्तो हिंसालाई मानिसले बहुत जालसाजीपूर्वक आफ्ना सन्तानलाई सानैदेखि झूटो विद्या पढाएर तिनका चित्तमा यस्ता व्यवहार ठीकै हो भन्ने एक अवधारणा अवचेतन तहमै विकास गरिदिएको छ ।


नानीहरूलाई पढाइन्छ— गाईले हामीलाई दूध दिन्छ, खसीले मासु । यो सुन्दा होजस्तो पनि लाग्छ, किनभने हामीलाई पनि यही सिकाइएको थियो र हामी पनि यही सिकाउँदै छौं । तर यो सत्य होइन, गाईले हामीलाई दूध दिँदैन, न खसीले मासु नै । बरु गाईको दूध हामी बलपूर्वक लिन्छौं, जसरी लिन्छौं खसी इत्यादिको मासु तिनको जीवनै अन्त्य गरेर । उदेकलाग्दो के भने, हरेक देशका हरेक भाषामा सानो छँदै बालबालिकालाई जनावरबाट मान्छेले पाएको फाइदाबारे पढाइन्छ ।

तर, यसो गर्दा जनावरले पाउने सास्ती र हैरानीबारे केही भनिँदैन । नानीहरूलाई मासुबाट जीउ बलियो हुन्छ भनिन्छ । जनावरका छाला र हड्डीबाट बनेका सामग्रीको सौन्दर्यका साथै तिनको अनेक व्यावहारिक उपयोगबारे तिनलाई हजार ढंगले जानकारी गराइन्छ । विवेक पलाउनुअघि नै बालकको अवचेतन मनमा जनावरमाथि गर्ने सबै व्यवहार जायज हो भन्ने पारिन्छ । यसरी मान्छेको एउटा पुस्ताले अर्को पुस्तालाई प्राणीमाथिको दमन सामान्य मात्रै होइन, गुणकारी मानक हो भनेर हस्तान्तरण गर्दै आएको छ ।


इतिहास केलाउँदा थाहा हुन्छ, जति पनि आदर्श मानिस पृथ्वीमा जन्मे, ती सबले प्राणीमाथिको यो हिंसाको विरोध गरे । बुद्धले असंख्य सन्दर्भमा हिंसाविरोधी उपदेश दिएका छन् । मान्छेझैं, हरेक प्राणी कष्टदेखि भाग्छन् र मृत्युदेखि भयभीत हुन्छन् । त्यसैले कसैलाई कुनै पनि रूपमा कष्ट दिने र भयभीत पार्ने काम नगर भन्ने बुद्ध वचन छ । यो तब मात्रै सम्भव छ, जब करुणाको गहिरो प्रादुर्भाव हृदयमा हुन्छ । नत्र त, ‘आई लभ चिकेन’ भनेर मान्छेहरू कुखुराको साप्रा लुछिरहेका भेटिन्छन् अनि ‘आई लभ फिस’ भन्दै छट्पटाइरहेको माछालाई तेलको कराहीमा हाल्छन् । यस्तो प्रेम पनि के प्रेम, जसले जीवनकै अन्त्य गर्छ ? प्रेम त यस्तो होस्, जसको आविर्भावले जीवनको गरिमालाई अरू बढी महिमामण्डित पारोस्, यसलाई अझ बढी रूप र आयामहरूमा प्रकट गर्ने अवकाश देओस् । यस्तो प्रेम पो प्रेम, जसले विवेकको आँखा उघारोस् र मान्छेले जान्न सकोस्— हर प्राणीमा जीवनको उही मधुर धुकधुकी छ आफूमा झैं । त्यसो भयो भने, कसरी एक जीवले अर्को जीवलाई भोजन ठान्न सक्छ ?


प्रेमको नाममा मान्छेले गर्दै आएको वासनाहरूको परिपूरणलाई आफ्नो अभिप्रायमा ढिम्किन नदिन बुद्धले अर्कै शब्दको प्रयोग गर्नुपर्‍यो, करुणा । अहिले पश्चिमा समाजमा तीव्र रफ्तारमा प्रसार भइरहेको भिगनिजम बुद्धको यही करुणामा आधारित छ । प्रणाीहरूमाथिको करुणाकै कारण भिगनहरू वनस्पतीजन्य आहारा मात्रै लिन्छन्, कपडा, धातु र काठका सामान मात्रै प्रयोग गर्छन् । तर, यस्तो जीवनशैली भएकाहरू संख्याको तुलनामा निकै थोरै छन् ।

‘फ्रेन्ड्स फर अर्थ’ नामक अमेरिकी संस्थाले केहीअघि गरेको अध्ययनअनुसार, सात अर्ब जनसंख्या भएको यो पृथ्वीमा शाकाहारीको संख्या जम्मा ३५ करोड छ । गुफायुगी आदिम मानिस पूर्ण रूपमा मांशाहारी थियो । सभ्यताको विकास र चेतनाको फैलावटले अहिले उसैका कराडौं सन्ततिले मांस भक्षण गर्दैनन् । यो ३५ करोडभित्र भिगनहरूको संख्याचाहिँ कति होला ? यसको कुनै भरपर्दो सर्वेक्षण हालसम्म भइसकेको छैन तर पनि ‘द इकोनोमिस्ट’ ले के अनुमान गरेको छ भने १५ लाखको हाराहारीमा संसारभर भिगनहरू छन्, जो बितेको पाँच वर्षमा ह्वात्तै बढेको संख्या हो ।

भिगनहरूको संगठन ‘वर्ल्ड भिगन सोसाइटी’ ले संसारभर करुणापूर्ण जीवनशैलीको प्रचार गर्दै पृथ्वीलाई बचाउन भिगन हुनैपर्ने कारणहरूको तीव्र प्रचार गरेको छ । भिगनिजमबारेमा सन् २०१९ मा संसारभर नै उल्लेख्य खोजबिन भएको गुगलको तथ्यांकका आधारमा ‘द इकोनोमिस्ट’ ले आउने एक दशकमा संसारभर हरेक दस जनामा एक जना भिगन हुने प्रक्षेपण गरेको छ ।


संसारमा यसरी व्यापकताका साथ फैलिएको भिगन जीवनशैली नेपालमा पनि बिस्तारै देखा पर्न थालेको छ, तर मन्द गतिमा । घरबाहिर खानुपरे निरामिष भोजन भेट्न भिगनहरूलाई हम्मे पर्छ किनभने हाम्रा रेस्टुरेन्टहरू भिगनका लागि अपरिचित नै छन् ।


‘लुम्बिनी जाँदा मैले पेटभरि खान पाइनँ’ सामु योञ्जन भिगन हुँदाको दुःख सुनाउँछिन्, ‘बजारमा भिगनका लागि भनेर तोकिएको खाने ठाउँ नै नभएकाले ज्यादै कष्ट भयो ।’


यस्तो देखेपछि सामुलाई लागेछ, आफैं एउटा रेस्टुरेन्ट किन नखोल्नु भिगनहरूका लागि ? उनकी एक चिनियाँ साथीले सामुको यो आँटलाई केही आड भरोसा दिलाइन् र यो खोल्नका लागि आवश्यक प्राविधिक सहयोग पनि गरिन् । अनि खुल्यो बौद्धमा लबिङ हार्ट जो नेपालको पहिलो भिगन रेस्टुरेन्ट हुन गयो । तर, उनले भने जति ग्राहक पाइनन् । दुई वर्ष चलेपछि उनी रेस्टुरेन्ट बन्द गर्ने योजनामा पुगिन् । पेसाले ग्राफिक्स डिजाइनर र भोजनले १८ वर्षदेखिका भिगन तनहुँ मिर्लुङका कृष्ण गुरुङको कानमा लबिङ हार्ट बन्द हुन लागेको खबर कसोकसो गरी पुगेछ । उनले सामुलाई सल्लाह दिए, भएको एउटै भिगन रेस्टुरेन्ट बन्दैचाहिँ नगर्नुस्, बरु ठमेलमा सारौं ।


उनैले सामुका लागि ठाउँ खोजिदिए, आफू पनि यसमा पार्टनर भए । यसरी हाल ठमेलको थकाली किचनछेवैमा खुलेको लबिङ हार्ट नेपाल घुम्न आउने भिगन पर्यटकका लागि त्यति नै प्यारो भएको छ जति प्यारो हज गर्न गएको मुल्लालाई मक्का मदिनाको हुन्छ ।


लबिङ हार्टले पर्यटकलाई मनग्यै खुवाए पनि त्यसले नेपाली भिगनलाई चाहिँ सेवा गर्न पाएको छैन । यो अभावलाई थोरै भए पनि पूर्ति गरिदिएको छ झम्सिखेलमा हालै खुलेको अर्को भिगन रेस्टुरेन्ट सियाले । यसका सञ्चालकद्वय नीरु गुरुङ र सुशील श्रेष्ठ आफैं भिगन जीवन बाँच्ने प्रयत्नमा छन् । प्राणीअंश मुक्त रेस्टुरेन्टले जनावरहमाथिको हिंसा रोक्न थोरै भए पनि सघाउने ठान्छिन् नीरु ।


यसरी भिगनिजमको प्रवर्द्धनमा लागेकी उनलाई निरामिष आहार मात्रै बेच्ने व्यवसायको सुरुआत गर्न सुझाव दिएकी थिइन् आफूभन्दा १८ वर्षले कान्छी टेकुकी २४ वर्षीया काजोल सेटियाले । काजोल आफैंचाहिँ भिगन भएकी हुन्, सन् २०१४ मा सिंगापुरमा इन्जिनियरिङ पढ्न जाँदा, जहाँ उनले जनावरको कुनै पनि स्वरूपको उत्पादन प्रयोग नगर्ने सहपाठीहरू भेटिन् । काजोललाई मन पर्ने दूध, चिज, बटर, दही, आइसक्रिमजस्ता पदार्थ भटमासबाट बनाएर जति पनि उपलब्ध गराएको थियो सिंगापुरको बजारले । जब उनी नेपाल फिरिन्, तब यस्ता पदार्थ बजारमा खोज्दा पनि पाइनन् । तब उनले आफैं सुरु गरिन्, बदाम, काजु र नरिवलका दूध र त्यसबाट बन्ने अन्य परिकार उत्पादन गर्ने काम । यस काममा काजोल कतिसम्म दत्तचित्तले लागेकी छन् भने


आफ्नो इन्जिनियरिङको करिअरलाई नै उनले थाँती राख्नुपरेको छ । आफ्नी आमाको पनि साथ रहेको काजोलको टेकुस्थित आफ्नै घरमा हुर्किरहेको ‘भिगन डेरी नेपाल’ का उत्पादनले अहिले काठमाडौंमा भर्खरै जन्मिएको हजार जना जतिको निरामिष भोजीहरूलाई ठूलो राहत दिएको छ । दूध र अण्डाबिनाको केक बनाउने काम गरेर भिगनहरूलाई थप गुन लगाएका छन्, क्षेत्रपाटीका अर्का युवा अनिश तुलाधरले । आफूझैं अन्य भिगनहरूले केक इत्यादि खान वञ्चित हुनुपरेको देखेपछि अनिशले आफ्नी पत्नी सरस्वतीसँग मिलेर यसको उत्पादनै सुरु गरे, जसको माग अहिले मांसहारीहरूबाट समेत हुन थालेको छ । किनभने, उनका भिगन केकहरू साह्रै स्वादिला छन् र यसमा हिंसाको कुनै अंश पनि छैन ।


यसरी भिगन समुदाय एकअर्कालाई मद्दत गर्ने र पशु हिंसाविरुद्धका कार्यक्रमहरू आयोजना गर्ने काममा सक्रिय मात्रै छैन— काजोल, कृष्ण, नीरु र अनिशलेझैं यसलाई व्यावसायिकता प्रदान गरेर उत्पादनको नयाँ क्षेत्र पनि विस्तार गर्दै छ । त्यसैमध्येका एक हुन्— धादिङ गोगनपानीका सरगम तामाङ, जसले स्वादको फन्दामा परेकाले मात्रै निरामिष हुन नसकेका ‘गिल्टी मिटेरियन’ का लागि गज्जबको काम गरिरहेका छन्, सेतान अर्थात् ‘मेज मिट’ उत्पादन गरेर । नयाँबजारस्थित एक गुम्बाका व्यवस्थापक सरगमले पहिलोपटक यस्तो जिनिसबारे थाहा पाएका थिए उनकोमा आउने थाइल्यान्डका भिक्षुहरूबाट ।
‘यो हेर्दा मासुजस्तै हुन्छ र खाँदा स्वाद पनि उस्तै आउँछ,’ सरगम भन्छन्, ‘मासु छाड्ने प्रयत्नमा रहेका भिक्षुहरू हामीकहाँ आउँदा त्यस्तै आहारा खोज्थे तर त्यो नेपालमा नपाइने हुनाले थाइल्यान्डदेखि मगाउनुपर्थ्यो ।’


टाढादेखि सामान मगाउनुको झन्झटबाट मुक्त हुन सरगम आफैं थाइल्यान्ड पुगे र सेतान बनाउने विधि सिके । उनका साथी पासाङ तामाङ र अरिस्तो लामाले सरगमलाई काठमाडौंमा यो उत्पादन गर्ने काममा हात अघि बढाए । गुम्बाका लागि भनेर बनाइएको उनको यो उत्पादन नीरुले आफ्नो रेस्टुरेन्टको मेनुमा पनि समावेश गरेकी छन्, जहाँ शाकाहारी मासु खान भनेर मान्छेहरू रमाइलो मानीमानी आउँछन् । अनि सेतान चाखेपछि, हिंसा नगरीकनै स्वादको पूर्ति हुन्छ भने किन मासु खाइराख्ने भन्ने निष्कर्षमा कतिपय ग्राहक पुग्छन्, जो देख्दा नीरुको मन खुसीले झुसी हुन्छ ।

सरगमहरूले समुद्री झारलाई खाँदखुँद पारेर माछा बनाउने विधि पनि थाइल्यान्डबाट सिकिल्याएका छन् र गुम्बामै त्यसको उत्पादन गरिरहेका छन् । यसलाई पनि नीरुले आफ्ना ग्राहकका लागि मेनुमा समावेश गरिसकेकी छन् । यसरी मासुदेखि दही–दूध र अण्डा अनि महसम्म वनस्पतिबाटै उपलब्ध गराएर काठमाडौंको नवजात भिगन समुदायले खानपानको प्राणी अंशमुक्त चक्र निर्माण सुरु गरिरहेको छ । भिगन रेस्टुरेन्टहरू देशका सबै सहरमा खोलेको हेर्ने चाहना छ यी निरामिष भोजीहरूको । निरामिष भएपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको, मनको विषाद कम भएर गएको र जीवनको आनन्द थप बढेजस्तो लागेको अनुभव भिगनहरूको छ ।


‘मेरो कामबासना हरायो’ पन्ध्र वर्षअघि विकेश श्रेष्ठ भिगन हुँदाको अनुवभ यस्तो छ, ‘शाकाहारी त म पहिलेदेखि थिएँ, ४५ वर्षको भइसक्दा पनि मलाई यौन उत्तेजनाले ज्यादै सताइरहन्थ्यो । तर, जब भिगन भएँ– सारा उत्कण्ठाहरू शान्त भएर गए, मन स्वतः ध्यानमा लाग्यो र स्वास्थ्य राम्रो भयो ।’


त्यस्तै, पन्ध्र वर्षको शाकाहारी जीवन बिताएपछि कवि नरेन्द्र पराशर निरामिष भएको सात वर्ष भयो । भियतनामकी ध्यान गुरु चिंगहाईको उपदेशहरूबाट प्रभावित भएपछि प्राणी अंशबाट जीवनलाई अलग राखेका पराशरको मनमा निरामिष जीवनपद्धतिले पहिलेभन्दा धेरै नै करुणा निस्पाद गरिदिएको छ । छन्दमा केही महाकाव्यहरूकै रचना गरिसकेका उनले भिगनिजमबारे पनि कविता लेखेका छन् ।

कविताको एक हरफ यस्तो छ,
खानका लागि धर्तीमा, धेरै छन् ती वनस्पति ।
लाजै त्यागेर मान्छेले, खान्छन् प्राणीहरू कति ।।
चाहे मन्दिरमा होस् या, बजारमै नहोस् किन
हुन्न मारिनु यी जन्तु, मान्छेले फाइदा लिन ।।

प्रकाशित : मंसिर २८, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?