प्राग्ऐतिहासिक पर्व

साकेला किराँत राईको बसाइँसराइसँगै नेपालका प्रायः सहरमा पुगेको छ । अर्थात्, साकेला गाउँबाट सहरतिर पसेको छ । सहरबाट विदेशतिर पुगेको छ । सहरबाट मात्रै चीजहरू गाउँतिर जाँदैनन्, गाउँबाट पनि सहरतिर पस्दारहेछन् ।
भोगीराज चाम्लिङ

जिन्दगीमा उमेर खाएर मात्र नहुने रहेछ— बल्ल अहिले साकेला प्राग्ऐतिहासिक संस्कृति हो भन्ने बुझ्दै छु  । हलेसी क्षेत्रका राईहरूलाई नफापेर धेरै पहिला छाडेका कारण मलाई साकेला पर्वबारे खासै थाहा थिएन  ।

दिक्तेल बहुमुखी क्याम्पस (खोटाङ) मा पढ्दा साथीहरूको पछि लागेर २०४९ सालतिर सोल्मा गाउँमा प्रथमपटक साकेला सिली (नृत्य) हेरेको थिएँ । गोलोगोलो घेरा बनाएर थुप्रै समूहमा दर्जनौं मान्छेले हात र खुट्टाको चाल मिलाउँदै सिली टिपेको अर्थात् नृत्य गरेको देख्दा जिन्दगीमा पहिलोपटक अचम्मित भएको थिएँ, ‘अरे कस्तो नाच हो यो !’


हामी त गाउँमा देउसी खेल्दा, नाटक देखाउँदा अथवा विद्यालयले आयोजना गर्ने कार्यक्रममा बढीमा चार–पाँच जनाको समूहमा नाच्थ्यौं । साकेलामा त दर्जनौं मान्छे एउटै गोलो घेरा बनाएर नाचिरहेका थिए । हर हिसाबले साकेला विशाल सामूहिक उत्सव देखिन्थ्यो । हो पनि रहेछ ।


अहिले साकेला किराँत राईहरूको बसाइँसराइसँगै नेपालका प्रायः सहरमा पुगेको छ । विदेशमा पनि जहाँजहाँ किराँत राई पुगेका छन्, त्यहाँत्यहाँ प्रसार भएको छ । अर्थात्, साकेला गाउँबाट सहरतिर पसेको छ । सहरबाट विदेशतिर पुगेको छ । सहरबाट मात्रै चीजहरू गाउँतिर जाँदैनन्, गाउँबाट पनि सहरतिर पस्दारहेछन् भन्ने एउटा सांस्कृतिक साक्ष्य हो— साकेला । सहरलाई ध्यानाकर्षण गर्ने हैसियत बनाइसकेको साकेलाले हरेक वर्ष उँधौली (छिरिनाम) र उँभौली (धिरिनाम) मा दुईपटक सहरवासीलाई झकझक्याइरहेको छ । आजबाट यस वर्ष (२०७६) को उँधौली जो सुरु हुँदै छ । साकेला किराँत राई समुदायले उँधौली र उँभौलीमा मनाउने थुप्रैमध्ये एउटा महत्त्वपूर्ण पर्व हो, भूमिपूजा हो जसको किराँत राई भाषामा थुप्रै नाम छन्— साकेल् (कोयी), साखेल् (दुमी), साकेन्वा (बान्तावा), वास (खालिङ), तोसी (थुलुङ), तोस (कुलुङ, नाछिरिङ) इत्यादि । लिम्बू, याख्खा, सुनुवार (कोइँच), थामी, जिरेल, सुरेल, हायुलगायतका किराँती समुदायले पनि उँभौली र उँधौलीमा साकेलाजस्तै पर्वहरू मनाउँछन् ।
...
साकेला विशाल सामूहिक नृत्य–उत्सव हो । तर, प्रारम्भमा पक्कै यस्तो रुपमा थिएन । सायद आदिम समयमा एक–दुई दर्जन सदस्यीय शिकारी झुन्डको खुसियाली अभिव्यक्त गर्ने क्रममा उद्विकास भएको थियो । यसो भन्न सकिने थुप्रै आधार अहिले पनि उपलब्ध छन् । किराँत राई मिथकहरूले त्यही बताइरहेका छन् । स्वयं ‘साकेला’ शब्दकै एउटा अर्थ त्यही हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा सिली (नृत्य) हो जसले साकेला पर्वलाई प्रस्टसँग सिकारी जीवनसँग जोडिदिन्छ ।


साकेला दुईवटा शब्द मिलेर बनेको समस्त शब्द हो— सा र केला । ‘सा’ का थुप्रै अर्थमध्ये एउटा हो मासु अथवा सिकार । ‘सिकार खेद्ने बाटो’ भन्ने अर्थमा उहिले नामकरण भएको भोजपुर, कटुञ्जे शिरको जंगलको नाम ‘साइलाम’ अहिले पनि प्रचलित छ, जसमा ‘साइ’ भनेको सिकार, ‘लाम’ भनेको बाटो हो (निराजन बतास, विसं २०६७, खोक्चिलिपा) । त्यस्तै ‘केल्’ भन्नुस् या ‘केला’ अथवा ‘केलाङ’ नै भन्नुस्, त्यसले अभिनय र नृत्यलाई जनाउँछ ।

जस्तो कि कोयी राई भाषा (तारामणि राई, विसं २०७१, साकेल्) मा ‘स’ को अर्थ ‘रूख’ र ‘केल्’ ले हाँसखेल या हलचल भन्ने अर्थ दिन्छ । हुन पनि रूखको फेदमा स्थापना गरिएको थानवरिपरि नै पूजा र नृत्य गरिन्छ साकेला मनाउँदा, भूमिपूजा गर्दा । त्यो रूखले प्रतीकात्मक रूपमा जंगल र सिकारी युगकै संकेत गर्छ । त्यसैगरी किराँत लिम्बूहरूमा प्रचलित विशेष नृत्य छ केलाङ । यो नृत्य उँधौली (चासोक तङ्नाम) र उँभौली (यक्वा तङ्नाम) का अतिरिक्त खुसियाली मनाइने पर्वमा पनि नाचिन्छ । किराँत राईहरूमा साकेलामा कृषि सिली पनि नाचिन्छ तर लिम्बू समुदायको केलाङमा पशुपन्छी र कीटपतंगहरूको चालढालको मात्र सिको गरिन्छ । यसमा कृषि युगका सिलीहरू थपिएको पाइँदैन । यी सप्पै कुराबाट भन्न सकिन्छ— सिकार गरिसकेपछि रमाएर नाच्ने कलाबाट नै साकेला सिली र केलाङहरू सुरु भएको हो ।


दोस्रो हो, साकेला सिली नाच्नेहरूले ढाडमा भिर्ने ठोक्रो र धनुकाँड अनि साकेला नृत्य गर्दा हातहातमा समातिने हरियो सेउली । धनुकाँडको सोझो सम्बन्ध सिकारी जीवनसँग छ । त्यस्तै सम्बन्ध छ सेउलीको पनि । यस्तो सेउली कटुसलगायत प्रजातिका हुन्छन् । साकेला नृत्य गर्दा सिलिमोपा (पुरुष नृत्यकार) र सिलमोमा (महिला नृत्यकार) ले हातमा सेउली लिने प्रचलन छ । यो भनेको जंगली अवस्था र सिकारी जीवनको प्रतिनिधित्व गर्ने संकेतचिह्न हो । जब आदिम पुर्खाहरूले सिकार गर्थे तब त्यसको खुसियालीमा रमाउन उनीहरूसँग उपलब्ध कुरा नै त्यही जंगलका सेउलीहरू थिए । उनीहरू हातमा सेउली लिएर हल्लाउँदै रमाउँथे, नृत्य गर्थे । यस्तो प्रचलन किराँत राईहरूमा केही सय वर्षअघिसम्म जीवित थियो । मैले हालै थाहा पाएको एउटा ताजा मिथककै कुरा गर्छु ।


दीपक राईले अमृतबहादुर राईबाट सुनेअनुसार, बँदेलले भोजपुरको छोङ्खा गाउँको अन्नपात धेरै खाइदियो । नाम्नु पाछा (वंश) का ससुरा सिपालु धामी थिए भने खारुरङ हाङ्खिम पाछा (वंश) का ज्वाइँ धनुकाँड चलाउन सिपालु सिकारी थिए । गाउँलेहरूले अनुरोध गरेपछि ससुरा–ज्वाइँ बँदेल मार्न धनुकाँड लिएर निस्किए । एउटा बँदेललाई देखेर ज्वाइँले वाण हाने तर त्यो बँदेल वाण लागेपछि ढुंगामा परिणत भयो । वाणले लागेर ढुंगामा तीनवटा चोसो बन्यो । ससुराले देख्यो भने लाज हुन्छ भनेर ज्वाइँले त्यो ढुंगा गोगनको रूखमा लुकाए । तर, ससुराले चाहिँ ‘वाण लागेर ढलेको सिकार (बँदेल) यहीँ थियो’ भन्दै धेरैबेर सिली (नृत्य) गर्‍यो । ससुराले धेरै बेर सिली गरेपछि ज्वाइँले भने, ‘मैले यहाँ बँदेललाई वाण हानेको थिएँ । तर, त्यो त ढुंगा पो भयो । लाज हुन्छ भनेर मैले त्यो ढुंगा उठाएर गोगनको रूखमा राखेको छु ।’

त्यो ढुंगा ज्वाइँले बोकेर उनीहरू फर्किए । त्यो ढुंगालाई छोङ्खा गाउँको नागीमा ल्याएर राख्ने उद्देश्य थियो । तर, झन् बोक्यो झन्झन् गह्रौं भएर बिसाउन खोज्दा ढुंगा चिप्लिएर एक्कासि माटोमा गाडियो । जति निकाल्न कोसिस गर्दा पनि नसकेपछि त्यो ढुंगा त्यहीँ रह्यो, जहाँ अहिले साकेला पूजा गर्ने गरिन्छ ।
यो मिथक हजारौं वर्ष पुरानो होइन । त्यस्तै वाणले लागेको बँदेल ढुंगामा परिणत भएको पनि तपसिलकै कुरा हो । तर, मुख्य कुरा यो मिथकले केही सय वर्षअघिसम्म पनि शिकार मारेपछि सिली (नृत्य) गर्ने गरिँदो रहेछ भन्ने संकेत गर्छ । तेस्रो हो, साकेला पर्वमा गरिने पशुपन्छी र कीटपतंग नृत्य ।

यस्ता आदिम कला र संस्कृतिबारे रुसका प्रथम मार्क्सवादी चिन्तक जर्ज प्लेखानोभले गज्जब सैद्धान्तीकरण गरेका छन् । आफ्नो पुस्तक ‘आर्ट एन्ड सोसल लाइफ’ मा उनले चर्चा गरेअनुसार, खेल अर्थात् नृत्यकला आदि भनेको काम अर्थात् श्रमको नक्कल हो । त्यसैले खेलभन्दा जेठो हो काम । त्यस्तो कुनै पनि खेल (कला) छैन जुन कामसँग सम्बन्धित नभएको होस् । आदिम मानिसहरूको नृत्य भनेको जंगली जनावरहरूको चालढालको पुनरुत्पादन हो । जस्तो कि इस्किमो जातिले सिल माछाको नक्कल दुरुस्तै उतार्छ । उत्तर अमेरिकी इन्डियनहरूले भैंसीको नक्कल गर्दै ‘भैंसी नाच’ नाच्छन् । ठीक त्यसैगरी साकेलामा पनि थुप्रै जंगली पशुपन्छीहरूको चालढालको नक्कल गरिन्छ साकेला सिली (नृत्य) गर्दा ।


साकेलामा सिली गर्दा सयौं प्रकारका नृत्य गरिन्छ । ती मूलभूत रूपमा सिकारी र कृषि जीवनसँग सम्बन्धित छन् । थोरैचाहिँ सभ्यता युगका सिलीहरू पनि रहेका छन् । सिकारी जीवनसँग सम्बन्धित दर्जनौं सिलीमध्ये केही सिलीहरू हुन्— चाप्चा सिली (बाघ नृत्य), ब्यार्पा सिली (भालु नृत्य), पिरा सिली (मृग नृत्य), रुमा सिली (थार नृत्य), रम्भो सिली (बँदेल नृत्य), रङ्किमी सिली (बाँदर सिली), याङा सिली (माछा नृत्य) इत्यादि । अध्येता कमलजंग राई (साक्खेवा सिली : एक अध्ययन, २०७३) का अनुसार, सिकार सिली पनि हुन्छ, जसलाई आप्तारुङ सिली भनिन्छ । यो सिली धनुकाँड भिरेर नाच्ने गरिन्छ ।


त्यस्तै गरेर थुप्रै पन्छीको नक्कल पनि गरिन्छ साकेला सिलीमा । त्यस्ता केही प्रचलित सिलीमा पर्छन्— तावा सिली (मयूर नृत्य), तातिमी सिली (चारेचरा नृत्य), बङ्कोटे सिली (बेसारा नृत्य), मोउवा सिली (कल्चौंडा नृत्य), वापा सिली (भाले नृत्य), धिवा सिली (डाँफे नृत्य), नार्कुवा/कुङ्केरा सिली (कर्‍याकुरुङ नृत्य), कुप्पु सिली (थिबिउ नृत्य), वाराङकेवा सिली (लाहाचे नृत्य) इत्यादि ।


त्यस्तै साकेला सिलीमा कीटपतंगको नक्कल पनि उतारिन्छ । त्यस्ता सिलीहरूमा पर्छन्— क्रावा सिली (गंगटो नृत्य), लभे सिली (जुका नृत्य), खासिमा सिली (झिँगा नृत्य), बब्लती सिली (पुतली सिली), कुप्पामा सिली (उपियाँ सिली), छिप्क सिली (माछाले खाने कीरा नृत्य) इत्यादि ।


पशुसँग सम्बन्धित सिली भनौं अथवा कीटपतंग र पन्छीसँग सम्बन्धित सिली– यी तीनैथरी सिलीले आदिम किराँती समाजको जंगली र बर्बर युगको सिकारी जीवनको प्रतिनिधित्व गर्छन् । तर, आदिम मानवहरू सिकारमा मात्रै निर्भर चाहिँ कहिल्यै थिएनन् । मानिसको जीवनमा सिकार धेरैपछि मात्र सुरु भएको हो । जंगली युगको उच्च अवस्थामा धनुषवाण आविष्कार गरेपछि मात्र मानव पुर्खाहरूका लागि मासु नियमित भोजन बन्न पुगेको हो (फ्रेडरिक एङ्गेल्स, सन् १९८६, परिवार, निजी सम्पत्ति और राज्य कि उत्पत्ति) । यस हिसाबले हेर्दा साकेला सिली पनि जंगली अवस्थाको उच्चत्तम अवस्थापछि उद्विकास भएको नृत्य–कला हो । मेरो विचारमा यसको पूर्ण विकासचाहिँ बर्बर युगमा भयो ।
...
साकेला पर्वको प्राग्ऐतिहासिकता देखाउने अर्को पक्ष भनेको कृषि सिली हुन् । र, साकेला शब्दकै अर्को व्याख्या कृषिसँग सम्बन्धित रहेको छ । साकेला शब्दलाई विग्रह गर्दा ‘सा’ ले ‘अन्नको सह’ भन्ने अर्थ दिन्छ भने ‘केल्’ ले संरक्षक भन्ने अर्थ दिन्छ (तारामणि राई, विसं २०७१, साकेल्) । यसरी कोयी राईहरूमा साकेला शब्दको अर्थ कृषिसँग जोडेर गरिन्छ । हुन पनि हो, उँधौलीमा धरती सुत्छ, त्यसैले दुःख दिनु हुँदैन भनेर ढोल–झ्याम्टा बजाइँदैन । साकेला सिली (नृत्य) पनि खासै गरिँदैन । तर, उँभौलीमा चाहिँ खेतीपाती गर्नुपर्ने भएकाले धरतीलाई जगाउन ढोल–झ्याम्टा बजाउँदै साकेला नृत्य गर्ने गरिन्छ । एक हिसाबले धरती जगाउने पर्व पनि हो साकेला । त्यसैले साकेला कृषिसँग सम्बन्धित पर्व हो भन्नेमा कुनै द्विविधा छैन ।


साकेलामा कृषिसँग सम्बन्धित चासिम/चासुम सिली गरिन्छ, जसमा भस्मे फाँड्ने, अन्नबाली लगाउने, उठाउने नृत्य र अन्तिममा खानेसम्मका सिली पर्छन् । लाली ध्येल्मा सिली (बीउ उखेल्ने नृत्य), चप्लइमा सिली (धान–कोदो रोप्ने नृत्य), चासामा सिली (धान–कोदो गोड्ने नृत्य), चाधाम्मा सिली (धान–कोदो झाँट्ने–टिप्ने नृत्य) इत्यादि । कृषिसँग सम्बन्धित सिलीलाई खारु सिली पनि भनिन्छ, जसमा अन्नबाहेक कपास छर्नेदेखि कपडा बुन्नेसम्मका सिलीहरू पर्छन् । बर्बर युगको मध्यअवस्थामा मानव पुर्खाहरूले पशुपालन र खेतीपाती सुरु गरेका थिए (एंगेल्स, ऐजन) ।

त्यसैले साकेलाको कृषि सिलीचाहिँ सीधैं बर्बर युगको उपज हो । त्यस युगमा सुरु भएको कृषि सिली (नृत्य) हरूको परिष्कार सभ्यको युगमा आउँदा भएको देखिन्छ । विविधताका हिसाबले सबैभन्दा बढी सिली सिकारी युगका छन् । त्यसपछि कृषि युगका छन् । हुँदै नभएका त होइनन् तर सिकारी र कृषि सिलीका तुलनामा आधुनिक युगका सिलीहरू न्यून छन् ।


रमाइलो विषय के भने मानवशास्त्रीहरू खेतीपातीको सुरुआत महिलाबाट भएको मान्छन् । किराँत राईहरूको मुन्दुम, मुन्दुमी मिथक र साकेला सिलीले ठ्याक्कै यही कुरा भनिरहेको छ । मुन्दुमअनुसार, नियामा भन्ने आदिम थलोबाट आएका हुन् किराँती पुर्खाहरू । र, त्यो नियामामा किराँतीहरूले खेती सुरु गरेको सबैभन्दा पुरानो अन्न भनेको सायुङ्मा (सामा) हो जुन ‘मिलेट’ प्रजातिमा पर्छ । त्यसपछि कागुनी हो । त्यो पनि ‘मिलेट’ प्रजातिमै पर्छ । मुन्दुमअनुसार, यी अन्नहरूको खेती आदिम बजु चिनिमाले सुरु गरेकी थिइन् । त्यस्तै खालिङ राईहरूमा बजु खम्निम्याले खेती सुरु गरेको मिथक प्रचलित छ ।


कागुनी अन्नको खेती दस हजार वर्षअघि विश्वमै सबैभन्दा पहिले सिनो–तिब्बतीका पुर्खाहरूले चीनको ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा सुरु गरेका थिए (सु बिङ र अन्य, सन् २०००, ‘वाई क्रोमोजोम हाप्लोटाइप्स् रिभिल प्रिहिस्टोरिक माइग्रेसन टु हिमालय’) भन्ने कुरा पुरातात्त्विक खोजीले प्रमाणित गरिसकेको छ ।

यससँग किराँती पुर्खाहरू सम्बन्धित हुन सक्ने सम्भावना कागुनीलाई सिनो–तिब्बती भाषामा फ्रो (भान ड्रिम, सन् २००८, ‘टु ह्विच ल्याङ्ग्वेज फ्यामिली डज् चाइनिज बिलङ अर् ह्वाट इज् ए नेम ?’) सँग मिल्दोजुल्दो चाम्लिङ राई भाषामा फेरों, बान्तवा राई भाषामा फेसाक, फेसा भन्नुले देखाउँछ । त्यस्तै सामा र कागुनी अन्न पितृहरूलाई चढाउने पवित्र अन्न मानिनुले पनि यी अन्न खेती गर्नेहरू किराँतीका पुर्खाहरू थिए कि भन्ने सम्भावना औंल्याउँछ । त्यस हिसाबले हेर्दा ‘मिलेट’ प्रजातिका अन्न र खेतीसँग हजारौं वर्षअघि नै किराँती पुर्खाहरू परिचित थिए । र, साकेला सिलीका कृषिनृत्यहरू कुनै न कुनै रूपमा यससँग सम्बन्धित छन् ।


दोस्रो कुरा, साकेला सिली गर्दा पनि पुरुषहरूले सिकारसँग सम्बन्धित नृत्य गर्छन् भने महिलाहरूले कृषिसँग सम्बन्धित नृत्य गर्छन् । यसले पनि कृषिसँग महिलाहरूको सम्बन्ध रहेको देखाउँछ । तेस्रो कुरा, यसपटक भोजपुर जाँदा मैले थाहा पाएँ— बान्तवा राईहरूको पितृकार्य लेवा गर्दा पनि दिवापा (पितृ) र मोङ्छामा (मातृ) को पूजा गरिँदो रहेछ । त्यसमा पनि मोङ्छामा (मातृ) लाई चाहिँ अन्नका बालाहरू चढाइँदो रहेछ । यो पनि कृषिसँग महिलाहरूको सम्बन्ध छ भन्ने सांस्कृतिक तथ्य नै हो ।


सिकारी र कृषि नृत्यका आधारमा भन्दा किराँतीहरूले दुईवटा युग (जंगली र बर्बर) लाई साकेला सिलीका रूपमा भव्य दस्तावेजीकरण गरेका छन् । यस हिसाबले हेर्दा साकेला विशाल सांस्कृतिक भण्डारण (डिपोजिट) हो, जसका आधारमा किराँतीहरूको समाजविकासको अध्ययन गर्न सकिन्छ । उनीहरूको ज्ञान निर्माण र संरक्षण पद्धतिबारे अध्ययन गर्न सकिन्छ । खासमा मौखिक ज्ञानका आधारमा निर्देशित हुने समुदायको दर्शन, इतिहास, आदिम बसाइसराइजस्ता विषयहरूको अध्ययन गर्ने महत्त्वपूर्ण माध्यम साकेला र यस्तै सांस्कृतिक अभ्यासहरू हुन् ।
...
साकेलाबारे यति चर्चा गरिसकेपछि उँधौली (छिरिनाम) र उँभौली (धिरिनाम) का बारेमा चर्चा नगर्दा अपूरो हुने छ । राईहरूमा मात्रै नभएर सिङ्गै किराँती समाजमा उँधौली र उँभौलीको अवधारणा र अभ्यास रहेको छ ।


किराँतीहरूका अनुसार, जब माछाहरू उँधो लाग्छन्, जब चराहरू उँधो लाग्छन्, विशेषगरी कर्‍याङकुरुङ चरा उँधो लाग्छन् तब समय उँधो लागेछ, हिउँद सुरु भएछ भनेर बुझिन्छ । जब माछाहरू उभो लाग्छन्, जब चराहरू उँभो लाग्छन्, विशेष गरेर कर्‍याङकुरुङ चरा उँभो लाग्छ तब उँभौली सुरु भएछ भनेर बुझिन्छ ।

उँधौलीमा चिसो हुने भएकाले न्यानोको खोजी गर्दै माछा र चराहरू ओरालो लाग्छन्, उँभौलीमा गर्मी हुने भएकाले चिसोको खोजीमा माछा र चराहरू उँभो लेकतिर लाग्छन् । यसरी किराँत पुर्खाहरूले समयलाई मोटो गरी दुई खण्डमा विभाजन गरेको देखिन्छ । उँधौली र उँभौलीको अवधारणा कृषि जीवनमा प्रवेश गरिसकेपछि किराँती पुर्खाहरूले विकास गरेको कुरा हो । जुलियन स्टेवार्ड र मार्बिन ह्यारिसले विकास गरेको पर्यावरण सिद्धान्तको आँखिझ्यालबाट पर्गेलेर यसलाई अझ विस्तृतमा केलाउन सकिन्छ । त्यो अर्कै पाटो छ ।


तर उँधौली र उँभौली भनेको समयलाई हिउँद र बर्खा भनेर दुई भागमा बाँड्नु मात्र होइन, यो पर्यावरणसँग मात्र सम्बन्धित विषय होइन । यो हो सामाजिक–पारिवारिक नेतृत्वसँग पनि जोडिएको पक्ष । हिउँदलाई किराँत राईहरूमा महिलाको समय मानेर संस्कार गरिन्छ । त्यसकारणले त महिलालाई शीतलता र सिञ्चन गर्ने पानीका रूपमा लिँदै उँधौलीमा छुनेमाङ गरेर पोथी कुखुराको भोग दिइन्छ । त्यस्तै बर्खालाई पुरुषहरूको समय मानेर संस्कार गरिन्छ । त्यसकारणले त पुरुषलाई ताप र आगोको रूपमा लिँदै उँभौलीमा न्वागी गरेर भालको भोग दिइन्छ (नारदमुनि हार्तम्छाली : ‘किराँत सांस्कृतिक सम्पदा सुप्तुलुङ’) ।

र, यो पनि हो– मातृसत्तात्मक चरणबाट माता र पिताहरूको संयुक्त नेतृत्व भएको युगको प्राग्ऐतिहासिक सांस्कृतिक चिनो । यस आधारमा सांस्कृतिक रूपमै किन नहोस्, लिंगीय समानताको सन्देश पनि हो उँधौली र उँभौली । समाजमा क्रियाशील यस्ता सयौं प्रगतिशील अभ्यासहरूलाई जगेर्ना र प्रवर्द्धन किन नगर्ने ? प्रकाशित : मंसिर २८, २०७६ १०:१६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राशिज्ञान : नेपालको कि इराकको ?

सौरभ

विवादहुन ता इस्वी ३१९ भन्दा पहिले नै रोमकहरूले आविष्कार गरेका र यवनहरूले समर्थन गरेका मेष आदि बाह्र राशिका नाम भारतमा आएका थिए  । तर, भारतीयहरूले ती नाम अलिकति फरक पारेर बदले  ।

जस्तै : यमलको मिथुन, अजको मकर, कुम्भबाहक मनुष्यको कुम्भ ।’ –बाबुराम आचार्य, प्राचीन नेपाल, पेज २, २०२६ ।


‘राशि ज्ञान बेबिलोनको हो र जोडियाकको अर्थ यवृत्त हो, ज्योतिषबाट बनेको होइन ।’ –पाण्डुरङ वामन काणे, धर्मशास्त्रका इतिहास, पेज २७९ र २९२, खण्ड ४ ।


‘अंग्रेजी जोडियाक ग्रीक शब्द जोडिकोस हो अर्थात् जनावरबाट बनेको हो ।’ –जोन रथवाम, अ न्यु डेरिभेटिभ एन्ड इटिमलजिकल डिक्सनरी अफ सच इंग्लिस वर्क्स एज ह्याभ देयर अरिजिन इन ग्रीक एन्ड लेटिन ल्यांग्वेजेज, सन् १८३८ ।


यो त्यतिबेलाको पुस्तक हो, जतिबेला आचार्य र काणे जन्मेका थिएनन् ।

आयोनियन ग्रीस
आचार्यको यवन आयोनिया हो, जसलाई अरिस्टोटलले ग्रीस नामले विस्थापित गरे । ग्रीक देवता अपोलोलाई सूर्यदेव मानिन्छ । अर्थात् सूर्यबोधक संस्कृत अलर्कको रूपान्तरण हो— अपोलो ।


डेल्फीमा भविष्यवाणी गरिन्थ्यो । त्यो अत्यन्त प्रख्यात चलन थियो इसाई मतको प्रकोप सुरु हुनुअघि । डेल्फी दलान शब्दबाट बनेको हो । भविष्यवाणी गरिने स्थान समर्पित थियो अपोलोप्रति । त्यस भविष्यवाणीलाई भनिन्थ्यो, सूर्यको प्रकाश अर्थात् पूर्वको ज्योतिष शब्दलाई ग्रीकहरूले सूर्यको ज्योतिका रूपमा लिएको स्पष्टै छ ।


भविष्यवाणी गर्ने व्यक्ति महिला हुन्थिन् । तिनलाई भनिन्थ्यो पाइथिया । यो अजिंगरबोधक ग्रीक शब्द पाइथनबाट बनेको हो । जुन पाइथन मोलुरस मात्रै होइन, कुनै पनि पाइथन ग्रीसमा त छोडिदिऊँ युरोपमै हुँदैन । पाइथन शब्द बनेको हो फणी अर्थात् शिवको काँधमा भएको मानिने गोमन (नाजा नाजा) बाट, जुन युरोपमा हुँदैन ।


तिनको आसन त्रिख्ट्टुी हुन्थ्यो, ॐफलमाथि । यो ॐफल भनेको ढुंगाको जलहरी हो, जसको बीचको प्वालबाट चिसो बाफ आइरहन्थ्यो ।


माथिको दुई वाक्यबाट स्पष्ट छ— पूर्वको जलहरीलाई तिनले उल्ट्याए र त्यसमाथि त्रिखुट्टी राखे । प्वालबाट आउने बाफले त्यो कुरा भनिरहेको छ । ज्ञात होस्, भुइँकटहरजस्तो देखिने ॐफल तिनको संग्रहालयमा आज पनि छ ।


पाइथियाको दुर्बोध्य अर्थात् आफैंले अर्थ लगाउनुपर्ने भविष्यवाणीलाई ओराकल भनिन्थ्यो । ओराकल शब्द बनेको हो— पूर्वको शब्द अड्कलबाट । यसैले ओराकल दुर्बोध्य हुनुको अर्थ तिनले नबुझेको ।

पहिला नै भविष्यका बारे जान्ने ज्ञान रोमनहरू वा ग्रीकहरूसँग थियो भने पाइवादीहरू (प्रोटो इन्डोयुरोपियन भाषाका हिमायती गफीहरू) ले ठान्नेजस्तो किन भविष्यवाणी (फोरकास्ट) स्थान भन्ने शब्द नभएको ?

कृतिका
ओरियन र क्लेप्टो शब्द २८०० वर्षअघिको मानिएको होमरको इलियडमा आएको छ । यो राहु र केतु हो । इलियडको खेफ्लोस पनि केतु हो र ग्रेयोन ग्रहण हो । यसो भएपछि आचार्यले रोमनहरूलाई दिएको श्रेय यसै पनि गलत भएको छ ।


२७०० वर्षअघि बेबिलोनियन ज्योतिषशास्त्रमा अहिले हामीले प्रयोग गरिरहेका राशिचिह्नहरू प्रयोग गरिन्थ्यो भन्ने कुराको खासै प्रमाण छैन । (नेट) नेटले यसो किन भनिरहेको छ, उसको रहे सहेको आधार पनि असुर वाणपालले संग्रह गरेका ‘क्युनेइफर्म’ लिपिको अध्ययनबाट प्राप्त जानकारी मात्र हो । यसर्थ बेबिलोन (उत्तरी इराक) मा केन्द्रित काणेको मन्तव्य पनि सही ठहरिँदैन ।


६ वटा कृतिकाहरूले पालनपोषण गरेकाले शिवपुत्र कुमारको नाम कार्तिकेय भयो, जसलाई षडानन पनि भनिन्छ भन्ने हाम्रो परम्परागत लेखोट छ । यो लेखोट रामायणको हो, जो कम्तीमा ३३०० वर्षपूर्वको देखिन्छ ।


कृतिका नक्षत्र अर्थात् ६ वटा ताराहरूको एक जमात हो । यसलाई ग्रीकहरूले पालिसेडस भन्दछन् । यो पालित.पाली, षडा.सेडसबाट बनेको स्पष्टै छ । फेरि कसरी ग्रीक र बेबिलोनियनहरूले नक्षत्रको ज्ञान स्वयं हासिल गरे ? बुझिनसक्नु छ । यद्यपि कृतिका वेदमै आउँछ ।


(कृतिका शब्द मात्रै होइन, ग्रीक भनिएका अन्य शब्दको बनोटको अवधारणा चीनको दक्षिण युनानको एक वनस्पतिबाट आएको हो भन्ने कुराको व्याख्या गर्दा यहाँ झन्डै १५०० शब्द थप्नुपर्ने हुन्छ ।)

सही अर्थ
योनिवाल हो जनावरको मूलरूप । जसरी अवनिवाल बन्यो ओइनवार शब्द तराईमा । मानिसले ८४ लाख जुनी (योनि) मा जन्म लिइसकेपछि मात्रै फेरि मानिस हुन पाउँछ भन्ने पूर्वीय मान्यता नै छ । अर्थात् भेडाको जुनी, वृषको जुनी भएको मानव जीव भन्ने अर्थमा योनिवाल भन्ने शब्द आयो । यसैले जनावरबोधक ग्रीक शब्द जोडिकोस नै पनि मौलिक ग्रीक होइन ।


र, के भने भेडाको जुनी, वृषको जुनी भएको मानव जीवको मान्यतामा जनावरमूलक राशि ज्ञान स्थापित भयो । हिमालयपार तिब्बत चीनमा पनि जनावर आधारित राशि र वर्षहरू हुने भएकाले पनि जनावर आधारित राशि ज्ञान मध्य एसियायी वा युरोपियन होइन भन्ने टड्कारो छ ।‘जुनोटिक डिजिज’ को अर्थ आज पशुबाट प्रसारित हुने रोग भन्ने लागे पनि मूल अर्थ यौनरोग हो । यसैले जीवन शब्दको मूल यौन हो ।

‘हलिस्टिक’ मानवहरू
चार राशि आफूअनुकूल कान्यकुब्जीहरूले बदले भन्ने मन्तव्य (अक्षर ष : एक उदाहरण, ७ जेठ २०७०, कान्तिपुर) पछि यो कहाँ लेखिएको छ ? भन्ने प्रश्नहरूको ओइरो लाग्यो । केही मित्रहरूले तर्क गरे, हजार वर्ष जतिको मुसलमानी शासनले इन्डियामा रहेका सामग्रीहरू ध्वस्त पार्दा त्यो जानकारी पनि ध्वस्त हुन पुग्यो होला ।


अभिलिखित साक्ष्य (ट्यान्जिबल इभिडेन्स) का आधारमा मात्रै तर्क र निर्क्योलको निर्माण गरेकाले नै मार्क्सवादले फेल खाएको । हलिस्टिक स्कुलका अनुयायी प्रश्नकर्ताले त्यसैतर्फ सोचे हुन्छ । नेपालमा अहिले त्यस स्कुलका दुई शाखा पूर्वीय अनुदारवाद र उदार वामपन्थवाद त्यस्तो अनुसन्धानमा ज्यान फालेर लागेका छन् ।


पंक्तिकार खोक्रो हलिस्टिक स्कुलको अनुयायी होइन र किमार्थ हुने पनि छैन । हलिस्टिक तत्त्व (इलेमेन्ट वा स्रोत) को अस्तित्व छ भन्नेमा मात्रै आधारित छ । तर, तत्त्वहरूको यौगिक (कम्पाउन्ड) बनेपछि त्यसले तत्त्व छँदाको रसायनिक र भौतिक दुवै गुण गुमाएर नयाँ गुण लिन्छ । यो सामान्य विज्ञानको सोझो नियम हो । यौगिक निर्माणभन्दा पहिलेको गुणको स्रोत हुँदैन, छैन ।

बेबिलोनिया र वेद
‘बेबिलोनियन एस्ट्रलजी त्यस विषयको पहिलो सुसंगठित शास्त्र हो, जसको उठान विक्रम पूर्व दोस्रो हजार वर्षमा भयो । यो ३८०० वर्षअघिको कुरा हो, जुन क्युनेइफर्म लिपिबाट ज्ञात हुन्छ ।.... सुरुका पाँच युरोपियन ग्रहहरू बेबिलोनियन देवताहरूको सोपान बराबर यसरी चिनिन्थे— जुपिटर.मार्दुक, भिनस.इस्तार, स्याटर्न.निनुर्ता, मर्करी.नाबु, मार्स.नार्गल ।’

(नेट) एस्ट्रलजी शब्द तारा वा सिताराबाट बन्ने हो । रोमन देवता जुपिटर ऋग्वेदको सूर्यदेवबोधक दायुस पितरबाट बनेको हो भन्ने सर्वज्ञात छ । मार्दुकको साथमा सुनुनु नाम भएको कुकुर हुन्छ । र, यमराजका पनि श्याम र सम्बल नाम भएका कुकुर । यसैले मार्दुक मारा हो । भिनस शब्द वेणुबाट बन्ने विणावादिका सरस्वतीलाई भनिएको हो । यसैले शुद्ध रूप ईश्वरी हो, इस्तार होइन । मर्करी पूर्वको मकर हो, मार्स मारा नै हो । र, नार्गल नर्क हो । अर्थात् बेबिलोनियन क्युनेइफर्मका जानकारीमा कुनै मौलिकता छैन ।


र, वेद बढीमा ३७०० वर्ष पुरानो मानिएको छ । (माइकेल विजेल) तर, वेदमा यति धेरै नक्षत्रहरूको सूची आउँछ, जसले यस शास्त्रमाथिको विकसित ज्ञानलाई प्रस्तुत गर्छ । क्युनेइफर्मभन्दा कान्छो हो भने यति धेरै विकसित ज्ञान हुन सय वर्षमा सम्भव नै छैन ।


र, के पनि भने रोमको स्थापना नै २७०० वर्षअघि भएको मानिएको छ भने उसले ऋग्वेदबाट टिपेको जुपिटरचाहिँ ३८०० वर्षअघिको बेबिलोनियन मार्दुकसँग कसरी दाँजिन सक्छ ? पश्चिमाहरूमा आफूलाई प्राचीनतम देखाउने कसरत उदेक लाग्दै स्तरको छ । यसैले विजेलको कुरा मान्य हुनै सक्दैन ।


नेपालका केही वस्तुहरूको फाइलोजेनेटिक अध्ययनले त्यसको मूल नेपाल नै देखाएकाले र वेदसँग मिल्न गएकाले यहाँ वैदिक प्रसंगहरू उल्लेख गर्नुपरेको हो ।

जन्तर र जनै
हरिणको सिङबीचको चन्द्रमालाई लिएर हरिशचन्द्र भनियो— यस्तो अघिल्लै लेखमा लेखियो । यही चन्द्रमा हो, जसले तिथिको निर्धारण गर्छ । त्यो पात्रोलाई लुनर क्यालेन्डर भनिन्छ । हरिशचन्द्र ऋग्वेदमै छ । छोरा रोहितको एउटा अर्थ हरिण नै हो । पुराणमा आएपछि मात्रै उसकी पत्नी शैब्या देखापर्छिन्, जसको अर्थ शिवानी हो ।


हरिणबोधक हरिश शब्द सम्भवतः एतरेय ब्राह्मणमा आएको छ पर्वतको सम्बन्धमा । र, यो पर्वतले हिमालय र बिन्ध्य संकेत गर्ने कुरा त्यसका विज्ञहरूले गरेका छन् । (मेकडनेल र किथ) यद्यपि बिन्ध्यको अर्थ छैन लेखिसकियो । (पारियात्र र महामेरु, कान्तिपुर) यसरी हरिणको शिरमा बसेको चन्द्रमा यावत् चन्द्रपात्रो (लुनर क्यालेन्डर) को मूल स्रोत हो । त्यसो भएपछि चन्द्रपात्रोमा आधारित कथित जोडियाक रोमन, बेबिलोनियन वा ग्रीक हुन जाने कुरै भएन । यसैले जोडियाकमा जति जनावरहरू आउँछन्, ती शिवलेककै छन् ।


अंग्रेजी शब्द टाइड तिथिबाट बन्ने हो, जब औंसी र पूर्णिमाको समय पारेर ज्वार (एब टाइड) र भाटा (निप टाइड) जलराशिमा चल्दछ । कर्णालीले बनाइदिएको र गण्डकीले विस्तारित गरिदिएको नेपाल सीमापारि २६० किलोमिटर परको गंगा टाइडल रिभर हो, जसको मुख हुग्लीमा ज्वारभाटा चल्दछ ।


हिमालयको शालिग्राम जुन समुद्रको पिँधबाट निस्केको मानिन्छ, त्यो टेथिस सागरको नाम यही तिथिबाट रहेको हो । ग्रीक पुराकथामा इयोस सूर्योदयकी देवी हो, जसको शुद्ध रूप उषा हो । उसको पतिको नाम तिथोनस तिथिबाटै बन्ने हो । ग्रीक पुराकथाका पात्र थेटिस र पेलेयुसको मूल रूप तिथि र पला हो । ग्रीक स्थान नाम थ्रेस, इथाका, चथोनिस पनि तिथिबाटै बन्ने हो । यही तिथि शब्दबाट इथियोपिया बनेको छ, जसको छेउको लालसागरमा भाटा आएका बेला त्यो तरेर मोशे जेरुसालेम लाग्छन् र जहाँबाट जेनेसिससहित ओल्ड टेस्टामेन्टको लेखनीको थालनी हुन्छ ।


पूर्णिमाको उकालोसँगै हरिणको सक्रियता बढ्छ र ओरालोसँगै घट्छ भन्ने मान्यताले हरिणको शिरमा अझ शिवको शिरमा चन्द्रमा विराजमान हुन पुगेको हो, जसलाई ऋग्वेदले उतिबेलै टिप्यो ।


(सुश्रुतसंहिताका टीकाकार अत्रिदेव गुप्तले पनि पूर्णिमासम्म पुग्दा प्रतिदिन एउटा फूलको दरले फूल फुल्दै जाने र औंसीसम्म पुग्दा प्रतिदिन एउटाको दरले फूल झर्दै जाने, सोमलताको कुरा गरेका छन् । तर, यो एक मिथ्या कुरा हो ।)


अब अथर्व वेदले भन्यो– ‘हरिण सिङको जन्तर लगाइन्छ ।’ जड कुरा यहीँ छ । हरिण (अजाक्स अजाक्स) ग्रीसमा हुँदैन । बरु शिवलेक शृंखलामा हुन्छ ।


राशि सूचीमा परेको भेडाको सिङ बजाइन्छ, वृष र मिथुनको गोलोचन र कछुवाको खबटा घरमा राखिन्छ, गंगटो र बिच्छीको अंकुश, बाघ, बँदेल, घडियालको दाँत जन्तरमा प्रयोग गरिन्छ, कथित नागमणि र गजमणिको पनि पूजा हुन्छ, बाघको बाजु पनि पहिरिन्छन्, हात्तीको पुच्छरको रौंको पनि कडा लगाउँछन् । माछा आफैंमा सगुन हो । अर्थात् जनावरमा रहेको शक्तिविशेषको मानव विशेषमा स्थानान्तरणको रूप हो जन्तर, जो स्वयं बनेको हो योनिवालबाट ।


जनैको पहिलो उल्लेख तैतिरीय संहितामा आउँछ– काणेले लेखे । (पेज २१५, खण्ड १) तैतिरीय संहिता लेखनको मूल स्थान पूर्वी मध्यपहाड देखिएको छ पनि । (जुन अर्को लेखमा लेखिने नै छ) अर्थात् जनैको मूल अर्थ अब ‘द्विजन्म’ वा पुनर्संस्कार भन्ने देखिएन । शैव मतको जन्तर पहिरनलाई तैतिरीय संहिता लेखिँदासम्ममा वैष्णव मतको जनैले विस्थापित गरिसकेको देखिन्छ ।


यद्यपि जनैले नाइटो छोएको हुनुपर्छ । नाइटोभन्दा माथि भयो भने आयुक्षय र तल भयो भने यशक्षय हुन्छ (स्मृतिसार) ले स्पष्टै भन्छ— विष्णुको नाइटोबाट निस्केर ब्रह्माको आसनमा पुगेको कमल डाँठको पहिरनबाट जनैको प्रादुर्भाव भयो । जुन कथा बढीमा १६०० वर्षअघिको मानिने पद्म पुराणको हो । कमल नेपालको रैथाने होइन पनि ।


कमल डाँठको पहिरन किन पनि भनिएको हो भने चौथो शताब्दीका कालिदासको शाकुन्तलमै कमलनाल पहिरेको प्रसंग आउँछ । र, छैटौं शताब्दीको हर्षचरितमै पनि कमलका डाँठका रेसाबाट बुनिएको धवलवस्त्रको प्रसंग आउँछ । यसैले कमलको वैज्ञानिक जिनस नेलुम्बो नालुबाट बनेको हो ।

यसर्थ मनसुनकालको श्रावण महिनामा पानी भरिएको पोखरीबाट हुनसम्म माथि उठेर पानी बाहिर निस्केको कमल डाँठ पहिरेर पुनर्संस्कार गर्ने चलन पछिबाट रैथाने भारद्वाजी (थेस्पेसिया लाम्पास) को रेसा पहिरिने, ३ वर्ष फेर्न नपर्ने गरी सुनको, दुई वर्ष फेर्न नपर्ने गरी चाँदीको र एक वर्ष फेर्न नपर्ने गरी तामाको भन्दै जन्तरलाई यसरी विस्मृतिको खाडलमा पछिल्ला कर्मकाण्डीहरूले पुर्‍याइदिए, मानौं जन्तर पहिरिने व्यक्ति पूर्ण संस्कारहीन हो । तिनले जन्तरमा हुने पशु अंगलाई अधिकांश इन्डियामा मात्र पाइने अर्धबहुमूल्य पत्थरले पनि विस्थापित गरे । यसरी किन्दा हीराको भाउ, बेच्दा अदुवाको भाउ हुने वस्तुको व्यापार नेपालमा बढाउँदै लगे । जन्तरमा नश्लवाद वा जातीयतावाद छैन, जति पत्थरमा छ ।


जन्तरको अंग्रेजी समानार्थी, टालिस्मान हो । तिलस्मीबाट टालिस्मान बनेको हो । अरूले जस्तै अरेबिक मूलको ठानेर हुनुपर्छ आप्टेले आफ्नो शब्दसूचीमा तिलस्मीलाई ठाउँ दिएका छैनन् । तर, हाम्रो पहाडमा निधारमा सेतो टाटो भएको गाईगोरुलाई तिल्के र सेतो छिर्बिरे कानयुक्त बाख्रोलाई तिल्कन्ना भन्ने चलन छ । यसैले सेतो थोप्लाहरूले युक्त तिल्के प्राणी हरिणको अस्मी अर्थात् जीवाष्म जन्तर भएकाले तिलस्मी हुन पुगेको स्पष्ट छ ।

यसैबाट नारीहरूले पहिरिने जन्तर तिलंहरी (पशुपति र हरिण सिङ दुवै) भएको हो ।
अब धर्मराज थापाले लेखेजस्तो लमजुङको तिलाहारको अर्थ लहरै सुतेका सुंगुर भन्ने ठहरिएन, हरिण क्षेत्र भयो । र, के भने रैथाने आक्रमणकारी तिलहरीका ठाउँमा प्रतिरक्षात्मक मंगलसूत्रको प्रयोग ठाडै गलत हो भन्ने देखिन्छ । विवाहित नारीको तिलहरी पहिरनले तिनलाई शिवानीमा परिणत गर्छ । काँडेदार तिलहरीको अर्थ हो भुवायुक्त हरिण सिङ ।

दुम्सीका काँडाहरू पहिरिन्छन् नेपाली केटाहरूले व्रतबन्धको अघिल्लो रात र इन्डियनहरूले कुशको घाँस । पद्म पुराण बंगालमा बनेको हो भनिएबाट र बंगाली महिलाहरू जनै लगाउँछन् भन्ने काणेले लेखेबाट जनै यजुर्वैदिक याज्ञवल्कको जनकपुरबाट तैतिरीय संहिताको पूर्वी मध्यपहाडमा उक्लियो भन्ने देखिन्छ । त्यसले दुम्सी विशेष (हिस्ट्रिक्स ब्रास्युरा, न कि इन्डिका) मा आधारित एनिमिजमलाई ध्वस्त पारेको पुष्टि हुन्छ ।


तैतिरीय आरण्यकमा आएको प्रसंगमा जनैसँगै दाहिनेपट्टि हरिणको छाला हुनुपर्छ भन्ने उनको उल्लेखले नै जन्तरलाई जनैले विस्थापित गरिदियो भन्ने पनि स्पष्ट हुन्छ । छेवरकै रूपान्तरण हो छाउपडी– छुवाछूतको थालनी यसरी भयो, जसमा मस्टा पुज्ने पेनेवा भनिने बोन ब्राह्मण–क्षत्रीहरू (गैरजातीय ज्ञानीहरू) अञ्जानमै मिसिन गए ।


र, बिच्छी पनि पूर्वी शिवलेकको फेदमा पाइने हट्टेनटटा टमलस बुझिन्छ, जसलाई इन्डियन रेड स्कर्पियन भनिन्छ, नकि हेटेरोमेट्स कोभारिक वा बाजुराजस्ता उचाइमा देखिने अन्य जातिका बिच्छीहरू ।

भएको र हुनुपर्ने
एरिस/बरुवाल भेडा, जसको बारेमा छुट्टै १२०० शब्दहरू लेख्नुपर्ने हुन जान्छ जुन यहाँ सम्भव छैन ।
टरस/अछामी साँढे, जसलाई जेबुगाई वा बस इन्डिकस अन्तर्गत राखिएको छ । यहाँ लुलुसाँढे भनिएन, किनभने त्यसमा बस टरसको जिन छ ।


जेमिनी/मिथुन गाई– ऋग्वेदमा आउने यम यमीको दाजु बहिनी जोडालाई ग्रीकहरूले जेमिनी पढे । त्यसलाई यौनबोधक मैथुन पढेर पूर्वकाहरूले स्त्री–पुरुष चिह्न प्रयोग गरे । इजिप्टको क्लियोपेट्रा स्वयं ग्रीक मूलकी हुन्, जसको आफ्ना भाइहरूसँग विवाह भएको थियो ।


हुनुपर्ने मिथुन गाई (बस फ्रन्टालिस) हो । यो गौरीगाई (बस गौरस) को उपप्रजाति हो । गाईको मासु खाएबापत कुनै बेला सरकारलाई तिर्नुपर्ने दस्तुर मेकचन यही मिथुनबाट बनेको हो । यो अहिले आसाममा मात्र पाइन्छ । मेचेहरूले यसलाई नाम्बित भन्छन् ।


क्राब/गंगटो– ऋग्वेदको कर्क ग्रीक क्राब हुन गएको स्पष्टै छ । कर्कको अर्थ गंगटो मात्रै होइन, सेतो घोडा पनि हो । तर, संस्कृत साहित्यको श्यामवर्ण अर्थात् सेतो शरीर र कालो कान भएको अरेबिक मूलको हो । यसैले यहाँ कर्कको अर्थ घोडा हुने कुरा आएन । कर्कोटकको अर्थ सर्प हो, तर कर्कोटक टौदह निवासी होइन । अहिलेको मध्य पाकिस्तानी भूभागको हो । यसैले यहाँ गंगटो नै लिनुपर्छ ।


लियो/बाघ– संस्कृतको शार्दूलबाट इन्डियनहरूले सार मात्रै टिपेर सिंह र बाघ दुवैलाई शेर पढ्छन्, ग्रीकहरूले ल मात्रै टिपेर लियो र लाइन बनाए । हुनुपर्ने बाघ हो । विक्रमको १३ सयदेखि ३३ सय वर्षपूर्वको भनिएको सिन्धुघाटी सभ्यतामा पाइएको पशुपति छापमा बाघ नै छ । इन्डियाले महाकालीपारि खडा गरेको शिवलेक केन्द्रित जुलजिकल म्युजियममा ‘साबर टुथ्ड टाइगर’ नै छ सिंह छैन ।


भर्गो/हात्ती– भार्गवी भनेको कन्या हो, त्यही अंग्रेजीमा भर्जिन हुन्छ तर हुनुपर्ने भार्गव अर्थात् हात्ती हो । ग्रीकहरूले भार्गवलाई भार्गवी पढे, त्यसलाई भर्जिनको अर्थ दिएपछि पूर्वकाले कन्या भनेर सारे ।


लिब्रा/तिलित्स (गोनस वा भाइपर)– तराजु ग्रीस मात्रै होइन, युरोपकै होइन । तुला शब्द पहिलोपल्ट यजुर्वेदमा आएको छ, जुन नेपाल तराईमा लेखियो । (हेर्ने तौलको आँखा दर्शन, असहमति) लिब्रा तराजुको बीचको लंगुरबाट बन्न गएको छ, जो पछि लिबर्टीमा बदलियो । हुनुपर्ने तिलित्स अर्थात् भाइपर हो । तिलित्स हुने ठाउँमा नै तुलाको परिकल्पना गरियो, वैद्यहरूले जीवविषको मात्रा मिलाउन तराजुको आविष्कार गरेका हुन् ।


स्कर्पियो/बिच्छी– संस्कृतको ‘श्ची’ टिपेर ग्रीकहरूले स्कर्पियो बनाएका छन् । यद्यपि वृश्चिकको अर्थ सनासो हो । अर्थात् बिच्छी, गंगटो, खजुर, गोब्रेकीरा सबै वृश्चिक हुन् । अहिले बिच्छी नै लिऊँ ।
सागिटारियस/बँदेल– ग्रीक चिह्नमा एउटा घोडारूपी मानवले धनु ताकिरहेको तस्बिर हुन्छ । के घोडारूपी मानव हुन सम्भव छ ?


विक्रमपूर्व ५ सयमा लेखिएको मानिएको भावगत्को १०.२१ मा धेनुकको अर्थ मानवरूपी गधा वा राक्षस भन्ने विवरण आएको छ । धेनुक अर्थात् गधा र धनुको अर्थमा अन्योल हुँदा ग्रीकहरूले त्यस्तो तस्बिर बनाउन पुगेका हुन् ।


इन्डियामा धानुकहरू कपास उधिन्ने धनुरूपी साधन लिएर हिँड्छन् । यसले बुझाउँछ, तिनको सामान बोक्ने प्राचीन सवारीसाधन गधा थियो । त्यसैबाट गधाबोधक धेनुक र गधाको स्वरबोधक ढेंचो आएको बुझिन्छ ।


शताब्दीअघि चितवनमा प्रशस्त वनघोडा हुने गरेको, डेढ शताब्दीअघि दोलखाबाट राजेन्द्रविक्रम शाहले वनघोडा झिकाएको दस्ताबेज रहेको र अहिले मुस्ताङमा दुर्लभ रूपमा पाइने गरेको भए पनि स्थानीय नाम कियाङ रहेकाले यस रैथाने गधालाई संस्कृतको धेनुक मानेर धनुअन्तर्गत नराखिएको कारण भने अर्कै छ । धेनुकको कुनै पनि अवशेष जन्तरमा प्रयोग हुने कुरा पाइएन ।


यसैगरी राशिमा स्याल परेको छैन, कुकुर परेको छैन, बाँदर पनि परेको छैन । तीनवटै उतिबेलैदेखि तिरस्कृत देखिन्छन्, स्यालको सिङको तिलस्मी अर्थ भए पनि । गैंडा परेको छैन खागको तिलस्मी अर्थ भए पनि । सम्भवतः चुरेको निकै तल भएकाले हुनुपर्छ । यद्यपि मोहनजोदारोको पशुपति छापमा हरिण र गैंडा दुवै छन् । धन्विनको अर्थ बँदेल हो ।


क्याप्रिकर्न/घडियाल– भेडा, घडियाल, हात्ती आदिलाई पनि मकर भनिन्छ । यो प्रिमोलर दाँत (मकह्रा) बाट जनावरलाई प्रयोग हुने शब्द हो । (हेर्ने एउटा नलेखिएको लेखोट, असहमति) ग्रीकहरूले यही मकर शब्दलाई टिपेर बाख्रा बुझाउने शब्द टिपे । पूर्वकाले भेडा चिह्न राख्नमा त्यसैको प्रयोग गरे । तर, सुरुमै मेष आइसकेपछि फेरि राशि चिह्नमा भेडा कसरी दोहोरिन्छ ?


अक्वारियस/कछुवा– ग्रीक नामले पानीको भनेर मात्र बुझाइरहेको छ । अक्वारियसको मूल संस्कृत रूप तलको जस्तै अप्सा हो । हुनुपर्ने कछुवा (मेलानेजेनिस ट्रिक्यारिनाटा विशेष) हो भन्ने कुरा तल दिइनेछ ।
पिसेस/सहर माछा– संस्कृतको पानीबोधक अप्सा शब्दबाट अप्सरा (मूल अर्थ जलपरी), औसानी शब्द आउने हुन् । यहाँ ‘अ’ हराएर ‘पसा’ मात्रै बाँकी रहेको छ ग्रीकमा । यसैले माछालाई तिनले पानीको भन्ने अर्थमा लिए । माथिको अक्वारियस पनि अप्साबाटै आएको हो । इसथायलजी (मत्स्यविज्ञान) पनि यही असबाट आउने हो । तर, यो सहर माछा हो भन्ने कुरा तलबाट अनुमान गरिएको छ ।

पत्थरकृत्य
अज अर्थात् अग्नि मान्ने चलन छ । कौलाचारमा चढाइने बोका अग्नि मानेर नै हो । त्यसै भएर यो राशिको पत्थर मुगा बनाउने चलाखी गरिएको छ । शुभ रङ रातो भनेर तोकिएको छ ।


ब्राह्मिनी गाई सेतो हुन्छ । त्यसैले त्यसको पत्थरलाई सेतो हीरा बनाइएको छ ।


मिथुन गाईको अस्तित्वको हेक्कै नभएकाले त्यसको प्रतीक हरियो पन्ना बनाइएको छ । नभन्दै भार्गवलाई भार्गवी पढिएकाले त्यसको रङ पनि हरियो पन्ना भनियो । सहवास र विवाह नगरेका केटाकेटीहरू त्यो बेलामा हरिया रङका हुँदा रहेछन् ? आर.एल. स्टेभेन्सनको उपन्यास ‘ट्रेजरी आइल्यान्ड’ को पात्र हरित मानवजस्तो वा ‘स्टारवार्स’ को हरियो रगत भएको पात्र स्पोकजस्तो ? ढाँटेको कुरा मिल्दैन भनेको यही हो ।


कुम्भ भनेर भाँडाकै कुरा गरिएको हो भने त्यो पकाएपछि रातो हुन्छ । नीलो र कालो कसरी हुन्छ ? यसैले कालो रङको कुम्भक अर्थात् कछुवा छानिएको हो ।


पानीमा हुने भएकाले गंगटो राशिको पत्थर र रङ सेतो बनाइयो । उदाउँदा र अस्ताउँदाको सूर्य रङ सिंह र बाघको रङसँग मिल्ने भएकाले स्वामी सूर्य राखेर शुभ रङ रातो राखियो ।


बाँडाको उपकरण तुला भएकाले सुहाउँदो पत्थर हीरा र सेतो भनियो । तर, हीरा सेतो मात्रै हुँदैन, कालो झनै बहुमूल्य हुन्छ, नीलो र पहेंलो पनि हुन्छन् कुरै गर्ने हो भने ।


वृश्चिकले रातो मुगा लिएकोले रातै बिच्छी राखिएको हो ।


मकरको पत्थर नीलो र रङ कालो राखेबाटै थाहा हुन्छ, यो नीलो जलराशिमा बस्ने कालो रङको प्राणी हो, भेडा वा बोका होइन । मीनको पत्थर अहिले पुष्पराज र शुभ रङ पहेंलो नै मानौं । त्यसो गर्नेबित्तिकै यो सहर माछा हुन पुग्छ, जसलाई सौरी पनि भन्छन् ।


चलाखी कहाँसम्म भने नागमणि र गजमणि भनेर जनावरका अंग प्रयोग गर्ने जन्तरवादीलाई उल्लु बनाउन माणिक, पितराज मणि, सूर्यकान्त मणि, चन्द्रकान्त मणिजस्ता नामहरू पत्थरलाई दिइएको छ । तर, नारी र पुरुष जननेन्द्रियको प्रत्यंग विशेषहरूको नाम मणि नै हुने भएकाले मणि शब्द जैविक नै हो भनेर पुष्टि गर्छ । रैथाने शब्द मुन्टोलाई मुण्ड बनाउँदै मणिमा परिवर्तन गरेछ संस्कृतले नकि उल्टो ।

पुछारमा
ज्योतिषीय मूलक ज्योति शब्दको उत्पत्ति २६०० वर्षअघिको पाणिनीय व्याकरण र यास्कका निरुक्ति आदिमा खोजेर हुँदैन । त्यो ‘र’/हरिण सिङको ज्योति (जुधाइका बेला निस्कने झिल्का) को अर्थमा पनि आएको हो । अर्थात् भौतिक क्रिया (फिजिकल रियाक्सन) को नतिजा हो । र, नै पनि हरिशचन्द्र आएको भने टड्कारै छ । यसैले ज्योतिषमा मृगशिरा शब्दको प्रयोगले यो सबै रहस्यलाई खोल्छ नै ।


माथि लेखियो सहरको मूल रूप सौरी हो । यसो हुनेबित्तिकै माइसेनियन ग्रीकको लिनियर बी लिपिमा पुगिन्छ । र, त्यसपछि विक्रमको ४६०० वर्षपूर्वबाट फेरि पूर्वतर्फ लाग्नुपर्ने हुन्छ ।

प्रकाशित : मंसिर २८, २०७६ १०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×